ब्लग विहीबार, चैत २०, २०७६

बेलायतबाट आउँथे खेलौना पुतली

रुपा जोशी

बेलायतबाट आउँथे खेलौना पुतली
मुवाको ९०औँ जन्मदिनमा पाउनु भएको एउटा उपहार- घरमै जन्मिएको भुक्के कुकुर र जोगाएर राखेको कपडाको जिउ भएको पुतलीसित मुवा । । तस्वीर साैजन्य: जोशी परिवार

मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंश मुवाले सानो बेलाको रमाइलो- खेलौना, कुकुर र चाडबारे गरेका कुरा उहाँकै शब्दमा:

रुपा जाेशी

ती दिन त साह्रै रमाइला थिए बा! बुवाले हामीलाई के चाहिन्छ सब पुर्‍याइबक्सिन्थ्यो। हामी दिदीबहिनी धेरै थियौं। म पनि सानो थिएँ नि, पुतली खेल्थें।

हामीलाई घरमै टालाटुलीको पुतली बनाउन पनि सिकाइएको थियो। तर, बुवाले बेलायतबाट खेल्ने सामान, मुख्य त पुतली झिकाइसिन्थ्यो। कस्तो हाम्रो बुवा! हामीले पुतली भनेर इच्छा गरेपछि पुर्‍याइदिहाल्ने।

एउटा मास्टर थियो। बुवाले उनलाई क्याटलग हेरेर नानीहरूलाई यो यो झिकाइदिनु मर्जी हुन्थ्यो, अनि त्यै त्यै आइपुग्थ्यो। काठको बाकसमै आउँथ्यो, प्याक-प्याकमा । राणाजीहरूले पनि मगाउँथे, हामीले पनि मगाउन पाउँथ्यौं।

ती सब पुतली छोरी, नातिनीहरूलाई बाँडिसिन्थ्यो। हामीले ती पुतलीहलाई कस्तो मान गरेर दराजमा राख्थ्यौं। मैले त पछिसम्म पनि जोगाएर राखेकी थिएँ। अरूको सित अलमलिएला भनेर पछाडि नाम पनि लेख्थें।

मलाई मुवासित राणाजीको दरबार जान खूब मन पर्थ्यो। फर्किने बेला कहिलेकाहीं “लौ यो नानीलाई केही दिऊँ” भनेर महारानीहरूले पुतली पनि दिन्थे।

उहिलेको पुतली र अहिलेको कुकुर किसमिससित मुवा ।


मेरा पुतली कस्ता राम्रा थिए। गज्जबका! साना साना पनि थिए। काँचका, आलुका बनेका पनि हुन्थे। पुतली त मान्छे जस्तै हुन्थे। कुनैले आँखा झिमझिम गर्ने गर्थे। पुतलीको लुगा बेलायतबाटै पनि आउँथ्यो, हामी पनि बनाउथ्यौं। मेरी दिदी सिउन, बुन्न एकदम सिपालु, अनि म दिदीसित सिक्थें।

पुतलीको बिहे पनि गरिदिन्थ्यौं। धूमधामसित, मान्छेको गर्‍या जस्तै गरेर। त्यति वेला फुपूका छोरीहरू पनि आउँथे। बारीमा, दुलाहा र दुलही अलग-अलग ठाउँमा बस्ने। जन्ती जान्थ्यौं। कन्यादान गरेर भित्र्याउँथ्यौं। भोज पनि पकाउने। पकाउन हाम्रा धाईहरू र काम गर्नेहरूले मद्दत गर्थे।

हामी दिदीबहिनी खेलेको वेला भाइ आएर सब पुतलीलाई लात्ताले हान्थ्यो। ‘ल, ल राजा आइपुग्यो पुतली लुकाउन पर्‍याे ल’ भन्थे। अनि लुकाउन पर्थ्यो। अलि बदमास थिए भाइ। मुवाले छोरी छोरी पछि पाइबक्स्यो एउटा छोरो, पुलपुलिएको थियो। ऊ त राजा ! बाफरेबाफ, उसको पछि लाग्ने २/४ जना मान्छे थिए। छोराको त अर्कै तह हुन्थ्यो नि! बुवाले बेलायतबाट भाइलाई मोटर पनि झिकासेकोथ्यो। चट्ट खुट्टाले पेडल गरेर चल्ने, ओहो! एउटै छोरो! 

बुवाले सबैलाई साइकल पनि झिकाइबक्सेकोथ्यो। मलाई दाइदाइले (स्व‍. कुलनाथ लोहनी) साइकल सिकाउनुभएको थियो। सिक्दा घान्द्राङ घुन्द्रुङ लडियो पनि। बाहिर जान पाइन्नथ्यो, त्यै चोक र बारीमा घुमाउने। रेस पनि गर्थ्यौं। दाइदाइले जित्थे। दशैंमा चंगा उडाउन भाइहरूले सिकाएकाथे, तर उडाइएन। बारीमा पिङ पनि हाल्थे। बच्चाहरूलाई छुट्टै, अलि सानो पिङ हुन्थ्यो। कस्तो रमाइलो हुन्थ्यो।

मेरी फुपूकी नातिनी नानीमैया (सँगी) बुढीआमासित हामीकहाँ आइरन्थी। सँगै खान्थ्यौं, खुब खेल्थ्यौं। मैले जे खाए पनि उसलाई दिनै पर्ने हुन्थ्यो। हामी लुकामारी खेल्थ्यौं। सानो सानो कागजमा धर्को लेखेर लुकाएर खेल्थ्यौं। लेख्यो अनि कतै लुकायो। भकारीमाथि चढेर चामलभित्र पनि लुकाउँथ्यौं, अनि सबले खोज्नुपर्ने। जसले त्यो कागज भेट्थ्यो उसले जित्थ्यो, अनि उसको पालो हुन्थ्यो, लुकाउने।

हत्केलामा अटाउने कुकुर

ढोकाटोलमा १०-१२ वटा कुकुर हुन्थे। सबैजनाको कुकुर थियो, मेरा पनि थिए। हामी छोरीहरू सबै भन्दा माया गर्थ्यौं कुकुरलाई। बडमुवालाई चाहिं मन पर्दैनथ्यो। बडमुवाको ढोका नजिक चकला राखेको हुन्थ्यो, त्यहीं आएर बस्थ्यो, मेरो कुकुर। आफुबुवा कहाँ चाहिं एउटा ठूलो कुकुर थियो। त्यत्ति नै।

मलाई कुकुर असाध्यै मन पर्ने। मेरो खाट नजिकै बाकस राखिदिएको थियो, त्यहीं सुत्थ्यो। मेरा बेकी, टमथम्ब र अरू थुप्रै कुकुर थिए। टमथम्ब त हत्केलामा नै अट्थ्यो, सानो थियो। कोटको पकेटमा राखेर यता उति जान्थें। इन्डिया जाँदा पनि मैले ती कुकुर लान्थें। पैसा तिर्नुपर्थ्यो रक्सौलमा। बिचरा बूढो भएर मरिहाल्यो। कुकुर मर्‍यो भने म धेरै रुन्थें। अनि बुवाले त्यो सानो वैद्यलाई खबर गरिबक्सिन्थ्यो, छिटो कुकुर खोजेर ल्याउनु पर्‍यो भनेर।

वैद्यले ल्हासाबाट छिटै कुकुर ल्याउँथ्यो, असाध्यै राम्रा राम्रा कुकुरहरू। सोखिनहरूले कुकुर पाल्थे त्यो वेला पनि। कुकुर बेच्न पनि ल्याउँथे। मुवासँग राणाजीहरूको दरबारमा जाँदा, कुकुरले बच्चा पाएको छ भने लिएर आउँथ्यौं पाल्न।

तिहारको रमाइलो

कुकुर पूजा पनि खूब रमाइलो हुन्थ्यो। सबको बेग्लाबेग्लै कुकुर हुन्थ्यो। अनि पूजा गर्ने वेला सबै कुकुरलाई एकै चोटि एकै ठाउँमा गर्थ्यौं, तल चोकमा। बुवा, मुवा अनि बडमुवा सबै मिलेर पूजा गर्थ्यौं।

"उहिलेको भाइटीकामा भाइहरू (बायाँदेखि दायाँ) ईश्‍वरी राज, विधीराज र केशरीराज (पाण्डे) का साथ दिदीबहिनीहरू।
चन्द्रकुमारी बीचमा कालो सलमा। बैनी साहना पाठक (सबभन्दा दायाँ)। बाँकी तीन च्यान्टा गुरुज्यूका दिदीबहिनीहरू। 
२०६२ सालकाे भाइटीकामा मुवाले बैनीहरू साहना पाठक, मैत्रेयी कु. लोहनी र शान्ति पन्थका साथ विभिन्न कालखण्डमा बडा गुरुज्यू
भएका भाइहरु नयनराज पाण्डे, केशरीराज पाण्डे र जनार्दन राज पाण्डेलाई टीका लगाएपछि ।

भाइटीकाको दिन सबै भाइहरूलाई म टीका लगाइदिन्थें। मेरो आफ्नै भाइलाई (स्व. विधिराज पाण्डे), आफुबुबा (स्व. हेमराज पाण्डे) का छोराहरू दुई जना भाइ (स्व. केशरी राज पाण्डे र स्व. ईश्वरी राज पाण्डे) लाई। अनि रक्तकालीमा पनि दाजु थिए च्यान्टा गुरुज्यू (स्व. खगेन्द्रराज पाण्डे)। फेरि डिल्लीबजारमा पनि बाबाराजा (स्व. टेकराज पाण्डे) लाई तेल लाउँथें। पछि रक्तकालीमा छुट्यो तर, डिल्ली बजारमा माइलाराजा (स्व. नयनराज पाण्डे) र कान्छाराजा (जनार्दन राज पाण्डे) लाई पनि टीका लगाउन थालें।

बुवाहरूका छोरैछोरा थिए, छोरी थिएनन्, अनि मलाई बोकेर लैजान्थिन्, सधैं तिहारमा। हामीहरूको त्यस्तै चलन थियो, दिदीबहिनी नजन्मिँदा निधार खाली राख्न हुन्न भनेर म जान्थें, दाजु र भाइहरूलाई टीका लगाइदिन। अनि एकचोटि लगाएपछि, लगाइरहनुपर्थ्यो । अब त अरू सब बिते, कान्छाराजालाई अझै लगाउँछु।

रक्तकाली ढोकाटोल नजिक भएको हुनाले त्यहाँ मलाई मेरी धाईले हिँडाएर लान्थिन्। डिल्लीबजार जाँदा चाहिं धाईले बोकेर पुर्‍याउँथी। भाग भने अगिल्लो दिनमै पठाइसकेको हुन्थ्यो। सब मुवाले तयार पारिसिन्थ्यो। कत्ति जना थिए, सबको लागि भाग हालिसिन्थ्यो। आफू अगाडि बसेर पकाउन लगाइबक्सिन्थ्यो।

सेल त पकाउन परिहाल्यो, अनि अनर्सा। किस्ती का किस्ती हुन्थे सब परिकार। मिठाई चाहिं हलुवाई कहाँबाट ल्याउँथे। फलफूल, मसला, हात्ती-घोडाका मिस्री। हात्ती-घोडाको लागि पहिलेबाटै अर्डर दिनुपर्थ्यो।

रक्तकालीको घर त गज्जबको थियो, पहिलो तल्लामा चोक भएको, भुइँबाट भर्‍याङ चढेर जानुपर्थ्यो त्यहाँ। दुईतिर ठूला बैठक थिए, सँगै पूजाकोठा थियो। त्यहीं पूजा गरेर टीका लगाउँथ्यौं। राम्रैसित दक्षिणा पनि दिन्थे मलाई।

गाईपूजा चोकमा गर्थ्यौं। थुप्रै थिए गाई, तर दुइटा चाहिं विशेष असल थिए। पूजा गरेपछि गाईलाई माला अनि टीकाको छाप लगाएर राम्रो बनाइन्थ्यो। लक्ष्मीपूजाको दिन मुवाले पूजा गरिसिन्थ्यो। लक्ष्मीको पाइला पनि हाल्थे, बाहुनीहरूले। लहरै पाला बाल्थे। झलमल्ल हुन्थ्यो।

हामी सब दिदीबहिनीहरू भैलो माग्न जान्थ्यौं अनि बडमुवा, बुवाहरू सबै जनाले रुपियाँ हालेर 'ल यति रुपियाँ लिउ' भन्थे। डिल्लीबजार बडागुरुज्यूकहाँ चैँ जाँदैनथ्यौं, तर त्यो दिन बेलुका पनि हिंड्न पाउने हुनाले रक्तकालीसम्म भैलो माग्न जान्थ्यौं।

त्यो बेलुका जुवा चल्थ्यो, ढोकाटोलमा। ठूलाहरू कौडामा जम्थे। बडमुवाले हामी सबै केटाकेटीलाई वरिपरि राखेर तामाको पैसा बाँडेर ‘१७’ तास खेलाइबक्सिन्थ्यो। कोही जित्थे कोही हार्थे। कमाएको पैसा सब धाईलाई दिन्थें अनि उनैले मेरो टिनको खुत्रुकेमा छिराउँथी। ‘नानीको’ भनेर एकदम स्याहार गर्थिन्। कस्ता रमाइला दिन थिए! खुइइइइय!

(किरणराज जोशी र रूपा जोशीसितको कुरामा आधारित)

प्रतिकृया दिनुहोस