तराई-मधेशका विभिन्न भागमा भएका साम्प्रदायिक द्वन्द्वका घटनाले त्रास सिर्जना गरिरहेको वेला कुनै समय साम्प्रदायिक तनाव भइरहने नेपालगन्जमा सद्भाव कायम गर्न नागरिक समाजले गरेको प्रयत्न अन्य क्षेत्रका लागि पनि उदाहरणीय बन्न सक्छ।
मोहर्रमका अवसरमा असार २१ गते नेपालगन्जको गणेश चोकमा तहजिया ठडियो। त्यहाँ मुस्लिम मात्र होइन, हिन्दू धर्मावलम्बी पनि पूजापाठ गर्न पुगे। “म हिन्दू धर्मावलम्बी हुँ। मनोकामना पूरा हुने भएकाले म पनि पूजापाठ गर्न आएँ,” गणेश चोकका बासिन्दा निरञ्जन सिजापति भन्छन्, “मेरा बुबा-बाजे पनि मोहर्रममा पूजापाठ गर्थे, मैले पनि गर्दै आएको छु।”
हिजरी संवत्को पहिलो महीनालाई मोहर्रम भनिन्छ। मुस्लिम समुदायले पैगम्बर हजरत मोहम्मदका नाति हजरते इमामे हुसैनको बलिदानको सम्झनामा शोक (मातम)का रूपमा मोहर्रम पर्व मनाउँछन्। असार २१ गते राति नेपालगन्जमा मुस्लिम र हिन्दू धर्मावलम्बीले मिलेर मोहर्रम मनाए। वर्षौंदेखि नेपालगन्जमा यसरी नै मोहर्रम मनाएर धार्मिक सहिष्णुता प्रस्तुत गरिंदै आएको छ।
नेपालगन्जमा मात्र होइन, केही छिटपुट घटनालाई छाड्ने हो भने नेपालमा धार्मिक सहिष्णुता रहेको इतिहास छ। कहिलेकाहीं भएका ससाना घटना पनि आपसी मेलमिलाप र राज्यको मध्यस्थताबाट साम्य भएका उदाहरण छन्। पछिल्ला केही वर्षयता भने तराई-मधेशमा साम्प्रदायिक द्वन्द्वका घट्ना बढ्दै गएका छन्।
असार २१ गते साँझ नेपालगन्जमा मोहर्रम मनाउँदै मुस्लिम र हिन्दू धर्मावलम्बी।
पछिल्लो समय राजनीतिक लाभका लागि धार्मिक द्वन्द्व बढाउनेहरू अग्रसर हुँदै आएको देखिन्छ। एक-अर्को समुदाय लक्षित गालीगलौज गर्ने र हतोत्साहित पार्ने लगायत अभिव्यक्ति सामाजिक सञ्जालमा फैलाउन थालिएको छ। यस्तो प्रवृत्ति दीर्घकालीन शान्ति सुरक्षा र सद्भाव कायम गर्न चुनौती बन्न सक्ने अध्येताहरू बताउँछन्।
समाजशास्त्री चैतन्य मिश्र पछिल्लो समय राजनीति गर्नेहरूले धर्म जस्तो नितान्त निजी विषयलाई सार्वजनिक विषय बनाउन थालेकाले समाजमा गम्भीर असर परेको बताउँछन्। राजनीतिकर्मीले लोकतन्त्रलाई संकुचित पारेर ‘धर्मको पनि ठाउँ छ’ भन्ने गलत सन्देश दिएको मिश्रको भनाइ छ। “कोही जलहरी चढाउँदै हिंडिरहेका छन्। कोही गेरुवस्त्र धारण गरिरहेका छन्। कोही साधुहरूको प्रवचनलाई प्रोत्साहन गर्दै छन् भने कोही भित्रभित्रै धर्म प्रचार गरिरहेका छन्। यस्तो अवस्थामा समाज कुनै पनि वेला गम्भीर दुर्घटनामा पर्न सक्छ,” उनी भन्छन्।
पहिले हिन्दू र मुस्लिम समुदायका धार्मिक पर्व एकआपसमा शान्ति र सौहार्द साट्ने पवित्र उत्सवका रूपमा अभ्यास हुने गरेका थिए। हिजोआज भने पर्व आउनासाथ तर्सनुपर्ने अवस्था सिर्जना भइरहेको सरोकारवाला बताउँछन्। एकातिर सामाजिक दूरी बढाउने संगठन सक्रिय भइरहेका छन् भने अर्कातिर तराई-मधेशमा भइरहेका झडपका घटनामा सीमापारबाट आएका व्यक्तिहरूको संलग्नता देखिएको छ।
यसबारे गृह प्रशासन जानकार भए पनि सतर्कता अपनाउन नसक्दा तराई-मधेशका केही स्थानमा झडपका घटना भएका छन्। गत चैत ३० मा वीरगन्जमा भएको पछिल्लो साम्प्रदायिक झडपमा स्थानीय प्रशासनको लापरवाही देखिएको स्थानीय बासिन्दा बताउँछन्। समयमै प्रशासनले विवेक प्रयोग गरेको भए त्यो घटना नै नहुने स्थानीय बासिन्दाले हिमालखबर सँग बताएका थिए।
गत चैत ३० गते वीरगन्जमा भएकाे झडप नियन्त्रणमा लिने प्रयासमा प्रहरी। तस्वीर स्रोत : यात्रा डेली न्यूज
तराई-मधेशमा किन साम्प्रदायिक द्वन्द्वका घटना बढिरहेका छन्? मधेशी आयोगका पूर्व अध्यक्ष विजय दत्त राज्यको उपस्थिति कमजोर हुँदा धर्मको नाममा राजनीति गर्ने अतिवादी संगठनहरूका कारण यस्ता घटना बढिरहेको बताउँछन्। उनी जात र धर्मको आधारमा अतिवादीको समूह बन्नुलाई राज्य कमजोर हुँदै गएको रूपमा अर्थ्याउँछन्। “राज्य कमजोर हुँदा २०४६ र २०६३ सालपछि पनि यस्तै साम्प्रदायिक हिंसा भड्किएका थिए। यस्ता हिंसा रोक्न राज्यले गम्भीर भएर काम गर्नुपर्छ,” दत्त भन्छन्।
नागरिक सक्रियता
समाजशास्त्री मिश्रले भने झैं एकातिर शीर्ष नेतृत्वले धार्मिक आस्थालाई राजनीतिमा मिसाउन थालेपछि समाज पनि त्यसैमा लहसिन थाल्छ भने अर्कातिर अधिकारीकर्मी दत्तले भने झैं राज्य कमजोर हुँदा सामाजिक सद्भाव र सौहार्दता पनि बिग्रंदै जान्छ। यस्तो वेला साम्प्रदायिक द्वन्द्वलाई कसरी साम्य पार्न सकिन्छ?
यसका लागि नेपालगन्जलाई उदाहरण बनाउन सकिन्छ। पछिल्लो समय नेपालगन्जले ‘सामाजिक सद्भाव’ युक्त शहरको पहिचान बनाउन थालेको छ। नेपालगन्जलाई सामाजिक सद्भावको उपाय खोज्न दुई दशकअघिको घटनाले बाध्य पारेको हो।
घटना २०६३ सालको हो। नेपाल सद्भावना पार्टीको आनन्दी देवी समूहले जनसंख्या, भूगोल र सांस्कृतिक एकरूपताका आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने मुद्दा अघि सारेर २०६३ पुस १० गते तराई-मधेश बन्द गर्ने निर्णय गरेको थियो। त्यस दिन बिहानैदेखि कार्यकर्ताहरू हातहतियार बोकेर होटल, कलकारखाना, यातायात र बजार बन्द गराउन लागे। आन्दोलनको समयमा पसल खोलेको भन्दै त्यस दिन नेपालगन्ज नर्सिङ होम अगाडिका केही होटलमा तोडफोड गरेका थिए।
यस घटनालाई लिएर खोज पत्रकारिता केन्द्र ले २०७१ सालमा ‘नेपालगन्ज दंगा-२०६३ : नागरिक समाजको निर्णायक भूमिका ’ रिपोर्ट प्रकाशन गरेको थियो। त्यो रिपोर्ट अनुसार २०६३ पुस ११ गते सार्वजनिक यातायातका साधन लक्षित आक्रमण भयो। निम्न वर्गका व्यापारी लुटिए। होटलमा आगो लगाइयो। त्यही क्रममा आन्दोलनकारीले ‘हयात इन्टरप्राइजेज’ मा पनि आगो झोसिदिए। यो पसल ऐजाज अहमद सिद्दीकीको थियो।
यही समूहले पछि सुर्खेत रोडमा तोडफोड गर्यो। प्रहरी प्रशासनको उपस्थिति नदेखेपछि सद्भावना पार्टीका कार्यकर्ताले पहाडी मूलका मानिसलाई कुटपिट गर्न थाले। आक्रमणमा परेकाहरूको बचाउ गर्न स्थानीय हिन्दू युवा घटनास्थलमा आए। यसले आगोमा घ्यू थपियो।
हिन्दू युवाले मुसलमानलाई आक्रमण गरे भन्ने हल्ला बजारभरि फैलियो। अर्कातिर, मधेशीले पहाडीमाथि आक्रमण गरे भन्ने हल्ला फैलियो। अनि त्रिपक्षीय हिंसात्मक भिडन्त शुरू भयो।
२०६३ पुस १२ गते झन् ठूलो दंगा भयो। भीड बढी भएको हुनाले तितरबितर गर्न प्रहरीले गोली चलाउँदा बिहान ८ बजेतिर कमल गिरीको ज्यान गयो। परिस्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, बाँकेले नेपालगन्जमा कर्फ्यू लगायो।
तनाव बिस्तारै मत्थर हुँदै गयो, तर नेपालगन्ज नगरका स्थानीय हिन्दू पुरानो वासस्थान छाडेर सुरक्षित स्थानतिर बसाइँ सरे। मधेशी समुदायका व्यवसायी पनि विस्थापित भए। तेजनगर, बसपार्क, वाटरपार्क क्षेत्रमा बसेका पहाडी समुदाय उत्तरी क्षेत्रतिर लागे।
यसपछि पनि छिटपुट घटना भइरहे। तिनले साम्प्रदायिक दंगाको रूप लिन सक्ने जोखिम उत्तिकै भएकाले स्थानीय बुद्धिजीवी, नागरिक समाजका अगुवा र पत्रकारले सम्भावित दंगा रोकथाम गर्न सामाजिक अगुवा र धर्मगुरुलाई अगाडि सारे। किनकि त्यसअघि २०५४ सालमा बाँकेकै जयसपुरमा हिन्दू-मुस्लिम समुदायबीच झडप हुँदा दुई युवाको ज्यान गएको थियो। फेरि त्यही नियति दोहोरिने भय थियो।
नेपालगन्जमा सद्भाव बढाउने प्रयत्न गरेका सबै समुदायका अगुवा।
सद्भावका लागि बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी र इस्लाम धर्मगुरु अब्दुल जबार मन्जरीको अगुवाइमा हिन्दू, मुस्लिम, बौद्ध, शिख र इसाई धर्मगुरुहरू भेला भई ‘अन्तरधार्मिक तथा सामाजिक सद्भाव समिति’ गठन गरे। समितिले शान्ति र्याली निकाल्यो। नेपालगन्ज परिक्रमा गरेको र्यालीमा सबै धार्मिक समुदाय र नागरिक समाजका अगुवा सहभागी थिए।
यस्तो नागरिक प्रयत्नले काम पनि गर्यो। धार्मिक (हिन्दू-मुस्लिम) र क्षेत्रीय (मधेशी-पहाडे) द्वन्द्व रोकियो। त्यसपछि बाँकेमा उठ्ने साम्प्रदायिक द्वन्द्व समाधानमा यस समितिले निरन्तर काम गर्दै आएको छ। महीनै पिच्छे जिल्ला प्रशासन कार्यालय, बाँकेमा बैठक बस्ने गरेको छ। समितिले सम्भावित द्वन्द्व रोक्न विभिन्न समुदायका मुख्य चाडपर्वमा जिल्लाका सुरक्षा निकायको समन्वयमा पर्व मनाउने समय, स्थान र रूट निर्धारण गर्दै आएको छ। यसले गर्दा साम्प्रदायिक द्वन्द्वको रूप लिन सक्ने धेरै विवाद समाधान भएका छन्।
दुई वर्षअघि फेरि त्यस्तै घटना दोहोरियो। २०८० असोज १४ गते नेपालगन्जका मुस्लिम युवाले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरे। सामाजिक सञ्जालमा मुस्लिम समुदाय विरुद्ध लेखेको विषयलाई लिएर कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो।
मुस्लिम युवाको प्रदर्शनको दुई दिनपछि ॐकार परिवारले नेपालगन्ज बन्दको घोषणा गर्यो। ॐकार परिवारको आन्दोलनको घोषणाले हिंसा भड्किन सक्ने स्थानीय प्रशासनको अनुमान थियो।
त्यसपछि असोज १५ गते जिल्ला प्रशासन कार्यालयमा धार्मिक तथा सामाजिक सद्भाव समिति र सुरक्षा समितिको बैठक बस्यो। असोज १६ गते बिहानै सद्भाव र्याली निकाल्ने निर्णय भयो। त्यस बमोजिम बिहान हिन्दू र मुस्लिम धर्मावलम्बीले नेपालगन्जमा सदा झैं सद्भाव र्याली निकाले। त्यसले सामाजिक सञ्जालबाट फैलिएको घृणा केही हदसम्म मत्थर पार्यो।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि सबै समुदायका अगुवा।
तथापि १६ गतेका लागि पूर्व निर्धारित नेपालगन्ज बन्दको कार्यक्रम रोकिएन। बन्द गराउन निस्किएको जुलूसले अपराह्न २ बजेतिर पसलहरूमा तोडफोड गर्न थाल्यो। परिस्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू नै लगाउनुपर्यो। त्यसबीच विवाद साम्य पार्न सद्भाव समिति नै अग्रसर भयो।
त्यस वेलाको घटना स्मरण गर्दै मौलाना मन्जरी सद्भाव समितिको सक्रियताले नेपालगन्जमा ठूलो हिंसा भड्किनबाट जोगिएको बताउँछन्। हिंसा भड्किने संकेत देखेपछि सद्भाव समितिका सदस्यहरू टोल टोलमा पुगे। बैठक र भेला गरेर स्थानीय अगुवालाई सम्झाइबुझाइ गरे। “यस्तो नगरिएको भए त्यति वेला नेपालगन्जमा अप्रिय घटना घट्न सक्थ्यो,” उनी भन्छन्।
अहिले पनि सद्भाव समितिका अगुवाहरू सामाजिक सद्भावमा खलल नपुगोस् भनेर वेलाबखत नेपालगन्जका चोक, पान पसल र चिया पसलतिर सँगसँगै जाने गर्छन्। बागेश्वरी मन्दिरका महन्तको मोटरसाइकल पछाडि बसेर आफूले बजार परिक्रमा गर्ने गरेको मौलाना मन्जरी सुनाउँछन्। “हामी धार्मिक अगुवाहरू सँगसँगै बजार जान्छौं। त्यसले नागरिकमा सकारात्मक सन्देश जाँदो रहेछ,” उनी भन्छन्।
समितिले धार्मिक तथा जातीय विवाद देखा परेको ठाउँमा स्थलगत भ्रमण गर्ने गरेको छ। कतिपय अवस्थामा स्थानीय प्रशासनले पनि समिति मार्फत विवादको समाधान खोज्ने गरेको छ। उनी एउटा उदाहरण सुनाउँछन्। “मन्दिरको तीनतर्फ इस्लाम धर्मावलम्बीको घर थियो। मन्दिरको पर्खाल निर्माण गर्ने क्रममा विवाद भयो,” उनी भन्छन्, “दुवै जना गएर दुवै समुदायसँग कुराकानी गरेर बीचको बाटो अपनाउँदै विवाद समाधान गर्यौं, सबैले स्वीकारे।”
यस्ता विवाद समाधान गर्न यो समिति कहिलेकाहीं जिल्ला बाहिर पनि पुग्ने गरेको छ। दाङ र बर्दियासम्म पुगेर सद्भाव कायम राख्ने प्रयत्न गरेको छ।
सक्रिय धार्मिक सद्भाव समिति
बाँके जिल्लामा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका साथै धार्मिक सद्भाव समिति पनि छ। यस समितिले सामाजिक सद्भावका लागि प्रयत्न गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहने धार्मिक सद्भाव समिति २०७२ सालमा गठन गरिएको हो।
समितिमा हिन्दू समाजको प्रतिनिधित्व गर्ने दीपक लोध लामो समयसम्म नेपालगन्ज सद्भाव बिथोलेर स्वार्थपूर्ति गर्नेहरूको केन्द्र बन्दै गएपछि आफूहरूले जिल्ला प्रशासन कार्यालय प्रमुखलाई अध्यक्ष राखेर धार्मिक सद्भाव समिति बनाएको बताउँछन्। समितिमा हिन्दू र मुस्लिम समुदायका प्रतिनिधि सदस्य छन्।
नेपालगन्जमा निस्केको सद्भाव र्याली।
कतिपय अवस्थामा एकै दिन फरक फरक धर्मका चाडपर्व पर्छन्। त्यस्तो वेला समितिले नै शोभायात्राको रूट र समय व्यवस्थापन गर्दै आएको छ। त्यसमा सबै धर्मका अगुवा सहभागी पनि हुन्छन्। “मोहम्मद जयन्तीको र्यालीको नेतृत्व पंक्तिमा हामी हिन्दू समुदायका अगुवा हुन्छौं भने दशहराको र्यालीको अग्रपंक्तिमा मुस्लिम समुदायका अगुवा हुन्छन्,” लोध भन्छन्, “एक दशकदेखि यसरी नै हर्षोल्लासका साथ शान्तिपूर्ण पर्व मनाउने अभ्यास गरिरहेका छौं।”
बाँकेमा हरेक पर्व व्यवस्थापन गर्न समिति बनाइएको हुन्छ। समितिसँग सद्भाव समितिले सहकार्य गर्छ। प्रायः हरेक प्रमुख पर्व सम्पन्न भएको भोलिपल्ट सम्मान कार्यक्रमको आयोजना हुने गर्छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, हरेक सम्प्रदायका धर्मगुरु, स्थानीय समाजसेवीलाई शान्त र सभ्य रूपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेकामा धन्यवाद दिंदै सम्मान गरिन्छ।
गरीब, निरक्षर र बेरोजगार समूहलाई उचालेर धार्मिक सद्भाव बिथोल्न खोज्ने बाहिरिया धार्मिक र राजनीतिक समूहको प्रयास सद्भाव समितिले निस्तेज पारिरहेको नेपालगन्जका राजनीतिशास्त्री जनार्दन आचार्य सुनाउँछन्। “धार्मिक तथा सामाजिक सद्भाव समितिले काम गरेकाले त्यस्तो ठूलो घटना भएको देखिंदैन। यद्यपि सुरक्षा निकाय चुस्तदुरुस्त चाहिं हुनुपर्छ,” आचार्य भन्छन्।
सद्भाव समितिमा हिन्दू समुदायको प्रतिनिधित्व गर्दै आएका लोध नेपालगन्ज अहिले मुलुकभरिका लागि उदाहरणीय बन्दै गएको सुनाउँछन्। देशभरि नै नेपालगन्जको सिको गर्नुपर्ने बताउँदै उनी भन्छन्, “कुनै पनि हिंसाले समाजमा विषको जरो गाड्छ र त्यसको दुष्प्रभावमा परेर वृद्धवृद्धा, बालबच्चा र महिला बढी पीडित हुन्छन्। त्यसैले साम्प्रदायिक द्वन्द्व रोकथाममा सबै गम्भीर भएर लाग्न जरूरी छ।”
पछिल्लो एक दशकमा भएका घटना
२०७० साउन २५ : सिरहाको सारस्वरमा दुई समुदायबीच झडप, करीब दुई दर्जन व्यक्ति घाइते, दर्जनौं घरमा तोडफोड र आगजनी।
२०७३ फागुन २१ : सुनसरीमा कब्रिस्तानको विषयलाई लिएर दुवै समुदायबीच विवाद उत्पन्न। चक्काजाम र प्रदर्शन।
२०७६ कात्तिक १४ : कपिलवस्तुको कृष्णनगरमा लक्ष्मीपूजापछि मूर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप। झडप साम्य पार्न प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु, दर्जनभन्दा बढी प्रहरी घाइते।
२०७८ कात्तिक २८ : धनुषाको रुपैठामा छठ पर्वको वेला दुई समुदायबीच विवाद। घटनामा चार सशस्त्र प्रहरी, एक नेपाल प्रहरी र एक स्थानीय घाइते।
२०७९ चैत १६ : रामनवमीका अवसरमा शोभायात्रा निकाल्ने क्रममा जनकपुर मन्दिर नजीकै रहेको मस्जिद अगाडि नाराबाजीपछि विवाद।
२०८० साउन अन्तिम साता : मन्दिर अगाडि चर्च बनाएको र गोरु काटेर खाएको निहुँमा धरानमा विवाद।
२०८० भदौ १२ : महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित बजरंग चोकमा कृष्ण जन्माष्टमीको समयमा अज्ञात समूहद्वारा मूर्ति तोडफोड। मुस्लिम समुदायलाई आरोप लगाइएपछि अर्को दिन छलफलका क्रममा झडप।
२०८० भदौ २२ : सर्लाहीको मलंगवा नगरपालिकामा कृष्ण जन्माष्टमी मनाएर मूर्ति सेलाउने क्रममा झडप। स्थित नियन्त्रणमा लिन कर्फ्यू।
२०८० असोज ४ : गणेशको मूर्ति सेलाउने क्रममा सर्लाहीको मलंगवा नगरपालिकामा फेरि विवाद। १० दिनसम्म निषेधाज्ञा।
२०८० असोज ६ : सर्लाहीको घटना लिएर वीरगन्जमा विरोध प्रदर्शन। भोलिपल्ट बजार बन्द गराउने क्रममा पसलमा तोडफोड।
२०८० असोज १६ : ॐकार हिन्दू समाज परिवारले निकालेको र्याली तोकिएकोभन्दा फरक रूटमा प्रवेश गर्न खोजेपछि विवाद, पसलमा तोडफोड।
२०८० कात्तिक १० गते : महोत्तरीको भंगाहामा हिन्दू सम्राट् सेनाले निकालेको शोभायात्राका क्रममा झडप, दुई युवा घाइते।
२०८० फागुन ५ : महोत्तरीको सम्सी गाउँपालिका-२, परसामा महावीर झन्डाको कलशयात्राका क्रममा दुई समुदायबीच झडप। प्रहरीद्वारा हवाई फायर, झडपमा तीन जना घाइते।
२०८० चैत २२ : सामाजिक सञ्जालमा कुरान विरुद्ध लेखेको विषयलाई लिएर सुनसरीको हरिनगर गाउँपालिकास्थित भुटाहामा झडप।
२०८१ साउन १२ : सर्लाहीको गोडैतामा मुस्लिम समुदायले मोहर्रम मनाउने क्रममा विवाद। गोडैता क्षेत्रमा दुई दिनसम्म निषेधाज्ञा।
२०८१ फागुन २२ : सर्लाहीको रामनगर गाउँपालिका, खैरवास्थित इनरुवा टोलमा स्थानीय विवादले धार्मिक रूप लिई झडप हुँदा एक जनाको मृत्यु र दुई जना घाइते।
२०८१ चैत ३० : हनुमान् जयन्तीका अवसरमा वीरगन्जमा हिन्दू समाजले निकालेको शोभायात्राका क्रममा झडप। एक सातासम्म कर्फ्यू।
यी पनि पढ्नुहोस्-