‘आर्थिक, सामाजिक र शैक्षिक रूपमा कमजोर समुदाय राजनीतिक रूपमा पनि कमजोर हुन्छ।’
महाभारत शृंखला क्षेत्रमा बाक्लो बसोबास रहेको चेपाङ समुदायको आफ्नै भाषा, धर्म, कला र संस्कृति छ। सीमान्तीकृत चेपाङ समुदायबारे खासै अध्ययन-अनुसन्धान भएको देखिंदैन। अझ अध्ययन-अनुसन्धानमा संलग्न चेपाङ समुदायको संख्या त थोरै छ। तिनैमध्ये एक हुन्, अजयकुमार प्रजा ‘चेपाङ’ ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नाकोत्तर प्रजाको अनुसन्धानमूलक पुस्तक चेपाङ समुदाय प्रकाशित छ। यसमा समुदायको उत्पत्ति, परम्परागत जीवनशैली, संस्कृति, परम्परा र राजनीतिक पहुँचबारे चर्चा गरिएको छ। यही पुस्तकमा केन्द्रित रहेर हिमालखबर को प्रस्तुति किताबका कुरा मा लेखक प्रजासँग सुरेश बिडारी ले गरेको कुराकानी :
किताबमा चेपाङ समुदाय पुकुन्थली र सुनाथलीबाट देशका अन्य भागमा फैलिएको उल्लेख छ। त्यो ठाउँमा कसरी आइपुगेका रहेछन्?
उत्पत्तिको हिसाबले विभिन्न तर्क गरिन्छ। हिन्दू वर्णाश्रम अनुसार रामायणकालीन इतिहाससँग जोडिएको छ। तर अहिलेको जीवनशैलीसँग मेल खाँदैन।
अर्कोे तर्क, किरातीहरूको एउटा वंश विस्थापित भएर अर्को भूमिमा जाने क्रममा छुट्टिएको समुदायको टुक्रा चेपाङ हुन सक्छ भन्ने छ। भाषा, संस्कार, संस्कृति र जीवनशैली यो तर्कसँग बढी नजीक देखिन्छ।
पुकुन्थली र सुनाथलीको कुरा काल्पनिक होइन। चेपाङ समुदायको मुख्य मान्छेलाई ‘पान्दे’ भनिन्छ। उसको ‘बाखम’ हुन्छ। जसरी हिन्दूका लागि वेद हुन्छ, किरातीहरूले मुन्धुम भन्छन्, बौद्ध धर्मावलम्बीले त्रिपिटक भन्छन्, मुस्लिम समुदायको कुरान, क्रिश्चियनको बाइबल हुन्छ। त्यसैगरी, चेपाङ समुदायले आफूलाई चिनाउने तान्त्रिक विद्या ‘बाखम’ हो। त्यसलाई ‘बाखम सा’ पनि भनिन्छ। यो लिखित छैन, मौखिक रूपमै सर्दै आएको हो। तान्त्रिक विद्यालाई लिखित रूपमा राख्नु हुँदैन भन्ने मान्यता छ।
त्यस्तै, चेपाङको सबैभन्दा ठूलो चाड ‘छोनाम (न्वागी)’ हो। हिन्दूले श्राद्धे गरे जस्तै न्वागीमा पितृलाई बोलाएर नयाँ खानेकुरा चढाउने गरिन्छ। चाड मनाउने वेला पान्देले फलाक्छन्, त्यति वेला बाखमको विश्लेषण गर्छन्। अहिलेको जीवनबाट जोड्दै लगेर पुर्खाको जुन ठाउँमा उत्पत्ति भयो, त्यो ठाउँमा जोडिन्छ।
पान्देले बाखम भट्याउँदा पुकुन्थली र सुनाथलीको नाम लिन्छन्। पूर्वका थलीहरू ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेको आसपासका क्षेत्रहरू, सुनकोशी र दूधकोशी नदी किनार आसपासका क्षेत्रमा पुकुन्थली र सुनाथलीका अवशेष भेटिन्छन्। पान्देहरूसँग छलफल र न्वागीमा पान्दे फलाक्ने क्रममा उपस्थित भएर अवलोकन गर्दा पुकुन्थली र सुनाथली चेपाङको पुर्ख्यौली थलो रहेको प्रस्ट भएको छ।
न्वागीमा पान्देले फलाकेको कुरा बुझ्नुहुन्छ?
तान्त्रिक विद्यामा प्रयोग गरिने शब्द सबैले बुझ्न सक्दैन। जान्ने मान्छेबाट थाहा पाउन सकिन्छ। न्वागी गर्ने, सबै मानिस भेला हुने कुराको अर्थ छ। वर्षभरिका सुखदुःखका कुराहरू सबै भेला भएर जीवितले सुन्ने र मृतात्मालाई समेत सुनाउने गरिन्छ। जीवनयापनका क्रममा आइपरेका दुःखपीडा, सुखशान्तिका सन्देश, परिवारमा भएको थपघटका विषयलाई गीतसंगीत मार्फतबाट सुनाइन्छ।
पान्देले घरभित्र मन्त्रद्वारा आफ्नो कुरा कुलपितृलाई सुनाउँछन् भने बाहिर खानपिन गरेर रमाइलो तरीकाले गीतसंगीत मार्फत जीवन संघर्ष प्रस्तुत गरिरहेका हुन्छन्। त्यो दुई वटैको संगम नै छोनाम (न्वागी) हो।
पान्देको विद्या अर्को व्यक्तिमा कसरी सारिन्छ त?
प्रकृति, पुर्खा र जीवनशैलीलाई जोड्ने जीवित पात्र हो, पान्दे। जसको निर्देशनमा समुदाय चल्छ। कतिखेर खेती गर्ने, कतिखेर जंगल जाने, कतिखेर शिकार गर्ने, जन्म-मृत्युको संस्कार र संस्कृतिलाई कसरी मान्ने, न्वागी कसरी मनाउने? पान्देले नै भन्छ।
त्यो ज्ञान कसैले सिकाएर आउने हैन, जान्नेले भनेर पनि हुँदैन, आफैं प्राप्त हुन्छ। व्यक्ति हुर्किंदै गर्दा जीवनका हरेक अवयव त्यस हिसाबले चलिरहेको पान्देले थाहा पाउँछ। त्यो देखेपछि अलिकति बढी सजग र सचेत गराइन्छ। संरक्षकका रूपमा परिवारलाई जानकारी गराइन्छ। कतिपय ज्ञान सपनामा प्राप्त हुन्छ।
कुनै कुनै वेला घरबाट हराउँछ, जसलाई ‘विलप्पिने’ भन्छ। केही दिन देखिंदैन। त्यसपछि त्यो मान्छेलाई आफैं ज्ञान प्राप्त हुन थाल्छ, सपनामा देखाएको कुरा विपनामा गर्न थाल्छ। जान्ने पान्देले हेरेर परीक्षण गर्छ कि त्यो मान्छे सत्य छ कि छैन। कुल चलाउन उपयोगी पात्र नै हो भन्ने भएपछि दैवीशक्ति मार्फत नै ज्ञान प्राप्त हुन्छ भन्ने विश्वास छ।
आधुनिक शिक्षा र विज्ञानले त यसलाई अन्धविश्वासको रूपमा हेर्छन्, हैन र?
विज्ञानको आँखाबाट हेर्दा बिल्कुल गलत छ। ‘यस्तो पनि हुन्छ र!’ भनिन्छ। पत्याउन गाह्रो नै हुन्छ। तर समुदायको बलियो विश्वास छ, १२ देखि १५ वर्षको उमेरमा अदृश्य शक्तिबाट त्यो खालको ज्ञान प्राप्त गर्दै अभ्यास गरेर देखाउँछ। पान्दे महिला या पुरुष जो पनि हुन सक्छ।
कुनै पान्देले चाहेर ‘म फलानालाई ज्ञान दिन्छु’ भनेर हुँदैन। सामग्री संकलन गरेर चढाउने कुरा जान्नेबाट सिकेर पनि गरेका होलान्। तर जुन तन्त्रविद्या हुन्छ, जुन कुरा न्वागीमा फलाकिन्छ, त्यो दैवीशक्ति भनूँ वा अदृश्य शक्तिबाटै प्राप्त हुन्छ भन्ने जनविश्वास छ। विश्वास गर्ने आधारलाई परीक्षण गर्न गाह्रो छ। समुदायले अभ्यास गर्दै आएको छ।
पुस्तकमा चेपाङको राज्य थियो भनिएको छ। राजकाजबाट कसरी जंगलको वासमा जानुपर्ने अवस्था आयो?
चेपाङहरू थुम राज्यहरू सञ्चालन गरेर बस्थे भन्ने परिकल्पना केही विद्वान्ले गरेका छन्। चेपाङ अगुवा पनि ‘हाम्रो राज्य थियो, विस्थापित भएका हौं’ भन्छन्।
चेपाङहरू जुन ठाउँमा अहिले बसोबास गरिरहेका छन्, त्यो ठाउँमा ५००–६०० वर्षअघि थिएनन्। पुर्ख्यौली थलो मानिएका पुकुन्थली, सुनाथलीमा थुम राज्यहरू थिए। मल्ल राजाहरूले विस्थापित गरेको भन्ने लेखोट भेटिन्छ। मल्लकालीन समयमा राज्य विस्तारका क्रममा लखेटिएको हुनुपर्छ।
त्यसपछि लामो समय जंगलमा लुकेर बसे। पछि मात्रै समाजमा देखा परे भन्ने दृष्टिकोणबाट हेरियो भने अहिलेको बसोबाससँग सामीप्य देखिन्छ। जंगली बसाइबाट अरू समुदायसँगै सामाजिक जीवनमा रूपान्तरण भएको हालै हो। एकदमै छिटो परिवर्तन भएको हिसाबले भन्ने हो भने २० वर्ष जति भयो। समुदायमा घुलमिल भएर बस्न थालेको ५०-७० वर्ष जति मात्र भयो। अझै चेपाङहरू अरू समुदायसँग घुलमिल हुन रुचाउँदैनन्।
चेपाङहरू दुई समूहमा विभाजित भएर अहिले बसोबास गरिरहेको स्थानमा आइपुगेका हुन्। न्वागी फलाक्ने र नफलाक्ने छन्। भाषिक हिसाबले उपल्लो पानीढलो (पुकुन्थलीको पानीढलो) र सुनाथलीबाट आएकाहरू बस्ने पानीढलो भन्ने छ। पुकुन्थलीबाट आएकाहरू काठमाडौं, महाभारत शृंखलाको वल्लो भेगबाट आएर बसोबास गरेको देखिन्छ। जुन महादेवबेसीदेखि लिएर स्याङमय डाँडासम्म बस्दै गएको देखिन्छ। उनीहरू अलि चाँडै ‘सिभिलाइज्ड’ भएर आफ्नो भाषा र संस्कृतिको विकास गरेको देखिन्छ।
अर्को, महाभारत शृंखलाको उपल्लो भेगबाट आएकाहरू कछाड क्षेत्रमा बस्छन्। जसलाई ‘कछाडे’ भनिन्छ। जुन भाषागत हिसाबमा फरक छन्। जीवनशैली र व्यवहारमा केही भिन्नता देखिन्छ। अलग अलग ठाउँबाट, अलग अलग अवस्थामा आएर अलग अलग ठाउँमा बस्दै जाने क्रममा भिन्नता आएको हो।
कुलपूजा, पितृपूजा गर्दा छोनाम फलाक्ने वेलामा त्यो थाहा हुन्छ। कतिले छोनाम फलाक्दैनन्, कतिले फलाक्छन्। कूल पूजा गर्ने समय पनि फरक फरक हुन्छ। थुप्रै विभाजन र हाँगा छन्। अध्ययन गर्दा ७४ थर पुगेको छ।
त्यस्तै, चेपाङलाई २२ नालका सन्तान भनिन्छ। कुल र पितृपूजा गर्दा गन्ने २२ भाग हो। अहिले पनि चेपाङले बिहेबारी गर्दा, मर्दापर्दा र जन्मिंदा २२ भागको गणना गर्छ। विवाह गर्दा केटीको घरमा केटाले हरेक चिज २२ भाग लैजानुपर्छ। कुल २२ वटा थिए, त्यसैले सबैलाई भाग लगाउने अर्थमा चढाइएको हो।
पछिल्लो समय प्रजा लेख्न थालिएको छ। प्रजा विकास कार्यक्रम चल्न थालेपछि प्रजा भन्न थालिएको हो कि अगाडिदेखि नै हो?
ऐतिहासिक दस्तावेजलाई हेर्दा चेपाङ नै हो। च्योबाङ, चोवाङ भनिन्थ्यो, पछि चेपाङ भनियो। भाषागत रूपमा रूपान्तरण हुँदै आएको हो। २०३४ सालअघि चेपाङले प्रजा लेखेको भेटिंदैन।
मकवानपुरको मनहरीमा राजा वीरेन्द्र सवारी हुँदा चेपाङ पनि उपस्थित भएछन्। पोशाक फरक देखेपछि राजाले ‘को हो?’ भनेर सोधेछन्। कसैले ‘उनीहरू चेपाङ हुन्’ भनेछन्। त्यसपछि राजाले ‘प्रजा’ नै मान्नु भनेर उनीहरूको हितमा विशेष कार्यक्रम नै शुरू गर्न आदेश दिएछन्। आर्थिक वर्ष २०३३/३४ मा प्रजा विकास कार्यक्रम शुरू भएको थियो।
राजाले नै प्रजा भनिदिएपछि चेपाङ समुदायमा ‘हामी पनि अरू जाति-समुदाय सरहकै रहेछौं’ भन्ने विश्वास हुन गयो। त्यसपछि धेरै चेपाङले प्रजा भनेर नागरिकता बनाएको र प्रजा लेख्ने गरेको भेटिन्छ।
चेपाङ समुदायलाई प्रकृति पूजक भनेर चिनिन्छ। के-कस्ता चाडपर्व मनाउने गरिन्छ?
चेपाङ समुदायको जल, जंगल र जमीनसँग सामीप्य देखिन्छ। जहाँ पानीको मुहान छ, त्यही आसपास, त्यो पनि जंगलको छेउछाउ बस्छन्। चेपाङ समुदायले खेती गर्न थालेको ५० देखि ७० वर्ष भयो। खोरिया खन्ने, पाखे बाली लगाउने, बाँकी समय जंगली कन्दमूल खोजेर खाने र शिकार गर्ने परम्परा छ। खोरियामा खेती गर्ने चलन अझै छ। वन ऐन मार्फत सरकारले ल्याएको सामुदायिक र कबुलियती वनको प्रावधानले खोरिया घटेको छ।
जुन कुरा उपभोग गरिन्छ, त्यसको पूजा गर्ने चलन छ। भूमि, पानीको मूलको पूजा गरिन्छ। जंगल प्रवेश गर्नुअघि सबैभन्दा ठूलो रूखको पूजा गरिन्छ। जंगलमा शिकार प्राप्त होस्, कुनै किसिमको हानि-नोक्सानी नहोस् भनेर पुज्ने गरिएको हो।
चेपाङ समुदायले खानेकुराको २१ प्रतिशत हिस्सा वनजंगलबाटै आपूर्ति गर्ने गरेको तपाईंकै अध्ययन छ। अहिलेको अवस्था कस्तो छ?
वर्षभरि खान पुग्ने चेपाङ १० प्रतिशत मात्र छन्। २० प्रतिशत चेपाङले ६ महीना खान पुग्नेगरी कमाउँछन्। बाँकीको तीन महीनाभन्दा बढी पुग्दैन। पछिल्लो समय जीवनशैलीमा रूपान्तरण भएको छ, आयआर्जनका लागि वैदेशिक रोजगारीमा जान थालेका छन्। अन्य ठाउँमा पहुँच बढेको छ। तर अहिले पनि जंगली कन्दमूल प्रयोग गर्छन्।
चेपाङ समुदायले एकदमै प्रयोग गर्ने भनेको गिट्ठा हो। भ्याकुर, वन तरुल, घर तरुल, पाङनाम, च्यारपास लगायत थुप्रै कन्दमूल हुन्छन्। सागसब्जी, टाँकी, निगुरो, जलुका खाने गरिन्छ। बर्खाको समयमा बढी पाइन्छ, सुक्खामा कम हुन्छ। अझै पनि जंगलबाट कन्दमूल खोजेर ल्याएको देखिन्छ, जसले जीवनयापनमा निकै सहयोग गर्छ।
चेपाङ, चिउरी र चमेरोको सम्बन्धको चर्चा हुन्छ, त्यो भनेको के हो?
चेपाङ समुदाय चिउरी हुने क्षेत्रमा बस्छ। फल, फूल, रस, पात, दाउरा उपयोग गर्न सकिने भएकाले चिउरी एकदमै उपयोगी वनस्पति हो। चिउरी खान आउने चमेरोलाई पनि खाद्यवस्तुका रूपमा प्रयोग गर्छन्। चेपाङ, चिउरी र चमेरोबीच सांस्कृतिक अन्तर्सम्बन्ध प्रगाढ छ। पछिल्लो समय चिउरीको नाश भयो, चमेरो नाश भएर जाने क्रममा छ। त्यसले गर्दा जोगाउनुपर्छ भन्ने आवाज उठेको हो।
चेपाङ समुदाय धनुषविद्यामा निपुण जाति भनेर किताबमा उल्लेख छ। त्यो अहिले पनि कायम छ कि लोप भयो?
शिकारका प्रविधि धेरै आए। पहिला बनाउन र प्रयोग गर्न सजिलो भएकाले चेपाङ समुदायले धनुष-वाण प्रयोग गर्थ्यो। अहिले त्यसको प्रयोग एकदमै कम छ। चेपाङमा शिकार गर्ने, खेती गर्ने, कन्दमूल खोज्ने, वासस्थानको संरक्षण गर्ने, सामग्री साटासाट गरेर व्यवसाय गर्ने अलगअलग थरका मानिस हुन्छन्। कतिपय बाँसको सामग्री बनाउन सिपालु हुन्छन्। शिकार गर्ने समूहतर्फका मानिसले अझै पनि शिकारी पूजा गर्छन्। उनीहरूले धनुष-वाण बनाउँछन्।
शिकार कसरी गर्ने, शिकार गर्न जाँदा के गर्न हुन्छ, के गर्न हुँदैन? त्यहाँ को को सामेल हुने, शिकार गरेर आइसकेपछि के गर्ने? यसबारे सामाजिक नियम नै हुन्छ। शिकार गर्न जाँदादेखि फर्केर आइसकेपछि गर्नुपर्ने विधि छ, जतिखेर मन लाग्यो, त्यतिखेर शिकार गर्ने होइन, कुन समयमा शिकार खेल्ने भनेर पान्देले नै बताउँछन्।
चेपाङ क्षेत्रको सिद्धीमा २००९ सालमै विद्यालय खोलिएको रहेछ। त्यस वेला त चेपाङका बालबालिका स्कूल गएनन् होला। परम्परागत शिक्षा प्रणाली कसरी अघि बढेको थियो?
चेपाङ समुदायले प्रयोग गरिरहेको विद्यालाई आधुनिक शिक्षाले अन्धविश्वास भनेर हेर्छ। तर प्रयोगमा त अझै छ।
एक ठाउँमा भेला भएर सिक्ने चलन थिएन। उही न्वागीमा पान्देले फलाक्छ, त्यही सुन्ने हो। सम्भाव्य मानिसलाई पान्देले बिस्तारै सिकाउँदै लैजान्थ्यो। न्वागीमा पान्देले घेरा बनाएको हुन्छ, मूल घेरामा पान्दे र उनका शिष्य मात्रै जान पाउँछन्। मूल घेरा बाहिर सबै बस्न पाउँछन्। जसले सांकेतिक व्यवहार देखाउँछ, उसलाई पान्देले आफ्नो सूचीमा राख्छ। उसैलाई सिकाउने हो।
राजनीतिक पहुँच र प्रतिनिधित्वको हिसाबले चेपाङ समुदायको अवस्था अहिले कस्तो छ?
नेपालमा एकात्मक राज्यव्यवस्था हुँदा राजनीति गर्नु जटिल कार्य थियो। तैपनि केही चेपाङ राजनीतिमा आएका रहेछन्। २०३९, २०४२ र २०४४ सालका स्थानीय चुनावमा योगदान गरेको, केही वडा सदस्य, वडाध्यक्ष भएका उदाहरण छन्। २०४६ सालको परिवर्तनपछि २०४९ र २०५४ सालको स्थानीय चुनाव हेर्दा अहिलेभन्दा राम्रो अवस्था थियो। त्यति वेला गाविस अध्यक्ष, वडाध्यक्ष, सदस्य जितेका थिए।
त्यसपछि २० वर्ष स्थानीय चुनाव भएन। २०६२/६३ सालको जनआन्दोलनपछि एमाले र माओवादीले एक-एक जनालाई संविधानसभा सदस्य बनाए। संविधान जारी भइसकेपछि बागमती प्रदेशमा एक जना प्रदेश सभा सदस्य र राज्यमन्त्री बनेका थिए। राजनीतिक रूपमा माथिल्लो पहुँचमा पुगेका उनीहरू नै हुन्। आर्थिक, सामाजिक र शैक्षिक रूपमा कमजोर समुदाय राजनीतिक रूपमा पनि कमजोर हुन्छ।
त्यति वेला त चेपाङ स्वायत्त राज्यको पनि माग गरिएको थियो नि?
माग गर्नु नै समुदायको तर्फबाट सफलता मान्नुपर्यो अहिलेलाई। राज्यले शक्तिलाई नै मुख्य रूपमा लिन्छ। चेपाङ शक्ति हो कि हैन? राज्यले बुझ्ने कुरा हो। राज्यले ‘यिनीहरू शक्ति होइनन्, कराउँदै गर्छन्, ठीकै छ’ भन्ने हिसाबले लिएको छ। सबै समुदाय, जाति, वर्ग, लिंगको समान अधिकार र पहुँच हुनुपर्छ।
बलियालाई दुई पाथी बोकाउने र हिंड्न नसक्नेलाई पनि दुई पाथी बोकाएर कुद भन्नु न्यायोचित हुँदैन। कमजोरलाई मूलधारमा ल्याएर समान बनाउन विशेष व्यवस्था हुनुपर्छ। त्यसकारण स्वायत्त राज्य हुनुपर्छ भनेर संस्थागत रूपमा माग उठाएको हो, उठाउनु नै पर्छ, उठाउने नै हो। तर राज्यले यसलाई कति सम्बोधन गर्छ, थाहा छैन। जति चाँडो विशेष व्यवस्था गर्छ, त्यति चाँडै समुदायको उत्थान हुन्छ।
प्रकृतिमा रमाउने चेपाङ समुदाय पनि आधुनिकतातिर लम्किंदै गएको छ। यसले जनजीवनमा के-कस्तो परिवर्तन ल्याएको छ?
पछिल्ला गतिविधि, प्रकृति र समुदायका लागि हितकर छैनन्। आधुनिक हुने नाममा विभिन्न किसिमका मदिरा तथा मादक पदार्थ, प्याकेजिङ गरिएका चिजहरू प्रयोग गरिंदै आएको छ। स्वास्थ्यलाई हानि गर्ने वस्तुको प्रयोग राम्रो होइन।
चेपाङ प्रकृतिको एकदमै ठूलो संरक्षक हो। जल, जंगल र जमीनलाई पुज्दै, संरक्षण गर्दै जीवन सहज ढंगले अगाडि बढाउने समुदाय हो। तर अहिले चेपाङ समुदायले पनि अरूको सिको गर्न थालेको देखिन्छ। राम्रो र नयाँ कुरा सिक्ने हो। प्रविधिलाई आत्मसात् गर्ने नै हो। तर आफ्नो संस्कृतिलाई धराशायी बनाएर अरूका कुरा सिक्दै गयौं भने कहाँ पुग्छौं?
ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक चालचलन र समुदायमा भएका राम्रा कुरालाई प्रवर्द्धन गरेर आधुनिक अवस्थालाई स्विकार्ने हो। पहिचान सहित धर्तीमा बाँच्न र जलवायु परिवर्तनलाई आत्मसात् गरेर जीवनशैली सहज बनाउनेतर्फ सोच्नु जरूरी छ।
VIDEO
अन्त्यमा, अहिले चेपाङ समुदायको अवस्था कस्तो छ?
चेपाङ समुदाय क्रमशः विकासको मूल प्रवाहमा आउँदै छ। अहिले चेपाङ समुदायमा बसाइँसराइको क्रम बढेको छ। २०६८ सालमा २६ जिल्लामा बसोबास गर्थे भने अहिले फैलिएर ३२ जिल्लामा पुगेका छन्। जनसंख्या पनि ६४ हजारबाट बढेर ८४ हजार पुगेको छ।
धादिङ, मकवानपुर, चितवन र गोर्खा जिल्लामा चेपाङ समुदायको सघन बसोबास छ। आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक हिसाबले अन्य समुदायभन्दा कमजोर छ। यो समुदाय परिवर्तनको सँघारमा छ, जसले नयाँ खालका चुनौती सिर्जना गरेको छ।
किताबका कुरा का थप सामग्री
‘लेखनमा तटस्थ भन्ने कुरा ढोंग हो’
‘भूटानबाट नेपाली समुदाय खेदिएपछि देशको सीमा नै खुम्चिंदै गयो’
‘काठमाडौंको वरपर विश्वकै उत्कृष्ट साइकल ट्रेल बन्न सक्छ’
‘बेलसँग बिहे गर्ने प्रचलनले छोरीलाई सती जानबाट जोगाएको थियो’
‘डांग्रो नखाने र भांग्रो नलगाउने त मगर नै होइन भन्थे!’
‘वीरगन्जको बाटो चौडा भयो, तर मन साँघुरिंदै गयो’
‘धनी र गरीब सन्तानलाई बाबुआमाले गर्ने व्यवहार पनि फरक हुन्छ’
‘कोइलाखाद गएका मेरै दौंतरी पनि फर्केनन्’
‘नेपालीले दुःख चाँडै भुल्छन्, तर भूकम्पको दुःख नभुलेकै राम्रो’
‘हाम्रै सोचले हामीलाई कृषिबाट धनी बन्न दिएको छैन’
‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘प्रेम विनाको यौन अपराध हो’
‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘मुन्धुम मानव सभ्यताको इतिहास हो’