व्यक्तित्व बुधबार, मंसिर ४, २०७६

दाेस्राे विश्वयुद्धका जापानी युद्धबन्दी भन्छन्: "अमेरिकी बमले बचायाे" 

लक्ष्मी बस्नेत

अंग्रेज फौजमा भर्ती भएर दोस्रो विश्वयुद्ध लड्न गएका बलबहादुर बस्नेत (९८) सहित झण्डै ३०० गोर्खालीलाई जापानी सेनाले मलेशियाबाट नियन्त्रणमा लियो। साढे चार वर्षपछि मुक्त हुँदा उनी सहित चार जना मात्र जीवित थिए।

दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) मा जापानी सेनासँग हार खाएका बेलायती गोर्खा फौज बर्माको रङ्गुनबाट भागेर सिङ्गापुर पुगे । तर, त्यहाँ पनि जापानी फौजको घेरामा परेपछि आत्मसमर्पण गर्न बाध्य भए । जापानी सेनाले हात उठाउनेलाई नियन्त्रणमा राखे, नउठाउनेलाई धमाधम गोली ठोक्न थाले, कतिलाई गाडीले किचेर मारे ।

बलबहादुर बस्नेत पनि जापानी सेनाको युद्धबन्दी भए । “गोर्खाली युद्धबन्दीलाई फोहोर गन्हाउने क्याम्पमा राखे, गोराहरूलाई छुट्टै क्याम्पमा लगे” उनी सम्झन्छन्, “भोकभोकै काममा लगाउन थाले, भारी बोक्ने, मरेका लासहरू गाड्ने जस्ता काम गर्नुपर्ने ।” त्यतिवेला उनीहरूले आफ्नै साथीका लासहरू पनि गाड्नु पर्‍यो । भनेको नटेर्नेलाई भित्तामा बाँधेर निधारमा किला ठोक्दै सबैलाई देखाएर मार्थे ।

भारतबाट लडाइँका लागि हिंड्दा बस्नेत सहित पल्टनमा १३०० सैनिक थिए । तर, बन्दी हुने वेलासम्म करीब ३०० मात्र बाँकी थिए । त्यसमध्ये २०० जतिको कसैको हात, कसैको खुट्टा त कसैको आँखा थिएन । हिंड्न नसक्नेलाई बाटामै छाडेर अघि बढ्दा १०० गोर्खाली युद्धबन्दी मात्र बाँकी भए । अपाङ्ग साथीहरूको कहालीलाग्दो मृत्यु सम्झिएर अहिले पनि उनलाई दुःख लाग्छ ।

जापानी सेनाले सक्ने नसक्ने सबै बन्दीलाई भारी बोकाए । त्यसपछि गाडी तथा पानीजहाजमा पशु जस्तै कोचेर इण्डोनेशियाको जाभा टापु पुर्‍याए । करीब चार महीनाको कष्टपूर्ण बसाइपछि सुमात्रा टापु लगे । त्यहाँ पनि करीब पाँच महीना राखेर अर्को टापु न्यूगिनिया लगे ।

न्यूगिनियामा प्रशस्तै नरिवलका रूख थिए । गोर्खाली सेनाले चपाउन सकिने घाँस र नरिवल खाएर ज्यान बचाए । कहिलेकाहीं जापानीहरूले चुना हालेको, कुहिएको चामल दिन्थे । त्यो खाँदा बिरामी परेको बलबहादुर बताउँछन् ।

न्यूगिनियामा गोर्खाली खानाको लागि त संघर्ष गरिरहेका थिए तर, लामखुट्टेबाट बच्न भने सकेनन् । लामखुट्टेले टोकेपछि जीउ सुन्निन्थ्यो, ज्वरो आउँथ्यो, जीउभरि फोका आएर पाक्थ्यो । त्यसको र दुई या तीन दिनमा बिरामीको मृत्यु हुन्थ्यो ।

जापानीले बिरामी हुँदा पनि औषधि दिंदैनथे । न्यूगिनिया पुगेको करीब नौ महीनामा १०० मध्ये ९६ गोर्खालीको मृत्यु भयो । अधिकांशको शव गाड्ने बलबहादुर नै थिए । तर, बाँचेकालाई अब आफू मरेपछि शव गाडिदिने कोही नहुने भयो भन्ने चिन्ता थियो ।

भिडियो अन्तर्वाताः

आठ वर्षपछि घर

विस्तारै बलबहादुरलाई विश्वास गर्न थालेका जापानीहरूले उनलाई कपाल कटाउन थाले । कपाल काटिदिउन्जेल बन्दूक तेर्स्याएरै बस्थे । “हामी युद्ध जितेर विश्वकै राजा हुने हो, नेपाल पनि हाम्रै हुन्छ भन्थे तर, हिरोसिमा र नागासाकीमा अमेरिकाले बम हानेपछि आत्तिएर क्याम्प छाड्न थाले”, बलबहादुर सम्झिन्छन् ।

बलबहादुरले लडाइँमा प्रयोग गरेको चक्कु ।

जापानीहरूको क्याम्प उठेपछि त्यो अनकन्टार टापुमा बाँचेका जम्मा चार जना गोर्खाली मात्र भए । उनीहरू त्यहीं बसिरहे । ३५औं दिनमा अष्ट्रेलियन फौज आइपुग्यो । उनीहरूले गोर्खाली भन्ने थाहा पाएपछि आफूसँगै लिएर गए ।

अष्ट्रेलियाको बन्दरगाहको होटलमा पुर्‍याएपछि सफासुग्घर हुन लगाए । अष्ट्रेलियन सेनाकै पोशाक लगाउन दिए । चारै जनालाई २०/२० डलर पनि दिएर मुम्बई जाने पानीजहाज चढाइदिए । त्यसको केही दिनपछि चारै जना गोरखपुर आइपुगे ।

"संयोगले बाँचियो", बलबहादुर भन्छन् । साढे चार वर्षसम्मको बन्दी जीवनपछि छुटकारा पाएर पल्टन आइपुग्दा उनीहरूमा खुशीको सीमा नै थिएन । अन्यत्र लड्न गएर बाँचेका सेना पनि सबै फर्किसकेका रहेछन् ।

युद्ध लडेर फर्किएकालाई दुई महीनाको बिदा दिइयो । बलबहादुर पनि आठ वर्षपछि गल्काेट, बाग्लुङ स्थित घर पुगे । उनी बाँचेर फर्कन्छन् भन्ने घर र छिमेकका धेरैलाई विश्वास नै रहेनछ । धेरैले आश्चर्य माने ।

घरबाट भागेर विश्वयुद्धमा

बलबहादुरलाई बुवाले ‘कहिल्यै लाहुरे नहुनू’ भनेका थिए । तर, गाउँमा गल्ला आएपछि उनी बन्दूक समात्ने रहरले शरीर नपाउन पुगे । सँगै गएका २१ जना साथी असफल हुँदा उनी मात्र छानिए । १६ वर्षीय बलबहादुर त्यसपछि घर नगई गल्लावालसँगै भागे ।

उनलाई भारतको गोरखपुरस्थित सैनिक ब्यारेक हुँदै बनारस पुर्‍याइयो । उनले बनारसमा तालिमअघि दिएको आर्मीको पोशाक लगाउनै जानेनन् ।

गाउँमा कहिल्यै जुत्ता नलगाएका उनले गोराले दिएको जुत्ता पनि उल्टो लगाए । “तिमीहरू त बाँदर नै रहेछौ ।” गोराले यसो भन्दा उनी लज्जित भए ।

७ अक्टोबर १९३९ बाट उनको लाहुरे जीवन शुरू भयो । ९ महीनाको तालिम पूरा गरे । अनि बलबहादुरको परिचय ‘फौजी नम्बर ८६२९’ मा फेरियो ।

उनी ‘सेकेण्ड नाइन जीआर गुर्खा रेजिमेन्ट’ मा थिए । पहिलो रेजिमेन्टमा गुरुङ र मगरहरू हुन्थे भने दोस्रोमा क्षेत्री तथा ठकुरीहरूलाई प्राथमिकतामा राखेर भर्ना गरिन्थ्यो ।

तालिम नसकिंदै दोस्रो विश्वयुद्ध शुरू भइसकेको थियो । लडाइँमा जानुपर्ने भयो । उनलाई लडाइँको डरभन्दा बन्दूक पड्काउने उत्साह बढी थियो ।

तर, घरमा सम्पर्क गरेर लडाइँमा जाँदै गरेको खबर गर्नै पाएनन् । सम्पर्क गर्न त्यतिवेला न फोन थियो न चिट्ठी लेख्न उनले सावाँ अक्षर नै चिनेका थिए ।

पहिलो युद्धमै हार

पल्टन लत्ताकपडा, खानेकुरा, गोली, बारुद सहित ५०/६० केजीको झेला बोकेर युद्ध लड्न निस्कियो । बनारसबाट बम्बई पुगे । त्यहाँबाट पानीजहाजमा बङ्गालको खाडी हुँदै हिन्द महासागरको बाटो इण्डोनेशियाका लागि हिंडे । तर, जहाज बिग्रिएपछि ६ दिन समुद्रमै बिचल्ली भए ।

‘खानेकुरा पुर्‍याएर खानू’ भन्ने आदेश थियो । जहाज बनेपछि इण्डोनेशियाको कालिमान्थान टापु पुगे । तर, त्यहाँबाट तीन महीनाको तालिमका लागि अष्ट्रेलियाको इपु टापु जानु पर्‍यो ।

उनीहरूले युद्धका लागि भारत छाडेको दुई वर्ष भइसकेको थियो । लडाइँमा भाग भने लिएका थिएनन् । सन् १९४१ मा जापानले बर्माको रङ्गुनमाथि आक्रमण गरेको सुनेपछि फौज त्यतै लाग्यो ।

रङ्गुन पुग्ने बित्तिकै जापानी फौजसँग लडाइँ शुरू भयो । तर, जापानी फौज ठूलो भएकाले केही दिनमा नै सयौं गोर्खालीले ज्यान गुमाए । “म जहिले पनि लडाइँमा अगाडि नै हुन्थें तर, छर्राले पनि भेटेन । भाग्य भनेको त्यही होला”, बलबहादुर भन्छन् ।

जापानी सेनाको आक्रमणबाट धेरै क्षति भएपछि कमाण्डरले ‘रिभर्स’ को आदेश दिए । पानीजहाज चढेर रातारात सिङ्गापुरको पेदाङ पुग्दा पनि जापानी फौजले लखेटिरहेकै थियो । पेदाङमा केही दिन लडाइँ भयो ।

ठूलो जापानी फौजसँग केही नलागेपछि गोर्खाली फौज भागेर मलेशियाको क्वालालम्पुर पुग्यो । त्यहाँ पनि चार/पाँच दिन लडाइँ हुँदा गोर्खालीहरू सकिंदै गए । सिङ्गापुर पुगेपछि भने उनीहरू युद्धबन्दी भए ।

विश्वयुद्धपछि पनि युद्धमै

बिदामा घर गएपछि बाबुआमाले बलबहादुरको बिहे गरिदिए । पल्टनमा फर्कन एक महीना मात्र बाँकी थियो । श्रीमान्–श्रीमती बोल्न पनि लाज हुन्थ्यो । श्रीमतीलाई जान्छु पनि नभनी उनी गोरखपुरतिर हिंडे । पल्टन आइपुग्दा बढुवा भएको थाहा पाए । नयाँ फुली लगाउन पाए ।

सन् १९४७ मा इष्ट इण्डिया कम्पनी सरकारले ब्रिटिशका लागि लडेका गोर्खाली भारतको जिम्मामा छाडेर फर्किए । उनको पल्टन देहरादुनबाट अम्बाला पुग्यो । त्यसको करीब तीन महीनापछि पाकिस्तानको लाहोरमा लडाइँ हुने भएपछि उनी पल्टनसँग त्यहीं पुगे ।

झण्डै १५ महीनामा त्यहाँ पनि धेरै गोर्खालीले ज्यान गुमाए । त्यसपछि पाकिस्तानले कश्मीर आक्रमण गरेको हल्ला आयो । उनको फौजलाई पठान पठाइयो । पठानमा झण्डै एक वर्ष विताए ।

युद्ध रोकिएपछि फौजसँगै उनी अम्बाला फर्किए । “फौजमा संलग्न भएको १५ वर्ष भइसकेकाहरूले पेन्सन लिएर जागिर छोड्न पाउने भनियो, सबैभन्दा पहिले मैले नै हात उठाएँ किनभने म लड्दा–लड्दा दिक्क भइसकेको थिएँ”, सन् १९५४ मा अवकाश लिएर नेपाल फर्किएका बलबहादुर भन्छन् ।

 

प्रतिकृया दिनुहोस