त्रिशुलीमा पिकअप भ्यान खस्दा दुईको मृत्यु, एक जना बेपत्ता
प्युठानबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान चितवनको इच्छामनकामना गाउँपालिकास्थित नाग्दी खोलानजिकबाट त्रिशुलीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। अर्का एक जना पौडिएर निस्किएका छन्।
उक्त पिकभ्यान आज बिहान साढे ५ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परी प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोकाको मृत्यु भएको छ। उनीहरुको शव त्रिशुलीबाट निकालिएको प्रहरीले जनाएको छ।
केसी पिकअप भ्यान चालक हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार भ्यानमा चार जना सवार थिए। बिरामी १५ वर्षीया छोरी जिनिसाको उपचारका लागि उनका बाबु मुकुन्दबहादुर रोक्का र आमा जमुना काठमाडौँ आउँदै थिए।
मुकुन्दबहादुर पौडिएर निस्किएका छन्। छोरी जिनिसा भने बेपत्ता छिन्। सामान्य घाइते भएका मुकुन्दको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।