‘फूलको समीक्षा गर्न फूलै हुनु पर्दैन। लेखकहरूले त्यो कुरा नबुझेर धारेहात लगाइरहेका हुन्छन्। सबैको दह्रो मुटु हुँदैन।’
डेढ दशकदेखि विभिन्न विधाका किताबको समीक्षा गरिरहेका समीक्षक गुरुङ सुशान्त को पुस्तक आएको छ, इतर समीक्षा । पुस्तकमा आख्यान, गैरआख्यान, कविता र नाटकमाथि गरिएका समीक्षा समेटिएका छन्। यो पुस्तक इतिहास, संस्कृति, अध्ययन-अनुसन्धान र वैचारिकीमा आधारित समीक्षामा केन्द्रित छ।
समीक्षामा पनि उनले पहिचान र सीमान्तीकृतको दृष्टिकोणबाट मूलधारमा छुटेका महिला, आदिवासी जनजाति, मधेशी, दलित र सीमान्तीकृत समुदायका मुद्दामा कलम चलाउँदै आएका छन्। पछिल्लो समय आदिवासी जनजातिको संस्कृतिमा केन्द्रित रहेर समीक्षा गरेका छन्। यी सँगसँगै भर्खरै प्रकाशित पुस्तक इतर समीक्षा मा केन्द्रित रहेर हिमालखबर को प्रस्तुति किताबका कुरा मा लेखक गुरुङ सुशान्तसँग धनु विश्वकर्मा ले गरेको कुराकानी :
अरूका पुस्तकको समीक्षा गर्दै आउनुभएको थियो। अहिले तपाईंको पुस्तकको समीक्षा भइरहेको छ। समीक्षाको समीक्षा कसरी भइरहेको छ?
पहिलो त मेरो पुस्तक आएको महीनादिन भयो। बजार व्यवस्थापन सुस्त भएकाले सबै भागका पाठकको हातमा पुगिसकेको छैन। तैपनि मौखिक समीक्षा पाइरहेको छु। अग्रज समालोचक, लेखक, विद्वान्हरूले एकदमै प्रशंसा गर्नुभएको छ।
अर्को, बजारमा यस्तो खालको किताबको खाँचो थियो। किनभने कविता, कथा, निबन्ध संग्रह आइराखेका हुन्छन्। समीक्षाको संग्रह थिएन। समीक्षालाई तत्काल पत्रिकामा लेख्यो, सकियो वा ‘डेट एक्सपायर’ जस्तो ठानिन्थ्यो। यो पुस्तक आइसकेपछि समीक्षाको पनि संग्रह हुन्छ भन्ने सोचेर जिम्मेवार भएर लेख्छन्। यसले नमूना पेश गरेको छ भन्ने कोणबाट पनि प्रशंसा भइराखेको देख्छु।
पुस्तकमा विधागत रूपमा समीक्षा राखेको छु। त्यसमा पनि प्रशंसा नै पाइरहेको छु। मेसेज, फोनमा ‘पुस्तक पाएँ, पढ्दै छु, खुशी लाग्यो’ भन्ने कमेन्ट आइरहेका छन्।
यस पुस्तकमा समावेश समीक्षाहरू सञ्चारमाध्यममा आएकै थिए, अहिले पनि पढ्न पाइन्छ। किन किताबकै रूपमा ल्याउनुपर्छ भन्ने लाग्यो?
पुस्तकमा समावेश सबै समीक्षा अनलाइनमा भेटिंदैनन्। केही अप्रकाशित समीक्षा पनि पुस्तकमा समावेश छन्। समीक्षा लेख्न थालेको डेढ दशक भयो। समालोचना लेखेको दुई दशक भयो। मेरो पहिलो पुस्तक २०६३ सालमा प्रकाशन भएको थियो।
मैले गरिराखेको काम कस्तो छ भने सप्ताहान्तमा कोसेली, नयाँ पत्रिका , नेपाल म्यागेजिन , अन्नपूर्ण पोस्ट लगायतमा समीक्षा छापिन्छ। एक-दुई हप्तापछि सकिन्छ। कहिलेकाहीं पाठकले ‘मैले फलानो पत्रिकामा फलानो पुस्तकको समीक्षा पढेको थिएँ। यो पक्ष मन परेको थियो। यो पक्ष पनि खुलाइदिनुभए हुन्थ्यो’ भनेर मेरो समीक्षाको पनि समीक्षा गरिराखेका हुन्छन्।
फेरि मलाई पनि आफ्नो समीक्षालाई फर्केर किन नहेर्ने भन्ने लाग्यो। एकमुष्ट राख्दा मेरो समीक्षात्मक चेतनाको सोलोडोलो आफैंले मूल्यांकन गर्न सक्छु। पाठकले पनि गर्न सक्छन्। अर्को, समीक्षा लेख्नेका लागि यसरी पनि बहस उठान गर्न सकिन्छ भन्ने लाग्यो। साथीहरूको सुझावलाई पनि मनन गरेर पुस्तक निकाल्ने धृष्टता गरेको हुँ।
किताबको नामबारे पनि चर्चा भइरहेको छ। किन किताबको नाम इतर समीक्षा राख्नुभयो?
मलाई लागेको वा यो मेरो दाबी भन्दा पनि भयो। मैले लेख्नुभन्दा अगाडि र लेख्दै गर्दा जुन ढंगले समीक्षा भइरहेका थिए, मैले गरेका समीक्षा त्योभन्दा अलिकति फरक छन् भन्ने कोणबाट पुस्तकको नामकरण गरेको हुँ। मैले धेरै ठाउँमा भनेको छु, म पनि अभ्यास गर्दै सिक्दै आएको हुँ। साहित्यका सम्पूर्ण विधाको तात्त्विक गुणवत्ता, कमी-कमजोरीबारे विज्ञ भएर लेख्न थालेको होइन।
साहित्यको समीक्षा गरेर आएको हुँ। इतिहास, संस्कृति, सिनेमा र नाटकपछि मात्रै समीक्षा गर्न थालेको हुँ। शुरूमा साहित्यबारे लेख्दा विज्ञ भएर भन्दा पनि किताब पढ्न पाए हुन्थ्यो, बहस-छलफलमा भाग लिन पाए हुन्थ्यो भनेर सामान्य पाठक प्रतिक्रिया दिंदादिंदै त्योभन्दा अलिक फरक ढंगले गर्न सकिन्छ कि भनेर समीक्षामा आइपुगेको हुँ।
पुस्तकको कभर यस्तो छ, मूल्य यति छ, फलानो प्रकाशनले छापेको हो, यति पृष्ठको छ, यो विधाको हो भनेर समीक्षा लेखिन्थ्यो। मलाई यस्तो समीक्षा पढ्दा गाह्रो हुन्थ्यो। किनकि यो सबै किताबमै हुन्छ। किताबमा भएको विषयवस्तुमाथि पो समीक्षा हुनुपर्छ। विषयमाथि छलफल भएन। फेरि विषयवस्तुबारे व्याख्या गरेर मात्रै हुँदैन। विश्लेषण, मूल्यांकन गरौं भनेर लागेको हुँ। धेरै पाठकले पनि ‘तपाईंको समीक्षा अलिक फरक छ’ भने। त्यसैले इतर समीक्षा नाम राख्दा पुस्तकमाथि न्याय हुन्छ कि भन्ने लाग्यो।
सीमान्तीकृतको आँखाबाट लेखिएको समीक्षा भन्न मिल्छ?
नेपालको सन्दर्भमा मूलधार र सीमान्तीकृत भन्ने छ। मूलधार भनेको एउटा जाति, भाषा भयो। त्यो मूलधारले जजसलाई सीमान्तीकृत बनायो, ती सीमान्तीकृतका मुद्दा ओझेल पर्दै गए। पछिल्लो समय यो बहस साहित्यमा पनि आयो। आदिवासी जनजाति, दलित, महिला र यौनिक अल्पसंख्यकका मुद्दा आउन थालेका छन्। त्यसमाथि समीक्षा लेखेको छु।
त्यस्तै, आदिवासी संस्कृतिबारे बनेका फिल्ममाथि केन्द्रित भएको छु। दलित महिलाका सवालमा लेखिएका किताबका समीक्षा छन्। पहिचान, सीमान्तीकृत र भुइँमान्छेका मुद्दामा जोडिएर लेखिरहेको छु।
सबै समीक्षा त्यही कोणबाट मात्रै गरिएको छैन। शुरूआतका समीक्षामा ठ्याक्कै त्यस्तै नहुन सक्छ। आदर्शवादीले भने जस्तो लेखन भनेको दैविक शक्तिले लेख्ने होइन, माझिंदै जाने हो। अध्ययन गर्दै, आफ्नो विचारलाई माझ्दै, अभ्यास गर्दै सिक्ने हो। कसैबाट प्रभावित भएर शैली-शिल्प सिक्ने हो।
भाषामा पनि फरक आएको छ। लेखनलाई कवितात्मक बनाउने लोभ थियो। अहिले इतिहास, संस्कृति र वैचारिक किताबमा छिर्दै गएको छु। त्यसपछि भाषामा पनि फरक आएको अनुभूति भएको छ। त्यसकारण सीमान्तीकृतको कोणबाट लेखिएको भन्दा न्याय नै होला।
वर्षभरि धेरै किताब प्रकाशित हुन्छन्। सबैको समीक्षा गर्न सकिंदैन। तपाईंको छनोटको विधि के हो?
सबै पुस्तकको समीक्षा मात्रै होइन, पढेर पनि साध्य लाग्दैन। शुरूमा उपन्यास पढेर साहित्यप्रति आकर्षित भएँ। कविताबाट लेखनमा प्रवेश गरें। शुरूमा साहित्यमै बढी रुचि राख्थें। एक दशकयता इतिहास, संस्कृति, गैरआख्यान र विचारप्रधान पुस्तकमा केन्द्रित भइराखेको छु।
कसरी छान्ने भन्ने सन्दर्भमा पहिलो प्राथमिकता मेरो रुचिलाई नै दिन्छु। संस्कृतिमा पनि आदिवासी जनजातिको मौखिक इतिहास र संस्कृतिमा विशेष रुचि छ। बजारमा आएका किताब सरसर्ती हेर्छु। जसले राम्रो प्रशंसा पाइरहेका छन्, व्यावसायिक छन्, राम्रा छन्, तिनैबाट छान्छु। दोस्रो, प्रकाशक र तेस्रो, अरूले गरेको सिफारिश हो।
दुई वर्षयता फिल्म समीक्षा गर्न थाल्नुभएको छ। तपाईंले समीक्षा गरेका फिल्ममा पूर्णबहादुरको सारंंगी बाहेक सबै आदिवासी जनजाति संस्कृतिमा बनेका छन्। अरू फिल्म किन रोजाईमा परेनन्?
साहित्यभन्दा पहिला सिनेमाको पारखी हुँ। नुवाकोटमा दुइटा फिल्म हल थिए। राति टर्च बालेर फिल्म हेर्न आउँथ्यौं। कक्षा १० पछि त्रिशूली बजारमा बसेर पढ्न थालें। हरेक शनिबार फिल्म हेर्न जान्थें। एकै फिल्म ५-६ चोटिसम्म हेरिन्थ्यो। काठमाडौं आइसकेपछि पनि एक दिनमा तीन-चार वटा फिल्म हेरेको छु।
सिनेमाको पारखी हुँदाहुँदै पनि लेख्ने आँट गरिनँ। त्यसका लागि पत्रिकामा ‘स्पेस’ छैन जस्तो लाथ्यो। धेरैजसो समीक्षामा सिनेमाको कथा नै भनिएको हुन्थ्यो, त्यस्तो मलाई मन पर्दैनथ्यो। त्यस्तै समीक्षा लेख्न मन लागेन।
कुनै वेला म राजेश हमालको फ्यान थिएँ। त्यो अर्कै समय र सिनेमा थियो। पछिल्लो समय युवा प्रवेश गरे। सिनेमा, अभिनय, निर्देशन र प्राविधिक विषय पढेर आए। थिएटरमा लामो समय खारिएर सिनेमामा आए। जसले गर्दा राम्रा सिनेमा बन्न थाले।
२०६२/६३ सालको आन्दोलनपछि महिला, आदिवासी जनजाति, मधेशी र दलित लगायत सीमान्तीकृतका मुद्दा साहित्य, नाटकमा आउन थाले। त्यसको प्रभाव सिनेमामा पनि देखिन थाल्यो। आदिवासीका मुद्दा र संस्कृति आउन थाल्यो। त्यसपछि सिनेमाबारे लेख्न पाए हुन्थ्यो भन्ने लाग्यो। आँट गरेको थिएनँ।
फिल्म हेर्न गइरहने भएर निर्देशक-कलाकारसँग चिनजान भयो। प्रिमियरमा पनि बोलाउन थाले। गत वर्ष लेख्नै पर्ने माहोल बन्यो। मन लागेको विषय भनेर लेख्न थालें। मेरो लेखाइ धेरै पाठकलाई मन पर्न थाल्यो। कथाभन्दा पनि विषयमाथि बहस हुन थाल्यो। मूलधारको सिने-समीक्षाले छुटाएको विषयमा जोड दिन थालें। त्यसको इतिहास र दार्शनिक पक्षसँग छलफल गर्नुपर्छ भन्ने लाग्यो।
पुस्तकमा गैरआख्यान ३२, आख्यान १८, कविता १२ र सिनेमा-नाटक ६ वटाका समीक्षा समावेश छन्। जसमध्ये महिलाका पाँच मात्रै छन्। महिलाका कृति कम हुन् कि तपाईंको छनोटमा नपरेका हुन्?
पुरुषप्रधान समाजको सोच ममा पनि अलि अलि भयो होला। महिला लेखक आउनुपर्छ भन्ने पक्षधर हुँ। महिला लेखकहरूले लेखिरहनुभएको छ। गुणवत्ताका अनुसार अलि निखारिन बाँकी हो कि!
मेरो समीक्षाको समीक्षा अर्को कोणबाट पनि गर्न सकिएला। महिलाले पढ्न-लेख्न कहिले पाए? घरबाट बाहिर निस्किन कहिले पाए? म पुरुष भएकाले जसरी फुक्काफाल भएर हिंड्न सक्छु, त्यो मेरा दिदीबहिनी, श्रीमती र छोरीलाई सहज नहोला। रूखो भाषामा भन्दा लेखपढ गर्ने जिम्मा पुरुषले पाइरहेका छन्। त्यो कारणले पनि गुणस्तरमा कम भएको हो भन्ने लाग्छ।
समीक्षामा गुणस्तर पनि हेरौं भनेर हो, त्यो कहिलेकाहीं ‘बायस्ड’ पनि हुन सक्छ। महिला लेखक कम भएको पनि सत्य हो। अहिले राम्रो लेख्ने महिला लेखक थोरै छन्। रुचि हुँदाहुँदै पनि नभ्याएका हुन सक्छन्।
समीक्षा अखबारमा लेख्ने चलन भयो। म पनि धेरै अखबारमै रमाएँ। एक-दुई महीनामा आयो भने हो, नत्र सन्दर्भ सकिए जस्तो हुन्छ। पुस्तकको सन्दर्भ त कहिले नसकिनुपर्ने हो। कुनै पत्रिकामा नियमित लेखिरहेको हुन्छु भने अरूले नै लेखिदिएपछि मैले लेख्न नपाएको पनि छु। नियमित लेख्ने ठाउँमा अघोषित आबद्धता हुन्छ।
तर पुरुष दोहोरिएका पनि छन् नि?
खगेन्द्र संग्रौला, कुमार नगरकोटी, नारायण ढकालका कृति दोहोरिएका छन्। यसमा मलाई प्रश्न आइरहन्छ। उहाँहरूले नेपाली साहित्यमा मानक खडा गर्नुभएको छ। राम्रो कुराको प्रशंसा गरौं। राम्रो लेख्ने लेखकको किताबको समीक्षा गर्दा अरूलाई पनि लेख्न प्रेरित गर्ला भन्ने पनि हो।
कहिलेकाहीं राम्रोको लेखिरहँदा नयाँ राम्रो लेख्नेहरू छुटिरहेका हुन सक्छन्। त्यो म स्विकार्छु। कहिलेकाहीं किताब राम्रो हुन्छ। लेखकलाई भेट्यो त्यो अनुसारको विचार र बुझाइ आउँदैन। मलाई शंका लाग्छ, यो मान्छे आफैंले लेखेको हो कि होइन भन्ने। विषयवस्तु, भाषा, लेखन राम्रो हुन्छ, तर महिला, आदिवासी जनजाति, मधेशी, दलित र अल्पसंख्यकप्रतिको बुझाइ पुरातनवादी हुन्छ।
अर्को, नियमित भेटघाटमा हुन्छु। नयाँ किताब आउँदै छ भन्ने थाहा पाएपछि छिटोछिटो पढेर सुनाइदिइहालूँ भन्ने पनि हुन्छ। ममा पनि ‘बायसनेश’ हुन सक्छ। सम्बन्ध, संगत, हिंडाइ, बोलाइको समीक्षा नगरेको पनि हुन सक्छ।
मित्रमण्डली, जोसँग हरेक दिन चियागफका क्रममा भेट हुन्छ, तिनै साथीहरूको मात्रै किताब समीक्षा गर्नुहुन्छ भन्ने आरोप पनि लाग्दो रहेछ नि?
त्यो प्रभाव पर्न सक्छ। म त्यसबाट जोगिने कोशिश गरिरहेको हुन्छु। एकपल्ट किताबमा भूमिका लेखेर बजारमा गयो। त्यसमा कडा आलोचना थियो। त्यसको चर्चा भएपछि प्रकाशकले फिर्ता लगेर त्यो भूमिका फालेर किताब छापेको पनि घटना छ। लेखक, सम्पादक र प्रकाशक साथी हो।
पुस्तक विमोचनमा पनि गुरुङ सुशान्तले कडा बोल्यो भनेर आलोचना हुन्छ। यो पुस्तकमा पनि केही समीक्षा कडा छन्। यो किताबको विमोचन कार्यक्रममा पनि खगेन्द्र संग्रौला दाइले कडा समीक्षा भयो भनेर बोल्नुभएको थियो। कडा आलोचना गरेका हिजो पनि साथी थिए, आज पनि छन्। मित्रको प्रभावबाट बाहिर रहेर लेख्ने कोशिश गरिरहन्छु। पुस्तक मन परेपछि खुलेर प्रशंसा र मन नपरे खुलेर आलोचना गरिदिन्छु। केही प्रतिशत साथीको होला। मित्रमण्डलीको मात्र समीक्षा गरेको आरोप लगाउनु उपयुक्त हो जस्तो लाग्दैन।
खासमा समीक्षा भनेको के हो?
समीक्षा भनेको सिर्जनाको बहस गर्ने विधा हो। कतिपय सर्जकलाई लाग्छ, मेरो रचना राम्रो छ। त्यो भनेको आलोचना गर्नु हुँदैन भन्ने छ।
कतिपयले ‘समीक्षाको काम छैन, समालोचना चाहिंदैन, समीक्षा मरिसक्यो, घाटमा गइसक्यो’ भन्ने गरेका छन्। समीक्षा कमजोर भएको सत्य हो। समीक्षाको समृद्धिका लागि लगानी गर्ने ठाउँ भनेको विश्वविद्यालय हो। भाषा-साहित्यमा काम गर्ने नेपाली, अंग्रेजी विभाग हुन्।
म पनि विश्वविद्यालयमा छु। पत्रिकामा जस्तो लेखेर नम्बर आउँदैन। मैले पनि लक्ष्मीप्रसाद देवकोटाकै लेख्नुपर्छ, बीपी कोइरालाको लेख्नुपर्छ। समालोचना भनेर कर्मकाण्ड जस्तो भइरहेको छ। विश्वविद्यालयले भाषा, विचार र शैलीशिल्पको नयाँ आविष्कार गर्नुपर्ने भएको छ। समालोचना पनि पाठकमैत्री हुनुपर्छ।
नयाँ भाषा र शैलीमा लेख्न थाल्यो भने आत्मपरक भयो भन्छन्, अखबारी भयो भनेर आरोप लाग्छ, प्राज्ञिक भएन भनिन्छ। प्राज्ञिक भनेर ५० पृष्ठ लेखेर पाँच पंक्ति पनि काम लाग्ने भएन भने के अर्थ भयो?
समीक्षा पाठकमैत्री भएन। कक्षाकोठामा सीमित भए। स्थापित लेखकको पछि लागेको जस्तो भएको छ। नयाँ लेखकलाई नचिनेको जस्तो छ। नयाँ राम्रो लेखकलाई पाठ्यक्रमले चिनिराखेको छैन। समालोचना र समीक्षाले वाङ्मयलाई दिशा दिनुपर्ने हो, तर आफैं हराएका छन्।
समीक्षक किन कम भए?
यो समाजसँग जोडिन्छ। हाम्रो समाज बहस चिन्तनमैत्री छैन। बहस-छलफल गर्नेलाई निषेध गरिन्छ। कसैले प्रगतिशील कुरा गर्छ भने स्वागत गरिंदैन। जे चलिरहेको छ, त्यही ठीक छ भनिन्छ। विश्वविद्यालयमा पनि जागीर खाने बाहेक काम गरिंदैन। नयाँ विचार दिने मान्छेलाई निषेध छ। प्रशंसा गर्यो भने वाहवाही पाइन्छ।
समाज सानो छ। एक्लाएक्लै हिंड्न गाह्रो छ। कडा आलोचना भयो भनेर लेखक तर्किन थाल्छ। उल्टै प्रश्न गर्छ- त्यसले कविता लेखेर देखाओस् त!
फूलको समीक्षा गर्न फूलै हुनु पर्दैन। समाजमा पारेको प्रभावको मूल्यांकन गर्ने पनि हो। लेखकहरूले त्यो कुरा नबुझेर धारेहात लगाइरहेका हुन्छन्। सबैको दह्रो मुटु हुँदैन। एक समीक्षक १० वर्षभन्दा बढी टिक्दैन। समीक्षकलाई पनि अनुत्पादक लाग्न थाल्छ। किताब किनेर पढ्यो, फेरि लेखकले गाली गर्न थाल्छ। आलोचनाको भारी थेगिनसक्नु हुन्छ। यसैमा कटिबद्ध भएर लाग्न जटिल छ।
राम्रा पुस्तकको समीक्षा जहिले पनि हुन्छ। पारिजातको शिरीषको फूल मा गोविन्द भट्टले ‘शिरीषको फूल कि कागजको फूल’ भनेर लेख्नुभयो। कतिले दुश्मन ठान्थे होला। पारिजातले त्यसलाई मनन गर्दै गुरु थाप्नुभयो। शिरीषको फूल र पछिको लेखन फरक भयो। पारिजातको लेखन प्रगतिशील, मार्क्सवादी अझ महिलाको कोणबाट प्रखर रूपमा आयो। प्रतिरोधी चेतना आयो।
पछिल्लो समय गोविन्द भट्ट नजन्मेका पनि हुन सक्छन्। निषेधले गर्दा निरोध भए जस्तो पनि लाग्छ। जन्मनै पाएनन्। गाली गर्न थाले। वितृष्णा पलाउन थाल्यो। समीक्षाले पारिजातहरूलाई परिष्कृत बनाउँदो रहेछ।
VIDEO
साहित्य वा समीक्षामा पक्षधरता हुन्छ कि हुँदैन?
साहित्य वा समीक्षाको पक्षधरता हुन्छ। लेखनमा तटस्थ भन्ने कुरा ढोंग हो। म कुनै न कुनै विचार सहित छु। दलितलाई उत्पीडन हुनुपर्छ भनेर लेखिएको रचनामा मैले समर्थन गर्नु भनेको जातव्यवस्थालाई यथावत् राख्नुपर्छ भन्ने हो। यो पक्षधरता होला।
कतिपयले ‘दलितमाथि हुने विभेद कहाँ छ? दलितको घरमा भात खान्छु, चिया खान्छु’ भन्ने जसरी लेखिरहनुभएको हुन्छ। यो त ठूलो समस्या हो। एक जनाले भात खाइरहेको कुरा ‘ग्लोरिफाई’ किन गरियो भने ‘फलानो तल हो’ भन्ने सोचाइले काम गरेको हो। यस्तो कुरा ठीक छ भन्दा पनि पक्षधरता हुन्छ, ठीक छैन भन्दा पनि पक्षधरता हुन्छ। कहीं न कहीं म उभिनुपर्छ।
किताबका कुरा का थप सामग्री
‘भूटानबाट नेपाली समुदाय खेदिएपछि देशको सीमा नै खुम्चिंदै गयो’
‘काठमाडौंको वरपर विश्वकै उत्कृष्ट साइकल ट्रेल बन्न सक्छ’
‘बेलसँग बिहे गर्ने प्रचलनले छोरीलाई सती जानबाट जोगाएको थियो’
‘डांग्रो नखाने र भांग्रो नलगाउने त मगर नै होइन भन्थे!’
‘वीरगन्जको बाटो चौडा भयो, तर मन साँघुरिंदै गयो’
‘धनी र गरीब सन्तानलाई बाबुआमाले गर्ने व्यवहार पनि फरक हुन्छ’
‘कोइलाखाद गएका मेरै दौंतरी पनि फर्केनन्’
‘नेपालीले दुःख चाँडै भुल्छन्, तर भूकम्पको दुःख नभुलेकै राम्रो’
‘हाम्रै सोचले हामीलाई कृषिबाट धनी बन्न दिएको छैन’
‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘प्रेम विनाको यौन अपराध हो’
‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘मुन्धुम मानव सभ्यताको इतिहास हो’