कला/साहित्य आइतबार, जेठ २५, २०७७

पूर्वाेत्तर भारतीय कलामा नेपाली संस्कृति

ज्ञानेन्द्र विवश

पूर्वाेत्तर भारतीय कलामा नेपाली संस्कृति
चेन्दुप लेप्चाकाे चित्रकला ।

दार्जीलिङ, कालिम्पोङ, सिक्किम, शिलोङ आदि स्थानका नेपाली भाषी कलाकार सिद्धहस्त त छन् नै ख्याति पनि उत्तिकै छ ।

ज्ञानेन्द्र विवश

नेपाली भाषीहरूको संख्याले आज विश्वका धेरै भूमिमा आफ्नो परिचय र प्रभाव जमाएको छ । आफ्नै भाषा, धर्म, संस्कृति, कलाकौशलको समृद्धिमा पनि उनीहरू अग्रसर छन् । यसैबीच नेपाली हुनुको पहिलो चिनारी कलाकारितामा कुशलता हो । यही कुशलताले आज मूलतः नेपाली हस्तकला, थाङ्काकलाले अन्तर्राष्ट्रिय बजार लिइसकेको छ । यही क्रममा नेपाल बाहिरका नेपाली भाषी कलाकारहरू खासगरी छिमेकी भारतका दार्जीलिङ, कालिम्पोङ, सिक्किम, शिलोङ आदि स्थानका कलाकारको एकसरो विवरण दिने कोशिश यस सामग्रीमा रहेको छ ।

नेपाल बाहिरका नेपाली कलाकारहरूको विवरण खोज्दै जाँदा धेरै कलाकर्मीको नाम आउँछ । सिक्किमका कलाकार रत्नकमल देवानलाई मैले २५ वर्षअघि भेट्दा नै उनी वयोवृद्ध थिए । चित्रकलामा रुचि राख्ने मात्र होइन सुन्दर चित्रकला पनि बनाउने उनले यसलाई निरन्तरता दिएनन् । त्यतिवेलै ७० वर्ष नाघिसकेका उनी हिमालयन नर्सरी चलाएर बसेका थिए । लैनसिंह बाङ्देलका सहपाठी उनी थाहा छैन कहिले बिते होलान् !

सिक्किमका अन्य कलाकारहरूमा ८० सन्निकट वयोवृद्ध उमेरमा राज के. श्रेष्ठ हिजोआज चित्र बनाउन सक्दैनन् तर आफ्नो उमेरमा धेरै सुन्दर सिर्जनाहरू गरेका अग्रज चित्रकार हुन् । त्यस्तै किरण रसाइली अघिल्लो पुस्ताका राम्रा चित्रकार हुन् । उनले पनि चित्र बनाउन छोडिसकेका छन् । प्रारम्भिक दिनमा रसाइलीले मूर्त र अमूर्तशैलीमा प्रशस्तै चित्र बनाए । पेशाले इन्जिनियर उनी साहित्य र संगीतका पनि राम्रा सर्जक हुन् । कलामा नवजागरण ल्याउन उनकै अग्रसरतामा आजभन्दा चार दशकअघि सिक्किममा ‘एकेडेमी अफ फाइन आर्ट’ स्थापना भएको थियो ।

त्यतिवेला उनले भनेका थिए– कलाको मूल्य अनमोल हुन्छ । तर यसबाट प्रतिफल तुरुन्तै प्राप्त हुँदैन । हामी प्रतिफल नपाउँदा निराश हुन्छौं । अनि यसमा अरुचि बढ्न थाल्दछ र अन्त्यमा यसप्रति चासो नै राख्दैनौं ।

याे पनि हेर्नुहाेस्– पोखरा: पानीरङकाे पाठशाला

सिद्धार्थ राईकाे चित्रकला ।

याे पनि हेर्नुहाेस्– नेपाली ललितकलाः राष्ट्रिय भावना र स्वाभिमान जगाउने युद्धकला

स्मरणीय छ, २०५४ सालमा सिक्किम राज्यका मुख्य मन्त्री पवन चाम्लिङको निम्तोमा नेपालबाट लैनसिंह बाङ्देलको नेतृत्वमा ‘न्यू आर्ट सर्कल’ का कलाकारहरूको संयुक्त कला प्रदर्शनी भएको थियो । त्यो वेला चाम्लिङको चासो र चौ–चौ सिक्किममा पनि बाङ्देल जस्तै अन्तर्राष्ट्रिय ख्याति कमाउने हैसियतवाला अर्को धेरै बाङ्देल जन्माउने थियो । त्यसपछि किरण रसाइलीले २०६३ सालमा २६ जना नेपाली चित्रकारहरूलाई सिक्किमका विभिन्न स्थानहरूको लगभग तीन साता लामो कला भ्रमण, कला कार्यशाला र कला प्रदर्शनी आयोजना गराएका थिए । 

सिक्किमका अन्य कलाकारहरूमा योगेन्द्र तामाङ, नयाँ पिंढीका हेमदोर्जे लामा, हेम खवास, फुचुङ घिमिरे, किशोर साङपाङ, विमला प्रधान, नवीन लामिछाने र दीपा राई आदि । नयाँ अरू चित्रकार पनि थपिए होलान् ।

कालिम्पोङका भक्त परियार त्यहाँका जल्दाबल्दा र व्यस्त चित्रकार हुन् । नेपाली भाषी अधिकांशका घर उनका चित्रकलाले सजाइएको पाइन्छ । डेढ दशकअघि उनलाई भेट्दा र कतिपय स्थानीयका घरमा उनका चित्र देख्दा वास्तविकताबोध भएको थियो । दृश्यचित्र, व्यक्तिचित्र, जनजीवन, प्रकृति आदि हरेकमा उनको कलाकुशलता उच्च थियो । एक दशकअघि केही महीना उनले काठमाडौंमै आएर चित्रकारिता गरेका थिए ।

त्यो वेला उनले भनेका यी भनाइ आज पनि सान्दर्भिक लाग्दछ– चित्र बनाएर पाइने आनन्द र सन्तोष मैले अन्यत्र कतै पाएको छैन । मैले नै यस क्षेत्रमा आदिकवि भानुभक्त आचार्यको चित्र र अन्य साहित्यकारहरूको चित्र बनाएको हुँ । कला बनाउने, सिकाउने र माग अनुसार पनि काम गरिरहेको छु ।

विक्रमवीर थापाकाे चित्रकला ।

याे पनि हेर्नुहाेस्–पानीरंगकाे नेपाली कला: इतिहास र अवस्था दुवै दुई सय वर्ष पुरानाे

नागाल्याण्डबाट कलाकार बुद्धि थापा नेपाल नफर्किएको पनि धेरै वर्ष भयो । उनले नेपालमा आफ्नो कलात्मक उँचाइको उत्कृष्टता प्रस्तुत गरेका थिए । शान्तिमय आध्यात्मिक अनुभूति, माया, प्रेम र जीवन–दर्शनका शाश्वत सन्दर्भहरू उनका कलामा अर्थपूर्ण स्वरूपमा उतारिएका हुन्छन् । अनेक शैली, विषय र शृङ्खलामा उनको कलाकर्मले कलाप्रेमी मनहरू लोभिएकै हुन् । उनी कलालाई मूल्यवान् वस्तु मान्दछन् र यसलाई भाँडा–वर्तनको रूपमा लिन नहुने बताउँछन् ।

थापा भन्छन्– एउटा चित्र सिर्जनामा कलाकारको लामो अध्ययन, परिश्रम र समय लाग्दछ । यसरी बनेको कला पैसासँग तुलना गर्न मिल्दैन । बरु जीवनसँग तुलना गर्न सकिन्छ । जीवनलाई जस्तै माया गरी जीवनकै अभिव्यक्तिको रूपमा कला सिर्जना गर्नु मेरो कर्म हो । म मेरा कलामा रङ, आकृति, विषयवस्तु, प्रस्तुति, शैली आदिमा सचेत भएर काम गर्न अग्रसर हुन्छु । एउटा तपस्याको रूपमा म आफ्नो काम गर्छु ।

कविता र चित्रकलाका बेजोड सर्जक सिद्धार्थ राई मिरिकका एक स्थापित सर्जक हुन् । उनले भोटु प्रधानबाट चित्रकला सिके पनि प्रारम्भिक शिक्षा र प्रेरणा बुवा जगत राई र आमा सुन्दरी राईबाट मिलेको उनी बताउँछन् । भन्छन्– मेरो बुबा पनि राम्रो चित्र बनाउनुहुन्थ्यो । उहाँबाट मैले धेरै प्रेरणा पाएँ। त्यसपछि कलेज पढाइमा हिमाल र पहाडका थुप्रै चित्र बनाएँ । अब अहिले अमूर्त शैलीका चित्रहरू बनाउँदैछु ।

मिरिककै विरही कान्छा मिरिकले जीवन्त व्यङ्ग्यचित्रबाट समाज र व्यक्तिको चरित्र उतार्दै आएका छन् । त्यस्तै सुदर्शन तामाङले रेखाचित्र र जलरङमा व्यक्तिचित्रणको कुशलता प्रस्तुत गर्दै आएका छन् । उनले कला प्रदर्शनी समेत गरिसकेका छन् । त्यस्तै विकास सुब्बा, एमबी गुरुङ, प्रवीण खाती पनि यहाँका कुशल चित्रकार हुन् ।

विरही कान्छा मिरिक र सुदर्शन तामाङकाे चित्र ।

याे पनि हेर्नुहाेस्– कलामा आमा, आमामा कला

सन् १९७१ को बाङ्लादेशको युद्ध लडेका भूतपूर्व गोर्खे सिपाही मेघालय, शिलोङ निवासी विक्रमवीर थापा राम्रो कथाकार समेत हुन् । उनको कथासङ्ग्रह ‘बीसौं शताब्दीकी मोनालिसा’ भारत सरकारबाट राष्ट्रिय साहित्यिक पुरस्कार ‘साहित्य अकादेमी सम्मान’ प्राप्त कृति हो । नेपालबाट पनि २०४२ सालमा उत्कृष्ट कथाका लागि ‘रत्नश्री स्वर्ण पदक’ पाएको उनी बताउँछन् ।

उनी बन्दाबन्दीमा बिरामी भए । अस्पताल भर्ना भई अहिले स्वास्थ्यलाभ गराइरहेका छन् । उनी आफूलाई गतिलो कलाकार मान्दैनन् । भन्छन्– म भुइँफुट्टे चित्रकार हुँ । विधिवत् कतै कलाको शिक्षा पाइनँ । चित्रकला म आफैंले सिकेको हुँ । मन लगाउनुपर्छ, लागेपछि जे पनि सफलता हात पर्छ भन्ने मेरो मान्यता छ ।

थापाका अनुसार शिलोङमा र बाहिरतिर प्रकाशमा आएका चित्रकारको नाम धेरै छैन । टिपनटापन गर्ने चित्रकारहरू एकाध छन् । चित्रकलामा मरिमेट्ने चित्रकार भने प्रेम पुन हुन् । अहिले उनी सिलगुढीमा काम गर्दैछन् । शिलोङका गोपाल विश्व पनि कलाकार हुन् । यिनीहरूले अमूर्त कलामा नभएर मूर्त शैलीमा रङ चलाउने गरेको उनी बताउँछन् ।

त्यस्तै दार्जीलिङका कलाकार प्रेम केसी यहाँका अग्रज चित्रकार हुन् । ७० कै दशकतिर उनको एकल कला प्रदर्शनी भएको थियो । उनी बितेकै १२ वर्ष भइसकेको छ । वीरेन्द्र सुब्बा र भोटु प्रधानको चित्रकारिताले विश्राम लिएको पनि चार/पाँच वर्ष भएको छ । यी दुवै चित्रकारको सिर्जनाले तत्कालीन समयमा धेरैलाई कलाप्रति आकर्षण बढाएको थियो । गुरु चित्रकार भोटुले दार्जीलिङमा ‘प्रोग्रेसिप आर्टिष्ट ग्रुप ५१’ र ‘आर्टिष्ट सर्कल ५६’ खोलेर स्थानीय कलाप्रेमीहरूलाई कलामा प्रेरित गराएका थिए ।

आभा आर्ट ग्यालरीकी सञ्चालिका आभा देवीले काठमाडौंमा पनि कला प्रदर्शनी गरेकी थिइन् । त्यस्तै चेन्दुप लेप्चा अर्का राम्रा चित्रकार हुन् भने केवलचन्द्र लामा कवि, चित्रकारका रूपमा चिनिन्छन् । अन्य कलाकारमा हेमु राई, चन्दना आदि छन् । अहिले केही राम्रा चित्रकार छन् सुरज मोक्तान, महेन्द्र थामी आदि । चित्रकार गोरे डग्लसका छोरा डि डग्लस पनि राम्रा चित्रकार हुन् । तर यी दुवै चित्रकार आज यो संसारमा छैनन् । कृष्ण सुब्बा र सोनाम शेर्पा दुई राम्रा चित्रकार पनि युवा उमेरमै विते ।

याे पनि हेर्नुहाेस्– नेपाली कलाकारले कमाउँदैछन् अन्तर्राष्ट्रिय ख्याति

याे पनि हेर्नुहाेस्– कलामा जात्रा: पृथ्वीनारायण शाहलाई जीवित देवी कुमारीको टीका

प्रतिकृया दिनुहोस