कोरोना रोक्न गरिएको बन्दाबन्दीमै कंगोमा फैलियो इबोला भाइरस
पश्चिम अफ्रिकामा ६ वर्षअघि महामारीको रुप लिएको इबोला भाइरस फेरि कंगोमा देखिएको छ । यो भाइरसबाट कंगोको पश्चिमी शहर एमबान्डाकामा अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस संक्रमण रोक्न गरिएको बन्दाबन्दीकै समयमा त्यहाँ इबोला फैलिएको हो । कंगोका स्वास्थ्य मन्त्री इटेनी लोंगोडोले त्यहाँ इबोलाबाट चार जनाको मृत्यु भएको र कम्तीमा दुई जना संक्रमित भएको बताएका छन् । तर, युनिसेफले भने थप एक जनाको पनि मृत्यु भएको जनाएको छ ।
दुई महीनाअघि मात्र कंगो सरकारले आधिकारिक रुपमा इबोलाको संक्रमण सकिएको घोषणा गर्ने कार्यक्रम थियो । तर, कार्यक्रम हुनु दुई दिनअघि मात्र नयाँ संक्रमित भेटिएपछि स्थगित भएको थियो । दुई वर्षदेखि फैलिएको यो भाइरसले अहिलेसम्म त्यहाँ दुई हजार २७५ जनाको मृत्यु भएको छ।
कोरोनाभाइरसको महामारी रोक्न गरिएको बन्दमा इबोला फैलनु आश्चर्य भएको अधिकारीहरुले बताएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाभाइरसबाट तीन हजार ४९ संक्रमित भएको भेटिएका छन् भने ७१ जनाको मृत्यु भएको छ।
सन् २०१४ मा पश्चिम अफ्रिकाका देश गिनी, लाइबेरिया र सिएर लियोनमा फैलिएको इबोलाले ११ हजारभन्दा बढीको ज्यान गएको थियो । तर, यसको खोप र उपचार विधि पत्ता लागेपछि यसको संक्रमण रोकिएको थियो ।
-द न्यूयोर्क टाइम्सबाट