ब्लग मंगलबार, मंसिर ३, २०७६

पहिलो विश्वयुद्धको लाहुरे हावा

भैरव रिसाल

पहिलो विश्वयुद्ध युरोपबाट शुरू भएको थियो, तर यसको छिटा नेपालसम्म आइपुग्यो । युद्धले यहाँको सामाजिक, आर्थिक र ग्रामीण जनजीवनमा दूरगामी प्रभाव पार्‍यो । त्यसमा पनि पहाडी भागमा धेरै उथलपुथल भयो, जुन कसैले कल्पनै गरेको थिएन ।

पहिलो विश्वयुद्ध लडेका गुर्खा सेना ।

पहिलो विश्वयुद्ध युरोपबाट शुरू भएको थियो, तर यसको छिटा नेपालसम्म आइपुग्यो । युद्धले यहाँको सामाजिक, आर्थिक र ग्रामीण जनजीवनमा दूरगामी प्रभाव पार्‍यो । त्यसमा पनि पहाडी भागमा धेरै उथलपुथल भयो, जुन कसैले कल्पनै गरेको थिएन ।

विश्वयुद्धमा लड्न गएका नेपाली नौजवान मार्फत भित्रिएको रकमबाट देशले धनी हुने अवसर पाएको थियो । तर त्यो मौकाको सदुपयोग गर्नु साटो देश र समाजले अधोगतिको बाटो समात्यो ।

वि.सं. १९७१ देखि शुरू भई चार वर्षसम्म चलेको पहिलो विश्वयुद्धमा ब्रिटिश भारतीय सेनाको गोर्खा ब्रिगेडमा २५ हजार जवानबाट आठ गुणा बढाइयो । नेपालको जनसंख्या ५६ लाख ३८ हजार रहेको त्यो समयमा अंग्रेज फौजमा साढे दुई लाख नेपाली युवा भर्ती भएका थिए । त्यो युद्धसँगै हाम्रा पहाडी गाउँसम्म नगद पैसाको कारोबार बढ्यो ।

विश्वयुद्धमा सिपाहीका रूपमा सहभागी नेपाली तन्नेरीले मेसोपोटामिया (इराक), गलिपोली (टर्की), क्याल्याडर्स (बेल्जियम) मा लडाइँ लडेका थिए । त्यसवेला सिपाहीको मासिक तलब रु.१५ थियो ।

युद्धको चारवर्षे अवधिमा एउटा सिपाहीले सरदर रु.५०० पठाउँदा पनि करीब रु.१३ करोड देशमा भित्रिएछ । त्यत्रो ठूलो रकमको व्यवस्थित लगानी हुनसकेको भए कैयौं उद्योगधन्दा स्थापना हुन्थ्यो, नेपाल धनी हुन्थ्यो । तर सबैजसो रकम अनुत्पादक क्षेत्रमा खर्च भयो ।

 गाउँमा लाहुरे संस्कार

भीमबहादुर पाँडे लिखित त्यस बखतको नेपाल पुस्तकका अनुसार, अंग्रेजी पल्टनको संगत नेपाली सिपाहीहरूमा खूबै परेछ । तिनले अंग्रेजबाट ‘ड्याम फुल’ भन्ने गालीको शब्द सिकेछन् । चुरोट, रक्सी, चिया खान र तास खेल्न सिकेछन् । पैसालाई हत्केलाको मयल सरह ठान्न थालेछन् ।

ती सिपाही बीचबीचमा बिदामा घर आउँदा भरियाको ज्याला बढेछ । भट्टी पसल थपिएछन् । समुद्रपारबाट तिनले ल्याएका विदेशी नयाँ सामानको तामझमका कारण गाउँलेहरूमा पनि लाहुरे हावा लाग्न थालेछ । गाउँलेहरूको कारोबार जिन्सीबाट नगदतिर बदलिएछ ।

कमाइ र फेरिएको रहनसहन लिएर आएका सिपाहीहरूका कारण पहाडी गाउँमा लवाइ–खवाइमा एकाएक परिवर्तन आयो । तिनले गाउँका केटीहरूलाई सलाइ कोर्न र चुरोट खान मात्र होइन, पश्चिमी शैलीको म्वाइँ खान पनि सिकाएछन् ।

उपहारमा प्राप्त मखमल, पनेला, गाउन, रेशमी रुमाल, पछ्यौरी, जुत्ता, मोजा, सुनचाँदी कम्पनीका मालाले गाउँका ठिटीहरू सिंगारिन थालेछन् । पाँगाको चोलो, गुन्यू, घलेक लाउनै छाडे रे ! कमाइ देखेर उनीहरूलाई छोरी दिन तँछाडमछाड नै चल्न लागेछ ।

अंग्रेजको छाउनीमा सिकेका तास खेल्ने, चुरोट खाने बानी गाउँलेहरूलाई सल्काएर सिपाहीहरू फेरि पल्टनमै फर्किए । गाउँलेहरूले फुर्सदको वेला श्लोक हाल्ने, भजन गर्ने, डोको–नाङ्लो बुन्ने जस्ता परम्परागत एवम् सांस्कृतिक काममा लगाउने समय तासमा बगाउने क्रम बढ्दै गयो ।

 गुमेको आत्मनिर्भरताको अवसर

सिपाहीको कामबाट हातमा पैसा खेलाउन पाएका तन्नेरीहरूले गाउँमा भएका सामग्री किन्न लागे । त्यो पनि निख्रिएपछि गाउँलेहरूको जमीनमा छानीरोजी खरीद गर्न थालेछन् । वि.सं. १९७७/७८ बाट शुरू भएको जमीनको यस्तो कारोबार बन्धकीमा वा फार्सेमा किनबेच बढ्न लाग्यो । यसले पैसाको मूल्य घट्न, वस्तुको बढ्न थाल्यो ।

पहिलो विश्वयुद्धका सिपाही मार्फत नेपालले भित्याएको रु.१३ करोड त्यतिवेला रामेछापको ठोसे, बाग्लुङको ढोर, स्याङ्जाको सेखाम र प्यूठानको फलाम र तामाखानीमा लगानी गर्न पाएको भए कति उपलब्धि हुँदो हो ? १९७७/७८ सालतिर बाग्लुङ र प्यूठानमा त तामाको पैसाको टकमारी नै हुँदोरहेछ । गाउँका खेतीका लागि आवश्यक पर्ने सबै फलामे औजार आफ्नै खानीका फलामबाट बन्ने रहेछ ।

विदेशबाट आएको त्यत्रो रकम कृषि, घरेलु, लघु एवं कुटीर उद्योगतिर लगानी गर्ने तारतम्य मिलेको भए नेपाल औद्योगीकरणबाट त्यतिवेलै सम्पन्न बन्न सक्थ्यो । तर राणा शासकमा त्यो बुद्धि आएनछ ।

राणा शासनमा सरकारको सम्पूर्ण आम्दानी खर्चपछि बाँकी रकम श्री ३ महाराजको हुने गथ्र्यो । राष्ट्रको ढुकुटी भनेकै श्री ३ महाराजको हुन्थ्यो । त्यसैले राणा शासकले पृथ्वीनारायण शाहले घोषणा गरेको आर्थिक नीति विपरीत काम गर्न थाले । यस्तो काम मूलतः धीरशमशेरका छोरा चन्द्रशमशेरको राज्यकालमा बढी हुन थाल्यो ।

बजार अड्डा (भन्सार) गुल्जार गराउने ध्येयले नेपाल तराईका नाका–नाकामा विदेशी महाजनहरूलाई व्यापार गर्ने स्वीकृति प्रदान गरियो । बजार अड्डाको आम्दानी बढाउने उद्देश्यले सरकारले बजार अड्डा ठेक्कामा बढी कबूल गर्नेलाई दिन थाल्यो ।

ठेकेदारले विदेशी मालसामान छिटछिटो झिकाउन विदेशी महाजनलाई प्रोत्साहित गर्न थाले । ठेकेदारले कुम्ल्याएको रकम र सम्पन्न राणाहरूले आफ्नो कमाइ भारतीय ब्याङ्कमा राख्ने भएकाले विश्वयुद्धमा नेपाली युवाले कमाएको ठूलो धनराशि यहाँ धेरै समय टिकेन ।

प्रतिकृया दिनुहोस