आज शिवरात्रि, देशभरको शिवालयमा दर्शनार्थीको भीड
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ ।
त्यसपछि चतुर्दशी शुरु हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो ।