आएर गएका साथीहरू
साथी-सर्कल बन्ने/बनाउने उपक्रम रोकिंदै जाँदा जीवन एक्लिंदै र बिरान बन्दै जानेछ।
जन्मिँदा आमाको गर्भबाट सँगै निस्केको साल मेरो पहिलो साथी थियो। नाभिमा जोडिएको त्यो सालनाललाई बुढीमाउहरूले मालिंगोको चोयाले काटेर छुट्याइदिए। त्यसपछि बाँसको ढुंग्रोमा हालेर बारीको कुनै रूखको हाँगामा झुन्ड्याइएको त्यसलाई मलसाँप्राले खायो कि कागले लग्यो कि त्यहीँ सड्यो, कसले ख्याल गरोस्!
आयुसँगै जीवनको दायरा बढ्दै र लय फेरिंदै गयो। त्यसक्रममा अनेक साथी भेटिए। कुनै साथी झलक्क आए, मिलिक्कै गए। कुनै साथी हँसाएर गए, कुनैले छोएर, कुनैले घोचेर ओझेल भए। रुवाएर जाने चाहिं अहिलेसम्म कोही भएका छैनन्। कसैले कसैलाई नरुवाऔं पनि।
छुकछुके उमेरको स्कूले साथीहरूसँग भने रुने/रुवाउने काम निकै गरियो। साथी पनि कोही छुँदैमा रुने पिन्चे–पिलन्धरेदेखि आँखा झिमिक्क गर्न नपाउँदै गाला चड्काएर टाप् कसिसक्नेसम्मका।
सरले उठाएको वेला बेन्चमा पेन्सिल ठाडो पार्ने, ‘तेरो दाँत कीराले खाको छ कि’ भन्दै मुख आँ पार्न लगाएर माटो हालिदिने, बस्दा पिरा सारिदिएर उत्तानो चित पार्ने, खेल्दा झेल गर्ने, हार्दा उल्टै तथानाम गर्ने, बाटो हिंड्दा छिर्के लगाएर लडाउने, सानालाई कुटिहाल्ने, ठूलाको टाङमुनि लुक्ने, ‘... र .... को लप पर्यो’ भनेर बाँसमा लेखिदिने।
तीन कक्षामा पढ्दा साथीले ‘कत्रो काग...’ भन्दै झ्याल बाहिर हेर्न लगायो। नभन्दै, बाँसको टुप्पोमा सधैं देखिनेभन्दा ठूलो काग देखियो। केही बेर हेरेर अनुहार फर्काउँदा गाला छेउमा चोर औंलाको पासो थापेको रहेछ, कति महीनादेखि नकाटेको उसको तीखो नङले मेरो नाकको दाहिने पाटोमा पक्लक्कै पार्यो।
हुरुक्कै हुने गरी दुखेको सहँदासहँदै तुरुरु रगत चुहेर मुखमा पर्यो। अनि त मेरो हातको पेन्सिलको टुप्पो उसको नाकमा गाडिन पुग्यो।
चोट दुवैको नाकैमा पर्यो। ऊ रुन थालेपछि मेरो दुखाइ मात्र कम भएन, आँसु पनि रोकियो।
साथी–साथीबीच अपानवायु सुँघाउने अर्को होडबाजी हुन्थ्यो। सकेसम्म साथीको मुख नजीक वायु छाड्यो, टाप कस्यो। सुँघ्नेले ओफ् गर्यो, मुखमा आए जति गाली बक्यो। यस्तै चल्थ्यो।
भदौ–असोजतिर सबैको खान्कीमा अलौटो मकै हुन्थ्यो। सबैको पेटमा ग्यास भरिभराउ हुने हुँदा कक्षाकोठा निस्सासिन्थ्यो। कोही साथी त कट्टु तल झारेर फायर खोल्ने।
एक टिफिनमा एउटाले त्यसै गर्दा अलि बढ्तै बल गरेछ, साथीको अनुहारभरि मकैको पहेंलो छर्रा परेर बेहाल भयो।
कक्षा छ मा पढ्दा हामीमध्ये धेरैजसोको खुट्टामा जुत्ता थिएन। त्यस वेला गोलीगाँठोसम्म आउने सेतो कन्भर्स जुत्ताको चलन आएको थियो। मलाई पनि त्यो लगाउने तमास रहर भयो। सातैपिच्छे घर आयो, माग्यो, रित्तै फर्कियो गर्न थालें।
चौथो साता चाहिं जुत्ता नपाए स्कूल–सिस्कूल जान्नँ भन्दै आन्दोलन गरेर माग पूरा गराएँ। त्यसपछि दौडेकोदौड्य दाँवा पुगेर इलाचा साहुको दोकानमा जुत्ता किनें।
जीवनको त्यो पहिलो जुत्ता लगाएको चार–पाँच दिन के भएको थियो, एउटा साथीले दाहिनेपट्टि दुलो परेको निलो जुत्तासँग साट्न कर गर्न थाल्यो।
मैले त्यस्तो थोत्रेसँग नसाट्ने भन्दा उसले भन्यो, “यो फाटेर हैन, डढेर अलिकति दुलो परेको हो, जुत्ता त नयाँ हो नि। यसमा म २० रुपे थपी पनि दिन्छु।”
अर्को कक्षादेखि म स्कूल सर्ने घरसल्लाह भइसकेको थियो। जाँच सकिनासाथ सबै सामान बोकेर घर फर्कने कडा निर्देशन थियो। त्यसलाई मैले २० रुपे सम्झँदै दुलो परेको थोत्रो जुत्ता लगाएरै पूरा गरें।
उसले पछि लागेकोलाग्यै कर गरेपछि मैले २० रुपैयाँ नगद बड् लिएर त्यो च्याँङ खेल्ने निर्णय लिएँ। मेरो नयाँ जुत्ता लगाएर ‘२० रुपे भोलि दिन्छु है’ भन्दै ऊ बाटो लाग्यो।
‘अहिल्यै चाहिन्छ’ भन्दै मैले लखेटें, ऊ भोलि भन्दै कुद्यो। भोलि, भोलि भन्दाभन्दै जाँच आयो, गयो। २० रुपे आएन।
अर्को कक्षादेखि म स्कूल सर्ने घरसल्लाह भइसकेको थियो। जाँच सकिनासाथ सबै सामान बोकेर घर फर्कने कडा निर्देशन थियो। त्यसलाई मैले २० रुपे सम्झँदै दुलो परेको थोत्रो जुत्ता लगाएरै पूरा गरें।
अलि वर्षपछि ढाडमा भिरेर बोक्ने डोरीवाला झोलाको चलन आयो। त्यो चाहिएपछि घरमा झगडा झिक्नुको विकल्प थिएन। त्यसरी चार सय रुपैयाँ लिएर भोजपुर बजारतिर बतासिंदै थिएँ, गाउँकै एक साथी (साइनोमा भतिज) बाटोमा भेटियो। उमेरले मभन्दा केही जेठो ऊ लाहुरे भिड्न भैंसीपंखा जाँदै रहेछ।
बात मार्दै चारभन्ज्याङ चोकको झोला दोकान अगाडि पुगेपछि भतिजले भन्यो, “बाङा, तीन सय रुपे एकै छिनका लागि दिइराख्नुस् न, तल अलिकति काम छ, एकै घन्टामा आएर दिइहाल्छु।”
शुरूमा म मानिनँ, निकै बेर फकाएपछि पग्लिएँ। पैसा लिएर गएको साथी रात पर्न लाग्दा आएर भन्यो, “सरी बाङा, आज पैसा भएन। सँगै भैंसीपंखा जाऔँ, भोलि उतै दिन्छु। फर्किंदा झोला किन्नुपर्छ।”
उपाय नास्ति भएर उसको पछि लागें।
भैंसीपंखामा भावी लाहुरेहरूको खचाखच भीड रहेछ। गाँसवासको व्यवस्था साथीको साथीले गर्यो। भोलिपल्ट लाहुरे रमिता हेरें।
शुरू चरणमै फेल भएर भतिजले भन्यो, “तनाव भयो बाङा, जाँड खान जाऔँ।”
आसपासमा अस्थायी छाप्रे होटलहरू थिए। तीमध्ये एउटामा छनुवा जाँड धोकेर लाग्यौं भोजपुरतिर।
उसले जे भन्यो त्यही मान्ने अवस्थामा पुगेको थिएँ म। बाटोमा सम्झाउन थाल्यो, “मेरो पैसा उठेन। बाङालाई सारै ठूलो धोका भयो। अब घर जाऔं। म बोजुलाई सम्झाउँछु।”
न झोला न पैसा। साथीको घर हाम्रो नजीकै भए पनि कति दिनसम्म आसपास देखै परेन।
आठ कक्षामा पढ्दा स्कूलको वार्षिकोत्सवमा भएको सदनगत प्रतियोगिताका कारण गाउँमा भलिबलको लोकप्रियता उर्लियो। टीममा खेल्न नपाउने, घरीघरी कोर्टबाट तल बारीतिर उछिट्टिएको बल टिप्न तँछामछाड गर्ने हामी केही साथी मिलेर भलिबल किन्ने भयौं।
टोलीको एउटा साथीले सँगै पढ्ने दिदीलाई पैसा लगाउन लगायो। बल किनेर खेतमा खेल्न थाल्दा दिदी–भाइ नै आउन थाले। नियम त पैसा लगाउनेले मात्र खेल्ने थियो।
नियम सम्झाउँदा साथीले भन्यो, “मेरी दिदीले पैसा दिएकी, मैले खेल्न किन नपाउनु?”
“त्यसो भए दिदी नखेलोस् न त,” हामीले सजिलो पार्न खोज्यौं।
अब दिदी चर्किइन्, “मैले पैसा हालेपछि खेल्न किन नपाउनु?”
उनी अझ अगाडि बढेर चर्किइन्, “मैले पैसा हालिसकेपछि मेरो भाइले खेल्दा के भयो?”
त्यसरी भलिबल विवाद चर्कियो।
“तँ हाम्रो गाउँमा आएर दादा हुन खोज्छस्?” भाइ चाहिंले मलाई कुममा धक्का दिंदै भन्यो।
छिमेकी गाउँमा पढ्न बसेको मेरो पारो तातिगो। नाकमा एक मुक्का हानेको, हुलुलु रगत आइहाल्यो।
“किरुवाको किरियाले मारो है!” साथी चिच्यायो।
उसको घर नजीकै थियो। उसका बाउ, आमा, अर्की दिदी र बहिनी आए। ऊ एक्लो छोरो थियो। सबै भएर मलाई झम्टे। नौ–दश वर्षकी बहिनीले पनि ‘मेरो दाजुलाई किन कुटिस्? तँलाई मार्छु’ भन्दै लौरो उचाली।
मैले पनि पाखुरा सुर्किंदै ढुंगा टिपें, “लु आइज! तिमीहरू सप्पै, म एक्लै।”
धन्न, रमितेहरूले दुवै पक्षलाई रोके। नत्र मलाई अचार पार्थे। दिदी चाहिँको पैसा त्यही वेला फिर्ता गरेर खेल्ने ठाउँ सरियो।
मातृभाषाको परिवेशमा हुर्किएको हुनाले मैले बोल्ने पर्वते नेपाली अलि फरक थियो। मेरो उच्चारण र व्याकरणलाई लिएर साथीहरू जिस्क्याउँथे। मभन्दा अलि जेठा एउटा साथी अलि बढ्तै जिस्क्याउँथ्यो। एक दिन त अति नै गर्यो।
स्कूल जाने उकालोमा घरी को अगाडि, घरी को अगाडि भइन्थ्यो। जहाँ भेट्यो, त्यहीं गिज्याउने उसले।
ऊ आफू भने भकभके थियो। मैले पनि त्यसैमा जिस्क्याएको रिसले आगो भएछ। बिरालाले जस्तो दुईटा पन्जा फिंजाएर ङ्याक्न आइहाल्यो।
उम्किएर अलि माथि चौतारामा बिसाएको थिएँ, त्यहाँ पनि झम्टियो। फेरि भागेर अलि माथि बसें। अब त उसको रिस मर्यो भन्ने पनि लागेर बसिरहेको थिएँ, फेरि झम्टियो।
फेरि भागेर चिउरीबोटेतिरको बाटो छुट्टिने चौतारामा बिसाएको थिएँ, त्यहाँ पनि झम्टियो। कति भाग्नु? भएभरको बल लगाएर मुक्का हानेको ताकेकै ठाउँमा लाग्यो। उसको नाकबाट तुरुरु रगत आयो। ऊ आफ्नो नाक सम्हाल्न लाग्यो, म कुदेकोकुद्यै कक्षामा पसें। ऊ चाहिं त्यहींबाट घर फर्केछ।
कोठामा चाहिने सबै सामान बराबर पैसाले किनेर बस्न थाल्यौं। ६ महीना जति भएको थियो, एउटा काम परेर हिले गएँ। बेलुका फर्कंदा त कोठा खाली छ। साथीले साथीहरू ल्याएर कापीकिताब बाहेक सबै सामान पोका पारेर लगेछ।
करीब एक हप्ता स्कूल आएन। केही दिनसम्म त मलाई बाटामा कुट्ला कि भन्ने डर लागिरह्यो, तर त्यो आँट गरेन। त्यसपछि सबैले गिज्याउन छोडे मलाई।
क्याम्पस पढ्न धनकुटा गएको वेला होटलमा म जस्तै एक्लो साथीसँग भेट भयो। चिनजानपछि सँगै बस्ने सल्लाह भयो। होटलवाला दाजुले कोठा खोजिदिए।
कोठामा चाहिने सबै सामान बराबर पैसाले किनेर बस्न थाल्यौं। ६ महीना जति भएको थियो, एउटा काम परेर हिले गएँ। बेलुका फर्कंदा त कोठा खाली छ।
साथीले साथीहरू ल्याएर कापीकिताब बाहेक सबै सामान पोका पारेर लगेछ। घरधनीलाई ‘हामी सरेको’ भनेछ। अघिल्लो दिन मात्रै भाडा पाएका घरधनीले केही भनेनछन्।
साथी कता गयो कता, आफू होटलमा भात खाएर घरधनीलाई एउटा खास्टो मागेर उही कोठामा सुतें।
धनकुटा मान्छे हराइहाल्ने स्तरको शहर थिएन। भोलिपल्ट खोज्दै जाँदा साथी फेला पर्यो। “बिहान भन्नु बिर्सेछु,” ङिच्च गर्दै ऊ बोल्यो, “केटाहरूले सबै सामान उठाएछन्।”
मैले सामान मागें। सामान यो तेरो, यो मेरो भन्ने थिएन, सबैमा दुवै जनाको आधा आधा पैसा परेको थियो। तिनलाई काटेर दुई–दुई फ्याक पार्ने कुरा भएन।
दाम हिसाब गर्दै भाग लगायौं– एउटा थाल बराबर दुइटा बटुको। एउटा थाल र कराही बराबर भाँडा। अनि कुम्लो बोकेर म पुरानै कोठामा फर्कें।
राजधानी पसेपछि कीर्तिपुरमा लगभग त्यस्तै भयो। मट्टीतेल स्टोभको जमानामा म चाहिं भर्खरै ग्यासवाला भएको थिएँ। कुनै एक दिन खोटाङका जयकुमारले भने, “सँगै बसौं हौ, कोठा भाडादेखि आलुप्याजसम्म सस्तो पर्छ।”
उसको पनि ग्यास रहेछ। सँगै बसेपछि दुइटा सिलिन्डर भयो हामीसँग। पल्लो कोठाका साथीहरूले पनि एक दिन ग्यास चुला ल्याए, तर चुला मात्र।
केही दिन त्यत्तिकै टल्काएर राखेपछि हामीसँग भने, “आजै मट्टीतेल सिद्धियो, नयाँ सिलिन्डर किन्न पैसो पुगेन। तपाईंहरूको सिलिन्डर भरेर चलाउँछौं, दुई हप्तामा घरबाट पैसा आएपछि सिलिन्डर भए पनि जे भए पनि दिन्छौं।”
मैले नै ‘हुन्छ’ भन्दिएँ।
त्यसरी सिलिन्डर चलाउन थालेका उनीहरू एक हप्तापछि हामी नभएको वेला कोठा सरेछन्। तीमध्यको एउटा र जयकुमार कक्षा फरक भए पनि ताहाचाल क्याम्पस पढ्ने हुनाले भेट भएछ। जयकुमारले जिद्दी गरेर उनीहरूको नयाँ कोठा पनि हेरेर आएछ। अनि लामै कसरतपछि सिलिन्डरको पैसा पाइयो।
धरानमा कम्प्युटर सिक्दा एक जना खेलाडी साथी बन्यो। कोठाको भित्तामा कराँते ड्रेसमा कालो पेटी लाएको फोटो टाँसेको उसले एक दिन आफ्नो खेल जीवनबारे बतायो, “मैले सार्क गेममा गोल्ड मेडल पाएको।”
आफूभन्दा करीब एक फिट अग्लो जापानी खेलाडीलाई गालामा बटरफ्लाई किक हानेर पुक्लुक्कै पारेर गोल्डमेडल जितेको विवरण उसले बतायो।
‘साफ’ नभनेर ‘सार्क गेम’ भनेकाले मैले सोधें, “कुन देशका खेलाडीलाई रे?”
उसले फुर्तीसाथ भन्यो, “जापानिजलाई।”
त्यसमाथि थप्यो, “ओ हो, जापानिज भनेपछि मलाई खत्रै होला भन्ने लागेको थियो। शुरूमा त नर्भसै भएँ नि। दुई–तीन एट्याकपछि मात्र मलाई आँट आयो!”
मैले भनें, “हैन, जापान सार्कमा पर्छ र?”
ऊ जंगियो, “मलाई नपत्याको? मेडल र सर्टिफिकेट घरमा छ। ल्याएर देखाइदिऊँ?” म ट्वाँ परें।
धरानको लक्ष्मीचोक पश्चिम एल आकारको घरमा मेरो डेरा थियो। त्यही घरको अर्को कोठामा दाजुभाइ बस्थे। गाउँकै स्कूलबाट एसएलसी पास दाजु हात्तीसार क्याम्पसमा खाद्य विज्ञान र हरिद्वारमा गुरुकुल शिक्षा पूरा गरेका भाइ पिण्डेश्वर विद्यापीठमा मध्यमा पढ्थ्यो। उसलाई हामी सबै ‘पण्डितजी’ भन्थ्यौं।
दाजु हप्ता बिराएर घर जान्थे। भाइ चाहिं हामी चार महीना बस्दा एक पटक पनि घर गएन।
हरेक शनिबार बिहान रातो–पहेंलो कमीज–धोतीमाथि टुप्पी ठड्याएर, पहेंलै झोला भिरेर कोठाबाट निस्कने पण्डितजी भन्थे, “मन्दिरमा गएर दर्शनार्थीलाई टीका लाइदिन्छु। एक–दुई रुपियाँ दक्षिणा दिन्छन्, एक–डेढ सय भइहाल्छ।”
एक पटक दाजु आइतबार मात्र आउने गरी शुक्रबारै घर गए। शनिबार अपराह्नतिर भाइले मलाई घुम्न जाऔं भने। हामी उकालो फुसे्रतिर लाग्यौं। जिरो पोइन्ट मास्तिर लहरै छाप्रे होटल भएको ठाउँमा पुगेपछि पण्डित बोल्यो, “सेकुवा पाइन्छ कि बुझेर आउनु नि।”
मैले छक्क परेर उसको अनुहारमा हेरें। उसले छिटो जानु नि भन्ने संकेत गर्यो। मैले एउटा होटलमा बुझेर भनें, “सेकुवा त छैन, भुटुवा छ अरे।”
उसले भन्यो, “त्यै भए पनि बसौं न त।”
अनि सुँगुरको भुटुवासँग एक–एक तोङ्वा लडाएर फर्कियौं हामी। उसले अक्षता बेचेको पैसाले आजको कार्यक्रम सम्पन्न भएको जानकारी बाटोमा गरायो। त्यसपछि हामी दुई जना मात्रै भएको वेला नियमित बन्यो, सुँगुरको सेकुवा वा भुटुवा र तोङ्वा।
सबै पटक मेरा पण्डित साथीकै स्रोत खर्च भयो।
धरानमै, एउटा साथी छिटो छिटो घर जान्थ्यो र आएर झोला बिसाउनासाथ सबै भाँडाकुँडा निकालेर खुइँखुइँ माझ्थ्यो। केटाहरू भाँडा माझ्ने काममा जाँगर देखाउँदैनन्। ऊ भने हामीले माझेर राखेको भाँडादेखि चम्चीसम्म माझ्ने।
कारण सोध्दा उसले भन्यो, “म नहुँदा तिमारु मासु पकाई खान्छौ नि त।”
राई भए पनि ऊ जन्मजात साधु थियो।
कीर्तिपुरमा चाहिं परीक्षा दिन मात्र आउने जागीरे साथीहरूसँग पैसा हुन्थ्यो। एक पटक एक जना शिक्षक साथी सरासर कोठामा आएर सोध्यो, “२० दिन जति म अट्न सक्छु?”
हामीले ‘भइहाल्छ नि’ भनेपछि झोला बिसाएर उसले भन्यो, “लु हौ, साह्रै भोक लाग्यो। यसो चिया–खाजा खान जाऔं न।”
हामी खुशीसाथ पछि लाग्यौं। कोठामा पनि सानातिना खर्चहरू उसैले गर्दै गयो। परीक्षा सकिएर घर जानु अघिल्लो बेलुका उसले भन्यो, “लु अब हिसाबकिताब गरौं, परदेशमा कसैलाई मर्का पर्नु हुँदैन।”
त्यसमा हाम्रो बेमन्जुरी हुने कारण थिएन।
उसले पहिलो दिन चियाबिस्कुट खुवाएकोदेखि यावत् हिसाब सुनाउँदै आफूले पाउनुपर्ने कुल रकम बतायो।
ऊ आउनुभन्दा अघि हामीले किनेको चामल, नुन, तेल र ग्यास अझै सकिएको थिएन। उसले त्यसको हिसाब गरेन। घरभाडा पनि जोडेन।
मैले सबै चिजको मोटामोटी हिसाब निकाल्दा उसले तिर्नुपर्ने देखिएपछि भन्यो, “यसो गरौं, दुईचार पैसा त जहाँ पनि तलमाथि भइहाल्छ। अब सबै बराबर भएको मानौं।”
कीर्तिपुरमा केही महीना म एक्लै बसें। एक दिउँसो एउटा साथी आएर भन्यो, “मलाई एक रात कोठा छाडिदिनुपर्यो।”
मैले भनें, “किन?”
उसलाई साँच्चै समस्या परेको रहेछ। घरबाट श्रीमती आउँदै छिन्, कोठामा परीक्षा चलिरहेका साथीहरू छन्। समस्या कुल एक रातको रहेछ, अर्को दिन त भाउजू नै बहिनीकहाँ भक्तपुर जानुहुने रहेछ। यस्तो वेला छिमेकको साथी छाडेर कसलाई गुहार्नु? उसले गुहार्यो, मैले मर्म बुझें।
बेलुका चाबी दिएर अर्को डुकु साथीको कोठा पाँगा गएँ। ऊ ट्युसन पढाउँथ्यो, तर राम्ररी बिहान नभई उठेर जान्छ भन्ने थाहा थिएन। म थिएँ सात बजेसम्म सुत्ने खालको। साथी बिहान चारै बजे उठ्यो र मलाई पनि उठायो।
“पढाएर आऊ न, म सुत्दै गर्छु,” मैले भनें।
“त्यसरी हुँदैन, ढोकामा ताला लगाउनुपर्छ,” उसले भन्यो, “छिटो उठ, उठिहाल।”
उसले भनेन मात्र, सिरक तान्न थाल्यो। पुसको बिहान, अँध्यारै छ। उठेर बाहिर निस्कें, साथी ढोकामा ताला लगाएर हिंड्यो। म हैरान।
प्राथमिकदेखि विश्वविद्यालयसम्मको शैक्षिक यात्रामा भेटिएर छुटिएका यी साथीहरू सम्झँदा धनकुटा बहुमुखी क्याम्पसका सर मोहनमणि पोखरेलको याद आउँछ।
बीएड दोस्रो वर्षको मनोविज्ञान कक्षामा उहाँ भन्नुहुन्थ्यो, “साथी चार किसिमका हुन्छन्– “हलो साथी, चलो साथी, दलो साथी र भलो साथी।”
मोहनमणि सर र अरू अरूले जस्तै मैले पनि यी चारै खालका साथी पाएँ। यीमध्ये चलो साथी र दलो साथीको चर्चा यो सम्झनामा गरें।
साथी अहिले पनि हुन्छन्, पछि पनि हुनेछन्। यो उपक्रम रोकिंदै जाँदा जीवन एक्लिंदै र बिरान बन्दै जानेछ।
हिमाल दशैं साहित्यका थप सामग्री: