‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘कर्णालीको स्रोत र भोट दुवैको दोहन भएको छ। भोट हाल्न लगाएर नागरिकका रूपमा सम्मानित जीवन बाच्न पाउने अधिकार हनन हुनु भोटको दोहन हो।’
जुम्ला तातोपानी गाउँपालिकाका माधव चौलागाईं पेशाले जनस्वास्थ्यविद् हुन्। लामो समय काठमाडौं बसेर कर्णाली र लुम्बिनीका विभिन्न जिल्लामा स्वास्थ्य नीति अनुगमनको काम गरिआएका चौलागाईं पछिल्लो समय मानवशास्त्रीय अध्ययनमा संलग्न छन्।
त्यसैको परिणाम हो, सपादलक्ष कर्णाली। कर्णालीलाई कर्णालीकै मानिसको आँखाबाट चिनाउने उद्देश्यसाथ लेखिएको यस पुस्तकबारे लेखक चौलागाईंसँग हिमालखबरको स्तम्भ किताबका कुराका लागि अनिता भेटवालले गरेको कुराकानीको सम्पादित अंश :
कर्णालीबारे योगी नरहरिनाथदेखि सत्यमोहन जोशीसम्मले लेखिसकेका छन्, तैपनि तपाईंलाई आफैंले लेख्नुपर्छ भन्ने किन लाग्यो?
कर्णालीको इतिहासबारे योगी नरहरिनाथका अनेकौं पुस्तक छन्। उहाँले पुराना दस्तावेज संकलन गरेर कर्णालीको इतिहास लेख्नुभएको छ। सत्यमोहन जोशीले पनि २०२७ सालमा कर्णाली भ्रमण गरेर सिञ्जा क्षेत्रको इतिहास लेख्नुभयो। यस बाहेक अन्य विदेशी विद्वान्हरू कसैले पुरातत्त्व त कसैले सांस्कृतिक पक्षबाट लेखेका छन्। तर यी सबै लेखन कर्णालीको इतिहाससँग सम्बन्धित थिए। यी सबैले अहिलेको कर्णाली कस्तो छ भन्ने वर्णन गर्दैनन्। मैले वर्तमान कर्णालीका अवसर र चुनौती उजागर गर्न लेखेको हुँ। अर्कातर्फ, अहिलेसम्म राजा, महाराजा वा शक्तिमा हुनेहरूको मात्र कथा लेखियो, आममानिसको इतिहास लेखिएन भन्ने लागेर पनि यो पुस्तक लेखेको हुँ।
बाहिरको दुनियाँले बुझेको कर्णाली र कर्णाली आफैंले बुझेको कर्णालीमा केही फरक छ?
गहिरो फरक छ। कर्णाली बाहिरका मानिसहरूले कर्णालीलाई अभाव, जटिल, पछौटेपनको विम्बका रूपमा लिन्छन्। कसैले कर्णाली जस्तो भन्यो भने पिछडिएको, कम विकसित, कम सभ्यता भएको, गरीब भन्ने बुझ्छन्। यो परिभाषा कर्णालीका मानिसहरूले बनाएका होइनन्, बाहिरका मानिसले बनाएका हुन्। तर यस्तो परिभाषा सुन्दा सुन्दा कर्णालीवासीलाई पनि आफू यस्तै हो भन्ने लघुताभास भएको छ। पहिला, मलाई पनि त्यस्तो लघुताभास हुन्थ्यो। तर बिस्तारै त्यहाँबाट बाहिर आएर नयाँ ज्ञान र शिक्षा पाएपछि थाहा भयो, कर्णाली अभावको मात्र नभई सम्भावनाको पनि ठाउँ रहेछ।
कर्णालीको विविधता र मौलिकतालाई हेर्ने हो भने यसलाई सम्भावनाको विम्बका रूपमा पनि लिन मिल्छ। तर कर्णालीवासीले यी तथ्य बुझ्न पनि आर्थिक रूपले सबल हुनुपर्ने रहेछ। तब मात्रै उनीहरूले शिक्षाको पहुँच पाउँछन्। अनि आफूसँग भएका सम्भावना पनि बुझ्छन्। लामो समयदेखि कर्णालीवासीको जीवन साँझबिहानको छाक टार्न मात्र बितेको छ। उनीहरू यस बाहेक अन्य सम्भावना सोच्न सक्ने अवस्थामा नै रहेनन्। यो वास्तविकता तुलनात्मक रूपमा विकसित भइसकेका अन्यत्रका मानिसले बुझेनन् र अनेक व्याख्या मात्र गरे।
यी तथ्य नबुझ्दासम्म कर्णालीवासीले आफूलाई बिचराकै रूपमा स्वीकार गरेका छन्। त्यहाँभन्दा माथि उठ्ने जोर लगाएका छैनन्, लगाउनुपर्छ भन्ने चेत अझै कम छ। खासमा दुर्गम भनेर कर्णालीलाई व्याख्या गर्ने काठमाडौं शहर पनि कर्णालीवासीका लागि पनि दुर्गम नै हो। किनभने काठमाडौंलाई कर्णाली पुग्न जति समय लाग्छ, कर्णालीवासीलाई पनि काठमाडौं पुग्न उति नै समय लाग्छ।
कर्णालीको गरीबी, अभाव त यथार्थ होइन र?
मैले कर्णाली सर्वगुणसम्पन्न छ भनेको हैन। तर त्यहाँका कमजोरी मात्र प्रचार गर्ने भन्दा सम्भावना पनि लेखिनुपर्छ भनेको हुँ। गरीबी, फोहोर सापेक्षिक विषय हुन्। २००७ सालतिर टोनी हागनले खिचेको फोटो काठमाडौंको फोटो र अहिले जुम्लाको फोटो उस्तै देखिन्छ। समय र मिति त उही हो, तर काठमाडौं विकसित हुँदा जुम्ला नहुनुमा कर्णालीका मानिसको दोष छैन। तर कर्णालीका फोहोरमैलो घर र रहनसहनको खिल्ली उडाइन्छ। यहाँको गरीबी, भोकमरीलाई विम्ब बनाएर लेख्ने गरिन्छ।
खासमा हामी सबै फरक भएका कारण समान छौं। समान भएपछि आत्मसम्मान पनि समान हुनुपर्छ। तर कर्णालीमा लगानी भएकै छैन। स्रोत, साधन, आर्थिक क्षमता नभएसम्म कर्णाली आजकै अवस्थामा रहन्छ। अथाह सम्भावना भएको यस स्थानमा गतिलो काम भए केही दशकमा आजको जुम्ला काठमाडौं पनि बन्न सक्छ। यसो भनिरहँदा कर्णालीको कमीकमजोरीबारे बोल्नु हुँदैन भन्ने होइन। तर सँगसँगै सम्भावना पनि खोज्नुपर्छ।
राणाशासनदेखि अहिलेसम्म कर्णालीको दोहन मात्र भएको छ भन्ने तपाईंको दाबी छ। कसरी त्यस्तो दोहन भएको छ?
वास्तवमा गोर्खाली र कर्णालीवासीको सम्बन्ध कहिल्यै राम्रो थिएन। खासमा इतिहासमा गोर्खालीले कर्णालीवासीलाई गरेको शोषण लेखिएको छैन। गोर्खालीहरूको जहिल्यै तारीफ मात्र भयो। सबैले त्यसरी नै बुझे। राणाशासनमा कर्णालीमा बाहिरका मानिस जान पाउँदैनथे। २०१८ सालसम्म पनि भारतीय सेनाको पोस्ट मुगुसम्म थियो। त्यसले गर्दा त्यो ठाउँ बाहिरका मानिसहरू त्यहाँभन्दा बाहिर निस्किएनन्। जबकि त्यही समयमा नेपालका अन्य क्षेत्रमा भाषा, शिक्षा, सञ्चार लगायतमा विकास हुँदै थियो। कर्णाली भने झन् झन् पछि धकेलिंदै थियो। त्यो समयमा बरु सुदूरपश्चिममा जयपृथ्वीबहादुर सिंहले आमनागरिकको पहुँच बढाउन विद्यालय नै खोले। तर कर्णालीमा त्यस्तो प्रयत्न गर्ने कोही पनि भएन।
कर्णाली कसरी राज्यको विभेदमा पर्यो भन्ने एउटा उदाहरण २०१५ सालको निर्वाचन हो। उक्त निर्वाचनको नतीजा देशभरबाट आयो, तर कर्णालीबाट कसले जित्यो भन्ने पनि थाहा नलिई काठमाडौंमा सरकार बन्यो। नेपालमा पहिलो पटक बालिग मताधिकारमा आधारित आमनिर्वाचन हुँदा पनि कर्णालीका मानिसले आफ्नो आवाज राख्न पाएनन्। त्यसैले कर्णाली सत्ता र शक्तिको पहुँचमा ढिलो पुग्यो।
जुम्लादेखि डोल्पा, ढोरपाटन, बाग्लुङ, पोखरा, तनहुँ, नुवाकोट हुँदै धादिङ भएर राजधानी काठमाडौं आइन्थ्यो। महीना दिन लाग्थ्यो। आएपछि बस्ने ठाउँ प्रशासक वा नेताहरूकोमा हुन्थ्यो। उनीहरूको शरणमा परेर बस्दा आफ्ना कुरा दबाउनुपर्थ्यो। त्यसैले कर्णालीवासीको मनोविज्ञानमा नेता भनेको दास बनाउने र आफ्नो मात्र राम्रो गर्ने हुन् भन्ने धारणा बन्यो। खासमा कर्णालीवासीले आफ्नो प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिकर्मी भेटेनन्। त्यसैले त २०१२ सालमा नै सुर्खेतको बाटो बन्ने योजना शुरू भए पनि २०६४ मा मात्र बन्यो। सारमा, कर्णालीको स्रोत र भोट दुवैको दोहन भएको छ। भोट हाल्न लगाएर नागरिकका रूपमा सम्मानित जीवन बाच्न पाउने अधिकार हनन हुनु भोटको दोहन हो।
कर्णालीवासीले कुन कालखण्डमा सबैभन्दा बढी विभेद खप्नुपर्यो?
सबैभन्दा धेरै त राणाकालमा नै भयो। पञ्चायतकालमा विभिन्न विकासका ढाँचा बनाइयो। दुर्गम विकास समिति पनि गठन भयो। १५/१६ जिल्लामा यो समिति बनाइयो। तर ती समितिले के काम गरे भन्ने आजसम्म हेर्न पाइएको छैन। तीे समितिले बजेट खर्चसम्म गर्न नसकेको तथ्यांक छन्। अहिलेसम्म कर्णालीलाई अघि बढाउने कार्य कसैबाट भएको छैन। तर विगतको तुलनामा कर्णालीको अवस्थामा केही सुधार भएको छ। स्वास्थ्य, शिक्षामा केही काम भएको देखिन्छ। यद्यपि अन्यत्रको तुलनामा आज पनि कर्णाली ठगिएको छ।
तपाईंले कर्णालीको भोट मात्र दोहन भयो भनिरहँदा पञ्चायतकालदेखि नै कर्णालीबाट मन्त्रीहरू बनेको त पाइन्छ। उनीहरूले कर्णालीको प्रतिनिधित्व गर्न किन सकेनन्?
कर्णालीमा जनता र तिनलाई प्रतिनिधित्व गर्ने नेताहरूबीच एकताको आवाज नबनेको परिणाम हो त्यो। अर्कातर्फ, कर्णालीको भूगोल ठूलो छ, जनसंख्या कम। त्यसो भएपछि सत्तामा थोरै प्रतिनिधित्व हुन्छ। कम प्रतिनिधित्वले ठूलो क्षेत्रको विकास गर्न गाह्रो पनि भएको हुन सक्छ।
त्यसैले अब कुनै चामत्कारिक नेतृत्व आएर काम गरे मात्र कर्णालीको स्वरूप फेरिन्छ। नभए जनताले कर्णालीका युवाहरूका निम्ति काम गर्न राजनीतिकर्मीलाई दबाब दिनुपर्छ। तर कर्णालीका जनताको राजनीतिमा पहुँच पार्टीको समर्थकसम्म मात्र हो। कुनै राजनीतिक नेतृत्वले मेरो समयमा यो वा त्यो गरें भन्छ भने म प्रश्न गर्छु- विकास चाहिं आफूले मात्र गरेको हुने तर गरीबी र अभाव चाहिं आफ्नो कारणले नहुने, कसरी हुन्छ? राजनीतिकर्मीहरूले बाटो मात्र बनाउँदा विकास हुन्छ भन्ने सोच्नुहुन्थ्यो भने पनि कर्णालीमा किन ढिलो बनाएको त? बनाएपछि पनि किन कमजोर बनाएको?
खासमा सामूहिकता, प्रस्ट दृष्टि, योजना, केही गर्ने हुटहुटी, जनताको दुःखले पोल्ने मन नभएसम्म कर्णालीको अवस्था परिर्वतन हुँदैन। अर्कातर्फ, कर्णालीलाई एक्लै छाडेर देश कहीं पनि पुग्दैन। कतै पुगे जस्तो लागे पनि कहीं पुगेको हुँदैन।
तपाईंले पुस्तकमा कुनै समय जुम्लाबाट भारतको राजापुरसम्म देवदारको काठ पुर्याएको उल्लेख गर्नुभएको छ। अहिले कर्णालीसँग भएका स्रोत चाहिं के हुन्?
वन फँडानीले अहिले देवदार नपाइन पनि सक्छ। ‘हजार वर्ष खडी, हजार वर्ष सडी,’ भनिने यस रूख कुहिन हजार वर्ष लाग्ने, कुहिन थाल्यो भने पनि सड्न हजार वर्ष लाग्ने भनिन्छ। तर अहिले जोकोहीलाई तत्काल आम्दानी चाहिएकाले यस रूखमा लगानी भएको पाउँदिनँ। यससँगै कर्णालीमा मार्सी चामलदेखि स्याउ खेतीसम्मको सम्भावना छ। त्यस्तै, भाषा, लवज, संस्कृति पनि अपार छन्। यीबारे अनुसन्धान नै भएको छैन। बिस्तारै सञ्चारको पहुँचले कर्णालीका संस्कृति र कला चाहिं फैलिंदै छन्। हालै हुम्लाबाट आएर नवराज भण्डारी र बानकलाजीले देउडा रेकर्ड गराउनुभयो। त्यो देउडाले स्थानीय विम्ब र प्रतीकहरू उजागर गरेको छ। जस्तै-
केटा : चौरी चर्दि, झोवा चर्दि माथि यल्वाडकोट, मेरा वाडी आउँन्यास हो कि ए फूलको बोट (हुम्लाको ठाउँका नाम लिंदै- तिमी फूलको बोट हौ, के यताउति डुल्दै मेरो बारीमा आउँछौ कि नाइँ?)
केटी : हिउँ खाँदै, हिउँ पानी पिउँदै पाटनको चौंरी, फूल यही छ, वासना यही छ, घुमघुम रानी मौरी (फूल र वासना त यहीं छ, तिमी रानी मौरी भएकाले तिमीले घुम्दै घुम्दै आऊ)।
यस्तो कलाकारिता कर्णालीको हरेक देउडामा पाइन्छ।
पुस्तकमा २००७ सालको प्रजातन्त्र आएको खबर जुम्लामा तीन महीनापछि मात्र पुगेको प्रसंग छ। त्यो प्रसंग व्याख्या गरिदिनुस् न।
यो रोचक छ। २००७ साल फागुनमा प्रजातन्त्र आयो। त्यो सूचना दिने आकाशवाणी रेडियो थियो। त्यस वेला जुम्लाका वडाहाकिम मेखविक्रम राणा थिए। उनले यो खबर लुकाउने निधो गरे। देशमा प्रजातन्त्र आएको र राणाशासन विस्थापित भएको खबर जनतालाई दिए आफ्नो पद नरहने जोखिम उनलाई थियो। उनी बाहेक सूचनाको अर्को स्रोत कामविशेषले काठमाडौं आएकाहरू मात्र थिए। तर त्यस वर्ष धेरै हिउँ परेकाले जुम्ला फर्किनै सकेनन्।
२००८ साल वैशाखमा त्यस वेलाको मुक्ति मोर्चाकी नेता दैलेखमा आएकी थिइन्। उनी कामविशेषले जुम्ला पुगेर प्रजातन्त्र आइसकेको बताइन्। बल्ल जुम्लावासीले देशमा राणाशासन ढलिसकेको थाहा पाए। त्यसपछि उनैले जबर्जस्ती ती बडाहाकिमलाई हटाएर स्थानीय मानिसलाई पदमा राखिन्।
इतिहासबारे पनि चर्चा गरौं, तपाईंले कर्णाली प्राचीन सभ्यतामा धनी रहेको व्याख्या गर्नुभएको छ। कर्णाली सभ्यता कुन कालखण्डमा बढी विकसित भएको पाइन्छ?
१२औं र १३औं शताब्दीमा काठमाडौं उपत्यका बाहेक सबैभन्दा धेरै पत्थरका मूर्तिहरू कर्णालीमा पाइन्थे। सुर्खेतदेखि माथि जुम्ला, अछाम, दैलेख, कालीकोट क्षेत्रमा यस्ता सम्पदा अथाह थिए। अहिले पनि मानिसहरूले बोकेर लैजान नसकेका ढुंगाका मूर्ति धेरै छन्। त्यति वेलाका ताम्रपत्र, नेपाली भाषाका मानक स्तम्भहरू दुल्लुमा छन्। उति वेलाका केही धारा, नालाहरू पनि अझै छन्। बाइसे राज्यहरू गोर्खाली राज्यबाट पराजित भएपछि प्राचीन वस्तुहरू कमै भटिन्छन। १९औं शताब्दीपछि यस्ता ऐतिहासिक सम्पदा हराए। १५औं शताब्दीसम्म प्राचीन वस्तु पाइएको विभिन्न विदेशीहरूका अध्ययनले देखाउँछन्।
राजनीतिक कोणबाट कालखण्ड छुट्याउँदा इतिहास यस्तो देखिन्छ भने यही समयलाई प्राकृतिक घटनाका आधारमा हेर्दा सन् १५०५ को भूकम्पअघि र पछिको कर्णाली भनेर वर्गीकरण गर्न सकिन्छ। महाशक्तिशाली भूकम्पपछि कर्णालीका पुरातात्त्विक वस्तुहरू हराउने क्रम शुरू भयो। ती सम्पदा हराउँदै गएपछि यहाँका सांस्कृतिक धरोहरहरू पनि कमजोर भए। बिस्तारै यहाँको भाषा लगायत मष्टो संस्कृतिमा पनि प्रभाव पर्यो। कर्णाली सभ्यता कमजोर भयो।
तपाईंले पुस्तकको पहिलो खण्डमै अहिले पनि भएका सम्पदाहरू भत्काउने काम भइरहेको उल्लेख गर्नुभएको छ। यस्तो अवस्था कसरी बन्यो?
मलाई पनि अचम्म लाग्छ। घरको छेउमा ऐतिहासिक महत्त्वका वस्तु छन्। तर मानिसले त्यहीं भाडा माझ्ने ठाउँ बनाइदिएका छन्। सम्पदामाथि नै दिसापिसाब भइरहेछ। ती सम्पदाको संरक्षण कसले, कसरी गर्ने र कसले जिम्मेवारी लिने भन्ने कुराको कमी छ। हुँदाहुँदा अहिले त ऐतिहासिक वस्तुहरू भएका जग्गा व्यक्तिका नाममा परिसकेका छन्। ती व्यक्तिले ऐतिहासिक सम्पदालाई पनि आफ्नो नाममा पारिसकेका छन्। सम्पदा संरक्षणको विषयमा सरकार पनि उदासीन छ।
सरकारसँग यी सम्पदाको अभिलेख भएको भए उसले सार्वजनिक जग्गा व्यक्तिको नाममा जानबाट रोक्न सक्थ्यो। जस्तै, पृथ्वी मल्लले दैलेखमा पाखरमाउली नाउलो (कुवा) बनाएका थिए। २०१० सालसम्म त्यो कुलो माटोले पुरिएको पाइयो। त्यस्ता सयौं सम्पदा र पुरातात्त्विक सम्पदा जमीनमुनि र माथि मासिएका छन्। योगी नरहरिनाथले १४औं शताब्दीमा पृथ्वी मल्लले उक्त कुवा बनाएको पाएका थिए। अहिले पनि जुम्लाका डाँडाहरूमा ढुंगाका देवल भेटिन्छन्। तर स्थानीयलाई तिनको महत्त्व थाहा छैन।
यस्ता सम्पदाबारे अनुसन्धान गर्नुपर्ने हो, तर पुरातत्त्व विभागको त्यो तहसम्मको अध्ययनको पहुँच देखिंदैन। यहाँ चोरी भएका देवताहरूको खोजी पनि हुँदैन। अनुसन्धान गरेर स्थानीयहरूलाई तिनको महत्त्व बुझाएर आस्था राख्ने वातावरण पनि बनेको छैन। सबै सम्पदा लथालिंग अवस्थामा छन्।
कर्णालीका सम्पदा कुन कालखण्डमा बढी हराए? सम्पदा नष्ट हुने अवस्था कसरी सिर्जना भयो?
पछिल्लो ५० वर्षमा कर्णालीमा रहेका आधा मात्र सम्पदा बाँकी रहे। भत्किएका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण गर्दा पनि सिमेन्ट र टिनको पाताको छानो बनाइएको छ। राज्यको बेवास्ताकै कारण यस्तो भएको हो। सम्पदा जोगाउने मूल जिम्मेवारी स्थानीयको भन्दा पनि राज्यको हो। यहाँका मानिसलाई खान, लाउन अपुग भएका वेला सम्पदा जोगाउने चेत पुग्ने पनि भएन। त्यसैले यी सम्पदाको पुनर्निर्माण गर्दा कलाकारितामा ध्यान दिइएन। जस्तो बन्यो सबैले स्विकारे। अहिले पनि कर्णाली क्षेत्रमा ढुंगाका ठूल्ठूला पुरातात्त्विक वस्तु छन्, तर तिनको संरक्षण हुन सकेको छैन। डोल्पाको गुम्बामा होस् वा जुम्लाका थानहरूमा, यस्तो बेवास्ता सर्वत्र छ।
वर्तमानतिर फर्कौं, अहिले कर्णालीलाई के चाहिएको छ?
सडक, सञ्चार र विद्युत्। यी पूर्वाधार पुगे मानिसहरूको अवस्था उकासिन्थ्यो। अधिकांश नेपालीको जीन कर्णालीमा भेटिन्छ। उनीहरूले आफ्ना पितापुर्खा कहीं न कहीं त्यहाँबाट आएको बताउँछन्। त्यो ठाउँसँग मानिसको आत्मीयता छ। सडक पुगे उनीहरू आफ्नो ठाउँ आउँथे। उपल्लो डोल्पाका भित्री गाउँसम्म सडक पुगे बेवास्तामा परेका पुरातात्त्विक सम्पदाहरूको पनि संरक्षण र पुनर्निर्माण हुने थियो। कर्णालीका धेरै स्थानहरू अझै उधिनिएका छैनन।
कति बस्ती र स्थान अहिले हामीलाई थाहा नहुन सक्छ। सञ्चारको पहुँच भए कर्णालीका मानिसले पनि बाहिरका मानिसलाई देख्ने थिए। उनीहरूलाई जहाँसुकैका मानिसहरू कर्णालीवासी जसरी नै बसेका छन् भन्ने लाग्छ। त्यो भ्रम चिर्न पनि सञ्चार चाहिन्छ। यहाँ उद्योग बनाएर मात्र देश धनी बन्ने होइन। कर्णालीको संस्कृतिसँग जोडेर पनि देश बनाउनुपर्छ। अनि मात्रै पहिचानमुखी विकास हुन्छ।
पुस्तक लेख्ने क्रममा तपाईंले अनेकौं कर्णालीवासीसँग कुराकानी गरेको उल्लेख गर्नुभएको छ। उनीहरूको चाहना के पाउनुभयो?
अहिले कर्णालीवासीमा राजनीतिक ध्रुवीकरण देखिन्छ। दलमा आबद्ध नभएको मानिस भेटाउनै गाह्रो छ। कालीकोटका एक गजलकारले कुडा कर्णालीमा भन्नुहुन्थ्यो- ‘माथिका ढाडे बिरालोहरू मिलिहाल्छन, यहाँ तलका साना बिरालाहरू झगडामै व्यस्त छन्।’ यहाँ वडा तहसम्म मानिसहरू राजनीतिक रूपमा विभाजित छन्। अहिले पनि तेरो र मेरो पार्टीको धारा, विद्यालय भनेर छुट्याउँछन्। अरू देशमा धार्मिक पन्थहरू भए जस्तो यहाँ राजनीतिक पन्थ देखिएको छ। आफ्ना सबै राम्रो, अरू सबै गलत भन्छन्।
त्यसैले त कर्णालीवासीले पनि समाजको खास मुद्दा बुझिरहेका छैनन्। त्यसैले उनीहरू राजनीतिकर्मीलाई प्रश्नै गर्दैनन्। तर पनि उनीहरूमा रोचक आशा छ। कर्णाली हुनुमा गर्व गरेर यो ठाउँ सुविधासम्पन्न बन्छ भन्नेमा उनीहरू आशावादी छन्। कसरी बन्छ भन्ने चाहिं उनीहरूलाई थाहा छैन।
पुस्तकमा तपाईंले विभिन्न राजनीतिक कालखण्डमा कर्णालीबाट कसले के कसरी लियो भन्नेबारे उल्लेख गर्नुभएको छ, तर १० वर्षे माओवादी सशस्त्र संघर्षबारे विवेचना गर्न किन छुटाउनुभयो?
यो राम्रो अवलोकन गर्नुभएछ। हो, राजनीतिक कालखण्डको चर्चा गर्दा सशस्त्र द्वन्द्वको परिवेश आए पनि धेरै विषय समेटिएको छैन। तर मैले केही वाक्यमा यो विषय भने उल्लेख गरेको छु। त्यो द्वन्द्वले पनि कर्णालीवासीलाई थोरै दियो, धेरै लियो। सबैभन्दा धेरै मानिस पनि यहीं मारिए। कालीकोटबाट धेरै लडाकू भए। तर पनि उनीहरूको जीवनमा परिवर्तन आएन। लडाकू बनेकाहरूले धेरैलाई मारे पनि, मरे पनि। खासमा माओवादीको सशस्त्र संघर्षमा त्यति धेरै मानिस किन लागे भन्ने विषयमा समाजवैज्ञानिक पक्षबाट लेखिएको छैन।
शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी र तिनका नेताले काँचुली फेरे, तर आममानिसको हालत उस्तै छ। त्यसैले अहिले सत्तामा भएका ती पार्टीका नेताले के गरे, के गरेनन्, कहाँ चुके भन्नेबारे केलाउने मन छ। तर एउटा सत्य के हो भने, माओवादी आन्दोलनले स्थिर रहेको कर्णालीलाई चलायमान बनायो। माओवादीले उठाएका सामाजिक मुद्दा सशक्त थिए। त्यो आन्दोलनले मानिसहरूलाई आफ्नो अधिकार खोज्न जागरूक बनायो। जमेको समाजलाई हल्लाइदियो। तर आन्दोलनको बैठान सही भएन।
कर्णालीको समाजभित्रै रहेका विषमताबारे अलि कम उल्लेख गर्नुभएको हो कि? त्यहाँको समाजमा पनि जातीय, लैंगिक, वर्गीय विभाजन छन् होला। कि कर्णाली भन्नासाथ एकै हिसाबमा बुझ्नुपर्ने हो?
कर्णालीको समाजमा अनेक भिन्नता छन्। यसै पनि नेपाल विविधता भएको देश हो। कर्णाली महाविविधता भएको ठाउँ हो। त्यसैले मैले पुस्तकको नाम नै सपादलक्ष कर्णाली राखेको हुँ। सपादलक्षको अर्थ सवा लाख पर्वतहरू हुन्छ। सपादलक्ष कर्णालीको अर्थ हो, सवा लाख पर्वतहरू भएको कर्णाली। पर्वत क्षेत्र अनुसार सांस्कृतिक रहनसहन, चालचलनमा विविधता आउँछ।
यस विविधताले पुरानो शासन सत्ताको संरचना पनि देखाउने रहेछ। त्यसैले कर्णाली भन्नासाथ एउटै हो भन्ने धारणा बनाउनु हुँदैन। यहाँ खेतमा काम गर्ने र बजारमा बस्नेबीच भिन्नता छ। बजारमा बस्ने जाति र गाउँको कुनै बस्तीमा बस्ने उही जातिको अवस्था फरक छ। एउटै जातिमा पनि पद र आर्थिक स्थिति अनुसार हुने विभेद फरक छ।
अर्कातर्फ, कर्णालीमा मात्र देशभरका एकचौथाइ दलित छन्। त्यो पनि दलित भएकाले उनीहरू बढी उत्पीडनमा छन्। अर्कातर्फ, ठकुरी जातिका हुँदैमा सबैले अवसर पाएका छन् भन्ने पनि होइन। राजखलकको ठकुरी र कर्णालीको एउटा अमुक ठकुरीबीच फरक हुन्छ।
तपाईंले पुस्तकको अन्तिम भित्री गातामा ‘महिला आफैंले भन्ने इतिहास कस्तो हुन्छ होला?’ भन्ने प्रश्न गर्नुभएको छ। यस्तो प्रश्नको आवश्यकता किन देख्नुभयो?
कुनै पनि परिवारलाई जस्तोसुकै कठिनाइबाट उकास्ने भनेकै महिलाले मात्र हो। त्योे एक किसिमको ‘रेजिलियन्स’ (पुनः पुरानै स्थितिमा फर्किने क्षमता) शक्ति हो। त्यो ‘रेजिलियन्स’ को लेन्सबाट हेर्दा कर्णालीका महिला एकदमै शक्तिशाली छन्। कर्णालीमा अभाव, खडेरी, भोकमरी, महामारी आउँदा पनि त्यहाँका महिलाले संघर्ष गरेका थिए। मैले मानवशास्त्रमा एमफील गर्दा कर्णालीका महिलाहरूको सशक्तपनको अध्ययन गरेको थिएँ। अहिले यो पुस्तक लेख्दा धेरै मानिससँग कुराकानी गरियो, तर ती सबै पुरुष थिए। त्यसो भए महिलाको इतिहास खोइ त? भन्ने प्रश्न मनमा आयो।
इतिहासदेखि हरेक घटनाका साक्षी महिला पनि भएका छन्। अनेक संकटमा तिनले परिवारको गुजारा टारेका छन्। हिजोदेखि आजसम्म पुरुषसत्तात्मक समाजले छोरा नै चाहिन्छ भनेर दिएको दबाबदेखि छाउगोठमा बस्नै पर्ने निर्णय भोगेका छन्। तर उनीहरूको दृष्टिकोणबाट यी भोगाइको व्याख्या भएको छैन। यी सबै भोगाइमा महिलाहरूले आफ्नो इतिहास आफैले लेख्न परे कस्तो लेख्थे होला? यही प्रश्न लिएर अर्को पुस्तक लेख्ने तयारीमा छु।
(सम्पादन : लक्ष्मण श्रेष्ठ, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री :
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’