नेकपाको सचिवालय बैठक बस्दै, अर्थमन्त्रीलाई पनि बोलाइयो
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ। यसअघि बुधबार बोलाइएको सचिवालय बैठक संविधान संशोधन विधेयक संसदमा छलफल गर्ने कार्यसूची रहेको भन्दै स्थगित भएको थियो।
१६ जेठमा बसेको आकस्मिक बैठक पछाडि नेकपाको सचिवालय बस्न सकेको छैन। बजेट सँगै नेकपाले अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न सचिवालय बैठक आज बोलाइएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बोलाइएको छ।
आजको सचिवालय बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ। गएको पुसमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट एमसीसी अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा अध्ययन कार्यदल गठन भएको थियो। उक्त कार्यदलले प्रतिवेदन बुझाइसकेको छ।
आजको सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई पनि बोलाइएको छ। नेकपामा विवादित एमसीसी अर्थमन्त्री खतिवडाले बजेटमा समावेश गराएपछि उनको आलोचना हुँदै आएको छ।