छब्बीस कोठीकी चन्द्रमा (कथा)
चन्द्रमाको असर्फी जडित आभामा पूरै धर्ती मानौं बेहोशीमा डुबेको छ र त्यही आभामा कोठीको बरन्डामा चलमलाइरहेको छ अर्को एक जोडी आकृति।
गाउँको मुख्य चोक अनि चोकको बीचमा सिउँदो पारे झैं बसेको पूर्व-पश्चिम राजमार्ग। जहाँ दिनभरि धूलो उडाउँदै गुड्छन् बस र अन्य गाडी, हिंड्छन् बटुवा। यी बटुवा कमाउन शहरबजार जाने यहींका कर्मी हुन्, जो रोजै घडीको आधा फन्को मारेर फर्कन्छन्।
सडकको दुवैतिर भित्रैसम्म बस्ती छ। दुवैतिरको बस्तीका लागि एक मात्र सार्वजनिक नलका छ। जहाँ अहल भोर चहलपहल शुरू भइसकेको छ। घामको झुल्को धर्तीमा झरिसकेको छैन।
करिया मुसहरको अनुहार आज फेरि सुन्निएको देखिन्छ। सम्भवतः रातिको दारु उत्रेको छैन। त्यसमाथि स्वास्नीको लतखुर्दनको निशान पनि छ। ऊ दतिवन लगाउने बहानामा सधैं यही वेला नलकामा झुल्किन्छ। किनभने गाउँका नयाँ बुहारी र किशोरीहरू नुहाउने समय यही हो। नलकामा नुहाउन आएका नवयौवनाहरूलाई अल्पवस्त्रमा हेरेर रोमाञ्चित हुन्छ करिया। सखारै उठ्नुको उसको एक मात्र उद्देश्य यही हो।
करिया जस्ता अरू पनि छन्। यी रंगिलाहरूका कारण किशोरीहरू लज्जावती झार जस्तै खुम्चिएर नुहाउन बाध्य छन्। यो रोजैको खिस्सा हो।
तर, यो खिस्सा करियाको होइन।
नलकामा महिलाहरूको भीड छ। पानी भर्ने, भाँडा माझ्ने, नुहाउनेदेखि लुगा धुनेहरूको भीड कुनै हाटभन्दा कम देखिएको छैन। सुनरी पनि भाँडा माझ्न भर्खर आइपुगी। झपक्क शृंगार गरेर आएकी छे ऊ। देखेर महिलाहरूले गिज्याए, “हाय हाय!”
सुनरीले आँखामा गाढा गाजल यसरी लगाएकी छे, जस्तो भर्खरकी सुत्केरीले लगाएकी हुन्छिन्। सिउँदोमा टल्किएको केशरी रङले उसको श्यामल वर्णलाई मोहक बनाइदिएको छ। पहेंलो नयाँ धोती र पहेंलै नयाँ लहठी लगाएकी ऊ साक्षात् देवी जस्तै देखिएकी छे।
सबैका आँखा उसैमाथि केन्द्रित छन्। उसलाई जिस्क्याउन महिलाहरूले राम्रो मौका पाएका छन्। गौना नगरीकनै साउदी अरब हिंडेको उसको दुलहा महेशर माझी तीन वर्षपछि आज फर्कंदै छ। काठमाडौंबाट बिहानै गाडी चढिसकेको खबर गाउँभरि फैलिइसकेको छ।
सुनरी गाउँकी चेली हुन्। त्यही भएर भाउजूहरूले उसलाई रमाइलो घोचपेच गरेर आनन्द लिइरहेका छन्। हास-परिहास जारी छ।
कमला भाउजूले भनिन्, “हे छिनरो! आज दाँत तिखारेर आउँदै छ खसम, दुई फाँक नगरी त छोड्दैन है।” त्यसमाथि निरोले थपी, “पानी पनि भन्न सक्दिनौ बाबै!”
सबै गलल्ल हाँसे। भाँडा पखाल्दै गरेकी सुनरी लाजले गुजुल्टो परी।
बुधनीले भनी, “एउटै कोठामा बुढबा-बुढियाको अगाडि कसरी सुत्छ हो नयाँ जोडी!”
सुनरी रिसाए झैं गरी, “सुत्छु त। तिमीहरूलाई के?”
बुधनी पनि के कम! भनिहाली, “होशियार, आज चढाइँ गर्छ है!”
नलकामा फेरि सामूहिक हाँसो फैलियो।
नलकाभन्दा केही पर दतिवन लगाइरहेका पुरुषहरूको कौतूहल थामिनसक्नुको हुन्छ। एउटाले भन्छ, “होइन किन छाडा हाँसिरहेका छन् यिनीहरू?” बाँकी सबै कौतूहलमै मौन छन्।
यता बुचनीले भनी, “लोग्ने आउने खुशीमा आज बिहानैदेखि लाली-पाउडर रगडेर बसेकी छे।”
सुनरी झर्किई, “आफू त कहिल्यै नलाउने जस्तो कुरा गर्छे यो खेलाडी मौगीले। कसले किनेर दिन्छ तिम्लाई?”
यति भनेर एक लोटा पानी सबैमाथि छ्यापिदिई।
लोग्नेसँगको प्रेमिल कल्पनाले तरङ्गित छे। नानाभाती सोचले मीठो काउकुती लगाइरहेको छ। आज समय असाध्यै सुस्त चले जस्तो लागिरहेछ उसलाई।
सुनरीको कुराले बुचनीको पारो तात्यो। किनभने केही दिनअघि मात्रै सुनरीले बुचनीलाई छोटनासँग उखुबारीमा रङ्गेहात भेटेकी थिई। त्यस दिन बुचनीले सुनरीलाई लाख किरिया खुवाएर चूप बस्न लगाएकी थिई। तर यति वेला पोल खुल्ला भन्ने डरले बुचनीले रिसाउँदै भनी, “अरू कसले किनेर दिन्छ? रातभरि तिम्रा दाइले डुब्की लगाएपछि उसैले किनेर दिन्छ नि!”
सुनरी कान छोप्दै भन्छे, “छिः निर्लज्जहरू!”
उसका हात यान्त्रिक भएर चल्न थाल्छन्। आज उसलाई आफ्नो कल्पनादेखि नै फुर्सद छैन। तर, बुधनीको कुराले उसलाई पिरोल्न थाल्छ। साँच्चि राति एउटै कोठामा सबैको अगाडि आफ्नो दुलहासँग कसरी सुत्नु? सोचेरै अप्ठ्यारो महसूस गर्छे ऊ।
टोलमा २६ वटा एकै रङका कोठी छन्। सुकुम्बासी मुसहर र माझीहरूका लागि कुनै विदेशीले वर्षौं पहिले यो २६ कोठीको आवास बनाइदिएको थियो। प्रत्येक कोठी एउटा परिवारको घर हो। आमाबुबा, छोराछोरी, छोराबुहारी सबै एउटै कोठामा अटाएका हुन्छन्। प्रत्येक कोठामा एउटा कुनामा चुलो, डोरीमा माछा मार्ने जाल, असरल्ल मैला डसना-सिरक हुन्छन्। राति यही ओछ्याएर एउटै कोठामा कम्तीमा आठदेखि १० जना सुत्छन्।
सुनरी सबैको जिस्काइबाट बच्न आफ्नो कोठीको एउटा कुनामा लुकेकी छे। साँझ छिप्पिंदै जाँदा उसको मन व्याकुल छ। लोग्नेसँगको प्रेमिल कल्पनाले तरङ्गित छे। नानाभाती सोचले मीठो काउकुती लगाइरहेको छ। आज समय असाध्यै सुस्त चले जस्तो लागिरहेछ उसलाई।
यत्तिकैमा बाहिरको होहल्लाले उसको ध्यान भङ्ग हुन्छ। कोठीबाट बाहिर के निस्केकी हुन्छे, सामुन्ने आफ्नो प्रियतमलाई देखेर अवाक् बन्छे। तीन वर्षको वियोगपछि भएको मिलनको खुशी ऊ लुकाउन सक्दिन। आँखा टिलपिलाउँछ।
एक मन हुन्छ, दौडिंदै गएर प्रियतमलाई अँगालो हालूँ। तर चारैतिरबाट महिला-पुरुषको डफ्फाले नयाँ ज्वाइँलाई घेराबन्दी गरेको छ।
महेशर पनि आफ्नी दुलहीलाई हेरेकोहेर्यै भएको छ। दुलहीको बदलिएको काया र उसको देवी स्वरूपले रोमाञ्चित बनाएको छ उसलाई।
विदेशको बसाइ उसका कपडामा इत्र भएर बग्दै छ। हरर बास्नाले पूरै २६ कोठी मगमगाएको छ। उसको बानीबेहोरामा पनि विदेश झल्किएको छ, जसले सबैलाई लोभ्याइरहेको छ।
विवाह हुँदा महेशर १९ वर्षको थियो भने सुनरी १६ वर्षकी। तर गौनाभन्दा पहिले नै विदेश जाने टिकट आइपुगेको थियो। विवाहमा महेशरले नवदुलहीलाई एक झलक हेर्न मात्र भ्याएको थियो। सेनुरदानपछि दुलहा र दुलहीलाई एकैछिन भेट्न दिने कुरा हुँदा सोझी, निश्छल र जब्बर सुनरीले दुलहाको छेउ पर्न मरिगए मानेकी थिइन। त्यति वेलाकी दुब्ली सुनरी अहिले मस्तकी पूर्णयौवना भइसकेकी छे। महेशर पनि लक्का जवान भएर फर्केको छ।
विदेशको बसाइ उसका कपडामा इत्र भएर बग्दै छ। हरर बास्नाले पूरै २६ कोठी मगमगाएको छ। उसको बानीबेहोरामा पनि विदेश झल्किएको छ, जसले सबैलाई लोभ्याइरहेको छ।
पूरै २६ कोठीलाई उज्यालो पार्दै पूर्णिमाको रात अझ बढी नै चम्किएको छ।
सुनरीका बाबु र दाजु होशमा छैनन्। ज्वाइँले उपहार ल्याइदिएको महँगो दारु पिएर टुन्न भएपछि बाउछोरा कोठीको बरन्डामा लडेका छन्। दुवैलाई बाहिर छोडेर सुनरीकी आमा र भाउजू ज्वाइँको सत्कारमा व्यस्त हुन्छन्।
सुनरी र महेशर मौन छन्। तर उनीहरूका आँखाले धेरै बात मारिसके।
माछा मार्ने जालले पर्दा बनाउँदै सुनरीकी भाउजू र आमा वारिपट्टि सुत्न हिंडे। पर्दाको पारिपट्टि सुनरीका लागि सुहागको सेज सजाइएको छ। भाउजू आँखा झिम्क्याउँदै बत्ती निभाइदिन्छे। क्षणभरमै कोठीमा अँध्यारो व्याप्त हुन्छ।
महेशर मौकाको ताकमा रहे जस्तै सुनरीलाई पछाडिबाट अठ्याउँछ। सुनरी लत्याकलुतुक पर्छे। उसका ओठमुख सुक्छन्। सरक्क प्रियतमलाई अँगालोमा कस्छे। महेशर छक्क पर्छ। विवाहको रात लोग्नेको छेउमा पर्न समेत नमानेकी दुलही यसरी मौन स्वीकृतिसाथ आलिङ्गनमा बेरिन्छे भन्ने उसले कल्पनै गरेको थिएन।
सुनरी लोग्नेसँग टाँसिइराख्छे। आलिङ्गनले दिएको न्यानोपन र मिठास कल्पनातीत छ। वर्षौंपछि युगल प्रेमीको मिलन भएको छ तर सुनरीको हातको लहठीको खनकले वेलावेला सानो कोठीको मौनता भङ्ग गरिरहेको छ।
आमाको निरन्तरको खोकीले प्रणयमा विघ्न उत्पन्न गरिरहेको छ। भाउजू पनि वेलावेला त्यत्तिकै ख्वाङख्वाङ गर्थी। आमा र भाउजूको खोकीको रहस्य सुनरीले राम्रै बुझेकी छे, तर ऊ के गरोस्, महेशरले चुम्बनको वर्षा गरिदिएको छ शरीरभरि। मानौं कैयौं जन्मको भोको महेशर आज उसलाई पूरै निल्नेवाला छ।
दुवै जना सासले केही बोल्छन् अनि फेरि मन्द सासहरूको उतारचढाव। भाउजू पुनः जोडले खोक्छे, सुनरी सम्हालिन्छे। तर जोडी सासको वेग थामिएको छैन, झन् झन् बढ्दै छ। दुवैको ज्यानमा उठेको ज्वारभाटाले कुनै अवरोधको परवाह गर्दैन।
आमा आफ्नो ओछ्यान लिएर खोक्दै खोक्दै बाहिर बरन्डामा सुत्न जान्छे। केही बेरमा भाउजू पनि बाहिर निस्किन्छे र दारुको मातमा पल्टिएको लोग्नेको छेउ गएर सुत्छे। केही पर पल्टिएकी आमाको खोकी रोकिएको छ। निद्रामा मग्न छे।
सुनसान छ २६ कोठी। उतिखेरै भित्रबाट पाउजूको झंकारसँगै रोदन जस्तो एउटा कोमल आवाज सुन्छे भाउजू, अनि मन्द मुस्काउँदै लोग्नेलाई आलिङ्गनमा बेर्छे।
चन्द्रमाको असर्फी जडित आभामा पूरै धर्ती मानौं बेहोशीमा डुबेको छ र त्यही आभामा कोठीको बरन्डामा चलमलाइरहेको छ अर्को एक जोडी आकृति।
कथामा प्रयुक्त केही स्थानीय शब्दको अर्थ:
नलका: चापाकल
लतखुर्दन: लात्तीले हान्नु
अहल भोर: एकाबिहानै
खिस्सा: कथा
लहठी: लाहले बनेको बाला
सेनुरदान: दुलहाले दुलहीलाई सिन्दूर हाल्नु
हिमाल दशैं साहित्यका थप सामग्री: