सपना विपनाको विरुद्धमा (कविता)
सपनामा-
भीर-पहराको फेदमा रोइरहेको हुन्छु
छाबुक्लाहरूमा दिवङ्गत नानीहरूको हाडखोरसँगै रुङरी खोजिरहेको हुन्छु
पहिरोको धारमा भयभीत एक्लै उभिरहेको हुन्छु
इन्द्रेणीको धनुकाँड भिरेर
खोलाको जँघारमा बाढी पर्खिरहेको हुन्छु।
हुन्छन् कति
डाँडा, हिमचुली र अग्ला अग्ला पर्वतमाला...
जहिल्यै म
गहिराइमा हराइरहेको हुन्छु।
खरुकि जुनी-
एकलास पखेरामा
डढेलोले निहत्था सल्किरहेको हुन्छु
चीत्कार घोलिएर निस्लोट धुवाँ म
आकाशिइरहेको हुन्छु।
सपनामा-
निर्जन चिहानघारीमा
डाँको छाडेर रुँदै घोप्टिरहेको हुन्छु
औंला काटेर रगतले
चौतारमा तिम्रो चित्र कोरिरहेको हुन्छु
प्रत्येक ॠतुभरिका रङ बटुलेर
यादको बेदाग क्यानभासमा
आफ्नो आँसु पोखिरहेको हुन्छु।
सपनामा-
जुलूसबीचमा आकाशतर्फ मुठी उज्याइरहेको हुन्छु
हातमा मशाल समातेर चर्का नारा लाउँदै तूफान दौडिरहेको हुन्छु
शहीद पार्कमा एक अज्ञात प्रतिमा सोधिरहेको हुन्छु
प्रतिमामा नलेखिएको एउटा अन्तिम नाम खोजिरहेको हुन्छु।
सपनामा-
म भागिरहेको हुन्छु
हारिरहेको हुन्छु
एउटा वियोगान्त अतीत जलाइरहेको हुन्छु
मुटु खाने यादहरू काट्न
आफ्नै हात अर्जापिरहेको हुन्छु।
मलाई मात्रै सधैं किन यस्तो हुन्छ सपनामा?
अब म सपनाको विरुद्धमा उभिन्छु!
विपनामा-
रक्सीले नुहाइदिन्छु म प्रत्येक वृद्ध साँझलाई
मातेपछि प्रिय साँझ-
बेपरवाह कुल्चँदै मेरो संवेदनालाई
सरापिरहेका हुन्छन् शुभेच्छुकहरू
निर्बाध थुक्दै मेरो निरीहतालाई
चिथोरिरहेका हुन्छन् वैरीहरू।
सम्झाएर उठाउँछु
लम्पसार भुइँमा पस्रिरहेको आफूलाई
आफ्नै मन दुश्मनी मोलेर दागा धर्दै मलाई
पर-पर भागिरहेको हुन्छ।
गुम्बा वरपर
बतासमा नृत्यरत लुङ्दरहरूले आँखा छोप्न नसकेर
पहेंलिंदो घामको अस्ताउँदो अनुहारमा
आफ्नो छाया टाँग्न नसकेर
अब म ठीक यति वेला
यो विद्रूप परिवेश च्यातेर निस्किएको छु बाहिर
यद्यपि-
यात्रा आफ्नै भएर के गर्नु
गन्तव्य अर्कैको भइदिन्छ
आँखा आफ्नै भएर के गर्नु
आँसु अर्कैको जमिदिन्छ
घाउ आफ्नै भएर के गर्नु
जब पटक पटक अरू नै बल्झिदिन्छ।
मेरै मात्र किन यस्तो भइदिन्छ विपना?
म अब विपनाको विरुद्धमा छु!
शब्दार्थ:
छाबुक्ला: मृत बच्चा (दाँत नउम्री मृत्यु भएका)हरूलाई राख्ने ओढार।
रुङरी: सातो
हिमाल दशैं साहित्यका थप सामग्री: