ब्लग शनिबार, वैशाख ६, २०७७

उलिनकाठ चढेर बद्री–केदार

रुपा जोशी

उलिनकाठ चढेर बद्री–केदार
केदारनाथको मन्दिर अगाडि ढोकाटोलका तीर्थालुहरू । अगाडिको पंक्तिमा छोरा बलराम, बुवा, मुवा, बहिनी, र अरु परिवारसँग चन्द्रकुमारी (बायाँबाट चौथो) ।


मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेर १०६ वर्ष भइसकेको छ। विस्मृतिले च्याप्दै गए पनि हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालि उहाँले बद्री–केदार तीर्थयात्राका सम्झना सुनाउनुभएको छ । तीर्थयात्राका ती घटना उहाँकै शब्दमाः

मेरो तीर्थ गर्ने त सबै सिद्देको छ । बुवा जहाँ गइसिन्थ्यो, हामीलाई लगिसिन्थ्यो । बद्री केदार नै दुईचोटि गएँ ।

रुपा जाेशी

हामीहरू डफ्फा नै हुन्थ्यौं– बुवा मुवा, फुपू, बैनीहरू, भ्यागुनानी (दिदीको छोरी, स्व. रेणु पाण्डे), बल्लाम (छोरा स्व. बलराम जोशी) । दाइदाइ (स्व. कुलनाथ लोहनी) पनि जानु भएको थियो । त्यो वेलाको फोटोहरू सबै दाइदाइले नै खिच्नु भएको हो ।

एकचोटि बद्री–केदार जाँदा त हामी बथान नै थियौं । परिवार त भइहाल्यो, काम गर्नेहरू पनि टन्नै गएका थिए । फेरि वैद्यहरूले बुवालाई “हजुरहरू सवारी भएको बेला हामीलाई पनि साथ लगिस्योस्”, भने । बुवाले पनि “अहिले त हो नि गर्ने, पछि कसले गर्छ? कोसित जान्छन् ?” भनिस्यो । अनि त दुईवटा वैद्यका जोइपोइ छोराछोरी सबै गएका । अनि कम्पाउण्डरको चाहिँ तीन जना आफू, स्वास्नी अनि आमा । उनीहरूको खर्च सबै आफै गरे । हाम्रो चाहिँ बुवाले गरिसिन्थ्यो ।

तीनधाम जाने वेलामा पहिला थानकोटसम्म मोटरमा जान्थ्यौं, अनि उलिनकाठमा । माथि (चन्द्रागिरि) पुग्नै कत्ति समय लाग्थ्यो । त्यहाँबाट काठमाण्डु हेर्दा यत्रो सानो देखिने । हामी त उलिनकाठमा हुन्थ्यौं । हरेकलाई चार–चारजनाले बोक्थे । तर, हामीसित जाने थुप्रो काम गर्नेहरू सबै हिंड्थे । बल्लाम चाहिँ मसँगै हुन्थ्यो ।

बद्रीनाथतिर लाग्ने बेलामा बुवा र मुवा (बसेका), छोरा बलराम, बहिनीको छोरी शान्ता, बहिनी नुतन, दिदीकी छोरी रेणु र अरूका साथ चन्द्रकुमारी (बायाँबाट दाेस्राे)

 

भीमफेदी हुँदै जान्थ्यौं । बास बस्ने ठाउँ राम्रै हुन्थ्यो । आफूसँग लगेको गुन्टा बिछ्याएर सुत्थ्यौं । मैले सानो पातलो डसना लगेकी थिएँ । सबैतिर बल्लाम र म त्यसमै सुत्थ्यौं । भीमफेदीबाट गाडी चढेर, अमलेखगञ्जपछि रक्सौलसम्म रेल, अनि रक्सौलदेखि फेरि अर्को रेल । हामी पहिला काशी जान्थ्यौं । त्यहाँ गुरुज्यूहरूको घर थियो गज्जबको, बुलानालामा । काशीमा सबै मन्दिरहरूमा दर्शन गर्न जान्थ्यौं । थुप्रो छ नि त्यहाँ मन्दिर । त्यहाँ दर्शन गरेर, सँगै लगेकी बाहुनीले पकाएको चोखो खाएपछि बद्रीतिर हिंड्ने हो ।

काशीबाट हामी बद्री जान फेरि रेलमा चढ्थ्यौं । केट्केटी लड्छन् भनेर तलै बस्ने, अरू चाहिँ माथि । उनीहरूलाई हाफ टिकट मात्र लाग्थ्यो । रेलमा असाध्यै हुल हुन्थ्यो । म चाहिँ झ्यालबाट यताउति रमाइलो हेर्थें । रेल पुलमा जाँदा नदी तल देखिन्थ्यो– गडङ–गडङ गरेर जान्थ्यो ।

बद्रीतिर जाँदा त पहाडै पहाडको बाटो । बाबा ! कस्तो भीर, यसो तल हेर्दा डरै लाग्ने । तल नदी । बाटो त राम्रैसित बनाएको थियो, तर कत्ति त खसेर पनि मर्थे रे । बाटोमा कोही हिंड्ने, कोही चढ्ने । उलिङकाठको त लाइनै हुन्थ्यो । म त उलिनकाठमा गएको, कसरी हिंड्न सक्नु ? दुईजना बस्न मिल्ने उलिङकाठ हुन्थ्यो बल्लाम त्यस्तैमा थियो । बोक्ने त कत्ति नेपाली थिए ।

त्यस्तोमा बल्लाम उलिङकाठमा चलेर हैरान । ऊ र म एउटै उलिङकाठमा हुन्थ्यौं– ऊ तलतिर म मास्तिर बस्थें । ऊ उठेर तल हेर्न खोज्ने । ‘बाबु त्यसो नगर्, नचल्, चुप लागेर बस्’ भन्थें । अनि रोकिएपछि यताउति दौडेर मलाई हैरान गथ्र्यो । असाध्यै छुकछुके थियो । बल्लामको त एकजना पछि लाग्नुपथ्र्यो । कस्तो कस्तो ठाउँ थियो, खस्ला भन्ने डर । अहिले त बाटो सजिलो भएको छ रे । तर, त्यहाँ असाध्यै चिसो ।

बद्री-केदार यात्राका तीर्थालुहरूको ‘डफ्फा’ ।

बल्लामको बाबु नभएको, श्राद्ध पनि गर्नुपर्ने थियो । सानै भए पनि गर्यो । सँगै गएका सबले श्राद्ध गरे । त्यहाँ ब्रह्मकपाली गर्न सब तयार पारेर राखेको हुन्छ । यस्तो चट्ट पारेर घेरा राखेको हुन्छ । पैसा दिए पुग्ने । त्यहीं गयो, नुहायो, पण्डित बसिरहेको हुन्छ । सबै उसैले सिकाउँछ । अनि सकिएपछि पिण्डसिण्ड सबै सोहोरेर त्यहाँ नजिकको ढोकाबाट तल खोलाको छेउमा जानुपर्छ र त्यहीं पानीमा अर्पण गर्नुपर्छ । ओहो, त्यो अल्गो पहाडको खोंचबाट दुईतिरबाट छहरा झरेको हुन्छ । हामीले चढाएको त एकछिनमा बगाएर बेपत्ता । मान्छे खुत्रुक्कै खस्यो भने, एकछिनमा लैजान्छ । त्यहाँ नुहाउन सकिन्न, त्यै छहराको छिर्का ढाडमा थाप्ने हो ।

बद्रीको मन्दिर यसो भित्रपट्टि छ । राम्रो छ । हामी फेरि पछि जाँदा त त्यो गुफा जस्तो अलि ठूलो पारेको रैछ, ढोका जस्तो पनि भएको, रंगीचंगी । देउताहरूको मूर्ति लहरै राख्या छ । अनि पुजारीले यो–यो भनेर हामीलाई देखाउँछ । त्यहाँ आफैले जस्तो रूपमा देख्न खोज्यो त्यस्तै देखिन्छन्, भगवानहरू ।

एउटी आइमाई थिई, कत्ति दिन भयो दर्शन नै नपाएको रे । पुजारीले यो–यो भगवान हो भनेर देखाउँछ, उसले चाहिँ देख्दै नदेख्ने रे । रोएर बसेको छ, छ । आखिरमा देख्दै देखिन । त्यस्तो पनि हुँदो रैछ ।

मन्दिरमा जानुअघि गंगाजीमा नुहाइकन चोखो भएर जानु पथ्र्यो । सजिलो छ, नेपालीहरू थुप्रो छन् । हामीले कातेको बत्ती दियौं भने दंग पर्छन् तिनीहरू । हामीले नेपालबाटै बत्ती लिएर गएका थियौं ।

चन्द्रशमशेरकी कान्छी महारानी (बालकुमारी देवी) ले बनाइदिएको धर्मशालामा बस्थ्यौं । सब तीर्थ गर्ने ठाउँमा त्यस्तै धर्मशाला बनाइदिएकी थिइन् तिनले । कस्तो धर्मात्मा! घर पनि राम्रो । खाना पकाउने ठाउँ, चर्पी सब भएको । बाहुन पनि राखेको थियो । जाने बित्तिकै खान दिन्थे । आफैले पनि पकाउन मिल्थ्यो । बुवालाई चाहिँ अलग्गै बनाउनु पथ्र्यो । यहाँबाट लगेको बाहुनीले पकाउँथिन् । तर खाना, एकछिनमै चिसो भइहाल्ने । अनि ओहो, यता बिछौना, डसनाको चाङ, उता सिरक, तकियाको डुङ्गुर । जत्ति पनि पाइने, सब नयाँ । पैसा थोरै दिए पुग्ने । हेरचाह गर्नेको जहानै बसेको थियो । कसैको पैसा हरायो भने पनि त्यो दिने बन्दोबस्त गरेकी रैछन् । ओहो, धर्म यस्तो गरेकी रैछिन् तिनले ... धुमधामको!

बद्रीभन्दा केदार धेरै माथि । जान झन् गाह्रो । त्यहाँको मन्दिर कस्तो राम्रो । अनि ठ्याक्कै त्यहीं, चारैतिर कत्रा कत्रा पहाड, हिउँ भएको । दुवैतिरबाट गएको छ पानी, माथिबाट झरेको छ बेस्करी छहरा । ओहो! जाडो एकदम । त्यहाँ जानु अघि हामीले छुट्टै लुगा सिलाएर लगेका थियौं, सुरुवाल भएको ।

त्यो महारानीले जगन्नाथमा पनि धर्मशाला बनाएकी रैछन् । जगन्नाथ त म धेरैचोटि गएँ । अनि द्वारका पनि गयौं । त्यहाँको मन्दिर बनाएको चाहीँ भिन्दै तरिका । त्यहाँ पनि धर्मशाला राखेकी रहिछन्, महारानीले ।

बद्रीनाथबाट ल्याएको ‘ऐना तस्बीर’ प्रसाद, जुन चन्द्रकुमारीको पूजाकोठाको सिंहासनमा अझै सजिएको छ ।

सबै तीर्थ गरेर फर्कन २–३ महीनै लाग्यो । बद्री, केदारबाट फर्केर नेपाल आएपछि, सबै आफन्त र चिनजानलाई प्रसाद बाँड्न भनेर भोज खुवाउनु पर्दो रहेछ । ढोकाटोलमा कत्रो भोज पाक्यो, कस्ता कस्ता परिकार ! साह्रै रमाइलो पो थियो त बा ।

(किरणराज जोशी र रूपा जोशी सितको कुरामा आधारित)

 

प्रतिकृया दिनुहोस