ब्लग शनिबार, वैशाख २०, २०७७

बाहुनले भविष्यवाणी गरेका थिएः साँच्चिकै गयो ९० सालको भुइँचालो !

रुपा जोशी

बाहुनले भविष्यवाणी गरेका थिएः साँच्चिकै गयो ९० सालको भुइँचालो !
हनुमान ढोकाका मन्दिरहरू पनि भत्के, के रहन्थे ! कोही पूरै, कोही आधा गएका ...( फेसबुकको ‘पुराना नेपाली फोटो’ बाट , 'कलराइज’ गरिएको) ।
रुपा जाेशी

मेरी बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ । यसपालि ९० सालको भूकम्पबारे गरेका कुरा उहाँकै शब्दमा । त्यति बेला मुवाको उमेर १८ वर्ष थियो ।

९० सालमा एउटा असाध्यै जान्ने बाहुनले “यसपालि भयङ्कर हुनेवाला छ, ग्रहहरूका कारण प्रलय हुन्छ”, भनेका थिए। त्यसको हल्ला निकै भएको थियो । कागजमा छापेर भित्ताहरूमा पनि टाँसेको थियो । त्यसमा “खराब हुनेवाला छ, बचेर बस” भनेर लेखिएको थियो ।

प्रलय हुन्छ भनेर मानिसहरूले तयारी पनि गरेका थिए । कोही बाहिरै सुत्ने । बुवा (बडागुरुज्यू विश्वराज पाण्डे) ले पनि ढोकाटोलमा नबिग्रिने चिजहरू किनिवरी छिँडीमा राखिबक्सेको थियो । दाल, चामल यस्तै यस्तै । त्यसले पछि हामीलाई काम त लाग्यो नै अरूलाई पनि बाँड्न पुग्यो ।

हामी वर्षेनि जाडोमा बुवा मुवासित बनारस जान्थ्यौं । ९० सालमा चाहिँ म मेरा ससुरा (चन्द्रकान्त जोशी)हरुसित तीन धाम गएकी थिएँ । अब माघेसंक्रान्ति सकाएर घर जाने भनेर काशीमा बसेकी थिएँ, गुरुजुहरूको बुलानालाको घरमा । मेरो छोरा सानै थियो । त्यसैले बुवा, मुवा र उसकी धाईसित नेपालमै थियो । काशीमा नेपालबाट पढ्न जाने मान्छेहरू पनि थिए । छुट्टीमा बुलानाला आउँथे ।

यहाँ त भयंकर भएको रहेछ । केही छैन । जात्रा! सबको घर भत्किरहेको... (फोटो “नेपालको महाभुकम्प” – ब्रह्मशमशेर (२०४१) ।

 

मन्दिरहरू थुप्रो भत्के । खर्ल्याम खुर्लुम... (फोटो 'नेपालको महाभुकम्प' – ब्रह्मशमशेर (२०४१) ।

भोलिपल्ट दिउँसो सुतिरहेका थियौं । अनि त भुइँचालो गइहाल्यो । ओहो ! भयङ्कर भइहाल्यो नि । बेस्सरी हल्लायो । उभिनै नसकिने, ढ्याङ् ढ्याङ् लडिहाल्ने । मेरो त टाउको ठोकिएर यत्रो टुटुल्को नै आयो । बुलानालामा ढोकाबाट यसो निस्किएपछि लामो भर्‍याङ छ, त्यहाँबाट तल झरेर बस्यौं । तैपनि हल्लाइराखेको थियो ।

बाहिर खलबल त्यत्तिकै भयो । गल्ली नै गल्ली भएको ठाउँ । बाटोमा माथिबाट ढुङ्गा खस्दै थिए । धुमधाम डर भयो । सबै दौडादौड गरेका । हाम्रो घर नजिकै एउटा धारा थियो । मानिसहरू त आफ्नो साइकल त्यहीँ फाल्दै भाग्दै । आँखा साँखा देख्नु छैन, भ्वाङ्ग फाल्दियो, दौड्यो । साइकलको त थुप्रो । फेरि, भुइँचालो आउला भनेर दौडेका ।

बुलानालामा तलतिर मालताल राख्ने गथ्र्यो, त्यो सबै हटाएर बस्ने ठाउँ मिलायौं । माथि जान सकिने थिएन । भुइँचालो छिनछिनमा आइरहने ।

भुइँचालोको पर्सिपल्ट ‘यति मान्छे मरे, यति घर भत्किए’, भनेर खबर आयो । काशीमा त त्यति धेरै मान्छे मरेनन् । बुलानाला नजिकै एउटी बूढी आइमाई मरिन् रे । अरु नजिक त कोही पनि परेनन् ।

बुवाले नेपालबाट काशीमा पढ्न पठाएका दुई जनामध्ये काले कृष्ण (कृष्ण राज पाण्डे) ले “ल खत्तम भयो ! नेपाल त खत्तम भयो, सब पानीले छोप्यो, जम्मै ढाक्यो रे, जम्मै डुब्यो रे !” भन्दै ह्वाँ ह्वाँ रुँदै कराउँदै आए । अनि त नेपालबाटै भुइँचालो आएको रहेछ भनेर पनि छापियो । सबैभन्दा बढी नोक्सान नेपालमै भएको रहेछ । त्यहाँ के भयो होला भन्ने पिर पर्‍यो । फोन गर्न खोज्यो, जाँदैन । परिवार सम्झेर हामी सबैको रुवाबासी । पछि बाटोमा आउँदा मात्र उताको खबर पायौं, ढुक्क भयो ।

हामीहरू सकेसम्म चाँडै फर्केर आयौं । तैपनि सात दिन जति त लाग्यो । ठाउँ–ठाउँमा बस्दै आउनु पर्‍यो ।

रेलको लाइन बनिसकेको थियो । त्यसैले काशीबाट रेल त चल्न थालेको थियो । नेपालमा आएपछि एकदम गाह्रो भयो । बाटो त यस्तो भत्केको थियो, चिरा चिरा परेको । चौडा र गहिरो । चिरा परेको ठाउँमा काठ राखेर उताबाट यता तान्ने ।

रक्सौलबाट गाडीमा आयौँ । जसोतसो भीमफेदीसम्म आइपुगियो । त्यहाँ एउटा ठूलो बंगला थियो । त्यहीँ बास बस्यौँ । बुवाले पठाएको मान्छे पनि त्यहीँ भेट भयो । अनि त उलिनकाठ न सुलिङकाठ, हिँडेरै आयौँ बल्ल बल्ल । पहिरो गएको त कति हो, कति ! बाटै छेकेको ।

१०५ वर्षीया चन्द्रकुमारी जोशी: भुइँचालो लगत्तै  फाेन गर्न खोज्यो, कहीं लाग्दैन । परिवार सम्झेर हामी सबैको रुवाबासी नै चल्याे ।

भुइँचालोले छिनछिनमा हल्लाउँदै छ । थानकोटमा बुवाले बग्गी पठाइबक्सेको रहेछ ।

फर्केर आउँदा त हामीलाई काशीमा भनेको जस्तो नेपाल डुबेको हैन रहेछ । तर, भयङ्कर भएको रहेछ । केही छैन । सबको घर भत्किएको, अनि घरमा बस्न डर भएर मानिसहरू बाहिर बसेका रहेछन् । यसो छानो जस्तो बनाएर त्यसको मुनि बसेका । बिजोग थियो । नबसेर पनि के गर्ने र बा ? त्यस्तो डर हुन्थ्यो ।

टुँडिखेलमा आइपुग्दा त त्यहाँ टन्न मान्छे बसेका । सानो सानो पाल जस्तो मुनि यसो लुगा च्यापेर कुप्रेका । उता धरहरा पनि भत्केको । इन्द्रचोकका सानासाना पसल, घर र मन्दिर भत्किएर सबै पुरिएका । मन्दिरहरू थुप्रो भत्के । खर्ल्याम खुर्लुम। हनुमानढोकाका मन्दिरहरू पनि भत्के, के रहन्थे र ? केही पूरै, केही आधा । तलेजुको भित्र के भो थाहा भएन, छाना भत्केको थियो । पशुपति चाहिँ भत्केन ।

शहरभित्र त खत्तम थियो । एउटै घर सद्दे थिएनन् । जताततै माटोको थुप्रो मात्र । घर छैन, क्यै छैन, कस्तो दुःख ! रातभरि, दिनभरि, त्यो जाडोमा त्यसै बाहिर बस्नुपर्ने । कठैबरी ! धेरै मानिसहरू त छाउनीको ठूलो चउरमा पनि गएर बसे । जहाँ जहाँ खुला ठाउँ थियो, सबै भरिभराउ ।

ढोकाटोल पनि निकै भत्केको रहेछ । कतै जगैदेखि भत्केको, कतै चिरा परेको । छानोको झिँगटी झरेको । झ्यालका ऐनाहरू सब खसेको ।

सबैजना फूलबारीमा छाप्रो र कपडाको पाल टाँगेर बसेका रैछन् । माथि त जानै नसकिने रहेछ । गयो कि धर्रर्र गरेर हल्लाइहाल्ने । अनि त को जाने ?

जति जाडो भएपनि के गर्ने ? बाहिरै बस्नुपथ्र्यो । डराएको छ, बाहिर बसेको छ । हामी ६ महीना जति बारीमा पालको मुनि नै बस्यौँ । पानी पर्ने बेलासम्म पनि । बिस्तारै घर मर्मत भएपछि मात्र माथि सर्‍यौँ ।

भुइँचालो आएको आयै छ, थामिएको हैन हल्लिने । अनि हल्लिएपछि वरिपरि यट्खाटोलका मानिसहरू सब “वल वल” (आयो आयो) भनेर कराउँथे । भुइँचालो त कत्ति महीनासम्म गइरह्यो । अनि चर्केका घरहरू पछि पछि पनि भत्किए ।

मान्छे चाहिँ असाध्यै धेरै मरेका रैछन् । थर्रर्र हुनासाथ कोही चाहिँ घरमाथि गएर के भएको रहेछ भनेर हेर्न जाँदा मरेछन् । अरू कत्ति हिँड्दा हिँड्दै मरेछन् । हामी आउँदा पनि पुरिएका मान्छेहरू झिक्दै थिए । कोही मरेका, कोही जिउँदै । पुरिएको ठाउँमा मान्छे कराएको सुनिन्थ्यो ।

भत्केको ठाउँमा सिपाहीहरूले यसो फोन जस्तोबाट “कोही छ ?” भन्थे । तलबाट “हामी यहाँ छौँ” भनेर आवाज आउँथ्यो । अनि बिस्तारै खनेर झिक्थे । झिक्न समय लाग्यो भने त्यहीँबाट खाने कुरा पठाउँथे ।

टुँडिखेलमा आइपुग्दा त त्यहाँ टन्न मान्छे बसेका । सानो सानो पाल जस्तो मुनी यसो लुगा च्यापेर कुप्रेर बसेका... (फोटो 'नेपालको महाभुकम्प; – ब्रह्मशमशेर (२०४१) ।
अनि सरकारले पनि सामान बाँढ्न थाल्यो...( फेसबुकको ‘पुराना नेपाली फोटो’ बाट) ।

ढोकाटोलमा चाहिँ कोही मरेका रहेनछन्, खालि घाइते भएका । हाम्रो बारीको पर्खाल ढलेर दुई तीनवटा गाईका बाच्छा किचिएका रहेछन् । माउहरू त ठीकै थिए । तर, बाहिर टोलमा, छेडो छेडोमा बस्नेहरू धेरै मरेका रैछन् । एक ठाउँमा त आमा दूध ख्वाइरहेकी रहिछ, बच्चालाई । आमाले यसो घोप्टिएर बच्चालाई ढाकेकी । आमा मरेकी, बच्चा चाहिँ बाँचेको । ओहो ! त्यो पनि झिके ।

धर्म गर्नेहरूले, धनीहरूले, सबले पकाएर बाहिर बस्नेहरूलाई लाउन खान दिए । हामीले पनि वरपर जम्मा भएका मानिसलाई खानेकुरा, लुगाहरू बाँड्यौँ । कति त नाङ्गै छन्, अनि के गर्ने ? सरकारले पनि सामान बाँड्न थाल्यो । पछि, हवाईजहाजले पनि टुँडिखेलमा खानेकुराहरू फ्याँक्यो । डल्लापोकाहरू फालेको थियो । दिल्लीबाट आएको हो कि कताबाट हो ।

त्यो बेला जुद्दशमशेर महाराज थिए । धेरै गरे तिनले त्यतिबेला ... (फोटो 'नेपालको महाभुकम्प' ब्रह्मशमशेर (२०७२), ‘कलराइज’ गरिएको) ।

त्यो बेला जुद्दशमशेर महाराज थिए । धेरै गरे तिनले । मेरो आफूबुवा (माहिला गुरुज्यू हेमराज पाण्डे) ले पनि उनलाई धुमधाम मद्दत गरिबक्स्यो । पशुपतिको माथिपट्टि सबै चढाएको भेटी राखिँदो रैछ, त्यै ढुकुटीबाट झिकेर सबलाई मद्दत गर्न मिलाइदिबक्सेको हो । त्यो पशुपतिबाट ल्याएको पैसा के गर्ने, कसलाई खाँचो छ, कसलाई बाँड्ने भनेर हेर्ने आफूबुवा हेड होइसिन्थ्यो । धेरै राम्रो गरिबक्स्यो।

पैसा पाएपछि मान्छेहरूले बिस्तारै घर बनाउन थाले । पहिलाको भन्दा फरक बनावटमा घर बनाए । मन्दिरहरू बनाउन त धेरै ट्याम लाग्यो । साह्रै डरलाग्दो भुइँचालो पो थियो ।

(किरणराज जोशी र रूपा जोशीसितको कुरामा आधारित)

प्रतिकृया दिनुहोस