कला/साहित्य सोमबार, असार १, २०७७

क्यानभासका बादशाह अर्थात् कलाकार उत्तम नेपाली

ज्ञानेन्द्र विवश

क्यानभासका बादशाह अर्थात् कलाकार उत्तम नेपाली
कलाकार उत्तम नेपाली र उनले बनाएकाे माेहन काेइरालाकाे क्यानभास (बायाँ) ।
ज्ञानेन्द्र विवश

अमूर्त कलाका अग्रज कलाकारले अर्धमूर्त बिम्वमा स्रष्टाका अनुहारलाई काव्यात्मक स्वरूप प्रदान गरेका थिए । यही कला नै कला र साहित्यको निकटता प्रकट गर्ने एक माध्यम बनेको थियो।

नेपाली कलामा प्रयोगका अनेक प्रविधि वेलाबखत उपयोग हुँदै आएका छन् । कहिले कागज, कपडा, किलाकाँटी प्रयोग गरी कोलाजका रूपमा चित्र सिर्जना । कहिले कविता नै क्यानभासमा टाँसेर, कहिले क्यानभासका रङहरूसँगै कविताका पङ्क्ति लेखेर।

३०/४० को दशकमा उत्तम नेपाली, कृष्ण मानन्धर, वत्सगोपाल वैद्य, इन्द्र प्रधानहरूले कवि भूपि शेरचनका कवितालाई आफ्ना चित्रमा लेखेर कलाकृति रचना गरे । कहिलेकाहीं दिग्गज कविका चर्चित कवितामाथि कला कार्यशाला र कला प्रदर्शनीहरू पनि भए।

२०६८ सालमा युगकवि सिद्धिचरण श्रेष्ठका कविताहरूमाथि वरिष्ठ चित्रकारहरूले चित्र रचना गरे र त्यसको प्रदर्शनी समेत गरियो । त्यस्तै २०७० सालमा भीमनिधि तिवारीका छानिएका कविताहरूमाथि वरिष्ठ चित्रकारहरूले कला कार्यशालामा चित्र रचना गरे । कला सामग्री लेखनको सन्दर्भमा यहाँ एक वरिष्ठ चित्रकारको भिन्न कला प्रस्तुतिको संक्षिप्त जानकारी दिने कोशिश गरिएको छ।

याे पनि हेर्नुहाेस्–पूर्वाेत्तर भारतीय कलामा नेपाली संस्कृति

कलामा कविता क्यानभासमा साहित्यकारको आकृति उतार्ने पृथक् कलाकर्ममा वरिष्ठ प्राज्ञ कलाकार उत्तम नेपाली । उनी नामसँगै उत्तम छन् आफ्ना सिर्जनाकर्महरूमा । २०३३ सालमा उनैले कविता र कविसहित कला सिर्जना गरी पृथक् प्रदर्शनीको परिचय दिएका थिए । ती दिनका साक्षीहरू आज धेरै नहोलान् तर अभिलेखहरूको अध्ययनबाट थाहा हुन्छ उनले उतिवेलै कलामा प्रयोगधर्मीपनको प्रारम्भ गरिसकेका थिए।

तत्पश्चात् निकै लामो समयको अन्तरालमा उनले अरू परिष्कृत रूपमा स्थापित साहित्यकारहरूका अनुहारलाई आकृतिबद्ध गरे । उनले २०५४ सालमा एक पृथक् कलाको सिर्जनात्मक संसार सार्वजनिक गरे।

त्यसमा ६६ जना स्वनामधन्य स्रष्टाका चर्चित कृतिसँगै उनीहरूका अनुहारलाई क्यानभासमा आकृतिबद्ध गरे । तिनमा स्रष्टाहरूको अथक् साधनाको लामो शृङ्खला कलात्मक रङलेपनमा उतारियो । र, त्यसले कला र साहित्यलाई एकसाथ हिंडाउनुपर्ने आग्रह अघि सार्‍यो।

याे पनि हेर्नुहाेस्– पोखरा: पानीरङकाे पाठशाला

यस कार्यका लागि उनले प्रत्येक दिन सम्बन्धित साहित्यकारलाई आफ्नो कला स्टुडियोमा निम्त्याउँथे । उनीहरूलाई क्यानभास अगाडि राखेर उनी अनुहारको भाव उतार्थे । यसरी अनुहार बनाइरहँदा त्यसमा ती स्रष्टाको एउटा चर्चित कृतिलाई पनि आधार लिएर बनाउँथे ।

व्यक्तिचित्रको प्रस्तुतिभन्दा केही भिन्न अर्ध–अमूर्त शैलीमा उनले साहित्यकारलाई क्यानभासमा आकार दिएका थिए । २०५२ देखि २०५४ सालसम्म उनको यो क्रम अविच्छिन्न जारी रह्यो । प्रत्येक दिन तीन घण्टाको समय उनले स्रष्टासँगको सामीप्यमा विताए ।

याे पनि हेर्नुहाेस्– नेपाली ललितकलाः राष्ट्रिय भावना र स्वाभिमान जगाउने युद्धकला

कलाकार उत्तम नेपालीले बनाउँदै गरेकाे तारानाथ शर्माकाे चित्र

त्यसको परिणामतः क्यानभासमा स्रष्टा समाविष्ट भएका थिए । यसरी एकान्त सिर्जनशील बसाइमा नेपथ्यबाट अनुगुञ्जित शास्त्रीय राग–तरङ्ग । एक किसिमको समाधि, साधना । अर्कोतिर साहित्य र कलाको अभूतपूर्व मिलन ।

यसरी सिर्जित क्यानभास चित्रमा अनुहारको भीड होइन । लेखकीय पहिचान र परिचयको बेजोड उपस्थिति आफैंमा एक अनुपम सिर्जनात्मक उपलब्धि थियो । त्यसैले चित्र रूपमा व्यक्तिको महत्वभन्दा बढी कृतिकलाले काव्यिक आकृतिको उद्घाटन गरेको थियो ।

अमूर्त कलाका अग्रज कलाकारले अर्धमूर्त बिम्वमा स्रष्टाका अनुहारलाई काव्यात्मक स्वरूप प्रदान गरेका थिए । यही कला नै कला र साहित्यको निकटता प्रकट गर्ने एक माध्यम बनेको थियो ।

याे पनि हेर्नुहाेस्– कलामा जात्रा: पृथ्वीनारायण शाहलाई जीवित देवी कुमारीको टीका

कविवर केदारमान व्यथितले यस किसिमको कला–रचनालाई चित्रकलाको भाषा सार्वभौम हुन्छ भन्ने कुरालाई पुष्टि गरेको बताएका थिए । कविता भन्दा चित्रकलाको प्रभाव व्यापक र स्थायी हुने ठहर कविवरले त्यसबखत व्यक्त गरेका थिए ।

राष्ट्रकवि माधव घिमिरेले यसलाई अन्तर्दृष्टिको उद्घाटन भएको बताएका थिए । डा. तारानाथ शर्माले चाहिं कलाको रङमा अभिव्यक्ति क्षमताको प्रखरता र हृदयस्पर्शिताको अलौकिक ज्योति देख्ने दाबी गरेका थिए ।

कवि ईश्वर वल्लभले भनेका थिए, “क्यानभासमा रङको प्रस्तुतिले परम्परागत प्रविधिलाई नै भाँचिदिए झैं एकप्रकारले अधुनातम (अति आधुनिक) प्रयोग । रङको प्रस्तुतिमा परम्परागत र व्याकरणलाई नै भाँचिदिए झैं ।”

याे पनि हेर्नुहाेस्–पानीरंगकाे नेपाली कला: इतिहास र अवस्था दुवै दुई सय वर्ष पुरानाे

त्यसैगरी उपन्यासकार धुस्वाँ साय्मिले कला साधना र साहित्य सिर्जनाको आधार र आत्मा एउटै हो भनेका थिए । डा. ध्रुवचन्द्र गौतम र अशेष मल्लले दुई विधालाई एउटै तहमा ल्याउने सोचाइ र सिर्जनशीलताको अपूर्व उदाहरण हो भनी बताएका थिए । कवयित्री बेञ्जु शर्माले यस कलालाई भाषाभन्दा रङले सम्पूर्ण व्यक्तित्व सशक्त रूपमा व्यक्त गर्न सक्ने विश्वास गरेकी थिइन्।

कलाकार उत्तम नेपाली स्वयं यसलाई कला–समाधि मान्छन् । उनले भनेका थिए– कला र साहित्य सिर्जनापछि जन्मिने वा अभिभूत हुने आनन्द एउटै हो । मार्ग वा विषय पो अलग देखिएको हो । वास्तवमा यो भिन्नता, भिन्नता नै होइन । बरू विषयहरूमा हुने आपसी एकरूपता हो । साहित्य र कला आपसमा कहिल्यै अलग हुनै सक्दैनन् । हामीले अलग्याएका छौं । तिनलाई एकीकरण गर्नु मेरो सिर्जनाको उद्देश्य हो ।

त्यसो त यसअघि पनि नाम र काममा उनी त्यत्तिकै ख्यातिको दुनियाँमा थिए । मस्तिष्क मन्थनमा उनले धेरै चित्रकृतिहरू बनाए । अमूर्त शैलीका ती चित्रमा जीवन र जगतका दार्शनिक अर्थ–अभिप्रायका गम्भीर विषय संरचित थिए ।

याे पनि हेर्नुहाेस्– कलामा आमा, आमामा कला

टुँडालका यौनिकता, पौभा शैलीका मिहिन काममा पनि उनले कुची चलाए । ती कलाकर्महरू नेपाली चित्रकलाको धरातलमा एक नवीनतम प्रयोगको प्रारम्भ पनि थियो । जुन वेला उनको उमेर तरुनो र जाँगरिलो थियो । र, नवीनतम कामको खोजीमा हरपल अग्रसर रहन्थ्यो ।

पहिले र अहिलेको उत्तम नेपालीमा के भिन्नता आएको छ ? उनी स्वयंको अनुभवमा पहिलेको चञ्चलता, चातुर्य र चित्रकारितामा चिन्तनशील उत्तम नेपाली अब छैन । धमिलिंदै गइरहेको स्मृतिदंश र स्वास्थ्य प्रतिकूल परिवेशले कलासँगको सन्निकटता एक प्रकारले विरानो बन्दै गइरहेको छ । विगत सम्झेर वर्तमानमा रमाउने वा घोत्लिने बानी छैन । बरु भएभरका सम्झनाका सागर उनीबाट नितान्त टाढिइसकेका छन् एक्लो र एकान्त ।

कलाकार उत्तम नेपालीले बनाएकाे केदारमान व्यथित र बासुदेव त्रिपाठीकाे चित्र ।

अरूले चिनेको र मैले चिनेको वरिष्ठ प्राज्ञ कलाकार उत्तम नेपालीमा कुनै भिन्नता शायद छैन । भावुक, संवेदनशील अनि रसिक उनको स्वभाव हो । खानु, पिउनु, रमाउनु र कहिले कवितामै कुरा गर्नु उनको परिचय हो । नेपाली चित्रकलामा उनको सुकिलो पृष्ठभूमि छ ।

त्यही पहिचानले मान–सम्मान, पुरस्कार सबै पाएको छ, तर यत्ति मात्रै उनको कला साधनाको साँचो मूल्याङ्कन भने होइन । यस्ता प्रयोगधर्मी कलाकार उत्तम नेपाली अहिले कलाकर्म गर्न सक्दैनन् । हाल उनी नेपालभन्दा टाढा अमेरिकास्थित बोस्टनमा बस्छन् ।

उनले कलामै कपाल फुलाए । कलायात्राको कालखण्डमा आज उनको प्रतिष्ठित पहिचान कलामै प्रखर व्यक्तित्व उद्घाटित गर्न अद्यापि अग्रसर छ । लगभग ६ दशकदेखि उनी कलाकारितामै निरन्तर समर्पित रहे । अझै उनको मन त छ क्यानभासमा फेरि पहिले जस्तै रङ खेल्ने । तर पहिलेको जोश र जाँगर जल्दोबल्दो वा तन्दुरूस्त छैन ।

याे पनि हेर्नुहाेस्– नेपाली कलाकारले कमाउँदैछन् अन्तर्राष्ट्रिय ख्याति

१९९४ सालमा जन्मेका कलाकारको स्वनामधन्य परिचय स्थापित गर्नमा विगतका कला गतिविधिले सकारात्मक भूमिका खेलेको तथ्य पनि स्पष्ट हुन्छ । उनको पहिचान भनेकै कला हो । त्यो पनि मस्तिष्क–मन्थनमा केन्द्रित मानसिकताको उपल्लो सिर्जना ! अझ त्यसमा दृश्यमान स्वरूपभन्दा बेग्लै संसार हुन्छ । अर्थात् अमूर्त कलाका विविध बान्की र बनोट ! रहस्यका अनेक बान्की, बिम्बका संयोजन !

उनी गीतकार, अभिनेता पनि बने । संगीतमर्मज्ञ पनि भए । २०६१ सालमा प्रकाशित ‘उत्तम नेपालीका कविताहरू’ का कवि पनि भए । कहिले चर्चित कविका कवितालाई क्यानभासमा उतार्ने, कहिले स्रष्टाका कृति र स्रष्टालाई क्यानभासमा उतार्ने प्रयोगवादी प्रखर कलाकार उनी । लेख्दा कला र बोल्दा कविता । अनि दर्शनका व्याख्याता समेत उनी । कुरा गर्न पोख्त । मिलनसार, मनमिजासका उनी कडामा कडै पनि हुन् । तथापि रिसरागभन्दा भिन्न सधैं हाँसोखुशी नै उनको जिन्दगी । अब अहिले उनी ती रमाइला र सिर्जनशील विगतका सम्झनाहरूलाई एकपछि अर्को झल्झली सम्झिएर बताउन सक्दैनन् ।

प्रतिकृया दिनुहोस