एक जीवन प्रेम (कथा)
“यो सम्पूर्ण संसारमा मेरा लागि एक मात्र पुरुष उनी थिए। अरूको त मलाई अस्तित्वको ज्ञान समेत थिएन भन्दा हुन्छ।”
शिकारको याम शुरू भएको अवसरमा माक्वेस डे बर्टानले आयोजना गरेको भोज सकिन लागेको थियो। माक्वेस र पाहुनाहरू विशाल डाइनिङ टेबलको वरिपरि बसेर झुम्दै गफिइरहेका थिए। फूलका गुच्छा र फलहरूले सजिएको थियो टेबल।
कुराकानी अचानक प्रेमतिर मोडियो। मान्छे जीवनमा एकै पटक मात्र प्रेममा पर्छ कि बारम्बार फस्छ भन्ने तातो बहस शुरू भयो। जीवनमा केवल एक पटक गम्भीर प्रेममा पर्ने र पटक पटक मायाको चक्करमा परेकाहरूको उदाहरण प्रस्तुत गरियो। समग्रमा, पुरुष जतिले पटक पटक प्रेममा पर्न सकिने बताए भने महिलाहरूले साँचो प्रेमको टुसा जीवनमा एक पटक मात्र पलाउने कुरामा जोड दिए।
अनेकौं पटक प्रेममा परिसकेका माक्वेसले महिला वर्गको यो विचारमा विमति प्रकट गर्दै भने, “म यहाँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने मानिसले जीवनमा धेरै पटक हृदयको उही गहिराइबाट उत्तिकै सामथ्र्यका साथ प्रेम गर्न सक्छ। दोस्रो पटकको प्रेमको सम्भावना नकार्न तपाईंहरू प्रेमका खातिर ज्यान फालेका मान्छेहरूको उदाहरण दिन सक्नुहुन्छ। जवाफमा म के भन्छु भने ती मानिसले ज्यानै फाल्नेसम्मको मूर्खता नगरेको भए उनीहरूले पहिलो वियोगको पीडाबाट बिस्तारै मुक्त भएर फेरि नयाँ प्रेम शुरू गर्न सक्ने थिए। खासमा, प्रेमीहरू त जँड्याहा जस्तै हुन्छन्। मातेको मान्छेले फेरि जसरी पिउँछ, त्यसरी नै एक पटक प्रेममा परेको मान्छे फेरि प्रेमी बन्छ। वास्तवमा यो त मानव स्वभाव र मिजासको कुरा हो।”
माक्वेसको तर्कपछि विवाद समाधानार्थ डाक्टरलाई अनुरोध गरियो। उनी पेरिस शहरको जागीरे जीवनबाट निवृत्त भई गाउँ आएर बसेका थिए। यद्यपि उनीसँग पनि प्रेमबारे प्रस्ट उत्तर थिएन।
डाक्टर भन्न थाले, “माक्वेस महोदयले भन्नुभए जस्तै यो एउटा मिजास र प्रवृत्तिको कुरा हो। त्यै पनि, मलाई प्रेमको एउटा यस्तो कथा थाहा छ, जुन ५५ वर्षसम्म निरन्तर चल्यो र मृत्युपछि मात्र समाप्त भयो।”
डाक्टरको बयान सुनेर मासनेस (लेडी माक्वेस)ले बिस्तारै ताली बजाउँदै भनिन्- “वाऽऽ कति सुन्दर! प्रेमको कस्तो सम्पूर्णता!! कत्रो सुखानुभूति!!! यतिविघ्न प्रेरणादायी आराधना कसको होला त हँ?”
डाक्टर मुसुक्क मुस्कुराए अनि भन्न थाले, “म्याडम, तपाईं ती दुवैलाई राम्ररी चिन्नुहुन्छ। ती सौभाग्यशाली पुरुष हाम्रै केमिस्ट (रसायनहरूको मात्रा मिलाएर औषधि बनाउने विज्ञ) श्रद्धेय श्री चोउक्वेट हुनुहुन्छ। नारी पात्र चाहिं कुर्सी मर्मत गरिहिंड्ने तिनै महिला हुन्, जो वर्षैपिच्छे यस गाउँमा आउँथिन्। म यो कथा सविस्तार सुनाउने अनुमति चाहन्छु।”
डाक्टरको कुरा सुनेर भद्र महिला वर्गको उत्सुकता अचानक धराशायी भए जस्तो भयो। उनीहरूका सुकोमल मुहारमा अप्रिय भाव उत्पन्न भए, मानौं प्रेम जस्तो उच्चस्तरको अनुभूति कुलीन र धनवान्हरूले मात्र गर्नुपर्छ।
तर डाक्टर रोकिएनन्, “तीन महीनाअघि ती महिलाको मृत्युशय्यामा मलाई पनि डाकिएको थियो। तिनले घरका रूपमा प्रयोग गर्दै आएको बग्गी तपाईंहरूले देख्नुभएकै हो। तिनी त्यही बग्गीमा आएकी थिइन्। तिनको मित्र र रक्षकका रूपमा रहेका दुई ठूल्ठूला काला कुकुर सँगै थिए। पादरी तिनको छेउमा उभिएका थिए। पादरी र मलाई तिनले आफ्नो इच्छाको तामेलकर्ता बनाउन चाहेकी रहिछन्। उनले ‘अन्तिम इच्छा’ स्पष्ट पार्न आफ्नो पूरै जीवनकथा हामीलाई सुनाइन्। त्यसअघि मैले यति मर्मस्पर्शी कथा कहिल्यै सुनेको थिइनँ।”
डाक्टरका अनुसार गाउँ पस्ने सडक छेउछाउ बस्थ्यो तिनको परिवार। कुर्सी मर्मत गर्नु आमाबाबुको पेशा भएकाले तिनको बसाइ सधैं एउटै घरमा भएन। तिनी मैलाधैला भएर हिंड्थिन्। घोडालाई बग्गीबाट खोलेर चर्न छोडिन्थ्यो। कुकुर पञ्जाले टाउको छोपीवरी डल्लो परेर निदाउँथ्यो। ती बच्ची चाहिं चौरमा लडीबडी खेल्थिन्।
छोरी खेल्दै-डुल्दै अलि टाढा पुगी वा गाउँका भुराभुरीसँग मित्रता गाँस्नतिर लागी भने बाबु चाहिं रिसाएर जोडले कराइहाल्थ्यो, “ए दुष्ट, तुरुन्त यहाँ मर्!”
बाबुआमा सडक किनारको एल्म रूखका छहारीमा बसेर थोत्रा कुर्सीहरू मर्मत गरिरहेका हुन्थे। पाङ्ग्रावाल घरमा डुलिहिंड्ने त्यस परिवारमा ज्यादै कम शब्द आदानप्रदान हुन्थ्यो।
छोरी खेल्दै-डुल्दै अलि टाढा पुगी वा गाउँका भुराभुरीसँग मित्रता गाँस्नतिर लागी भने बाबु चाहिं रिसाएर जोडले कराइहाल्थ्यो, “ए दुष्ट, तुरुन्त यहाँ मर्!”
ती बच्चीले मायाका रूपमा सुन्ने शब्दहरू यस्तै हुन्थे। ठूली हुँदै गएपछि तिनलाई गाउँ छेउछाउ थोत्रा कुर्सीहरू बटुल्न पठाउन थालियो। यस्तै मौकामा तिनी गाउँका किशोर-किशोरीसँग चिनजान गर्न खोज्थिन्। तर नयाँ साथीहरूका बाबुआमाले तिनीसँग नजिकिन नदिन आफ्ना छोराछोरीलाई गाली गर्थे, “ए बदमास, यहाँ आइहाल्। घर न थरको आवारासँग हिंडेको देख्न नपरोस् है!”
कहिलेकाहीं उनलाई ससाना केटाहरूले ढुंगाले हान्दै लखेट्थे। कोही कोही वेला गाउँका दयालु महिलाले तामाका टुक्रा दिन्थे। त्यसलाई उनी बडो जतनसाथ संग्रह गर्थिन्।
उनी ११ वर्षकी हुँदा एक दिन बग्गीवाला परिवार यही गाउँ नजिक आइपुगेको रहेछ। त्यही परको चिहानघारी पछाडि उनले चोउक्वेटलाई रोइरहेको देखिन्। खेल्ने साथीले उसको पैसा चोरेकोे थियो। हेपिएको त्यो फुच्चे केटो आँसु आँसु भएको थियो। ती केटीको कलिलो दिमागले त्यो केटो जस्तो वर्गका मान्छेहरू सधैं खुशी र सन्तुष्ट हुन्छन् भन्ने ठानेको थियो।
तिनी केटो छेउ गइन्। रुनुको कारण बुझेपछि तिनले आफ्नो सम्पूर्ण बचत उसको हातमा राखिदिइन्। सात सउस (फ्रेन्च फ्रांकको एकाइ) पाएपछि उसले आँसु पुछ्यो। यो देखेर तिनी खुशी भइन् र अज्ञात प्रेरणाले उसलाई चुम्बन गर्ने साहस गरिन्। पैसा पाएको हुनाले केटाले पनि कुनै विरोध गरेन। तिनले उसलाई आफ्नो सानो पाखुराले कसिन् अनि अनुरक्त हुँदै फेरि चुम्बन गरिन्। त्यसपछि एकाएक भागिन्।
ती फुच्चीको दिमागमा कुन विचार थियो होला? कुन भाग्यले तिनलाई अरू केटाकेटीतर्फ जोडेको थियो होला? कुन अनुभूतिले गर्दा तिनले चुम्बन गरिन्? आफ्नो सम्पूर्ण सम्पत्ति सुम्पेकाले कि प्रेमको पहिलो अनुभूतिले? वयस्क र केटाकेटीको चुम्बनको रहस्य एउटै हुन्छ?
एक दिन उसलाई स्कूल पछाडि साथीहरूसँग गुच्चा खेलिरहेको पाउँदा तिनले झटपट गरेर अँगालोमा कसिन् र यति आवेगपूर्ण चुम्बन गरिन् कि केटो आत्तिएर रुन थाल्यो।
त्यसपछिको महीनौंसम्म तिनले चिहानघारी छेउमा भेटिएको त्यो केटालाई सम्झिरहिन्। ऊसँग कतै भेट भइहाल्छ कि भनेर आमाबाबुको खल्तीबाट एक-दुई सउस चोर्थिन्। ग्राहकबाट उठेको पैसा र किनमेल गर्दा केही सउस लुकाउँथिन्।
अर्कोपटक भेट हुँदा तिनीसँग दुई फ्रांक जम्मा भएको थियो तर केटालाई एक झल्को हेर्न मात्र पाइन्। ऊ निकै छाँटिलो भएर आफ्नो बुबाको औषधि पसलको झ्यालमा बसेको थियो। तिनले उसलाई एउटा ठूलो काँचको भाँडो र मरेका जुकाहरू राखेको स्पिरिटको बोतलबीचमा बसेको देखिन्। रंगीन पानी र चमकदार काँचको तिरिमिरीमा तिनले केटालाई अरू धेरै माया गरिन्। तिनको सानो मुटुमा उसको सम्झना कहिल्यै नहराउने भयो।
अर्को वर्ष एक दिन उसलाई स्कूल पछाडि साथीहरूसँग गुच्चा खेलिरहेको पाउँदा तिनले झटपट गरेर अँगालोमा कसिन् र यति आवेगपूर्ण चुम्बन गरिन् कि केटो आत्तिएर रुन थाल्यो। उसलाई शान्त बनाउन तिनले आफूसँग भएको सारा पैसा दिइन्। ऊ पनि आफ्नो हातमा परेको तीन फ्रांक चार सउस देखेर दंग पर्यो, अनि तिनलाई धीत मरुन्जेल चुम्बन गर्न दियो।
त्यसपछिको चार वर्षसम्म तिनले आफ्नो सम्पूर्ण बचत उसको हातमा राख्दै गइन् अनि चुम्बन गर्दै रहिन्। कोही वेला ३० सउस हुन्थ्यो भने कोही वेला तीन फ्रांक। कोहीकोही वेला १२ सउस मात्र हुन्थ्यो।
त्यस अवधिमा तिनले अनेकन् पीडा र अपमानको आँसु पनि पिइरहिन्। दुर्भाग्यको समय थियो। अन्त्यमा उनी पाँच फ्रांक र एउटा ढक्का दिन सफल भइन्। त्यो सफलताप्रति तिनी ज्यादै गदगद भइन्।
चोउक्वेट पनि केही हदसम्म तिनलाई पर्खेर बस्न थालेका थिए। तिनलाई देख्नासाथ दौडेर छेउमा जान्थे। यो देख्दा तिनको हृदय पुलकित हुन्थ्यो।
त्यसको केही समयपछि चोउक्वेट अचानक हराए। अनेक तरहको चलाखीपूर्ण सोधीखोजीपछि तिनलाई थाहा भयो- केटालाई स्कूल सारिएको रहेछ। तिनले बडो चतुर्याइँका साथ बाबुआमालाई केटाको स्कूल रहेको क्षेत्रतिर काम गर्न जान कर गर्न थालिन्।
“यो सम्पूर्ण संसारमा मेरा लागि एक मात्र पुरुष उनी थिए। अरूको त मलाई अस्तित्वको ज्ञान समेत थिएन भन्दा हुन्छ।”
अन्त्यमा तिनी सफल भइन्। यो योजना बनाउन पूरै एक वर्ष लागेको थियो भने केटासँग भेट नभएको दुई वर्ष बितिसकेको थियो। भेट हुँदा तिनले उनलाई मुश्किलले चिन्न सकिन्। उनी धेरै बदलिसकेका रहेछन्। चेहरा अझ सुन्दर भएछ। सुनौलो टाँकवाला ज्याकेटले औधी सुहाएको थियो। तर उनी नचिने झैं गरेर ठाँटसँग टाउको हल्लाउँदै बाटो काटेर हिंडिदिए। तिनी दुई दिनसम्म रोइन्। त्यसरी शुरू भएको तिनको पीडा र वेदना मृत्युपछि मात्र सकियो।
प्रत्येक वर्ष तिनी त्यही ठाउँमा जान्थिन् तर बाटोमा भेट हुँदा बोल्ने आँट आउँदैनथ्यो। चोउक्वेट चाहिं तिनीतिर फर्केर हेर्नु पनि गलत हो झैं ठान्थे। तिनको व्याकुल हृदय भने उनैमा अल्झेको थियो।
तिनले भनेको कुरा डाक्टरले सुनाए, “यो सम्पूर्ण संसारमा मेरा लागि एक मात्र पुरुष उनी थिए। अरूको त मलाई अस्तित्वको ज्ञान समेत थिएन भन्दा हुन्छ।”
आमाबाबुको मृत्युपछि तिनले आफ्नो व्यवसाय अघि बढाइन्। एउटाबाट बढाएर दुइटा कुकुर पालिन्। ती ज्यादै खतरनाक थिए। तिनको छेउमा पर्ने हिम्मत कसैले गर्दैनथे।
आफ्नो मुटु छोडिएको ठाउँमा फेरि एक दिन जाँदा औषधि पसलमा तिनले एउटी केटी देखिन्। पसलबाट निस्कँदै गरेकी त्यस केटीले चोउक्वेटको हात समातेकी थिई। उनको विवाह भइसकेको रहेछ।
त्यसै रात तिनले टाउनहल नजिकै रहेको पोखरीमा हाम फालिन्। तर अबेर घर फर्कंदै गरेका जँड्याहाहरूले तिनलाई निकालेर केमिस्टको पसलमा पुर्याइदिए। चोउक्वेट आएर पानीले भिजेको उनको कपडा फुकालिदिए। नचिनेको स्वाङ पार्दै मालिस पनि गरिदिए अनि रूखो स्वरले भने, “तिमी पक्कै बौलाही हौ। कस्ती मूर्ख!”
तिनलाई आफ्नो चित्त बुझाउन यत्ति नै पर्याप्त भयो। उनले कमसेकम बोली त दिए! यसैमा तिनी धेरै समयसम्म खुशी भइरहिन्। तिनले धेरै नै कर गरेकी थिइन् तर उपचारको पैसा लिन उनले ठाडै अस्वीकार गरिदिए।
यसो गर्दागर्दै उनको जोवन बितेर गयो। दिनभर कुर्सी मर्मत गर्दै चोउक्वेटलाई सम्झिरहन्थिन्। हरेक वर्ष औषधि पसलको झ्यालमा उनलाई हेर्थिन्। सामान्य खालका औषधिहरू किन्न जान्थिन् पनि। यसरी तिनी उनलाई नजिकबाट हेर्थिन्, बोल्थिन् र पुराना दिनहरूमा जस्तै पैसा दिइरहन्थिन्।
मोटोघाटो र रातोपिरो अनुहार भएको त्यो जोडी जीवनसँग निकै सन्तुष्ट देखिन्थ्यो।
“तिनी यही वसन्त कालमा मरेको कुरा मैले अघि नै भनिसकेको छु,” डाक्टरले भने, “यो करुण कथा सुनाउनुभन्दा अगाडि तिनले मलाई आफूले जीवनभरि अत्यन्तै श्रद्धा र विश्वासका साथ प्रेम गरेको त्यो मान्छेलाई भेटिदिन अनुरोध गरिन्। उनी तिनको जीवनको सर्वोत्कृष्ट निधि थिए। तिनी केवल उनका निम्ति बाँचेकी थिइन्। तिनले उनकै निम्ति काम गरेकी थिइन्। आफू मरेपछि नै सही, कमसेकम एकपटक त उनले सम्झनेछन् भनेर भोकभोकै बसेर भए पनि उनका लागि केही पैसा बचाएकी रहिछन्।”
तिनले डाक्टरलाई कुल दुई हजार ३२७ फ्रांक दिइन्। अन्त्येष्टि खर्चका लागि २७ फ्रांक पादरीलाई छाडेर हिंडेका डाक्टर भोलिपल्ट चोउक्वेटको घरमा पुग्दा दम्पती खाना खाँदै थिए।
मोटोघाटो र रातोपिरो अनुहार भएको त्यो जोडी जीवनसँग निकै सन्तुष्ट देखिन्थ्यो। उनीहरूले डाक्टरलाई मदिराले स्वागत गरे। त्यसपछि भावावेगले काम्दो स्वरमा डाक्टरले आफ्नो कुरा शुरू गरे। अब तिनीहरूको आँखामा सागर उर्लेर आउनेछ भन्ने उनलाई लागिरहेको थियो।
तर थोत्रो कुर्सी मर्मत गर्दै हिंड्ने त्यो घुमन्ते महिलाले उनलाई आफ्नो अनन्त प्रेमी बनाएकी थिई भनेर बुझ्ने बित्तिकै क्रुद्ध भएर चोउक्वेट जुरुक्क उठे। यस्तो लाग्थ्यो, मानौं ती महिलाले चोउक्वेट जस्ता खानदानी मान्छेको सुनाम, सम्मान, अहम् र इज्जतमाथि नै बलात् प्रहार गरेकी थिइन्।
चोउक्वेट टेबल ठोक्दै वरिपरि घुम्न थाले। उनको टोपी एकापट्टि कानतिर ढल्केको थियो। उनी कड्किए, “यस्तो वाहियात कुरा पनि कहीं हुन्छ? कस्तो घिनलाग्दो! त्यो आइमाई नमरी नै यो कुरा सुनेको भए त्यसलाई जेल पठाइदिन्थें। अनि चाख्ने थिई त्यसले!”
उनी विस्फोटनको अवस्थामा देखिएपछि डाक्टरले ती दिवंगत महिलाले केवल चोउक्वेटका निम्ति बचाएर राखेको दुई हजार ३०० फ्रांकको प्रसंग उठाउँदै आफूले उक्त नासो बुझाउन चाहेको तर त्यस कुराले उनको अहम्मा ठेस पुगेकाले माफी माग्दै त्यो पैसा गरीबहरूलाई बाँडिदिने कुरामा सहमति मागे।
डाक्टरको कुरा सुनेर उनीहरू अवाक् बने। उनीहरू ट्वाल्ल परिरहेकै वेला डाक्टरले गोजीबाट पैसा निकालेर अन्तिम विचार जान्न खोजे।
“ठीकै छ, त्यो आइमाईको अन्तिम इच्छा नै हो भने कसरी नाइँ भन्नु त !” पहिले श्रीमती चोउक्वेटले नै मुख खोलिन्। त्यसपछि श्रीमान् चाहिंले अलिकति लजाउँदै भने, “हामी यो रकम... अँ, ठीकै छ, केटाकेटीहरूको भलो हुने काममा खर्च गर्न सक्छौं।”
डाक्टरले जस्तो उचित लाग्छ, त्यसै गर्न सल्लाह दिएपछि चोउक्वेटले भने, “ल, ठीक छ। उसैले भनेकी हो भने रकम हस्तान्तरण गर्दा हुन्छ। हामी त्यसलाई कुनै उपयुक्त काममा खर्च गरिदिउँला।”
पैसा दिएर डाक्टर आफ्नो बाटो लागे। भोलिपल्ट उनको घरैमा आएर चोउक्वेटले सोधे, “त्यो महिलाले बग्गी यहाँ छोडेकी रहिछ, त्यसलाई तपाईं के गर्नुहुन्छ?”
“चाहिएको छ भने त्यो पनि लैजानुभए हुन्छ।”
“फूलबारीमा सानो टहरो बनाउनु थियो, त्यसैले...।”
चोउक्वेट जाँदाजाँदै डाक्टरले ती महिलाले एउटा बूढो घोडा र दुइटा कुकुर पनि छोडेको बताउँदै चाहिन्छ कि भनेर सोधे।
उनले आश्चर्य मान्दै डाक्टरतिर हेरे, “मलाई किन चाहियो र? जे गर्नु छ तपाईं नै गर्नुस्।”
“एउटै गाउँमा बस्ने डाक्टरले केमिस्टसँग मित्रता गर्नैपर्यो। हामीले बिदाको हात मिलायौं। कुकुरहरू मसँगै रहे। पादरीको आँगन फराकिलो थियो, घोडा उता गयो। बग्गी लगेर चोउक्वेटले बगैंचामा टहरा बनाउनुभयो, पैसाले चाहिं रेल्वे कम्पनीको शेयर किन्नुभयो। मलाई थाहा भएको सर्वोत्कृष्ट प्रेमको उदाहरण यही हो।”
यति भनेर डाक्टर शान्त भए। अश्रुधारा बगाइरहेकी मासनेसले सुस्केरा छाड्दै भनिन्, “यो कथाले स्वास्नीमान्छेले मात्र सच्चा प्रेम गर्न जानेकी हुन्छ भन्ने प्रमाणित गर्छ।”
(‘द ग्रेट लभ स्टोरिज्’मा संग्रहित फ्रान्सेली कथाकार गी द मोपासाँको ‘द चेयरमेन्डर’ कथाको भावानुवाद। अनुवादक: समथिङ साइला)
हिमाल दशैं साहित्यका थप सामग्री: