च्यासललाई हराउँदै तेस्रो स्थानमा उक्लियो जावलाखेल
शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई हराउँदै जावलाखेल युथ क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
अधिकांश समय च्यासल हाबी भएको खेलमा जावलाखेलले उत्कृष्ट जित निकाल्यो । पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलमा च्यासलले थुप्रै गोलको अवसर सिर्जना गरेको थियो ।
लिगमा ९९ गोल गरिसकेका च्यासलका स्ट्राइकर सन्तोष साउखललाई सय गोल बनाउने राम्रो अवसर समेत गुम्न पुग्यो । जावलाखेलले भने दोस्रो हाफको ८१औं मिनेटमा गोल गर्दै अग्रता लियो । रुपबहादुर लामाले गोल गर्दै जावलाखेलाई अग्रता दिलाएको एक मिनेट नबित्दै बिजय घलानले गोल गरे ।
दुई–शून्यले पछि पारेको च्यासलले सान्त्वना गोल समेत फर्काउन सकेन । जितसँगै, जावलाखेल चार खेलमा अपराजित रहँदै ८ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।