ऐतिहासिक कालमा गोरखा र काठमाडौंबाट देशको सीमारक्षा गर्न लगिएका नेपालीलाई राजा जिग्मी सिंगे वाङ्चुकले भारतीय स्वार्थमा देशबाट लखेटेपछि ४६ हजार ५०० वर्गकिलोमिटरमा फैलिएको भूटानको सीमा अहिले ३८ हजार ३९४ वर्गकिलोमिटरमा संकुचन हुन पुगेको छ। चीन र भारत दुवैले भूटानी भूमि अतिक्रमण गरेपछि देश साँघुरिंदै गएको हो।
विविधताले भरिपूर्ण बहुसांस्कृतिक देश भूटान आप्रवासीहरूको संगमथलो हो। चीन र भारतले घेरिएको भूटान भूपरिवेष्ठित देश हो। विभिन्न स्थानबाट आएर बसोबास गरिरहेका समुदायको मिश्रण बसोबासले भूटानलाई समृद्ध बनाएको छ। ऐतिहासिक तथ्यहरूले भूटानमा नेपालीहरूको आगमन ४०० वर्ष पुरानो देखिन्छ। यो अहिलेको राजतन्त्र शुरूआत नहुँदैको कुरा हो। तत्कालीन शासक नवाङ नामग्येल (१६१६–१६५१)ले जंगलैजंगलले घेरिएको भूटानलाई प्राकृतिक प्रकोप र वैरीबाट रक्षा गर्न विभिन्न देशबाट मानिसहरू ल्याई दक्षिणी भेगमा बसोबास बसाउने योजना बनाए। नामग्येल विभाजित ससाना राज्यलाई एकत्रित गरी आधुनिक भूटान राज्य निर्माण गर्ने सूत्रधार र अवलोकितेश्वरको अवतारका रूपमा हेरिने एक दैविक व्यक्तित्वका रूपमा सम्मानित छन्। उनी सन् १६१६ मा तिब्बतबाट भूटान प्रवेश गरेका थिए। आफ्नो योजना बमोजिम नामग्येल सन् १६२४ मा गोरखाका राजा राम शाहलाई भेट्न गोरखा पुगे। त्यहाँ नामग्येलले आफ्नो समस्या राखेपछि राजा राम शाहले विशुन थापा मगरको नेतृत्वमा ६० घर गोर्खाली परिवार भूटान पठाइदिए। माना, पाथी, धर्म, संस्कृति, कला, इतिहास सहित भूटान लगिएका ती परिवारहरूमा ठूलो संख्या मगरको थियो भने अन्यमा विश्वकर्मा, दर्जी, सार्की, गुरुङ, तामाङ, ब्राह्मण र क्षेत्री परिवारहरू थिए। उनीहरूलाई भूटान ल्याइनुअघि ‘हामी पहिले गोर्खा राजाका जनता थियौं, उप्रान्त धर्मादेवा राजाका रैयत भयौं’ भनी शपथ खुवाइएको थियो। राजा राम शाहले आफ्ना जनता पठाए पनि भूटानको वस्तुस्थिति बुझ्न कानूनी सल्लाहकार अहिमान आले मगरलाई भूटान पठाएका थिए।
जंगली जनावरहरूले भरिएको र प्रचण्ड गर्मी हुने दक्षिणी भूभागमा अविरल वर्षा भइरहन्थ्यो। त्यहाँ औलोको प्रकोप थियो। त्यसैले त्यस ठाउँमा मान्छेहरू आवतजावत गर्न समेत डराउँथे। गोरखाबाट लगिएका परिवारलाई त्यही भेगमा बसोबास गराइयो। त्यहाँ उनीहरूलाई ब्लक मण्डल (नेपालको गाउँपालिका सरह) प्रमुख र मुख्तियारी (क्षेत्राधिकारी) पद दिई तिनलाई तोकिएको क्षेत्रमा बस्ती बसाल्ने, रोजगारी दिने, राजस्व संकलन गर्ने, शान्ति सुव्यवस्था कायम राख्ने जस्ता प्रशासनिक काम सहित राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी दिइएको थियो। यसरी अख्तियारी पाउनेहरूमा करवीर आलेमगर, दालचन गुरुङ, जंगबहादुर प्रधान, धनवीर बुढा, कीर्तिमान बुढाथोकी, गुलिङ गजमेर, गन्जवीर थापा, अमर प्रधान, वीरबहादुर नेपाल, भीमराज राई, पूर्णसिंह कटवाल, लालवीर तामाङ, गुमानसिंङ थापा, गर्जमान गुरुङ, मोतीराज गुरुङ, हेमराज गुरुङ, बलभद्र गुरुङ, नन्दलाल क्षेत्री, लालसिंह गुरुङ आदिको नाम आउँछ। नामग्येलले करवीर आले मगरलाई जमीनदारी दिएर तराई क्षेत्रको रेखदेख समेतको अधिकार दिएर उनैको थरबाट तिब्बत जाने मुख्यद्वार भनी त्यस क्षेत्रलाई ‘आलेगैंडो’ नाम नै दिएका थिए।
त्यतिन्जेल भूटानमा सेना र प्रहरी संयन्त्र बनिसकेको थिएन। गोर्खालीहरूले त्यो भेगलाई आवाद गरी दिइएको जिम्मेवारीलाई कर्तव्यपरायणताका साथ निर्वाह गरे। यसबारे अध्येता रमेशकुमार ढुंगेल लेख्छन्, ‘धर्मराजा नवाङ नामग्येलले विशुन थापा मगरलाई भूटानको शासन व्यवस्थामा सहयोग गरे बापत खुशी भएर राजा उपाधि दिएर प्रशासनिक अख्तियारी दिएका थिए। विशुन थापाका वंशजहरू बुदिन थापा, काशीनाथ थापा, मनसु थापा र सेनु थापाका सन्तान भूटान, आसाम, सिक्किम र पश्चिम बंगालतिर रहेको र अझै पनि त्यस क्षेत्रका मगरहरूलाई राजा भन्ने चलन छ।’ (सिनास जर्नल, १९८९, भोल्यूम नम्बर–१६, पृष्ठ १८५)
गोर्खालीहरूले गरेको प्रशासनिक कार्यसम्पादन र भूटानी सार्वभौमसत्ताको रक्षाबाट नामग्येल निकै सन्तुष्ट थिए। किनकि उनले त्यसपछि पनि (सन् १६४०) काठमाडौंका राजा शिवसिंह मल्लसँग सम्बन्ध गाँसी जोङ तथा गुम्बा बनाउन ठूलो संख्यामा सिकर्मी, डकर्मी, धातुकर्मी, मूर्तिकार र कामदारहरू भूटान लगे। यसपल्ट पनि ६० परिवार लगिएका थिए। लगिएकामा वेनु पाध्या, कालु पाध्या, सेतु थापा, बुदिन थापा मगर, बिर्जु गुरुङ, दाङसाङ गुरुङ, माने मुर्मी (त्यस बखत तामाङलाई मुर्मी भनिन्थ्यो), सुने मुर्मी, विष्णु शाही, विष्णु जैसी, सेतुमान नेवार, न्याउले नेवार, जिम्बे खम्बु, नैनी पाण्डे, जिमु आले मगर, सन्ने कामी आदि थिए। यहाँ ध्यान दिनयोग्य तथ्य के छ भने, भूटान लगिने घरपरिवारहरू समावेशी तरीकाले छनोट गरिएका थिए।
ऐतिहासिक कालमा विभिन्न खेपमा भूटानी सार्वभौमसत्ताको रक्षार्थ लगिएका नेपाली समुदायको जनसंख्या सन् १९०१ सम्म आइपुग्दा दुई लाख ५० हजार पुगिसकेको थियो। भारतीय गोर्खा लिग देहरादूनका नेता तथा प्रबुद्ध पत्रकार ठाकुर चन्दनले सन् १९२५ मा प्रस्तुत गरेको कार्यपत्रमा यो तथ्य दिइएको थियो। (गौरीशंकर उपाध्याय (सम्पादक), डुक लोसेल, (नेपाली) भूटानको राष्ट्रिय त्रैमासिक पत्रिका, अंक २, ३ अगस्ट–नोभेम्बर १९८२, पृष्ठ २४)
यस तथ्यांकले भूटानमा नेपालीको जनघनत्व बाक्लो रहेको देखाएपछि सरकारले वास्तविक जनसंख्या नै लुकाउन थाल्यो। त्यसबारे तत्कालीन राजा जिग्मी सिंगे वाङ्चुकसँग सोधिएको थियो। सन १९९० मा भारतीय पत्रिका सन्डे (२६ अक्टोबर १९९०)लाई दिएको अन्तर्वार्तामा राजा वाङ्चुकले यस्तो जवाफ दिएका थिए– ‘आधिकारिक तथ्यांक अनुसार हाम्रो जनसंख्या १३ लाख हो, तर यथार्थमा मुलुकको जनसंख्या ६ लाख मात्र छ। मानिसहरू सोच्छन्, राष्ट्रसंघमा आबद्ध हुने संवेदनशील अवस्थामा गलत तथ्यांक प्रस्तुत गरियो। तर सत्य के थियो भने, कसैले मेरो पिताजीलाई भनेका थिए कि हामीले १० लाखभन्दा कम जनसंख्या रहेको बतायौं भने हामीलाई गम्भीरतापूर्वक लिइनेछैन।’
२७ अप्रिल २००७ मा तत्कालीन प्रधानमन्त्री ल्योम्पो सांगे निडुपले ३१ मे २००५ मा ‘पपुलेशन एन्ड हाउसिङ सेन्सस अफ भूटान’ ले तयार पारेको तथ्यांक प्रस्तुत गर्दै मुलुकको कुल आवादी ६ लाख ३४ हजार ९८२ रहेको बताएपछि यो तथ्य अझ खुलस्त भएको थियो। (क्युनसेन , अंग्रेजी राष्ट्रिय समाचारपत्र, २९ अप्रिल २००७, थिम्फू)
राजा र राजीवको गोप्य मन्त्रणा
भूटानको सार्वभौमसत्ता रक्षार्थ योगदान दिएका साम्ची जिल्ला सिब्सुका नेपाली समुदायलार्ई राजा जिग्मी सिंगे वाङ्चुकले १ जनवरी १९७४ मा सम्बोधन गर्दै भने, ‘दक्षिण भूटानका तपाईं जनताले आफूलाई कहिल्यै पनि पराया ठान्नहुन्न, किनभने तपाईं र तपाईंका पुर्खाको जन्म भूटानमै भएको थियो। त्यसैले तपाईंहरू सबै भूटानी हुनुहुन्छ। आफूलाई यसै रूपमा स्वीकार गर्दै तपाईंहरू सबैले भूटानको हितका लागि काम गर्नुपर्छ। हामी सबै एक जाति र एक देश बनेर संगठित हुनुपर्छ र एकसाथ अघि बढ्नुपर्छ।’ (सञ्चार तथा विकास मन्त्रालय, स्पिचेस अफ आवर विलभ्ड किङ, सन्चार विभाग थिम्फू, २ जुन १९७९, पृष्ठ १३)
सुन्दा निकै मीठो सुनिने राजाको यो वक्तव्यको अन्तर्य चाहिं निकै खतरनाक थियो। यो सन् १९८७ मा घोषणा गरिएको ‘वन नेशन, वन पीपल’ (एक राष्ट्र, एक जनता) योजना कार्यान्वयनको ‘ब्लूप्रिन्ट’ थियो। किनकि त्यसअघि नै त्यो योजना बमोजिम अभ्यास भइसकेका थिए। जस्तै- भूटान र भारतबीच सन् १९४९ मा मैत्री सन्धि भयो। त्यसपछि सन् १९५८ अघि जन्मेकालाई उत्पत्ति प्रमाणपत्र देखाउन भनियो। त्यसका आधारमा नागरिकता बाँड्ने भनियो। त्यतिन्जेल जनगणना भएकै थिएन। भूटानको गृह मन्त्रालय नै १९६८ मा स्थापना भएको हो, तर सरकार रेकर्ड माग्दै थियो १९५८ अघिको। यो नेपाली समुदायलाई अनागरिक बनाउने नियोजित योजना अन्तर्गत आएको थियो।
राजाको वक्तव्य सन् १९५८ मा राष्ट्रिय सभाको एघारौं अधिवेशनले पारित गरेको दफा ३ र सन् १९५९ मा राष्ट्रिय सभाको तेह्रौं अधिवेशनले पारित गरेको दफा ८ को झेली प्रावधानकै निरन्तरता थियो। दफा ८ मा लेखिएको छ, ‘दक्षिणी भूटानमा बसोबास गर्ने नेपालीहरूले यस देशको वास्तविक नागरिकका रूपमा राजा र देशप्रति आस्था राख्दै प्रत्याभूति पत्र बुझाएको हुँदा यस मितिदेखि नेपालीहरूले अन्य वास्तविक नागरिक सरह राष्ट्रिय सभामा र देशमा शासन अधिकार उपभोग गर्नेछन् भनी यस सभाले निर्णय गर्यो।’ (सञ्चार तथा विकास मन्त्रालय, स्पीचेस अफ आवर विलभ्ड किङ, सञ्चार विभाग थिम्फू, २ जुन १९७९, पृष्ठ २५)
भूटानको सार्वभौमसत्ता बचाउन मात्र नभई राजतन्त्र स्थापना गर्न पनि नेपाली समुदायले ठूलो भूमिका खेलेको थियो। बेलायत भूटानभित्र तिब्बतको प्रभाव रोक्न र भूटानसँग निर्बाध व्यापार गर्न भूटानमा राजतन्त्र ल्याउन चाहन्थ्यो। तर त्यसका निम्ति कुनै एउटा देशको सिफारिश चाहिने भएपछि कीर्तिमान बुढाथोकी, धनवीर बुढाहरू कैयौं महीना लामो यात्रा तय गरी नेपाल आई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराको सिफारिशपत्र बोकी फर्किएका थिए। त्यो पत्र ल्याएपछि सर उगेन वाङ्चुक भूटानका पहिलो राजा बन्न पुगे। तर तिनै राजाका सन्तान जिग्मी सिंगे वाङ्चुक भने भारतको स्वार्थमा नेपाली समुदायलाई देशबाट खेद्ने षड्यन्त्रको मतियार बने। राजतन्त्र ल्याउन भूमिका खेल्ने गर्जमान गुरुङ जस्ताको षड्यन्त्रपूर्वक हत्या गरियो। कडी जोड्दै जाँदा थाहा भयो- भारत भूटानबाट नेपालीलाई खेद्ने योजनामा काम गरिरहेको रहेछ।
२३ सेप्टेम्बर १९८८ को कुरा हो। भारतीय प्रधानमन्त्री राजीव गान्धी भूटानका रमणीय स्थलहरूको अवलोकन गर्ने बहानामा छोरा राहुल र छोरी प्रियंकासँगै बुमथाङको कुर्जे ल्हाखाङ क्षेत्रमा पाँच दिन बसेका थिए। उनीसँग राजा वाङ्चुक पनि पूरै समय साथ थिए। वास्तवमा त्यो भ्रमण भारतको दीर्घकालीन योजना अनुसार कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न बसेको गोप्य बैठक थियो भन्ने तथ्य कालान्तरमा प्रमाणित भयो। इन्दिरा गान्धीले राजा वाङ्चुकलाई छोरा जस्तै मान्ने हुनाले छोरा राजीव गान्धीले राजालाई भारतीय स्वार्थमा काम गर्ने अस्त्रको रूपमा प्रयोग गर्न खोजेका रहेछन्। त्यति वेला दार्जीलिङमा गोर्खाल्यान्ड आन्दोलन उत्कर्षमा थियो भने आसाममा पनि नेपाली मूलकाले गरिरहेका आन्दोलनले भारतीय सरकारको टाउको दुखाइरहेको थियो। गान्धीले त्यही उदाहरण देखाउँदै राजा वाङ्चुकको कान फुक्ने काम गरे।
राजा वाङ्चुक भारतीय स्वार्थका मोहरा थिए। त्यसपछि नेपाली समुदायका दुर्दिन शुरू भए। उनीहरूलाई देशद्रोहको आरोप लगाउँदै धरपकड र दमन गर्न थालियो। देश छाड्न बाध्य पारियो। नेपालीभाषीको राष्ट्रियतामाथि प्रश्न उठाउन थालियो। जेलमा थुन्न र हत्या गर्न थालियो। राजा र राजीवको गोप्य मन्त्रणापछि शुरू भएको यस्तो आततायी दमन सहन नसकेपछि करीब डेढ लाख नेपालीभाषी भूटानी नागरिकले आफ्नो ज्यान जोगाउन देश छाड्नुपर्यो। भारतीय सीमामा राखिएका नेपालीभाषीलाई भूटानबाट खेद्नुपर्ने मूल कारण भारत भूटानमा रहेको खनिज पदार्थमा आफ्नो आधिपत्य जमाउन चाहन्थ्यो भन्ने यथार्थ पछि खुल्दै गयो। त्यसमा राजाको निरंकुश बन्ने महत्त्वाकांक्षा भारतीय शासकका निम्ति कारगर अस्त्र हुन पुग्यो।
शायद उनले अवज्ञा गर्ने अवस्था पनि थिएन। किनभने अप्रिल १९६४ मा भूटानका पहिलो प्रधानमन्त्री जिग्मी पाल्देन दोर्जीको हत्यामा पनि भारतको संलग्नता देखिएको थियो। त्यति मात्र नभई प्रधानमन्त्री मारिएको एक वर्षपछि राजा जिग्मी दोर्जे वाङ्चुक लक्षित ग्रिनेड आक्रमण समेत भएको थियो। यी दुवै घटनामा भूटानमा राखिएको भारतीय सेना इम्ट्राट कमान्डरको हात रहेको आरोप लाग्यो। यस घटनाको वेला भूटान सरकारका सल्लाहकारका रूपमा भारतीय प्रतिनिधि नारी रुस्तमजी थिम्फूमा कार्यरत थिए। उनले कमान्डर विरुद्ध लागेको आरोप अस्वीकार गरे। तर उनले दुई देशबीच बढेको असमझदारी घटाउन सकेनन्।
यी दुई षड्यन्त्रका पछाडि भारतको हात रहेको प्रस्ट संकेतहरू थिए। एक, भूटान सरकारले भारतको राजनीतिक अधिकृत अवतार सिंहलाई साम्चीबाट हटाएको केही घण्टामै प्रधानमन्त्रीको हत्या भएको थियो। दुई, प्रधानमन्त्रीको हत्याको छानबिन गर्न गठन गरिएको शाही आयोगमा भारतीय प्रतिनिधिलाई नराखी बेलायती नागरिक एडवर्ड सन्त जर्जलाई आमन्त्रित गरेर राखिएको थियो। तीन, प्रधानमन्त्रीको हत्यापछि भूटानमा रुस्तमजीको कार्यकाल सकिएपछि अर्काे भारतीय सल्लाहकार नियुक्त गरिएन। चार, दुई देशबीच यति तिक्तता बढ्यो कि भारत सरकारले पनि भूटानका लागि दिल्लीमा राख्दै आएको ‘अजेन्ट’ राख्न छाड्यो।
यसरी बिग्रिएको द्विदेशीय सम्बन्ध सन् १९६८ मा आएर दुवै देशले विशेष अधिकारी नियुक्त गरेर सुधार गरेका थिए। भूटानमा रोयल बडीगार्ड, आर्मी र प्रहरी गरी जम्मा १० हजार जति आफ्ना सुरक्षाकर्मी छन् भने विभिन्न बहानामा भारतले आफ्ना २५ हजार सेना भूटानभित्र तैनाथ गरेको छ, जसले भूटानको सार्वभौमसत्ता मिच्ने/थिच्ने काम गरिरहेको छ। भारतीय सीमामा रक्षकको रूपमा दक्षिण भेगमा बस्ने नेपाली समुदायले सयौं वर्षदेखि भूटानको सार्वभौमसत्ता बचाउँदै आएको इतिहास बुझेको भारतले त्यहाँबाट सीमारक्षकलाई धपाएपछि २५ हजार सेनाको बल र निरंकुश राजाको आडमा आफ्नो आधिपत्य जमाइरहेको छ।
ऐतिहासिक कालमा गोरखा र काठमाडौंबाट देशको सीमारक्षा गर्न लगिएका नेपालीलाई राजा जिग्मी सिंगे वाङ्चुकले भारतीय स्वार्थमा देशबाट लखेटेपछि ४६ हजार ५०० वर्गकिलोमिटरमा फैलिएको भूटानको सीमा अहिले ३८ हजार ३९४ वर्गकिलोमिटरमा संकुचन हुन पुगेको छ। चीन र भारत दुवैले भूटानी भूमि अतिक्रमण गरेपछि देश साँघुरिंदै गएको हो। त्यसैले राजाले आफ्नो गल्ती सच्याएर देश छाड्न बाध्य पारेकाहरूलाई देश नफर्काउँदासम्म भूटानको सार्वभौमसत्ताको रक्षा सम्भव नै छैन।
यो आलेख पर्दापछाडिको भूटान पुस्तकका लेखक बलराम पौड्याल सँग गरिएको कुराकानीमा आधारित छ। हिमालखबर को प्रस्तुति किताबका कुरा मा उनै लेखक पौड्यालसँग जेबी पुन मगर ले गरेको भिडिओ कुराकानी:
VIDEO
किताबका कुरा का थप सामग्री
‘काठमाडौंको वरपर विश्वकै उत्कृष्ट साइकल ट्रेल बन्न सक्छ’
‘बेलसँग बिहे गर्ने प्रचलनले छोरीलाई सती जानबाट जोगाएको थियो’
‘डांग्रो नखाने र भांग्रो नलगाउने त मगर नै होइन भन्थे!’
‘वीरगन्जको बाटो चौडा भयो, तर मन साँघुरिंदै गयो’
‘धनी र गरीब सन्तानलाई बाबुआमाले गर्ने व्यवहार पनि फरक हुन्छ’
‘कोइलाखाद गएका मेरै दौंतरी पनि फर्केनन्’
‘नेपालीले दुःख चाँडै भुल्छन्, तर भूकम्पको दुःख नभुलेकै राम्रो’
‘हाम्रै सोचले हामीलाई कृषिबाट धनी बन्न दिएको छैन’
‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘प्रेम विनाको यौन अपराध हो’
‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘मुन्धुम मानव सभ्यताको इतिहास हो’