‘बाहुन, क्षेत्रीभन्दा नेवार समुदायले महिलालाई सती जानबाट जोगाउने काम गरेको पाइन्छ। बेलविवाहको चलन एउटा उदाहरण हो।’
लामो समयदेखि समाज र संस्कृतिबारे अध्ययन-अनुसन्धानरत लेखक शशी थापा पण्डित को नयाँ पुस्तक आएको छ, मल्लकालिक नेपालका नारीहरू । पुस्तकमा मल्लकालमा नारीको अवस्था कस्तो थियो भन्ने उजागर गरिएको छ। त्यस समयको विवाह प्रचलन, सामाजिक अवस्था, शारीरिक दण्ड व्यवस्था, सती प्रथा, अधिकार, धार्मिक जीवन, शैक्षिक अवस्था र राजकाजमा महिलाको भूमिका लगायत विषय पनि पुस्तकमा समेटिएका छन्।
अध्येता पण्डितले यसअघि नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन पुस्तक लेखेकी थिइन्। त्यस्तै, उनका मेरी छोरी शहीद भइछे र प्रेमको बकपत्र कविताकृति पनि प्रकाशित छन्।
पछिल्लो पुस्तक मल्लकालिक नेपालका नारीहरू भने मल्लकालीन शासन व्यवस्थामा महिलाको पहुँच र अधिकारमा केन्द्रित छ। त्यति वेलाका विभिन्न प्रथाले समाजमा पारेको प्रभाव पनि पुस्तकमा केलाइएको छ। यही पुस्तकमा केन्द्रित भएर हिमालखबर को प्रस्तुति किताबका कुरा मा लेखक पण्डितसँग अनिता भेटवाल ले गरेको कुराकानी :
अहिले त महिला विभिन्न भूमिका र जिम्मेवारीमा छन्। मल्लकालमा महिलाको स्थान कहाँ थियो, केकस्तो भूमिकामा थिए?
त्यो बुझ्न पहिला नेपाली समाजको बनोटबारे थाहा पाउनुपर्छ। लिच्छविकाल, मल्लकाल हुँदै अहिलेसम्म आइपुग्दा सनातन धर्ममा आधारित भएर समाज चलेको हो। हिन्दू धर्म यसै अन्तर्गत पर्छ। सनातन धर्मले महिला र पुरुषको भूमिका छुट्याइदिएको छ। समाजले त्यसैलाई पालना गर्दै आएको छ।
हिन्दू धर्मले मातृत्वलाई ठूलो स्थान दिएको छ। त्यति वेला बुबाभन्दा आमा एक तह माथि नै हुन्छन् भनेर राखेको थियो। आज पनि ‘सीताराम’ भन्दा पहिला सीताको नाम लिन्छौं। उमामहेश्वर, राधाकृष्णभन्दा महिलाको नाम नै पहिला लिइन्छ।
त्यति भन्दै गर्दा लिच्छविकाल, मल्लकाल र आजको समयसम्म आइपुग्दा पनि महिलाहरू पुरुषको सहयोगीका रूपमा मात्र छन्। मल्लकालमा पनि धेरै हदसम्म महिलालाई सनातन धर्मले नै जकडेको थियो। महिलाका अधिकार सीमित थिए र घरभित्र मात्र। पूजापाठ र धार्मिक कार्यमा सामेल हुन्थे, तर श्रीमान्, छोरा वा बुबाको आडमा। स्वतन्त्रता थिएन। धर्मशास्त्रले आमालाई ठूलो महत्त्व दिए पनि सामाजिक स्तरमा ज्यादै दयनीय अवस्था थियो।
मल्लकालका केही महिलाका नाममा मन्दिर, गुठी, पार्टी बनाएको देखिन्छ। यो कसरी सम्भव भयो?
त्यस वेलाका दरबार, महलहरू महिलाको नाममा बनेका छन्। पाल्पामा खड्गशमशेरले आफ्नी रानीको नाममा बनाएको दरबार अहिले पनि छ। भारतमा पनि मुमताजका लागि ताजमहल बन्यो। यो राजा-महाराजाहरूले प्रेम दर्शाउन र महिलाको स्थान आफ्नो राज्य र जीवनमा के छ भनेर देखाउन पनि गरेका हुन्।
अर्को, आमाले सुख-शान्ति पाउनुहोस् भनेर छोराहरूले पनि आमाको नाममा मठमन्दिर बनाउने गरेका थिए। तर धेरै धार्मिक काम महिलाले छोरा र श्रीमान्कै साथमा गरेका छन्। कतिपयले आफू अघि लागेर गरेका काममा छोराहरूको साथ पाएका छन्। छोराहरूले साथ दिएकैले आमाहरूका नाममा विभिन्न संरचना छन्। व्यक्तिगत रूपमा महिलाले आफ्नै नाम स्थापना गर्नेगरी केही बनाएको चाहिं मेरो अध्ययनले भेटेको छैन।
तैपनि महिलाले केही गरेकै छैनन् भन्ने चाहिं होइन। सिम्रौनगढमा मुसलमानहरूले हरिसिंह देवललाई आक्रमण गरेपछि देवलदेवी आफ्नो सम्पत्ति, छोरा र कुलदेवता बोकेर भागिन्। बाटामै श्रीमान्को मृत्यु भयो। देवलदेवी भने काठमाडौं छिरिन्।
अहिले तलेजु भवानी विभिन्न ठाउँमा राख्ने चलन छ। त्यो चलन उनै रानी देवलदेवीले गर्दा चलेको हो। अरूको सत्ता भएको वेला पनि आफ्नो कुलदेवतालाई राखिन्।
त्यसपछि मल्लराज्यमा छोराको विवाह गराइन्। आफ्नो इष्टदेवलाई पनि मल्लहरूकै इष्टदेव बनाएर राख्न सफल भइन्। छोरा र श्रीमान्को साथमा मात्र देवता राख्न पाउने समाजमा देवलदेवीले त्यो काम गरिन्। यो ठूलो क्रान्ति हो।
पुस्तकमा मल्लकालदेखि महिलाले आफ्नो श्रीमान्को थर राख्न थालेको भन्ने उल्लेख छ। खासमा यो कुन उद्देश्य र उपयोजनले शुरू गरिएको थियो होला?
हिन्दू धर्मशास्त्रमा कन्यादान सबैभन्दा ठूलो दान मानिएको छ। फेरि सृष्टिलाई निरन्तरता दिने महिलाले हो। आफूले जन्माएको छोरीलाई सृष्टि अघि बढाउन अरू कसैलाई दिनु भनेको शरीरको एउटा अंग काटेर दिनु जस्तै हो। समाजलाई व्यावहारिक रूपमा चलाउन पनि छोरी दिनै पर्थ्यो। आज विज्ञानले पनि एउटै जीनमा विवाह भएर जन्मिएको बच्चा शारीरिक वा अन्य विकासमा राम्रो हुँदैन भनेको छ। अर्को कुटुम्बलाई छोरी दिनै पर्थ्यो। त्यसरी छोरी दिंदा बुबाको थर र हुनेवाला परिवारको थर आउँछ। दुवै थर राख्ने कुरा पनि भएन।
विवाहमा गोत्र पनि सारिन्छ। गोत्र सार्दा जन्मिएर आएको गोत्रबाट सृष्टि गर्न गएको गोत्र परिवर्तन गरिन्छ। त्यसैले गोत्र नै परिवर्तन भएपछि थर पनि परिवर्तन भएको हो। बच्चा पनि उही सृष्टिकर्ताबाट जन्मिएपछि उतैको थर दिनुपर्यो। जन्म दिनेसँग चाहिं मायाको नाता मात्र रहने संस्कार भयो। विवाह कर्मपछि सबै नाता नयाँ परिवारसँग जोडिने भयो। पुरुषको उपनयन संस्कार भने जस्तै महिलाको विवाहपछि मात्र उपनयन भए जस्तो मानिन थालियो। त्यसपछि मात्र महिलालाई धार्मिक काम गर्न सक्षम मानिन्थ्यो।
त्यसअघि महिला शूद्रकै रूपमा रहन्थे। पुरुषलाई पनि उपनयन गर्नुअघिसम्म धार्मिक कर्मको पुण्य प्राप्त हुँदैन भनिन्थ्यो। विवाहपछि श्रीमान्-श्रीमती छुट्टिएर बस्ने कुरा हुँदैन। पुरुष वा महिलामा एक जना त अर्कोकहाँ जानै पर्यो। फेरि मल्लकालसम्म मातृसत्तामाथि पितृसत्ता हावी भइसकेको थियो। त्यसैले छोरीमान्छे नै छोरामान्छेकहाँ जानुपर्यो। अनि श्रीमान्को गोत्र-थर प्रयोग गर्न थालियो।
विवाहको चर्चा गर्दै गर्दा त्यति वेलाको बहुविवाह, बालविवाहमा पनि प्रवेश गरौं। मल्लकालमा पुरुषका कैयौं श्रीमती हुने गरेको देखिन्छ। यो प्रचलन कसरी आयो?
यस विषयमा खोजी गर्दा महिलालाई समाजले इज्जतका रूपमा पनि लिने गरेको पाइयो। धर्म अनुसार नै महिलालाई सृष्टिकर्ता मानिन्थ्यो। त्यो मान्दा महिलाको राम्रो कुलघरानामा विवाह हुनुपर्छ भन्ने थियो। सनातनी धर्म मान्नेले, राजा-महाराजाले पनि छोरीको अस्मितालाई कुलको इज्जत मान्न थाले।
त्यही क्रममा मुसलमानहरू अरब देशबाट भारतखण्डमा सर्दै आए। उनीहरूले विवाह गरेका छोरीलाई नराम्रो नजरले हेर्नु हुँदैन भन्न थाले। अरूको सिन्दूर लगाइसकेका महिलालाई हेर्नु हुँदैन भन्ने थियो। त्यसैले मल्लकालकमा पनि सानै उमेरमा विवाह गरिदिएर सिन्दूरपोते लगाइदियो भने मुसलमानहरूले हेर्दैनन् र लग्दैनन् भन्ने ठानियो। यसो गर्दा छोरीहरू जोगिन्छन् र चोखो रहन्छन् भन्ने इतिहासमा भेटिन्छ। यो कति सत्य हो भन्ने खोजीको विषय छ।
अर्को चाहिं व्यावहारिक रूपमा हेर्दा, ३५ वर्षपछि सन्तान जन्माउन छोरीमान्छेलाई स्वास्थ्य समस्या आउने बताइन्छ। अहिले चाहिं ३०-३२ वर्षसम्म भविष्य सुरक्षित बनाएपछि विवाह गर्न छोरीमान्छेको मन नै मरेको देखिन्छ।
बाल्यकालमा त भविष्य भनेर सोच्न सक्ने क्षमता हुँदैन। जोसँग, जति उमेरमा विवाह गरिदिए पनि अस्वीकार गर्दैनन्। बाल्यकालमै विवाह गरिदिएमा बुबा, आमा, दाजुभाइसँग छोरीमान्छेले पनि विद्रोह गर्न सक्ने स्थिति भएन। समाज सहजै चल्ने भएकाले महिलालाई काबुमा राख्न पनि सकिने, उमेरमै विवाह भए बच्चा जति पनि जन्माउन सकिने भनेर पनि त्यो चलन चलाएको हुनुपर्छ।
मल्लकालमा पनि महिलालाई पारपाचुके गर्ने अधिकार रहेको पुस्तकमा उल्लेख छ। अहिलेको समयमा त सम्बन्धविच्छेदको विषय ठूलो मुद्दा बन्छ भने त्यो वेला महिलाले पारपाचुके गरे होलान् त?
सनातनी धर्म भनेर पालना गरिरहेको समुदायभित्र पनि विविधता छ। बाहुन, क्षेत्रीमा भन्दा नेवार समुदायमा पारपाचुकेको संस्कार छ। महिलालाई श्रीमान् मन नपर्दा पारपाचुके गरेर अर्कोसँग जाने चलन छ। त्यो चलन अहिले पनि सहज रूपमा चलिरहेको छ। समय अनुसार संस्कृतिको नाममा भएका बेथिति हटाउनु नै उत्तम हुन्छ भन्ने कुरा नेवार समुदायमा अभ्यास भएको पाइन्छ।
नेवार समुदायले बेलसँग विवाहको मान्यता ल्याएर आफ्ना छोरीहरूलाई सती जानबाट जोगाएको थियो। मन नपरेको मान्छेसँग नबसून्, पारपाचुके गरेर भए पनि छुट्टै बस्न पाऊन् भनेर चलन चलाएको थियो। नेवार समुदायले महिलाप्रति गरेको यो उदारभावको उदाहरण हो।
अहिलेको समाजमा पारपाचुके सामान्य भइसकेको छ। तैपनि कतिपय ठूलो जात भन्ने समुदायमा पारपाचुकेलाई सहज रूपमा लिएको देखिंदैन। उच्च वर्गको हुनका लागि कतिले राजा-महाराजाको बोली ‘आइसियोस्, गइसियोस्, हजुर’ लगायत शब्द प्रयोग गर्छन्।
मल्लकालमा पनि पारपाचुके गर्थे। श्रीमान् बिते भने महिलाले अर्कोसँग विवाह गर्ने चलन थियो। पहिलो श्रीमान् बितेकी राजकुमारीसँग देवलदेवीले छोराको विवाह गरिदिएकी थिइन्।
तपाईंले पुस्तकमा सती प्रथाबारे पनि लेख्नुभएको छ। लिच्छविकाल र मल्लकालमा धेरै महिला सती गएका छन्। खासमा सती प्रथा के हो? कसरी यस्तो व्यवस्था बनाइयो? त्यो वेला सती नजाने अवस्था पनि हुन्थ्यो?
१४औं शताब्दीपछि जब मुसलमानहरू भारतखण्डमा प्रवेश गरे, उनीहरूले युद्ध जितेपछि पुरुषलाई मारिदिने र रानी, महारानी, छोरी, बुहारीहरू लिएर जाने गर्न थाले। त्यस वेला श्रीमान् बाहेक अरूलाई सम्झनु पनि महापाप भन्ने मानसिकतामा बाँचेका थिए। महिलाले आफूलाई श्रीमान् बाहेक अरू पुरुषले छुनु भनेको महापाप ठान्थे। अरूले छुनुभन्दा आफैंलाई मार्न तयार हुन्थे। त्यही भएर रानीहरूले आत्मदाह गर्ने चलन शुरू भयो।
त्यो चलन नेपालमा पनि चल्यो। सबै महिलालाई त्यो आँट नहुन सक्छ। पछि सती जान नचाहनेहरूलाई ढुंगाले हानेर मार्न थालियो। त्यसलाई पछिल्लो कालमा आएर सत्ता र राजनीतिसँग जोड्न थालियो। युवराज सानो छँदा राजा बितेर रानी पनि सँगै सती गइन् भने युवराजलाई त जता पनि नचाउन सकिने भयो। आफ्नो पकडमा ल्याउन सकिने भयो। त्यसैले रानीलाई जबर्जस्ती सती पठाउन थाले।
त्यही कुरा आमसर्वसाधारणमा पनि बिस्तारै लागू भयो। कतिपयले त महिला बितेमा उसको सम्पत्ति पाइने लोभले समेत यस प्रथालाई बढावा दिएको पाइन्छ। शक्ति र सम्पत्ति हातमा लिन सती प्रथालाई बढाउँदै लगियो।
लिच्छविकालमा पनि सती प्रथा थियो भन्ने कुरा चाँगुनारायणको अभिलेखबाट थाहा हुन्छ। त्यति वेला राजा मानदेवकी आमा सती नगएको अभिलेखबाट पत्ता लाग्छ। हिन्दू धर्मशास्त्र अनुसार भने दूधे बालक काखमा छ भने सती जानै पर्छ भन्ने अनिवार्य थिएन।
त्यो वेला सती नजाने महिला पनि थिए?
क्षेत्री, बाहुनभन्दा नेवार समुदायले महिलालाई सती जानबाट जोगाउने काम गरेको पाइन्छ। बेलविवाहको चलन एउटा उदाहरण हो। बेलसँग विवाह गरेपछि उनीहरूले बेललाई नै पतिका रूपमा मान्ने भए। पछि विवाह गरेको पुरुष भौतिक जीवनको साथी मात्र हो भन्ने मान्यता बस्यो। त्यसैले श्रीमान् बिते पनि उनीहरूले सती जानु परेन। यसले नेवार समुदाय नारीप्रति उदार रहेछ भन्न सकिन्छ।
वैदिककालमा नारी शिक्षा उच्चतम स्थानमा रहेको देखिन्छ। लिच्छविकालमा पनि नारी शिक्षा राम्रो थियो। पढ्ने मात्र नभएर शास्त्रार्थ गर्थे भनिन्छ। तर २००७ सालमा आएर मंगलादेवी सिंहहरूले महिलाको शिक्षामा अधिकार हुनुपर्छ भनेर लड्नुपर्यो। पहिला भएको अधिकार पछिसम्म रहेन, किन?
वैदिककालमा महिलाहरू शास्त्रार्थ गर्थे। गार्गी, मैत्रेयीले पुरुषसँग शास्त्रार्थ गरेका हुन्। महिला पनि गुरुकुल जान्थे। योग्य पुरुषलाई स्वयंवर गर्न पाउँथे। आफैं श्रीमान् छान्थे। जनकपुरमा पनि जनक राजाको दरबारमा शास्त्रार्थ गरेका छन्।
लिच्छविकालमा मानदेवकी छोरीले गाउन, बझाउन जानेको पाइन्छ। मल्लकालका पनि कति रानीहरूले कविता लेखेका छन्। ती कविता पढ्दा उनीहरूले पनि आफ्ना पीडा नै पोखेका छन्। उनीहरू सुखी थिए चाहिं भन्न सकिंदैन। तर बिस्तारै समयसँगै राजा-महाराजाले महिलाका सबै अधिकार खोसेर घरभित्र सीमित गरे।
त्यसमा पनि जब मनुले मनुस्मृति लेखे, महिलाका धेरै कुरा खोसिए। मनुका धेरै श्रीमती थिए। उनकी कान्छी श्रीमती यति राम्री थिइन् कि जेठी श्रीमतीका छोराले समेत मन पराए। त्यसपछि उनले नारीबारे लेखेर अनेक कुरामा बन्देज लगाएका थिए।
महिलाले के गर्ने, के नगर्ने भनियो। नारीको आचरण कस्तो हुनुपर्ने भन्ने पनि लेखिदिए। अनि हाम्रो समाज त्यहींबाट चल्यो। समाजले पनि त्यही खोज्यो। महिला खुम्चिए। खित्का छोडेर हाँस्न हुन्न, मुसुक्क हाँस्नुपर्छ, मान्छेको अघि ठूलो स्वरले बोल्नु हुँदैन, हिंड्दा आवाज आउनु हुँदैन भन्ने जस्ता कुरा लेखिए, सुनाइए। यसरी वैदिककालमा महिलाले प्राप्त गरेका अधिकार पनि पुराणकालमा आएर खुम्चिए। त्यसैले अहिले फेरि हामीले सामान्य अधिकारका लागि लडिरहनुपरेको छ।
अधिकारको कुरा आउँदा महिलालाई लिच्छविकालमा नै मुद्रामा नाम लेखिदिएर स्थान दिएको भनिन्छ। हुन पनि लिच्छविराजा मानदेवले चलाएको मुद्रा मानाङ्कको एकातिर ‘श्री मानाङ्क’ र अर्कातिर पत्नीको नामबाट ‘श्री भोगिनी’ लेख्न लगाएका छन्। मल्लकालमा पनि धेरैले यस्तै लेखे। यसरी स्थान दिएको भन्दैमा महिलाको स्थान उच्च थियो भन्न सकिन्छ त?
मुद्रामा नाम राखिएको थियो भनेर मात्र महिलालाई अधिकार दिइएको थियो भन्न मिल्दैन। धर्मशास्त्रले महिलालाई अर्धांगिनी त भन्छ नै। यसको अर्थ, पुरुष पनि महिला विना पूर्ण नहुने धर्मशास्त्रले सिकाएको छ। रानी विना राजाको पनि त अस्तित्व हुँदैन। त्यसैले केहीले रानीको स्थानलाई सम्मान गरेका छन्।
तर सबै रानीको हकमा त्यो भएको छैन। सत्तासीन रानी, राजालाई मन परेका रानी मात्र मुद्रामा अटाएका छन्। रानीहरूले पनि मुद्रामा आफ्नो नाम राख्न भनेका हुन सक्छन्। तथापि जो रानीको राजनीतिक पहुँच पनि थियो, जो अरू रानीभन्दा केही साहसी स्वभावका थिए, उनीहरूकै नाम मुद्रामा आएको छ।
अन्त्यतिर, मल्लकालका नारीको अध्ययन गर्दा तपाईंलाई को चाहिं गजब लाग्यो?
त्यो वेला आफ्नो राज्यबाट अर्को राज्यमा आएर आफ्नो कुलको देवता स्थापना गर्नु ठूलो साहस हो। कूटनीतिक रूपमा विद्वत्ता र आँटका हिसाबले देवलदेवीलाई मान्छु। उनी सिम्रौनगढकी महारानी हुन्। मुसलमानको आक्रमणबाट राज्य ध्वस्त भएपछि ज्यान जोगाउन श्रीमान् र छोराहरू बोकेर मल्ल दरबारमा आइन्। यहाँ आएर राजकीय प्रभाव देखाउन सकिन्। मल्ल राजकुमारीसँग आफ्नो छोराको विवाह गरिदिइन्। छोराबाट जन्मिएकी नातिनीलाई पछि दरबारको प्रमुख पनि बनाइन्।
मल्लकालीन इतिहासका विषयमा अध्ययन गर्दै गर्दा केही विषय छन्, जो अझै लेखिए, खोजिए हुन्थ्यो भन्ने लाग्छ?
मल्लकालका नारीहरूको खोजी गर्दा राजदरबारका नारीहरूको मात्र इतिहास पाइएको छ। सर्वसाधारणको पनि अवस्था कस्तो थियो? मल्लकालीन आममहिलाको शिक्षा, राजनीति र अधिकारको कुरा खोज्न मन छ। त्यसमा पनि मल्लकालमा राजदरबारका महिलाको राजनीतिक भूमिका देखिन्छ, तर उनीहरू लड्न मैदानमा पनि गएका थिए कि भन्ने खोजी गर्नै बाँकी छ।
हाम्रो देशमा जाति र धर्मको विविधता भएकाले अझ धेरै इतिहास हुन सक्छ। अहिले त दरबारको छेउछाउका कुरा मात्र आइरहेका छन्। यस बाहेकमा पनि काम गर्नुपर्छ।
VIDEO
किताबका कुरा का थप सामग्री
‘डांग्रो नखाने र भांग्रो नलगाउने त मगर नै होइन भन्थे!’
‘वीरगन्जको बाटो चौडा भयो, तर मन साँघुरिंदै गयो’
‘धनी र गरीब सन्तानलाई बाबुआमाले गर्ने व्यवहार पनि फरक हुन्छ’
‘कोइलाखाद गएका मेरै दौंतरी पनि फर्केनन्’
‘नेपालीले दुःख चाँडै भुल्छन्, तर भूकम्पको दुःख नभुलेकै राम्रो’
‘हाम्रै सोचले हामीलाई कृषिबाट धनी बन्न दिएको छैन’
‘हिउँको गीतमा जादुयी यथार्थवादको झिल्को छ’
‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’
‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘नेपालमा कविताका समीक्षक नै छैनन्’
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘प्रेम विनाको यौन अपराध हो’
‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘मुन्धुम मानव सभ्यताको इतिहास हो’