कविता भएर काठमाडौं आऊ, जयगाउँ!
हरिभक्त कटुवालले रक्सी त खूब खाए होलान् रे, तर के कविता र गीतमा उठेको उनको संवेगात्मक हिमालको उचाइसामु विश्वविद्यालयमा पनि रक्सीकै समालोचना उभिन्छ त?
नवराज लम्साल
स्मृतिको लहर पनि पानी जस्तो, बग्ने पनि सुक्ने पनि। बगे दाग, सुके डाम! विगत भन्नु प्रेरणा रहेछ, शिक्षा रहेछ। मलाई भएकाहरूभन्दा गएकाहरू प्रिय लाग्छन्, मान्छे पनि समय पनि। म हरेक सम्झनाले त्यसै गरी निथ्रुक्क रुझ्दछु, जसरी रुझ्छन् शीतका थोपाले गुलाफ।
यति खेर सम्झन खोजेको डुवर्स। कवि तथा गीतकार हरिभक्त कटुवालको शालिक अनावरण। त्यही यात्राको सिलसिला, तीन दिनसम्मको कार्यक्रम र जयगाउँका तन्नेरीहरू। तर मेरा सम्झनाहरू त्रिवेणी छुनुअघिका तीन धार बनेर तँछाडमछाड गरिरहेछन्।
पहिलो, उद्घोषकका रूपमा रंगमञ्चले बोलाएथ्यो। दार्जीलिङ, तेजपुर, गौहाटी, शिलोङ अनि नागाल्यान्ड हुँदै इम्फालको गोविन्द मन्दिरसम्म।
दोस्रो, आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीको वेला। १५ जनाको साहित्यिक समूहसँग उत्तर–पूर्वी भारतको करीब १५ दिनकै यात्रामा निस्केथें। तिन ताका म बीबीसीका लागि रिपोर्टिङ गर्थें। उतैबाट पठाएको एउटा रिपोर्टको अन्त्यमा भनेको थिएँ, ‘नेपालमा भानुभक्तको शालिक तोडिंदै गए पनि नेपाल बाहिर भानुभक्तको नाममा नेपालीभाषीहरू जोडिंदै गएका छन्।’ यो पंक्ति धेरैले मेरै सामु धेरै पटक दोहोर्याएको अझै याद छ। यात्राकै क्रममा अनुभव गरेको थिएँ, यो जोडिनु र तोडिनुबीचको अन्तर्य।

तेस्रो, जयगाउँ तोर्सामा कवि/गीतकार हरिभक्तको ६ फिट अग्लो पूर्ण कदको शालिक अनावरण। आज म त्यही डुवर्स सम्झिरहेछु। जयगाउँ, तोर्सा सम्झिरहेछु। हरिभक्तको शालिक अनावरणको त्यो दिन सम्झिरहेछु र सम्झिरहेछु हरिभक्तकै यी पंक्ति:
न घात प्रतिघातमा रुन्छ
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ
कसैले चिमोट्यो – एक कप्टेरा त्यतै टाँसियो
कसैले एउटा मुस्कान फ्याँक्यो – उसैको पछ्यौरीमा गाँसियो
जहिले पनि जलेकै छ, जता पनि ढलेकै छ
मनको बह कसैसित नकह कसले बुझ्छ? कसले सुन्छ?
मन त फलामकै भए असल हुन्छ।
मायाको पुल तरेर डुवर्सको निम्तो
तोर्सा चियाबारीको तोर्सा टिजी प्राइमरी स्कूलछेउ मूल सडकमै जोडेर हरिभक्तको भव्यतम शालिक निर्माण गरिएको छ। एक दिन कवि दुर्गा राई चामलिङले भने, “तपाईं आएर त्यो शालिक अनावरण गर्नुपर्यो।” दुर्गा रणबहादुरबस्ती, दलसिंहपाडामा बस्छन्। भानुभक्तको द्विशतवार्षिकीको सन्दर्भमा उत्तर–पूर्वी भारत जाँदा उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर तहका विद्यार्थी थिए र यात्राका एक सदस्य पनि। परिचयको त्यही पटुकीमा बाँधेर दुर्गाले एउटा संस्थागत निम्तो पठाए, तर मलाई पत्यारै लागेन। प्रसिद्ध गीतकार/कविको शालिक अनावरणका लागि म? सोचें, सहभागिताको निम्तो होला र सोधें– प्रमुख अतिथि को हो?
दुर्गा भाइले भने, “तपाईं नै प्रमुख अतिथि। २६ सेप्टेम्बर २०२१ मा शालिक अनावरण हुन्छ। २५ तारीखमा विभिन्न ठाउँबाट आएका कवि/लेखकका बीच परिचय, अन्तरक्रिया, छलफल र काव्यसाँझ गर्ने। सबैका रचना सुन्ने/सुनाउने, त्यही साँझ सँगै बसेर हरिभक्तमाथि निर्देशक पुरु लम्सालले निर्माण गरेको वृत्तचित्र हेर्ने। निजी स्तरबाट हरिभक्तमाथि गहिरो अध्ययन–अनुसन्धान गरी वृत्तचित्र बनाएका कवि तथा नाटककार लम्साललाई संवर्द्धना गर्ने। तपाईंहरू दुई जना आउने हो दाइ नेपालबाट।”
सप्रेम ‘हुन्छ’ भनें।
खोपकार्ड देखाउँदै बाटो छिचोल्दै
कोरोनाको कहर कमजोर हुँदै गए पनि जाँचचौकीहरूमा खोप लगाएको कार्ड देखाउन अनिवार्य थियो। पासपोर्ट जसरी खोपकार्ड बोकेर भद्रपुर झर्यौं। मेचीवारि र पारि पनि, अघि अघि खोपकार्ड पछि पछि हामी!
साँझ पुग्यौं, देवकोटा संघ सिलिगुडी। त्यहाँ पुगेपिच्छे स्रष्टाहरूसँग हुने भेट उत्कृष्ट कविगोष्ठी जस्तो लाग्छ। विजय रुचालले केही स्रष्टालाई खबर गरिसकेका रहेछन्। “साँझ एकछिन कविता सुन्ने/सुनाउने कुरा भएको छ,” शुक्रराज दियालीले बाटैमा खुसुक्क भनेका थिए।
सानो उपस्थिति तर गहिरा कुरा। कवि नै कविका बीच कविता र कविताका चर्चा। रचनामा सुनिए, समयबोधका उज्याला अभिव्यक्ति। अघिल्ला भेटहरूको बयान। साहित्य र आजका आयामहरूको विमर्श। प्रकाशन र वितरणका समस्या आदि सन्दर्भको विमर्श सहित रातको बिछ्यौनामा लुपुक्क निदायो छिप्पिएको साँझ र फुर्तीसाथ ब्युँझियो असोजको अर्को बिहान। २०७८ को असोज। छ्याङ्ङ खुलेको आकाश, बिहानैदेखि सडकमा बाक्लो चहलपहल। प्यारको आँखाले शरद्को हरियाली हेरेर त्यतै अल्झिई बस्ने अवस्था थिएन। हामी रेल चढ्यौं।
“रेल रिजर्बै जस्तो छ त दाइ खाली खाली,” पुरुले ठट्टा गर्यो। आँखाभरि असोजे फाँट राखेर कुदेको रेलको झ्यालबाट हरियो संसार हेरें, हेरिरहें र आँखामा झ्याप्पै आयो धादिङ ज्यामरुङको धानखेत। पुरुले मीठोसँग गायो मेलवादेवीको ‘सवारी मेरो रेलैमा’। उसले शायद सम्झियो, नुवाकोटको तादी र त्रिशूलीको किनार। ऊ संगीतको विद्यार्थी हो। खाली जस्तो रेल गीत गाएर भर्यो उसले। धेरै गीत हरिभक्तकै गायो।
मलाई दुई जना मान्छे भेट्न नपाएकामा दुःख छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा र हरिभक्त कटुवाल। देवकोटाको त निधनकै १० वर्षपछि म जन्में, कसरी भेट्नु? ढिलो जन्मेकामा पछुतो मात्र छ। दुनियाँले पागल भनेको तर खासमा साँच्चैमा असल, त्यो मान्छे कस्तो हुँदो हो? अर्का हरिभक्त। त्यति उच्च काव्यिक चेतनाले समाज छोएको स्रष्टालाई रक्स्याहा भनेर ओढाएको पछ्यौरी। रक्सी त खूब खाए होलान् रे, तर के कविता र गीतमा उठेको उनको संवेगात्मक हिमालको उचाइसामु विश्वविद्यालयमा पनि रक्सीकै समालोचना उभिन्छ त? हरिभक्तको अनुहारमा अनुभूतिको अक्षर पढ्न पाएको भए! तिनलाई छुन पाएको भए! तर पाइनँ!
म एकोहोरो टोलाइरहेछु शायद। पुरुले भन्यो, “अनलाइनखबरमा निर्भीकजंग रायमाझीले लेखेको अग्निको अन्तरकथा छापिएको रहेछ दाइ।” अग्नि एउटा सपना, २० वर्षको मिहिनेत! अग्नि लेख्दा कर्ण र धरामा भन्दा धेरै बढी मुटु निचोरेको छु। निचोर्दा दुख्छ, मुटु निचोर्दा त झन् दुख्छ! तर अग्निको सन्दर्भमा आफूलाई जति निचोर्थें, त्यति आनन्द आउँथ्यो! कतै कतै त रगतले लेखें कि आँसुले लेखें जस्तो लाग्छ। यही अग्नि विमोचनका कुराले म झन् दुई चिरा भएँ।
काठमाडौं हुँदै भूपेन्द्र खड्काले भनेको सम्झें, “असोज १६ गते विमोचन छ दाइ। तपाईं फर्कंदा दुई दिन पनि बाँकी रहन्न। कथंकदाचित् त्यतै अड्किनुभयो भने विमोचन के हुन्छ? अहिले नजानुस्।” मानिनँ। तोर्सामा हरिभक्तको शालिक अनावरणको उत्सुकता, काठमाडौंमा अग्नि विमोचनको चिन्ता। म बीचमा छु यतिखेर।
आँखा पनि छन्, दृश्य पनि छन्, तर बाहिरतिर हेर्नै बिर्सेछु। मनले मनलाई हेर्दाहेर्दै हामी हाँसिमारा पुग्यौं। रेल रोकियो एकछिन, तर हामी एकछिन पनि रोकिएनौं। लिन आएका थिए दुर्गा। त्यो हँसिलो तर केही हराएर खोजे जस्तो वा केही बिर्सेर सम्झे जस्तो लाग्ने गम्भीर अनुहार उनको। मनको मीठो मुखमा कसरी ल्याउँदा हुन् यी केटा? मुसुक्क हाँसेर खुसुक्क बोल्छन्।
हामी रणबहादुरबस्ती, दलसिंहपाडा पुग्यौं। त्यहाँ दुर्गाको घर छ। हरियाली छ। लस्करै छन् बोटहरू। गीत गाइरहन्छन् चराहरू। कति अग्ला अग्ला नरिवलका बोट! शान्तिलाई पनि शान्ति चाहियो भने जाने ठाउँ जस्तै शान्त! दुर्गाका बाआमासँग गफिंदै खाना खायौं र हतारिंदै बाटो लाग्यौं। वेलैमा पुग्यौं जयगाउँ। शालिक अनावरणको पूर्वसन्ध्या। आउनेहरू आइरहे। सिर्जना सुनिरहे, रचना सुनाइरहे! उत्साह, रमाइलो र ‘वान्समोर’ आदि तन्नेरी हल्लालाई ‘अनि हरिभक्त फर्केनन्’ ले ‘ब्रेक’ लगायो। यो वृत्तचित्र हेरेपछि सबै स्तब्ध! अन्त कतै नभएको र यही वृत्तचित्रमा मात्र भएको हरिभक्तको स्वर सुनेपछि उनीसँग संगत गरेकाहरू अलल्लिएर रोए।
ऐतिहासिक जमघट
२६ सेप्टेम्बर २०२१ का दिन। दलसिंहपाडा, जयगाउँ। कार्यक्रमको मूल आयोजक नेपाली साहित्य प्रतिष्ठान, डुवर्स। अघिल्लो दिन काव्यसाँझ र वृत्तचित्रको प्रदर्शन सकिएपछि त सबैसँग परिचय विनिमय गरेर हामी हार्दिक भइसकेका थियौं।
साजसज्जा सहित मूल कार्यक्रमको भव्य मञ्च। मुस्कुराउँदै मञ्चमा आए दुई तन्नेरी, अबीर खालिङ र सञ्जय प्रधान। अबीर चिरपरिचित लेखक, कवि/कथाकार। सञ्जय रेडियोकर्मी र गायक। कार्यक्रमका अध्यक्ष पाका साहित्यकार नरबहादुर दाहाल। आयोजकले भनेको जस्तै भव्य छ उपस्थिति। शानदार छ कार्यक्रम।
हरिभक्त कटुवालको शालिक अनावरण समारोहमा बायाँबाट नवराज लम्साल, हरिभक्तकी जेठी छोरी कविता, पुरु लम्साल, हरिभक्तकी कान्छी छोरी कल्पना र साहित्यकार नरबहादुर दाहाल।
स्कूले नानीहरूले लगाएका वस्त्र–आभूषण, गाएका गीत, नाच र हाउभाउ हेर्दा लाग्यो, कति मीठोसँग नेपालीपन बचाएर राखेका रहेछन्। हृदय भिज्यो लफ्रक्क! कलागंगा बगे जस्तो! संस्कृतिको छाल उठे जस्तो! जीवनका रङहरू कलामा मिसिन्छन्, कलाले जीवनमा रङ भर्छन्। म पनि रङहरूमै हराइरहेको छु।
मन्तव्य राख्दै गरेका हरेक वक्ताले हरिभक्तको परिचय दिंदै भन्थे, “... हामी यताकाले बुझेको हरिभक्त यही हो। अब आफैं कवि, गीतकार रहनुभएका प्रमुख अतिथिले कसरी बुझ्नुभएको रहेछ, हामी सुन्न आतुर छौं।”
आफूतिर लक्षित यी भनाइमा म प्रत्येक पटक खिस्स हाँसेथें।
बोल्नुअघि अनायास सम्झें, हरिभक्तका यी हरफहरू–
बतासले झारेका फूलहरू सँगाली
विरहको आँसुले तिनै फूल पखाली
माला गाँसी राखे है भरे भेट्न आउँला
कर्म आफ्नो अभागी चोखो फूल कहाँ पाउँला?
..................
बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु
यो घर जहाँ म बस्छु यो भित्ता चर्कंदै छ
शायद त्यो ढल्नलाई भैंचालो पर्खंदै छ
छोरो आफैं बनाउला उसलाई चाहिने घर
गर्दै होला ऊ अहिले भैंचालो ल्याउने तरखर।
निकै पहिले कतै म आफैंले लेखेको थिएँ, ‘... गीतको चर्चा गर्दा कविता र कविताको समीक्षा गर्दा गीतको हेक्का नगरी हरिभक्तलाई सम्पूर्णतामा छाम्न सकिन्न। उनका गीतमा काव्यिक विम्ब सुटुक्क प्रवेश गर्नु र गद्य कवितामा समेत अनुप्रासयुक्त लयचेतना मिसिएर आउनुको दोभानबाट उठेको छ उनको सिर्जना व्यक्तित्व। सघन संवेदना र सम्प्रेषणको उच्चता कवितामा ज्यादा छ। कोमलता र व्यावहारिक यथार्थताको ज्यादा वकालत गीतमा देखिन्छ। हरिभक्तको क्षमता नै हरिभक्तको सामर्थ्य र सीमा हो। उनमा कनीकुथी लेखन र ठसठस कनाइको संक्रमण छैन। विषयले उनलाई हिंडाएको छ र शिल्प सामर्थ्यले बलियो पारेको छ ...।’
हरिभक्तकेन्द्रित मेरो ध्यान फेरि मञ्चतिर फर्कियो, निम्तालुहरूको नामतिर फर्कियो। सूची हेरें, उत्तर बंग विश्वविद्यालय नेपाली विभाग प्रमुख डा. सञ्जय बान्तावा, डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष शित्तम मोक्तान, डुवर्स नेपाली साहित्य सभाका अध्यक्ष दिलीप शर्मा घिमिरे सहित उत्तर–पूर्वी भारतका विभिन्न साहित्यिक संघसंस्थाको प्रतिनिधित्व थियो। कवि, लेखक, समालोचकहरू थिए, कविता सुनाइरहेका थिए। हरिभक्त सम्बन्धी स्मारिका तथा अन्य विभिन्न पुस्तकको विमोचन थियो। तिनैमाथिको एक–एक समीक्षा थियो। समालोचना थियो। चिया बगानका मजदूर समेत चियाका पत्ता टिप्न छोडेर हरिभक्तको शालिकमा हृदयको पत्ता चढाउन आएका थिए। हरिभक्तले कस्तो लुगा लगाए, के के खान्थे, कुन घरमा डेरा बसे वा कोसँग उनको प्रेम थियो, उनीहरूलाई खासै सरोकार थिएन। सरोकार त उनले लेखेका गीत, कविता र तिनले आजसम्म पारेको प्रभावको थियो।
कति कति आँखाहरू बाटो छेक्न आउँछन्
परेलीमा बास माग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ।
000
मलाई न सोध कहाँ दुख्छ घाउ
म जे छु ठीकै छु बिथोल्न नआऊ।
हरिभक्तको जन्म सन् १९३५ मा भएको हो र निधन सन् १९८० मा। उनको भौतिक जीवन त्यति लामो रहेन। फूलका सोखिन हरिभक्तको जीवनभोगाइ काँडा जस्तो बन्यो र त्यही जीवन कतिलाई बेसुरा गीत गाउने मेलो बन्यो। हरिभक्तबारे दुनियाँले गाएको कुरौटे गीत चौतारीमा सुकेर गयो, तर उनी गीत र कविताको विम्बमा ढल्दै नढल्ने भावनाको अमूर्त शालिक भएर पाठक/श्रोताको मनमा बसिरहेछन्। आज तिनै हरिभक्तको भव्य शालिक अनावरण गरें, भव्य र ऐतिहासिक कार्यक्रमका बीच। शालिकमुनिको अभिलेख पढेपछि त लाग्यो, म आफ्नै नाम पनि अनावरण गरिरहेछु!
त्यति ठूलो जनसमुदाय विना हल्ला, विना चलमल! स्नेह बगेको गंगामा समर्पणको डुबुल्की जस्तो। वातावरण शान्त, स्तब्ध! मौन, हार्दिक! अश्रुपूरित, जलसिञ्चित! मानौं, हरिभक्त भर्खर बितेका हुन् र निधनको आलो घाउ बोकेर उनलाई बिदाइ गरिरहेछौं। यो मौनतामा साहित्यप्रतिको प्रेम त थियो नै, त्यसभन्दा बढी हरिभक्तप्रतिको सम्मान थियो। एउटा कवि जनस्तरमा कसरी भिज्दो रहेछ र जनतासँग साहित्यको सम्बन्ध कसरी जोडिंदो रहेछ भन्ने बोध गरें।
हरिभक्तको वृत्तचित्र निर्माण गरेकामा आयोजक र हरिभक्तको परिवारले निर्माता/निर्देशक पुरु लम्साललाई छुट्टाछुट्टै सम्मान गरे। अघिल्लो साँझ हेरेको वृत्तचित्र सम्झेर फेरि रसाए तिनका आँखा। पुरुलाई सम्मान गरिरहँदा मैले हिजो सँगै आएको केटो होइन, अर्कै पुरु देखें उसको आँखा र अनुहारमा। संयोग पनि कस्तो! वृत्तचित्रमा ‘भोइस ओभर’ मेरै स्वरमा थियो। मैले अग्नि लेख्दा मुटु निचोरे जस्तो उसले छाती निचोरेर बनाएको थियो त्यो वृत्तचित्र। आज आफैंले उसलाई सम्मान गरें। मेरो आँखामा हेरेर ऊ मुसुक्क मुस्कुरायो। मैले रसुवाको मिनि-गोसाइँकुण्डको झरना र त्रिशूलीको छाल सम्झें।
धेरैअघि सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल, अम्बर गुरुङ र हरिभक्त कटुवालहरू सँगसँगै जसो नेपाल आएका थिए। जसले बोलाएका वा जसरी आएका भए पनि बोलाइँदा वा ल्याइँदा दर्शाइएको प्रेम र बाँडिएको भावुकता दिगो रहेन। कल्पनाको चुली चढाएर निम्तो गर्नेले आएपछि चुलोचौकोको चाँजोसम्म मिलाइदिएनन् शायद। विरक्तिको बीउ झाँगिएपछि निराशाले घर बनाउँछ। हरिभक्तले तिनै घनीभूत निराशालाई कसिलो भाव र सघन चेतनाको उपल्लो काव्यिक धुरी दिए। गीत र कवितामा नयाँ उचाइ चुमे। त्यही उचाइ जस्तै छ, यहाँ उनको पूर्ण कदको शालिक। सडकमा गुडिरहेका गाडी टक्क रोकिन्थे, शालिक हेर्थे र जान्थे। बस्तीमा नयाँ दृश्य थपिएको थियो, जसलाई देखेर बस्ती आफैं सुरक्षा र सम्मानको अनुभव गरिरहेथ्यो।
हरिभक्तको शालिकसँग लेखक।
शालिक निर्माण समितिका पदाधिकारीहरूको अनुहारमा प्रसन्नता थियो, एउटा महान् यज्ञ सकिए जस्तो। पूर्णता थियो, पुण्यकर्मको पूर्णाहुति सकिए जस्तो। हरिभक्तका छोरीहरू कल्पना, कविता र नातिनी नवदितालाई भानुभक्तको द्विशतवार्षिकीका वेला पनि भेटेको थिएँ तिनकै घरमा। त्यो भेटमा भन्दा अहिले उनीहरू निकै खुशी भएको पाएँ, शालिक र वृत्तचित्र बनेकोमा। नवदिता शिक्षिका भइसकिछिन्, हजुरबाभन्दा बढी हरिभक्तलाई उनको काव्यिक व्यक्तित्वकै तहमा बुझ्ने भइसकिछन्।
अनेक तर्कना र प्रसन्नताको पछ्यौरी ओढेर सुलुत्तै गएछ रात। भोलिपल्ट ब्युँझिंदा होटल अगाडिको पीपलमा चराहरू गाइरहेका थिए। जयगाउँपारिको भूटानी भित्तामा फर्फराइरहेका थिए अनेकन् ध्वजापताका। स्रष्टाहरूको बाक्लै उपस्थिति थियो बिहान पनि। फेरि दोहोरिए परस्पर संवाद र दिउँसो पुग्यौं ऐतिहासिक पर्यटकीय किल्ला ‘बाक्सा फोर्ट’। साथमा थिए, अबीर खालिङ, चन्दन भट्टराई, प्रदीप लामा, आशबहादुर लिम्बू, सञ्जय प्रधान, दुर्गा राई चामलिङ र पुरु। “होटलको कोठा होइन, मलाई फराकिलो मैदानको खुलापनमा लैजाऊ!” मैले पहिलो पटक फर्माइस गरें। उनीहरू सहमत भए। बाक्सा फोर्टको चउरमा बसेर मिनि-पिकनिक चलायौं। भाषासाहित्य र डुवर्सका समस्याबारे छलफल गर्यौं।
दिलबहादुर सरदार, हैकमसिंह राई, प्रतिमान सिंह लामा, चन्द्रवीर प्रधान, एस.एन. छेत्री, बद्रीनारायण प्रधान, कितापसिंह राई, इन्द्रबहादुर गुरुङ, विष्णु शर्मा अधिकारी, निर्मल शर्मा, जगदीशचन्द्र खरेल, शंकरनाथ प्रधान, लोकनाथ प्रधान आदि डुवर्सका अघिल्ला पुस्ता हुन्। अग्रज साहित्यकारहरूको पदचिह्न पछ्याउँदै अघि बढिरहेको छ, युवा डुवर्स। नारायण प्रधानको आर्तनाद, अशोक रोकाको नखोज्नू उसलाई शहरमा, अनन्त श्रेष्ठको सत्ता र समय, किरण उपाध्यायको घरहरू, नरेन्द्र खड्काको ज्योति–ज्वाला–ज्योत्सना, प्रशान्ति राईको अन्तस्करणको आवाज, निगम बस्ताकोटीको सिमाना, विलोक शर्माको समयाभास, ज्ञानलाल दर्नालको उन्मुक्त अक्षर, चन्दन भट्टराईको फेसबूके भित्तो, गणेश गजमेरको मादल सह्माल, आमा र कोठेबारी, अशोक विश्वको तिमी सपना म विपना र अबीर खालिङको डुवर्स कलिपिङ्स। यी कवितासंग्रहका केही उदाहरण हुन्। निबन्ध, समालोचना तथा साहित्यिक इतिहास पनि नलेखिएका होइनन्। कथा र उपन्यास पनि लेखिएका छन्, तर कवितामै बलियो छ डुवर्स।
डुवर्सको अर्थ-सामाजिक परिवेश कमजोर छ। अशिक्षा छ। चियाबारीमा शोषण छ। युवा कामको खोजीमा बस्तीबाट बाहिरिएका छन्। अल्पसंख्यक समुदायको समस्यालाई सरकारले खासै सम्बोधन गरेको छैन। युवा आफ्ना रचनामा यी र यस्ता मुद्दा जोडतोडले उठाइरहेछन् र वकालत गरिरहेछन्। तसर्थ उनीहरू बाहिरका समालोचकहरूले डुवर्सबाट प्रकाशित कृतिहरूको सम्यक् चर्चा वा समालोचना यसैका आधारमा गरिदिऊन् भन्ने ठान्छन्।
‘दार्जीलिङ, दिल्ली र काठमाडौंको लेखाइसँग तुलना गर्नुअघि त्यहाँको सीमित संसाधन, अध्ययनको सीमा र त्यहींको लेखन इतिहास पनि नबिर्सियून्। कठिन छ प्रकाशन र कमजोर छ पठन संस्कृति, यो पनि नबिर्सियून्। सँगसँगै हातेमालो गर्न पाइयोस् र वस्तुनिष्ठ विश्लेषण सहित लेखनको नयाँ क्षितिज उघार्न पाइयोस्’ भन्ने उनीहरूको अपेक्षा छ। हामी कतै नेपालीभाषी लेखकहरूकै उपेक्षाको शिकार त भइरहेका छैनौं? उनीहरूले आफैंलाई प्रश्न गरिरहे झैं लाग्यो। लेखेर पनि लेखककै ताँतीमा उभिन सकिंदैन भने लेख्नुको के अर्थ? तन्नेरीहरू यसरी पनि सोचिरहेछन्। को हो त यो सत्यको मूल्यांकन गर्ने? खास समस्या यसैमा रहेछ।
000
साँझ फेरि कवितामय भयो, संगीतमय भयो। लामै चल्यो रचनावाचन शृंखला। लाग्यो, अरू एक हप्ता बसे पनि रोकिंदैन यो कविता नदी। साँझ प्रधानाध्यापक लवकुमार भुजेल सरको घरमा बस्यौं। सञ्जयले राति अबेरसम्म मेरा धेरै गीत सुनाएर भने, “दाइ एउटा गीत पाऊँ है, म गाउँछु।” पुरुले गिटार बजाएर एउटा स्थायी ‘कम्पोज’ गर्यो।
झर्न देऊ तप्प तप्प आँशु झर्न देऊ
परेलीको सँघारमा शीत पर्न देऊ।
मैले भनें, “सञ्जय! यसको अन्तरा काठमाडौं गएर लेख्छु।” लेख्ने दिन अझै आएको छैन। आज पनि हरेक भेटमा पुरु भन्छ, “दाइ गीत पूरा भएन?” म हाँस्छु मात्रै। मैले पुरुलाई भनेको छैन र सञ्जयलाई पनि भनेको छैन– त्यो साँझ जुन संवेदनामा बगेको थियो त्यो गीतको स्थायी, त्यही साँझको संवेदनामा त्यहीं सकियो। अब बल गरेर तान्न सक्तिनँ भाइहरू। हरिभक्त पढेर थाहा पाएँ, संवेदनाको सघनतामै साँचो रचनाको शिर उठ्ने रहेछ। म तानतुन गरेर न गीत लेख्छु न कविता। एउटा गीत एउटा जिन्दगी हो। समयले माग्यो भने शायद पूरा होला पनि, भन्न सक्तिनँ।
हामी २८ तारीख बिहानै फर्कियौं। धेरै वरसम्म पुर्याउन आए साथीहरू! कसैका आँखा थिएनन् ओभाना। हाम्रा पनि हातमा रुमाल थिए।
भद्रपुरबाट काठमाडौं उड्दै गर्दा आँखाभरि आइरह्यो हरिभक्तको देदीप्यमान शालिक। धेरैले हरिभक्तलाई मूडी, घमन्डी वा लहडी भनेको सुन्छु। गम्भीर सिर्जनाअघि मान्छेमा कुनै न कुनै रूपमा एउटा एकोहोरोपन, पागलपन आउँछ नै। भान्सामा दूध उम्लियो होला, धारामा पानी आयो होला, छोरालाई स्कूल पुर्याउनु थियो र हिजो अफिसमा त्योसँग झगडा परेको थियो, फलानो ठाउँमा पुग्न बेर भयो जस्तो भाव खेलाएर मनमा त्यस्तै कवि/गीतकार बन्नेहरूका कुरा बेग्लै होलान्, तर हरिभक्त जस्ता विषयबोध गरेर चिन्तनमा डुब्दै उत्रँदै लेख्ने गहिरा साधकमा अन्तर्मुखी रचनाधर्म स्वाभाविकै हो। उनको मूड गीतको गेडामै उनिन्छ तिक्खर भाव भएर र कविताको हरफमा लेखिन्छ अन्तरचेतनाको उज्यालो भएर। यी सबै नबुझ्नेलाई त म के भनूँ र?
000
ओहो! कति छिटो बितेछ समय! यतिका समयपछि आज फेरि आँखाभरि तोर्सा राखेर सम्झनाको बाटैबाटो डुवर्स घुमिरहेको छु, दलसिंहपाडा घुमिरहेछु, जयगाउँ घुमिरहेछु। जयगाउँ, तिमी पनि कविता भएर काठमाडौं आऊ न ल!
हिमाल दशैं साहित्यका थप सामग्री: