बेलायती गाेर्खा सैनिक: अब 'आफ्नो कथा, आफ्नै कलम'
![बेलायती गाेर्खा सैनिक: अब 'आफ्नो कथा, आफ्नै कलम'](https://www.himalkhabar.com/uploads/posts/800X600/Gurkha-Army_1619356751.jpg)
पुराना पुस्ताका बेलायती गोर्खा सैनिकका कथाव्यथा विदेशीहरूले लेखिदिँदा युद्धको अनुभव, बेलायतीहरूले गरेका व्यवहार लगायत धेरै कुरा सग्लो र सम्पूर्ण रूपमा आएनन्। पछिल्लो पुस्ताले भने आफ्नो समयको जीवन्त गाथा आफैंले लेख्न थालेकाे छ।
खेमराज रानाभाटप्रथम विश्वयुद्धमा करीब एक लाख र दोस्रो विश्ययुद्धमा साढे दुई लाखभन्दा बढी नेपाली नौजवान सहभागी भएका थिए। यी साढे तीन लाखमध्ये कुनै पनि गोर्खा सिपाहीले आफ्ना अनुभव लेख्न सकेनन्। उनीहरूका कथा बेलायती हाकिमले लेखिदिए। ती कथामा उनीहरूलाई वीर, बफादार र मर्न नडराउने भनेर चित्रण गरियो।
पहिलो र दोस्रो विश्वयुद्धमा सैन्य सेवामा दिइएको सबैभन्दा उच्च र सम्मानित पदक ‘भिक्टोरिया क्रस’ पाउने १३ जना गोर्खाको गाथा पनि बेलायतीहरूले नै लेखिदिए।
नेपाल र अंग्रेज (ब्रिटिश इस्ट इन्डिया कम्पनी) बीच १ नोभेम्बर १८१४ देखि २८ फेब्रुअरी १८१६ सम्म भएको युद्धमा बेलायतीले गोर्खाको इमानदारी र बहादुरी देखे। नालापानी (खलंगा) को लडाइँका नामले चिनिने सो युद्धमा गोर्खा सैनिकको क्षमता पहिचान गर्ने पहिलो व्यक्ति मेजर जनरल डेभिड अक्टरलोनी र ब्रिटिश राजनीतिज्ञ विलियम फ्रेजर थिए।
पहिलो र दोस्रो विश्वयुद्धमा सैन्य सेवामा दिइएको सबैभन्दा उच्च र सम्मानित पदक ‘भिक्टोरिया क्रस’ पाउने १३ जना गोर्खाको गाथा पनि बेलायतीहरूले नै लेखिदिए।
फ्रेजर भारतका गभर्नर जनरलका राजनीतिक प्रतिनिधि तथा ब्रिटिश भारतका निजामती कर्मचारी थिए। पछि गएर उनी मुगल सम्राट् बहादुर शाह जफरको शासनकालमा दिल्ली क्षेत्रका आयुक्त भए।
फ्रेजरले गोर्खालीको बफादारी र बहादुरीमा विश्वास गरेर नालापानीको युद्ध चलिरहेकै बेला २४ अप्रिल १८१५ मा लेफ्टिनेन्ट रोसको नेतृत्वमा गोर्खाली र भारतका अन्य जनजातिलाई समेटेर करीब पाँच हजार फौजको ‘नासिरी रेजिमेन्ट’ बटालियन बनाउने प्रस्ताव गरे। (नोटः लेफ्टिनेन्ट रोसको नाम काजपत्रमा ‘रोस’ मात्र उल्लेख गरिएको पाइएको छ।)
यो रेजिमेन्ट पछि फस्ट किङ जर्जको गोर्खा राइफल्समा परिणत भयो। त्यहाँबाट शुरू भएको गोर्खा भर्तीको इतिहासको २०६ वर्ष पूरा भइसकेको छ।
फ्रान्सको ला बास्सीमा भएको लडाइँमा सहभागी बेलायती सैनिक । तस्वीरः इन्टरनेटमलाया युद्ध (सन् १९४८–१९६०) सम्म आइपुग्दा पनि गोर्खा सैनिक लेख्न सक्षम भइसकेका थिएनन्। अन्य युद्धमा जस्तै सो युद्धमा पनि उनीहरूका कथा हाकिमले नै लेखिदिए।
ब्रिटिश इस्ट इन्डिया कम्पनी र बेलायतको मातहत रहेर गोर्खाले मुख्यतः भारतमा भएको पिन्डारी युद्ध (सन् १८१७–१८१८), पहिलो र दोस्रो एङ्लो सिख युद्ध (सन् १८४५–१८४९), भारतीय सिपाही विद्रोह (सन् १८५७–१८५९), पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८), दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५), फोकल्यान्ड युद्ध (सन् १९८२), अफगानिस्तान युद्ध (सन् २००१–२०१४) र इराक युद्ध (सन् २००३–२०११) लडे। यी समेत गरी गोर्खाले करीब १७ वटा युद्ध बेलायतका लागि लडेका छन्। बेलायतको नेशनल आर्मी म्यूजियमको तथ्यांक अनुसार, यी सबै युद्धमा गरी ५० हजारभन्दा बढी नेपालीको मृत्यु भयो।
लेख्नेको संख्या सीमित
सन् १८१५ यता अर्थात् २०६ वर्षमा आफ्ना इतिहास, कथा, युद्ध साहित्य लेख्ने गोर्खा सैनिकको संख्या औंलामा गन्न सकिने सीमित छ। पहिलो विश्वयुद्धमा गोर्खा आफैंले लेखेका केही चिठी र डायरीका टुक्रा अनुसन्धानकर्ता प्रत्युष वन्त र पत्रकार श्रीभक्त खनालले फेला पारेका छन्। उनीहरूले फेला पारेका सामग्री जर्मनीविरुद्ध फ्रान्समा बसेर लडेका गोर्खा सम्बद्ध थिए। यसबाहेक गोर्खा सैनिक आफैंले लेखेका अन्य कुरा भेटिएका छैनन्।
मलाया युद्ध (सन् १९४८–१९६०) सम्म आइपुग्दा पनि गोर्खा सैनिक लेख्न सक्षम भइसकेका थिएनन्। अन्य युद्धमा जस्तै सो युद्धमा पनि उनीहरूका कथा हाकिमले नै लेखिदिए।
मलाया युद्ध लडेका हुमबहादुर थापाबारे बेलायतका पूर्वरक्षामन्त्री जोन नटले आफ्नो पुस्तक ‘मेमोरेबल इन्काउन्टरर्स’ मा यसरी उल्लेख गरेका छन्–
‘हुमबहादुर थापालाई मैले पहिलो पटक सन् १९५४ मा मलायाको जंगलमा भेटेँ। उनले सेनाको वायरलेस सेटको भारी बोकेका थिए, जुन ३६ किलोभन्दा बढी तौलको थियो। हामी मलायन आतंकवादी मार्न उनीहरूको खोजीमा दिनहुँ जंगल डुल्थ्यौं। ती मलायन आतंकवादी कम्युनिष्टहरू थिए, जो मलायालाई बेलायतबाट स्वतन्त्र पार्न खोजिरहेका थिए।
हुमबहादुरले वायरलेस सेटबाहेक बन्दोबस्तीका सामान भएको अर्को झोला पनि बोकेका थिए, जुन करीब ५४ किलोको थियो। नेपालको उच्च पहाडी भेग घर भएका गोर्खा जवानको लागि यो बोझ सामान्य नै हो।
मलायाको ड्युटीमा हामीले हेडक्वार्टरसँग सम्पर्क गर्दै हाम्रो स्थिति र हामीले दिनभर चहारेको जंगलको विवरण दिन्थ्यौं। यसलाई ‘टच एन्ड गो’ अप्रेसन भनिन्थ्यो। हेडक्वार्टरले हामीलाई आतंकवादी लुक्न सक्ने सम्भावित ठाउँहरूको सूचना दिन्थ्यो।
अफगानिस्तान युद्ध (सन् २००१–२०१४) पछि भने गोर्खा सैनिकले आफ्नोबारे आफैंले लेख्न थालेका छन्। कलर सार्जेन्ट कैलाश लिम्बूले ‘गोर्खाः बेटर टु डाई देन लिभ अवार्ड’ पुस्तकमार्फत पहिलो पटक आफ्नो कथा संसारलाई सुनाए। ताप्लेजुङ घर भएका लिम्बूले आफू सैनिक सेवामा रहँदै यो पुस्तक निकालेका थिए।
मलाई हुमबहादुरजस्ता गोर्खाहरू नेपालको कुन ठाउँबाट आएका थिए भन्ने बुझ्न आवश्यक थियो। यो कुरा मैले पश्चिम नेपालका पहाडी जिल्लाहरूको केही पटकको भ्रमण र नेपालको इतिहास सम्बन्धी धेरै पुस्तक पढेर थाहा पाएँ। लेफ्टिनेन्ट जनरल फ्रान्सिस टुकरले सन् १९५७ मा प्रकाशन गरेको ‘गोर्खाः द स्टोरी अफ गोर्खाज अफ नेपाल’ को अध्ययनबाट अझ बढी जानकारी पाएँ।
सन् १९७० को मध्यतिर क्याप्टेन हुमबहादुरलाई महारानीको ‘गोर्खा अर्डरली अफिसर’ नियुक्त गरियो। यस पदमा हरेक वर्ष दुई जना वरिष्ठ गोर्खा अधिकारीहरू नियुक्त हुन्छन्। उनीहरू महारानी उपस्थित हुने औपचारिक सम्मान समारोह र कार्यक्रमहरूमा सहभागी हुन पाउँछन्।
सन् १९७७ मा हुमबहादुर गोर्खा मेजर बने, जतिबेला मेरा साथी जनरल पिटर डफेलले रेजिमेन्टको पहिलो बटालियनको कमान्ड गरेका थिए। हुमबहादुर पनि अरूजस्तै नाच्न रुचाउँथे। नाचगानका कार्यक्रमहरू हुँदा उनीहरू पुरुष र महिला समूहमा विभाजित भई गाउने–नाच्ने गर्थे।
सन् १९८० मा व्यापारमन्त्री (ट्रेड सेक्रेटरी) भएर हङकङ जाँदा मैले हुमबहादुरलाई फेरि भेट्ने मौका पाएँ। त्यसबेला उनले झनै फुर्तीसाथ मेरो स्वागत गरेका थिए। उनलाई गोर्खा मेजरको जिम्मेवारीमा देख्नु मेरो लागि गौरवान्वित क्षण थियो।
उनीसँग मेरो अन्तिम भलाकुसारी भने म रक्षामन्त्री (डिफेन्स सेक्रेटरी) का रूपमा सन् १९८२ मा नेपालको पोखरा जाँदा भएको थियो। फोकल्यान्ड युद्धको ठीक अगाडि पोखरा भ्रमणमा गएको थिएँ। उनी सेनाबाट अवकाश भएपछि आफ्नो जन्मस्थान धौवादी, नवलपरासीमा फर्केका थिए।
जब म नेपाल भ्रमणमा भएको कुरा उनले सुने, तब उनी मेरो स्वागतमा राखिएको रात्रिभोजमा भेट्न आए। त्यसक्रममा उनले मैले तालिम दिएका दश जना गोर्खा पनि भेला गरेर ल्याएका थिए। ती सबैलाई मैले सन् १९५३ मा प्रशिक्षण दिएको थिएँ। मलाई भेट्न तिनीहरू विभिन्न पहाडी जिल्लाबाट हिँडेरै आएका थिए। उनीहरूसँगको सम्बन्ध मेरा लागि स्मरणीय र भावनात्मक छ।’
पछिल्लो पटक पूर्वगोर्खा टिम गुरुङले प्रकाशन गरेको ‘आयो गोर्खाली’ पुस्तकमा एक बेलायती अधिकारीले ठट्टैठट्टामा हाँस्दै ‘तिमीहरू गोर्खा आलु चिप्स जस्तै सस्ता छौ’ भनेको कुरा उल्लेख छ। टिमले पुस्तक नलेखेको भए झट्ट सुन्दा सामान्य लाग्ने, तर ठूलो अर्थ राख्ने यस्ता किस्सा बिलाएर जान्थे।
अफगानिस्तान युद्ध (सन् २००१–२०१४) पछि भने गोर्खा सैनिकले आफ्नोबारे आफैंले लेख्न थालेका छन्। कलर सार्जेन्ट कैलाश लिम्बूले ‘गोर्खाः बेटर टु डाई देन लिभ अ कार्वाड: माइ लाइफ विथ द गुर्खाज ’ पुस्तकमार्फत पहिलो पटक आफ्नो कथा संसारलाई सुनाए। ताप्लेजुङ घर भएका लिम्बूले आफू सैनिक सेवामा रहँदै यो पुस्तक निकालेका थिए। अफगानिस्तानमा तालिवानसँग लड्दाको अनुभव समेटिएको उनको पुस्तकलाई बेलायतको ‘द टाइम्स’ पत्रिकाले बेस्टसेलरको सूचीमा राखेको थियो।
त्यसैगरी, ब्रिटिश एअर फोर्सका गोर्खा (जसले आफूलाई ‘जोनी गोर्खा’ नामबाट चिनाएका छन्) ले ‘अ गुर्खाज स्टोरी’ पुस्तक लेखेका छन्। कैलाश लिम्बू र जोनी गोर्खा दुबैले आफ्ना पुस्तकमा नेपालमा बितेको बाल्यकाल, गाउँका साथीहरूको सम्झना, ब्रिटिश आर्मी हुने सपना, भर्नापछिको अनुभव, कडा प्रशिक्षण र युद्धमैदानमा बिताएका समयबारे उल्लेख गरेका छन्।
कैलाश लिम्बू र जोनी गोर्खाको पुस्तक ।जोनी गोर्खाले भर्ती हुँदा लडाकु जाति (मार्सल रेस) लाई बढी प्राथमिकता दिने बेलायती नीति रहेको उल्लेख गर्दै भर्तीपछि लडाकु जातिका केही गोर्खा अफिसरले गैरलडाकु (ननमार्सल) जातिका गोर्खालाई पक्षपातपूर्ण व्यवहार गरेको उल्लेख गरेका छन्।
समयक्रममा अरू गोर्खा सैनिकहरू लेखकका रूपमा देखापर्दै आए। जसमा रक्ष राई (पल्टनेको फोटो), गणेश राई (राइफलको मूर्च्छना), काङमाङ नरेश राई (एघार नोभेम्बर) आदि छन्। उनीहरू साहित्यमार्फत आफ्ना अनुभव उजागर गर्नुका साथै ‘युद्ध साहित्य’ लेखिरहेका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Historical/Kangmang-Naresh-and-Ganesh-.jpg)
शिक्षित बनाउन बेलायतको अरुचि
गोर्खाले किन लेख्न सकेनन् भन्नेबारे ‘दी गुर्खाज (एलिट सिरिज) पुस्तकका लेखक माइक चाप्पेलको कुरा सान्दर्भिक हुनसक्छ। उनले आफ्नो पुस्तकमा लेखेका छन्, ‘शिक्षाको अभावले हो या गरीबीबाट पीडित भएर हो, गोर्खाहरू आफ्ना कथा र किस्साहरू आफैं लेख्न/प्रकाशन गर्न असमर्थ रहे।’
शिक्षामा कम पहुँच भएका, शारीरिक रूपमा बलियो, तर सीधासाधा र बफादार पहाडी नेपालीहरूलाई सधैं नेतृत्व र नियन्त्रण गर्नसकिने सोचका कारण बेलायतले लडाकु र गैरलडाकु जातिको अवधारणा ल्यायो। सन् १८८८ मा गोर्खा भर्ती विशेषज्ञ कर्णेल इडेन भान्सिटर्टले यो अवधारणा ल्याएका थिए। उनी गोरखपुर स्टेशनमा गोर्खा सैनिक छनोट गर्न खटिएका थिए।
भान्सिटर्टले ‘रिक्रुटिङ ह्यान्डबुक्स’ मार्फत पहिलो पटक लडाकु र गैरलडाकु जातिको सिद्धान्त, रहनसहन र आनीबानीलाई मानवशास्त्रीय रूपमा अध्ययन गरी कस्ता जातिलाई भर्ना लिने भनेर सुझाव दिए। उनको सिद्धान्त अनुसार, नेपालका लडाकु जातिभित्र पश्चिमबाट गुरुङ, मगर र पूर्वबाट राई, लिम्बू पर्थे। उनीहरूलाई त्यसबेलै पनि बेलायतीहरूले लेखपढ गर्न प्रोत्साहित गरेनन्।
"गोर्खालीहरू लडाइँका लागि हो, पढाइ–लेखाइका लागि होइन भन्ने सोच ब्रिटिशमा रह्यो। उनीहरूलाई ब्यारेकभित्र सेनाका लागि चाहिने व्यावहारिक शिक्षा दिइयो, लड्ने–भिड्ने सीप सिकाइयो। गोर्खालाई सेना अवधिमा पढाउनभन्दा गाउन नाच्नतिर बढी प्रोत्साहन गरिन्थ्यो। यस्ता विविध कारणले हामी पढाइलेखाइमा पछि पर्यौं।"
गोर्खा सैनिकहरूमध्ये केहीले भने पढाइमा फड्को पनि मारे। उनीहरूले आफ्ना विषयसँग सम्बन्धित रहेर विद्यावारिधि गरे पनि पाठकलाई लक्षित गरेर पुस्तक लेखेका छैनन्। जसमा डा.चन्द्र लक्सम्बा (दिवंगत भइसकेका), डा.मुलीवीर राई, डा.रामनारायण कन्दङ्वा लगायत व्यक्तिहरू पर्छन्।
भूतपूर्व गोर्खा डा. मुलीवीर राई भन्छन्, "गोर्खालीहरू लडाइँका लागि हो, पढाइ–लेखाइका लागि होइन भन्ने सोच ब्रिटिशमा रह्यो। उनीहरूलाई ब्यारेकभित्र सेनाका लागि चाहिने व्यावहारिक शिक्षा दिइयो, लड्ने–भिड्ने सीप सिकाइयो। गोर्खालाई सेना अवधिमा पढाउनभन्दा गाउन नाच्नतिर बढी प्रोत्साहन गरिन्थ्यो। यस्ता विविध कारणले हामी पढाइलेखाइमा पछि पर्यौं।"
पछिल्लो पटक पूर्वगोर्खा टिम गुरुङ ‘आयो गोर्खाली’ पुस्तकमार्फत गोर्खालीका कथाव्यथा लिएर आएका छन्। गोर्खाका बारेमा किन पुस्तक लेख्नुपर्यो भन्ने प्रश्नमा उनले भने, ‘गोर्खाको बारेमा थुप्रै पुस्तक विदेशीले लेखे, जसमा केही यथार्थ थिए, केही भ्रम। हामी को हौं, कस्ता मान्छे हौं, किन, कसरी र कसका लागि भर्ती हुँदै आएका छौं भन्ने जानकारी हामी आफैंले पाठकलाई दिनुपर्छ।’
पुस्तकमा लेखक गुरुङले एक बेलायती अधिकारीले ठट्टैठट्टामा हाँस्दै ‘तिमीहरू गोर्खा आलु चिप्स जस्तै सस्ता छौ’ भनेको कुरा उल्लेख गरेका छन्। टिमले पुुस्तक नलेखेको भए झट्ट सुन्दा सामान्य लाग्ने, तर ठूलो अर्थ राख्ने यस्ता किस्सा बिलाएर जान्थे।
‘लन्डन बार्नेट काउन्सिल’ का उपमेयर तथा भूतपूर्व बेलायती गोर्खा सैनिक लक्ष्य गुरुङ गोर्खाको पछिल्लो जनशक्ति पढेलेखेको भए पनि उनीहरूले आफ्ना कथा अझै लेख्न नसकेको बताउँछन्। भूतपूर्व गोर्खा इन्जिनियर एवं बेलायत निवासी एक सफल व्यवसायी भीम सारु टिम गुरुङजस्ता अन्य व्यक्ति पनि लेखनमा लाग्नुपर्ने बताउँदै भन्छन्, “आफ्ना कथा अरूले लेखिदिँदा त्यो न्यायसंगत र पूर्ण नहुन सक्छ। आफ्नो इतिहास हामी आफैंले जोगाउने हो।”