ब्लग शनिबार, जेठ ३, २०७७

सबैकी गुरुमाः बडमुवा

रुपा जोशी

सबैकी गुरुमाः बडमुवा
४० वर्ष नपुदै बित्नु भएका बडमुवाका श्रीमान नातिगुरुज्यु लोकराज पण्डित (तस्वीर: पाण्डे परिवारको संकलन) । बडमुवा कान्छा छोरा–बुहारी विश्वराज पण्डित र पद्मकुमारीका साथ। (तस्वीर: जोशी परिवार)।

मेरी बूढीसासू (सासूकी सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्कीअड्की, दोहोर्‍याई, तेहेर्‍याई पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंश उहाँकी एकदमै प्रिय हजुरआमा बडमुवा बारे हामीसितको कुराकानीमा आधारित छ ।
ooo

रुपा जाेशी

हजुरआमा, बडामुवा (शिवकुमारी पाण्डे) मलाई असाध्यै माया गरिबक्सिन्थ्यो । हामी छोरीहरूलाई ढोकाटोलमा ‘मैया’ भन्थे । मलाई ‘धनबाबा मैया’ भन्थे । तर, बडमुवाले चाहिँ मलाई ‘धन’ मात्र भनेर बोलाइसिन्थ्यो । म उहाँकै कोठामा सुत्थें ।

बडमुवा गोर्खाकी होइसिन्थ्यो । पकाउने मान्छे, बाहुनहरू, काम गर्नेहरू पनि धेरैजसो गोर्खाकै थिए । मेरो मुवा (पद्मकुमारी पाण्डे) पनि गोर्खाकै । मेरो बुवा सानै छँदा बडबुवा (नातिगुरुज्यू लोकराज पण्डित) बितेकाले बडमुवा सानो छोरासँग बसिसिन्थ्यो । उबेला जो सानो छ उसैसँग बस्ने चलन रैछ ।

ढोकाटोलमा बडमुवाको छुट्टै ‘लङ’ थियो । लामो कोठा, भुईं सबै लिपेको हुन्थ्यो । सबै छोराछोरी बडमुवाको खोपीमा जम्मा हुन्थे । सबैभन्दा पहिला बुवा (विश्वराज पण्डित) बिहानै आफ्नी आमालाई ढोग्न सवारी हुन्थ्यो, बसेर गफ गरिसिन्थ्यो । जेठो छोरो (हेरम्बराज पण्डित) चाहिँ छुट्टिएपछि कहिले कहिले मात्र आउने ।

मुवाको मन परेको चाहिँ माइलो छोरा आफूबुवा (हेमराज पण्डित) । घर छुट्टिए तापनि, माथि एउटा ताल्चा मारेको ढोका थियो, त्यही खोलेर रोज आउने, जाने गरिसिन्थ्यो । आमालाई ढोगेपछि मात्र खाने । बुहारीहरू त ढोग्न आउने भइहाले ।

बडमुवा (शिवकुमारी पाण्डे)लाई धेरै तस्वीर खिचाएको मन पर्दैन थियो । यो छोरा बुहारीसित खिचेकै बेलाको एक्लो तस्वीर हो । (तस्वीर: पाण्डे परिवारकाे संकलनबाट)

बडमुवाका दुई छोरी थिए । जेठी फुपू (‘ठूली मैया’ पद्मकुमारी पाण्डे)— मेरी सँगी नानीमैयाकी हजुरआमा— कानै नसुन्ने । बिचरा पोइले हेलाँ गरेर ‘बहिरी’ भनेर बोलाउँथे । जेठी फुपूले जहिल्यै कपालको चुल्ठो निधार माथिबाट घुमाएर पछाडि लगेकी हुन्थिन् । अर्की फुपूचाहिँ, दाइदाइ (कुलनाथ लोहनी) की आमा (बद्रीलक्ष्मी लोहनी) । उहाँ साह्रै असल, सबैलाई माया गर्ने ।

फुपूहरू पनि आमा भेट्न आइरहन्थे । जेठी फुपू बस्न आउँदा मेरी सँगी पनि आउँथिन् । अनि हामी सबै बडमुवाकै कोठामा सुत्थ्यौं । गोर्खाबाट बडमुवाका माइतीहरू पनि भेट्न आइरहन्थे । सँगै बस्थे। रमाइलो थियो बा !

आफूबुवाले आमालाई असाध्यै माया गर्ने । “मुवा हजुरलाई के गर्न मन छ, म तयार पार्छु,” भनेर सोधिरहने । अनि बडमुवाले पनि “ए माइला नानी, मलाई यसो यसो गर्न मन छ” भनिसिन्थ्यो । कहिले ब्राम्हण भोजन, कहिले के, कहिले के । ब्राम्हण भोजनमा १०८ जनालाई, कहिले त बढीलाई पनि भोजन गराइसिन्थ्यो, तल चोकमा । थपी थपी खुवाउने । आफूबुवाले मेरी आमालाई “सान्दुल्है, ल यसो यसो गद्र्यौै बा !” भनेर अह्राइसिन्थ्यो । अनि आमाले सबै मिलाइसिन्थ्यो । कठै, कस्तरी तयार पारिसिन्थ्यो! खाने मान्छे नअटेपछि आफूबुबाले पर्खाल सुद्द भत्काएर सबैलाई खुवाउन तयार पारिस्योे ।

आफूबुवा माहिला गुरुज्यू, सबैभन्दा श्रेष्ठ होइसिन्थ्यो । मेरो बुवा चाहिँ अलि सूधो । बुवासँग बडमुवा रिसाइसिन्थ्यो पनि, धेरै भित्रिनी राख्यो भनेर । “यो राजाबाबुले हैरान पार्‍यो । चाहिने काम गरेको छ र ? कठै कान्छी दुल्हैलाई असाध्य दुःख छ” भनिसिन्थ्यो । मेरी आमालाई एकदम माया गरिसिन्थ्यो । कान नसुन्ने जेठो छोरोलाई चाहिँ बडमुवाले त्यत्ति चासो नगर्ने ।

बडमुवा सबेरै चारै बजे उठिसिन्थ्यो । त्यसपछि नुहाइधुवाई गरी पूजा गरिसिन्थ्यो । अनि बेलुका फेरि आरती । पूजा धेरै गर्नुपर्ने, फूल थुप्रो चाहिन्थ्यो । पूजाकोठामा सघाउने अलग्गै बाहुन र बाहुनी थिए । आफ्नो गोडा नचल्ने भएपछि भने बडमुवाले आफ्नै कोठामा पूजा गरिसिन्थ्यो ।

लोकराज पण्डित र बडमुवा शिवकुमारी का सन्तान तीन छोरा र दुई छोरी । बंशावलीहरूले छोरीलाई नसमेट्ने भएकाले, मुवाकी फुपूहरूको नाम भेटिन निकै कसरत गर्नु पर्‍यो । (तस्वीर: पाण्डे परिवारकाे संकलन र जोशी परिवार)

बडमुवाको खान्की पनि भिन्दै किसिमको । एकछाकी । भात, चिउरासिउरा नखाने, रोटी मात्र खाने । बडमुवाको दुल्हा पिसाबको रोगले सिकिस्त बिरामी भएका बेला भुजा खान मन गरेका थिए रे, तर खान नपाउँदै बितेकाले बडमुवाले पनि ती सबै कुरा नखाने गर्नुभएको रे । खाना खानुअघि सबै देउता, जनावर, चराहरूलाई कचौरा कचौरामा छुट्टाएर लहरै राखेर मात्र खाइसिन्थ्यो ।

बडमुवाको खाना पकाउने छुट्टै बज्यै थिइन् काइँली बज्यै । खाना उहाँकै ठूलो कोठाको कुनामै पाक्थ्यो । खाने बेलामा धोती मात्र बेरेर, चोलो नलगाइकन खाइसिन्थ्यो । दिउँसो फलफूल खाने । राति चाहिँ दूध मात्र । उति बेला चिया खाने चलन थिएन ।

रोजै दिउँसो पण्डित आउँथे, कथा सुनाउन । म पनि सुन्न पाउँथें । चाकडी गर्नेहरू पनि आउँथे– बाहुनीहरू, पण्डितका स्वास्नीहरू । उनीहरूलाई खुवाउने चोखो हलुवा, रोटी, तरकारी माथि भान्छाबाट नै पठाउनु पथ्र्यो । काम गर्नेका परिवार भेट्न आए भने नखुवाइकन पठाइसिन्नथ्यो ।

पहिले त बडमुवाको ठीकै थियो रे जिउ, पछि हामीले देख्दा त हिंड्न नसक्ने भइसक्या थियो, बाथ रोगले । बुवाले उहाँलाई बोक्न ४–५ जना सुसारे राखिदिसेको थियो । झाडा (दिसा) पनि कोठामै फेर्नु पथ्र्यो । उचालेर राख्नु पथ्र्यो, अनि फेरि त्यो ठाउँ सफा गरेर पोत्नु पथ्र्यो । कोठा लामो थियो, सब त्यहीँ सुत्थे— काइँली बज्यै, सुसारेहरू, अनि म पनि ।

बडमुवाको मन परेकी नातिनी चन्द्रकुमारी जोशी ।
(तस्वीर: जोशी परिवार)

बडमुवा एकदम सिपालु । एकछिन पनि खाली नबस्ने । काम यति गर्ने हो र ! दिनभरि यसो उसो गरेरै बित्थ्यो । थरीथरीका अचार बनाइसिन्थ्यो । सबलाई वरिपरि राखेर ‘यसो गर, यसरी चट्ट चट्ट पारेर काट’ भनेर अह्राइसिन्थ्यो । अनि त्यो मोलेर खाँद्ने । मैले अचार बनाउन बडमुवासितै सिकेको हो । लहरै हुन्थ्यो, घाममा राखेका थरीथरीका अचारका घैंटाहरू । सबै अचार नातेदार, र चेलीहरू कहाँ पठाइसिन्थ्यो ।

बडमुवाका चेलीहरू धेरै थिए, सबलाई मन्त्र सुनाइसेको । राणाजीका स्वास्नीहरूलाई, अनि राजदरबारमा रानीलाई पनि । सबले गुरुमा भनेर असाध्य मान गर्थे । दशैंमा टीका लगाउन आउँथे अनि आफ्नो गुरुमालाई कत्ति लुगा पठाउँथे, बाफरे ! डोलेले बोकेर ल्याउँथे पोकाका पोका । थानका थान कपडा ! रेसम, सुती, सबै खालका कपडा । गुरुमाले लाउन मिल्ने, रातोसातो नभएका सेतो, बदामी, त्यस्तै रङका । गुरुपूर्णेमा त झन् धेरै आउँथ्यो ।

ढोकाटोलमा गाई मर्‍यो भन्ने सुनेपछि, गुरुमालाई दूध खान भनेर जर्सी गाई पठाउँथे चेलीहरू । बडमुवाले गाईको दूधसँग मात्र रोटी खाइसिने ।

दिउँसो बत्ती कातिसिन्थ्यो, अनि मलाई पनि यसरी कात्ने भनेर सिकाइसिन्थ्यो । पात गाँस्न पनि सिकाइस्यो । यसरी पकाउनु पर्छ, यो यो हाल्नु पर्छ भनिसिन्थ्यो अनि “ए काइँली, यसलाई पनि पकाउन सिकाऊ ल । सबै काम गर्न सिकाऊ, पछि अर्काको घर जानु पर्छ, सब गर्नु परिहाल्छ !” भनिसिन्थ्यो ।

बडमुवाले पकाएको सबै कुरा मीठो हुन्थ्यो । मसला एकदम मिलाउने । म त जत्ति पनि खान पाउँथें ! आफूले खाने बेला मलाई मीठो लाग्ने कुरा छ भने डाक्नै पठाइसिन्थ्यो । “ए काइँली, त्यो आइन खान, जौ धनलाई डाकेर ल्याऊ !” भनिसिन्थ्यो । अनि काइँली बज्यै मलाई “स्वारी होस् मुवाले के के राखिबक्सेको छ हजुरलाई खाना” भन्थिन् । अरूलाई भने डाकिसिन्नथ्यो, सबै सानासाना थिए । म पनि खुशी भएर खान्थें । मलाई पाकेको फर्सी खुब मन पर्थ्‍याे ।

बडमुवालाई कुकुर पनि मन पर्थ्‍याे। तर, कोठा सबै पोतेको हुन्थ्यो, त्यसैले भित्र आउन पाउँदैनथ्यो। ढोकामा सानो चकला थियो, त्यहीं बस्थ्यो । कुकुर पनि ज्ञानी थियो, भित्र जाँदैनथ्यो ।

कोठा बाहिर लामो बरण्डा थियो, सबै काठका झ्याल भएको । ढोका अगिल्तिरको झ्यालमा पिंजडा झुण्डाइएको थियो । पिंजडाभित्रको सुगाले “काइँली, ए काइँली को आयो हेर त!” भन्थ्यो ! अनि काइँली बज्यै, के काम गरिरहेकी हुन्थी, ‘फेरि बोल्यो मोरोले’ भन्थिन् !

भीमशमशेरले आफ्नी नयाँ महारानीकी छोरी युवराजधिराजसित बिहे गर्ने कुराको आफूबुवाले विरोध गरिसेको थियो । त्यसै झगडाले आफूबुवा देश निकाला हुनु पर्‍यो । आफ्नो मन परेको छोरो देश छोडेर जानु पर्दा बडमुवालाई साह्रै चोट पर्‍यो । उहाँले “हे भगवान, इन्साफ गर ! मेरो छोराले सत्य कुरा गर्‍या थियो, उसलाई यस्तो गर्‍यो । त्यसलाई यस्तो भई जाओस्, नास भई जाओस् !” भनेर घरिघरि सरापी बक्स्यो ।

बडमुवालाई एकदमै ‘शक’ पर्‍यो । खाली रोइरहने । विस्तारै बिरामी पर्दै गइस्यो । डाक्टर र वैद्यहरूको औषधि निकै चलेको थियो । तर, गल्दै गएपछि वैद्यले अब बज्यै अड्नु हुन्न, घरमा राख्न हुन्न भनेर घाट लगे । अनि पशुपतिमा बितिस्यो ।

बडमुवा स्वर्गे हुँदा (१९८६ साल) साह्रै बेमोज भयो । हामी सबै त्यहीं थियौं । छक्क पर्‍यौं, कठै, बुवाले कस्तरी रोएको ! हरे शिव !

(किरणराज जोशी र रूपा जोशीसितको कुरामा आधारित)

प्रतिकृया दिनुहोस