ककेससका कैदी
आमाले चिठीमा लेखेकी थिइन्, “म दिनदिनै बूढी हुँदै छु। मर्नुअघि आफ्नो प्यारो छोरालाई एक पटक भेट्ने इच्छा छ। घर आऊ र मेरो जीवनलाई बिदाइ गर...।”
(१)
झिलिन नामको सैनिक अधिकृत ककेससमा सेवारत थियो।
एक दिन उसको घरबाट चिठी आयो। त्यसमा उसकी आमाले लेखेकी थिइन्, “म दिनदिनै बूढी हुँदै छु। मर्नुअघि आफ्नो प्यारो छोरालाई एक पटक भेट्ने इच्छा छ। घर आऊ र मेरो जीवनलाई बिदाइ गर। त्यसपछि भगवान्को कृपा भयो भने मेरो आशीर्वाद सहित काममा फर्क। मैले तिम्रा लागि केटी खोजेकी छु। उनी सचेत, असल छिन् र उनीसँग अलि अलि सम्पत्ति पनि छ। तिमीलाई मन पर्यो भने घरजम गरेर बस।”
झिलिनले निकै विचार गर्यो। कुरो ठीकै थियो। वृद्ध आमा कमजोर बन्दै गएकी थिइन्। उनलाई भेट्ने अर्को मौका नआउन पनि सक्थ्यो। उसलाई घर जानै उचित लाग्यो। केटी ठीक लाग्यो भने बिहे गर्ने कुरो पनि राम्रै लाग्यो।
ऊ बिदा माग्न आफ्नो हाकिम कर्णेलकहाँ गयो। साथीहरूसँग पनि बिदा माग्यो। बिदाइ भोजका लागि चार बोतल भोड्का खर्च गर्यो र हिंड्न तयार भयो।
ककेससमा दिनरात युद्ध चलिरहेको थियो। बाटाहरू सुरक्षित थिएनन्। उनीहरूको किल्ला वरिपरि भेटिएका रूसीहरूलाई टार्टरहरू मारिदिन्थे वा भीरबाट खसालिदिन्थे। त्यसैले एउटा किल्लादेखि अर्को किल्लाबीचका हरेक बिन्दुमा निगरानी गर्न सैनिकहरू हिंडिरहन्थे।
वर्षा याम थियो। मध्य दिनमा बग्गीहरूको लामो ताँती किल्ला मुन्तिर तयारी अवस्थामा थियो। सडकमा सैनिकको परेड निस्कियो। झिलिन घोडामा थियो। उसका सामान बग्गीमा थिए। सोह्र माइल जानु थियो। ताँती बिस्तारै अघि बढ्न थाल्यो। सैनिकहरू घरिघरि रोकिन्थे। बग्गीका पाङ्ग्राहरू खुस्किन खोज्थे, घोडाहरू हिंड्न मान्दैनथे। त्यसैले सैनिकहरूले पर्खिनुपर्थ्यो।
घाम ढल्किसक्दासम्म उनीहरूले आधा बाटो पनि छिचोलेका थिएनन्। चर्को गर्मी थियो र बाटो धुलाम्मे थियो। वरिपरि नाङ्गा पाखाहरू मात्रै थिए। ओत लाग्न बाटोमा कुनै रूख वा झाडी थिएनन्।
झिलिन अगाडि थियो। बग्गीलाई पर्खिंदै रोकियो।
उसले पछाडितिर बिगुल बजेको सुन्यो। टोली फेरि रोकियो। उसले सोच्न थाल्यो, “म आफ्नै तालमा नहिंडेर किन यिनीहरूलाई पर्खिंदै हिंडेको होला! मेरो घोडा तगडा छ। तार्तरहरूले आक्रमण गरेछन् भने घोडा दौडाएर भागुलाँ! ... शायद पर्खिनु नै जाती होला!”
त्यस्तो सोच्दै बस्नासाथ कोस्तिलिन नामको सैनिक आइपुग्यो। नजिक आएर उसले भन्यो, “झिलिन, अब हामी आफ्नो बाटो लाग्यौं। अवस्था राम्रो छैन। मलाई थकाइ र भोक लागिरहेको छ। असाध्यै गर्मी छ, मेरा लुगा पसिनाले भिज्दै छन्।”
कोस्तिलिन मोटो थियो। उसको रातो अनुहारबाट पसिना चुहिरहेको थियो। उसले बन्दूक बोकेको थियो। झिलिनले एकछिन सोच्यो र सोध्यो, “तिम्रो बन्दूकमा गोली छ?”
“छ।”
“त्यसो भए ठीक छ। एउटा शर्त छ, यसलाई हामीसँगै राख्नुपर्छ।”
त्यसपछि उनीहरू खुला फाँट छिचोल्दै दायाँबायाँ हेर्दै सडकैसडक अगाडि बढे। उनीहरूले त्यो सडक दुई पहाडबीचको खोंच हुँदै गएको देखे।
झिलिनले भन्यो, “तार्तरहरू कता छन् भन्ने बुझ्न त्यो पहाडको टुप्पोबाट हेरौं त।”
कोस्तिलिनले जवाफ दियो, “त्यसको के अर्थ? सरासर जाऔं!”
झिलिनले जिद्दी गर्यो, “त्यसो भए तिमी मलाई यहीं पर्खिनु, म एकफेर सबैतिर हेरेर आउँछु।”
त्यसपछि उसले आफ्नो घोडा देब्रेतिर मोड्यो र पहाडतिर चढ्यो। झिलिनको घोडा शिकारी थियो, त्यो उडे जस्तै गरी पहाडको टुप्पोतिर चढ्यो। उसले त्यो घोडा सानोमै बथानबाट छुट्याएर एक सय रुबलमा किनेको थियो।
पहाडको टुप्पोमा पुग्दानपुग्दै सय यार्ड जति दूरीमा उसले तीस जना जति तार्तर देख्यो। उनीहरूलाई देख्नासाथ फनक्क फर्कियो ऊ तर तार्तरहरूले उसलाई देखिसकेका थिए। तार्तरहरू घोडा वेगले कुदाएर बन्दूक सोझ्याउँदै ऊतिर आउन थाले। झिलिन सके जति रफ्तारमा घोडा दौडाउँदै तलतिर झर्न थाल्यो। कोस्तिलिनलाई भन्यो, “छिटो बन्दूक तयार पार!”
मनमनै घोडालाई भन्यो, “मलाई यहाँबाट छिटो बाहिर निकाल्! नडरा, तँ यो गर्न सक्छस्। बन्दूक भएको ठाउँमा पुग्न सकें भने मलाई तिनीहरूले समाउन सक्दैनन्।”
तर कोस्तिलिनले उसलाई पर्खेन। तार्तरहरू देख्ने बित्तिकै ऊ घोडालाई कोर्रा हान्दै छिटोछिटो आफ्नै किल्लातिर फर्कियो।
झिलिनले नमज्जा मान्यो। बन्दूक गइसकेको थियो, तरबारको के चल्थ्यो र! उसले तार्तरको पल्टन बीचबाटै छिर्ने विचारले घोडा घुमायो। ६ जना तार्तर उसलाई काट्न झम्टेर आउँदै थिए। उसको घोडा तगडा थियो र ऊ आफू पनि बलियो थियो। तिनीहरूलाई अगाडि वेगले आउँदै गरेको देखेपछि उसले घोडा अर्कोतिर मोड्न खोज्यो तर छिटो दौडिरहेकाले रोकिन सकेन। सीधै तार्तरहरूतिर बढिरह्यो।
झिलिनले खैरो घोडामा रातो दाह्रीवाल तार्तर चिच्याउँदै दाँत देखाउँदै सरासर ऊतिर आउँदै गरेको देख्यो।
उसले सोच्यो- म तँलाई चिन्छु, तँ राक्षस होस्। मलाई समाइस् भने जिउँदै खाडलमा हालेर तातो फलामले डाम्नेछस्, त्यसैले म जिउँदो समातिनु हुन्न।
दाह्रीवालदेखि एक घोडा जति टाढा थियो। उसको घोडालाई पछाडिबाट गोली लाग्यो र उसलाई भुइँमा किच्दै ढल्यो।
झिलिन ठूलो नभए पनि आँटिलो थियो। उसले तरबार निकाल्यो र ‘तँलाई घोडाबाट झारेर घाइते बनाइदिन्छु’ भन्ने सोच्दै रातो दाह्रीवाल तार्तरतिर जाइलाग्यो।
ऊ अझै दाह्रीवालदेखि एक घोडा जति टाढा थियो। उसको घोडालाई पछाडिबाट गोली लाग्यो र उसलाई भुइँमा किच्दै ढल्यो।
ऊ उठ्न खोज्यो तर दुई जना तार्तर उसमाथि चढेर उसलाई पाता फर्काएर बाँध्न लागे। उसले बल गरेर तिनीहरूलाई उछिट्यायो। अरू तीन जना पनि घोडाबाट ओर्लिए। उसलाई बन्दूकको कुन्दाले टाउकोमा हिर्काउन थाले। उसका आँखा मधुरा भए। ऊ उत्तानो परेर ढल्यो। तार्तरहरूले उसलाई समातेर पाता फर्काए। तिनीहरूले उसका टोपी र बूट खोसे। लुगाहरू च्यात्दै खानतलासी लिए। उसका पैसा र घडी लुटे।
झिलिनले आफ्नो घोडालाई हेर्यो। त्यो लडेको मात्रै छ जसरी उत्तानो परेर खुट्टाहरू हावामा चलाइरहेको थियो, भुइँ छुन सकिरहेको थिएन। त्यसको टाउकोमा प्वाल परेको थियो, कालो रगतको धारा निस्किरहेको थियो। दुई फिट जति वरिपरिको धूलो हिलोमा परिणत भएको थियो।
एउटा तार्तर घोडानेर गयो र त्यसको जिनकाठी खोल्न थाल्यो। घोडा अझै खुट्टा चलाइरहेको थियो। तार्तरले छुरी निकाल्यो र सासनली काटिदियो। त्यसको घाँटीबाट सिठी बजे जस्तो आवाज आयो। घोडा एक पटक भट्याक्क गर्यो र शान्त भयो। तार्तरहरूले जिनकाठी फुकाले। रातो दाह्री भएको तार्तर आफ्नो घोडामा चढ्यो। अरूले झिलिनलाई उचालेर उसको पछाडि राखिदिए। नखसोस् भनेर उसलाई बेस्सरी कसे अनि पहाडतिर लागे।
झिलिनको शरीर बत्तिइरहेको थियो। उसको ढाड तार्तरको ढाडमा ठोक्किइरहेको थियो। उसले तार्तरको मोटो ढाड र घाँटी बाहेक केही पनि देख्न सकिरहेको थिएन। झिलिनको टाउकोमा घाउ थियो। ऊ न चटपटाउन सक्थ्यो न त रगत पुछ्न। उसका हात यति कसिलो गरी बाँधिएका थिए कि उसका कम्मरका हड्डी दुखिरहेका थिए।
तिनीहरू पहाड चढ्ने र ओर्लने गर्दै लामो बाटो हिंडेर एउटा नदीमा पुगे। नदी तरे। अनि खोंचको कठिन बाटो लागे।
तार्तरहरू कता गइरहेका हुन् भनेर झिलिनले हेर्न खोज्यो तर परेलाहरू रगतले टालिएकाले देख्न सकेन। साँझ पर्न थालेको थियो। तिनीहरू अर्को नदी तरेर चट्टानी बाटो हुँदै उकालो लागे। धूँवाको गन्ध आयो। कुकुर भुकेको सुनियो। उनीहरू एउटा गाउँमा पुगे। घोडाबाट ओर्लिए। केटाकेटीहरू खुशीले चिच्याउँदै ढुङ्गाले हान्दै झिलिन वरिपरि झुम्मिए।
तिनीहरूले झिलिनका हात खोलिदिए, उसका खुट्टामा नेल कसे र घिसार्दै गोदामतिर लगे। उसलाई धकेलेर भित्र हुले अनि ढोकामा ताला लगाए।
तार्तरले केटाकेटीलाई धपायो। झिलिनलाई घोडाबाट झार्यो र उसको मान्छेलाई बोलायो। गालाको हड्डी उठेको मान्छे बोल्यो, जसले छाती खुला हुने गरी च्यातिएको कमीज लगाएको थियो। तार्तरले त्यसलाई आदेश दियो। ऊ गयो र सल्लाका दुइटा काठमा बनाइएको नेल ल्यायो। तिनीहरूले झिलिनका हात खोलिदिए, उसका खुट्टामा नेल कसे र घिसार्दै गोदामतिर लगे। उसलाई धकेलेर भित्र हुले अनि ढोकामा ताला लगाए।
झिलिन फोहोरमा लड्यो। ऊ एकछिन चूपचाप पल्टियो। छेउछाउमा अलि नरम ठाउँ खोज्यो र शान्त भयो।
(२)
त्यस रात झिलिन मुश्किलले सुत्यो। छोटो रात हुने ऋतु थियो। पर्खालको छिद्रबाट उज्यालो देखियो। ऊ उठ्यो। छिद्र ठूलो बनायो र बाहिर चिहायो।
दुलोबाट उसले ओरालो बाटो देख्यो। दायाँपट्टि दुइटा रूखको छेउमा तार्तरको एउटा झुपडी थियो। आँगनमा एउटा कुकुर सुतेको थियो। एउटा बाख्रो र केटाकेटीहरू त्यसका पुच्छर चलाउँदै खेलिरहेका थिए। उसले एउटी तार्तर महिला देख्यो। त्यसले उज्यालो रङको लामो खुकुलो जामा, सुरुवाल र अग्लो बूट लगाएकी थिई। टाउकोमा धातुको गाग्रीमा पानी बोकेकी थिई र छोटो कपाल भएको, कमीज मात्रै लगाएको सानो केटोलाई डोर्याउँदै थिई। महिलाले झुपडीभित्र पानी लगी।
एकछिनमा हिजोको रातो दाह्रीवाल तार्तर बाहिर निस्कियो। उसले रेशमी कपडा लगाएको थियो। भेडाको छालाको कालो टोपी पछाडि फर्काएको थियो। उसको कम्मरमा दापमा चाँदीको बूट्टा भएको चक्कु झुन्डिएको थियो। खुट्टामा जुत्ता उन्यो। जीउ तन्कायो र रातो दाह्री मुसार्यो। एकछिन रोकियो र नोकरहरूलाई केही आदेश दिएर हिंड्यो।
त्यसपछि दुइटा केटा घोडाहरूलाई पानी खुवाएर आए। कपाल खौरिएका केही केटा दौडिएर निस्किए। तिनीहरूले कमीज मात्रै लगाएका थिए, सुरुवाल थिएन। तिनीहरू भेला भएर गोदामतिर आए। कोर्रा उठाए र दुलोबाट छिराउन थाले। झिलिनले हकार्यो। तिनीहरू खिलखिलाउँदै भागे। भाग्दा तिनीहरूका मसिना नाङ्गो घुँडा टल्किरहेका थिए।
झिलिन बेस्सरी तिर्खाएको थियो। उसको घाँटी सुकेको थियो। उसले सोच्यो- कसैले आएर मलाई हेर्छन् कि!
कसैले त्यो गोदामको ताला खोल्दै गरेको सुन्यो। रातो दाह्री भएको तार्तर भित्र पस्यो। ऊसँग अलिक सानो, कालो वर्ण, कालो चम्किला आँखा, रातो गाला र छोटो दाह्री भएको अर्काे मान्छे पनि थियो। उसको अनुहार उज्यालो थियो, हाँसिराख्थ्यो। त्यो मान्छेले रेशमको कपडामा सुनको बूट्टा भरेको खानदानी पोशाक लगाएको थियो। उसको पेटीमा ठूलो चक्कु थियो। मोटो जुत्ता र टाउकोमा भेडाको छालाको सेतो टोपी लगाएको थियो।
झिलिनले ओठ र हातको इशाराले पानी माग्यो। कालो मान्छेले कुरा बुझ्यो र हाँस्यो।
रातो दाह्रीवाल तार्तर भित्र पस्यो। केही गनगनायो। ऊ अलमल्ल परे जस्तो देखियो। ढोकामा अडेस लगाएर चक्कु चलाउँदै उभियो। झिलिनलाई ब्वाँसोले जस्तै घोरिएर हेर्यो। कालो मान्छे खुट्टामा स्प्रिङ भए जस्तै बुरुक्क गरेर सीधै झिलिनतिर आयो। उसको अगाडि घुँडा टेक्यो। कुममा एक झापु हान्यो र आफ्नै भाषामा फतफताउन थाल्यो। दाँत देखाउँदै, आँखा झिमझिम पार्दै, सर्पले जस्तै पिलिक् पिलिक् जिब्रो गर्दै एउटै कुरा दोहर्याइरह्यो, “राम्रो रूसी! राम्रो रूसी!”
झिलिनले केही पनि बुझेन। तर भन्यो, “पानी! मलाई पानी देऊ!”
कालो मान्छे हाँस्यो मात्रै। “राम्रो रूसी!” आफ्नै भाषामा बोलिरह्यो।
झिलिनले ओठ र हातको इशाराले पानी माग्यो। कालो मान्छेले कुरा बुझ्यो र हाँस्यो। त्यसपछि ढोकातिर हेर्यो र बोलायो, “दिना!”
तेह्र वर्ष जतिकी पातली काली केटी दौडिंदै आई। उसकी छोरी रहिछ। उसका आँखा काला र चम्किला थिए। अनुहार राम्रो थियो। उसले ठूल्ठूला बाहुला भएको, तुना नभएको लामो नीलो जामा लगाएकी थिई। जामाको फेर, अगाडि र बाहुलाहरूमा राता बूट्टा थिए। उसले सुरुवाल र अग्लो हिल भएको जुत्ता लगाएकी थिई। घाँटीमा चाँदीका रूसी सिक्काहरूको माला थियो। कालो कपाल रिबनले बाँधेकी थिई। चाँदीका सिक्काको गहना लगाएकी थिई।
बाउले पानी ल्याउन अह्रायो। दौडिंदै गएर धातुको जग ल्याएर आई। त्यो जग झिलिनलाई दिई र टुक्रुक्क बसी। उसले पानी खाँदै गरेको झिलिनलाई कुनै अनौठो जङ्गली जनावरलाई झैं हेरिरही।
झिलिनले खाली जग दिएपछि जङ्गली बाख्रा जस्तै बुरुक्क उफ्रिई ऊ। यो देखेर उसको बा हाँस्यो। बाले उसलाई अन्तै पठायो। खाली जग लिएर गई र थालमा एउटा रोटी लिएर आई। अनि झिलिनलाई घोरिएर हेर्दै टुक्रुक्क बसी।
त्यसपछि तार्तर ढोकामा ताला लगाएर गयो।
एकछिनपछि अघिको मान्छे आयो र सोध्यो, “आयदा, मालिक!”
ऊ पनि रूसी जान्दैनथ्यो। झिलिनले यति बुझ्यो कि उसलाई कतै जान भनिएको थियो।
झिलिनले त्यसलाई पछ्यायो तर ऊ लडखडायो। नेलले खुट्टा लतारेकाले उसलाई पाइला चाल्न कठिन भयो। बाहिर निस्केपछि उसले दश घर जति भएको तार्तर गाउँ र अग्लो गजुर भएको तार्तर मन्दिर देख्यो। एउटा घर अगाडि तीन वटा घोडालाई केटाकेटीहरूले दाम्लोमा समातेका थिए।
“उहाँले तँलाई फिरौतीका लागि घरमा चिठी लेख्नु भन्नुभएको छ। जति चाँडो पैसा आउँछ उति चाँडो तँ मुक्त हुनेछस्।”
त्यो घरबाट कालो तार्तर कोर्रा हल्लाउँदै बाहिर आयो र झिलिनलाई इशाराले पछि लाग्न भन्यो र हाँस्यो। उसकै भाषामा केही बोल्यो र घरभित्र पस्यो। झिलिन पनि पस्यो। कोठा निकै राम्रो थियो। माटाले पोतिएको थियो भित्ता। अगाडि पर्खालमा प्वाँखका रङ्गीन डस्नाको थाक थियो। छेउको पर्खालमा महँगा गलैंचाहरू झुन्ड्याइएका थिए। त्यसमाथि बन्दूक, पेस्तोल र तरबारहरू राखिएका थिए। सबैका खोलमा चाँदी जडिएका थिए। एकातिरको भित्ता नजिकै भुइँमा चुलो थियो। दाइँ गर्ने खलो जस्तै सफा थियो भुइँ। कुनातिर फराकिलो राडी ओछ्याइएको थियो। त्यसमा कम्मल र कुसनहरू राखिएका थिए।
त्यसमा पाँच जना तार्तर बसेका थिए- कालो मान्छे, रातो दाह्रीवाल र अरू तीन जना। तिनीहरूले घरभित्र लगाउने चप्पल लगाएका थिए र कुसनमा अडेस लगाएका थिए। तिनीहरूका अगाडि वरिपरि कोदोका रोटीहरू, आरीमा नौनी र जगहरूमा जाँड थिए। तिनीहरूले नौनीसँग रोटी खाए।
कालो मान्छेले गलैंचा छेउको भुइँमा झिलिनलाई बस्न लगायो र आफू पहिलेकै ठाउँमा बस्यो। अनि उसका पाहुनाहरूलाई खान भन्यो। नोकरले झिलिनलाई भुइँमा बसायो। त्यसपछि आफ्नो जुत्ता खोलेर ढोकानेर अरू जुत्ताहरूसँगै राख्यो। अनि ऊ पनि उसको मालिक नजिकै उनीहरूले खाएको हेर्दै ओठ चाट्दै बस्यो।
तार्तरहरूले सक्दो खाए। लामो जामा, सुरुवाल र टाउकोमा गहना लगाएकी महिला आई र बचेका खाना बटुलेर लगी। सुन्दर आरी र सानो टुटी भएको करुवा लिएर आई। तार्तरहरूले हात धोए, घुँडा टेके र चार हरफको प्रार्थना गाए। एकछिन बोलिसकेपछि एउटा पाहुना झिलिनतिर फर्कियो र रूसीमा बोल्न थाल्यो।
“तँलाई कजी-मोहम्मदले कब्जा गर्नुभएको हो,” रातो दाह्रीवालतिर देखाउँदै उसले भन्यो, “कजी-मोहम्मदले तँलाई अब्दुल मुरतलाई दिनुभएको छ, अब तेरो मालिक अब्दुल मुरत।” कालो मान्छेलाई देखाउँदै उसले कुरा पूरा गर्यो।
झिलिन चूपचाप थियो। अब्दुल मुरत हाँस्दै झिलिनलाई औंल्याउँदै बोल्यो, “रूसी सिपाही! असल रूसी!”
दोभाषेले भन्यो, “उहाँले तँलाई फिरौतीका लागि घरमा चिठी लेख्नु भन्नुभएको छ। जति चाँडो पैसा आउँछ उति चाँडो तँ मुक्त हुनेछस्।”
झिलिनले एकछिन सोच्यो र भन्यो, “कति पैसा?”
तार्तरहरू सल्लाह गरे। दोभाषेले भन्यो, “तीन हजार रुबल।”
“हँ? त्यति धेरै पैसा म दिन सक्दिनँ,” झिलिन झस्कियो।
अब्दुल उठ्यो, झिलिनले बुझ्छ जसरी हात हल्लाउँदै बोल्यो। दोभाषेले उल्था गरिदियो, “कति सक्छस्?”
झिलिनले भन्यो, “पाँच सय रुबल।”
सबै तार्तरहरू एकैसाथ छिटो छिटो बोल्न थाले।
अब्दुल रातो दाह्रीवालसँग थुक उछिट्याउँदै बाझ्न थाल्यो। रातो दाह्रीवालले आँखा घुमायो र पिलिक्क जिब्रो निकाल्यो।
“त्यो कुकुरलाई भनिदे, मलाई थर्काउने हो भने म चिठी लेख्नेछैन। त्यसले केही पनि पाउनेछैन। म तिमीहरू जस्तासँग कहिल्यै डराएको थिइनँ र कहिल्यै डराउनेछैन।”
सबै चूप लागे। दोभाषेले भन्यो, “मालिकका लागि पाँच सय थोरै भयो। उहाँले तेरा लागि दुई हजार तिर्नुभएको छ। कजी-मोहम्मदलाई घाटा पर्छ। उहाँले तेरो मूल्य तिरिसक्नुभएको छ। तैंले चिठी लेखिनस् भने उहाँले तँलाई खाल्डोमा हालेर कोर्रा हान्नुहुनेछ।”
“ए!” झिलिनले सोच्यो, “यिनीहरूसँग जति डरायो उति नराम्रो हुनेछ।”
उसले खुट्टा चलायो र भन्यो, “त्यो कुकुरलाई भनिदे, मलाई थर्काउने हो भने म चिठी लेख्नेछैन। त्यसले केही पनि पाउनेछैन। म तिमीहरू जस्तासँग कहिल्यै डराएको थिइनँ र कहिल्यै डराउनेछैन।”
दोभाषेले उल्था गरेर सुनायो। तिनीहरू फेरि सल्लाह गर्न थाले।
तिनीहरू निकै बेर बाझाबाझ गरेपछि कालो मान्छे झिलिन नजिकै आयो र भन्यो, “बहादुर! बहादुर रूसी!” ऊ हाँस्यो र दोभाषेलाई भन्न लगायो। दोभाषेले उल्था गरिदियो, “उहाँलाई एक हजार भए हुन्छ।”
झिलिन यति भनेर रोकियो, “म पाँच सयभन्दा दिंदै दिन्नँ। यदि मलाई मार्यो भने केही पनि पाउनेछैनौ।”
तार्तरहरूले सल्लाह गरे। त्यसपछि नोकरलाई बाहिर पठाए र झिलिनलाई हेरे। त्यसपछि ढोकातिर हेरे। नोकर आयो। पछि पछि नाङ्गो खुट्टामा नेल लगाएको अर्को कैदी आयो।
झिलिन छक्क पर्यो। त्यो कोस्तिलिन थियो। त्यसलाई पनि समातिएको रहेछ। दुवैलाई सँगै राखे। ती दुईले के भएको थियो भनेर एकअर्कालाई सुनाउन थाले। तार्तरहरूले चूपचाप दुवैलाई हेरिरहे। कोस्तिलिनले उसको घोडा कसरी रोकियो भन्ने सुनायो। उसले चलाएको गोलीले लागेन। त्यही अब्दुलले भेटेर समातेछ।
अब्दुल कोस्तिलिनतिर आयो। दोभाषेले उल्था गर्यो, “अब तिमीहरू दुवैको मालिक एकै हो। जसले पहिले फिरौती ल्याउँछ ऊ छुट्छ। तँ रिसाउँछस् तर तेरो साथी भलाद्मी छ। उसले घरतिर चिठी लेखिसक्यो। उसको घरबाट पाँच हजार रुबल आउँदै छ। उसले खान पाउनेछ र उसलाई असल व्यवहार गरिनेछ।”
झिलिनले भन्यो, “मेरो साथीको इच्छा। शायद धनी छ। म छैन। मैले जे भनें त्यही हुन्छ। मन लागे मलाई मार। त्यस बापत तिमीहरूले केही पाउनेछैनौ। म पाँच सयभन्दा बढीका लागि चिठी लेख्न सक्दिनँ।”
तिनीहरू चूप लागे। अब्दुल जुरुक्क उठ्यो। सानो बाकस ल्यायो। झिलिनलाई कागज, मसी र कलम दियो। कुममा घुस्सा हान्यो र लेख्न लगायो। ऊ पाँच सयमा सहमत भयो।
“एकछिन पर्ख,” झिलिनले दोभाषेलाई भन्यो, “उसलाई भनिदिनू, हामीलाई अघाउजी खाना, पुग्दो लुगा र जुत्ता दिनुपर्छ र सँगै राख्नुपर्छ। हामीलाई राम्रो व्यवहार गर्नुपर्छ। हाम्रा खुट्टाबाट नेल हटाइदिनुपर्छ।”
झिलिनले चिठी पठायो तर ठेगाना गलत लेख्यो। यसो भएपछि चिठी ठीक ठाउँमा पुग्नेछैन, म भाग्नेछु भनी सोच्यो।
झिलिनले मालिकतिर हेर्यो र हाँस्यो। मालिक पनि हाँस्यो। दोभाषेको कुरा सुन्यो र भन्यो, “म यिनीहरूलाई बिहेमा लगाउने खालका कोट र बूटहरू अनि राजकुमारले खाने खाना दिनेछु। सँगै बस्न चाहन्छन् भने पनि ठीक छ। तर यिनीहरूको नेल खोल्न सक्दिनँ, भाग्न सक्छन्। राति चैं नेलहरू झिक्न सकिन्छ।”
ऊ झिलिनतिर आयो र झिलिनको कुममा एक प्याट्ट हान्यो र भन्यो, “तँलाई पनि राम्रो, मलाई पनि राम्रो।”
झिलिनले चिठी पठायो तर ठेगाना गलत लेख्यो। यसो भएपछि चिठी ठीक ठाउँमा पुग्नेछैन, म भाग्नेछु भनी सोच्यो।
झिलिन र कोस्तिलिनलाई गोदामतिर फर्काइयो र अलिकति मकैको ढोड, एक जग पानी, अलिकति रोटी, दुइटा पुराना लुगा र थोत्रा सैनिक बूटहरू दिइयो। ती वस्तु रूसी सैनिकका शवहरूबाट झिकिएका थिए। राती नेलहरू हटाइयो र बाहिरबाट ताल्चा लगाइयो।
(३)
यसैगरी झिलिन र उसको साथीले एक महीना बिताए। मालिक जहिल्यै आएर हाँस्दै भन्थ्यो, “इभान! तँ सारै असल। म अब्दुल पनि असल।” तर उनीहरूलाई राम्रो खाना दिइएन। कोदोका राम्ररी नपाकेको रोटी मात्रै दिइयो, कहिलेकाहीं त मुछेको पिठो मात्रै।
कोस्तिलिनले दोस्रो पटक चिठी लेख्यो र घरबाट कहिले पैसा आउला भनेर उदास हुँदै पर्खिबस्यो। ऊ दिनभरि सुतेर घरबाट कहिले पैसा आउला भनेर गनिराख्थ्यो।
झिलिनलाई उसको चिठी कहिल्यै घर पुग्दैन भन्ने थाहा थियो। उसले अर्को चिठी पनि लेखेन। ऊ सोच्थ्यो, “मेरी आमाले फिरौतीका लागि त्यति धेरै पैसा कहाँबाट ल्याउलिन्?मैले पठाएको पैसाबाट दुःखले उनी बाँचेकी छन्। उनले पाँच सय रुबल जुटाउनुपर्यो भने उनी बाँच्नेछैनन्। भगवान्को कृपाले म यहाँबाट फुत्किनेछु।”
ऊ भाग्ने विचार गर्दै बस्यो।
ऊ सुसेल्दै गाउँ वरिपरि डुल्थ्यो। माटोका खेलौना बनाउँथ्यो। घाँसका डाली बुन्थ्यो। उसका हात सिपालु थिए।
झिलिनले पहिलेको भन्दा राम्रो पुतली बनायो र दिनालाई दियो। दिनाले जग देखाउँदै हाँसी। पानी ठानेर जग उठायो तर त्यसमा दूध थियो।
एक दिन उसले तार्तरको पोशाक लगाएको, हात र नाक भएको पुतली बनायो र छानामा राख्यो। तार्तर महिला पानी लिन बाहिर निस्केको वेला देखेर मालिककी छोरी दिनाले बोलाई। उसले जग भुइँमा राखी र त्यो हेर्दै हाँसी। झिलिनले त्यो पुतली तल झार्यो र उनीहरूलाई दियो। उनीहरू हाँसे तर लिन मानेनन्। उसले त्यसलाई भुइँमा राख्यो र गोदामतिरै पस्यो।
दिना दौडेर पुतलीतिर आई, चारैतिर हेरी र टिपेर भागी।
बिहानै उसले बाहिर हेर्यो। दिना घर बाहिर निस्किई र आँगनमा त्यही खेलौनासँग बसी। उसले त्यसलाई हल्का रातो लुगा लगाइदिएकी थिई र बच्चालाई जस्तै तार्तर लोरी सुनाइरहेकी थिई। एउटी बूढी बाहिर आई र हकारी। पुतली खोसेर फुटाइदिई र काममा पठाई।
झिलिनले पहिलेको भन्दा राम्रो पुतली बनायो र दिनालाई दियो। दिनाले जग देखाउँदै हाँसी।
तिनी किन यसो गरिरहेकी छन्? झिलिन छक्क पर्यो। पानी ठानेर जग उठायो तर त्यसमा दूध थियो। झिलिनले दूध खायो र भन्यो, “मीठो छ।”
दिनाले भनी, “असल इभान, असल इभान!” उफ्रिई, ताली बजाई र जग टिपेर भागी। त्यसपछि दिनाले हरेक दिन यसैगरी उसलाई दूध ल्याएर दिन थाली।
तार्तरहरू बाख्रीको दूधको चिज बनाउँथे र छानामा सुकाउँथे। कहिलेकाहीं दिना अलिकति चिज लुकाएर ल्याइदिन्थी। एक दिन अब्दुलले भेडा मारेको थियो। दिनाले एक लुम्सो मासु बाहुलामा लुकाएर झिलिनलाई ल्याइदिई। ऊ आफूले ल्याएका कुरा फ्यँकिदिएर भागीहाल्थी।
एक दिन ठूलो आँधी आयो। घन्टौंसम्म मुसलधारे पानी पर्यो। खोल्साहरूमा लेदो भरियो। खोलाको पानी सात फिटसम्म गहिरो भयो। भल यति शक्तिशाली थियो कि त्यसले ढुङ्गा समेत बगाउन थाल्यो। जताततै भलैभल भयो। पहाडको गडगडाहट कहिल्यै नरोकिएला जस्तो भयो। आँधी रोकिएपछि पानीकोे ठूलो मुस्लो गाउँको गल्लीबाट बग्दै तलतिर झर्यो।
सबै गाउँले वरिपरि भेला भए। केटाकेटी, आईमाई, लोग्नेमान्छे सबै आए। उनीहरूले छक्क परेर जिब्रो निकाले।
झिलिनले मालिकसँग एउटा चक्कु माग्यो। चक्कुले काटेर एउटा सानो सोली बनायो। फल्याक काटेर सानो पाङ्ग्रा बनायो र त्यसमा दुइटा पुतली राख्यो। सानी केटीले उसलाई कपडाका टुक्राहरू ल्याइदिई। त्यसबाट पुतलीहरूलाई लुगा बनाइदियो, एउटा किसानको जस्तो र अर्को आईमाई किसानको जस्तो। तिनलाई उसले आमनेसामने हुने गरी बाँध्यो। बगेको पानीले लाग्दा चल्ने गरी पाङ्ग्रा जोड्यो। पाङ्ग्रा चलेपछि पुतलीहरू नाचे।
सबै गाउँले वरिपरि भेला भए। केटाकेटी, आईमाई, लोग्नेमान्छे सबै आए। उनीहरूले छक्क परेर जिब्रो निकाले।
“आहा रूसी! आहा इभान!”
अब्दुलसँग एउटा बिग्रेको रूसी घडी थियो। उसले झिलिनलाई बोलाएर जिब्रो पड्काउँदै देखायो।
“मलाई देऊ, म बनाइदिन्छु,” झिलिनले भन्यो।
उसले चक्कुले त्यसका पुर्जाहरू खोल्यो र सबै मिलाएर जोड्यो। घडी चल्न थाल्यो।
मालिक खुशी भयो। उसलाई पुरस्कारका रूपमा थोत्रे कोट दियो। झिलिनले त्यो जरुरी थियो, उसलाई राति ओढ्न काम लाग्थ्यो।
झिलिनको लोकप्रियता फैलियो। टाढा टाढाका गाउँहरूबाट तार्तरहरू बन्दूक, पेस्तोल, घडी मर्मत गराउन आउन थाले।
मालिकले उसलाई सनासो, बेनी र रेती जस्ता औजारहरू दियो।
एक दिन एउटा तार्तर बिरामी भयो। उनीहरू उपचारका लागि झिलिनलाई बोलाउन आए। चिकित्साबारे झिलिनलाई केही पनि थाहा थिएन तर पनि ऊ बिरामी हेर्न गयो र सोच्यो, “जे होस् निको होला।”
ऊ गोदाम फर्कियो। पानीमा अलिकति बालुवा मिसायो र तार्तरहरूको अगाडि गुनगुनायो अनि त्यो पानी बिरामीलाई खान दियो। भाग्यवश बिरामी निको भयो।
झिलिनले तार्तर भाषा अलि अलि जान्न थालेको थियो र केही तार्तर ऊसँग घुलमिल हुन थालेका थिए। आवश्यक परेको वेला उसलाई बोलाउँथे, “इभान! इभान!” अरूले चाहिं उसलाई जङ्गली जनावरलाई जस्तै शङ्काले हेर्थे।
रातो दाह्रीवाल तार्तर उसलाई मन पराउँदैनथ्यो। उसलाई देख्नासाथ अँध्यारो हुन्थ्यो र अर्कैतिर फर्किन्थ्यो या घोरिएर हेर्थ्यो। त्यहाँ एउटा बूढो मान्छे पनि थियो। ऊ गाउँमा बस्दैनथ्यो। फेदीबाट आउँथ्यो। मस्जिदतिर गइरहेको वेला मात्रै झिलिन उसलाई देख्थ्यो। ऊ होचो थियो। छत्रेटोपीमा कपडाको फेटा बाँधेको हुन्थ्यो। उसका हिउँ जस्तै सेता दाह्री र जुँगा चिम्टीले खिलेका हुन्थे।
अनुहारमा राता चाउरी थिए। उसको नाक बाजको चुच्चो जस्तै ठूलो घुमेको थियो। उसका फुस्रा आँखा क्रूर देखिन्थे। उसका दुई बङ्गारा बाहेक अरू दाँत थिएनन्। फेटा गुथेको टाउकोसँगै ऊ गइरहेको हुन्थ्यो। ऊ टाउकोमा फेटा गुथेर, लौरो टेक्दै, वरिपरि ब्वाँसाले झैं हेर्दै जान्थ्यो। झिलिनलाई देख्यो भने रिसले मुर्मुरिन्थ्यो र अर्कोतिर फर्किन्थ्यो।
झिलिनले बूढो मान्छेले सुन्ने गरी नेल बजायो। बूढो मान्छे फर्कियो। कराउँदै कम्मरबाट पेस्तोल निकाल्यो। झिलिनतिर ताक्यो र गोली चलायो।
एक दिन ऊ बूढो बसेको ठाउँ हेर्न तलतिर झर्यो। ऊ गोरेटो बाटो हिंड्यो। ढुङ्गाको पर्खालले घेरिएको एउटा सानो बगैंचामा पुग्यो। पर्खाल पछाडि उसले चेरीका बोटहरू र एउटा समथर छाना भएको झुपडी देख्यो। ऊ नजिक गयो। उसले परालले बुनिएका घारहरूमा उड्न लागेका र भुनभुनाइरहेका मौरीहरू देख्यो। बूढो मान्छे मौरीघारनेर घुँडा टेकेर केही काम गर्दै थियो। झिलिनले बूढो मान्छेले सुन्ने गरी नेल बजायो। बूढो मान्छे फर्कियो। कराउँदै कम्मरबाट पेस्तोल निकाल्यो। झिलिनतिर ताक्यो र गोली चलायो। झिलिन पर्खाल पछाडि छलिन सफल भयो।
बूढो मान्छे झिलिनबारे पोल लगाउन झिलिनको मालिककहाँ गयो। मालिकले हाँस्दै भन्यो, “बूढाको घर किन गइस्?”
“मैले उसलाई कुनै हानि गरिनँ,” झिलिनले जवाफ दियो, “म उनी कसरी बसेका रहेछन् भनेर हेर्न चाहन्थें।”
मालिकले झिलिनको कुरा दोहोर्याएर सुनायो। तर बूढो रिसायो। झिलिनतिर मुड्की उज्याउँदै मुर्मुरियो।
झिलिनले बुझेन तर उसले अनुमान गर्यो, ‘त्यो बूढो मान्छेले अब्दुललाई गाउँमा कुनै पनि रूसी रहनु हुँदैन, मारिदिनुपर्छ’ भनेको हुनुपर्छ।
बूढो मान्छे गएपछि झिलिनले अब्दुललाई उसबारे सोध्यो।
“ऊ महान् मान्छे हो,” मालिकले भन्यो, “ऊ हाम्रा साथीहरूमध्ये सबैभन्दा साहसी थियो। उसले धेरै रूसीलाई मार्यो। एक समय ऊ धेरै धनी थियो। उसका तीन श्रीमती र आठ छोरा थिए। सबै गाउँमा बस्थे। रूसीहरू आएर पूरै गाउँ ध्वस्त पारे। उनका सात छोरालाई मारे। बाँचेको एउटाले रूसी समक्ष आत्मसमर्पण गर्यो। बूढो मान्छेले पनि आत्मसमर्पण गर्यो। उनी रूसीहरूसँग तीन महीना बसे। त्यसको अन्त्यतिर उसले आफ्नो छोरा भेट्यो। त्यसपछि छोरालाई आफ्नै हातले मारेर भाग्यो। त्यसपछि उसले युद्ध त्याग्यो। भगवान्को प्रार्थना गर्न मक्का गयो। त्यसकारण ऊ पगरी लगाउँछ। एकपटक मक्का गएको मान्छेलाई हाजी भनिन्छ, र पगरी लगाउँछन्। तँ हामीसँग रहेको उसलाई मन परेको छैन। ऊ मलाई तँलाई मारिदिनु भन्छ तर म तँलाई मार्न सक्दिनँ। मैले तेरा लागि पैसा तिरेको छु। इभान, म तँलाई मार्ने कुराबाट टाढै रहन्छु। म तँलाई जान पनि दिन्नँ।”
त्यसपछि ऊ हाँस्दै रूसीमा बोल्यो, “इभान, तँ असल छस्, म अब्दुल असल छु।”
(४)
यसरी झिलिनले एक महीना बितायो। ऊ दिनमा गाउँको बारेमा बुझ्न यताउता डुल्थ्यो। हस्तकलामा व्यस्त रहन्थ्यो। रातको सन्नाटामा गोदामको भुइँमा खन्थ्यो। खन्ने काम सजिलो थिएन। ढुङ्गाहरू थिए। ऊसँग छिनो बाहेक अरू औजार थिएन। अन्ततः उसले पर्खालमुनि आफू छिर्न सक्ने दुलो बनायो।
यदि म यहाँबाट निस्कें भने पनि कुन बाटो जाने हो कुनै तार्तरले बताउनेछैन भनी उसले सोच्यो।
त्यसैले उसले घरमा मालिक नभएको दिन रोज्यो। बेलुकाको खाना खाइसकेपछि ऊ गाउँभन्दा माथिको पहाड चढ्यो र वरिपरि हेर्यो। उसको मालिक घरमा नभएको वेला झिलिनमाथि निगरानी गर्न आफ्नो छोरालाई अह्राएको हुन्थ्यो। त्यसैले केटो चिच्याउँदै झिलिनको पछि पछि दौडियो, “नजा! बाउले जान नदिनू भनेको छ। तँ फर्किनस् भने छिमेकीलाई बोलाउँछु।”
झिलिनले केटालाई मनाउन खोज्यो, “म टाढा जान्नँ, पहाड मात्रै चढ्नेछु। बिरामीलाई उपचार गर्न जडीबुटी खोज्नु छ। मन लागे तँ पनि मसँगै आइज। यी नेल सहित म कसरी भाग्न सकुँला र! भोलि तँलाई धनुष र तीर बनाइदिउँला।”
उसले केटालाई फकायो। माथितिर हेर्दा पहाडको टुप्पो टाढा नभए जस्तो देखियो। नेलहरूका कारण हिंड्न कठिन भए पनि झिलिन झन् झन् माथि गयो। ऊ पहाडको टुप्पोमा पुग्न चाहिरहेको थियो। ऊ बस्यो र वरिपरिको वस्तुस्थिति अध्ययन गर्यो। दक्षिणतिर अर्थात् गोदाम पर्तिरको उपत्यकामा घोडाको बथान चरिरहेको थियो। उपत्यकाको पुछारमा अर्को गाउँ देखियो।
घाम डुब्न लागेको थियो। सेता हिमाल राता भए। अँध्यारो छाउन थाल्यो। काला पहाडहरू झन् काला भए।
त्यसपछि भिरालो पहाड थियो, त्यसपछि अर्को पहाड। धेरै टाढा पहाडहरूको बीचमा जङ्गल थियो। त्यसभन्दा टाढा अग्ला पर्वतहरू। सबैभन्दा अग्लो पर्वतलाई हिउँले ढाकेको थियो। पूर्व र पश्चिमतिर त्यस्तै पहाड थिए। बेंसीका गाउँहरूबाट जताततै धुवाँ निस्किरहेको थियो। “ओहो! यी सब तार्तर राज्य,” ऊ दङ्ग पर्यो।
अनि ऊ रूसी दिशातिर फर्कियो। तलतिर उसले एउटा नदी र वरिपरिबाट सानो बगैंचाले घेरिएको ऊ बस्ने गाउँ देख्यो। उसले नदी किनारमा लुगा निचोरिरहेका महिलाहरूलाई पुतली जस्ता देख्यो। गाउँको पछाडि दक्षिणतिरको पहाडभन्दा तल सानो पहाड थियो।
त्यसपछि दुइटा जङ्गल भएको पहाडको बीचमा नीलो मैदानमा टाढा टाढा धुवाँको मुस्लो जस्तो देखियो। झिलिनले आफू किल्लामा बस्दा देखेको सूर्य उदाउने र अस्ताउने ठाउँ ठम्याउन खोज्यो, आफू सही भएको ठान्यो। रूसी किल्ला पक्कै पनि त्यो मैदानमा हुनुपर्छ। ऊ त्यहाँबाट भागेपछि ती दुई पहाडको बीचबाट हिंड्नेछ।
घाम डुब्न लागेको थियो। सेता हिमाल राता भए। अँध्यारो छाउन थाल्यो। काला पहाडहरू झन् काला भए। घाम डुबेपछि खोंच र उपत्यकाबाट कुहिरो उठ्न थाल्यो। उसले रूसीहरू बसेको अनुमान गरेको ठाउँतिर अस्ताउँदो घामको प्रकाश आगो जस्तो देखियो। झिलिनले नियाल्यो। चिम्नीबाट निस्केको धुवाँ जस्तै कुनै चिज मडारिइरहेको थियो। उसले त्यहाँ रूसीहरूको किल्ला रहेको ठान्यो।
अबेला भइसकेको थियो। मुल्लाह चिच्याएको सुनियो। गाईवस्तुका बथान घर फर्कंदै थिए, तलतिर झरिरहेका थिए। मालिकको छोरो ‘घर आइज’ भन्दै कराइरहेको थियो तर झिलिन तल झर्न मानिरहेको थिएन।
उनीहरू फर्किए। झिलिनले सोच्यो, “ठीक छ, अब मलाई बाटो थाहा भयो। भाग्ने वेला भयो।” उसले त्यही रात भाग्ने विचार गर्यो। रात अँध्यारो थियो, कमजोर भाग्य जस्तै। तार्तरहरू साँझमा घर फर्के। सधैं उनीहरू जनावरहरूसँगै आउँथे। तर अहिले उनीहरूसँग जनावर थिएनन्। उनीहरूले एउटा तार्तरको लास ल्याएका थिए, रातो तार्तरको दाजुको। उसको हत्या भएको थियो। उनीहरू मलिन मुद्रामा फर्किए र अन्त्येष्टिका लागि जम्मा भए। झिलिन पनि हेर्न बाहिर निस्क्यो।
उनीहरूले लासलाई सुतीको टुक्राले बेरे। बाकस विना नै बोकेर गाउँ बाहिर लगे। रूखहरूको बीचमा घाँसमा राखे। मुल्लाह र बूढो मान्छे आए। उनीहरूले टोपी वरिपरि फेटा बेरे, जुत्ता खोले र घुँडा खुम्च्याएर लासको वरिपरि लहरै बसे।
लास घाँसमाथि शान्त थियो। उनीहरू पनि मरेका मान्छे जत्तिकै शान्त थिए। हावाले पात हल्लाउँदाको सरसराहट बाहेक कुनै आवाज थिएन।
सबैभन्दा अगाडि मुल्लाह थियो। उसको पछाडि फेटा लगाएका तीन जना बूढा मान्छे, त्यसपछि अरू तार्तरहरू। उनीहरूले आँखा चिम्लिए र मुल्लाहले टाउको उठाएर ‘अल्लाह’ नभनुन्जेल चूप लागेर बसिरहे। त्यो एक शब्दपछि उनीहरूले फेरि आँखा चिम्लिए। धेरै बेरसम्म कुनै चालचुल नगरी चूप रहे। मुल्लाहले टाउको उठाएर ‘अल्लाह’ भन्यो, अरूले दोहोर्याए। फेरि चूपचाप भए।
लास घाँसमाथि शान्त थियो। उनीहरू पनि मरेका मान्छे जत्तिकै शान्त थिए। हावाले पात हल्लाउँदाको सरसराहट बाहेक कुनै आवाज थिएन। मुल्लाहले प्रार्थना दोहोर्यायो। सबै उठे। लास बोकेर खाडलतिर लगे। त्यो साधारण खाडल थिएन। त्यसको मुनि कोठा जत्रै खाली ठाउँ थियो। उनीहरूले लासको खुट्टा र पाखुरा समातेर उठाए, दोबारे र होशियारीसाथ तल झारे। बसेको मुद्रामा लाशका हात अगाडि पारेर राखे।
नोकरले अलिकति हरियो घाँस ल्यायो। त्यसलाई उनीहरूले खाडलमा राखे। त्यसपछि छिटोछिटो माटोले खाडल पुरे। चिहानको टाउकोमा एउटा ढुङ्गा ठड्याए। माटो सम्याए। त्यसपछि चिहानको अगाडि लहरै बसेर धेरै बेरसम्म चूप रहे।
अन्तमा उठेर ‘अल्लाह! अल्लाह! अल्लाह!’ भने। अनि लामो सास फेरे।
लामो दाह्री भएको तार्तरले बूढो मान्छेलाई पैसा दियो। त्यसपछि ऊ पनि उठ्यो। कोर्रा लियो। निधारमा तीन पटक हान्यो र गयो।
अर्को बिहान रातो तार्तर अघि अघि र तीन जनाले अरू एउटा घोडा लिएर पछि पछि गाउँ बाहिर गएको झिलिनले देख्यो। गाउँ बाहिर पुगेपछि रातोले कोट खोल्यो। बलिष्ठ पाखुरा देखिने गरी कमीजको बाहुला माथितिर पट्यायो। त्यसपछि चक्कु निकाल्यो। ढुङ्गामा घोटेर धार लगायो। अरूले घोडाको टाउको समाए। उसले त्यसको घाँटी काटेर लडायो र आफ्ना मोटा हातहरू देखाउँदै छाला काढ्न थाल्यो। महिला र केटाकेटीहरू आएर त्यसका भित्री भागहरू धुन थाले। घोडालाई टुक्राटुक्रा पारे। टुक्राहरू घरतिर लगे।
पूरै गाउँ रातो तार्तरको घरमा क्रियाभोजका लागि भेला भए। तार्तरहरूले मासु र रक्सी खाँदै मृतकको नाममा प्रार्थना गरे। सबै तार्तर घरमै थिए। चौथो दिन साँझ खाना खाने समयमा उनीहरू फर्कने तयारी गर्दै गरेको झिलिनले देख्यो। घोडाहरू बाहिर निकाले। रातो सहित दश जना बाटो लागे। तर अब्दुल घरै बस्यो। औंसीको रात थियो।
“आहा! भाग्ने समय यही रात हो,” झिलिनले सोच्यो।
उसले यसबारे कोस्तिलिनलाई भन्यो। कोस्तिलिनको होश उड्यो। “कसरी भाग्ने? हामीलाई बाटो पनि थाहा छैन,” उसले भन्यो।
“मलाई थाहा छ,” झिलिनले भन्यो।
“भागे पनि यस्तो रातमा हामी हाम्रो किल्ला पुग्नसक्ने छैनौं।”
जमीनको सतहमा बाक्लो हुस्सु थियो। टाउकोमाथि ताराहरू चम्किरहेका थिए। झिलिनले ताराहरूको आधारमा बाटो पहिल्याउन थाल्यो।
“पुग्न सकिएन भने जङ्गलमा सुत्ने हो। यता हेर, मैले अलिकति चिज बचाएको छु। यस्तो ठाउँमा बस्नुको के फाइदा? तिम्रा घरका मान्छेले पैसा पठाए भने त राम्रै होला, उनीहरूले सकेनन् भने? रूसीहरूले तार्तरहरूको मान्छे मारेकाले उनीहरू रिसाएका छन्। उनीहरू हामीलाई मार्ने कुरा गर्दै छन्,” झिलिनले भन्यो।
कोस्तिलिनले सोच्यो। “ठीक छ, जाऔं,” उसले भन्यो।
झिलिन दुलोमा पस्यो। त्यसलाई कोस्तिलिन अट्ने गरी फराकिलो बनायो। उनीहरूले गाउँका मान्छे शान्त नहोउन्जेल पर्खिए।
सबै शान्त हुनासाथ झिलिन पर्खालमुनिबाट बाहिर निस्कियो। कोस्तिलिनलाई साउती गरेर बोलायो। तर बाहिर निस्किंदा उसको खुट्टा ढुङ्गामा अल्झियो र आवाज आयो। मालिकको ओल्यासिन नामको सारै चलाख थोप्ले कुकुर थियो। झिलिनले केही बेर अघि त्यसलाई बडो होशियारीसाथ खानेकुरा दिएको थियो।
ओल्यासिनले आवाज सुन्यो। भुक्यो। उफ्रियो। त्यसपछि अरू कुकुरहरू पनि उफ्रँदै भुक्न थाले। झिलिनले बिस्तारै सुसेल्यो र एक टुक्रा चीज फ्याँकिदियो। कुकुरले उसलाई चिन्यो, पुच्छर हल्लायो र भुक्न छोड्यो।
मालिकले कुकुरको आवाज सुनेछ। घरबाट बोलायो, “है है! ओल्यासिन!”
झिलिनले ओल्यासिनको कानको पछाडि फेदमा कनायो। कुकुर चूप लाग्यो। हल्लिरहेको पुच्छर पछाडिको खुट्टमा रगड्यो।
तिनीहरू एकछिन कुनामा लुकेर बसे। एउटा भेडा खोरमा खोकेको र खोलाको छङछङ बाहेक फेरि शान्त भयो। अँध्यारो थियो। आकाशमा ताराहरू देखिएका थिए। माथितिर फर्किएको खुर्पे जून रातो थियो। खोंचमा दूध जस्तै सेतो कुहिरो थियो।
झिलिन उठ्यो र भन्यो, “लु साथी जाऔं।”
तिनीहरू केही पाइला मात्रै हिंडेका थिए, मुल्लाह कराएको सुने, “अल्लाह बेसमिल्लाह इल्राहमान।” अर्थात्, मानिसहरू मस्जिद जानुपर्छ। उनीहरू सबै मान्छे गइनसकुन्जेल पर्खालमा लुकेर बसे। अन्तमा शान्त भयो।
“भगवान् हाम्रो साथमा हुनेछन्,” उनीहरूले आफैंलाई सान्त्वना दिए र फेरि हिंड्न थाले। तिनीहरूले एउटा बगैंचा छिचोले। पहाडमुनि नदीतिर लागे। नदी तरे। अनि खोंचैखाेंच लागे।
“एक मिनेट मलाई सास त फेर्न देऊ। मेरा खुट्टा सबै काटिएका छन् र रगत बगिरहेको छ।”
जमीनको सतहमा बाक्लो हुस्सु थियो। टाउकोमाथि ताराहरू चम्किरहेका थिए। झिलिनले ताराहरूको आधारमा बाटो पहिल्याउन थाल्यो। हिंड्न सजिलो थियो, उनीहरूका बूट मात्रै असजिला थिए- थोत्रा र च्यातिएका। झिलिनले खोलेर फ्याँकिदियो। खाली खुट्टा हिंड्न थाल्यो। ढुङ्गाहरूमा उफ्रिंदै। कोस्तिलिन पछि पछि।
“बिस्तारै हिंड। यो नमिलेको बूटले मेरा खुट्टामा घाउ बनाउँदै छ,” उसले भन्यो।
“फुकाल। खाली खुट्टा हिंड्न सजिलो हुन्छ,” झिलिनले सुझाव दियो।
कोस्तिलिन पनि खाली खुट्टा हिंड्न थाल्यो। तर उसलाई झन् गाह्रो भयो। ढुङ्गाले उसको खुट्टा काट्यो। अनि ऊ झन् पछि पर्यो। झिलिनले भन्यो, “तिम्रा खुट्टा काटिए भने पनि ती निकोे. हुनेछन् तर तार्तरहरूले हामीलाई समाते भने मार्नेछन्।”
कोस्तिलिनले जवाफ दिएन। ऊ गनगन गर्दै हिंडिरह्यो।
तिनीहरू धेरै बेरदेखि खोंचमा हिंडिरहेका थिए। उनीहरूले देब्रेतिर कुकुर भुकेको सुने। झिलिन रोकियो, त्यतापट्टि हेर्यो, खुशी हुँदै पहाड चढ्न लाग्यो।
“ए हे!,” उसले भन्यो, “हामी गलत बाटो आएछौं। हामी दाहिनेतिर धेरै टाढा आइसकेछौं। यहाँ अर्को गाउँ छ, मैले पहाडबाट देखेको। हामी फर्किनुपर्छ र देब्रेतिर चढ्नुपर्छ। त्यहाँ पक्कै पनि जङ्गल हुनुपर्छ।”
तर कोस्तिलिनले भन्यो, “एक मिनेट मलाई सास त फेर्न देऊ। मेरा खुट्टा सबै काटिएका छन् र रगत बगिरहेको छ।”
“चिन्ता नगर साथी, तिनीहरू निको हुनेछन्। तिमी स्प्रिङ जस्तै हलुका बन, यस्तै।”
झिलिन पछाडि फर्कियो। देब्रेपट्टिको पहाडको जङ्गलतिर उकालो दौडियो।
कोस्तिलिन पछाडि नै थियो। गनगन गर्यो। झिलिनले यति मात्रै भन्यो, “हस्!” अनि उकालो चढ्यो।
उनीहरू पहाडको टुप्पोमा पुगे। झिलिनले भने जस्तै जङ्गल भेटे। तिनीहरू जङ्गलभित्र हिंडे। उनीहरूका लुगा च्यातिए। बल्ल बाटो भेटे र पछ्याए।
“रोक!,” तिनीहरूले आवाज सुने। उनीहरूले रोकिएर सुने। त्यो घोडाको खुट्टा बजे जस्तो सुनियो। त्यसपछि हरायो। उनीहरू हिंडे। फेरि त्यस्तै आवाज सुने। उनीहरू रोकिए, आवाज पनि रोकियो। झिलिन साउतीमा आवाज आएतिर गयो।
अलि अलि उज्यालो भएको ठाउँमा घोडा उभिएको देखियो। त्यसमाथि केही चले जस्तो देखियो तर मान्छे जस्तो देखिएन। त्यसको घुराइ सुन्यो। “के हो?” झिलिनले बिस्तारै सुसेल्यो र झाडीमा लुक्यो। हुरीले हाँगा भाँचे जस्तै रूखहरू कर्याककुरुक गरिरहेका थिए।
“तिमी जेसुकै गरे, म चाहिं यहाँभन्दा अगाडि जान सक्दिनँ। मेरा खुट्टाले मलाई बोक्न सक्दैनन्।”
कोस्तिलिन डरले भुइँमा लेपासियो। झिलिन हाँस्यो र भन्यो, “त्यो मृग हो। सिङले हानेर रूखका हाँगा भाँचिरहेको सुनेनौ? हामी ऊसँग डरायौं, ऊ हामीसँग डरायो।”
उनीहरू बाटो लागे। सप्तर्षि तारा अस्ताइसकेको थियो। बिहान हुन लागेको थियो। उनीहरूलाई आफूहरू ठीक बाटो गइरहेका थिए कि गलत बाटो भन्ने थाहा थिएन। झिलिनलाई तार्तरहरूले आफूलाई ल्याएको बाटो यही हो जस्तो लाग्यो। त्यो ठाउँ अझै पनि रूसी किल्लाभन्दा सात माइल टाढा थियो। तर ऊ त्यतै गइरहेको थियो भन्ने विश्वास थिएन। उज्यालोमा हिंडेको बाटो राति जोकसैले भुल्न सक्छ। कोस्तिलिन बस्यो र भन्यो, “तिमी जेसुकै गरे, म चाहिं यहाँभन्दा अगाडि जान सक्दिनँ। मेरा खुट्टाले मलाई बोक्न सक्दैनन्।”
झिलिनले फकाउन खोज्यो।
“म जान सक्दिनँ। सक्दै सक्दिनँ,” उसले लाचारी देखायो।
झिलिन रिसायो र गाली गर्यो, “त्यसो भए ठीकै छ। म एक्लै जान्छु। गुड बाई!”
कोस्तिलिन जुरुक्क उठ्यो र पछि लाग्यो। उनीहरू अरू तीन माइल हिंडे। जङ्गलमा हुस्सु झन बाक्लो भयो। आफ्नो अगाडि पनि देख्न छाडे, ताराहरू मधुरा भए।
अचानक उनीहरूले अगाडि घोडाको आवाज सुने। उनीहरूले घोडाको खुट्टाको आवाज सुने। झिलिन घोप्टियो र भुइँमा कान टाँसेर सुन्यो।
“एउटा घोडचढी हामीतिर आउँदै छ।” उनीहरू झाडीमा लुकेर बसे। झिलिन बिस्तारै घस्रिंदै बाटोतिर गयो र हेर्यो। एउटा तार्तर घोडाबाट गाईहरू धपाउँदै आइरहेको देख्यो। तार्तर गयो। झिलिन कोस्तिलिनतिर फर्कियो।
“भगवान्ले त्यसलाई हामीबाट हटाइदिए। उठ, अब जाऔं!”
कोस्तिलिन उठ्न खोज्यो तर फेरि लड्यो।
“सक्दिनँ, सक्दै सक्दिनँ। मसँग हिंड्ने बल छैन।”
ऊ गह्रौं र अररिएको थियो। पसिनाले भिजेको थियो। चिसो हुस्सु र खुट्टा रक्ताम्मे भएका कारण ऊ हिंड्न नसक्ने भएको थियो।
झिलिनले उसलाई बोक्न खोज्यो। कोस्तिलिन चिच्यायो, “ऐया! दुख्यो!”
झिलिनको मुटु दबियो।
खुट्टाहरूमा रगत बगिरहेको थियो। ऊ थकित थियो। बोक्न सजिलो पार्न सन्तुलन मिलाउन उठ्यो, हल्लायो र हिंड्यो।
“किन चिच्याएको? त्यो तार्तर अझै नजिकै छ, त्यसले सुन्यो होला।” उसलाई लाग्यो, “त्यसले पक्कै सुन्यो। म के गरूँ? साथीलाई छोड्नु भएन!”
“ठीक छ। त्यसो भए तिमी मेरो ढाडमा चढ। तिमी साँच्चिकै हिंड्न नसक्ने भए म बोकुँला।”
उसले कोस्तिलिनलाई उठ्न मद्दत गर्यो र उसको तिघ्रामा हात राख्यो।
“मेरो घाँटीमा हात नराख, कुममा समात,” झिलिनले भन्यो।
झिलिनलाई गह्रौं लाग्यो। खुट्टाहरूमा रगत बगिरहेको थियो। ऊ थकित थियो। बोक्न सजिलो पार्न सन्तुलन मिलाउन उठ्यो, हल्लायो र हिंड्यो।
तार्तरले कोस्तिलिन चिच्याएको सुनेकै हुनुपर्छ। झिलिनले पछाडिबाट घोडा दौडिंदै तार्तर भाषामा कराउँदै आएको सुन्यो। त्यसले झाडीतिर हेर्यो। बन्दूक निकाल्यो र गोली चलायो। तर उनीहरूलाई लागेन। आफ्नै भाषामा चिच्यायो र घोडा दौडायो।
“ठीक छ, हामी सिद्धियौं,” झिलिनले भन्यो, “त्यो कुकुरले हाम्रो शिकार गर्न तार्तरहरूलाई भेला गर्नेछ। यदि हामी यहाँबाट दुई माइल टाढा पुग्न सकेनौं भने सिद्धिनेछौं।” त्यसपछि आफैं साेच्यो, “मलाई के घाँडो आइलाग्यो? म एक्लै हुन्थें भने यतिखेरसम्म धेरै टाढा पुगिसकेको हुन्थें।”
“एक्लै जाऊ,” कोस्तिलिनले भन्यो, “मेरो कारणले तिमीले किन दुःख पाउने?”
“अहँ, म जान्नँ। म साथीलाई त्याग्न सक्दिनँ।”
उसले कोस्तिलिनलाई फेरि पछाडि बोक्यो र बिस्तारै हिंड्न थाल्यो। उनीहरू आधा माइलभन्दा धेरै हिंडे पनि जङ्गलमै थिए र त्यसको अन्त्य देख्न सकिरहेका थिएनन्। हुस्सु हट्दै थियो। बादल बढ्दै थियो। ताराहरू देखिन छोडेका थिए। झिलिन एकदमै थाकेको थियो। उनीहरू एउटा ढुङ्गेधारा पुगे। झिलिन रोकियो र कोस्तिलिनलाई भुइँमा बसायो।
“एकछिन आराम गरौं र पानी खाऔं,” उसले भन्यो, “अलिकति चीज खाऔं। अब त्यति टाढा छैन।”
पानी खान निहुरिएको मात्रै थियो, उसले पछाडिबाट नजिकै घोडाहरूको खुट्टाको आवाज सुन्यो। उनीहरू दाहिनेतिर भिरालोमा लेपासिएर लुके।
एउटा कुकुर झाडीको पछाडिबाट देखा पर्यो, रोकियो र भुक्यो। त्यसपछि नचिनेका तार्तरहरूले झिलिन र कोस्तिलिनलाई समाते।
उनीहरूले तार्तरहरूको स्वर सुने। उनीहरू जहाँबाट झाडीतिर लागेका थिए तिनीहरू त्यही रोकिए। तिनीहरूले सल्लाह गरे। उनीहरूले कुकुरलाई गन्ध सुँघ्न लगाए जस्तो देखिए। कुकुरको घन्टीको चर्को आवाज आयो। एउटा कुकुर झाडीको पछाडिबाट देखा पर्यो, रोकियो र भुक्यो। त्यसपछि नचिनेका तार्तरहरूले झिलिन र कोस्तिलिनलाई समाते। उनीहरूलाई बाँधेर घोडामा चढाए र दौडाए।
दुई माइल जति हिंडिसकेपछि उनीहरूका मालिक अब्दुललाई भेटे। उसलाई अरू दुई जनाले पछ्याइरहेका थिए। नौलाहरूसँग बोलेपछि झिलिन र कोस्तिलिनलाई आफनै दुइटा घोडामा राख्यो र गाउँतिर फर्कियो।
यतिखेर अब्दुल हाँसेन, बोलेन पनि। मध्याह्नमा उनीहरू गाउँ पुगे, बाटामा बसे। केटाकेटीहरू उनीहरूलाई ढुङ्गाले हान्दै, गिज्याउँदै, कोर्राले हान्दै, छिल्लिंदै वरिपरि जम्मा भए।
तार्तरहरू वरिपरि गोलाकार भए। पहाड पुछारको बूढो मान्छे पनि त्यहाँ थियो। तिनीहरू झिलिन र कोस्तिलिनलाई के गर्ने भन्नेबारे छलफल गरिरहेको झिलिनले सुन्यो। कसैले उनीहरूलाई हिमालतिर लखेट्नुपर्ने बताए। बूढो मान्छेले भन्यो, “यिनीहरूलाई मार्नैपर्छ।”
अब्दुलले भन्यो, “मैले यिनीहरूका लागि पैसा तिरेको छु। मैले पैसा पाउनुपर्छ।” बूढो मान्छेले भन्यो, “यिनीहरूले पैसा दिनेछैनन्। दुर्भाग्य मात्र निम्त्याउनेछन्। रूसीहरूलाई पाल्नु पाप हो। यिनीहरूलाई मारिदेऊ!”
त्यसपछि तिनीहरू छुट्टिए। सबै गइसकेपछि मालिक झिलिन नजिकै आयो र भन्यो, “पन्ध्र दिनभित्र पैसा आएन भने म तँलाई कोर्रा लगाउनेछु। फेरि पनि भाग्ने कोशिश गरिस् भने तँलाई कुकुरलाई जस्तै गरी मारिदिनेछु। चिठी लेख्। ठीक सँगले चिठी लेख्।”
उनीहरूको अगाडि कागज ल्याइयो, र उनीहरूले चिठी लेखे। त्यसपछि उनीहरूको खुट्टामा नेल लगाइयो। अनि मस्जिद पछाडि बाह्र फिट फराकिलो गहिरो खाडलमा राखियो।
(५)
जिन्दगी अत्यन्तै कठिन भयो। नेलहरू कहिल्यै खोलिएनन्। ताजा हावा खान दिइएन। कुकुरलाई जस्तै पिठोको डल्ला फ्याँकिदिइन्थ्यो। बट्टामा पानी खसालिदिइन्थ्यो।
खाडल चिसो र साँघुरो थियो। अति दुर्गन्धित थियो। कोस्तिलिन सिकिस्त बिरामी भयो। उसको जीउ सुन्निएको थियो, सबैतिर दुख्थ्यो र ऐया! ऐया! गर्दै सुतिरहन्थ्यो। झिलिन पनि निराश हुन थाल्यो। उसले आशा गुमाउन थाल्यो। उसलाई भाग्ने कुनै बाटो छैन भन्ने लाग्न थालेको थियो।
उसले सुरुङ खन्ने कोशिश गर्यो तर माटो पन्छाउने ठाउँ थिएन। उसको मालिकले थाहा पायो र मारिदिने धम्की दियो।
एक दिन ऊ मुक्तिबारे सोच्दै निराश हुँदै बसिरहेको थियो अचानक एउटा रोटी उसको काखमा खस्यो। त्यसपछि अर्को, अनि चेरीको वर्षा। उसले माथितिर हेर्यो। त्यहाँ दिना थिई। दिनाले उसलाई हेरी, हाँसी र भागी। झिलिनले सोच्यो- दिनाले मलाई सहयोग गर्दिनन्?
उसले खाडलमा अलिकति ठाउँ सफा गर्यो, माटो मुछ्यो र खेलौना बनाउन थाल्यो। उसले मान्छेहरू, घोडाहरू र कुकुरहरू बनायो, जब दिना आउलिन् म उनीतिर फ्यालिदिनेछु भनी सोंच्दै।
अर्को दिन दिना आइनन्। झिलिनले घोडाका खुट्टाको आवाज सुन्यो। मानिसहरू घोडामा गए। तार्तरहरू बैठकका लागि मस्जिदमा भेला भए। तिनीहरू चर्को वादविवाद गरिरहेका थिएः ‘रूसी’ शब्द पटक पटक दोहर्याए। उसले बूढो मान्छेको स्वर सुन्यो। तर उसले बोलेको बुझ्न सकेन। उसले रूसी सैनिकहरू नजिकै आइसकेको अनुमान गर्यो। तार्तरहरू रूसीहरू आफ्नो गाउँमा आइपुग्नेमा डराइरहेका थिए। कैदीहरूलाई के गर्ने भनेर अलमलिइरहेका थिए।
आकाशमा ताराहरू चम्किइरहेका थिए। खाडलको मुखमा दिनाका आँखाहरू अध्यारोमा बिरालोका आँखाहरू टल्किए जस्तै टल्किइरहेका थिए।
केही बेर बैठक गरेपछि सबै गए। उसले कोही दौडिएको आवाज सुन्यो। एकछिनपछि दिना टुक्रुक्क बसेर खाडलतिर हेरिरहेको देख्यो। उसका घुँडाहरू टाउकोभन्दा माथि पुगेका थिए र उसको घाँटी दोब्रिएको थियो जसको कारण सिक्काको माला खाडलतिर झुन्डिएको थियो। दिनाका आँखा तारा जस्ता चम्किए। उनले बाहुलाबाट दुइटा चीज निकाली र झिलिनतिर फ्याँकी। झिलिनले त्यो समात्यो र भन्यो, “हिजो तिमी किन नआएको? मैले तिम्रा लागि खेलौनाहरू बनाएको छु। यी लिऊ!” उसले एउटा एउटा गर्दै खेलौनाहरू माथितिर फ्याँक्यो।
दिनाले टाउको हल्लाई र तिनीहरूलाई हेरी, “मलाई केही चाहिंदैन।”
उनी एकछिन चूपचाप बसिन् र गइन्।
“इभान, तिनीहरू तिमीलाई मार्न चाहन्छन्।” त्यसपछि आफ्नो घाँटी औंल्याई।
“मलाई कसले मार्न चाहन्छ?”
“बाउ। बूढो मान्छेले मार्नैपर्छ भनेको छ। मलाई माफ गर।”
झिलिनले भन्यो, “यदि तिमीलाई मेरो माया लाग्छ भने मलाई एउटा लामो घोचो देऊ।”
उनले सक्दिनँ भन्न टाउको हल्लाई।
झिलिनले हात जोड्यो, “दिना! कृपया दिना! मैले भिख मागें।”
“म सक्दिनँ,” उसले भनी, “मैले घोचो ल्याउँदै गरेको तिनीहरूले देख्नेछन्। तिनीहरू घरमा छन्।” उनी गइन्।
साँझ पर्यो। झिलिन अब के हुने हो भन्ने चिन्ता गर्दै घरिघरि माथि हेर्दैरह्यो। ताराहरू देखिए, जून झुल्किएको थिएन। मुल्लाहको स्वर सुनियो, त्यसपछि शान्त भयो। झिलिन त्यो केटी डराइन् भन्ने सोच्दै झोक्राइरहेको थियो। उसको टाउकोमा माटो खस्यो। उसले माथितिर हेर्यो। उसले एउटा लामो घोचो खाडलको डिलबाट तलतिर सोझिएको देख्यो। त्यो एकछिन अडियो र चिप्लिंदै खाडलमा झर्यो। झिलिन खुशी भयो। उसले त्यसलाई समात्यो र तल झार्यो। त्यो मजबूत घोचो उसले मालिकको छानामा देखेको थियो।
उसले माथितिर हेर्यो। आकाशमा ताराहरू चम्किइरहेका थिए। खाडलको मुखमा दिनाका आँखाहरू अध्यारोमा बिरालोका आँखाहरू टल्किए जस्तै टल्किइरहेका थिए। दिना खाडलतिर निहुरिएकी थिई। हातले बिस्तारै बोल्नु भन्ने इशारा गर्दै साउतीमा भनी, “इभान! इभान!”
“के,” झिलिनले भन्यो।
“सबैमध्ये दुई जना गइसके।”
झिलिन बोल्यो, “कोस्तिलिन, आऊ! अन्तिम प्रयास गरौं। म तिमीलाई मद्दत गर्नेछु।”
कोस्तिलिनले सुनेन।
“नाइँ!” बल्ल बोल्यो, “म यहाँबाट निस्किन सक्दिनँ भन्ने प्रस्ट छ। म कसरी जान सक्छु? जबकि मलाई पल्टिन पनि कत्रो कठिन छ!”
“त्यसो भए बिदाबारी। तर मलाई खराब नसम्झिनू।”
उनीहरूले एकअर्कालाई चुम्बन गरे। ऊ एकदुई पटक चिप्लियो। नेलहरूले उसलाई अप्ठ्यारो पारे। कोस्तिलिनको सहयोगले ऊ माथि उक्लियो। दिनाले आफ्ना साना हातले उसको कमीजमा समाएर पूरा बलका साथ हाँस्दै उसलाई तानी।
उसले घुँडा टेकी र ताला खोल्न खोजी। उसका साना हातहरू मुना जस्तै नरम थिए र उसमा बल पनि थिएन। उसले ढुङ्गा फ्याँकी र रुन थाली।
झिलिनले घोचालाई बाहिर निकाल्यो र भन्यो, “यसलाई जहाँ थियो त्यही लगेर राख, दिना, तिनीहरूले देखे भने तिमीलाई पिट्नेछन्।”
उसले घोचो लगी। झिलिन ओरालो लाग्यो। भिरालोमा उसले एउटा धारिलो ढुङ्गा टिप्यो र नेलको ताला खोल्न खोज्यो। त्यो अत्यन्तै दरो थियो, उसले खोल्न सकेन। उसले कोही हलुकासँग दौडिंदै हाम फाल्दै आइरहेको आवाज सुन्यो। सोच्यो, “पक्कै पनि दिना हुनुपर्छ।”
दिनाले एउटा ढुङ्गा टिपी र भनी, “म कोशिश गरूँ?”
उसले घुँडा टेकी र ताला खोल्न खोजी। उसका साना हातहरू मुना जस्तै नरम थिए र उसमा बल पनि थिएन। उसले ढुङ्गा फ्याँकी र रुन थाली। झिलिनले फेरि ताला खोल्न खोज्यो। दिना उसको काँधमा हात राखेर घुँडा खुम्च्याएर बसी।
झिलिनले वरिपरि हेर्यो। देब्रेपट्टि पहाडमा रातो बत्ती देख्यो। भर्खरै जून उदाउन थालेको थियो। “ओहो!” उसले सोच्यो, “जून उदाइसक्नु पहिल्यै मैले यो खोंच पार गरेर जङ्गल पुगिसक्नुपर्छ। ऊ उठ्यो र ढुङ्गा फ्याँक्यो।
नेल भए पनि नभए पनि उसले जानैपर्छ।
“बिदा प्यारी दिना!” उसले भन्यो, “म तिमीलाई कहिल्यै बिर्सनेछैन।”
दिनाले उसलाई समाई र चीजका केही टुक्राहरू दिई। उसले लियो।
“धन्यवाद सानु। म गएपछि तिमीलाई खेलौनाहरू कसले बनाइदिन्छ?” दिनाको कपाल छोयो।
दिना हातले अनुहार छोपेर रुन थाली र बाख्राको पाठी जस्तै गरी उकालो लागी। उसको सिक्काको माला बजिरहेको थियो।
झिलिनले नेलको ताला नबजोस् भनेर हातमा लियो। अनि नेल लागेका खुट्टा घिसार्दै र जून उदाउँदै गरेको ठाउँतिर हेर्दै हिंड्यो। अब उसले बाटो चिन्यो। सीधा गयो भने छ माइल हिंड्नुपर्थ्यो। जून उदाउनुभन्दा पहिला ऊ जङ्गल मात्रै पुग्न सक्थ्यो। उसले नदी तर्यो। पहाड परतिरको सेतो हुँदै गरेको उज्यालो हेर्दै ऊ खोंचमा हिंडिरह्यो।
अझसम्म जून देखिएको थिएन। उज्यालो बढिरहेको थियो। खोंचको अर्कोपट्टि झन् झन् उज्यालो बढ्दै थियो। पहाडको छायाँ झन् झन् नजिकतिर आइरहेको थियो।
झिलिन छायाँमा हिंडिरह्यो। ऊ हतारमा थियो। जून झन छिटो हिंड्दै थियो। दाहिनेपट्टिको पहाडको टुप्पोमा उज्यालो भइसकेको थियो। ऊ जङ्गलमा पुग्दा पहाडको टुप्पोमा सेतो जून देखा पर्यो, दिन जस्तै उज्यालो भयो। रूखका सबै पातहरू देख्न सकिने भयो। पहाडमा उज्यालो थियो तर कोही पनि जीवित नभए जस्तो सुनसान थियो। तल नदीको सुसाहट बाहेक कुनै आवाज सुनिएको थिएन। जङ्गल पुग्दासम्म उसले कसैलाई पनि भेटेन। उसले एउटा अँध्यारो ठाउँ रोज्यो र आराम गर्न बस्यो।
उसले एउटा चीज खायो। एउटा ढुङ्गा टिप्यो र नेलको तालामा हिर्काउन थाल्यो तर हातमा लाग्यो। त्यो हात सुन्निन थाल्यो तर ताला फुटेन। उठेर बाटामा गयो र हिंड्न थाल्यो। एक माइल जति हिंडेपछि ऊ थाकेर फतक्कै भयो। उसका खुट्टाहरू दुख्न थाले। प्रत्येक दश पाइलामा रोकिनुपर्ने भयो। “यसको विकल्प छैन,” उसले साेच्यो, “सास रहुन्जेल मैले आफूलाई घिसार्नैपर्छ। म बसें भने फेरि उठ्न सक्ने छैन। म किल्लामा पुग्नेछैन। दिन भएपछि जङ्गलमा सुत्नेछु। दिनभरि त्यहीं रहनेछु अनि रातमा फेरि हिंड्नेछु।”
जून पहेंलो हुन थाल्यो। शीत पर्न थाल्यो। झिसमिसे हुन थाल्यो। ऊ जङ्गलको अन्तिममा पुगेको थियो, उसले सोच्यो, “म अझै तीस पाइला हिंड्नेछु। त्यसपछि लुकेर बस्छु।”
ऊ रातभरि हिंडिरह्यो। दुई जना तार्तरहरू घोडाबाट उसको नजिकैबाट कटे तर ऊ तिनीहरूलाई सुनेर लुक्न सक्यो।
जून पहेंलो हुन थाल्यो। शीत पर्न थाल्यो। झिसमिसे हुन थाल्यो। ऊ जङ्गलको अन्तिममा पुगेको थियो, उसले सोच्यो, “म अझै तीस पाइला हिंड्नेछु। त्यसपछि लुकेर बस्छु।”
तीस पाइला हिंडेपछि उसले आफू जङ्गलको पुछारमा रहेको पायो। ऊ बाहिरतिर गयो। पूरै उज्यालो भएको थियो। सीधा अगाडि एउटा टारमा किल्ला थियो। देब्रपट्टि भिरालोको पुछारमा निभ्न लागेको आगोबाट धुवाँ निस्किरहेको थियो। त्यसको वरिपरि मान्छेहरू जम्मा भएका थिए।
उसले नियालेर हेर्यो। बन्दूकहरू टल्किइरहेका थिए। ती कोस्याक सैनिकहरू थिए।
झिलिन खुशी भयो। ऊ बल गरेर ओरालो लाग्यो। आफैंलाई भन्यो, “भगवान्को कृपाले यो खुला ठाउँमा मलाई कुनै तार्तरले नदेखोस्। देखे भने म समयमै किल्लामा पुग्न सक्नेछैन।”
यति भनि सक्दानसक्दै उसले दुई सय यार्ड टाढा तीन जना तार्तरहरूलाई देख्यो। तिनीहरू उसलाई देखेर नजिकतिर दौडिए। उसको सातो गयो। उसले हात हल्लायो र सके जति बल गरेर चिच्यायो, “दाजु! दाजु! बचाऊ!”
सैनिकहरूले सुने। एक हुल सैनिकहरूले तार्तरहरूलाई ताकेर घोडा भड्काए। सैनिकहरू टाढा थिए, तार्तरहरू नजिक। झिलिनले अन्तिम कोशिश गर्यो। नेल उचालेर सैनिकहरूतिर दौडियो, होश गुमाएर चिच्याउँदै, “दाजु! दाजु! दाजु!”
सैनिकहरू पन्ध्र जना जति थिए। तार्तरहरू डराए र रोकिए। झिलिन सरासर सैनिकहरूतिर गयो। तिनीहरूले झिलिनलाई घेरे र सोधे, “तिमी को हौ? के हौ? कहाँबाट आयौ?”
ऊ आफ्नै सुरमा थियो। उसले रुन र यति मात्रै भन्न सक्यो, “दाजु! दाजु!”
अरू सैनिकहरू पनि झिलिनतिर दौडिए। वरिपरि झुम्मिए। एउटाले उसलाई पाउरोटी दियो। अर्कोले फापरको रोटी दियो। तेस्रोले भोड्का थियो। एक जनाले कोट ओढाइदियो र अर्कोले नेल फुटाउन थाल्यो। हाकिमले उसलाई चिन्यो। उसलाई किल्लातिर लगे। उसलाई देख्न पाएकोमा सिपाहीहरू खुशी भए। उसका सबै साथीहरू उसका वरिपरि जम्मा भए।
झिलिनले आफूमाथि भएका सम्पूर्ण घटनाहरू सुनायो। “यसरी म घर गएँ र बिहा गरें,” उसले भन्यो, “हैन, कुरो सीधा छ, भाग्यले दिएन।”
उसले ककेससमै सेवा गर्न थाल्यो। एक महीनापछि कोस्तिलिन मुक्त भयो, पाँच हजार फिरौती तिरेपछि। उनीहरूले उसलाई फिर्ता ल्याउँदा ऊ मरिसकेको थियो।
(रुसी साहित्यकार लियो तोल्स्तोयले यो कथा सन् १९७० मा लेखेका थिए भने १९७२ मा प्रकाशित भएको थियो। रुसी सेनामा कार्यरत रहेको वेला घटेको घटनालाई कथाको रुप दिएका थिए। यसको पूर्ण पी राईले भावानुवाद गरेका हुन्।)
हिमाल दशैं साहित्यका थप सामग्री: