लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित
मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा पारित गरेको हो ।
नेपालको नयाँ नक्सामा लिम्पियाधुरा समेत समेटिएको छ । यसअघि नेपालको नक्सामा लिम्पियाधुरा थिएन । तर, सुगौली सन्धी सहित विभिन्न तथ्यका आधारमा नेपालको पश्चिमी पहाडको सीमाना महाकाली नदी मानिएकाले लिम्पियाधुरा समेटेर नयाँ नक्सा पारित गरिएको हो ।
गएको २ जेठमा प्रस्तुत नीति तथा कार्यक्रममा पनि नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने विषय समावेश भएको थियो । त्यसै दिन बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
कोभिड–१९ को महामारीकै बेला भारतले लिपुलेक नै अतिक्रमण गरी चीनको मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि सरकारले कडा आपत्ति जनाउँदै आएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनय मोहन क्वात्रासँग यसबारे छलफल गरिसकेका छन् । तर, भारतीय पक्षले भने महामारीको अन्त्य पछाडि यसबारे छलफल गर्ने प्रतिक्रिया दिएको थियो ।
कश्मीर सहित भारतले गएको नोभेम्बरमै जारी राजनीतिक नक्सामा नेपाली भूमि मिचिएपछि नेपाल सरकारले सम्वाद गर्दै आएको छ । तर, भारतीय पक्षबाट यसबारे उति चासो नदेखाइएको बरु, उल्टै सडक निर्माण गरिएपछि सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषदबाट पारित नक्सा अब संसदमा लगेर पारित गराइने एक मन्त्रीले बताए ।