भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
दृश्य माध्यममा मुखमा अमिलोपन ल्याउनुपर्यो भने केही खुवाएको देखाउनुपर्छ, तर आख्यानको तागत चाहिं महसूस गराएर मुखमा पानी ल्याउन सक्छ।
उरमालको कथा दार्जीलिङ नजीकैको डुवर्स क्षेत्रको हो। चिया रोपेर कमान बसाल्ने आदिवासी र नेपालीहरूको कथा हो यो। गोर्खाल्यान्ड आन्दोलन र चियाको कथाबीच निकै गहिरो सम्बन्ध छ। चियाले दार्जीलिङको पाँच पुस्ताको इतिहास बोकेको छ। यस हिसाबले अहिले पनि हाम्रो इतिहास र संस्कृति चियासँग जोडिएको छ। कसैले राजनीति गर्नुपर्यो भने सबैभन्दा प्राथमिकता चिया कमानलाई दिन्छ। किनभने जहाँ आर्थिक अभाव छ, त्यहाँ पुगेर राजनीति गर्न सजिलो हुन्छ।
इतिहास हेर्दा जहिले पनि गोर्खा आन्दोलनको नारा ल्याउँदा सबभन्दा पहिला चिया कमानको कुरा उठाइएको देखिन्छ। सुवास घिसिङले पहिलो चोटि गोर्खा आन्दोलनको नारा ल्याउँदाखेरि शुरूमै चिया कमान उखेलेर फ्याँक्नुपर्छ भन्ने लाइनबाट संगठन शुरू गरे। उनी कमानको मान्छेलाई दास बनायो भन्ने शब्द बारम्बार प्रयोग गर्थे। तर सत्तामा पुगेपछि उनले कमानलाई बिर्सिदिए।
सुवासपछि विमल गुरुङ आए, उनलाई पनि कमान चाहियो। किनभने सबैभन्दा सजिलो त्यहींका मान्छे थिए। उनी पनि अन्तिमसम्म ‘म कमानेको छोरा हो। तिमीहरूको समस्या बुझ्छु’ भन्थे। तर अहिलेसम्म कमानेका समस्या यथावत् छन्। यसरी सत्तामा पुग्न कमान एउटा सुरक्षित ठाउँ भइदियो। जति वेला आन्दोलन हुन्थ्यो, त्यति वेला दार्जीलिङले डुवर्सलाई तान्ने कोशिश गर्थ्यो। किनभने डुवर्स पनि जोडिएपछि आन्दोलनको आकार ठूलो देखिन्थ्यो। एक हिसाबले डुवर्सलाई प्रयोग गरेको देखियो। आन्दोलनमा डुबर्सलाई जोडिन्थ्यो, तर सत्तासँग सम्झौता गरिएसँगै तिनलाई भुसुक्कै बिर्सने गरिन्थ्यो। घिसिङको पालामा दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद्) बन्यो, डुवर्सलाई पाखा राखियो। विमल गुरुङले जीटीए (गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन)मा सम्झौता गरे, उनले पनि डुवर्स फ्याँकिदिए। मैले उरमालमा बारम्बार प्रयोग मात्र भएका यिनै डुवर्सवासीका कथा उधिनेको हुँ।
मैले उपन्यासमा राजनीतिक कुरा कम परोस्, सामाजिक, सांस्कृतिक कुरा बढी आओस् भनेर यो पक्ष धेरै काटेको थिएँ। तर त्यहाँको समाज नै यसरी बनेको छ कि कहीं न कहीं गएर आन्दोलनसँग ठोक्किइहाल्छ। त्यसैले गोर्खाल्यान्ड र कमानलाई छुट्याउन खोज्दाखोज्दै पनि नछुट्टिने रहेछन्। मैले जुन समाजमा बसेर यी कथा लेखें, त्यो समाजको पीडा देखाउनुपर्छ भन्ने हिसाबले पनि त्यो आयो होला। तर राजनीतिक रूपमा डुवर्सदेखि दार्जीलिङसम्मका सबै चिया कमानको अवस्था एउटै हो।
भारतको राजनीति तपाईंलाई थाहै छ। केन्द्रको कुरा गरौं या राज्य या प्रशासनको, सबैले कमानेहरूलाई भोटब्यांकका लागि मात्रै प्रयोग गर्ने हुन्। गोर्खाल्यान्ड आन्दोलन सन् १९८० को दशकमा ठूलो भयो। पछिल्लो चोटि तेस्रो पटक पनि १०५ दिन लामो आन्दोलन भयो। यति लामो कालखण्ड पहिचान र अस्तित्वको लडाइँ चल्यो। तर डुवर्सवासीहरूको अवस्था एकदमै दर्दनाक छ। हिजो केन्द्रमा कंग्रेसको सरकार थियो। पश्चिम बंगालमा कम्युनिस्टले ३५ वर्ष शासन चलायो। अहिले केन्द्रमा भाजपा छ। पश्चिम बंगालमा तृणमूल कंग्रेस छ। तर कमानेहरूको अवस्थामा कुनै परिवर्तन छैन। २०० वर्ष पुगिसक्दा पनि उनीहरूले अझैसम्म न्यूनतम अधिकार पाएका छैनन्। बसिरहेको घर पनि आफ्नो नाममा छैन। पैसा कमाइहाले पनि तिनलाई त्यो जमीनमा घर बनाउने अधिकार छैन।
छुदेन काविमोको नयाँ उपन्यास उरमाल। तस्वीरहरू: सुमन नेपाली/हिमालखबर
जसको श्रमले उब्जाएको चिया पिएर संसारले दिनको शुरूआत गर्छ, ती श्रमिकको दिन कहिल्यै आएन। चिया कमानका श्रमिक जसको धर्ती छैन, उड्न सक्ने आकाश छैन, तिनको कथा सबैलाई सुनाउनुपर्छ भन्ने लाग्यो र उरमाल तयार भयो।
दार्जीलिङको आक्रोश
राजनीतिबाट ठगिएका यी मान्छेमा आक्रोश नभएको होइन। त्यो वेलावेला प्रकट हुन्छ। तर तिनलाई नेतृत्वप्रति विश्वास छैन। यसो हेर्दा नेपाल र दार्जीलिङको राजनीति गर्ने तरीका मिलेको हो कि झैं लाग्छ। नेताहरूप्रति विश्वास नै छैन। भन्ने एउटा, काम गर्ने अर्को भन्ने नकारात्मक छवि बनेको छ उनीहरूको। नेताहरू जसरी हुन्छ सत्तामा पुग्ने काम मात्र गरिरहेकाले जनताबाट विश्वास गुमाएको देखिन्छ।
सन् १९८६ मा गोर्खाल्यान्ड आन्दोलन हुँदा सबै मान्छे गम्भीर थिए। नेताले पछि ढाँट्न पनि सक्छन् भन्ने थाहा थिएन। त्यसैले सबैभन्दा धेरै त्यही वेला लडे, सबथोक त्यागेर। तर एक ठाउँमा पुगेपछि नेताले ‘मलाई त पुग्यो’ भन्ने सोचे र सम्झौता भयो। त्यसरी घरीघरी सम्झौता भएपछि अहिले जनताले राजनीतिसँग खासै सरोकार राख्दैनन्। सन् १९८६ को आन्दोलनपछि सुवास घिसिङ ‘अल इन वान’ भए, उनले जे भन्यो त्यही चल्ने। त्यसै कारण उनलाई ‘मुकुट विनाको राजा’ को संज्ञा दिइयो।
दार्जीलिङमा हामी कुरा गर्थ्यौं, ‘नेपालका विद्यालयमा एउटा प्रधानमन्त्रीको नाम घोक्न नपाउँदै अर्काे बदलिइसक्छ।’ दार्जीलिङमा पनि त्यस्तै होला जस्तो भइसक्यो। त्यसैले अहिले त नेतालाई जनताले नै ढाँट्न थाले। चुनावको वेला गाडीभाडा लिएर सबै दलको र्यालीमा सहभागी हुन्छन्, भोट दिने वेला चाहिं लडाइदिन्छन्।
दार्जीलिङ र नेपाल
१९६०/७० को दशकतिर संगीतमा हेरौं या साहित्यमा, दार्जीलिङ अगाडि थियो। नेपालले पछ्याएको देखिन्थ्यो। भाषा-साहित्यमा भानुभक्त आचार्यलाई स्थापित गर्ने काम दार्जीलिङबाट गरियो। नेपाली भाषाको, आत्मसम्मानको, स्वाभिमानको, राजनीतिको जुन आन्दोलन थियो, त्यो दार्जीलिङबाटै शुरू भएको हो। पृथ्वीनारायण शाहको राज्य एकीकरणका सूत्रधार वा त्यसलाई स्थापित गराउन भूमिका खेल्ने पनि त्यहींका साहित्यकारहरू हुन्।
प्रकाश कोविद, इन्द्रबहादुर राईलाई नै हेर्नाेस्। त्यो समय दार्जीलिङ एकदम मजबूत थियो। तर पछिल्लो समय ठ्याक्कै उल्टो देखिन्छ। अहिले दार्जीलिङले नेपाललाई पछ्याएको हो कि जस्तो देखिन्छ। अहिले हामी नेपालले के लेख्दै छ, त्यो हेरिरहेका हुन्छौं।
लेखक छुदेन काविमो।
गोरामोको सत्ता शुरू भएपछि अलिक खुलासँग लेख्न नपाउने अवस्था शुरू भयो। एकल नेतृत्वको पकड बन्यो। राजनीतिक प्रभाव यसरी पर्दो रहेछ। त्यसैले होला, अहिले मान्छेलाई सत्तासँग मतलब छैन। उनीहरू ‘तिमी जेसुकै गर, हामी हाम्रो काम गर्छौं’ भन्ने खालको अवस्थामा पुगेको देखिन्छ। पहिले सबैलाई मुद्दामाथि विश्वास थियो। त्यसप्रतिको समर्पण थियो। त्यो फितलो भएर गयो।
उरमालको पात्र दलबहादुर तामाङ पहिला कम्युनिस्ट पार्टीमा आबद्ध थियो। पछि जातिका निम्ति लड्छु भन्दै गोर्खाल्यान्ड आन्दोलनमा समर्पित हुन्छ। ऊ आममान्छेको प्रतिनिधित्व हो। त्यो पात्रलाई मैले सकारात्मक रूपमा लिएको छु। उसमा समर्पण देखिन्छ। आदिवासीहरूले भानुभक्तको शालिकको टाउको फाल्दा उसले आफ्नो टाउको काटेको सम्झन्छ र त्यसको प्रतिरोध गर्न खोज्छ। जबकि त्यहाँ हजारौं मान्छे भेला भएका हुन्छन्। यदि ऊ त्यहाँ पुगेको भए नेपालीहरूसँग रिसाएका आदिवासीहरूले उसलाई धूलोपीठो पारिदिन्थे।
अहिले दलबहादुरहरूमा त्यो खालको समर्पण देखिंदैन। दलबहादुर जस्ता पात्रहरू नेताका चतुर्याइँ बुझ्ने भएका छन्। पछिल्लो समय यति धेरै छलकपट हुन थाले कि सामान्य मान्छेले पनि त्यो कपट बुझ्न थाले। राजनीतिले हामीलाई प्रयोग गरिरहेको छ भन्ने बुझ्न थाले। नेताहरू जसरी उदांगो हुँदै गए, त्यति नै उनीहरूप्रतिको विश्वास कमजोर हुँदै गयो। यसलाई मैले जनतामा चेतना जागृत भएको रूपमा बुझेको छु।
पाना पढेर मुखमा पानी
कहिलेकाहीं कृतिलाई लेखक आफैंले भन्दा पाठकले राम्ररी बुझिदिन्छन्। लेख्नुअघि म राम्ररी अनुसन्धान गर्छु। धेरैको लेख्ने तरीकाभन्दा मेरो उल्टो छ। उपन्यास लेख्दा धेरैले एकपछि अर्को च्याप्टर क्रमशः लेख्छन्। म चाहिं आफूलाई जे ठीक लाग्छ, त्यो पहिला लेख्छु। शुरूमा यो उपन्यासको अन्तिम च्याप्टरलाई पहिलो बनाउँछु भन्ने सोचेको थिएँ। उपन्यास शुरूदेखि अन्त्यसम्म जोडिए पनि लेख्दा चाहिं क्रम नमिलाई टुक्रा टुक्रा गरेर लेखेको हुँ।
सोचेर लेख्न थाल्यो भने म सोचेकोसोच्यै हुन्छु, लेख्नै सक्दिनँ। कथालाई बग्न दिनुपर्छ भन्ने लाग्छ। हरेक च्याप्टर पाठक तान्ने हुनुपर्छ भनेर काम गरिरहेको हुन्छु। त्यो सकिएपछि ‘भिजूअलाइजेशन’ मा ध्यान दिन्छु। दृश्य माध्यम र लेखनमा के फरक छ भने दृश्यमा कसैलाई मुखमा अमिलोपन ल्याउनुपर्यो भने केही खुवाएको देखाउनुपर्छ, तर आख्यानको तागत चाहिं कसैलाई नखुवाईकन महसूस गराएर मुखमा पानी ल्याउन सक्छ। तपाईंले मेरो पात्रले बनाएको भोगटेका कारण मुखमा पानी आयो भन्नुभयो। त्यति भएपछि म ढुक्क भएँ।
कथालाई सशक्त तरीकाले भन्न र पाठकसँग संवाद गर्न ठूलो अभ्यास चाहिन्छ। किताब लेखन मात्र यस्तो कर्म हो, जहाँ तपाईं शुरूदेखि अन्तिमसम्म एक्लो हुनुहुन्छ। सम्पादक र शुद्धाशुद्धि हेर्ने आउलान्, तर अन्तिमसम्म लेखकले एक्लै बसेर काम गर्नुपर्छ। त्यसैले मलाई लेखकले अभ्यासमा ध्यान दिनुपर्छ भन्ने लाग्छ। म दैनिक रूटिन बनाएर लेख्ने गर्छु।
गैरआख्यानभन्दा आख्यान लेखन बिल्कुलै फरक हुन्छ। गैरआख्यानमा तपाईंले ऊ रोयो भनेर छोडिदिन पनि सक्नुहुन्छ, तर आख्यानमा त्यतिले पुग्दैन। उसको आँखाबाट आँसु झरेको पाठकले थाहा पाओस् भन्ने कोशिश हुनुपर्छ। त्यसमा कल्पनाशीलता र सिर्जनशीलता दुवै आवश्यक पर्छ।

आख्यानको नाममा अतिरेक कल्पना मलाई मन पर्दैन। म ‘फेन्टासी’ मा विश्वास गर्दिनँ। मलाई के लाग्छ भने, तपाईंले आख्यान नै लेखे पनि समाजसँग जोडिनुपर्छ। त्यो तथ्यपूर्ण हुनुपर्छ। अर्को मलाई मन पर्ने विषय इतिहास हो। सानैदेखिको रुचि हो यो। आख्यान लेख्नुपूर्व धेरै गैरआख्यान पढ्नुपर्छ। तपाईंलाई धरातल नै थाहा छैन भने त्यसको कल्पनाशीलता कसरी ल्याउने?
उरमाल लेख्दा मैले एकैचोटि लामो समय बसेर अनुसन्धान गरेर लेखेको होइन। म जान्थें, हप्तादिन बस्थें र लेख्थें। लेख्दाखेरि के मिलेको छैन भनेर फेरि गएर खोज्थें। चिया कमानसँगै त्यस वरिपरिको ऐतिहासिक कुरा पनि आउनुपर्यो। त्यसको समाज आउनुपर्यो। त्यो कुरामा जोड गरें। म आफैं पिछडिएको क्षेत्र र आदिवासी समाजबाट आएको हुनाले कमानका श्रमिकको मर्म आफ्नै मर्म जस्तो लाग्यो। जो तल धकेलिएको छ, जसको आवाज छैन, लेखकले तिनैको आवाज लेख्ने हो भन्ने मलाई लाग्छ। त्यही हिसाबले काम गरेको हुनाले मेरो लेखाइमा बढी सत्यता आएको हुनुपर्छ।
भविष्यका कुरा
अंग्रेजले चीनसँग टक्कर गर्न र विश्वबजारमा चिया बेचेर मुनाफा कमाउन चियाखेती शुरू गरे। त्यसका निम्ति विभिन्न ठाउँबाट आदिवासी र नेपालीलाई ‘चियाको रूखमा सुन फल्छ’ भन्दै सपना देखाएर भेला पारे। अंग्रेजले मनग्गे मुनाफा लिए। भारत स्वतन्त्र भएपछि अंग्रेज गए, अर्का मालिक आए। तिनले पनि त्यही गरे।
कमानेलाई कम्पनीले पुरानै ढाँचामा साइरनको धुनमा बाँच्ने जिन्दगी दिएको छ। अवस्था बदलिएको छैन। तिनको दुरवस्था उस्तै छ। यो अवस्था पाँच पुस्तादेखि आजसम्म जारी छ। के यी दमित श्रमिक आफ्नो हकअधिकारका निम्ति पुनः संगठित होलान् त भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
संगठित आन्दोलनको कुरा र श्रमिकको आन्दोलनको कुरा फरक फरक हुन सक्छन्। चिया बगानको समस्या भनेको रोजगारको समस्या होइन, श्रमको मूल्य भएन भन्ने हो। आज पनि त्यहाँ बसाइँसराइको कुरा छ। त्यहाँबाट केरला गएको कुरा छ। केरला गएर पनि ठूलो काम गर्ने होइन। पाँच पुस्तादेखि चियाको काम गर्दै आएकाले बाहिर गएर पनि यही काम गर्ने हो।
पछिल्लो समय चिया श्रमिक श्रमको मूल्य नपाएरै पलायन भएका हुन्। श्रमको मूल्य भए जिन्दगी ठीकठाक चल्छ। उभिएको जमीन उसको हुनुपर्छ। आन्दोलन सन् १९८६ देखि शुरू भएको देखिए पनि यसको जरा त त्यसभन्दा अघिदेखिकै हो। पछिल्लो समय विपरीत दिशामा गए पनि यो आगोको फिलिंगो जस्तो हो। फेरि आन्दोलन नहोला भन्न सकिंदैन। पहिला जस्तो नभई तरीका भने फरक हुन सक्छ।
हालै बजारमा आएको उपन्यास उरमालको सन्दर्भमा लेखक छुदेन काविमोसँग हिमालखबरको प्रस्तुति किताबका कुराका लागि जेबी पुन मगरले गरेको संवादमा आधारित। पूरा कुराकानी भिडिओमा सुन्नुहोस्ः
किताबका कुराका थप सामग्री
- ‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
- ‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
- ‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
- ‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
- ‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
- ‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
- ‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’