रिसोर्टबाटै निर्वाचन आयोग जाँदै यादव पक्षका केन्द्रीय सदस्य
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू गोदावरीस्थित एक रिसोर्टबाटै आज 'हेडकाउन्ट'का लागि निर्वाचन आयोग पुग्ने भएका छन्।
जसपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई नागरिकतासहित आज बिहान ११ बजे बोलाएको छ। त्यसका लागि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू गोदावरीबाटै आयोग पुग्ने भएका हुन्।
यादव र भट्टराईले आफ्नो पक्षका सबै केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई आइतबार गोदावरीस्थित एक रिसोर्टमा लगेका थिए। अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई आफ्नो पक्षमा तान्न सक्ने सम्भावना रहेको जनाउँदै रिसोर्ट लगेका हुन्।
रिसोर्टमा यादव र भट्टराईसहित ३२ जना सदस्य छन्। जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ। दुई जना निलम्बितसहित ३४ जना सांसदमध्ये यादवको पक्षमा २० सांसद देखिएका छन्।
जसपाका एक नेताका अनुसार, गएराति रिसोर्टमा बसेका केन्द्रीय कार्यकारिणी समिति सदस्यमा यादव र भट्टराईसँगै अशोककुमार राई, राजेन्द्रप्रसाद श्रेष्ठ, महेन्द्र राय यादव, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी, गंगानारायण श्रेष्ठ, हेमराज राई, रणध्वज लिम्बू, डम्बर खतिवडा, दुर्गा सोव, दानबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव, प्रकाश अधिकारी, इस्तियाक राई, परशुराम बस्नेत, नवलकिशोर साह, प्रशान्त सिंह, भक्तबहादुर शाह, गजाधर यादव, सुशीला श्रेष्ठ, रामनरेश राय यादव, विजयकुमार यादव, मृगेन्द्रकुमार सिंह, अमृता अग्रहरी र रमेश यादव रहेका छन्।
अध्यक्षद्वय महन्थ ठाकुर र यादवले आधिकारिकताका लागि दाबी गरेपछि निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा इजलास गठन गरेर सुनुवाइ थालेको थियो। त्यही क्रममा आज सनाखतका लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई बोलाएको हो।
केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत गर्ने कार्य रोक्न माग गर्दै अध्यक्ष ठाकुर ८ साउनमा सर्वोच्च अदालत पुगेका थिए। तर, १० साउनमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। योसँगै निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन सहज भएको छ।
आज आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यको हेडकाउन्ट गर्नेछ। त्यसका आधारमा जसको पक्षमा बहुमत पुग्यो, उसैलाई जसपाको आधिकारिकता प्रदान गर्नसक्ने जनाइएको छ।