ब्लग शनिबार, जेठ १७, २०७७

“बुनेरै लखपति भएँ”

रुपा जोशी

“बुनेरै लखपति भएँ”
(१) उ बेला आफैँले सिएको र बुट्टा भरेको ब्लाउजमा चन्द्रकुमारी जोशी । (२) अहिले आफूले त्यति बेला गरेको काम दंग परेर नियाल्दै । (३) बुट्टा अलि नजिकबाट ।

मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले सोध्दा मुवाले अड्की–अड्की, दोहोर्‍याई–तेहेर्‍याई पुराना कुरा गर्नुहुन्छ । मुवाको हातमा एकदमै सीप थियो, विशेषगरी बुन्नमा । त्यै बुन्ने सीप वहाँको व्यवसाय नै बन्यो पनि । ३० वर्षजति अघि हात भाँचिएपछि आफ्नै हातको सिलाईबुनाई कम भए पनि, अरूलाई परिचालन गरेर काम चल्यो । यसपालिको अंश उहाँको यिनै सीपका बारेमा हामीसित गरेको कुराकानीमा आधारित छ, उहाँकै शब्दमा ।

 रुपा जाेशी

हामी सबै छोरीलाई सीप सिकाउन बुवालाई एकदम सोख थियो । जे चाहिन्थ्यो सब झिकाइबक्सिन्थ्यो । एउटा मास्टर थियो, उसले बुवालाई ‘ल मैयाँहरूलाई यो यो झिकाउनु पर्‍यो’ भन्थे, अनि त्यै त्यै माल आउँथ्यो । ऊन, धागो, रङ बाहिरैबाट आउँथ्यो। बुन्ने, सिउने क्याटलगहरू, निडलवुमन आउँथ्यो । त्यै हेरेर थरीथरीका सामान बनाउँथ्यौं । हामी दिदी बैनी (साहिंली मैयाँ (बैनी नूतन रेग्मी) अनि काइँली मैयाँ (बैनी कल्याणी रेग्मी) मिलेर बुन्ने, सिउने गर्थ्‍याैं ।

बुवा (बडागुरुज्यू विश्वराज पण्डित) को बाथको ओखती गर्न बम्बई (हालको मुम्बई) गएको वेला त्यहाँ अलि धेरै बस्नु परेको थियो । अनि हामी छोरीहरूले धेरै कुरा सिक्न पायौं । हामी जयराज बुवा (बडागुरुज्यू कुब्लैराजका छोरा) को वोर्लीको ठूलो घरमा बसेकाथ्यौं । घर समुद्रको किनारमै थियो । गुरुमाले पेट बोकेकी रै’छन्, छोराछोरी पाउने वेला भएको थियो । ‘मैयाँलाई अलि दिन यहाँ नै राख्न पाए हुन्थ्यो’ भनेर कराइन् । ‘ल’, भनेर म अलि लामो बस्या । गुरुमा साह्रै जाती थिइन् ।

प्रयोगमा आएका बुन्ने, सिउने क्याटलगहरू, निडलवुमन इत्यादि । तस्वीरहरु: जाेशी परिवार

जयराज बुवाले भन्नुभयो, “यहाँ त यस्तो यस्तो पनि सिकाउने गज्जबको ठाउँ छ नि !” अनि बुवाले हामीलाई पठाइबक्स्यो । हामी बसेकोबाट धेरै टाढा थिएन, सिक्ने ठाउँ । त्यो धेरै मान्छे आउजाउ गर्ने मन्दिर नजिकै थियो, अहिले त नामै बिर्सें । (मुवाको वर्णन अनुसार त्यो वोर्लीको महालक्ष्मी मन्दिर नजिक हुनुपर्छ ।)

चन्द्रकुमारी जोशीको फुपूका छोरा कुलनाथ लोहनीले मे १९६७ मा बैनी धनलाई स्विजरल्याण्डबाट बिजुलीवाला बुन्ने मेशिन झिकाइदिएको बारे चिठ्ठीको अंश ।

हिंडेर जान मिल्थ्यो । ठूलो ठाउँ थियो । लहरै घुमेका घर थिए, अनि समुद्र पनि त्यहीं । अगाडि थुप्रो खाना पाउने पसल थिए । त्यहाँ पढाउने बेलायती पनि थिए, इन्डियन पनि । स्वास्नी मान्छे पनि थिए, लोग्नेमान्छे पनि । पैसा तिरेर सिक्ने हो, जे पनि सिक्न पाइने । मैले कटिङसटिङ गर्ने, बुन्ने, फरियामा पेन्टिङ गर्ने, थरीथरीका खाना पकाउने, सब त्यहीं सिकेको हो । राम्रो गरें भनेर मलाई प्राइज पनि दिए । त्यो सिकेर मलाई धेरै काम दियो । मैले कति कमाएँ ! बाफ्रेबाफ, धुमधामै फाइदा भयो नि !

सानो छँदा मेरी दिदी (ठूली मैयाँ, भोला) ले मलाई बुन्न सिकाएकी थिइन् । बुवाले बेलायतबाट झिकाइदिबक्सेको थरीथरीका क्याटलग हेरेर नयाँ नयाँ बुट्टा र डिजाइन का लुगा बुन्न थाल्यौं । मेरा बैनीहरूले पनि ठिकै बुन्थे । एक–दुई चोटि बिगार्थे, अनि मैले हप्काएपछि मिलाउँथे । पछि गुरुमा (भाइबुहारी उषा पाण्डे) ले पनि बुन्न सिकिन्। हामीले मेशिनले बुन्न पनि बम्बईमा सिकेको हो ।

हामीले माइतीमा काम गर्नेहरूलाई पनि बुन्न सिकायौं । मैले नै कर लगाएर ‘सिक, सिक’ भनेर बोलाउँथें । बिचराहरूलाई दुई–चार पैसा भए पनि हातमा परोस्, कति नोकरीको मात्र भरमा बस्ने भनेर । मैले उनीहरूलाई “किन बेकारमा कुरा गरेर बिताउने, यसो गरे दिन पनि जान्छ, पैसा पनि राम्रो पाइन्छ”, भनें । अनि त उनीहरू पनि खालीहात बस्दैनथे । मिलेन भने यो भएन, यसरी गर्ने भनेर सिकाउँथें । रिपिट गर्न लगाउँथें । अनि त एकदम जान्ने भए । कोही त निकै राम्रो बुन्थे । सबले सिके– दिलबाहार, श्यामबाहार, रोज, र अरू पनि । तर, सबैभन्दा राम्रो दिलबाहारको हुन्थ्यो ।

(१) हानाना उद्योगले ब्लुबर्डको 'लिटल डार्लीङ' पसलमा पठाएको बिल (२) प्यासप बुन्ने मेशिन र त्यसका सामान पठाएकोबारे कम्पनीले जुलाई सन् १९६७ मा चन्द्रकुमारी जोशीको नाममा पठाएको कागजात (३) २०४२ सालमा बुनाइका कामदार- बुन्ने (यशोधा दहाल) र सिउने (शोभा प्याकुरेल)- को दैनिक हाजिरी पाना (४) र (५) चन्द्रकुमारी जोशीको बुवा (राज गुरु विश्‍वराज) ले छोरीहरूका लागि ऊन झिकाउने कलकत्ताको मल्लिक ‌उलहाउसबाट ४ अगस्त १९३९ मा आएको पत्रको खामको अगाडि र पछाडिको पाटो।

हामीले बुनेको स्वेटर तयार भएपछि बिक्री गथ्र्यौं । काम गर्नेहरूले बुनेको स्वेटरको पैसा उनीहरूले नै पाउँथे । हाजिर गरेर महीना पुगेपछि तलब दिन्थें । मैले उनीहरूसित नाफा लिन्नथें । पैसा पाउनासाथ मैले सबलाई ‘ल, पहिले गएर गणेशथान दर्शन गरिहाल, अनि गएर सुन किनिहाल, केही बनाइहाल, अनि धमाधम अरू बुनिहाल’ भन्थें। उ वेला सुन सस्तो थियो नि !

 चन्द्रकुमारी जोशीले बुनेको स्वेटर सेट लगाएका कान्छो भदा अशोकराज पाण्डे ।

मान्छे नपुगेपछि बाहिरबाट पनि स्वास्नी मानिसहरू आए, बुन्नलाई । उनीहरू सबैलाई रोज खाना दिन्थें, राम्रोसँग । दिउँसो चिउरासिउरा बनाएर राखेको हुन्थ्यो ।


त्यो बुनेर मलाई पनि सुख भयो, उनीहरूलाई पनि सुख भयो, बा । आफैं कमाएपछि, कसैसित हात थाप्न परेन । काम गर्नेहरू खुशी हुन्थे । मैले काम दिएको कारण उनीहरूको हातमा पैसा भएकोले, मलाई त महारानी जस्तै आदर गर्थे । अनि घरबाट बाउआमा भेट्न आएका छन् भने कोसेली दिन दौडेर आउँथे । कैले भोटे आलु, कैले के।

मैले स्वेटरहरू ढोकाटोलको जुवाको खालमा पनि बेचें । दशैं–तिहारमा जुवाडेहरू थुप्रो आउँथे । ती जुवाडेहरूको मुख्य मान्छेलाई गएर ‘यसको यति यति चाहिन्छ’ भन्थें । अनि उसले सबै जनासित भाग गरेर पैसा लिएर मलाई दिन्थ्यो, र स्वेटर दाउमा राख्थ्यो । त्यो दाउ जित्नेले सस्तोमा स्वेटर पाउँथ्यो । मैले पूरा पैसा पाउँथें । त्यसो पनि गरियो !

धेरैजसो ऊन असनको वुल हाउसमा किन्थ्यौं । उनीहरूले कता होबाट झिकाउँथे । बुवाले पनि बेबीवुल झिकाइदिबक्सियो इन्डिया बाट । पछि पछि त चाइनाबाट पनि थुप्रो ऊन आउन थाल्यो । अनि हामीले बुनेका बच्चाका लुगा वुल हाउसमा मात्र हैन, महिला संगठन, तारा गाउँ अनि ब्लूबर्डबाट पनि बिक्री हुन थाल्यो ।

चन्द्रकुमारी जोशीले आफ्नै लागि बुनेको डिजाइनदार हाफ स्वेटर र बगलमा आफ्नो पहिलो पनाति (उज्ज्वलराज) को लागि सिएको पहिलो जोरको नरम पेटेभोटो ।

पहिला हातले बुन्थें, पछि मेशिनले बुन्न थालें । मेशिन बल्लाम (छोरा बलराम जोशी) ले मलाई किनिदिएको । पछि दाइदाइ (कुलनाथ लोहनी) ले स्विट्जरल्याण्डबाट बिजुलीले चल्ने प्यासप मेशिन झिकाइदिनुभो । खुट्टाले पेडल थिचेर चल्ने । मलाई कस्तो माया गर्थे दाइदाइ, हेर त !

मैले मेरा माइतीका सबलाई मिलाएर मेशिनमा शल र स्वेटर बुनेर पनि कोसेली पठाएँ । डिल्लीबजारमा, रक्तकालीमा, उता, उता, सबतिर बाँडें । सब दंग परे ।

बुनेको सामान बिन्दा (बैनी बिन्दा शाक्य) र ठूलीधाई (नाति किरणको धाई) ले बोकेर असनमा वुल हाउसको साहुकहाँ लग्थे । त्यहींबाट बिक्री हुन्थ्यो । ठूलीधाईलाई मैले ‘ए धाई, त्यो पसलेलाई यो बच्चाहरूको सामान मन पर्छ कि सोध’ भनेर पठाएको त सबै उहीं राखे ! अनि त्यो त कत्ति बिक्री भएको । सकिएपछि खबर पठाउँथ्यो साहुले। हामीलाई त भ्याई नभ्याई !

याे पनि पढ्नुहाेस्– उलिनकाठ चढेर बद्री–केदार

हानानामा धमाधम बच्चाको स्वेटर उत्पादन हुँदै। बायाँ देखि दायाँ - नीरा, बिद्या, यशोधा र शोभा ।

म धाईसँग पशुपति जाँदा त्यो साहुलाई कैले–कैले भेट हुन्थ्यो । अनि धाईलाई ‘ए तता, झट्टै ल्याउन स्वेटर ! सकिसक्यो !’ भन्थे । हुन पनि आज राखेको छ, दुई दिनमा छैन । सबैले किन्ने । परदेशीहरूले पनि मन पराएर सेटका सेट किनेर लान्थे । मैले धेरै दुःख गर्‍या छु बा !

भदाहरूलाई कस्तो गज्जब गज्जबको स्वेटर बुन्थ्यौं, जन्मेदेखि नै लगाउँथे । बच्चाको लुगा बुन्दा, उसलाई सजिलो हुने गरेर, अलि खुकुलो गरेर, नघोच्ने नरम ऊनले बुन्नुपर्छ । मैले धेरैजसो केटाकेटीकै लुगा बनाएँ, त्यैबाट फाइदा भयो ।

हात भाँचिएपछि, आफै मसिनो काम गर्न नसके तापनि केही न केहीमा व्यस्त हुनैपर्ने चन्द्रकुमारी जोशी ऊन बेर्न मद्दत गर्दै ।

 

पछि ‘हानाना’ भनेर काम थाल्यौं । बच्चाको लुगा मात्र बुन्ने । दुइटा मेशिनमा कोही बुन्ने, कोही बिजुलीको कलमा सिउने, कोही बुट्टा, टाँक हाल्ने । मैले पनि ऊन डल्लो पारिदिन्थें । फ्याक्ट्री जस्तै थियो । त्यो लुगाहरू ब्लूबर्डमा, रमागृहमा बिक्री हुन्थ्यो ।

गर्न त गरेको हो बा मैले ! ती दिन त स्वर्गै थिए ! आनन्द भा थियो मलाई, पैसाको दुःख पनि थिएन, दिन गएको पनि थाहा हुन्नथ्यो । मैले यस्तो काम गरेको त धुमधाम फाइदा भयो नि ! पैसा आएपछि फाइदा भएन त ? कस्तो बिक्री भएको ! अर्डर मात्र आउँथ्यो, ‘ल यति बनाइदेऊ, ल उति बनाइदेऊ’ भनेर । खर्च टर्थ्‍याे । घर पनि भाडामा गयो, अनि यताबाट पनि पैसा आएपछि म त लखपति भा’थें बा !

याे पनि पढ्नुहाेस्– सबैकी गुरुमाः बडमुवा

सिलाईबुनाईकालागी रंग, ब्रश, कागजको साँचो (स्टेन्सिल), प्यालेट । सन् १९३९ मा राजगुरु विश्‍वराज पण्डितको नाममा रेजिस्टर गरेर आएको हुलाक टिकटसहितको काठको बट्टामा अझै पनि रङका नखोलिएका प्याकेट छन् । दायाँ कुनामा ब्रस सफा गर्ने कालो टिनका भाँडा ।

पेन्टिङका सामान जर्मनबाट आउँथे
मैले फरियामा पेन्टिङ गर्न पनि बम्बईमा सिकेकी हुँ । म, मेरा बैनीहरू सबैले गथ्र्यौं । साहिंली मैयाँले अझै राम्रो गर्थिन् । त्यसलाई चाहिने सामानहरू पनि सबै बम्बईमै किनेको । रंग, ब्रश, कागजको साँचो (स्टेन्सिल), प्यालेट, सब उतैबाट ल्याएको । सब जर्मन सामान । बुवाले सब झिकाइबक्सिन्थ्यो । कुनै बम्बईमा किनेको । कुनै कम्पनीबाटै झिकाएको ।

भुईंमा कागज बिछ्याएर त्योमाथि फरियालाई टन्न तन्काएर राख्थ्यौं । अक्सर जर्जेटको फरियामा पेन्टिङ गथ्र्यौं । बुट्टा भर्ने ठाउँ मुनि रंग सोस्ने कागज (ब्लटिङ) राख्थ्यौं । साँचोसँगै रंग के के गर्ने भनेर नमूना पनि राखेको हुन्थ्यो, अनि त्यै हेरेर तेल रंग मिलायो, टार्पिन हालेर । अनि त्यो साँचो राखेर बाँसको ब्रशले रंग भर्थ्‍याैं । कुनै कुनैमा झलझल किनारा पनि बनाउँथें, त्यो चाहिं मसिनो ब्रशले ।

अरू वेला साँचोको सट्टा आफूलाई मन परेको बुट्टा ट्रेस गरेर साथ्र्यौं फरियामा । अनि सादा ब्रशले पेन्टिङ गथ्र्यौं । बिन्दा पनि सँगै हुन्थी मद्दत गर्न ।

“बायाँ हातमा यसरी बुढी औँला छिराउनु पर्छ, अनि दायाँमा ब्रश समाएर रङ मिलाउनु पर्छ।”

किताब हेरेर सिउन थालेँ
ढोकाटोलमा शुरूदेखि नै सिउने मेशिन थियो। मुवाले पनि चलाइबक्सिन्थ्यो। कसैको लुगा, खोल फाट्यो भने त्यसैमा सिइबक्सिन्थ्यो।

बम्बईमा लुगा नाप्न, काट्न, सिउन सिकें । सब सिकाउँथ्यो; यसरी काट्ने यसरी यो गर्ने भनेर । पछि किताब थियो, त्यै हेरेर लुगा सिउँथें । सिउने मेशिनहरू त नेपालमा पनि पाउँथ्यो, तर बल्लामहरू बेलायतबाट आउँदा बिजुलीले चल्ने सिङ्गरको सिउने कल ल्याइदिएका थिए । त्यसमै सिउँथें । मेरो पेटीकोट, ब्लाउज म आफैं सिउँथें । घरको रेडियो, चकला, तकिया, सिरकका खोलहरू पनि सब आफैं सिउँथें, बाहिर दिन्नथें । आफूले जानेपछि किन्नु पनि नपर्ने, खर्च नलाग्ने ।

हामीकहाँ इम्ब्रोइडरी (बुट्टा भर्ने) को लागि रेशमको धागोहरू पनि थुप्रो आउँथ्यो बाहिरबाट । त्यसैले ब्लाउजको गला, खाटको मुनि राख्ने, माथि राख्ने चँदुवा, टेबलपोसहरूमा बुट्टा भथ्र्यौं । बुट्टा भर्ने प्याटर्नको किताब आउँथ्यो ।

झिरझिरे कागजमा सानोसानो प्वाल भएको बुट्टा हुन्थ्यो । अनि लुगामाथि त्यो कागज राख्यो, नीलो मसीमा कपडा भिजाएर कागजमा दलेर बुट्टा साथ्र्यौं । कति भरियो कति ! सानीमैयाँ (बुहारी) र बिन्दाले पनि खूब भरे । म सिकाउँथें, उनीहरूले गर्थे । सेतो धागो र मसिनो कुरुशले लेस पनि बनाउँथ्यौं । चँदुवा, टेबलपोस र पेटीकोटको घेरामा सिउँथ्यौं ।

म खालीहात बस्दैनथें । काम सकिएन भने रातभरि पनि काम गर्थें । ओहो! मैले गर्नसम्म गरे नि बा !

(किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित)

याे पनि पढ्नुहाेस्– बाहुनले भविष्यवाणी गरेका थिएः साँच्चिकै गयो ९० सालको भुइँचालो !

याे पनि पढ्नुहाेस्– बेलायतबाट आउँथे खेलौना पुतली

चन्द्रकुमारीको शिपः पेन्टिङ गरिएका जर्जेट सारीहरू (१) स्टेन्सिल र बाँसको ब्रश प्रयोग गरेर रङ भरेको (२) बुट्टा ट्रेस गरेर सादा ब्रश प्रयोग गरेको (३) बुट्टा ट्रेस गरेर घेरामा मात्रै रङ लगाइएको ।

औँलाको सीप, नीडलपोइन्टमा गुलाफ, अनि रेशममा भरिएका डिजाइनहरू ।

बुट्टा भर्ने सामानहरू - रेशमी धागो, ‘पञ्च’ नीडल, सियो, बुट्टाका किताब र ट्रान्सफरहरू ।

याे पनि पढ्नुहाेस्– सन्तान राणाका, दूध खुवाउने बाहिरका सुत्केरी

याे पनि पढ्नुहाेस्– बुहारी पढाउँदाका दुःख

प्रतिकृया दिनुहोस