‘नपढेका युवा जुलूस, र्यालीमा शक्ति प्रदर्शन गर्न हिंडेका छन्, पढेलेखेका युवा विदेश गइसके। सरकारले शान्ति चाहेको छ भने गुणस्तरीय शिक्षा र रोजगार दिनै पर्छ।’
वीरगन्ज निवासी आख्यानकार गणेशप्रसाद लाठ को पहिलो गैरआख्यान कृति आएको छ, सीमान्त सम्झना । जसमा एउटा उत्सुक बालक-किशोरले देखेको आफ्नो घर-समाजको रूपान्तरणको संस्मरण कथेको छ। पुस्तकले वीरगन्जको आधुनिक यात्राको इतिहास पनि बोलेको छ।
सीमावर्ती क्षेत्रका नागरिकका जीवनशैली, संघर्ष, पीडा र सामाजिक विसंगतिलाई गहिरो रूपमा चित्रण गरिएको पुस्तकमा वीरगन्जका अवसर र चुनौती पनि केलाइएका छन्। वीरगन्जका समाज, संस्कृति, इतिहास र साहित्यबारे सरल लेखनशैलीमा गम्भीर कुरा पस्किएको छ।
जीविकोपार्जनका लागि व्यापार-व्यवसायमा तल्लीन परिवारका सदस्य लाठको बाल्यकालदेखि नै अध्ययनमा लगाव थियो। त्यही लगावले उनलाई लेखनतिर आकर्षित गर्यो। आख्यान लेखनमा रमाइरहेका लाठले यस पटक हिजो र आजको वीरगन्जलाई पुस्तकमा उतारेका छन्। पुस्तक लेखन, पुस्तकभित्र समेटिएका ऐतिहासिक र सामाजिक विषयसँगै हालको वीरगन्जको अवस्था वरिपरि रहेर हिमालखबर को प्रस्तुति किताबका कुरा का लागि लेखक लाठसँग अनिता भेटवाल ले गरेको कुराकानी :
आख्यान लेखनमा रमाइरहनुभएको थियो। यस पटक संस्मरणात्मक पुस्तक आयो। संस्मरण र आख्यान लेखनमा के फरक हुँदो रहेछ?
आख्यानमा कथा खेलाउने ठाउँ हुन्थ्यो। पात्रलाई बलियो पार्न पृष्ठभूमि पनि आफैंले ‘डिजाइन’ गर्न पाइन्थ्यो। काँटछाँट गर्ने छूट हुन्थ्यो। कथालाई लम्ब्याउने वा घटाउने जे गरे पनि हुन्थ्यो। गैरआख्यानमा इमानदार भएर लेख्दा धेरै कुरा नमीठो र भद्दा लाग्न सक्छ।
तैपनि गैरआख्यानमा तथ्य हटाउन पाइएन। गैरआख्यानमा कौतूहल पनि कम हुन्छ। कहिलेकाहीं पाठकले एउटै कुरा कति पटक लेखेको पनि भन्दा रहेछन्। लेखन रुचिकर बनाउने त लेखकको कला होला। त्यसैले यो चुनौतीपूर्ण तर रमाइलो लाग्यो।
तपाईंको संस्मरण भए पनि यस पुस्तकमा वीरगन्जको इतिहास लेखिएको देखिन्छ। संस्मरणलाई यस्तो ठूलो ‘क्यानभास’ मा किन लेख्नुपर्छ भन्ने लाग्यो?
मेरो पुस्ताले अहिले जे देखेको छ, नातिनी पुस्ताभन्दा पछिकाले नदेख्ला। मेरो पुस्ताले त ‘टाइपराइटर’ पनि देख्यो र अहिले ‘एआई (आर्टिफिसियल इन्टेलिजेन्स)’ पनि देखिरहेको छ। मेरी १३ वर्षकी नातिनीलाई पहिला टेलिभिजन ठूलो भाँडाको हुन्थ्यो भन्दा पत्याउँदिनन्। प्रविधि छोटो समयमा धेरै विकसित भइसकेको छ। त्यसकारण सामाजिक इतिहास नयाँ पुस्ताले थाहा पाउनुपर्छ भनेर आफू बाँचेको समयको वीरगन्जलाई देखाएको हुँ।
हिजो वीरगन्जबाट काठमाडौं आउन भिसा लगाउनुपर्थ्यो। मोटर बाटो थिएन। पैदल आउनुपर्थ्यो। राणाहरू चढ्ने गाडी ६०-७० जनाले बोकेर ल्याउँथे। यो कुरा लेखिएन भने हराउँछ। यस्ता कुरा लिपिबिद्ध नगर्नु पनि इतिहासलाई मार्नु हो। त्यसैले सबै पक्षहरू आएका हुन्।
संस्मरण लेखनका विषयमा साहित्यकार पारिजातले भनेकी छन्, ‘आत्मसंस्मरण लेख्नु भनेको आफैंप्रति इमानदार हुनु हो।’ आफ्नो विगतका कुरा लेख्दा तपाईं कतिको इमानदार हुनुभयो?
पुस्तक लेख्दै गर्दा हजुरआमाको कथा आउँदा भावुक हुन्थें। बुबा बितेको पनि धेरै भएकाले उहाँहरूले बाँचेको समयको कुरा आउँदा, भागेको दुःखबारे लेख्दा भावुक भएँ। हुनत मेरो परिवार सम्भ्रान्त थियो, तैपनि म पाँच किलोमिटर हिंडेर विद्यालय जान्थें। मैले पुस्तकमा आफूले गरेका गल्तीबाट सिकेको कुरा इमानदार भएर लेखेको छु।
हरेक मान्छेको अँध्यारो पाटो हुन्छ। जुन पाटो उजागर गर्यो भने समाजमा नकारात्मकता पनि फैलिन सक्छ। त्यसैले मेरो जीवनका अँध्यारा पाटाहरू भने मसँगै मरून् भनेर लेखिनँ। फेरि साहित्य कुण्ठा पोख्ने ठाउँ पनि होइन।
तपाईं हुर्किंदै गर्दाको समयतिर फर्कौं। विसं २०२० को दशकमा स्कूले विद्यार्थी छँदा पञ्चायती व्यवस्था थियो। राजनीतिक क्रियाकलाप प्रतिबन्धित थिए। राजारानीको जयजयगान गरिन्थ्यो। त्यो व्यवस्थालाई कसरी महसूस गर्नुभयो?
त्यति वेला सोचाइको दायरा साँघुरो थियो। सबैले ‘हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष’ भन्दै राजारानीको जन्मदिन मनाउनुपर्थ्यो। राजारानीको जन्मदिनमा दिनभर वीरगन्जमा परेडमा हुन्थ्यौं। घर फर्किंदा पसिनाले निथ्रुक्क भइन्थ्यो। हामीलाई राष्ट्रवाद यही होला भन्ने लाग्थ्यो। कसैले राजा महेन्द्रलाई नराम्रो भन्दा म ठाडो झगडा गर्न पुग्थें। तर त्यस्तो राष्ट्रवादमा नकारात्मक कुरा हेरिंदो रहेनछ।
त्यस वेला म राजाबारे धेरै सोच्थें। राजा आएको कार्यक्रममा जसैगरी पुग्थें। राजा आउँदा हेलिकोप्टरबाट बाटोसम्म रातो कार्पेट बिच्छयाइएको हुन्थ्यो। सबैले जयजयकार गर्थे। राजासँग वार्तालाप गर्ने मौका कमैले पाउँथे। हामी परैबाट हेरेर मक्ख पर्थ्यौं। तर आजको दिनमा त्यो गलत रहेछ भन्ने लाग्छ। किनभने प्रधानमन्त्री होस् वा मन्त्री, जनताको छोरा हो भने त्यो परिधि राख्ने होइन।
फेरि त्यो वेला समाजमा अनुशासन, शान्ति सुरक्षा र विकासको राम्रै अवस्था थियो। राजा महेन्द्र नभएको भए यो देश रहन्थ्यो वा रहँदैनथ्यो होला भन्ने पनि प्रश्न पनि उठ्छ। सारा संसारमा अस्तित्व राख्न संयुक्त राष्ट्रसंघमा उनैले सदस्य बनाइदिए। राष्ट्रिय योजना आयोग र राष्ट्रको कोष बनाए। राष्ट्रिय कोष नहुँदा राणाहरूले राज्यको रकम निजी रूपमा खर्च गर्थे। महेन्द्रले विकास खर्चको शीर्षक छुट्याइदिए। आयोग र विद्यालय खुले। तर राजसंस्थाको आफ्नै कपटीपन पनि थियो।
त्योभन्दा अझै पछाडि फर्कौं। वीरगन्ज, वीरगन्ज हुनुभन्दा अघि चाहिं कस्तो थियो?
हरेक मान्छेको उमेर अनुसारको स्वाद फरक हुँदो रहेछ। बाल्यकालमा मलाई भविष्य मीठोे लाग्थ्यो, अहिले आएर अतीत मीठो लाग्न थालेको छ। पुरानो वीरगन्ज खूब राम्रो लाग्छ। उति वेलाको सामाजिक सद्भाव राम्रो थियो।
त्यो वेला जनसंख्या कम भएर हो वा विश्वको वैमनस्य वीरगन्जको पहुँचमा नभएकाले हो, धेरै शान्ति थियो। हिन्दू-मुस्लिमको विवाद त छँदै थिएन। जातभातको कुरै थिएन। कसैलाई सोध्ने फुर्सद पनि थिएन। तर अहिले जति उदारवादको कुरा गरे पनि मान्छेहरू संकीर्ण भएका छन्।
वीरगन्जको प्रारम्भिक इतिहास हेर्दा गहवा अर्थात् दुर्गम स्थानमा रहने पवित्र स्थानको कुरा आउँछ। तराईमा अहिले पनि गाउँ छिर्ने वेला पीठ राखिएका मन्दिर पाइन्छन्। वीरगन्जका पनि मुख्य मुख्य ठाउँमा अहिले पनि छन्। त्यसमध्ये गहवामाई मन्दिर एक हो। त्यस्तो क्षेत्रमा पहिला दुई-अढाई सय व्यक्तिको बस्ती रहेको इतिहास भेटिन्छ।
पहिला छपकैया, मर्ली, अलौ लगायत साना साना बस्ती थिए। यो ठाउँमा बस्ती हुनुभन्दा अघि घना जंगल थियो भनेर सिल्भाँ लेभीका पुस्तकमा उल्लेख भएको पाइन्छ। वीरगन्ज नाम दिनुभन्दा अघि यो ठाउँ तिरहुत राज्यभित्रै पर्थ्यो। जनपथको एउटा सानो हिस्सा मात्र थियो। जंगल भएकाले नेपाल उपत्यका, वैशाली र मिथिला राज्यका मानिस शिकार खेल्न आउँथे।
सिल्भाँ लेभीले झन्डै डेढ सय वर्षअघि लेखेको पुस्तकमा वीरगन्ज शब्द नै आएको छैन। गहवा शब्द मात्र आएको छ। उनले अमलेखगन्जमा थारू बस्ती भेटेका थिए। त्यसैले त्यो जंगलका आदिमानव थारूलाई माने पनि हुन्छ।
यता, सिम्रौनगढका अवशेषहरू भेटिने क्रम अझै जारी छ। जहाँ दुई हजार वर्षभन्दा पुरानो इतिहास भएको पाइएको छ। सिम्रौनगढ र वीरगन्जको दूरी धेरै छैन। सिम्रौनगढ राज्य कुनै समय वीरगन्जसम्म फैलिएको हुन सक्ने अनुमान हो।
पर्सागढीमा पनि दुई हजार वर्षअघिको अवशेष पाइन्छ। नेपाल उपत्यका प्रवेश गर्नेहरू पर्सागढी भएर जान्थे रे! त्यो हेर्दा वीरगन्जको बस्ती धेरै पुरानो हो। तर प्रमाणित गर्नेगरी अध्ययन भएको छैन।
आजको वीरगन्जमा भने मानिस जति शिक्षित हुँदै गए, उति नै अहंता बढेको देखिन्छ। कति पैसा कमाएको छ भन्ने आधारमा समाजले सम्मान गर्छ। फेरि वीरगन्ज राम्रो-नराम्रो सबै कुराको कारोबार हुने स्थान भएको छ। नवनागरिक उदाएका छन्। रैथाने भने अँध्यारो पाटामा छन्, ओझेल परेका छन्।
राज्य संयन्त्रले पनि कर जसले बढी तिर्यो, उसैलाई पुरस्कृत गर्छ। कर त जसले बढी कमाएको छ, उसैले तिर्ने हो। तर आममान्छेले समाजलाई दिएको कुराको कुनै मूल्यांकन छैन। त्यसैले आजको वीरगन्जका बाटाहरू चौडा छन्, तर मन साँघुरो छ।
अलि इतिहास खोतलौं। हिजोको सानो बस्तीबाट आजको गुलजार वीरगन्ज चाहिं कसरी बन्दै आयो त?
राणा सरकारले भारततिर जाने सामानको वीरगन्जमा गोदाम बनाउने क्रमबाट वीरगन्ज बदलिने सिलसिला शुरू भयो। राणाहरूको त वीरगन्जलाई कर संकलन गर्ने केन्द्र बनाउने मात्र ध्येय थियो।
पहिला कृषक आफैं भारतको बजारमा सामान बेच्न जान्थे। त्यसो गर्दा राज्यको कर मर्थ्यो। भारतबाट आउने सामानलाई पनि केन्द्रीकृत गरेर वीरशमशेरले वीरगन्जमा बजार अड्डाहरू बनाउन लगाए। भारतबाट पनि नजीक, अझ ७०० किलोमिटर मात्र टाढा रहेकाले कलकत्तासँग व्यापार शुरू भयो। त्यति वेला ब्रिटिश भारतको राजधानी पनि कलकत्ता नै थियो।
त्यसैले वीरगन्ज बजार-अड्डा बन्दै गयो। वीरशमशेर आफैंले पसल अड्डा खडा गरे। त्यसको भाडा राज्यलाई नै जान्थ्यो। त्यहाँबाट भएको कमाइले नै विकासका काम भएका हुन्।
त्यसपछि उनले बिहार र कलकत्ताबाट अझै व्यापार बुझ्ने व्यापारीलाई खोजीखोजी ल्याए। त्यसरी नै मारवाडी आए। मारवाडीको कारोबार जिन्सीको थियो। पन्जाबीको यातायातमा पकड भयो। नेवारहरू पनि बिस्तारै पुगे। अरू पनि समुदाय थपिंदै गएर वीरगन्ज सुन्दर फूलबारी बन्यो।
फूलबारी बनेको वीरगन्जमा पछिल्लो समय भने साम्प्रदायिक दंगा हुँदै आएको छ। तपाईंलाई के लाग्छ, किन वीरगन्जमा यो तनाव भइरहेछ?
केही महीनाअघि पनि कर्फ्यू लागेकै हो। वीरगन्जमा धार्मिक तनाव नियन्त्रण गर्न राज्यको संयन्त्र नै असफल भएको हो। किनभने हरेक वर्ष वीरगन्जको छपकैयामा झडप हुन्छ भन्ने थाहा पाएपछि यस क्षेत्रलाई संवेदनशील बनाउन जरूरी थियो। झडप गराउन दुवै समुदायका २०-२५ जना बदमास होलान्। तर यसले समुदायमा सद्भाव बिगारिरहेको छ। यसमा राजनीतिक अजेन्डा बोकेर दुवै पक्ष (हिन्दू र मुस्लिम)का मानिसलाई खेलाइएको पनि हुन सक्छ।
कुनै समय वीरगन्जमा लाग्ने रामलीलामा समेत मुस्लिम समुदायका व्यक्ति अभिनय गर्थे। अहिले मुस्लिम समुदायको बस्तीमा हिन्दू र हिन्दू समुदायको बस्तीमा मुस्लिम पस्न डराउने स्थिति किन आयो?
उति वेला भन्नै पर्दैन, म पनि मुस्लिम साथीहरूसँगै खेलेर हुर्केको हुँ। हामीलाई कुन जातको साथी हो भन्ने यादै हुँदैनथ्यो।
अर्को, अहिले हामी हरेक कुरा हिन्दू-मुस्लिम मात्र भनेर जोड्छौं। तर हिजो हिन्दू-मुस्लिमभन्दा अघि वीरगन्जमा पहाडी र मधेशीको कुरा उठ्थ्यो। अब मधेशीभित्र पनि तल्लो र माथिल्लो जातको भन्ने कुरा उठेको छ। पहाडतिर पनि गुरुङ, मगर र बाहुनका मुद्दा उठिरहेका छन्।
यो सबैको जड अशिक्षा हो। सामाजिक विविधतालाई पचाउन सक्ने गरी हाम्रो समाज शिक्षित नै भएको छैन। जबसम्म बालबालिकालाई शिक्षाको तहबाटै बुझाउन सक्दैनौं, तबसम्म यो समस्या रहन्छ। किनभने बाँकी संसारै नदेखेकालाई यो दंगा-झडप नै संसार लाग्नु स्वाभाविक हो। शिक्षाले अर्को संसारसँग साक्षात्कार गराउँछ।
अर्को समस्या बेरोजगारी हो। अरू देशमा कलेज पढेर आएपछि विद्यार्थी डिपार्टमेन्ट स्टोरमा भए पनि काम गर्न जान्छन्। तर हाम्रो देशमा युवा कलेज पनि जाँदैनन्। त्यसमा पनि वीरगन्जमा त बिहान उठेर मोटरसाइकलमा पार्टीको झन्डा बोकेर विमानस्थल जाने र ‘नेताजी आहत हे, रिसिभ करके जावत’ भन्ने गर्छन्। अनि बिस्तारै तिनैले नगरपालिकाको ठेक्का हात पार्छन्।
हामीले पनि युवाको भावनात्मक शोषण गरेका छौं। नपढेका युवा र्यालीमा शक्ति प्रदर्शन गर्न हिंडेका छन्, पढेलेखेका युवा विदेश गइसके। सरकारले शान्ति चाहेको छ भने गुणस्तरीय शिक्षा र रोजगार दिनै पर्छ। नत्र यस्ता दंगा र झडप भइरहन्छन्।
यस बाहेक तपाईंले वीरगन्जमा देखेका चुनौती के के हुन्?
संघीय सरकारले सबैभन्दा धेरै राजस्व वीरगन्जबाट उठाउँछ। तीन वटा भन्सार अरू कुनै नाकामा छैन, वीरगन्जमा छ। तर संघीय सरकारबाट महानगरपालिकालाई आउने बजेटको सूचीमा वीरगन्ज पुछारमा छ। वीरगन्जको अन्य आन्तरिक स्रोत छैन। आयकर, भ्याट र भन्सार नै आम्दानीका मूल स्रोत हुन्। यो सारा केन्द्र सरकारलाई गइरहेको छ। यसमा वीरगन्जलाई अन्याय भएको छ।
वीरगन्ज आन्तरिक प्रवासीको शहर पनि हो। विकासका साथै अपराधीको पनि गढ हो। नेपाल सरकारले पहिला एसएसपीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्थ्यो। अहिले एक जना एसपीको भरमा छ। सुरक्षा जोखिम बढेको छ, तर सुरक्षाकर्मीको संख्या कम छ।
त्यस्तै, शैक्षिक क्षेत्रमा आजसम्म पीएचडी गर्ने विश्वविद्यालय छैन। सिमरा विमानस्थल काठमाडौंको गौचरन (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल)भन्दा पुरानो हो। तर चार वटा विमान सेवा कम्पनीले धावनमार्ग ठूलो बनाउन भनेको १० वर्ष भइसक्यो, काम भएको छैन।
इतिहास र समाजको कुरा गर्दा वीरगन्जको रेललाई कसरी छुटाउनु! पुस्तकमा जिजुबुबाले पनि गोरखपुर-सुरजगढको रेल चढेको उल्लेख गर्नुभएको छ। रेल चल्दा वीरगन्ज कस्तो थियो? त्यो समयलाई कसरी सम्झिनुहुन्छ?
म फुच्चे हुँदा वीरगन्जमा सधैं रेल देख्थें। रेलले सामान ओसार्थ्यो। रक्सौलबाट वीरगन्ज आउने रेल हलुका खालको हुन्थ्यो। रक्सौलबाट रेल आयो भन्ने थाहा पाएपछि मानिसले मोटरसाइकल राखेर रेल नै रोकिदिन्थे। अहिलेको घण्टाघर भएको ठाउँमा रेल गुड्थ्यो। अहिले बीपी उद्यान भएको ठाउँमा रेल स्टेशन थियो। त्यहाँ चार-पाँच वटा रेल लाइन लागेर बसेका हुन्थे। हामी साइकलमा आएर हेर्थ्यौं।
म जन्मनुअघि भने वीरगन्जको मूल सडकमा नै रेलको बाटो थियो रे। त्यो रेल चन्द्रशमशेरले लिएर आएका हुन्। १९९० सालको भुइँचालोमा रेलका पटरीहरू पल्टिएका थिए रे! त्यो वेला रेल नै मानिसको जीवन थियो।
९२ वर्षका पशुपतिविक्रम शाहले भने अनुसार त्यो वेला वीरगन्जमा घना जंगल मात्र थियो। रक्सौलबाट वीरगन्ज पैदल आउन डर लाग्थ्यो। अहिले खण्डहर भएको रक्सौलको रेल-वे स्टेशनमा रात बिताउँथे रे! अनि अर्को दिन ९ बजेको रेल चढेर वीरगन्ज आउँथे रे!
रेलमा वीरगन्जबाट अमलेखगन्ज जान आधा दिन लाथ्यो। आजको पुस्ताले त्यति कुर्न सक्दैन।
समयसँगै पुरानो यातायातलाई जीवित राख्न नसक्दा वीरगन्जको रेल त इतिहास बन्यो। त्यस वेला भएको सम्पत्तिलाई मासेर बाटो बनाइयो। अहिले फेरि उही रेलको कुरा गरिरहेका छन्। अहिले पनि काठमाडौंबाट वीरगन्जसम्म रेल बनाउने चर्चा भइरहेको छ।
खासमा वीरगन्जको ‘लिगेसी’ नै नाश भयो। जापान, हङकङमा पुरानो रेललाई संरक्षण गरेका छन्। दार्जीलिङमा पुरानो रेल चलिरहेकै छ। सिम्लामा अहिले पनि उही पुरानो रेल जिउँदो छ। यो त पर्यटनको स्रोत थियो। हामी गुमाइसकेको कुरामा दुःख मनाउ मात्र गरिरहेका छौं।
तपाईंको लेखपढबारे कुरा गरौं। व्यापार पनि गर्नुहुन्छ। व्यापारलाई जीविका चलाउने माध्यम र लेखपढलाई चाहिं व्यसन भन्नुभएको छ। स्कूले विद्यार्थी छँदा वीरगन्जमा पाठ्यपुस्तकभन्दा बाहिरका सामग्री पढ्ने माहोल कस्तो थियो? लेखपढलाई नै व्यसन कसरी बनाउनुभयो?
त्यस वेला मनोरञ्जन लिने कुनै माध्यम थिएन। भारतबाट मधुमुस्कान , लोटपोट , चम्पक , नन्दन लगायत पत्रिका आउँथे। तिनको मोल २५ पैसादेखि दुई रुपैयाँसम्म पर्थ्यो। मोटो उपन्यास पनि दुईदेखि १० रुपैयाँसम्ममा आउँथ्यो।
पकेट खर्च बचाएर पुस्तक किन्थ्यौं। पढिसकेर साथीहरूलाई पनि बाँड्थ्यौं। त्यो वेला पढ्ने संस्कृति राम्रो थियो। ‘तेरो मलाई दे, मेरो तँ पढ्’ भनिन्थ्यो।
टेलिभिजन थिएन। रेडियो पनि घरमा पछि मात्र आयो। हाम्रै घरमा पनि मेरा भाउजूहरू एक दिनमा एउटा उपन्यास सक्नुहुन्थ्यो। त्यसैगरी म पनि पढ्थें।
पिताजीले मेरा धेरै उपन्यास फ्याँकिदिनुभएको थियो। पसलमा बस्न भन्नुहुन्थ्यो, तर ग्राहकको वास्तै नगरी पढिरहन्थें। अहिले पो टेलिभिजन, इन्टरनेट, नेटफ्लिक्स, अमेजन, टिकटक आयो। त्यसैले मानिसले पुस्तकका लागि समय छुट्याउँदैन।
फेरि पढ्नु त आफैंमा सकसपूर्ण काम हो। सामाजिक सञ्जालमा ‘लाइक’ को बटन थिच्न पो सजिलो हुन्छ।
पहिला वीरगन्जमा धेरै पुस्तकालय थिए। अहिले एउटा पनि छैन। म वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदासम्म पुस्तकालय राखेको थिएँ। तर विद्यार्थी आउँदैनथे।
अर्को, आदर्श पुस्तकालय थियो। त्यो पनि भत्काएर सामुदायिक भवन बनाइएको छ। अलग भन्ज्याङ भन्ने अर्को पुस्तकालय थियो, त्यो पनि सत्संग गर्ने हल बनाइएको छ। महानगरको आफ्नो पुस्तकालय छ, तर नयाँ किताब छैनन्। फेरि प्रविधि अनुसार किताब हटाएर डिजिटल स्रोतहरू दिने अवधारणा पनि विकास भएको छैन।
सीमान्त साहित्यको अवस्था चाहिं कस्तो छ नि?
सीमान्त साहित्यको खडेरी छ। वीरगन्जमा लेख्ने मानिस थोरै छन्। नामै लिएर भन्दा विमल निभा, ध्रुवचन्द्र गौतम, गोपाल ठाकुर, विनयराज गौतम लगायत छन्। केही विदेशमा बसेर पनि लेखिरहेका छन्। तर जुन संख्यामा चितवन, पोखरा, काठमाडौं, धनगढीमा साहित्यकार छन्, त्यति वीरगन्जमा छैनन्।
वीरगन्ज त नोट कमाउने ठाउँ रहेछ। यो ठाउँमा लेख्छु भन्यो भने त पागल भन्छन्। मलाई अहिले पनि (पागल) भन्छन्। एउटा किताब बेचेर कति रोयल्टी आउँछ भनेर सोध्छन्। यही समस्या छ। त्यसलाई थेगेर, झेलेर पनि लेख्ने साहस चाहिन्छ।
वीरगन्जमा साहित्यिक कार्यक्रम गर्यो भने मान्छे नै आउँदैनन्। जुन मान्छेलाई सुन्न काठमाडौं आतुर हुन्छ, त्यस्तो मान्छेबारे वीरगन्जलाई थाहै छैन। केही समयअघि मधेश साहित्य भनेर त कार्यक्रम गर्यौं, तर त्यो पूर्ण होइन।
वीरगन्जका इतिहास, समाज, संस्कृति, साहित्यका कुरा गर्यौं। चुनौती र राम्रा पक्ष पनि केलायौं। वीरगन्जको भविष्य कस्तो देख्नुहुन्छ?
नेपालको आर्थिक पूँजीमा वीरगन्ज अघि नै छ। भौगोलिक सुविधा भएकाले यातायातको लागत न्यून छ।
अर्को, खुला सीमाका कारण यो क्षेत्र धार्मिक दंगा र अपराधको अखडा बन्न सक्ने उतिकै चुनौती छ। कहिले जाली नोट छाप्ने कारखाना त कहिले बन्दूक बनाउने कारखाना वीरगन्जमा भेटिन्छ। कति भारतीय र अन्य देशका अपराधी लुकेर बसेको सुनिन्छ। रक्सौलका पसलहरूमा नेपाली युवायुवती लागूपदार्थ लिएर बसेका भेटिन्छन्। नेपाल सरकारलाई यो जानकारी छ, तर रोक्न सकेको छैन।
VIDEO
वीरगन्ज कस्तो बन्ला त भन्ने कुरामा सामाजिक रूपमा गडबड भइरहने पो हो कि भन्ने शंका लाग्छ। आर्थिक रूपमा तगडा नै होला।
फेरि, आर्थिक रूपमा सबल हुनु अभिशाप पनि रहेछ। जुवा अड्डा धेरै खुलिरहेका छन्। बिहारमा रक्सी निषेध गरिएकाले वीरगन्जमा अखडा बनाएका छन्। उनीहरूले आफ्नो संस्कार पनि छाडिरहेका छन्। यो विकृति बढेको छ। हामीले पनि सन्तानलाई राम्रो संस्कार दिन सकेका छैनौं। शिक्षाको स्तर खस्किइरहेको छ। त्यसैले चुनौतीपूर्ण नै देख्छु।
अन्त्यमा, वीरगन्ज र तपाईंका पाठकलाई केही भन्न चाहनुहुन्छ?
भन्नुपर्ने त धेरै छ, तैपनि जाँदाजाँदै चार लाइन सुनाउँछु।
मै प्रेम लिखना चाहता हूँ,
तुम्हारी आँखो मे दिखना चाहता हूँ,
मगर,
मगर, ये रोटी, ये रोजगार,
रोज रोजका ये तकरार,
ये कुर्सी, ये सरकार
कैसे लिखूँ मे प्यार,
कैसे लिखूँ, कैसे लिखूँ!
किताबका कुरा का थप सामग्री
‘धनी र गरीब सन्तानलाई बाबुआमाले गर्ने व्यवहार पनि फरक हुन्छ’
‘कोइलाखाद गएका मेरै दौंतरी पनि फर्केनन्’
‘नेपालीले दुःख चाँडै भुल्छन्, तर भूकम्पको दुःख नभुलेकै राम्रो’
‘हाम्रै सोचले हामीलाई कृषिबाट धनी बन्न दिएको छैन’
‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘प्रेम विनाको यौन अपराध हो’
‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘मुन्धुम मानव सभ्यताको इतिहास हो’