याक अट्याक: ऐतिहासिक साइकल दौड
-टेलर म्याकमहोन
धर्तीकै सर्वाधिक उँचाइमा माउन्टेन बाइक दौड प्रतियोगिता ‘याक अट्याक’ को आयोजक एमटीबी–वल्र्डवाइडले पोखरामा आउँदो जनवरी २५–२८ मा ‘पोखरा चौथो’ माउन्टेन बाइक दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । नयाँ प्रतियोगिताका लागि प्रोत्साहनस्वरुप आयोजना गर्न लागिएको प्रतियोगितामा स्थानीय र विदेशीका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।
लेकसाइडदेखि विश्व शान्ति पगोडा, वेगनास ताल हुँदै विभिन्न स्थानमा सञ्चालन गरिने दौड यस वर्षको पहिलो माउन्टेन बाइक दौड हुने भएको छ । यसअघि गएको डिसेम्बर १० मा काठमाडौंमा आयोजित दक्षिण एशियाली खेलमा माउन्टेन बाइक रेस आयोजना गरिएको थियो ।
प्रतियोगितामा नेपालका बुद्धिबहादुर तामाङ (रोअन) ले क्रस कन्ट्रीतर्फ स्वर्णपदक जितेका थिए । तर, तामाङलाई यो प्रतियोगिता जित्न १८ नोभेम्बरमा सकिएको ‘याक अट्याक’ गतिलो पूर्वाभ्यास बनेको थियो । प्रतियोगितामा तामाङले दोस्रो स्थान हासिल गरेका थिए ।
याक अट्याक
नेपालका तामाङ दोस्रो भएको याक अट्याक–२४ घन्टे माउन्टेनबाइक रेसमा तीन पटकसम्म आधिपत्य जमाएका विश्वविजेता क्यानाडाका कोरी वालेसले यसपटक पनि उपाधि रक्षा गरे । ‘याक अट्याक’ मा यो चौथो संस्करणमा प्रतियोगिताको संरचनामा केही परिवर्तन गरिएको थियो ।
संस्करणलाई अविस्मरणीय बनाउने उद्देश्यका साथ थपिएका दुई दौडमा एउटा विश्वमै धेरै समय लाग्ने लामो दूरीको एन्डुरो दौड र तेस्रो चरणको नयाँ बाटो थियो ।
साग हुनुभन्दा दुई साताअघि मात्र भएको विश्वकै सबैभन्दा उँचाइको यही प्रतियोगितामा अभ्यास गर्दै बुद्धिबहादुर तामाङले देशका लागि स्वर्ण पदक जिते ।
पहिलो चरणको रेस लमजुङ जिल्लाको बेसीशहर वरिपरिको ३० किलोमिटरको घुम्ती थियो । यसले प्रतियोगीलाई प्रतियोगिता अघि वरिपरिका दृश्यावलोकन गर्दै बाटोको अवस्था जान्ने अवसर दिएको थियो । बेसीशहरदेखि चामेसम्मको ६१ किलोमिटर लामो २८०० मिटर उँचाइको दोस्रो चरणमा धेरै उकाली–ओराली थिए ।
तेस्रो चरणको ३५०० मिटर उँचाइको मनाङ गाउँमा पुगेपछि नयाँ मोड आइपुग्यो । त्यहाँ घ्यारुइन हुँदै मनाङ ओर्लने नयाँ सिङ्गल ट्र्याक जोडिन्छ । वालेस र तामाङले पहिलो र दोस्रो चरण पूरा गरेर आफ्नो पकड कायम राखे ।
चौथो चरणमा प्रतियोगीहरूले मनाङदेखि फेदीसम्मको साँघुरो बाटो पार गरे । १६ किमि दूरीको यो बाटो कठिन मध्येको एउटा हो । वालेस र तामाङ अगाडि नै थिए, तर तेस्रो स्थानमा २० मिनेटभन्दा कम समयमा को पुग्ने भनेर चार प्रतियोगीबीच घमासान प्रतिस्पर्धा भइरहेको थियो ।
पाँचौं चरणमा प्रतियोगीले ५,५१६ मिटर उँचाइमा रहेको थोराङला पास पार गरे । २७ किलोमिटरको यो चरण ‘याक अट्याक’ कै सबैभन्दा चुनौतीपूर्ण बाटो थियो । किनभने, पहिलो तीन किलोमिटरको लगभग ठाडो उकालो बाटो छिचोल्न नै प्रतियोगीहरूलाई चार घन्टासम्म लाग्न सक्छ ।
थोराङला उकालोपछिको ओरालो सकिएपछि लामो दूरीको ‘एन्डुरो’ खण्ड समावेश गरिएको थियो । यो विश्वकै सबैभन्दा उँचाइको बाटो हो । वालेसले सबै चरण जित्दै गए, तामाङले पछ्याइ रहे । अर्का प्रतिस्पर्धी क्यानाडेली राइस भर्नर ‘एन्डुरो’ खण्डमा तामाङसँगै थिए ।
छैटौं चरण नयाँ साँघुरो बाटो (सिङ्गल ट्र्याक) हो । यसले प्रतियोगीहरूलाई कागबेनी हुँदै लुब्रा उपत्यकाको घुम्तीमा पुर्याउँथ्यो । वालेसले आफ्नो हैकम कायम राखे । तामाङ अलि सुस्त देखिए तर दोस्रो स्थानमा पुग्नका लागि प्रयास गरिरहे ।
पोखरामा आयोजित समापन समारोहमा पुग्न बस चढ्नु अघि प्रतियोगीलाई तातोपानीमा भिजाउने तयारी स्वरुप अन्तिम सातौं चरणको रेस बाँकी थियो । यो रेसमा तिति ताल हुँदै कागबेनीबाट तातोपानी जानुपर्ने थियो । १२ किलोमिटरको यो यात्रापछि याक अट्याकले विश्राम लियो ।
वालेसले चौथो पटक पनि सहजै ‘याक अट्याक’ प्रतियोगिता जिते । तामाङ दोस्रो र वर्नर तेस्रो स्थानमा रहे । कुल २५ जनाको दौडमा महिलातर्फ क्लेयर डेमारक्वेट सबैभन्दा अगाडि रहिन् । चौथो पनि नेपालकै पदमबहादुर घले भए ।