कला/साहित्य मंगलबार, असार १६, २०७७

विवाहको निम्तो कार्डमा चित्रकला: कहिले र कसले गर्‍यो प्रारम्भ ?

ज्ञानेन्द्र विवश

विवाहको निम्तो कार्डमा चित्रकला: कहिले र कसले गर्‍यो  प्रारम्भ ?
श्यामलाल श्रेष्ठकाे चित्र ।

बिहे आफैंमा सुन्दरता, रहस्य र आकर्षणको विषय हो । नारी सौन्दर्यलाई अझ सुन्दर तवरले सजाउने र कलामा सो कुरा झल्काउने यस्ता चित्रकला नेपालमा मात्रै होइन विदेशमा समेत आकर्षणको विषय बन्नु स्वाभाविक हो ।

ज्ञानेन्द्र विवश

नेपाली चित्रकलामा सिर्जनात्मक कलाकर्मका विविधतायुक्त  उपस्थिति र प्रस्तुतिले विशेष अर्थ राख्छन् । यही विविधताको संयोजनबाट नै कलाकारी सीप र सौन्दर्यको उदघाटन हुन्छ । कलामा मौलिकताको स्थापना यसरी नै हुने गर्छ । अन्यथा उही प्रकृति, उही जनजीवन र उही विषयवस्तुको निरन्तरताले काममा नयाँपन आउँदैन ।

कलाले सधैं नयाँपनको आग्रह र सो को आभास दिनुपर्छ । कुनै पनि किसिमले केही न केही सकारात्मक प्रभाव पार्न सक्नु अथवा सन्देश, सूचना, सचेतना दिनु र मुख्यतः सौन्दर्यमय अनुभूतिको सम्प्रेषण कलाको प्रमुख काम हो । यसको उद्देश्य र उपलब्धि पनि यही हो ।

याे पनि हेर्नुहाेस्– पोखरा: पानीरङकाे पाठशाला

सुन्दरताविहीन कलाले कलाको परिभाषालाई यथार्थमा प्रकट गर्न सक्दैन । त्यसैले कलाका माध्यमबाट सामान्य विषयवस्तुलाई पनि एउटा सफल कलाकारले कलात्मक जीवनको जीवन्त स्वरूप दिन सक्छ । यस आलेखमा बिहेको संस्कृति केन्द्रित कलाकारी प्रस्तुतिको सिर्जनामाथि चर्चा गर्ने कोशिश गरिएको छ ।

प्रथमतः बिहे शब्दले नै सौन्दर्य प्रशाधनको एक अनुपम स्वरूप–संरचनाको दृश्यबोध गराउँछ । यस किसिमको विषयवस्तुमाथि कलाकारी प्रयोगले सुनमा सुगन्ध थप्ने काम गर्दैन भन्न सकिन्न ।

अधिकांश कलाकारहरूका कलामा नारी–विम्ब, बनौट, सुन्दरता र तिनै मनोदशाका अनेक रूपहरूमा कलाकर्म सिर्जना हुने गर्छन् । वास्तवमा नारी सृष्टि समग्रकी मूल आधार मात्र होइनन् कि सिर्जनात्मक कर्मकी प्रथम प्रेरणा पनि हुन् । त्यसैले नारीको सुन्दरताको बयानमा कैयौं साहित्य लेखिएका छन् । कैयौ चित्रकला, मूर्तिकलाहरू बनेका छन् ।

नेपाली ललितकलाको पृष्ठभूमिमा पनि नारी विषयमा केन्द्रित कलाकर्मीहरू धेरै छन्, तर अधिकांशले सामाजिक विषयतिर चित्र बनाएका छन् । सांस्कृतिक जात्रापर्वमा पनि चित्रहरू बनाइएका छन् । त्यसमध्ये बिहेको विषयलाई कलामा उतार्ने कलाकारहरू भने त्यति धेरै छैनन् ।

याे पनि हेर्नुहाेस्–पूर्वाेत्तर भारतीय कलामा नेपाली संस्कृति

वरिष्ठ कलाकार चन्द्रमानसिंह मास्केले नेपाली कलामा अनेक विषयका कलाकृतिहरू बनाएर योगदान दिएका छन् । तर बिहेलाई कलाको विषय बनाउने ध्याउन्न उनीमा पनि आउन सकेका थिएनन् ।

ख्यातिप्राप्त कलाकार मास्केलाई २०१५ सालमा राजा महेन्द्रको भ्रमण दलमा सहभागी हुन कलाकारका तर्फबाट मस्को जाने निम्तो आयो । त्यहाँ नेपाली कलाको प्रदर्शनसमेत गर्नुपर्ने भयो । मास्केले निकै सोचविचार गरी नेपाली जनजीवन र सांस्कृतिक चित्रहरू बनाउने निर्णय गरे । उनले नेपाली कलामा एउटा नयाँ ईटा थप्ने संकल्प नै गरेका थिए ।

याे पनि हेर्नुहाेस्– नेपाली ललितकलाः राष्ट्रिय भावना र स्वाभिमान जगाउने युद्धकला

सोही अनुसार उनले नेवारी बिहेको चित्रले अलग्ग आकर्षण गर्न सक्ने अनुमान गरेर बिहेको चित्र बनाउने काम सुरु गरे । तर त्यसका लागि सन्दर्भ सामग्री केही थिएन । अनेक गरगहनाहरूको खोजी गरियो ।

उमाशंकर शाहको वैवाहिक अंगीकृत शीर्षकको चित्र ।

कैयौं रेखाचित्रहरू बनाइयो । काम छिटो गर्नु त छँदै थियो, राम्रो पनि उत्तिकै पार्नुपर्ने र नयाँ पनि हुनुपर्ने थियो । निकै मेहनत गरेर उनले वैवाहिक संस्कृतिलाई कलाकारी प्रस्तुतिमा अचम्मको नयाँ काम नेपाली कलालाई दिए । यस कामले उनलाई गज्जबको सन्तुष्टि पनि दिएको थियो ।

यसरी चन्द्रमानसिंह मास्केले बनाएको बिहेको सुन्दर चित्र सोभियत संघको मस्कोस्थित ‘प्राच्य सङ्ग्रहालय’ मा दुई देशको सम्बन्धको प्रतीक मात्र होइन नेपाली कलाको उच्च सम्मान र सांस्कृतिक वैभवको सुन्दर सिर्जनाको रूपमा अद्यापि रहेको छ ।

याे पनि हेर्नुहाेस्–कलामा जात्रा: पृथ्वीनारायण शाहलाई जीवित देवी कुमारीको टीका

मास्केले बनाएका चित्रहरूमध्ये बिहेको चित्रको शिल्प, सौन्दर्य, रङ–संयोजन, आकृति अनुपात आदि विशुद्ध नेपाली मौलिकताले भरिपूर्ण उच्चकोटीको चित्र हो ।

यसपछि त मास्केले बिहे संस्कृतिमै केन्द्रित भएर प्रशस्तै चित्रहरू बनाए । विशुद्ध नेपालीपन र पहिचान झल्काउने यस्ता चित्रहरू हाम्रा अमूल्य सांस्कृतिक सम्पदा हुन् ।

बिहेको चित्र बनाएको र विदेशमा समेत ख्याति कमाएको कुराले तत्कालीन क्रिष्टल होटलका मालिक सानु तुलाधरले आफ्ना छोराहरूको बिहेको निम्तो कार्डमा राख्न मास्केलाई बिहेको चित्र बनाउन लगाएको बताउँछिन्, मास्के पुत्री किरण मास्के ।

मास्केले पनि आफूले सकेसम्म सुन्दर चित्र बनाइदिए । सम्भवतः नेपाली कलामा बिहेको निम्तोमा चित्र राख्ने प्रथम प्रयोग पनि यहीबाट भयो । हिजोआज पनि बिहेको निम्तो कार्डमा रेखाचित्रबाट औंठी लगाइदिएको वा स्वयम्वर गरेको चित्र राख्ने गरिन्छ ।

याे पनि हेर्नुहाेस्–पानीरंगकाे नेपाली कला: इतिहास र अवस्था दुवै दुई सय वर्ष पुरानाे

कलाकार चन्द्रमानसिंह मास्केको दुलहीलाई घर भित्रियाउँदै गरिँदा ‘लसकुश’ शीर्षकको चित्र जीवन्त सिर्जना हो । अर्का कलाकार मनोहरमान पुँको बिहेमा दुलहाको घरबाट दुलहीको घरमा ‘साइपाटा’ लैजाने तयारीको चित्रले पनि बिहेको कला–विम्बलाई प्रतिनिधित्व गर्दछ ।

छोरीलाई बैवाहिक कर्म गरिँदाको मांगलिक संस्कार होस् वा जन्मघरबाट कर्मघर पठाइदाको झलक दिने चित्र हुन् मूलढोकाको वरिपरि बनाइने, त्यसमा संलग्न मानिसको समूह, लुगा र गरगहनाका साथै बिहेमा आवश्यक अन्य सामग्रीहरूको चित्रण रोचक विषय पनि हो ।

बैवाहिक कार्यमा अचेल ठूलो परिवर्तन आइसकेको छ । यस किसिमको परम्परागत पहिरन र प्रचलन अब चित्रमा देख्न पनि मुस्किल हुन थालिसकेको छ । जसरी चित्रमा रङ र रूप पुरानो भई खुइलिँदै गएको छ, त्यसरी नै यसको संस्कृति पनि क्रमशः धमिलिँदै समाजबाट विस्थापित हुँदै गइरहेको छ ।

मास्केले बनाएका कैयौं यस्ता चित्र विदेशिएका छन् । ती चित्र विदेशिनुसँगै अन्ततः नेपाली चालचलन, समृद्ध संस्कृति र नारीप्रतिको नेपाली सम्मानलाई पनि तिनले झल्काउँछन् । उनले बनाएका कतिपय चित्रहरूमध्ये बिहेको चित्रले पृथक महत्व राख्छ।

मास्केका जनजीवन तथा सांस्कृतिक कलाकृतिहरूमा तत्कालीन पहिरन, गहनाको सुन्दर झलक दृष्टिगोचर हुन्छ । आज कतिपय लुगाको पहिरन तथा गहनाको चलन लोप भइसकेको छ । विवाह समारोहको समृद्ध संस्कृतिमा पनि विकृति भित्रिन थालिसकेको छ ।

महिलाहरूले चुल्ठोमा आँंठा कस्ने, सिरबिन्दु, बाहुले चोलो, गुन्यु, घलेक, मजेत्रो जस्ता विभिन्न किसिमका पहिरनमा आज प्रशस्त परिवर्तन आइसकेको छ । विगतका यिनै मौलिक पहिरनमा अनेक लतालहराहरू, फूलबुट्टाहरूको सुन्दरता झल्किन्छ ।

याे पनि हेर्नुहाेस्–कलामा आमा, आमामा कला

यस्ता पोशाकमा सजिएका महिला दिदीबहिनीहरूको सांस्कृतिक र सामाजिक जीवनका विविध पक्ष मास्केकृत कलामा सिर्जित भएको पाइन्छ ।

अर्का वयोवृद्ध कलाकार चिनीकाजी ताम्राकार शिल्पकलाका अग्रणी सर्जक हुन् । उनले बनाएको बिहेका लागि चाहिने विभिन्न औजारहरूको शिल्पकलाले अर्को कलाकारी फड्को मार्न मद्दत गरेको छ ।

जुन शिल्पकला विशेषतः नेवार समाजमा आवश्यक छ भने यसले नेपाली कलामा रहस्य र रोचक कलाशैलीको उठान गरेको सन्दर्भ अनुसन्धानको विषय पनि हो । जस्तै– सुकुन्दा, कलश, पानस, चिकं खोला, लम्पिचा, ज्वालान्हाय्क, सिन्हःभू, सिन्हः बत्ता आदि । यिनमा अनेकौं बुट्टाहरूको सुन्दरता र देवदेवीहरूको आकृति आकर्षणको अर्को पाटो हो ।

वरिष्ठ कलाकार हरिप्रसाद शर्माले परम्परागत र ऐतिहासिक कलाकारितामा आफूलाई परिचित गराउँदा–गराउँदै पनि यौटा सुन्दर चित्र ‘पञ्चैबाजा’ शीर्षकको चित्र बनाएको सन्दर्भ पनि स्मरणीय हुन्छ ।

चन्द्रमानसिह मास्के र मनाेहरमान पुँकाे चित्र ।

कलाकार उमाशंकर शाहको ‘वैवाहिक अंगीकृत’ शीर्षक चित्र पनि निकै चर्चित र प्रसिद्ध छ । हाल ‘वैवाहिक अंगीकृत’ नागरिकताको विषयमा बहस र विवाद भइरहेका बेला उनले यसै विषयमा एक दर्जनभन्दा बढी श्रृंखलावद्ध चित्रहरू सिर्जना गरे । राम र सीताको बिहेमा आधारित चित्रहरू समय सान्दर्भिक मात्र लाग्दैन कि विषयको प्रस्तुति पनि निकै रोचक लाग्छन् ।

भारतको अयोध्याबाट जन्ती लिएर बेहुली सीतालाई लिन नेपालको जनकपुर आएको पौराणिक मान्यता छ । यसैलाई विम्बात्मक आधार मानेर उमाशंकरले जनकपुरबाट जयनगरसम्मको रेलयात्रामा बिहेको संरचना गरेका छन् ।

पृष्ठभूमिमा रेलको चित्र र त्यससँगै जन्ती, बाजा, डोली, साइकिल, अन्य सवारी साधनहरूको संयोजनले अर्कै संसारको दृश्य देखाउँछ। यसरी यौटै विषयमा विविधताको एक दर्जन बढी फरक–फरक चित्रबाट ‘वैवाहिक अंगीकृत’ को पौराणिक पृष्ठभूमि सार्थक सिर्जनामा समेटिएको छ । यी चित्रहरू नयाँदिल्लीमा सन् २०१६ मा प्रदर्शनी गरिँदा पनि यसको विशेष चर्चा भएको कलाकार उमाशंकर बताउँछन् ।

उनी भन्छन्– यो हाम्रो आफ्नै सनातन संस्कृति र सुन्दरताको एक उत्कृष्ट विम्ब हो । यसमा अनेक गम्भीर दर्शनहरू, कथा– मिथकका रोचक सन्दर्भहरू छन् । ती चित्रहरू मोना म्यूजियम, ठमेललगायत थाइल्याण्ड र चीनमा रहेका छन् । चीनमा त विशेष नगद राशिको अवार्डसमेत पाएको थियो । यी चित्रहरू सात फिटदेखि आठ फिटसम्मका छन् ।

याे पनि हेर्नुहाेस्–नेपाली कलाकारले कमाउँदैछन् अन्तर्राष्ट्रिय ख्याति

यसरी नै अर्का वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठले २०५६ सालमा बिहेका दश ओटा चित्रहरू र्‍याडिसन होटलका लागि बनाएका थिए । ती चित्रहरूले नेपाली समाजमा बिहेको सांस्कृतिक गरिमालाई अझ महत्वका साथ प्रस्तुत गरेको विश्वास गर्न सकिन्छ ।

पुराना कलाकार केशरमान चित्रकार तथा नयाँपुस्ताका अन्य कलाकारहरू चन्दा श्रेष्ठ, उदयचरण श्रेष्ठ, श्रीजन राजभण्डारी, चन्द्रकुमार ताम्राकारले पनि नेपाली कलामा बिहेको चित्रकला रचना गरेका छन् ।

प्रतिकृया दिनुहोस