नहिंडेको बाटो
मलाई परीक्षाको उस्तो डर थिएन, किनकि आफ्नै शरीरसित अनुत्तीर्ण भएको थिएँ। न खुम्चिन सकिरहेको थिएँ, न फैलिन। शरीरको अवस्था यस्तो थियो, भीष्म पितामहले वाणैवाणको चोट लिएर हिंडे जस्तो।
त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागको नोटिस बोर्डमा स्नातकोत्तर प्रथम वर्षको परीक्षाको रुटिन टाँसिएको थियो।
एक हुल विद्यार्थी नोटिस बोर्ड अगाडि झुम्मिएर गुनगुनगुनगुन गरिरहेका थिए। बाँकी विद्यार्थी थिए, जसको जीवनको वृक्षमा एउटा पात मात्र हल्लिएको हुँदो हो। अनि हामी लन्ठुहरू थियौं, जसका लागि यो ६ रेक्टरको भूकम्प सरह थियो। नियमित पढ्नेहरू त हरेक दिन परीक्षाको सामना गर्न तयार हुन्छन्, तर परीक्षाको मुखमा मात्र पढ्नेलाई यो बाध्यतावश आइलाग्ने नमीठो गाँस थियो, जुन खानै पर्थ्यो, चपाउनै पर्थ्यो, निल्नै पर्थ्यो र पचाउनै पर्थ्यो।
वातावरण केन्द्रीय विभागले परीक्षाको तयारी गर्न विद्यार्थीलाई लामै छुट्टी दियो। हप्तामा एकाध दिन कलेज गएर केही छलफल गर्नु, नोट आदानप्रदान गर्नु, नमूना प्रश्न खोज्नु र त्यसपछि हाहाहुहु गर्नु बाहेक अधिकांश समय घरमै बसेर पढिन्थ्यो। ‘कम्बाइन स्टडी’ का नाममा केही दिन कीर्तिपुरे साथीहरूका कोठामा गइयो। ट्याङ्लाफाँटको कोठामा चार–पाँच जना भेला भएर शुरूको आधा घण्टा पढाइप्रति उत्कण्ठित, चिन्तित र जिम्मेवार महसूस गरिन्थ्यो। इकोलोजीको न्यूमेरिकल, फ्लूवियल इन्भाइरोमेन्ट, इभाइरोन्मेन्ट इकोनोमिक्सको ग्राफ... ... छलफल गर्न अनेक विषय हुन्थे। यस्तो लाग्थ्यो, मानौं देशभरिका धुरन्धर विद्यार्थी ट्याङ्लाफाँटको त्यस घरको कोठामा बसेर वातावरण विज्ञानबारे गहन, तार्किक र विशद अध्ययन गरिरहेका छन्, अब संसारले बिग्रँदो पर्यावरणका लागि चिन्ता गरिरहनु पर्दैन।
तर यो सब आधादेखि एक घण्टासम्म चल्थ्यो। त्यसपछि हाम्रो असली रङ देखिन्थ्यो। कीर्तिपुरे साथीको तकियामुनिबाट तासको गड्डी निस्किन्थ्यो, जसले अघि भर्खरै बेस्कन फुलेको हाम्रो चिन्ता र जिम्मेवारीबोधको बेलुन फ्वास्सै फुस्काइदिन्थ्यो। हाम्रो चिन्ता जलवायु परिवर्तन, समुद्री सतहको वृद्धि र वायु प्रदूषणबाट एकाएक पानाको एक्का, इँटाको बादशाह र सुरतको मिस्सीमा झर्थ्यो।
कहिलेकाहीं ट्याङ्लाफाँटबाट नयाँ बजारतिर गएर राँगाको सुकुटी, भुटन र छ्याङको रमरममा अलमस्त भइन्थ्यो। हल्का मातमा केटाहरूले आफूले मन पराएका केटीका नाम ओकल्थे। त्यस क्रममा यस्तो रहस्योद्घाटन हुन्थ्यो कि कति समयदेखि एउटै केटीलाई दुई वा तीन जनाले मन पराइरहेका हुन्थे।
अनि यी सबैपछि घर फर्कंदै गर्दा ग्लानिले छाती पोल्थ्यो। आफैंलाई दुत्कारिन्थ्यो, ‘थुक्क, आज पनि पढिएन!’
तर यस्तो भुलभुलैया एक साताभन्दा बढी चलेन। नपढी त सुखै थिएन।
मैले मुसाले धान थुपारे झैं हर किसिमका नोटहरू थुपार्न थालेको थिएँ। अग्रजका नोट, समकालीनका नोट, अरू कलेजका साथीहरूले बनाएको नोट, फोटोकपीको पनि फोटोकपी गर्दा गर्दा धमिला भइसकेका अक्षरका नोट। नोटकै विषयमा लेखे यही शीर्षकमा एउटा नोट पक्कै बन्दो हो।
घर बसेर थरीथरीका नोट पढ्थें। धेरै किसिमका नोट पढेर आफ्नो कथित ‘मौलिक’ नोट पनि बनाइरहेको थिएँ। मेरा कतिपय साथीहरू मैले बनाएको नोटको फोटोकपी गर्थे। आफूले बनाएको नोटले निःशुल्ककै भए पनि भाउ पाउँदा आफ्नो योग्यताप्रति खपिनसक्नुको गर्व लाग्थ्यो। यो यसकारणले कि म न कक्षाको टपर थिएँ, न तीक्ष्ण विद्यार्थी। म त बेसक्याम्प पार गरेर निकै माथि पुगेको तर चुचुरो टेक्न नसकेको जस्तो औसत विद्यार्थी थिएँ। मैले बडो मिहिनेतले बनाएका ती नोट आजसम्म पनि सुरक्षित छन्।
परीक्षाको तयारीमा दिनभरिजसो पढ्थें। रुटिन पनि बडो आनन्दको थियो। हप्तामा जम्मा एउटा परीक्षा। एउटा सकिएपछि अर्को विषयको तयारी गर्न पूरै हप्ता हुन्थ्यो। पढ्ने समय पर्याप्त हुने भएकाले कुनै तनाव थिएन।
वातावरण विज्ञान उसै पनि अप्ठेरो विषय थिएन। न ठेलीका ठेली पुस्तक पढ्नुपर्ने, न जटिल सूत्र, हिसाब कण्ठस्थ गर्नुपर्ने, न कसैले भन्न नसकेको मौलिक विचार लेख्नुपर्ने। आफू वरपर भएको प्रकृतिलाई हल्का कौतूहल र रहस्य अनि थोरै प्रेमले जान्न बुझ्न खोजे र केही नीति, नियम, सरल सूत्र र सिद्धान्तमा मिसिए यो विषय केही राम्रै अंक ल्याएर उत्तीर्ण गर्न सकिन्थ्यो। यसर्थ मलाई यो विषय रोचक र सुरुचिपूर्ण लाग्थ्यो।
औसतभन्दा माथिका विद्यार्थीलाई परीक्षामा हुने स्वाभाविक डर मभित्र पनि सधैं भइरह्यो। कहिल्यै नसुनेको, नपढेको प्रश्न आए के गर्ने? जुन विषय पढेर गइयो, अर्कै विषयको प्रश्नपत्र आयो भने के गर्ने? पढेका कुरा सबै बिर्सिए के गर्ने? अथवा अन्य कुनै प्राविधिक त्रुटि भए के गर्ने? अनेक शंका, दुविधा र अनिष्टको कल्पनाले मलाई जीवनभरि नै अँठ्याइराख्थ्यो। परीक्षालाई लिएर मेरो मनको आकाशमा आत्मविश्वासको घाम कहिल्यै झुल्किएन। सधैं शंका, भय, अन्योल र हीन भावना मात्रै हुन्थ्यो। आत्मविश्वासका टाकुरै टाकुरामा हिंड्ने विद्यार्थीहरू देख्दा आफूभित्रको गहिरो भ्वाङ देख्थें र तर्सन्थें।
परीक्षाको दिन आयो। यो दुई दिनमा मैले सामान्य अवस्थामा जति पढ्थें वा पढ्नुपर्थ्यो, त्यसको एक चौथाइ पनि पढ्न सकिनँ। घरीघरी पढेका कुरा सम्झने भरमग्दुर यत्न गर्थें, मरिगए सक्दिनथें।
पहिलो विषयको परीक्षाको ठीक दुई दिनअघिको कुरा हो। बिहान ब्युँझँदा ज्यान कटक्क दुखे झैं भयो, मानौं मेरो पातो ठूलो पिलासले च्यापेको छ। त्यस रात सपना पनि नराम्रो देखेको थिएँ। कसैले लखेटिरहेको, म नांगै दौडेको। अझ दौडिन खोज्दा नसकेर आफ्नो असफलतामा खितिति हाँसेको। कस्तो पुङ न पुच्छरको सपना!
उठ्दा मन एकदमै अशान्त थियो, शिक्षक विनाको कक्षाकोठा जस्तो। उठेर हिंड्न पनि अप्ठेरो भयो। दिनभरिमा ठीक होला कि भन्ने आश थियो, भएन। यो दुई दिनमा आफूले पढेका सबै कुरा दोहोर्याउँछु भन्ने सोच थियो। तर जब पढ्न खोज्थें, ध्यान जति दुखेका ठाउँमै जान्थ्यो।
मेरो शरीर एक्कासि पाटपुर्जा बिग्रेको मशिन जस्तो भयो।
अर्को दिन भयो। परीक्षाभन्दा एक दिन अगाडि। हिजोसम्म ज्यान कम्तीमा एउटा पिलासले मात्र चेपे जस्तो महसूस भइरहेको थियो, आज त दुई–तीन वटै पिलास सक्रिय भए झैं लाग्यो। हाडजोर्नी खिया लागे झैं चल्न गाह्रो मान्न थाले। कहाँको इलास्टिक जस्तो लचिलो शरीर सुकेको दाउरा जस्तो अररो भएको थियो। त्यो दिन पनि ठसठसी कन्दै, ऐया आत्था गर्दै बित्यो।
परीक्षाको दिन आयो। यो दुई दिनमा मैले सामान्य अवस्थामा जति पढ्थें वा पढ्नुपर्थ्यो, त्यसको एक चौथाइ पनि पढ्न सकिनँ। घरीघरी पढेका कुरा सम्झने भरमग्दुर यत्न गर्थें, मरिगए सक्दिनथें। ज्ञान उधिन्न दिमाग गहिराइमा जानुपर्थ्यो, म सतहमै गम खाएर फर्कन्थें। गीत गाउन खोज्नेको सुर नलागे जस्तै, नाच्न खोज्नेलाई पटक पटक ठेस लागे जस्तै!
जस्तोसुकै होस् शरीर, मनको मुट्ठी मजाले कसें। ‘आजको दिन बिता केटा, पछि राम्रो हुन्छ’ मबाट अर्को म फुत्त निस्कियो र मुस्कुराउँदै भन्यो। मैले पनि त्यो अर्को ‘म’ को नक्कल गरेर हाँस्न खोजें। तर मभित्रको मुस्कान ओठभित्र रिंगियो।
घरबाट निस्किएँ। हिंड्दै गर्दा लाग्यो, मनले मात्र रैछ हौस्याउने, शरीरले त खालि हियाउँछ।
मलाई परीक्षाको उस्तो डर थिएन, किनकि आफ्नै शरीरसित अनुत्तीर्ण भएको थिएँ। न खुम्चिन सकिरहेको थिएँ, न फैलिन। न बांगिन सकिरहेको थिएँ, न सोझिन। शरीरको अवस्था यस्तो थियो, भीष्म पितामहले वाणैवाणको चोट लिएर हिंडे जस्तो।
परीक्षा केन्द्र रत्नराज्य कलेज थियो। कपनबाट बस चढें, अररो शरीर लिएर बडो कष्टसित। दुइटा खुड्किला पनि दुई तला जस्तो भयो। जसोतसो बस्ने ठाउँ भेटें, तर चालक नजीकैको टिनको पातोमा, त्यो पनि उल्टो। बस गुड्यो अनेक खाल्टाखुल्टीमा उफ्रिंदै, यात्रुलाई उफार्दै। मानौं चामल हुँ, निफनिएर नाङ्लो छाडेको छु। हरेक चोटि बस उफ्रिंदा कहाँ कहाँको हड्डी चस्स हुन्थ्यो। पीडाले निधारभरि मुजा पर्थे। दुवै हातका मुट्ठी कसिन्थे। लाग्यो, बस रोक्न लगाएर ओर्लिऊँ। लाग्यो, चालकलाई अलिक बिस्तारै चलाउनुस् भनूँ। तर समस्या ममा थियो। समस्या मेरो शरीरमा थियो।
गाडी ठ्याक्कै ओम अस्पताल नजीकै पुगेर यात्रु चढाउन रोकियो। एक मनले लाग्यो ओर्लिऊँ र अस्पताल जाऊँ। तर परीक्षा के हुन्छ? यत्रो वर्षभरि लगाएर पढेको के? त्यत्रो नोट बनाएको के? शरीर अस्पताल लैजा भन्छ, मन परीक्षा दिलाउन केन्द्रित छ। शरीर र मनको द्वन्द्वमा मैले मनकै सुनें। त्यो दिन मलाई थाहा भयो, मान्छे भनेको शरीर होइन रहेछ, मन पो रहेछ। मान्छे भन्नु विचार रहेछ, इच्छा रहेछ। मान्छे भन्नु त सपनाको चाङ रहेछ।
जसोतसो परीक्षा केन्द्र पुगें। सिम्बोल नम्बर अनुसारको कक्षाकोठा खोजें। सिम्बोल नम्बर खोज्दै गर्दा वरपर मेरा साथीहरू झुन्ड झुन्डमा उभिएर गफिंदै थिए। तिनका विनोदी अनुहार र हाँसो देखेर मेरो छाती पोल्यो। कसैसित बोल्न मन लागेन। कसैको छेउमा जान मन भएन। कक्षाकोठा छिरेर बेन्च पनि पक्का भएपछि त्यहीं गएर बसें।
किन किन त्यो ठाउँ मेरो ठाउँ नै होइन जस्तो लाग्यो। आफूभन्दा दायाँ-बायाँ, अगाडि पछाडि को छ भन्नेमा कुनै चासो भएन। अरू वेला भए म पक्कै चासो लिन्थें र जोकोही अपरिचितलाई पनि ‘नजानेको प्रश्नको जवाफ यस्सो देखाऊ ल’ भनेर चाँजोपाँजो मिलाउँथें। यस पटक केही गरिनँ। परीक्षा केन्द्रमा छिर्दै गर्दा यो सोचिरहेको थिएँ, एक घण्टाभन्दा बढी म टिक्न सक्दिनँ। न ज्यानले टिकाउनेवाला थियो, न स्मरणशक्तिले। पढेको कुरा केही नसम्झने भएपछि परीक्षा हलमा बसिरहनुको के औचित्य?
उत्तरपुस्तिका बाँडिए। सिम्बोल नम्बर, कोड नम्बर, मिति आदि लेखें। परीक्षा शुरू भएको जनाउ घन्टी बज्यो। प्रश्नपत्र बाँडिए। ठूलो स्वरमा आदेश आयो, “हल्ला नगरी खुुरुखुरु लेख्नुहोला।”
चार घण्टा एउटै पोजिशनमा बसेर उत्तरपुस्तिका बुझाउन उठ्दा मात्र चाल पाएँ, मेरो शरीर ठीक छैन। आँखा अगाडि बल्ल आउन थाले हिजो र अस्तिका कष्टकर दिन। चार पाइला हिंडेपछि झन् थाहा भयो, बिहान आउँदा जति अररो थियो, त्यसको दुईगुना अररो भइसकेछ शरीर।
प्रश्नहरू खरर्र हेरें। नपढेको, नदेखेको, संगत नभएको कुनै प्रश्न थिएन। नछिचोलेको केही थिएन। थोरै आत्मविश्वास जाग्यो। पहिलो प्रश्नको उत्तर लेख्न शुरू गरें। एकसुरले लेख्दा दश-पन्ध्र मिनेट कुन दुनियाँमा हराएँ, पत्तै भएन। शरीरका जोर्नी दुख्न छाडिसकेका रहेछन्। पातोबाट अदृश्य पिलास गायब थियो। एकफेर लामो सास तानें। बल्ल लाग्यो, यो मेरै ठाउँ हो। म यहींको हुँ।
अर्को प्रश्नमा गएँ। आफ्नो शरीर, दुखाइ, अवस्था सबै बिर्सें। बडो मजा आयो। उत्तरपुस्तिकाका पाना भरिंदै गए। तेस्रो, चौथो, पाँचौं प्रश्नको हल गर्दै चार घण्टाको समय मिलिक्क बिते झैं भयो। यो चार घण्टामा एक घुट्को पनि पानी पिउनु परेन, एक चोटि पिसाब फेर्न शौचालय जानु परेन। एक चोटि पनि पछाडि फर्किनु परेन। न दायाँ न बायाँ फर्किएँ। दुई चोटि कापी थप्न बोल्ने बाहेक दोस्रो व्यक्तिसित कुनै सम्पर्क गर्नु परेन। सिनेमा हलमा कुनै गजब कथावस्तु भएको फिल्मको संसारमा मग्न भएर डुबे जस्तै मेरो चार घण्टा बित्यो।
चार घण्टा एउटै पोजिशनमा बसेर उत्तरपुस्तिका बुझाउन उठ्दा मात्र चाल पाएँ, मेरो शरीर ठीक छैन। आँखा अगाडि बल्ल आउन थाले हिजो र अस्तिका कष्टकर दिन। चार पाइला हिंडेपछि झन् थाहा भयो, बिहान आउँदा जति अररो थियो, त्यसको दुईगुना अररो भइसकेछ शरीर। तर शरीरको कष्टले मनलाई प्रफुल्लित हुनबाट रोक्न सकेन। मसित केही त छ जो मैले भर्खरै हासिल गरेको छु। प्राप्तिको मनतातो रापले मेरो हृदयलाई मन्द सेकिरह्यो।
तर अझै तीन वटा ठूल्ठूला पहाड उक्लिनु थियो। यस्तो शरीर र मनस्थितिले कसरी पो उक्लिनु? शंका पनि सँगै थियो।
अर्को दिन अस्पताल गएँ। बाथको पुरानो रोग बल्झेको शंका डाक्टरले गरे। मैले परीक्षा भइरहेको जिकिर गरें। डाक्टर मुसुमुसु हाँसे। हाँस्ने नै कुरा हुँदो हो। क्लाइमेटोलोजी पढाउने शिक्षककहाँ गएर मैले बाथ रोगले दुःख दियो भनी बिलौना गरे जस्तै भएको हुँदो हो।
तैपनि कारुणिक बोलीमा डाक्टरले भने, “के गर्छौ त बा, रोगले च्यापेपछि!”
धन्न सान्त्वना पाएँ।
उनले हप्तादिनका लागि पेनकिलर लेखिदिए। पेनकिलरसितको उठबस नौलो थिएन मेरा लागि। तर पेनकिलरले काम गरेन। शरीरको सिस्टमलाई छेडेर कहाँ जान्थ्यो कुन्नि औषधिको प्रभाव, डोकोमा पानी नअडिए जस्तै। डाक्टरले एउटै परिवारका पेनकिलरका विभिन्न दाजुभाइसितको संगत मलाई त्यो महीनाभर गराइरहे। न्याप्रोसिन, डाइक्लोफिन्याक, इन्डोमेथासिन... ... आदिका रंगीचंगी खोल, फरक फरक साइज, फरक फरक मिलिग्राम, तर सबै प्रभावहीन।
मेरो हप्ताभरिको समय कष्टप्रद बित्थ्यो। अनि परीक्षाको चार घन्टे समय आउँथ्यो, जुन वेला म आफैंलाई बिर्सन्थें। मेरो रोग भुल्थें। पीडा भुल्थें। डाक्टर, अस्पताल, औषधि, अनिद्रा, बेचैनी, छटपटी सबै सबै बिर्सन्थें। त्यो चार घण्टामा के जादू थियो जान्दिनँ म, तर त्यो समयले मलाई बेग्लै संसारमा लैजान्थ्यो। आकाशमा उडे झैं हुन्थें। प्वाँख झैं हलुका महसूस गर्थें। घामका रेशमी किरणमा लट्ठिन्थें। दुखाइको यो नाटकीय विस्मृति मेरो लागि अनौठो र निःसन्देह लाभदायक थियो। लाग्थ्यो, सधैं परीक्षा मात्र दिन पाइरहूँ। सधैं यस्तै एउटा दुनियाँ खोजेर हराइरहूँ, जहाँ म आफैंलाई बिर्सूं।
चार वटा परीक्षा सकियो, तर शरीरबाट रोग सकिएन। झन् झन् कष्टकर भए दिनहरू। समाजमा घुलमिल भइराखेको मान्छे म बिस्तारै एउटा टोलमा सीमित भएँ। त्यसपछि एउटा घरमा, एउटा कोठामा र अन्ततः एउटा खाटमा सीमित भएँ।
प्रयोगात्मक परीक्षा विभागले नै लिन्थ्यो। उपस्थितसम्म हुन सके परीक्षामा सहज वातावरण मिलाइदिने आश्वासन विभागीय प्रमुखबाट पाइयो। तर बेड रेस्टमा रहेको मान्छेलाई कपनबाट कीर्तिपुरसम्म पुग्नु आफैंमा भूभारत थियो। जसोतसो उपस्थित भएँ। कुनै परीक्षामा ट्याक्सी चढेर गएँ। कुनै परीक्षामा बाइकवाला साथी घरमा लिन आउँथे र बडो जतन गरेर लैजान्थे। जसोतसो परीक्षा सम्पन्न भयो। भाइभा लिने एक्सटर्नलले पनि मेरो स्वास्थ्यलाई विचार गरिदिए। शिक्षक, विभागका कर्मचारी, मेरा साथीहरूले जुन स्नेह देखाए र सहायता गरे, शायदै बिर्सूंला। रुग्ण र कमजोर मान्छेलाई आफन्त, साथीभाइ, शिक्षकहरूको ससानो सहयोग र स्नेहले कति ठूलो हौसला मिल्दो रहेछ। सम्झँदा पनि छातीमा एउटा डल्लो हुँडलिन आइपुग्छ र आँखाका चेप रसाउन थाल्छन्। कमजोर मान्छेलाई ‘म छु नि है’ मात्र भनिदिनुपर्छ, त्यसबाटै उसलाई आधा तागत मिल्दो रहेछ।
एउटा किताबका कैयौं च्याप्टर एकै कोल्टे नफेरी पढ्थें। कोल्टे फेर्दा धेरै ठाउँमा दुख्थ्यो। त्यो दुखाइ पाँच मिनेटसम्म तीव्र हुन्थ्यो र एकछिन ठसठसी कनेर बाँकी च्याप्टरतिर बढ्थें। किताबमा भएका विचारले मस्तिष्कलाई व्यस्त बनाइदियो।
दोस्रो वर्षको कक्षा धमाधम हुन थाल्यो। मेरो रोग झन् झन् बढ्दै गयो। म फेरि सीमित हुँदै गएँ। वेलावेला अस्पतालमा भर्ना हुनु र डिस्चार्ज हुनु नियति बन्यो। कोल्टो फेर्न समेत गाह्रो हुन थालेको थियो। त्यस्तो वेला घरपरिवारले मेरो रुचिलाई ध्यानमा राखेर विभिन्न साहित्यिक किताब ल्याइदिन्थे। ती किताबका पाना जसै पल्टाउँथें, अलग दुनियाँमा पुग्थें। परीक्षा दिंदा आफू र दुखाइ बिर्साउने गरी अर्कै लोकमा पुगे जस्तै किताब पनि मेरा लागि एलोपेथिक पेनकिलरभन्दा बढी प्रभावकारी हुन थाले।
एउटा किताबका कैयौं च्याप्टर एकै कोल्टे नफेरी पढ्थें। कोल्टे फेर्दा धेरै ठाउँमा दुख्थ्यो। त्यो दुखाइ पाँच मिनेटसम्म तीव्र हुन्थ्यो र एकछिन ठसठसी कनेर बाँकी च्याप्टरतिर बढ्थें। किताबमा भएका विचारले मस्तिष्कलाई व्यस्त बनाइदियो। कथामा हुने घटनाले मन अलमल्याइरह्यो। पात्रहरूले डोर्याएर आफैंसित लगे, तिनका खुशीमा म टागिएँ र तिनका दुःखमा उप्किएँ, तिनका अनेक भावसँगै आफूलाई चोपलें। यसरी मैले केही समय अक्षरका उकाली–ओराली उक्लिएँ र ओर्लिएँ अनि अक्षरकै चौतारीमा आफूलाई बिसाएर थकाइ मारें। यो यात्रा बडो मोहक भयो।
साहित्यका किताबहरूको लती हुँदै गएँ। मलाई पछुतो एउटै कारणले भयो, यसरी साहित्यका अनेक किताब पढ्ने उपाय मलाई पहिल्यै किन आएन? त्यसो हुन सकेको भए आफ्नो रुग्ण शरीर र मनका उदासीलाई केही हदसम्म तह लगाउन सक्षम त हुन्थें। मेरो समयमा पोतिएको कालोलाई अलिकति उज्यालो त बनाउन सक्थें।
०००
साथीहरू दिनहुँ कलेज जान्थे। उनीहरूसित सुन्दर क्षण बिताउने मेरो हक रोगले खोसिदिएको थियो। सुन्दर स्मृतिको भण्डारण गर्ने समय मबाट चिप्लिएर गएको थियो।
दोस्रो वर्षमा कुन कुन विषय छान्ने भन्ने हुन्थ्यो। कुन विषय छान्ने, म यसको लायकसम्म रहिनँ। हेर्दाहेर्दै मिड टर्म आयो र गयो। म अझै ओछ्यानमै रहें। साथीहरू ‘केस स्टडी’ नामका १४ वटा रिसर्चमा जुट्न थाले, म रोगसँगै भिडिरहेको थिएँ। धन्न माया गर्ने केही साथी थिए, वेलावेला घरमा आउँथे र मेरो उराठलाग्दो मनलाई केही क्षणका लागि भए पनि हराभरा बनाएर जान्थे।
“चिन्ता नगर, तिम्रा लागि प्रपोजल हामी बनाइदिऔंला,” उनीहरू भन्थे।
“तिमी त्यस वेलासम्म ठीक नभए रिसर्च पनि हामी नै गरिदिऔंला,” अझ भरथेग गरिदिन्थे।
“त्यस वेलासम्म ठीक हुनू। नभए केही छैन, रिपोर्ट पनि हामी नै बनाइदिऔंला नि।”
यस्तो थियो उनीहरूको प्रेम र साथ। उनीहरू घरमा आएको दिन बहार आए झैं लाग्थ्यो। उनीहरू घरबाट गइसकेको कतिबेरसम्म म उनीहरूको उपस्थिति महसूस गरिरहन्थें। घरमा सधैं धुम्म परेर खुम्चिन्थें, उनीहरू छेउछाउमा हुँदा मलाई जिस्किन आउँथ्यो। हाँस्न आउँथ्यो। केही उत्ताउलिन पनि आउँथ्यो। साथी ती हुन्, जसको उपस्थिति मात्रले कठिन समयमा ओठमा मुस्कान र हृदयमा खुशी ल्याइदिन्छ। मान्छेलाई खुशी हुन धेरै पैसा चाहिंदैन। धेरै प्रगति गरिराख्नु पर्दैन। बस्, केही असल साथी भए पुग्छ।
०००
पहिलो वर्षको परीक्षाकालमा लागेको रोगले मलाई दोस्रो वर्षको अन्त्यसम्म छाडेन। दोस्रो वर्ष सकिने वेला बल्ल कलेजको दैलोमा टेक्न सकें। दोस्रो वर्षको करीब ७५ प्रतिशत पढाइ छुट्यो। मेरो ६ महीना रोगले निर्ममतापूर्वक चुँडेर लगेको थियो। साथीहरूसितको घुमफिर, साहचर्य, हँसीमजाकबाट वञ्चित रहें। उनीहरूले थेसिसको पहिलो फिल्ड भिजिट सकिसकेका थिए। म भर्खर कलेज पुगेर कुन विषय छान्ने भन्नेमा दुविधाग्रस्त थिएँ। मेरो भागमा दोस्रो वर्षको पढाइ पढ्नु यति नै लेखेको रहेछ।
तर केही थिएन। दोस्रो वर्षको केही महीना भए पनि पढ्न पाएँ। थेसिस केमा गर्ने ढिलै भए पनि छान्न पाएँ। प्रथम वर्ष झैं फेरि अनेक नोट बटुलेर आफ्नै नोट बनाउन पाएँ। यसपालिको नोटले पनि निःशुल्कको बजारभाउ पायो। यसपालिको परीक्षा पनि राम्रैसित दिएँ, कुनै ‘कम्बाइन स्टडी’ विनै। छ्याङका डबका र राँगाको सुकुटी विनै।
तर साथीहरूसँगको समय यसपालि झन् राम्रो बित्यो। साथीहरूको थेसिस फिल्डमा गएँ। प्रथम वर्षमा नभएको घनिष्ठता दोस्रो वर्षको थेसिस फिल्डमा प्रगाढ भयो।
स्नात्तकोत्तर यसरी बित्यो। परीक्षाफल आयो। ८८ प्रतिशत ल्याएर डिस्टिङ्शन पाएँ। तर जुन उत्साह लिएर वातावरण विज्ञान पढेको थिएँ, खोलानाला, नदी, जंगल, पहाड, हिमालको समीपमा गएर वातावरणविद्का हैसियतले काम गर्ने मेरो सपना कहिल्यै पूरा भएन। वातावरणविद् भन्दै गमक्क परेर हिंड्ने मेरो रहर रहर मात्रै भयो। जागीरका लागि दर्जनौं ठाउँमा आवेदन दिंदा दिंदा थकित भइसकेको थिएँ। अधिकांश साथी जागीरे हुँदा म बेरोजगारै रहिरहें।
त्यही बेरोजगारी, डिप्रेशन र एक्लोपनले मलाई लेखक बनायो। शायद जे बनायो ठीकै बनायो। तर के बन्न हिंडेको मान्छे, कुन बाटो समातेको मान्छे, अन्त्यमा कहाँ पुगियो, अहिले सम्झँदा अचम्म लाग्छ।
वातावरणविद् हुन मसित ट्रान्सक्रिप्टमा त भरपूर अंक थियो, शायद क्षमता थिएन। त्यसैले कसैले अन्तर्वार्ताको लायकसम्म सम्झेन। तर मैले बडो प्रेमले छानेको, चाखले पढेको, कष्टले छिचोलेको विषय थियो त्यो। बडो रस लिएर पढेको विषय थियो। पढुन्जेल मनको गहिराइसम्म खुशी नै खुशी भरिएको थियो। भर्ना हुँदाको दुब्लोपातलो ज्यान सुख र सन्तुष्टिले होला, तीन–चार महीनामै पाँच किलो बढेको थियो।
जिन्दगीका केही अध्याय यस्ता छन्, जसलाई म बारम्बार सम्झिराख्न चाहन्छु। उग्राइराख्न चाहन्छु र आफ्नो वर्तमानलाई स्मृतिको लेपनले टिलिक्क टल्काउन चाहन्छु। त्रिभुवन विश्वविद्यालयमा जे र जति दिन बिते, ती सबै अनुभव मेरा लागि सबैभन्दा संग्रहणीय छन्, जसलाई मैले स्मृतिको दराजमा बडो जतन गरेर राखेको छु।
हिमाल दशैं साहित्यका थप सामग्री: