ब्लग आइतबार, फागुन २५, २०७६

बुहारी पढाउँदाका दुःख (उवेलाका कुरा)

रुपा जोशी

बुहारी पढाउँदाका दुःख (उवेलाका कुरा)

बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ वर्ष टेकिसकेको छ। विस्मृतिले च्याप्दै लगे पनि, आफूले देखेका र भोगेका पुराना घटना अड्की अड्की सुनाउनुहुन्छ। यसपालि आफ्नो र बुहारी अंगूरबाबा जोशीको पढाइबारेको सम्झना उहाँकै शब्दमा–

“ढोकाटोलमा हुँदा बुवाले झिकाएका कथाका किताबहरूमा कसले, कसरी र के–के काम गरेर ठूलो मान्छे भए भनेर लेखिएको हुन्थ्यो । मेरो बडमुवा (बूढीआमा) कहाँ सधैं पण्डित आउँथे, कथा सुनाउन । ठूल्ठूला मान्छेका, धर्मका र अरू थुप्रै कथा सुनाउँथे ।

ती कथा सुनेपछि मलाई पढेर केही गरूँ जस्तो लाग्थ्यो । पढेपछि धनी होइएला, पैसा कमाइएला जस्तो लाग्थ्यो । पढिरहेकी पनि थिएँ । बिहेपछि ढोकाटोल बस्दा मेरो दुल्हा र म नै पढ्थ्यौं । मेरो दुल्हा दरबार हाईस्कूलमा र म चाहिं घरमै पढ्थें ।

त्यो वेला घरमै मास्टर आउँथे । नेपाली, अंग्रेजी, हिसाब, विज्ञान, संस्कृत सिकाउँथे । बैठकमा लामो टेबुल वरिपरि हामी चार–पाँच जना हुन्थ्यौं । बस्ने आ–आफ्नो ठाउँ हुन्थ्यो । भगवानको प्रार्थना गरेर पढ्न शुरू गर्नुपथ्र्यो । बिहान सबेरै र दिउँसो गरेर चार–पाँच जना गुरुहरू आउँथे । अंग्रेजी सिकाउने भेटनारायण श्रेष्ठ थिए, उनले पद्मशमशेरका छोराछोरीलाई पनि पढाउँथे । सबैभन्दा छिटो उनी नै आउँथे । उनलाई अघिल्लो दिनको पाठ बुझाउनुपथ्र्याे । केही बिगारेको भेटे ‘आफ्नो कान आफैं निमोठ’ भनेर गाली गर्थे । मैले पनि कति पटक आफ्नो कान आफैं निमोठें । कहिले त हातमै पिट्थे पनि । बुवा क–कसले कसरी पढिरहेको छ भनेर गुरुहरूलाई सोध्न आइरहनुहुन्थ्यो ।

सन् १९५२ मा काशी विश्वविद्यालयका आफ्ना सहपाठीसँग अंगूरबाबा (माथिबाट दोस्रो लहर, बायाँबाट पाँचौं) ।

मलाई पढेर अरूसित प्रतिस्पर्धा गर्न मन लाग्थ्यो । हाम्रो कक्षामा सबैभन्दा तेज अर्कै साथी थिई । ऊ नै ‘फस्र्ट’ हुन्थी र गुरुको धेरै स्याबासी पाउँथी ।

मेरा दुल्हा बितेपछि म फुपूको घरमा बसें । त्यहाँ पनि फुपूका छोराहरूलाई पढाउन आउने गुरुसित पढ्थें । विधवा भएपछि त झन् पढ्नुपर्छ भन्ने लाग्यो, अनि पढाइ छुटाइनँ । म्याट्रिकसम्म पढें । तर, राणाजीहरूको पालामा ‘महिलालाई यति भन्दा बढ्ता पढाउन हुन्न’ भन्थे । त्यसैले म्याट्रिकको जाँच दिन पाइनँ । त्यसपछि मेरो काखको छोरोलाई राम्ररी पढाउँछु भन्ने लाग्यो ।

मेरो माइती त धेरै नै गज्जब नि ! बुवामुवा नै छोरीलाई पढाउनुपर्छ भन्ने भावनाको । मेरा माइलाबुवा (आफूबुवा) ले आचार्य पास गर्नुभएको थियो, उहाँले बुवालाई सबैलाई पढाउनुपर्छ भनेर जोड गर्नुहुन्थ्यो ।

बुवा चाहिं आफू बिरामी भएर धेरै पढ्न सक्नुभएको थिएन । ढोकाटोलमा सबैले छोरीलाई त झन् पढाउनुपर्छ भनेर जोड गर्थे । बुवाले ‘छोरीहरू अरूको घर जान्छन्, कस्तो घर पर्छ, दुःख हुन्छ, अरू केही गर्न सकिन्न, तिनलाई त पढाउनै पर्छ’ भन्नुहुन्थ्यो । तर, रक्तकालीमा चाहिं पढाउन्नथे ।

अंगूरबाबा श्रीमान् बलराम जोशीसहित नेपाली प्राध्यापकहरूको भारत भ्रमणका क्रममा भारतका राष्ट्रपति डा. राजेन्द्र प्रसादसँग भेटघाट गर्दै ।

यसरी बुहारी पढाएँ
मैले बुहारी पढाउँछु भन्दा सबैले नपढाउ भन्थे । ‘छोरालाई पढाउनू, बुहारीलाई पढाएर के काम ? बुहारीलाई त अलि अलि पढाए पुग्छ । बुहारीले पछि हेलाँ गर्छन् अनि तिमीले दुःख पाउँछौ’, भन्थे मलाई । ससुराले पनि ‘के काम र धेरै पढाउन ? यति भए पुगिहाल्छ’ भन्नुहुन्थ्यो । घरमा भएको भए त फसादै पथ्र्यो । सौतेनी सासू थिइन्, भयंकरकी । बुहारी पनि मेरो माइत ढोकाटोलमा नै बसेकी हुनाले, उनलाई पढाउन पाएँ ।

चन्द्रकुमारीले सानो छँदा माइतीमै पढ्नुभएको बेलायती कवि जन किट्सको ‘अ थिंग अफ ब्युटी’ कविताको नेपाली अनुवाद ।

मेरो भाइ, भदाहरूलाई पढाउन आउनेले नै उनलाई पढाउन थाले । डिल्लीबजारको घरमा गएपछि बुहारी घरमै पढ्थिन् । दुल्हैले पढोस् भन्ने छोराको इच्छा थियो भने, बुहारीको बावुको पनि छोरीले पढ्न पाओस् भन्ने इच्छा थियो ।

धनीका छोरीहरूले धुमधामको कपडा लगाएर आउने । अरू नहुनेले के गर्ने ? चोरेर ल्याउनु भएन । बुहारीले सबैलाई एकै प्रकारको लुगा लगाउन लगाइन् । पढेर आएकी बुहारीले त्यो सबै गरेको देख्दा मलाई धुमधाम रमाइलो लाग्थ्यो, गर्व लाग्थ्यो ।

पछि छोराबुहारी दुवै जना पढ्न काशी गए । बनारसबाट फर्केर आउँदा ‘स्वास्नी मानिसलाई धेरै पढाउन हुन्न’ भन्ने राणाजीहरूको शासन सकिएको थियो । अनि त महिलाले पनि पढ्ने मौका पाए । बुहारीले बेलायतमा पढ्न जान पाइन् । छोराबुहारी सब पास भएर आए ।

बुहारी अंगूरबाबा २०१८ सालमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट बि.लिट. मा ग्राजुएट हुँदा ।

सानीमैया (बुहारी) पहिले त सुधी थिइन् तर, राम्रो पढिन् । पढेर आएपछि एकदम खुशी लाग्यो । मलाई छोराको भन्दा बुहारीको माया लाग्थ्यो ।

फर्किएपछि आफैं पनि केटीहरूलाई पढाउन थालिन्, पद्मकन्यामा । नारायणहिटीमा महेन्द्रका छोरीहरू, शाहजादीहरूलाई पनि पढाउन जान्थिन् । उनी त हजारौं केटीहरूको गुरुमा भइन् ।

पद्मकन्यामा त गर्नसम्म गरिन् बुहारीले ! हुनसम्म दुःख पनि गरिन् । नयाँ कलेज बनाइन् । धनीका छोरीहरूले धुमधामको कपडा लगाएर आउने । अरू नहुनेले के गर्ने ? चोरेर ल्याउनु भएन । बुहारीले सबैलाई एकै प्रकारको लुगा लगाउन लगाइन् । पढेर आएकी बुहारीले त्यो सबै गरेको देख्दा मलाई धुमधाम रमाइलो लाग्थ्यो, गर्व लाग्थ्यो ।

(किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित)

 

 

प्रतिकृया दिनुहोस