देश फर्किन बाँकी (कविता)
घुर्यानको कान्ला टेकेर
सुन्दर फुलेका छन्
फेन्चेम्को फूल
नम्दीचराका बथानहरू
सेरेम्फु फुलेको उँभौली लय
गुनगुनाउँदै छन्।
नम्सीफुको थुँगा चुम्दै
बसेको छ पुतली
तोरीको फूलमा रस चुस्दै उडेको छ मौरी
सेरेम्फुका पात बजाउँदै
थेअनिको आलाप भरेर
नाचिरहेको छ बतास।
भर्खरै
रूखको हाँगामा आएर
होमाचिरीले एउटा पात छोडेको छ।
बूढीआमा
छोरो घर फर्किने बार र मितिहरू
मोबाइल स्क्रिनको
क्यालेन्डरमा हेरिरहेकी छन्
भाइबहिनीहरू
चाचा र नानाको सपना देखिरहेका छन्।
प्रियसीले
इन्स्टाको पेन्डिङमा रहेको
प्रेमीको गुलाबी अक्षरहरूको
जवाफ पर्खिरहे जस्तै
आँगनको पिठ्युँमा
छोरालाई
पर्खेर बसिरहेकी छन्।
छोराले
सपनाभरि देश देख्छ
आमा देख्छ
आमाले हिँड्ने वेला
छातीमा झुन्ड्याइदिएको प्लेँ:कास देख्छ
देश फर्किन बिर्सिरहेको छोरो
अब
देश सम्झिन्छ
घर सम्झिन्छ।
हिमाल दशैं साहित्यका थप सामग्री: