कला/साहित्य शनिबार, फागुन १०, २०७६

को हो रंगभेदी ?

हिमालखबर

को हो रंगभेदी ?
चिनुवा अचेवे (बायाँ), चिमामाण्डा अदिची (बीचमा) र वेन ओक्री।
गणेश खनिया

नाइजेरियाका लेखक चिनुवा अचेवेले २८ वर्षकै उमेरमा लेखेको थिङ्स फल अपार्ट ले विश्व साहित्य नै तरङ्गित बन्यो । त्यसपछि नै ‘हार्ट अफ डार्कनेस’ जस्ता उपन्यासबाट अफ्रिकी लेखनको प्रतिनिधित्व गरेको ठान्ने जोसेफ कोनार्डको बुझाइ पूर्वाग्रही, छिपछिपे र एकपक्षीय रहेको भेद खुल्यो । अफ्रिकी पहिचानको बहसले विश्व मञ्चमा प्रवेश पायोे ।

बर्बर, असभ्य भनी चित्रित अफ्रिकाबारेको पश्चिमी दृष्टिकोणमाथि प्रश्न गर्दै अंग्रेजी भाषामै ‘नो लङ्गर एट इज’ र ‘एरो अफ गड’ लेखेर अचेवेले ‘अफ्रिकी ट्रिलोजी’ पूरा गरे । आफ्नै जाति र भूगोलका प्रचलित किंवदन्ती, लोकगाथा, प्रतीक, बिम्बको प्रयोगले साहित्य लेखनमा नयाँ स्वाद र विमर्श जोडियो । बाख्राको छालाबाट बनेको राडी ओछ्याएर अनि सुपारी प्रजातिको ‘कोला’ खुवाएर अतिथि स्वागत गर्ने अफ्रिकी संस्कार उनका लेखाइमा भित्रिए ।

अचेवे छिमलका अर्का लेखक वेले सोजिन्काले पनि नाटक र कविता मार्फत अफ्रिकन पहिचानलाई विश्वसामु ल्याए । सोजिन्काको उपन्यास ‘दि इन्टरप्रेटर्स’ पनि उत्कृष्ट मानिन्छ । बेलायत बसाइँ टुङ्ग्याएर नाइजेरिया फर्केपछि उनका सृजनामा स्थानीयपनले झनै प्राथमिकता पाए ।

अफ्रिकी पहिचान जोडतोडले उठाउने अर्का लेखक हुन्, केन्याका एनगुगी वा थियोङ्गो । अचेवे र सोजिन्का जस्तै लेखनमा मात्रै सीमित नरही बहसपैरवीमै उत्रिएका थियोङ्गो ‘डिकोलोनाइजिङ्ग दि माइन्ड’ निबन्ध संग्रहबाट बढी चिनिन्छन् । लामो समय अमेरिकामा प्राध्यापन गरेर स्वदेश फर्केका उनी अहिले अंग्रेजी छाडेर मातृभाषा गिकुयुमा मात्रै लेख्छन् । 

प्रवासमा अफ्रिकी पहिचान

वेन ओक्री, तेजु कोल र हेलोन हविवा ८० को दशकमा उदाए, लेखन र प्राध्यापनमा संलग्न रहे र यूरोप र अमेरिकालाई कर्मथलो बनाए । कविताबाट लेखनी थालेका ओक्रीका रचनामा गाब्रियल गार्सिया मार्खेज र सलमान रुस्दीसँगको सामीप्यता पाइन्छ ।

‘दि फ्यामिस्ड रोड’ उपन्यासका लागि सन् १९९१ को बुकर पुरस्कार पाएपछि ओक्रीको चिनारी झाङ्गियो । दुई वर्षअघि भारतको जयपुर साहित्य महोत्सवमा उनले भनेका थिए, “मेरी आमा नै मेरो लेखन सामग्रीको आदिस्रोत हुन् । उनी मलाई सधैं लोक परम्परा र मिथकले भरिएका कथा सुनाउँथिन् ।”

तेजु कोललाई इतिहास, संस्कृति र पहिचान समेटिएकोे ‘ओपन सिटी’ उपन्यासबाट बढी चिनिन्छ । फोटोग्राफीमा उत्तिकै दक्खल राख्ने उनको लेखनलाई दृश्यवर्णनको प्रधानताले मोहक बनाउँछ । निबन्ध संग्रह ‘नोन एण्ड स्ट्रेन्ज थिङ्स’ मा समावेश केही निबन्ध यसका प्रबल साक्षी छन् ।

लेखनलाई नै प्रतिरोधको साधन ठान्ने हेलोन हविला समसामयिक सामाजिक राजनीतिक घटनामा बढी केन्द्रित छन् । ‘प्रिजन स्टोरिज्’, ‘ओयल अन वाटर’ र ‘दि चिबोक गल्र्स’ यस्तै यथार्थपरक आख्यानका उदाहरण हुन् । ‘दि चिबोक गल्र्स’ बोको हरामद्वारा यौनदासी बनाइएका अपहरित स्कूले छात्राहरूको विदारक घटनाको कारण र परिणामको दस्तावेज हो ।

बेलायती उपनिवेशपछि नाइजेरियामा इसाई धर्म र अंग्रेजी भाषाको प्रभाव बढ्दै गयो । विस्तारै प्रचलित इबो, योरुबा, हौसा, युर्होबो समुदायका लेखकले पनि अंग्रेजीमै लेख्न थाले । अमेरिकामा निकै वर्ष प्राध्यापन गरेपछि चिनुवा अचेवे नाइजेरिया आए । सात वर्षअघि सन् २०१३ मा उनी बिते । वेन ओक्री र हेलोन हविला बेलायतमै बसी शिक्षण र लेखनकर्म गर्दैछन् ।

तेजु कोल अमेरिकी नागरिक बनिसके । चिमामाण्डा अदिचीको समय अमेरिका र नाइजेरियामा विभाजित छ । अर्की आख्यानकार चिका उनुग्वे बेल्जियममा घरजम गरी बसिन् । नयाँ पुस्ताका चिगोजी ओबिओमा अमेरिकामा ‘सृजनशील लेखन’ पढाउँदैछन् । सबैको लेखनीमा नाइजेरियाली भूगोल र गाथा समाहित छ ।

अचेवे, ओक्री, हविला, अदिचीले आफू हुर्केबढेको नाइजेरियाली शहर लेगोससँगको प्रगाढ सम्बन्ध झल्काइरहेछन् । लेगोसकै भूगोल र बिम्ब भेटिन्छन् उनीहरूका लेख, वार्ता र प्रवचनमा । तर, लामो समयको भौतिक अनुपस्थितिमा लेखिएको भूगोलप्रति स्रष्टाले कति न्याय गर्न सक्ला ? उनुग्वेको भोगाइमा ‘बाहिर बसेर नाइजेरियाबारे लेख्नु साँच्चिकै चुनौतीपूर्ण छ ।’

अचेवेका लेखाइमा प्रयोग हुने मिथक, दन्त्यकथाको प्रक्रियालाई ओबिओमाले पनि निरन्तरता दिएका छन् । इबो जातिसँग सम्बन्धी दन्त्यकथामा आधारित उनको पहिलो उपन्यास ‘दि फिसरम्यान’ मा बौलाहा एक पात्रको भविष्यवाणीमा टेकेर पारिवारिक विखण्डनको घटना देखाइएको छ ।

यही विखण्डनमा भ्रष्टाचार र अव्यवस्थाबाट जर्जर बनेको नाइजेरियाको वर्तमान दुरवस्था जोडिन्छ । पहिलो उपन्यास जस्तै उनको दोस्रो उपन्यास ‘एन अर्केष्ट्रा अफ माइनोरिटिज्’ पनि बुकरको मनोनयनमा पर्‍यो, विषयको गम्भीरताले पनि उत्तिकै चर्चामा रह्यो ।  

को हो रंगभेदी ?

नाइजेरियाली लेखकमा चिमामाण्डा अदिचीले साहित्य इतर क्षेत्रमा पनि उत्तिकै चर्चा बटुलेकी छन् । ‘डेन्जर अफ सिङ्गल स्टोरी’ उनको चर्चित वैचारिक मन्तव्य हो । यो मन्तव्यको थालनीमा उनी भन्छिन्, “जस्ता कथा पढें, त्यस्तै वान्कीका लेख्ने प्रयत्न गरें ।

मेरा कथाका पात्रहरू गोरा मात्र हुन्थे, नीलो आँखा भएका । ती हिउँमा चिप्लेटी खेल्थे, स्याउ खान्थे, रमाउँथे । ... जब मैले अफ्रिकी किताब पढ्न थालें, बल्ल मेरो बुझाइको धरातल बढ्दै गयो ।” अचेवे, क्यामरा लाये लगायत लेखकका किताब पढेपछि चकलेट रंगको छाला र जख्रक्क परेको कपाल भएका आफू जस्ता केटी पनि उपन्यासका अंश हुनसक्छन् भन्ने बुझेको उनले बताएकी छिन् ।

अफ्रिकी कालो वर्णलाई उनी चकलेटको उपमा दिन्छिन् र प्रश्न गर्छिन्, “चकलेट मन पराउने तर, चकलेटी वर्णका मान्छेलाई किन अपमान गर्ने ?”

‘थिङ्गस् अराउन्ड माइ नेक’ कथा संग्रहबाट लेखनको शुरूआत गरेकी अदिची उनको पछिल्लो उपन्यास ‘अमेरिकाना’ बाट चर्चामा आइन् । नाइजेरियाली समाजमा मोटोपन नराम्रो मानिंदैन । ‘अमेरिकाना’ मा पनि प्रमुख पात्र इफेमेलु मोटी छन्, आइसक्रिम खान लाइनमा बस्छिन् । अमेरिकी पुरुष उनलाई उपहास गर्छन् । उनी अमेरिका रहँदा रंगभेदबारे ब्लग लेख्छिन् ।

नाइजेरिया फर्केपछि अमेरिकी प्रेमीसँग टेलिफोनमा भन्छिन्, “यहाँ त सबै काला छौं, रंगभेदको प्रसंगै उठ्दैन । अब मेरो ब्लग लेख्नुको कुनै अर्थ रहेन ।” यस्तै घटना मार्फत अदिची सोध्छिन्, “अब भन्नोस् रंगभेदी को ?”

अफ्रो–एशियाली लेखक संघको अध्यक्षता हाम्रै लेखक युग पाठकले गरिरहेका छन् । काठमाडौंमा ल्याटिनो तथा अफ्रिकी विदेशीहरूको समूह पनि सक्रिय छ । अंग्रेजी साहित्यका पाठ्यक्रममा पहिले पहिले यूरोप, अमेरिकाको वर्चस्व हुन्थ्यो । अहिले ती अफ्रिकी सामग्रीले प्रवेश पाएका छन् । नाइजेरियाली साहित्यमा प्रयुक्त बान्की र बिम्ब तथा हाम्रा आदिवासी लेखनका ढाँचामा केही समानता भेटिन्छ ।

अदिची थरीथरीका अफ्रिकी केशविन्यासलाई लेखनमा उतार्छिन् । भूमण्डलीकरणको यो समयमा यी केशविन्यासको अलग पहिचान र उपस्थिति अर्थ्याउँछिन् । अंग्रेजी लवजलाई पनि उनी पहिचानसँग जोड्छिन् । उनकी पात्र इफेमेलु उपन्यासको बीच भागबाट अभ्यस्त अमेरिकी लवज छोडेर अफ्रिकी लवजमा बोल्न थाल्छिन् ।  

नेपालमा अफ्रिकी चासो

नाइजेरिया समलिङ्गीप्रति उदार छैन । चिनेलो ओक्पारान्ताको ‘अन्डर दि उडाला ट्रीज’ उपन्यासले समलिङ्गी महिलाको विषय उठाएको छ । अदिची, हविला लगायतका लेखकहरूले समलिङ्गी अधिकारका पक्षमा खुलेर आफ्नो अभिमत राखिरहेका छन् ।

नाइजेरियामा समलिङ्गीमाथि प्रतिबन्ध लागेपछि अदिचीले भनेकी थिइन्, “पहिलेदेखि नै उत्पीडनमा परेको समलिङ्गी समुदायलाई कानूनी रूपबाटै अरू अप्ठेरोमा पार्नु भयावह कदम हो ।”

सन् ७० को अन्त्यतिर झण्डै पौने तीन वर्ष नाइजेरियाबाट अलग रह्यो, पूर्वी प्रान्त वायर्फा । स्वतन्त्र वायर्फाको पक्षमा कतिपय चिन्तक, लेखक खुलेर लागे । तिनैमध्ये एक अचेवे पनि थिए । अचेवेले उनको गैरआख्यान ‘देयर वाज अ कन्ट्री’ उपन्यासमा नाइजेरिया र वायर्फा युद्ध र यसका परिणामबारे विस्तृत चर्चा गरेका छन् ।

यही घटनाले अचेवे र सोजिन्काबीचको सम्बन्ध सहज रहेन । अदिचीको पहिलो उपन्यास ‘हाफ अफ एल्लो सन’ वायर्फा युद्धकै सेरोफेरोमा छ । वायर्फाकै प्रसङ्ग ल्याएर पछिल्लो पुस्ताकी अक्वेके एमेजीले ‘फ्रेसवाटर’ उपन्यासमा अध्यात्म र भयावह संसारको संयोजन गरेकी छन् ।

‘टेलिफोन कन्भर्सेसन’ कवितामा सोजिन्काले रङ्गभेदको विषयलाई मुखर बनाएका छन् । सोजिन्काबाट अदिचीसम्म आइपुग्दा अफ्रिकी पहिचानका बहस र विषय अलग ढङ्गबाट आएका छन् । नयाँ पुस्ताको लेखन विषय मिथक र आदिम कथागाथाबाट अलग भने छैन ।

अफ्रिकी लेखनबारे नेपालमा पनि चासो र बहस बढ्दो छ । काठमाडौंस्थित ‘कलेज अफ मास कम्युनिकेशन एण्ड जर्नालिज्म’ को अगुवाइमा डा.मञ्जु मिश्रको समूह अफ्रिकी कला र संस्कृति नेपाली माझ चिनाउन खटिरहेछ । हरेक वर्ष नोभेम्बरमा काठमाडौंमा आयोजना भइरहेको अफ्रिकी सिनेमा महोत्सव यसैको प्रमाण हो ।

अफ्रो–एशियाली लेखक संघको अध्यक्षता हाम्रै लेखक युग पाठकले गरिरहेका छन् । काठमाडौंमा ल्याटिनो तथा अफ्रिकी विदेशीहरूको समूह पनि सक्रिय छ । अंग्रेजी साहित्यका पाठ्यक्रममा पहिले पहिले यूरोप, अमेरिकाको वर्चस्व हुन्थ्यो । अहिले ती अफ्रिकी सामग्रीले प्रवेश पाएका छन् । नाइजेरियाली साहित्यमा प्रयुक्त बान्की र बिम्ब तथा हाम्रा आदिवासी लेखनका ढाँचामा केही समानता भेटिन्छ ।

 

प्रतिकृया दिनुहोस