अनुहार (कथा)
कापेन सुबेदारतिर फर्कंदै गम्भीर बन्यो, “शिर त मेरो आमाको ढलेको छ। कसले उठाउँछ मेरो आमाको शिर? मरेको समाजले कि यो गर्जमानले?”
“त्यसको अनुहार हेर्नै नपरोस् आमा,” निभेको अगुल्टोले चिसो अगेनो उधिन्दै कापेन बोल्यो। कापेनको आँखामा भने फिलिङ्गो थियो।
“थला परेको छ अरे। निकै कष्ट काट्दै होला,” एक हातमा छपनी लिएर आमाले घैलाको बिर्को खोलिन्। छिप्पेको जाँडको हरक उनको नाकमा पस्यो।
“त्यो पापी सहजै मर्न पाउँदैन,” कापेनले चिम्सा आँखा छपनी हल्लाइरहेकी आमातिर सोझ्यायो।
आमाको हातको छपनीमा छोक्रा छानिएर जाँडपानी बटुकोमा खसिरहेको थियो।
“त्यो पापीलाई काँध थाप्न जान्नँ म।”
“जा, गएर त्यसको मुख हेर्। त्यसमा अलिकति लाज-शरम देखिन्छ कि!” बटुको कापेनतिर सारिदिंदै आमाले आदेश दिइन्।
***
कापेनले गर्जमानको आँगन हेर्यो। बर्खायाम न हो, बेकामे झारहरूले आँगन ढाकेको थियो। अरुको आँगनमा भने फूलहरूको हरियाली र उल्लास थियो। उसले मनमनै भन्यो, “सुम्निमाले छाडेको आँगन यस्तै हुन्छ।”
गर्जमानको आँगनमा अकस्मात् कापेनलाई देखेर सुबेदार झस्कियो।
दुई दिनको चर्को घामले वर्षादलाई चुनौती दिएको थियो। बर्खायाममा पानीको हिरा र कुहिरोको चाँदी टाँगिएकै सुहाउँछ, घामको सुन टल्किनुको के महत्व! तर, आज हिरा खस्ने कि सुन टल्किने, यसै भन्न कठिन थियो।
अहिलेसम्म तारेभीर टेक्नुपर्ने घाम देखिएको थिएन। हिजो छाडी अस्ति त्यही डाँडा उक्लेर घामले मसाल बालेको थियो। आज भने घामको बाटोमा बादलको सफेद पर्खाल देखियो।
“सावा खोला बौला’को छ, घोरेटो समात्नुपर्छ होला है,” बादलतिर हेर्दै लब्बे बोल्यो।
“पैला बूढाको हाल हेरूङ् न,” लब्बेको कानमै मुख लगेर हुकुम फुसफुसायो।
“बढी बाठो नबन्, बूढाले सुन्ला। म त तगडै देख्छु,” लब्बेले हल्का प्रतिवाद गर्यो।
“पानीसँग जोरी नखोजुङ् गाँठे! भञ्ज्याङ हुँदै जानुपर्छ। चार ठाउँ खोला भाँचे कोशी पुगिन्छ,” नीरकुमारले परिपक्वता देखाउन खोज्यो।
सुमनले छत्रको घरबाट सखुवाको हरिस ल्यायो। छत्रले उसको आमा बोक्ने वेला हरिसलाई अझ छरितो बनाएको थियो। र, अहिले यो हरिस अनिवार्य आवश्यकता बन्न पुगेको थियो।
नीरकुमारले मैलो तन्ना कापेनतिर हुर्याउँदै भन्यो, “हरिसमा तन्ना कस् त।”
एक्कासी आइपरेको अवस्थाले कापेनलाई के गरुँ कसो गरुँ पार्यो। हातमा आएको तन्नाको ह्वास्स गन्ध अटेसमटेस हुँदै उसको नाकदेखि गिदीसम्म पुग्यो।
“डोेरी फेर्नु नपर्ने हो?” कापेनको हातबाट तन्ना थुत्दै हुकुमले सोध्यो।
“लोक्ताको डोरी रै’छ, किन फेर्नुपर्यो! छत्रको आमा थाम्ने यै लोक्ता हो,” कापेन बोल्यो।
आङ तन्काउँदै हुकुमले हुकुम गर्यो, “मधौरो ढाक्ने बर्कोसर्को चाहियो।”
“बर्को होइन, कपडा दोकानबाट अरु नै चिज मगाए हुन्छ”, कापेन भुतभुतायो।
***
तयार भएको झोलुंगोलाई आँगनमा तेस्र्याएर नीरकुमारले सरसर्ती नियाल्यो। हरिस, तन्ना, लोक्ताको बन्धन सबै ठीकठाक थियो। त्यही वेला तीनघरेबाट उपेन्द्र आइपुग्यो।
“लु, सबैले अलि-अलि घाँटी भिजाङ्। घामले डाँडा टेक्नुभन्दा अगाडि नै हामीले कोशी टेक्नुपर्छ”, जाँडको बटुको उचाल्दै नीरकुमार बोल्यो।
शुरूमा हुकुम र कापेनले झोलुंगो उचालेर काँधमा हाले। गर्जमानको ज्यान कापेनले सोचेभन्दा गह्रौं थियो।
“मान्छे भए पो हलुङ हुन्छ, ढुंगा बोक्नु छ!” कापेनले हुकुमलाई भन्यो। हुकुमले सुनेन सायद, केही बोलेन। उसको सास फुलेको चर्को सुनियो बरु।
नर्कटे नकटेसम्म गाउँलेहरुले झोलुंगो हेर्दै मधौरोको कुशलक्षेमको कामना गरिरहे।
गर्जमानको आँखाको ढकनी माथितिर तानेर नियाल्दै अहेबले भने, “पेसेन्ट सिरियस देखियो, बुझ्नुभो!”
नजिक पुग्दा थाहा भयो, रातभर चलेको आँधीले स्वास्थ्य चौकीको छानो उडाएछ। भएका दुई कोठाको भित्ताको गालाबाट लिउनको पाउडर उडेको थियो। पानी दर्किए यसको हालत अझ खराब हुने पक्का थियो।
अहेब साह रेकर्ड र टिपोटहरू जम्मा गर्दै थिए। हुकुम र लब्बेले एक कान्लामाथि नै बिरामी बिसाएर अहेबलाई बोलाए। गर्जमानको आँखाको ढकनी माथितिर तानेर नियाल्दै अहेबले भने, “पेसेन्ट सिरियस देखियो, बुझ्नुभो!”
स्वास फेर्दा बिरामीको घाँटीमा घ्यार...घ्यार भएको टड्कारो सुनियो।
“ब्रेथिङमा समस्या छ”, अहेबले भने, “ल सुन्नुस् त उहाँको सास।”
“विहानसम्म बूढा ठीकै थ्यो,” नीरकुमारले बतायो।
“उहाँलाई जिल्ला लाँदै हुनुहुन्छ?” अहेबले सोधे।
“हैन, विराटनगर लान्छौं। जिल्ला (दिक्तेल)भन्दा मधेश नजिक छ,” सुबेदारले भन्यो।
अहेब साहको आँखा चम्कियो।
“नोबेलमा बहुत अच्छा उपचार हुन्छ,” झोलुंगो उठाउन सघाउँदै उनले भने, “बरु म पनि यताबाट पेसेन्ट आउँदै हुनुहुन्छ भनेर फोन गरिदिन्छ।”
***
“आबो काँध फेर्नु यता मुन्ट है!” हुकुम चिच्यायो।
छत्रको आमाभन्दा धेरै लम्बाचौडा गर्जमानको ज्यान अचाक्ली गह्रौं भइरहेको थियो।
“लु बूढो हड्डीलेम् सुख पाएन,” अगाडी सर्दै सुबेदारले भन्यो।
“छोरोलाई अरब खेद्यौ, अब काँध खियाऊ बूढा,” नीरकुमार जिस्कियो।
“नकरा मुला, जिन्दकी चल्नुपरेन?” वोलीको वाक्यभन्दा लामो चल्यो उसको खोकी ख्वाक.....ख्वाक...ख्वाक।
“बूढा बोक्छ किस्नेको भाग, म बोक्छु सरोजेको भाग। हाहाहाहा...,” लब्बेले खित्का छाड्यो।
आँखा खोल्दा नाङ्गो आकाश मात्र देख्यो। लाग्यो- ऊ नदीको छालमा बज्रँदै बग्दै छ। पानीको लहरले घिसार्दै छ।
रानीवन कट्यो। वन छेउको ढिस्कोबाट खोंचमा बगिरहेको सावा खोला देखियो। पूर्वतिर कालोमैलो बादल बाक्लिदै थियो।
“यताबाट हिंन्नै छाडे मान्छेहरू। बाँदर लड्ने बाटो,” भीरको खिरिलो बाटो हेर्दै सुमन बोल्यो। हुकुमको आँखा उसको अनुहारतिर सोझियो। यही भीरबाट हुकुमको बाउ आफ्नै ढाकरले ठेलिएर सावा खोलामा खसेको थियो, ५० सालतिर।
“बाबै हो! आपाहरू नुन लिन फत्तेपुर झर्ने बाटो यै हो है।”
“उइले कम्ता दुख्ख थियो!”
“अइले चैं कहाँ छ र सुख्ख!”
“तै हिउँदमा हिन्नुपर्दैन, खोलैखोला गए भो।”
“खच्चर हिन्दा तैबिसेक देखिन्थ्यो बाटो।”
“अनि माटै खच्चर गनाउने, हावै खच्चर गनाउने।”
“चामलै खच्चर गनाउने!”
“खच्चरको गन्धभन्दा बाउहरूको पसिना मीठो हकी?”
“खच्चरले ढाकर खोस्यो।”
“अनि ढाकर बोक्नेहरू भोकै हुन थाले।’
“अनि छोराहरू अरब जान थाले।’
***
पैतालाहरूको संगीतमा कोरस गुञ्जिरह्यो।
ओरालोमा झोलुंगो मच्चिन थालेपछि गर्जमान झस्कियो। उसले मानिस बोलेको आवाज मधुरो सुन्यो, निकै नै मधुरो। कसले के बोल्दै छ, पत्तो पाउन सकेन। उसले आँखा खोल्दा नाङ्गो आकाश मात्र देख्यो। लाग्यो- ऊ नदीको छालमा बज्रँदै बग्दै छ। पानीको लहरले घिसार्दै छ। नदीले उसको जीवन केही छिनमै खत्तम गर्नेछ। अनि उसले आँखामाथि हिंडिरहेको कुहिरो कहिल्यै देख्न पाउनेछैन।
***
कापेन उमाको पेटमा थियो। त्यो खबरले गर्जमान त्यति खुशी हुनेछ भन्ने उमालाई लागेको थियो, जति खुशी उसले आफूलाई बुधबारे हाटबाट फकाएर ल्याउँदा भएको थियो। तर, सोचेभन्दा विपरीत उमाको गालामा चड्कन पर्यो। गर्जमानले कपाल लुछ्न हात लम्काउँदा लम्काउँदै उमा उम्किएकी थिइन्। त्यसपछि उसले हानेको हरियो फर्सी उमाको ढाडमा बज्रिएर चार चिरा परेको थियो।
उमा दिनभरि मकैबारीभित्र बसिन्। धन्न आफ्नो दिन बलियो रहेछ भन्ने लाग्यो उनलाई। केही दिनदेखि उनलाई ज्यान जोगाउनै सकस परिरहेको थियो। दोजिया ज्यान।
उमा घर पुग्दा भीमे लाटालाई कुट्दै थियो गर्जमान। भीमेको नाकबाट रगत बग्दै थियो। उमाको आँखा तिर्मिरायो। दगुर्दै आएर भीमेलाई छुटाउन खोजिन्। त्यही वेला गर्जमानले उनको कपाल समात्यो।
एक मुठी कपाल पोक्याएर गर्जमानले उनलाई भुइँतिर घोप्ट्यायो। उमाले घोप्टिएरै देखिन्, गर्जमानको लात लागेर भीमे लाटा सिकुवाबाट आँगनमा पुगेको।
“मा झेक्नेहरु!” गर्जमान चिम्से आँखा चिमचिम पार्दै करायो र सुकाउन लागेको कपडाझैं गरी उमाको कपाल झट्कार्यो।
“मेरै घरमा तिमेर्को लसपस्!” गर्जमान गर्जियो।
उमा स्तब्ध बनिन्। काम्दै बोलिन्, “बौलायौ कि क्या हो! छरछिमेकीले सुने के भन्छ?”
कचहरी चल्यो। भीमे लाटाको पेट बोकेकी हुँ भनी उमालाई बकाउन कचहरी चलाइयो। प्रतिवादको निम्ति भीमे लाटासँग आवाज थिएन, उमालाई कसैले सुनेन।
“म बौलाएँ, था पाइस्। म बौलाएँ। देशलाई थाहा छ राँड, गाउँको कुरा गर्छस्।” गर्जमानले उमाको कपाल फनक्क बटार्यो। आँखा चिम्लेर घुँडाले पेटमा ड्याम्म बजायो। उमा भुइँमा थचक्क भइन्।
भीमे लाटा काम्दै गर्जमानको पाउ छुन आइपुग्यो। उसले दुई हात जोड्यो। बोलूँ आवाज छैन, भिडूँ तागत छैन। उसको छातीमा अर्को लात बज्रियो र सिकुवाबाट बलेसीमा पछारियो।
“तेरो नाठोको विन्तीभाउ देखिस्? हँ?” गर्जमानले फेरि उमाको कपाल मुठ्यायो र उनको अनुहार भीमे लाटातिर तेस्र्यायो। त्यही वेला उमाले आफ्नो कपाल थुत्न भ्याईन्।
गर्जमानको औंलाका चेपचापमा उमाको कपाल असरल्ल देखियो।
“भुँडी बोक्न मेरै गोठालो भेटिस्?,” गर्जमान गर्जियो।
“थुइया पशु!” उमाले गर्जमानको मुखैमा थुकिन्।
उसले नाक ताकेर हानेको मुड्की उमाको निधारमा बज्रियो। उमा ढुल्मुलिदै सिकुवाको पश्चिम कुना पुगिन्। गर्जमान मुड्की कस्दै नजिक आयो फेरि। उमाले छेउमै पल्टेको काठेपीरा टिपिन् र गर्जमानको निधारमा ड्याम्मै बजाइन्। एक छप्काइमै केराको बोट ढलेजसरी जमीनमा पसारियो गर्जमान।
उमाको डरलाग्दो रूप देखेर भीमे लाटा सुबेदारको घरतिर उक्लिँदै त्योभन्दा मास्तिर लाग्यो।
भोलिपल्ट गाउँलेहरू भेला भए, कचहरी चल्यो। भीमे लाटाको पेट बोकेकी हुँ भनी उमालाई बकाउन कचहरी चलाइयो। प्रतिवादको निम्ति भीमे लाटासँग आवाज थिएन, उमालाई कसैले सुनेन। बरु, लोग्नेलाई हात हालेर गाउँकै बेइज्जत गरेको भन्दै संगीहरू नै उनीमाथि खनिए।
‘यो आइमाईको पेटको पाठा मेरो हुँदै हैना’ भन्दै गर्जमान कराउँदा कचहरीमा सबैले टाउको हल्लाए।
“यत्रो वर्ष मेरो घरमा बस्यो,” खाउँला झैं गरेर उमातिर हेर्दै गर्जमान करायो, “यसलाई भस्मेको ग्वाली दिउँला, जे गर्छ गरोस्।”
त्यस घटनाबाट भीमे लाटा परित्यक्त अवस्थामा पुग्यो। हिजोसम्म ‘कति असल मान्छे’ भन्दै काममा कजाउने गाउँलेमध्ये कसैले आज उसलाई वास्ता गरेन। नाम, थर र ठेगाना नभएको ऊ चुपचाप गाउँबाट निस्कियो।
***
देउरालीमा सिमलसाकी (तरुल) र जाँड खाएपछि सुमन र लब्बे मधौरो बोकेर अघिअघि हिंडे। नीरकुमारले जाँडको पैसा तिरेर उनीहरूलाई पछ्यायो।
सुबेदार जुरुक्क उठ्दै कापेनतिर फर्केर बोल्यो, “मलाई तँ आउलास् जस्तो लागेको थिएन हौ।”
कापेनले भन्यो, “मलामी जानु छिमेकीको धर्म हो नि बाबै!”
सुबेदारले लामो सास फाल्दै भन्यो, “जीउँदो मान्छेलाई त्यसो नभन्नु हौ भतिज, शिर ढल्छ।”
सुमनले थर्मसको एक बिर्को पानी गर्जमानको मुखमा खसायो। तर, पानी मुखबाट भित्र गएन, ओठबाट घाँटीतिर बग्यो।
कापेन सुबेदारतिर फर्कंदै गम्भीर बन्यो, “शिर त मेरो आमाको ढलेको छ। कसले उठाउँछ मेरो आमाको शिर? मरेको समाजले कि यो गर्जमानले?”
केहि क्षणको मौतापछि सुबेदारले भन्यो, “आख्खेरिमा तँ गर्जमानकै छोरा होस् नि। त्यो त हामी सबैले जानेकै छुङ नि !”
“तपाईं गर्जमानको छोरा होस् तँ भन्नुहुन्छ, म कसरी पत्याऊँ? अझै छैन मेरो नागरिकता। गर्जमान मेरो बाउ कुन आधारले हो?”
त्यसपछि मौनता छायो। सुबेदारलाई कापेनको काँधमा हात राखेर भुलचुक माफ माग्न मन भयो, तर त्यसो गर्न सकेन। अलि अगाडी पुगेपछि सुस्तरी बोल्यो, “समय बद्लियो।”
कापेनले भन्यो, “तर म उस्तै छु।”
त्यसपछि दुवै बोलेनन्। बाटोसँग पाइला मात्र बोलिरह्यो।
सखुवाको पातमा तप-तप ओर्लन थाल्यो पानी। सुबेदार र कापेनमाथि पनि तप्कियो। उनीहरू मधौरो भेट्न दगुरे। उनीहरूले टाढैबाट देखे, झोलुंगोलाई नीरकुमारले प्लाष्टिकको छाना हाल्दै थियो। मधौरो बिसाएर आराम गर्ने समय थिएन।
नीरकुमार सुबेदारको कानमा फुसफुसायो, “बूढाको होश छैन है।”
धमिलो खोलामा उपेन्द्रको देब्रे खुट्टा चिप्लिहाल्यो। धन्न दाह्रा किटेर झोलुंगोलाई डुब्नबाट जोगायो। कापेनलाई अकस्मात लागेको थियो- उपेन्द्र लडेर खत्तम हुनेछ यो यात्रा। यस्तो सोच्दासोच्दै ऊ फुत्रुक्कै पानीमा पसेर हरिसको टुप्पो थाम्न पुगेको थियो।
उनीहरूले तीन ठाउँमा खोला तरे, कतै पनि फड्के थिएन। खोला यस्तो बौलाएको छ, जाबो फड्के के राख्थ्यो!
हिड्दाहिंड्दै पानी दर्कियो। हुकुमले गर्जमानलाई प्लाष्टिकले ढाकिदियो। कोशी किनार पुग्दा घाम डुबिसकेको थियो। कोशीको वेग टाढाबाटै धारिलो देखियो। चौदण्डीगढीतिर बादलका सेता पहाड ठडिंदै थिए। कोशी पारि दुई-चार घरका जस्ता टल्किए।
“अबेला भो, म पारि गएर गाडीको व्यवस्था गर्दै गर्छु”, सुबेदारको हातमा थर्मस थमाउँदै नीरकुमारले भन्यो।
बालुवामा मुश्किलले हिंडिरहेको वेला गर्जमानले केही भने जस्तो लागेर सुबेदारको कान चलाख भयो। झोलुंगोतिर फर्केर ऊ करायो, “हना, के भन्यौ दाजै?”
गर्जमानले झोलुंगो जमीनमा राख्न इशारा गर्यो।
“पानी खान्छौ ?” लब्बेले सोध्यो।
सुमनले थर्मसको एक बिर्को पानी गर्जमानको मुखमा खसायो। तर, पानी मुखबाट भित्र गएन, ओठबाट घाँटीतिर बग्यो।
गर्जमानले लटपटिएको जिब्रो चलायो, तर शब्द निस्केन।
“के भन्यौ नि दाजै, बुझिएन,” उसको सकस बुझेर कानैमा करायो सुबेदार।
नीलो आकाशमा तैरिएको सेता/काला बादल देख्यो गर्जमानले। अनि आफ्नै आँखा नजिक जम्मा भएका अनुहारतिर हेर्यो।
“मलाई चिन्यौ दाजै? म सुब्दार क्या!”
गर्जमानले मुन्टो हल्लाउन खोज्यो, चिनें भन्यो सायद। अनि उसको आँखा एक-एक अनुहारतिर डुल्यो। ति परिचित अनुहारहरू धमिलिंदै थिए। अन्तिममा उसको आँखा कापेनको आँखासँग जुध्यो। उसलाई त्यो आँखा-अनुहार चीरपरिचित, आफ्नैजस्तो सम्मोहक लाग्यो। तर, त्यो मौन पल निकै कष्टप्रद बन्यो।
सबैको आँखा गर्जमानको अनुहारमा टाँसिएको थियो। एक झड्का साथ ऊ स्थिर देखिएपछि सुबेदारले नाडी छाम्यो, त्यो पनि स्थिर भइसकेको थियो।
“बूढाले धोका दियो!” सुबेदार सुस्तरी बोल्यो।
कापेनले फिक्का, जर्जर बन्दै गएको गर्जमानको अनुहार हेर्दै चिसो नाडी छुँदा अनौठो तरंग महसूस गर्यो। उसले यो मान्छेलाई यति नजिकबाट कहिल्यै हेरेको थिएन। सोच्यो- यो अपरिचित अनुहार हैन। उसले बिस्तारै आफ्नो अनुहार छाम्यो। लाग्यो- भित्र, कतै छातीभित्र डामिरहेको यो अनुहार उसको आफ्नै अनुहार हो।
हिमाल दशैं साहित्यका थप सामग्री: