चीनमा सात महीनाको अवधिभित्र १३१० किलोमिटर रेलवे विस्तार
चीनमा गएको सात महीनामा मात्रै १३१० किलोमिटर नयाँ रेलवे लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ। चिनको राष्ट्रिय रेलवे कर्पोरेसनले जनाए अनुसार उक्त क्षेत्रमा करिब ७३३ किलोमिटर दूरी भने उच्च गतिको रेलवेको मात्रै रहेको छ।
कर्पोरेसनले विज्ञप्ति एक जारी गरी चीनमा गएको जुलाई महीनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको जनाएको छ। राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ।
कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ रेलवेको चल सम्पत्तिमा ९ अर्ब ६७ करोड अमेरिकी डलर लगानी गरिएको जनाएको छ। पछिल्लो समय चीनले ठूला र मध्यम क्षमताका रेलको विस्तारमा बढी लगानी गरेको छ।
रेलसेवाको विस्तार र सुधारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ११.३ प्रतिशतले बढी खर्च गरिएको कर्पोरेसनले जनाएको छ।