मृत्यु एक बहाना (कथा)
कान्छा अनकनाउँदै गएर पक्सुकीको बुबालाई कोखामा खुसुक्क कोट्याएर सोध्यो, “अब लैजाऊँ कि कसैलाई पर्खनु छ हाउ काका?”
बिहान ७ बजेतिर कोही कहालिँदै रोएको आवाज आयो पल्लो घरबाट। भर्खर ब्युँझेर आँखा मिच्दै गरेकी मालतीको शरीरको भारीपन क्षणभरमा गायब भयो। बुबाआमासँगै दगुर्दै ऊ पनि पल्लो घरमा पुगी।
मनमती पक्सुकीलाई काखमा राखेर छाती पिटीपिटी रुँदै थिई। त्यो दृश्यले ६ वर्षीया मालतीलाई भयग्रस्त बनायो। दैलोको घेरा ननाघी बाहिरै उभिइरही।
पक्सुकीका आँखा बन्द थिए। अनुहार शान्त थियो। आमाको रुवाइ र बिलौनाले कुनै असर पारिरहेको थिएन। हिजै मात्र ओछ्यानमा पल्टिएर टुलुटुलु हेर्दै गरेकी पक्सुकीका आँखा यति जोडले कसरी बन्द भएको होला, मालती असमञ्जसमा परी।
पक्सुकीको दायाँ हातकोे सानो चोरऔंला सुन्निएर नीलो डल्लो भएको थियो। अनुहार उज्यालै थियो। बस्, निदाएकी जस्ती देखिएकी थिई।
माथिल्लो घरकी लिम्बुनी बज्यै पनि मनमतीसँगै टाँसिएर रुँदै थिई। मालतीकी आमा पनि मनमतीलाई सम्झाउँदा सम्झाउँदै पछ्यौराको फेरले मुख छोपेर रुन लागी। सात महीने छोरी पक्सुकीको चिसा गाला मुसार्दै मनमती बिलौना गरिरहेकी थिई, “यति छोटो आयु लिएर किन आइस् मेरो कोखमा नानी? बरु नजन्मेको भए हुन्थ्यो नि बाबा!”
मनमतीको बिलौनापछि अरू पनि सुकसुकाउन थाले। कसैका पनि आँखा ओभाना थिएनन्। पक्सुकीको बुबा मनमतीको छेउमा कुक्रुक्क बसेर खुम्चिएको निधार दायाँ हातले एकोहोरो माडिरहेको थियो। घरिघरि पछाडि खस्न लागेको थोत्रो टोपी मिलाउँथ्यो, र पक्सुकीको गालामा बसेका झिंगा धपाइदिन्थ्यो।
भेला भएका छिमेकका महिलाहरू आमनेसामने उभिएर एकअर्कासँग सोधखोज गर्दै थिए। “हैन के भ’को रैछ पक्सुकीलाई? कस्ती राम्री थिई। खेलाऊँ खेलाऊँ लाग्ने,” टाउकोमा मजेत्रो गुथ्ने महिलाले विरही स्वरमा सोधी।
“खैऽऽ के भ’को हो, केही थाहा भएन। हनहनी जरो आको चाहिं तीन दिन भ’को थियो रे। सिमेभुमे लागेको रे पनि भन्थे,” छेउमै उभिएकी कुर्ता-सुरुवाल लगाएकी महिलाले भनी।
“अनि धामी देवारी लाएनछन्?” अर्की छोटो गुन्युधारी महिलाले सोधी।
“लगा’का रे लाउन त। लागन लागेको छ भन्थ्यो रे धामीले। लेखेर आएको नै यति थियो होला,” छेउतिर उभिनेले भनी।
तिनको कुरामा सही थप्दै मजेत्रो गुथ्ने महिलाले थपी, “लागन नै लागेको होला हाउ। चोर उम्ला’नि सुन्निएको हेर त। कति दुख्यो होला बिचरीलाई।”
कुर्ता-सुरुवाल लगाउने महिलाले भनी, “तेइ उम्लोमा त अरे पहिले सिमे लागेको, पछि बढ्दै गएर लागन पनि थपिएछ। देवारीको उपचारले छोएन अरे हाउ बिचरीलाई।” सुुकसुकाउँदै आँसु पुछेर भनी, “कठै नि मेरी छोरीसँगैकी पो त, तीन दिनले जेठी।”
ती चार महिलाको गन्थन सुनेर अलि परतिर उभिएकी महिला पनि त्यहीं मिसिन आई। भनी, “आमा चाहिं रोएर मर्न लागी। अब त नानीलाई लगे हुने, धेरै बेर नराखे राम्रो हुन्थ्यो। के गर्नु, सास भएसम्म मात्रै त रैछ!”
“हो नि है, आँखाले देखिराखेपछि मन थाम्न सकिँदैन। अब त ठाउँमा लगेकै जाती,” मजेत्रो गुथ्ने महिला पुरुषहरू उभिएको जमातमा छिरेर भनी, “के पर्खेका अब? लगे हुन्न? आमा चाहिं रोएर बेहोश भइसकी, बाउको हालत उस्तै भइसक्यो।”
तिनको कुरो सुनेर चुच्चो ढाकाटोपी लगाएको पुरुषले अलि परतिर झोक्रिएर बसेको युवालाई बोलाएर भन्यो, “कान्छा, गएर उसको बाउलाई भन् त। अब लानुपर्छ हाउ।”
टिलपिलाएको चिसो आँखा भीडको नजरबाट छल्न खोज्दै कान्छाले ढाकाटोपी लगाउनेलाई भन्यो, “बुबा, अब लैजाऊँ कान्छीलाई। १० बज्न लागिसक्यो। राखेर के गर्नु!”
कान्छा अनकनाउँदै गएर पक्सुकीको बुबालाई कोखामा खुसुक्क कोट्याएर सोध्यो, “अब लैजाऊँ कि कसैलाई पर्खनु छ हाउ काका?”
“तेरो काकीले के भन्छे कोनि त,” अलमलियो बाउ चाहिं। पक्सुकीको अनुहारमा पिलिक्क हेरेर दुवै आँखा बेस्कन माड्न थाल्योे।
“लु उसो भए कसैलाई सोध्ने काम नगरौं। आउने जति आइसके होलान्, अब मान्छे पर्खिने काम नगरौं,” टिलपिलाएको चिसो आँखा भीडको नजरबाट छल्न खोज्दै कान्छाले ढाकाटोपी लगाउनेलाई भन्यो, “बुबा, अब लैजाऊँ कान्छीलाई। १० बज्न लागिसक्यो। राखेर के गर्नु!”
“के भन्छ त तेरो काका?” टोपीधारीले छोरालाई सोध्यो।
“काकीलाई सोध भन्छ, केको सोधासोध गर्दै बस्नु हाउ अब। जसै लानैपर्छ,” पक्सुकीको अनुहारमा हेरेर अलि परतिर निस्कियो कान्छा।
“हो हो उसो भए अबेर नगरौं, बोक् लौ कान्छा,” कोठे ऊनीको गलबन्दी लगाउनेले निर्देशन दियो र टोपी लगाउनेको आँखामा हेर्दै सोध्यो, “कि कसो हाउ साइँला?”
“अब तेसै त होला नि हाउ दाजु। केटाकेटी देखेपछि सारै माया लाग्ने। खै के भई-भई यो पक्सुकी! लु बोक् कान्छा तेरो बैनीलाई,” कान्छालाई अह्रायो।
मनमती हुर्रिंदै गएर पछाडिबाट कान्छाको कमीज च्याप्पै समाउँदै रोकी, “कान्छा! तेरो बैनीलाई तेसरी कुदाएर नलैजा न। एकछिन त राख्, हेर्नु दे न।”
बाउको आदेश पाएपछि कान्छाले पक्सुकीलाई मनमतीको काखबाट खोसेर बोक्यो, अनि पछाडि नफर्की आँगनबाट खुड्किलो ओर्लेर ओरालैओरालो लाग्यो।
मनमती हुर्रिंदै गएर पछाडिबाट कान्छाको कमीज च्याप्पै समाउँदै रोकी, “कान्छा! तेरो बैनीलाई तेसरी कुदाएर नलैजा न। एकछिन त राख्, हेर्नु दे न।”
“लु बुहारी यसरी हुँदैन अब। जति हेर्नुपर्ने थियो, सकियो,” भन्दै ढाकाटोपी लगाउनेले मनमतीलाई कान्छाको कमीजबाट अलग्यायो।
मनमतीले आफ्नो कानमा लगाएको सुनको एउटा लस्करी फुकाएर पक्सुकीको मुखमा हालिदिंदै भनी, “नानी! हामीसँग बस्नु यति नै रैछ। लु जा है ल अब। पछि म आउँदा यही लस्करीले आमा हो भनेर चिन्नू है।”
कान्छाले पक्सुकीलाई निकै वेगले ओरालो झार्यो। बेसुरमा कुदिरहेको जस्तो लाग्थ्यो कान्छा। निहुरिएर पक्सुकीको अनुहार एक झल्को पनि हेरेन।
पक्सुकीले फुलबुट्टे गाढा नीलो जामा लगाएकी थिई। उसको पातलो कपाल रातो रिबनले बाँधिएको थियो। भेला भएका मलामी सबै कान्छाको पछि पछि लागे। मालतीले आँगनको डिलमा उभिएर पक्सुकीलाई लगेको तलसम्म हेरी।
मनमती विलाप गर्दै सिकुवामा बसी। उसको छेउछाउ बसेका महिलाहरू मनमतीलाई सम्झाउँदै आँसु पुछिदिन थाले। वास्तवमा पक्सुकी के भएर बितेकी हो, कसैलाई थाहा थिएन।
पक्सुकीलाई डाँडामुनिको हिन्जाफुजिक अर्थात् बच्चाहरूको समाधिस्थलमा पुर्याए र एउटा रूखको छायामा राखे। केहीले खाडल खन्न लागे, सानो खाडल। चेप्टा ढुङ्गाहरू खापेपछि खाडल बाकस जस्तै बन्यो। बाकसभित्र पक्सुकीका थाङ्नाहरू मिलाएर ओछयाए। सिरानी पनि राखिदिए।
लहरमा मालतीका दुई जना दाजु र दिदीहरू पनि सुतिरहेका थिए। त्यो हिन्जाफुजिक हेर्दा डर र मायामिश्रित अनुभूति हुन्थ्यो।
यसपछि पक्सुकीलाई जतनसाथ उचालेर बाकसभित्रको ओछ्यानमा सुताए। माथिबाट चेप्टो ढुङ्गाको ढक्कनले छोपे। पक्सुकीको शरीरमा माटो नपरोस् भनेर ढक्कनलाई मजेत्रोले ढाकिदिए। त्यसपछि सबै मलामीले देब्रे हातले एक-एक मुठी माटो दिए। यो क्रम सकिएपछि माथिबाट धमाधम माटो हालियो।
हेर्दाहेर्दै माटोभित्र लुकी पक्सुकी। त्यस परिसरमा ऊ जस्तै पहिले माटोमा पस्नेहरूको मसिना चिहान लस्करै थिए। त्यही लहरमा मालतीका दुई जना दाजु र दिदीहरू पनि सुतिरहेका थिए। त्यो हिन्जाफुजिक हेर्दा डर र मायामिश्रित अनुभूति हुन्थ्यो।
***
त्यो एकदिन दिउँसो-
पक्सुकी सधैं झैं बामे सर्दै मालतीको घर आइपुगेकी थिई। उसो त बिहान पनि निकै बेर मालतीकै घरमा खेलेकी थिई। आमाले भात खुवाउन लगेकी पक्सुकी फेरि खेल्न आएको देखेर मालती पनि खुशी हुँदै आँगनमा निस्किई। थिर्रथिर गर्दै आँगनमा एकखुट्टे खेल्न थाली।
मालतीले एउटा खुट्टा उचाल्ने बित्तिकै पक्सुकी भुइँमा बसेर खितिति हाँस्दै ताली बजाउन थाल्थी। यो खेल पक्सुकीलाई सबैभन्दा मन पर्थ्यो।
उनीहरू आँगनमा खेल्दै थिए। मालतीको घरको सानो कालो पाठा पनि माउलाई छोडेर उनीहरूसँग खेल्न आइपुग्यो। कालो पाठो आँगन छेउमा उम्रेका झार खाए झैं गर्दै बुरुकबुरुक उफ्रिन्थ्यो।
उनीहरू खेलिरहेको वेला दिउँसोको ३ बजेको हुँदो हो। घाम खासै तेज थिएन। सिरिरी सिरेटो चल्न थाल्यो। शिशिर ऋतुको सिरेटोमा मुटु कमाउने ठन्डी बहेको हुन्छ। त्यही ठन्डीमा एकछिन एकै ठाउँमा पोको परेर बसे पक्सुकी र मालती।
त्यसै वेला माथिल्लो डिलमा उभिएको कुटमेरोको रूखबाट हरियो र सुकेका पातहरू बुरुरु झरे। एउटा हरियो पात हावामा फिरफिरे झैं उड्दै आएर पक्सुकीको अगाडि भुइँमा झर्यो।
वास्तवमा त्यो पातलाई उडिरहँदा नै मालतीले बुरुक्क उफ्रँदै समाउन खोजेकी थिई। तर छलिँदै, बहकिंदै त्यो पक्सुकीकै सामने आइपुगेर झर्यो।
साँझपख मेलोबाट आएकी मनमतीले पक्सुकीको औंलाबारे पत्तो नै पाइन। औंला बिस्तारै सुन्निंदै आयो, नीलो भयो। पक्सुकी निकै झगडा गर्दै रुन थाली।
पात भुइँमा झर्ने बित्तिकै मालतीले टपक्क टिपी। पक्सुकी ‘पात मलाई चाहियो’ भने झैं गरेर रुन थाली। मालतीले पात तुरुन्तै उसको हातमा राखिदिई। पक्सुकी खिस्स हाँसी।
आँगनको अर्को छेउमा कालो पाठो केही टिपेर खाँदै थियो। घसिँदै गएर पक्सुकीले पाठाको मुखमा पात हालिदिई। मालती आफ्नै धुनमा खेल्दै थिई, एक्कासि पक्सुकी कहालिँदै रोएको सुनी। फर्केर हेर्दा पक्सुकी पाठोको छेउमा थिई। सानो लौरो ल्याएर पाठालाई कुटेर धपाई।
त्यसपछि पक्सुकी चोर औंला ठाडो पारेर बामे सर्न थाली।
साँझपख मेलोबाट आएकी मनमतीले पक्सुकीको औंलाबारे पत्तो नै पाइन। औंला बिस्तारै सुन्निंदै आयो, नीलो भयो। पक्सुकी निकै झगडा गर्दै रुन थाली। ऊ सकीनसकी चोरऔंला उचालेर बामे सर्दै दुई दिन जति मालतीको घरमा पुगी। त्यसपछि आफैं जान सकिन। वेलामौका मालतीको घर जाने भन्दै जिद्दी गर्थी र मनमतीले बोकेर लैजान्थी। तर, पहिला जस्तो उत्साहित भएर खेल्न सक्दिनथी।
अब धेरैजसो मालती पक्सुकीको घर जान्थी। पक्सुकी ओछ्यानमा फ्याँफ्याँ सास फेर्दै पल्टिराखेकी हुन्थी। मालतीले मायाले पक्सुकीको नीलो चोरऔंला छामेर हेर्थी र फु-फु गरेर फुकिदिन्थी।
पक्सुकीको औंलाको अवस्था देखेर मनमती र उसका बुबाले सोचे, “बच्चालाई त हिउँदमा पनि सिमे लाग्ने रैछ।”
अझ सुन्निंदै गएपछि सोचे, “सिमे लागेको ठाउँमा लागन लागेछ।” अनि धामी देवारी दिनदिनै लगाउन थाले।
मालतीले त्यो दिनको घटना कसैलाई बताइन। बताउनुपर्छ भन्ने ज्ञान पनि भएन। पक्सुकी त्यसरी बिरामी पर्नुको कारण पाठाले टोकेर हो भन्ने उसले शायद बुझ्दै बुझिन।
त्यो दिन त्यो पात त्यहाँ नझरेको भए... अर्थात् त्यो कालो पाठो त्यहाँ नआएको भए... अर्थात् उनीहरू त्यस समयमा त्यहाँ खेल्दै नगरेको भए... पक्सुकी पनि आज मालतीहरूको साथमा खेलिरहेकी, बाँचिरहेकी हुन्थी होला। यो सांसारिक रीतमा उनीहरू सँगसँगै भागीदार बनेर हिंड्थे होलान्।
हिमाल दशैं साहित्यका थप सामग्री: