ब्लग बुधबार, चैत १२, २०७६

सन्तान राणाका, दूध खुवाउने बाहिरका सुत्केरी

रुपा जोशी

सन्तान राणाका, दूध खुवाउने बाहिरका सुत्केरी
हनलुलुमा नातिनी बुहारीसँग खाना पकाउँदै ।
रुपा जाेशी

उवेला हैजा, झाडापखाला खूब लाग्थ्यो । त्यस्तो वेला बाहिरको खान बन्द गरिन्थ्यो । डाक्टरहरू थुप्रै थिए, कोही नेपाली, कोही इन्डियन । केशवबाबु इन्डियन थिए भने जीतसिंह र सिद्धिमणि चाहिं नेपाली । सिद्धिमणि एकदम असल, उनले गरेको औषधिले रोग कम भइहाल्थ्यो ।

बुवा र मुवालाई हेर्ने डाक्टरहरू बग्गीमा आउँथे । मुवाको स्वास्थ्य त्यत्ति राम्रो थिएन । वर्षेनि बच्चा पाउँदा जीउ कमजोर थियो । मोटो पनि होइसिन्थ्यो । वैद्यहरू पनि आउँथे, बडामुवाको बाथको उपचारका लागि।

ढोकाटोलमा धेरै जनालाई टीबी भएको थियो । खास गरेर नोकरचाकरलाई बढी हुन्थ्यो । टीबी देखिए बाहिर भिन्दै घरमा राखिन्थ्यो । उनीहरूलाई औषधि दिएर, ‘मन लागे घर जाऊ, अनि निको भएपछि आऊ’ भन्थे । मेरो दिदी टीबी लागेरै बितिन् ।

इन्जेक्शन दिनुपर्‍यो, दाँत निकाल्नुपर्‍यो भने कम्पाउण्डर आउँथे । त्यो वेला वैद्यको औषधिबाहेक अरू सबै इन्डियाबाट आउँथ्यो ।

बच्चा जन्माउने बेला घरमै डाक्टरनी, सुँडिनीहरू आउँथे । मैले छोरा पाउँदा पनि एउटी काली–काली डाक्टरनी आएकी थिइन् । साथमा सुँडिनी पनि थिए, त्यसैले सजिलो भयो । बच्चा जन्माउन घरै जानु परेकोथ्यो, डिल्लीबजार । न्वारान गरेर माइत ढोकाटोल फर्केकी थिएँ ।

बच्चालाई धाईको दूध

ढोकाटोलमा काम गर्नेहरू थुप्रै थिए । डोले, सुसारेहरू थिए । भान्छामा काम गर्ने नै ५–६ जना बाहुन–बाहुनी थिए । धेरैजसो बाहुन गोरखाका हुन्थे । मेरो बडामुवा, मुवा सबै गोरखाका नि ! त्यसैले हामीलाई पश्चिमा भनेपछि एकदम मन पर्ने ।

हामी सबै बच्चाहरूको आ–आफ्ना धाई थिए, जातजातका । लुगा लगाइदिने, तेल लगाइदिने, खाना पकाउने, खुवाउने, हुर्काउने धाईहरूले गर्थे । बिहान सबेरै धाईहरूले जाउलो पकाएर आ–आफ्ना नानीहरूलाई खुवाउँथे । मलाई त रोज तेल लगाइदिन्थी मेरो धाईले । साइँलीमैया (बैनी) को धाई अलिकति पनि नानीले खाइनन् भने रुन थाल्थिन् ।

राणाजीहरूको जस्तै ढोकाटोलमा पनि बच्चा जन्मनुअघि नै धाईको छनोट हुन्थ्यो । जसको दूध आउँदैनथ्यो, उसको बच्चालाई धाईको दूध ख्वाउँथे । मेरो धाई (बुबू) ज्यापुनी थिई, उनको छोरीको नाम पुनचा थियो । मेरो धाई ढोकाटोलमै र पुनचा उसको आफ्नै घरमा बस्थे । मैले बुबूकै दूध खाएँ, पुनचालाई गाईको दूध दिन्थे ।

राणाजीहरूले त झन् आफ्नो दूध नै नखुवाउने । सुत्केरीहरूले दरबारमा ‘एप्लाइ’ गर्थे । अनि डाक्टर आएर उनीहरूको दूध निचोर्न लगाई पानीमा हालेर ‘टेस्ट’ गर्थे । डाक्टरले नै दूध असल, ‘ए–क्लास’ को छ भनेपछि ती धाईहरू दरबारमै बस्थे । उनीहरूको बच्चा चाहिं बाहिर आफ्नै घरमा राख्नुपर्थ्याे। ती बच्चालाई दूध ख्वाउन पैसा दिन्थे ।

डा. सिद्धिमणिलाई मुवाले आफ्नी नातिनी ज्योति र बडामुवाको ओखतीको सल्लाह माग्दै लेख्नुभएको पत्र (पहिलो) र जसमा डा. साबले आफ्नो सुझाव लेखेर फर्काउनुभएको थियो ।

ढोकाटोलको खान्की

ढोकाटोलमा हाम्रो बारी ठूलो थियो, हरियोपरियो खासै किन्नु पर्दैनथ्यो । पछाडि ‘ठूलोबारी’ मा सबै तरकारी हुन्थ्यो, ज्यापूहरूले हुर्काउँथे । फलफूलका बोट पनि टन्न थिए । नासपाती, अम्बा, आरुबखडा, हलुवाबेत थियो ।

हामी बच्चाहरू फलफूल चोरेर खूब खान्थ्यौं । राखेको ठाउँबाट पनि, रूखमा चढेर पनि । मेरो फुपूको नातिनी, नानीमैयाँ आएको वेला बोटबाटै चोथ्र्यौं । आफूबुवा र हाम्रो बारी बीचमा पर्खाल थियो । त्यहाँ हाम्रोभन्दा धेरै फलफूल थिए । पर्खालमाथिको फलफूल चोर्न रूख चढ्थ्यौं । दुई–तीन चोटि त लडें पनि । घुँडातिर घाउ लाग्थ्यो । राम्ररी नहेरेको भनेर धाईले गाली पाउँथे । अनि मेरो धाईले नानीमैयाँलाई गाली गर्थिन्, “यो काँठी आयो कि मेरो नानीलाई बिगार्छ”, भन्थिन् ।

हाम्रो भान्छामा आलुको रस र मासु पाक्थ्यो । कृष्ण भन्ने भँडारे थिई, भान्छाभन्दा अलग्गै बसेर बच्चाहरूको लागि मासु र आलु पकाउँथिन् । उनले त ढोकाटोलभरिका कुकुरलाई पनि पकाएर खुवाउँथिन् ।

ढोकाटोलमा चिया खाने चलन थिएन । गाई थुप्रै पालेका थियो । दूध प्रशस्त हुन्थ्यो । दूध घोटेर खुवा बनाई मिठाईहरू पनि बनाउँथ्यौं । हामी बिस्कुट पनि खान्थ्यौं, सबै कलकत्ताबाट झिकाइन्थ्यो । हामीले झिकाउन पाउँथ्यौं, सबैले पाउँदैनथे । बारीको फलफूल बाहेक स्याउहरू रक्सौलबाट आउँथ्यो ।

ससुराहरूको रामेछाप चिसापानीमा थुप्रै जग्गा थियो । मेरो ससुराको पुर्खा वैद्य रैछन् । वैद्यले बिरामी महारानीलाई हातले छुनु नहुने हुनाले नाडीमा धागो बाँधेर रोग पत्ता लगाएछन् । महारानी निको भैछन् । पछि ‘डाँडाबाट जति जग्गा देख्छौ तिम्रो भयो’ भनेको रे ! त्यहाँ म कैल्यै गइनँ, तर चामल दाल, तेल, घ्यू, गेडागुडी आउँथ्यो । मेरा सासूहरूले आफैं कुटेर खान्थे, धेरै भएको बेच्थे ।

चन्द्रकुमारी जोशीको बुवा, मुवा र बडामुवा (बायाँ) ।

मुवाहरू राणाजीको दरबार जाने बेलामा दिदी र म पालैपिलो जान्थ्यौं । दरबार कत्रो ठूलो ! कोठा त कत्ति कत्ति ! चोक नै कत्रो हुन्थ्यो ! उनीहरूले हामीलाई खेलौना, घाँगर, लुगा र पैसा दिन्थे । सबैभन्दा त मीठो पिपी दिन्थे । खाना धुमधामको हुन्थ्यो । गुरुमाहरूलाई भनेर लसुन प्याज नहालेको चोखो खाना पकाइएको हुन्थ्यो । कति थरी परिकार ! मिठाई पनि अचम्म अचम्म किसिमका । मीठो कति हुने, बयान गरेर साध्य छैन !

भुईंमा चट्ट कपडा बिछ्याइएको हुन्थ्यो । अनि त्यसमाथि चाँदीको भाँडामा गुरुमाहरूको ज्युनार ल्याउँथे । महारानीहरू चाहिं त्यत्ति आउँदा पनि उलिनकाठ चढेर आउनुपर्ने ! गज्जब थियो ।

यात्राको खान्की

भीमफेदीको बाटोमा जाँदा, घरबाटै खानेकुरा पकाएर लैजान्थ्यौं । बाटोमा खान पाइन्थ्यो । रक्सौलबाट रेल चढेर काशी जान्थ्यौं । त्यहाँ ठाउँठाउँमा अनेक खाना पाइन्थ्यो, सफा हुन्थ्यो । भात चाहिं स्टेशनमा ओर्लेर सँगै गएका काकाबाजे, बाहुनीहरूले पकाएर खान दिन्थे ।

बनारसमा एकाबिहानै गज्जबको रोटी, कचौडी बनाउँथे । त्यही किनेर ल्याएर खान्थ्यौं । काशीको खानेकुरा त एकदम मीठो । मिठाई त फेरि कत्ति थरीका ! कस्तो सफासित राखेको हुन्थ्यो ।

बद्री–केदार जाँदा हामी डफ्फा नै हुन्थ्यौं । त्यहाँ चन्द्रशमशेर महारानीले बनाएको धर्मशालामा बस्थ्यौं । उनले सबतिर त्यस्तै धर्मशाला बनाएकी थिइन् । सबै बस्ने, सुत्ने, खाने, सबै बन्दोबस्त हुन्थ्यो । दाल–भात–तरकारी नै दिने । तर, बद्री–केदारमा एकदम चिसो थियो, भात पकाउँदा पकाउँदै पनि चिसो भइहाल्ने ।

हामी बम्बै गएको बेलामा बैनीहरू र म बुन्न र खाना पकाउन सिक्न जान्थ्यौं, ठूलो क्लासमा । कलेजहरू समुद्रको किनारमा लाइनै हुन्थे । मैले अनेक अनेक पकाउन त्यहीं सिकेको हो । 

(किरणराज जोशी  र रूपा जोशीसितको कुराकानीमा आधारित)

 

प्रतिकृया दिनुहोस