धरानतिर छुटेको त्यो दशैं
त्यो वेला धरानको दशैंमा लिएको अर्गानिक मजा खर्बाैं डलरको रहेछ। बालापन गुज्रेपछि त्यस्तो दशैं फेरि कहिल्यै आएन!
दशैं आएपिच्छे म धरानलाई सम्झन्छु। तीसको दशकमा त्यहाँ बिताएको बाल्यकालतिर बरालिन्छु। त्यसयता निकै उमेर समयको नदीमा बगिसक्यो। अन्ठाउन्न वटा दशैं मनाइसकेछ जिन्दगीले, कहिले स्वदेशमा त कहिले विदेशमा। तर पनि धरानमा देखेभोगेको दशैं कहाँ छुट्यो जस्तो लागिरहन्छ।
घटस्थापनाअघि नै टोलैपिच्छे लंगुरबुर्जाका अखडा झुल्किन्थे, बर्खामा चारकोशे जंगलमा च्याउ भररर पलाए जस्तो! छालाले मोरेको टोकरीमा गोटी हल्लाउँदा जोगीको डमरूको जस्तो आवाज बाटो–दोबाटोमा सुनिन थालेपछि हामी जस्ता भुरालाई औडाहा हुन्थ्यो। खेलाउनेहरू टोलका अलि खाइलाग्दा तिघ्रेहरू हुन्थे। बटारिएका पाखुरा देखाउनकै निम्ति खुलै राख्थे शायद तिनीहरू। खेल्ने चाहिं हामी झुम्रा जस्ता लुम्रालाम्रा!
गजबको कुरा, गोटीको आकारले खेल र खेलाडीको हैसियत सर्लक्कै छुट्याउँथ्यो। ठूला गोटी भएका खालमा ठूला उमेरका र ठूलै दाउ लाउनेहरू बस्थे। साना गोटी भएकामा साना भुरा र सानै दाउ लाउनेहरू अल्झिन्थे। निन्याउरो अनुहार लगाएर आफूले रोजेको गोटी पल्टिदेओस् भनी देवीदेवता भाक्दै टुक्रुक्क भुइँमा बस्थे तिनीहरू।
श्यामेले खेलाउने गोटीको आवाज सम्झिँदा, हुने भए अहिले पनि उसैको अखडातिर दौडूँ दौडूँ लाग्छ मलाई। अरूका खालबाट मसिनो ख्याटख्याट ख्याटख्याट आउँदा उसकहाँ हेलिकप्टरको झैं गडगड गडगड मच्चिन्थ्यो। छुट्टै स्वरशराबा हुन्थ्यो। उसका खालमा घोपा क्याम्पदेखिका तरुनातरुनी र अधबैंसेहरू घेरा हालेर बस्थे। त्यस वेला अलि चिल्लाचाप्ला अनुहार परेकाहरू घोपा क्याम्पतिरैबाट आउँथे। ती सकेसम्म ब्रिटिश लाहुरे, त्यो नभए नि गोरासँग काम गर्ने अलि पैसा खेलाउन सक्नेहरू नै हुन्थे। तिनकै कृपामा धरानमा शिव टाकिज र गणेश टाकिज फिल्म हल चम्केका थिए। तिनैको स्वादे जिब्रोका कारण नगरमा नयाँ नयाँ भित्रिएका चाउमिन, थुक्पाका पसल टिकेका थिए। तिनकै भरमा नेपाली युवालाई जिन्सको पेन्टशर्टमा ठाँटिन पल्काउने फेन्सी पसलका दिन धपक्क बलेका थिए। अनि ती तिनै अनुहार थिए जसले श्यामेको लंगुरबुर्जाको कारोबारको ग्राफ उँभो लगाइदिन्थे। त्यही प्रतापले होला, श्यामेको अनुहार अरू वेलाभन्दा दशैंछेका रातोपिरो भइसक्थ्यो।
श्यामेले घरीघरी गोटीमा सेतो धूलो खन्याउँदा म विस्मित हुन्थें। मैले ठम्याएसम्म त्यो धूलो तराईतिर चर्को गर्मीमा घमौराले चिलचिलाउँदा जीउमा दल्ने ‘टल्कम पाउडर’ हुनुपर्छ। फूलबुट्टे बट्टामा हुने त्यो पाउडर उति वेला जोकसैले जति नै रहर गरे पनि दल्ने हैसियत चाहिं अलि हुनेखानेले मात्र राख्थे क्यार! तापनि श्यामेका गोटी त्यही पाउडरले चिल्लाचाप्ला रहन्थे। यसले उसको खालको छुट्टै गरिमा झल्काउँथ्यो।
मैले चाहिं श्यामेको खालमा खेल्ने हिम्मत कहिल्यै बटुल्न सकिनँ। तापनि दाउ लाउनेहरूको भीडमा सकीनसकी चेपिंदै घण्टौं हेर्न कहिल्यै छोडिनँ। उता श्यामे देखिसहन्नथ्यो। भीड नबढुन्जेल मात्र हेर्न दिन्थ्यो, त्यसपछि हामी जस्ता फोकटलाललाई लघारिहाल्थ्यो। उसको एउटा सहयोगी थियो, डेडो आँखा परेको। लघार्ने क्रममा त्यसले एकपल्ट मेरो गर्दन यस्तरी बटारिदियो कि दुखाइ निको पार्न पाँच–सात दिन तातो तेलले सेक्नुपर्यो। “त्यो बज्जियाकाँ नजा भन्या हैन!” आमाले गालीसँगै तेल घसिदिनुभो। जति नै लघारिए पनि श्यामेको खालमा हरदिन नगई चित्त नबुझ्ने मनोरोगमा परिसकेको थिएँ म। टोले दौंतरीमाझ श्यामेको खालमा लंगुरबुर्जा खेलेको धाक लाउने प्रतिस्पर्धामा टिक्नुपर्ने बाध्यता जो थियो। तब न बिरादरीमा हामी जस्ता जैरेको ‘कुछ इज्जत’ बाँकी रहन्थ्यो!
श्यामेको खालमा तान्ने अर्को चुम्बक पनि थियो। ऊ काठे चारपाईमा खाल थाप्थ्यो। शानले उभिएर खेलाउँथ्यो। ज्ञाने, मइन्द्रे, राई कान्छा आदि खालवाला भुइँमा ओछ्याएर खेलाउँथे। तिनले ‘श्याम दाइ’ भन्दै अदब नराखे त्यही भुइँबाट पनि ‘किकआउट’ हानिदिन्थ्यो। त्यो चोक उसको उपनिवेश जस्तो थियो।
कतिपल्ट मेरै साथीहरूले आमा-बुबाको हातबाट रामधुलाइ खाएको आफ्नै आँखाले देखेको छु। मैले बुझेसम्म तिनको गल्ती बस यत्ति थियो, आमाले तरकारी किन्न वा बाउले रक्सी लिन पठाएको पैसा बाटैमा लंगुरबुर्जामा तुराए।
सुन्थें, श्यामेले पुलिस मिलाएको हुन्छ रे। यस बापत शायद उसले अरू लंगुरबुर्जावालाहरूबाट दैनिक रकम असुल्थ्यो। त्यही रकमको रवाफले हुनुपर्छ, अरू चोकमा लंगुरबुर्जा खोस्न पुलिस छापामार शैलीमा आउँथे, तर त्यो चोकमा तिनको छाया पनि पर्दैनथ्यो। पुलिस आइहाले पनि श्यामेकहाँ पहिल्यै खबर पुगिसकेको हुन्थ्यो। तब खेलाउनेहरू खाल-गोटी लुकाएर भलादमी पाराले बस्थे। पुलिसहरू आए जस्तो मात्र गरेर खाजापानी खान छिर्थे। खाजापानीको व्यवस्था त्यहीं पछाडिको अँध्यारो रक्सीपसलमा हुन्थ्यो, रामकुमारी छेमाले चलाएको। खाईपिई सकेर जसै जुँगे हल्दार अघिअघि र अरू पुलिस पछिपछि बाटो लाग्थे, श्यामेको इशारामा सबै खालवाला फेरि आफ्नो कर्ममा सक्रिय भइहाल्थे।
श्यामेको खालमा बसेका वेला मेरो आँखा उसले घाँटीमा भिरेको झोलामा परिरहन्थ्यो। हरेक पल्ट टोकरी उठाउनासाथ ऊ झम्टेर पैसा सोहोर्थ्यो र त्यही झोलामा कोच्थ्यो। मलाई लाग्थ्यो, दुनियाँको सबैभन्दा भाग्यमानी मान्छे उही हो! दाउ हार्नेहरू भने आफ्नो भाग्यलाई दोष लाउँदै मुखाकृति मरीच जस्तो बनाउँथे। अलि उद्दण्ड खाले हरुवाहरू छेउमा बसेको लुम्रेलाम्रेलाई आँखा तर्दै ‘तेरो लोदर लागेको...साला पर जा!’ भन्दै लघार्थे। पैसा रित्तिंदै गएपछि तीसँग एउटै विकल्प बाँकी रहन्थ्यो, अझै उत्तेजित बन्ने तर खाल नछोड्ने। अरूबाट सापटी माग्ने क्रम फटाफट अघि बढ्थ्यो। सापटीको पैसा फेरि दाउमा लाउँथे र थप हार्थे। अन्ततः झल्लुराम भएर रामकुमारी छेमाको छेवैको रक्सीपसलतिर घुस्थे। राति अबेर ती एकाएक बाटोमा वारिपारि ढुनमुनिंदै अनि छिमेकीदेखि भुस्याहा कुकुरसम्मलाई झर्को लगाउँदै घर फिरिरहेका देखिन्थे। घर पुगे लगत्तै अर्को ‘एपिसोड’ शुरू हुन्थ्यो। त्यो रात अबेरसम्म लोग्ने-स्वास्नीको आमाचकारी गाली सिंगो टोलले सुन्नुपर्थ्यो।
कतिपल्ट मेरै साथीहरूले आमा-बुबाको हातबाट रामधुलाइ खाएको आफ्नै आँखाले देखेको छु। मैले बुझेसम्म तिनको गल्ती बस यत्ति थियो, आमाले तरकारी किन्न वा बाउले रक्सी लिन पठाएको पैसा बाटैमा लंगुरबुर्जामा तुराए। अनि डरको भारी बोकेर रित्तै हात घर फिरे। एकपल्ट त डरले दिले भन्ने मेरो साथी दुई दिनसम्म घर फिरेन। भोलिपल्ट बिहानै उसका बाउ-आमा सोध्दै मसँग आइपुगे। बुझ्दा त, बाउले खसी किन्न राखेको पैसा किलामा झुन्ड्याएको कमिजको पकेटबाट उडाएछ र त्यही चोकको लंगुरबुर्जामा थापेर सिध्याएछ। उसका बाउ वेलावेला गाउँमा खसी काटेर भाग लाएर बेच्ने गर्थे।
जे होस्, धरानमा लंगुरबुर्जा खेलेर न कहिल्यै जितियो, न हारेर कहिल्यै अघाइयो। तथापि मनमौजी जिन्दगीको त्यो एउटा दस्तुर थियो।
०००
धरानको विजयपुर डाँडो थुप्रै देवीदेवताको मूलघर हो। नवरात्रभरि टोल टोलबाट भक्तहरू त्यतातिर उक्लन्थे, सखार दुई-तीन बजेबाटै। बाटोछेउको कोठा भएकाले निद्रामै मेरो कानमा गुन्जिन्थ्यो, तिनको पदचाप र खासखुसे आवाज। ‘खितिती’ गर्दै घरीघरी बग्ने किशोरीकिशोरीको हाँसो। मलाई जर्याकजुरुक्क उठेर त्यो अपरिचित हुलमा मिसिन मन लाग्थ्यो। तिनैसँग लमर्याङ लमर्याङ हिंडूँ जस्तो लाग्थ्यो। कोनि, कहाँबाट आउँथे त्यतिका ठिटाठिटी!
धेरै जना झिसमिसे छिचोल्दै दन्तकाली, पिण्डेश्वर, बूढासुब्बा पुग्थे। केही आँटिलाहरू चाहिं विजयपुरको उपल्लोछेउको एकलासे घनघोर वनतिर लाग्थे। त्यता पञ्चकन्याको मन्दिर थियो। पाँच वटी कन्या एकैपल्ट त्यो मन्दिर पुगे त्यतै बिलाउँछन् भन्ने लोकोक्ति र डर व्याप्त थियो। तर कोही बिलाइहालेको मैले धरान बसुन्जेल देखेसुनेको थिइनँ।
मन्दिर दर्शनका वेला ठिटाठिटीको ध्याउन्न मन परेको मान्छेका सामुन्ने कसरी पर्ने भन्ने हुन्थ्यो। बूढासुब्बाको मन्दिर परिसर यसका लागि बडा मजाको ठाउँ थियो।
अरू वेला आठ बजेसम्म सुत्ने र बाउ-आमाले गाली गर्दा पनि नउठ्ने ठिटाठिटी यति वेला बिहान तीन बजे नै उठेर फुर्तीसाथ सडकमा उर्लन्थे। धेरैले भन्थे, उनीहरूलाई त्यसरी ‘फुलचार्ज’ गर्ने बिजुली अर्थोक नभएर ‘प्रेमराग’ थियो। पहिल्यै मन मिलाइसकेकाहरूले आफ्ना केटो वा केटी साथीसँग हिंड्न अनि दिल दिन-लिन बाँकी भएकाहरूले सम्भावित ‘पार्टनर’ खोज्न यही मौका छोप्थे। काठमाडौंतिर वा अन्तै पढ्न वा बस्न थालेका र छुट्टीमा धरान फिरेका ठिटाहरू पनि त्यो हुलमा मिसिएपछि त माहोल अर्कै हुन्थ्यो। लोकल ठिटाठिटीभन्दा तिनको भाउ आकाशिएको हुन्थ्यो। खासगरी केटीहरू माझ! “ओए हेर्त, पैला तँलाई साइड हान्ने त्यो लम्बे केटा पनि आ र’छ त!” नजीकैकी केटीले उसकी साथीलाई कोट्याउँथी। ऊ भने ‘उस्स!’ भन्दै भाउ नदिए जस्तो गर्थी, तर भित्रभित्रै त्यो केटासँग नजिकिने दाउ ढुक्थी।
मन्दिर दर्शनका वेला ठिटाठिटीको ध्याउन्न मन परेको मान्छेका सामुन्ने कसरी पर्ने भन्ने हुन्थ्यो। बूढासुब्बाको मन्दिर परिसर यसका लागि बडा मजाको ठाउँ थियो। सानो सानो मेला लाउन मिल्ने मैदान, बाक्लै उभिएका बाँसघारी जहाँ थिए। बाँसका बोटबोटमा प्रेम जोडीका नाम खोपिएका। ऊफ्, त्यो प्रेमिल संसारको के बयान गर्नु! खोक्दै त्यहाँ पुगेका बूढापाका त यो संसारमा छिट्टै जन्मिएकोमा पछुताउँथे भने ठिटाठिटीको त हिसाबै भएन। कति त बाँसघारीको ओटमा लुकेर विगतमा गरेका प्रेमालाप सम्झिई भावुक हुन्थे। “कहाँ होली उहिले प्रेमालाप गरेकी त्यो केटी?” भन्दै नजानिंदो पाराले सोधखोज गर्दै हुन्थे कतिपय अधबैंसेहरू। यस्तोमा कहाँ सकिन्छ र बिर्सन धरानको त्यो ताजमहललाई?
मन्दिर दर्शन सिध्याएपछि बड्डाहरूले विजयपुर चोकका चियापसलमा अड्डा जमाउँथे। धेरै पछि धरान फिरेका बड्डाबड्डीले अक्सर त्यहीं बसेर ‘अपडेट’ लिन्थे, आफ्नो ‘एक्स’ देखि अरूको ‘एक्स’ सम्मको, त्यसैगरी हुनेवालाको। त्यहाँ निष्कण्टक भएर घण्टौं बस्नु, चना-सेल खानु, छिनछिनमा खितखिताउँदै हाँसिरहनु, साइड दिनु र लिनुको ‘अर्गानिक’ मजा अर्कै थियो। नजीकै अग्ला नरिवल, सुपारीका बोटहरूले पंखा हम्किरहेका हुन्थे। न अहिलेको जस्तो गाडीको टाइँटुइँ थियो न त मान्छेहरूको हतारो वा चटारो। निर्बन्धनमा हुन्थे हरएक जन, त्यो धरानमा।
प्रेमिल युवाहरूलाई वर्षदिन कुरेर नवरात्रको अवसर हात लागेको हुन्थ्यो। त्यो खेर गए अर्को एक साल नकुरी सुख थिएन। अहिले जस्तो मोबाइल वा इन्टरनेटको सुविधा थिएन जहाँ झुन्डिएर घण्टौं गफिन सकियोस्, ‘भर्चुअल डेटिङ’ गर्न सकियोस्। यी यावत् कारणले प्रेमीप्रेमिकालाई एकअर्कासँग भेट्न-बोल्न नवरात्रको प्रातःकाल नै उत्तम प्रहर थियो र त्यसलाई भरपूर उपयोग गर्न खप्पिस थिए, धराने युवायुवती। यसैले गर्दा कहिल्यै लैला-मजनुको कमी भएन, धरानलाई। टोलैपिच्छे बग्रेल्ती लैला-मजनु थिए। कोही भूतपूर्व लैला-मजनु थिए, जो थिए यतिखेर बाउ-आमा भई बाह्र ठक्कर खाई थाकिसकेका। कोही रिकुटे लैला-मजनु थिए, जो थिए भर्खरै चलेको एक दुजे के लिए सिनेमाले छोडिगएको कमल हसन र रती अग्निहोत्री ‘स्टाइल’ को कपी गरिरहेका।
यति वेला त ती लैला-मजनुका नाति-नातिना समेत डेटिङ गर्न थाले होलान्। तिनलाई उमाल्न अहिले हात हातमा मोबाइल र सामाजिक सञ्जालको गर्मी छँदै छ। शायद यसैले आजभोलि नवरात्रको झिसमिसेमा विजयपुर पहाड उक्लने त्यस्तो जाँगर र लर्को देखिन्न। विजयपुरका मन्दिर अचेल गुल्जार देखिन्नन्। विजयपुरका देवीदेवता अचेल दर्शनार्थीको होलोखुकुलोले गर्दा शायद अलि फुर्सदमा छन्।
०००
दशैं-तिहार आउनुअघिबाटै धरानमा मेला शुरू हुन्थ्यो। हरेक टोल, गल्लीसम्म सुनिने गरी गीत घन्काउने ती मेला कसको अगुवाइमा लाग्थे, थाहा छैन। तर तिनले रात्रिजीवनलाई एकाएक चम्काउँथे। बुढ्यौली लागेको धरानको बैंस फिर्थ्यो। ठिटाठिटी बिजुली बत्तीमा कीरा झुम्मिए जसरी मेलातिर लठारिन्थे।
निकै पछि थाहा पाएँ, त्यस्तो मेला लगाउने त धन्दा पो रै’छ। मेलाका आयोजक, स्टल थाप्न तँछाडमछाड गर्ने कलाबाज र अनुमति दिने नेता-प्रशासकहरूको कारोबार रै’छ त्यो। चाडबाडमा सबैले मुख मिठ्याउने त्यो पुरानो रीतको भित्री खेला मेला धाउने हामी अर्काथरीलाई के थाहा? यसै यसै खुशीले धपक्क बल्थ्यौं। मेला कहिले लाग्ला भनेर दिनगन्ती गरिबस्थ्यौं।
अरू वेला चोक चोकमा बेगारी देखिने तिघ्रे र झ्याप्लेहरूलाई मेलामा निकै सक्रिय देख्न पाइन्थ्यो। वेला-कुवेला ‘ग्याङफाइट’ मा खुँडा, कट्टी र नाइनचाकु बोकेर भिंड्ने बेगारीहरू एकाएक उद्यमी वा जागीरे बनेर मेलाका स्टल स्टलमा उभिन्थे। अरू वेला डरलाग्दा देखिने मसलधारीहरू त्यहाँ उभिंदा सेलाएर हँसिला भइसकेका हुन्थे। मान्छे देख्नासाथ किच्चकिच्च हाँस्दै आफ्ना स्टलमा बोलाउँथे। शायद मेलाबाट राम्रै आम्दानी हुन्थ्यो, त्यसैले केही हप्तालाई तिनको फुर्तीफार्ती बेग्लै हुन्थ्यो। एउटा लुटेरो खेला म कहिलै बिर्सिन्नँ। रिङ फाल्ने खेलाले म बेवकूफलाई सधैं ठग्यो। अनेक बलबुद्धि लगाएँ। तर पैसा र समय बर्बाद पार्नेभन्दा अर्को नतीजा हात लागेन।
बेलुकी मेलाको माइक बज्न थालेपछि मलाई औडाहा चल्थ्यो। आमालाई कसरी झुक्याएर मेलातिर दौडूँ भन्दै उपाय खोज्न थाल्थें। मौतका कूवामा दौडिरहेको मोटरसाइकलको रफ्तार म घरबाटै ‘लाइभ’ देख्थें तर कल्पनामा।
पछि गएर भेउ पाएँ, त्यो खेलामा गतिलादेखि अगतिला र मिति गुज्रेका सामानहरूको थुप्रो लगाइएको हुन्थ्यो। टेबलभरि हार मिलाएर राखिएका बिस्कुट, साबुनका डल्ला, शेम्पूमा आँखा पर्थ्यो। मेरो कपालले त्यतिन्जेल एक थोपा शेम्पू पाएको थिएन। जित्नलाई नियम सजिलो थियो, परैबाट फालेर बेतको रिङ बिस्कुट, साबुन, शेम्पूका थुप्रामा बसाल्नुपर्ने। म ठाडो उभिएको शेम्पू मात्र ताक्थें। तर दुर्भाग्य मैले फालेको रिङ जहिल्यै बाहिर बाहिर भाग्थ्यो। सस्तो साबुन, बिस्कुटभन्दा गतिलो सामान कहिल्यै हात लागेन।
बेलुकी मेलाको माइक बज्न थालेपछि मलाई औडाहा चल्थ्यो। आमालाई कसरी झुक्याएर मेलातिर दौडूँ भन्दै उपाय खोज्न थाल्थें। मौतका कूवामा दौडिरहेको मोटरसाइकलको रफ्तार म घरबाटै ‘लाइभ’ देख्थें तर कल्पनामा। अनि बुर्कुसी मार्दै मेलास्थलतिर भाग्थें। तर मेला पुगेपछि गेटकीपरले रोक्थ्यो र ‘टिकिस’ माग्थ्यो। ‘टिकिस’मा फोकटमा पैसा फ्याँके जस्तो लाग्ने। अक्सर जसोतसो झुक्याएर र नसके अनुनयविनय गरेर पनि म छिरिछाड्थें। धेरै चोटि धाएको हुनाले उसले मलाई बढी नै कडाइ गर्थ्यो। मेला परिसरमा पसेपछि बत्तीको चमकदमकमा त्यसै त्यसै लट्टु हुन्थें र थाहै नपाई धर्मेन्द्र स्टाइलमा छाती तन्काउँदै चल्तीको एउटा दादागिरीवाला हिन्दी गीत गुनगुनाइदिन्थें। त्यतिन्जेल मेरो शर्टको माथिका तीन वटा बटन खुलिसकेका हुन्थे र करङ्गे छाती हरकोहीले देख्न मिल्ने भइसक्थ्यो। त्यस्तो वेला मैले कहिल्यै नबुझेको कुरा– मलाई देख्नेहरू खितिती हाँस्दै हुन्थे।
मौतका कूवाको अगाडि पुगेर टक्क अडिन्थें। भित्र मोटरसाइकल बेतोड दौडिरहेको हुन्थ्यो। ‘टिकिस’ काटेपछि जसोतसो मेरो पनि पालो आउँथ्यो, कूवामा छिर्ने। आँखामा पट्टी बाँधेको चालकले मोटरसाइकल कुदाउन लागेपछि मेरो मनोविज्ञान किन हो, एकाएक बदलिन्थ्यो। त्यो सर्कस चालक मरेको हेर्नुपर्ने भो भनेर म खूबै पिरोलिन्थें। छाती जोडजोडले धड्किन्थ्यो। हेर्न छोडेर आफसेआफ आँखा चिम्म हुन्थे। मोटरसाइकलको कर्कश आवाजले कान फुट्ला जस्तो भइसकेको हुन्थ्यो। त्यो टक्क अडिएपछि अनौठो चकमन्नता छाउँथ्यो। कान एक छिन टुआँ गरेर बज्थ्यो। त्यतिखेरै एउटा मुस्तन्डे आफूतिर आइरहेको देख्थें। ऊ हप्काउँदै कराउँथ्यो, “ओए लल्लु...तेरा टाइम अफ हुवा, बाहर निक्लो!” म लुत्रुक्क पर्दै फेरि मेलाको मूल गल्लीमा आइपुग्थें।
मेलामा अर्काथरीले हाउजी खेलाउँथे, माइक फुट्ने गरी चिच्याई चिच्याई। मलाई हाउजी पनि कहिल्यै फापेन। तापनि हाउजी खेलाउनेको बोल्ने शैलीले मलाई सधैं पाता फर्काएर बाँध्थ्यो। त्यो नबिराई सुन्न म तड्पिन्थें। हाउजी खेलाउनेले हरेक गोटीको गरेको बयानको नक्कल गर्ने प्रयास गर्थें, घरमा एक्लै भएका वेला। पैसा जुट्दा खेली पनि हाल्थें। खेल्दा केहीपल्ट म बल्लतल्ल चोट्टे भएर बसेको हुन्थें। तत्क्षण चौरीबाट फुत्त एउटा दौडँदै, हात उठाउँदै जान्थ्यो। यता मलाई रनाहा छुट्थ्यो। उसको दाबी नमिलेको घोषणा होस् भनी मनमनै कामना गर्थें, तर त्यो उल्टै पैसा हात पारेर फर्किन्थ्यो। म हेरेको हेर्यै हुन्थें, पैसा जित्ने उपाय निख्रिन्थ्यो।
एकफेरा के भएर मेरो नम्बर मिलेछ, मेरो दौडने पालो आएछ। कुदेर हाउजी खेलाउने रिङमा लड्दैपड्दै जाने भा’को, बाँसको घनाले बनाएको मञ्चमा जोडले ठोकिन पुगें। छेउमा कौतूहलपूर्वक मलाई हेरिरहेकाहरू गलल हाँसे। टाउको दुखे जस्तो गर्यो र छामिहेरें, टुटुल्को पलाउँदै रै’छ। हाउजी खेलाउनेकहाँ पुग्दा देखें, अरू तीन जना मभन्दा अघि नै पुगिसकेका रै’छन्। जिन्दगीमा पहिलोपल्ट ‘बटम लाइन’ मिलाएको हाउजी चिट्ठामा सय जितें भन्ठानेको त बाँडीचुँडी गर्दा बालबाल पच्चीस रुपियाँ हात लाग्यो। त्यही पैसा र टुटुल्को लिएर फिरें।
जे भए नि त्यो वेला मेलामा खेल्दा लुटेको मजा अर्बौं डलरको थियो, भन्ठान्छु! र त्यो वेला धरानको दशैंमा लिएको अर्गानिक मजा त खर्बाैं डलरको रहेछ! बालापन गुज्रेपछि त्यस्तो दशैं फेरि कहिल्यै आएन!
हिमाल दशैं साहित्यका थप सामग्री: