‘नेपालको स्वास्थ्य सेवा जुगाडमा चलिरहेको छ। यसले हामीलाई अदृश्य रूपमा मारिरहेको छ।’
अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिएकी श्रीमतीको उपचारका क्रममा श्रीमान्ले बेहोरेको सास्तीबारे एउटा पुस्तक लेखिएको छ, भुक्तमान । मुलुकको स्वास्थ्य प्रणाली राम्रो नहुँदा निम्न-मध्यमवर्गीय परिवारले बेहोर्नुपर्ने आर्थिक र सामाजिक क्षतिलाई पनि पुस्तकमा उजागर गरिएको छ।
मिर्गौलाको समस्याबाट श्रीमती गुमाएपछि अधिकारकर्मी धिरेन्द्र सिनाल ले भुक्तमान पुस्तक लेखेका हुन्। यस पुस्तकसँगै स्वास्थ्य सेवा र आमनागरिकले बेहोर्नुपरेका सास्ती लगायत पक्षमा केन्द्रित भएर हिमालखबर को प्रस्तुति किताबका कुरा मा लेखक सिनालसँग उर्मिला गम्वा थारू ले गरेको कुराकानी :
पुस्तकबारे के-कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ?
यो पुस्तक खासमा नीतिनिर्माता र सेवाग्राहीले धेरै पढून् भन्ने लागेको थियो। तर अहिलेसम्मको स्वास्थ्य अवस्था हेर्दा नीतिनिर्माताले त्यति धेरै पढे होलान् जस्तो लागेन।
कसले पढ्न रुचाएका छन् भने जो अस्पताल धाइराखेका छन्, बिरामी छन्। ती मान्छेलाई निकै छोएको छ। उनीहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छु।
किताबको नाम भुक्तमान नै किन रोज्नुभयो?
पुस्तकको नाम भुक्तमान छ, सँगै ‘राज्यको अकर्मण्यता र नागरिकको निरीहता’ पनि छ। मुख्य रूपमा स्वास्थ्य सेवालाई लिएर आफ्ना नागरिकप्रति राज्यको जुन भूमिका हुन्छ, त्यो कसरी कुन स्तरमा सुनिश्चित गरेको छ? जुन कुरा सुनिश्चित गरेको भनेर दाबी गरिएको छ, त्यो कुरा सामान्य मान्छेको पहुँचमा कति छ? पाउन कति सजिलो छ? यही सेरोफेरोमा किताब लेखिएको छ।
शाब्दिक हिसाबले पनि ‘भुक्तमान’ भन्ने बित्तिकै केही कुरा भोगेको छ, राज्यबाट केही कुरा भोग्नुपरेको छ भन्ने आउँछ। पुस्तकले आममान्छेले भोगेका, भोगिरहेका कुरा उठाएकाले भुक्तमान नाम राखिएको हो।
भुक्तमान लेख्नुपर्छ भन्ने कसरी लाग्यो?
म पत्रकारिता पृष्ठभूमिबाट आएको हुँ। पत्रकारको काम प्रश्न गर्ने हो। राज्यलाई जिम्मेवार बनाउन पत्रकारले जहिल्यै प्रश्न गरिराख्नुपर्छ। त्यही भएर प्रश्न सोध्नुपर्छ भनेर मैले पनि प्रश्न गरेको हुँ।
हामी अधिकारको कुरा गर्छौं, तर त्यो अधिकार पाइराखेका छौं कि छैनौं, त्यो पनि हेर्ने हो। अर्को मान्छेले पायो कि पाएन? जुन आधारभूत कुरा छन्, राज्यले मानेका कुरा छन्, ती कुरा मैले पाएको छु, अर्को मान्छेले पाएको छैन। नपाउने मान्छेका लागि कहिले बोल्ने?
राज्यले दिने सेवासुविधा पनि एउटाले पाउने, अर्काले नपाउने भइरहेको छ। मैले त्यसलाई लिएर प्रश्न गरेको हुँ। किताबले समग्रमा उठाएको कुरा त्यही हो।
किताबको मूल विषय स्वास्थ्य क्षेत्र नै हो। एउटा, मुलुकको स्वास्थ्य प्रणालीको विषय भयो। स्वास्थ्य प्रणाली कस्तो देखिएको छ भने जो नीतिनिर्माता हुन्, जो राज्य सञ्चालक हुन्, उनीहरूलाई नै सहज बनेको छ। उनीहरूले नै निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न पाएका छन्। त्यसको वर्णन गरेको छु।
अर्को, सर्वसाधारणको आँखाबाट नेपालको स्वास्थ्य सेवा कस्तो देखिन्छ? स्वास्थ्य सेवा जनमुखी छ कि छैन? त्यसलाई पुस्तकमा समेटेको छु।
तेस्रो, बिरामीका आफन्तको आँखाबाट हेर्दा नेपालको स्वास्थ्य प्रणाली कस्तो देखिन्छ? पुस्तकमा समेट्न खोजेको छु।
यससँगै लैंगिकताका आधारमा पनि स्वास्थ्य सेवा हेरेको छु। नेपालमा मिर्गौला प्रत्यारोपण गर्नेमध्ये मिर्गौला पाउने ८० प्रतिशत पुरुष हुन्छन्। दिनेहरू चाहिं महिला हुन्छन्। बिरामीको संख्या हेर्दा उस्ताउस्तै छ। अंग पाउने महिला २० प्रतिशत पनि छैनन्। किनकि महिलालाई कम प्राथमिकतामा राखिएको छ।
मिर्गौलाको समस्याबाट श्रीमती गुमाउनुभयो। श्रीमतीको उपचारका क्रममा भोगेका सास्तीलाई लिएर पुस्तक लेख्नुभएको छ। पीडादायी विगतलाई सम्झेर पुस्तक लेख्दा भावनात्मक रूपमा कति गाह्रो हुँदो रहेछ?
सुखको कुरा जति पल्ट सम्झिँदा पनि मजा आउँछ, तर दुःखको कुरा सम्झिँदा गाह्रो हुन्छ। त्यही भएर त दुःख घटाउँदै जाऊँ भन्ने हुन्छ। दुःख फेरि सम्झिन नपरोस् भन्ने मानवीय स्वभाव नै हुन्छ। त्यो स्वभाव ममा पनि छ।
साँच्चै पुस्तक लेखन पीडादायी भयो। उपचारका क्रममा जुन संघर्ष चलिरहेको थियो, त्यति खेर म पीडामा छु भन्ने बोध भएकै रहेनछ। दुखाइको महसूस नै भएन। किनभने हामी लडिरहेका थियौं। दिमागलाई त्यतै लगाउनुपर्यो। जब किताब लेख्ने कुरा भयो, अनि गाह्रो भयो। जब मान्छे दुःखदायी विगतमा फर्कन्छ, त्यति खेर मानसिक रूपमै पीडा हुन्छ।
यो किताब लेखनको पीडाबाट निस्किन कति समय लाग्यो?
श्रीमती बितेपछि श्रीमान् काजकिरियामा बस्नु हुन्न भन्ने मान्यता रहेछ। मलाई त्यो कुरा चित्त बुझेन। श्रीमान् बितेको भए श्रीमतीले त काजकिरियामा बस्नै पर्थ्यो, सेतो लुगा लगाएर। श्रीमान्-श्रीमती भनेको सँगसँगै सुखदुःख काट्छौं भनेर जीवन अगाडि बढाएका मान्छे हुन् नि त। त्यही भएर घरमा जिद्दी गरेरै काजकिरियामा बसें।
काजकिरिया बस्ने क्रममा यसरी नै संस्मण नै लेख्छु भन्ने थिएन, तर नेपालको स्वास्थ्य प्रणालीबारे लेख्छु भनेर केही बुँदा टिपेको थिएँ। तिनै बुँदालाई पछि विस्तारमा लेखेको हुँ।
एक महीनामा पहिलो ‘ड्राफ्ट’ तयार भएको थियो। अनि सम्पादकबाट ‘फिडब्याक’ पाएपछि फेरि काम गर्नुपर्यो। त्यति खेर मलाई साह्रै गाह्रो भएको थियो। सम्पादन गर्ने साथीलाई भनेको थिएँ– दोस्रो ‘ड्राफ्ट’ लेख्न नलगाउनू, म सक्दिनँ।
सम्पादकले भने– लेखनमा जबसम्म तपाईंको भावना आउँदैन, तबसम्म यो किताब जीवन्त हुँदैन।
त्यसपछि लेख्न सात महीना नै लाग्यो। सबै गरेर एक वर्षको हाराहारीमा यसको काम सकिएको थियो।
सरकारले मिर्गौलाको उपचार निःशुल्क हुने भनिरहेको छ। तपाईंले त धेरै दुःख पाएको कुरा पुस्तकमा लेख्नुभएको छ नि?
हाम्रो देशमा एउटा कुरा कस्तो बनेको छ भने, बिरामी भएपछि पैसा लिएर जानै पर्छ। गोजीमा पैसा नभएपछि सरकारी अस्पताल पनि जान सकिंदैन। अर्को, नेपालको स्वास्थ्य प्रणाली नै यस्तो बनाइएको छ कि निजी अस्पताल जानु र सरकारी अस्पताल जानुमा धेरै फरक छैन।
अस्पतालमा चिकित्सकको शुल्क फरक होला। त्यो बाहेक अरू जाँच, ल्याब, भिडिओ एक्स-रे लगायतको सबैको शुल्क सरकारी र निजीमा धेरै फरक छैन। यो किताबले त्यही कुरा उठाउन खोजेको छ।
सरकारी संस्था भनेको हाम्रो करले चल्ने हो। केही त फरक हुनुपर्यो। भारतको कुरा उठाएको छु। भारतका सरकारी अस्पतालले यही कुरा निःशुल्क दिन सक्छन्, आफ्नो देशको नागरिकलाई मात्र नभएर विदेशीलाई पनि। तर नेपालमा टिकटको पनि ५० रुपैयाँ लाग्छ। जबसम्म हामी बोल्दैनौं, नीतिनिमार्तालाई त राम्रै काम गरेका छौं भन्ने लाग्छ।
डायलासिस गराउन पनि समस्या नै छ है?
नेपालमा जति पनि स्वास्थ्य सेवा सुविधा छन्, काठमाडौं केन्द्रित छन्। निःशुल्क भएर के गर्नु! कञ्चनपुरको मान्छेले काठमाडौं आएर निःशुल्क सेवा लिनुपर्यो भने झन् खर्च लाग्छ। त्योभन्दा त भारत गएर उपचार गर्दा सस्तो पर्छ।
यो सबै हेर्दा सरकारले हामीसँग व्यापार गरिरहेको छ। एकातिर, सेवा दिन्छु भनेर कर लिइरहेको छ भने अर्कातिर उपचार गर्दा पैसा लिइरहेको छ।
चिकित्सकको काम उपचार गर्ने हो। बिरामी गरीब हो कि धनी हो भनेर खोज्ने होइन। हाम्रो स्वास्थ्य प्रणालीले डायलासिस गर्नुपर्ने बिरामीलाई अस्पताल पुग्दा पहिला ‘वडा कार्यालयको सिफारिश ल्याउनुस्’ भन्छ। बिरामी मान्छे उपचार गर्न अस्पताल जाने कि वडा कार्यालय जाने?
वडा कार्यालयले त्यही डाक्टरको विवरण हेरेर तपाईं बिरामी हो पनि भन्छ, गरीब हो पनि भन्छ। अनि वडाको सिफारिश लिएर जिल्ला स्वास्थ्य कार्यालय, त्यसपछि जिल्ला प्रशासन कार्यालय पुग्नुपर्छ। अनि जिल्ला प्रशासन कार्यालयले फलानो अस्पतालमा निःशुल्क उपचारका लागि लेखिदिन्छ।
अब त्यस अस्पतालमा १० वटा मात्र मशिन छ। ती मशिनले सातामा कति जनालाई सेवा दिन सक्छन्? तिनले ६ जनालाई मात्र डायलासिस सेवा दिन सक्छन्, सातामा।
अस्पतालका मान्छले ‘मशिन पुग्दैन, नाम लेखिदिएका छौं, तपाईंको पालो आयो भने बोलाउँछौं’ भन्छन्। पालो पाउन सेवा लिइरहेको मान्छे कि अर्को अस्पतालमा जानुपर्यो कि त मर्नुपर्यो। अनि बल्ल नयाँ बिरामीको पालो आउँछ।
हामी पनि कति पटक नेपालमै डायलासिस सेवा लिन्छौं भनेर भारतबाट फर्केका थियौं। तर डायलासिस गराउने पालै आएन।
अर्को, स्वास्थ्यकर्मीको व्यवहार पनि राम्रो छैन। उनीहरूको हेलचेक्र्याइँका कारण पनि समस्या बढेको छ। निःशुल्क सेवा पाइने ठाउँमा पनि ‘तिमीहरूले फ्रीमा त पाएका हौ’ भन्ने व्यवहार गरिन्छ। फेरि निःशुल्क सेवालाई व्यवस्थापन गर्ने संयन्त्र पनि छैन।
जनशक्ति कम भएर पनि समस्या भएको हो?
हुन सक्छ। सरकारले प्रदान गर्ने स्वास्थ्य सेवालाई काठमाडौंमा मात्र केन्द्रित गर्नु भएन नि। देशका अन्य भागमा पनि पुर्याउनुपर्यो। मैले किताब लेख्दै गर्दा खोजबिन गरेको त बुटवलभन्दा पश्चिममा मिर्गौला रोग सम्बन्धी एक जना पनि विशेषज्ञ छैनन्। नेपालगन्जमा मेडिकल कलेज त छ, तर नेफ्रोलोजिस्ट छैनन्।
अहिले पनि महेन्द्रनगर, धनगढीमा मिर्गौलाको डायलासिस भइरहेको छ, तर नेफ्रोलोजिस्ट छैनन्। जुन रोगको विशेषज्ञ नै छैनन्, त्यो ठाउँमा मशिन मात्र चलाएर बिरामीले गुणस्तरको उपचार कसरी पाउँछन्? राज्यले यसमा पनि ध्यान दिनुपर्छ।
नेपालको स्वास्थ्य सेवा जुगाडमा चलिरहेको छ। यसले हामीलाई अदृश्य रूपमा मारिरहेको छ। अझ मिर्गौलाका बिरामीलाई रोगले होइन, राज्यले मारिरहेको छ।
स्वास्थ्य सेवाको समस्याबारे पुस्तकै लेख्नुभयो। अहिलेको अवस्थामा लेखेर केही परिवर्तन आउँछ भन्ने लाग्छ?
परिवर्तन नै आउँछ भनेर दाबी त गर्दिनँ, तर विचार निर्माणको काम चाहिं गर्छ। गलत भाष्य चिर्ने काम गर्छ।
अर्को, कला-साहित्यले समाजको चित्रण गर्छ। यस किताबले पनि २०६८ देखि २०७८ सालसम्मको नेपालको स्वास्थ्य प्रणाली कस्तो थियो भने ऐना देखाएको छ। त्यही भएर साहित्यले ऐना देखाउँछ। साहित्यले आजको भोलि नै परिवर्तन चाहिं गर्दैन। बहस सिर्जना गर्छ।
VIDEO
किताबका कुरा का थप सामग्री
‘भुइँमान्छेको संघर्षको बलमा उभिएको एमालेको जग आजसम्म हल्लिएको छैन’
‘कुनै वेला निजामती सेवामा थिएँ भन्दा लाज लाग्छ’
‘राजा वीरेन्द्रको त्यो प्रश्नपछि चेपाङले आफ्नो थर बदले’
‘लेखनमा तटस्थ भन्ने कुरा ढोंग हो’
‘भूटानबाट नेपाली समुदाय खेदिएपछि देशको सीमा नै खुम्चिंदै गयो’
‘काठमाडौंको वरपर विश्वकै उत्कृष्ट साइकल ट्रेल बन्न सक्छ’
‘बेलसँग बिहे गर्ने प्रचलनले छोरीलाई सती जानबाट जोगाएको थियो’
‘डांग्रो नखाने र भांग्रो नलगाउने त मगर नै होइन भन्थे!’
‘वीरगन्जको बाटो चौडा भयो, तर मन साँघुरिंदै गयो’
‘धनी र गरीब सन्तानलाई बाबुआमाले गर्ने व्यवहार पनि फरक हुन्छ’
‘कोइलाखाद गएका मेरै दौंतरी पनि फर्केनन्’
‘नेपालीले दुःख चाँडै भुल्छन्, तर भूकम्पको दुःख नभुलेकै राम्रो’
‘हाम्रै सोचले हामीलाई कृषिबाट धनी बन्न दिएको छैन’
‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘प्रेम विनाको यौन अपराध हो’
‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘मुन्धुम मानव सभ्यताको इतिहास हो’