टाइमलाइनमा रूकुम पश्चिम घटनाका १३ दिन: दोषीलाई कारवाही र पीडितलाई न्यायको माग
६ जनाको ज्यान जाने गरी रूकुम पश्चिमको चौरजहारीमा सामूहिक आक्रमणको घटना भएको आज १३ दिन पुगेको छ । यस घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते भएका छन्।
प्रहरीले अनुसन्धान गरिरहेको यस घटनालाई जातीय विभेदका कारण भएको विश्लेषण भइरहेको छ । यद्यपि प्रहरीले यसमा थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले बिहीबार पक्राउ परेका १८ जना अभियुक्तहरूलाई थप १० दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।
प्रेम सम्बन्ध रहेका कथित तल्लो जातका युवक र उपल्लो जातकी युवतीबीच विवाह गर्ने योजना बनाई युवक युवतीको गाउँमा जाँदा परिवार र स्थानीयले सामूहिक आक्रमण गरेका थिए ।
घटनामा परी युवक नवराज बि.क., उनका साथी टिकाराम सुनार, गणेश बुढा मगर, सन्दिप बि.क., लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको छ ।
उक्त क्रूर घटनाको देशैभर विरोध भइरहेको छ । "संविधानमा नै जातीय छुवाछूत तथा भेदभाव विरूद्धको हकलाई मौलिक हकको रूपमा संस्थागत गरिएको र नेपाललाई जातीय विभेद तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको अवस्थामा जातकै आधारमा यसरी दलित समुदायका व्यक्तिको निर्मम हत्या हुनु कानूनी राज्य र विधिको शासनको बर्खिलाफ भएको" भन्दै विभिन्न संघ संगठनले आन्दोलन गरिरहेका छन् ।
काठमाडौंमा यस घटनाको विरोधमा आन्दोलन गरिरहेको 'दलित लाइभस म्याटर्स' (#DalitLivesMatterNepal) नामक आन्दोलनरत अनौपचारिक समूहले "दलित पनि राज्यको नागरिक भएको भन्दै उनीहरूको हकअधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको" बताएको छ । "यो आपराधिक घटनाले दलितविरूद्ध निकृष्ट र अमानवीय व्यवहार अझै भइरहेको प्रमाणित भएको छ," आन्दोलनरत समूले जारी गरेको प्रेस नोटमा भनिएको छ । साथै आन्दोलनरत उक्त समूहले सरकारले उच्चस्तरिय छानविन समिति गठन गर्नुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राखेको छ।
यस्ता छन् 'दलित लाइभस म्याटर्स' (#DalitLivesMatterNepal)ले राखेका मागहरूः
- नेपालको प्रचलित कानून बमोजिम यो क्रूर र अमानवीय घटनाको सत्यतथ्य छानविनका लागि नेपाल सरकारले उच्चस्तरीय छानविन समिति गठन गरियोस्।
- हत्यामा संलग्न सम्पूर्ण दोषीलाई हदैसम्मको कानूनी कारबाही गरियोस्।
- अनुसन्धानमा राजनीतिक तथा आर्थिक प्रलोभन र प्रभावमा नपरी नेपाल प्रहरीबाट घटनाको गम्भीरतापूर्वक पारदर्शी र निष्पक्ष ढङ्गले अनुसन्धान गराई दोषीलाई सशक्त कारबाही गरियोस् ।
- पीडितका परिवार तथा आफन्तहरू त्रासमा बस्न बाध्य भएकाले तत्काल उनीहरूको जीउधनको सुरक्षा सुनिश्चित गरियोस्।
- घाइते १२ जनाको उपचारसहित सुरक्षाको उपयुक्त प्रबन्ध मिलाइयोस्।
'दलित लाइभस म्याटर्स' (#DalitLivesMatterNepal) अभियानले तयार पारेको रूकुम पश्चिम घटनाको १३ दिनसम्मको टाइमलाइन: