वीरगन्जमा हनुमान् जयन्तीका अवसरमा भएको हिन्दू-मुस्लिम झडपमा ३० जनाभन्दा बढी घाइते भए। पसल र सवारीसाधनमा भएको तोडफोडबाट करोडौंको भौतिक क्षति भयो। सयौं प्रहरीले तनाव नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले तीन दिनसम्म निषेधाज्ञा लगाउनुपर्यो। तर यति भयावह घटनामा मिडियाको ‘मौनता’ का कारण सर्वसाधारण सामाजिक सञ्जालमा छरिएका भ्रामक सूचनाको भरमा बस्न अभिशप्त थिए।
केही वर्षयता समाजमा हामीले अपेक्षा र कल्पना नगरेका सामाजिक उथलपुथल ल्याउने परिघटना बढेकोबढ्यै छन्, तर यसबारे असाध्यै कम रिपोर्टिङ भइरहेका छन्। धेरै कुरा ‘मूलधारका मिडिया’ ले ‘सेल्फसेन्सरशिप’ गरिरहेका छन्। त्यसका पछाडि के तर्क दिइन्छ भने, यस्ता विग्रहका समाचार दिइँदा त्यसले साम्प्रदायिक सद्भाव झन् बिगार्न सक्छ। यसबारे छलफल गर्दा केही सम्पादक के भन्छन् भने, ‘यस्ता समाचार आफूकहाँ आए पनि, संज्ञानमा हुँदाहुँदै पनि स्थान नदिइनुका कारण समाजमा वैमनस्य झन् नफैलियोस् भनेर नै हो।’ यस्ता समाचार प्रकाशन-प्रसारण गर्दा समाज झन् भड्कावतिर जान्छ कि भन्ने उनीहरूको चिन्ता देखिन्छ।
तर सम्पादकहरूको ‘सेल्फसेन्सरशिप’ रूपी यस्तो रणनीतिले काम गरेको देखिंदैन। जस्तै- चैत ३० गते वीरगन्जमा शोभायात्राका अवसरमा भएको हिन्दू-मुस्लिम झडपमा करोडौंको सम्पत्ति नाश भयो। प्रहरीले गोली चलाउनुपरेको झडपमा कैयौं घाइते भए। सयौं प्रहरी परिचालन गर्दा समेत हुलदंगा नरोकिएपछि स्थानीय प्रशासनले तीन दिन लामो निषेधाज्ञा लगाउनुपर्यो। देशको व्यापारिक केन्द्रमा भएको यति डरलाग्दो साम्प्रदायिक झडपबारे मिडियाको उपेक्षा निकै बिझाउने खालको थियो। मूलधारे मिडियामा पाठकले वीरगन्जमा कर्फ्यू लगाइएको समाचार त पढ्न पाए, तर त्यसको पछाडिका कारण बुझ्नै पाएनन्। दुई पक्षीय अतिवादीहरूद्वारा सामाजिक सञ्जालमा फैलाइएका आधा-अधुरो र भ्रामक खबरबाट आफ्नो विचार बनाउन ती अभिशप्त थिए। हो, यस्तो वेला पाठकलाई दक्ष पत्रकार र पत्रकारिताको खाँचो भयो।
तपाईं धेरै टाढा नजानुहोस्, चार वर्षयता तराई-मधेशमा भइरहेका साम्प्रदायिक विवाद र झडपको प्रवृत्तिको मसिनो गरी अध्ययन गर्नुहोस्, त्यहाँ हिन्दू-मुस्लिम समुदायबीच फैलिइरहेको विद्वेषले समाजमा मन तिक्त हुनेगरी ध्रुवीकरण बढाउँदै लगेको देखिन्छ। यथार्थ के हो भने, यस्ता समाचार लुकाइए पनि त्यसको दुष्प्रभाव कतै न कतैबाट विस्फोटक रूपमा प्रकट हुँदो नै रहेछ। यो समय २० वर्षअघिको जस्तो होइन। इन्टरनेटले गाँजिएको अहिलेको समाजमा धेरैको हातमा स्मार्टफोन छ, सामाजिक सञ्जालका असंख्य एप छन्, जसको माध्यमबाट भिडिओ, तस्वीर र शब्दले यस्ता घटना क्षणभरमै छ्यापछ्याप्ती फैलिइसकेका हुन्छन्। त्यसले समाजलाई झन् बढी अन्योलमा पारेको हुन्छ। त्यसैले साम्प्रदायिक झडप र विग्रहका घटनालाई सेन्सरशिप गर्न लाग्नुभन्दा यस्ता घटना उत्पादन गर्ने विषाक्त चिन्तनको उत्पत्ति र त्यसको स्रोत उत्खनन गर्दै समाजलाई सुसूचित गरे समाजलाई द्वन्द्वमा जानबाट रोक्न प्रत्यक्ष-परोक्ष सहयोग गर्न सक्नेछौं।
पछिल्ला केही वर्षयता साम्प्रदायिक सद्भाव बिगार्ने खालका घटना निरन्तर बढिरहेका छन्। धरान, मलंगवा, सिरहा, सप्तरी र नेपालगन्ज हुँदै यस्तो घटना वीरगन्ज फर्किएको छ भने यो धर्म-राजनीतिको दुष्प्रभाव राजावादीको आवरणमा काठमाडौंको मुटुमा पनि छिरिसकेको छ। वैशाख ३ गते आफूलाई ‘हिन्दू सम्राट् सेना’ को उपाध्यक्ष बताउने कृष्ण यादवले राजावादीको एउटा कार्यक्रममा खुलमखुला भनेका छन्, ‘म्यानमारमा पाँच लाखलाई मारियो। नेपालमा एउटा पनि बाँकी रहँदैन।’
बालाजुमा आयोजना गरिएको ‘राष्ट्रिय निर्माणका लागि युवा प्रतिबद्धता’ कार्यक्रममा खुलमखुला नेपालका मुस्लिम समुदायलाई यसरीे नरसंहारको धम्की दिने यादव २०८० सालमा मलंगवामा भएको मुस्लिम विरुद्धको हिंसामा संलग्न भएका खलपात्र हुन्। त्यति वेला उनलाई स्थानीय प्रशासनले पक्राउ गरी ‘आइन्दा धार्मिक हिंसा नभड्काउने’ शर्तमा छाडेको थियो। मलंगवा हिंसामा भारतको अतिवादी धार्मिक/जातीय संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को संलग्नता देखिएको थियो। यादवको नरसंहार सम्बन्धी डरलाग्दो भाषण सामाजिक सञ्जालभरि छरिएको छ, त्यस भाषणबारे मुस्लिम समुदायका अगुवाले गृहमन्त्रीलाई भेटेरै आपत्ति जनाइसकेका छन्, तर पनि सामाजिक सञ्जाल नियमनको गफ गरेर नथाक्ने सरकारले अहिलेसम्म ती व्यक्तिलाई पक्राउ गरेको छैन। गृह प्रशासन मौन बसेपछि वैशाख १६ गते विभिन्न क्षेत्रका ५० जना नागरिकले यसबारे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई ज्ञापनपत्र नै बुझाएको बुझिएको छ।
खुला सिमाना छिचोल्दै दक्षिणतिरबाट छिरेको यस्तो अतिवादी राजनीतिको चालढाल निकै खतरनाक देखिन्छ। यस्ता प्रवृत्तिमाथि हिमालखबर ले रिपोर्टिङ गर्दै आएको थियो, गरिरहेको छ। यस्तो सम्भावित विपत्तिमाथि हामीले बौद्धिक वृत्तमा पनि छलफल चलाउँदै आएका छौं। यस्ता मुद्दामा आँखा चिम्लिएर बस्दा त्यसले समाजमा झन् ठूलो समस्या निम्त्याउने हो कि भन्ने डर रहेकाले यस्ता संवेदनशील विषयमा सबै चनाखो हुन जरूरी छ भन्ने हाम्रो भनाइ हो। चैत ३० गते वीरगन्जमा शोभायात्राका क्रममा भएको हिन्दू-मुस्लिम द्वन्द्वलाई पनि हामीले नजीकबाट नियाल्यौं। त्यसको स्थलगत रिपोर्टिङ गर्यौं। यी सबै घटनालाई मिहिन ढंगले केलाएपछि कतै नेपाली समाजलाई पनि भारतमा झैं धर्म-राजनीतिको बाटामा हिंडाउन खोजिएको त होइन भन्ने प्रश्न गर्ने प्रशस्त ठाउँ छन्। त्यहाँ यस्तो राजनीतिले दुई समुदायमाझ विषाक्त भावना फैलाइरहेकाले हामी झन् बढी सतर्क हुनुपर्ने भएको छ।
२२ अप्रिलमा २६ जनाको ज्यान जानेगरी कश्मीरको पहलगाममा पर्यटक लक्षित आतंकवादी हमलालाई त्यसका योजनाकारले जसरी भारतमा चलिरहेको साम्प्रदायिक राजनीतिको फाइदा उठाउँदै हिन्दू-मुस्लिम स्वरूप दिन खोजे, त्यसबाट पनि हामीले ठूलो पाठ सिक्न जरूरी छ। पहलगाममा पर्यटकलाई गोली चलाउँदा आतंकवादीद्वारा धर्म सोधिनुको कारण धर्म-राजनीतिका कारण हिन्दू-मुस्लिम ध्रुवीकरण हुँदै गएको भारतीय समाजमा झन् बढी ध्रुवीकरण गर्न खोज्नु हो भनिंदै छ। हुन पनि त्यहाँ देखिएका कतिपय घटनाले त्यस्तै देखाउँछन्। त्यो घटनापछि देशका विभिन्न शैक्षिक संस्थानमा पढिरहेका जम्मु कश्मीरका विद्यार्थीलाई आक्रमण शुरू भयो। तिनलाई घरमालिकले डेरा छाडेर जान भने। त्यसै त धर्म-राजनीतिले विष घोलिरहेको भययुक्त समाजमा बाँचिरहेका सर्वसाधारण मुस्लिमका निम्ति यस्ता घटनाले झन् ठूलो भयको वातावरण सिर्जना गर्यो। जबकि पहलगाममा पर्यटकलाई बचाउन खोज्दा एक स्थानीय मुस्लिम युवाले आफ्नो ज्यान नै दिएका थिए। उनलाई चार गोली प्रहार गरिएको थियो। अन्य टूर गाइड र स्थानीय मुस्लिम समुदायले सयौंको संख्यामा रहेका पर्यटकलाई आआफ्ना घरमा लुकाएर ज्यान जोगाइदिएका थिए। त्यसैले धार्मिक/जातीय कट्टरता हरेक समुदायका निम्ति डरलाग्दो विष हो र यसलाई फैलिन दिन हुँदैन भन्ने कुरा छिमेकीबाट सिक्नुपर्नेमा कतै हामीले त्यसैलाई प्रवर्द्धन त गरिरहेका होइनौं भन्ने प्रश्न उब्जिइरहेका छन्। यस्तो हिंसा हामीले नेपालमै पनि भोगिसकेका छौं। २०६१ सालमा इराकमा आतंककारीद्वारा १२ नेपाली मारिंदा यहाँ जसरी मुस्लिम समुदायलाई आक्रमण भएको थियो, त्यसले हामीलाई सोच्न बाध्य बनाएको पनि थियो। तर हाम्रो मानसपटलमा त्यस्ता अप्रिय दृष्टान्त धूमिल हुँदै गएको जस्तो देखिन्छ। त्यसैले हामी धर्मान्धतातिर लहसिन लागेका पो हौं कि जस्तो देखिन थालेको छ, जुन प्रीतिकर संकेत होइन।
आस्था जस्तो नितान्त व्यक्तिगत मामिलालाई समेत राजनीतीकरण गरी आफ्नो स्वार्थपूर्ति गर्न खोजिरहेका देशी-विदेशी ‘केन्द्र’ हरूको बदमासी बाहिर ल्याउन पनि धार्मिक अतिवाद जस्ता विषयमा मिडियाले खुलेर बोल्नुपर्ने वेला भएको छ। यस्ता संवेदनशील प्रश्नमा मिडिया मौनताले झन् अन्योल बढाउने हुँदा हामीले वैशाख १४ गते हिमाल छलफल शृंखलामा ‘धर्म-राजनीतिको दुष्प्रभाव र सद्भाव विमर्श’ आयोजना गर्यौं। छलफलमा विभिन्न धर्म-सम्प्रदाय, सञ्चारकर्मी, अनुसन्धाता, मानव अधिकारकर्मी, कानून व्यवसायी, अभियन्ता र राजनीतिकर्मीको सहभागिता थियो। तिनका कुरा सुन्दा कोही पनि देशमा बढ्न थालेको धर्म-राजनीतिप्रति सन्तुष्ट देखिंदैनथे। उसो भए किन यतिखेरै हाम्रो समाजभित्र भारतकै झल्को दिनेगरी ‘हिन्दू-मुस्लिम’ संवेदनामाथि खेल्न खोजिंदै छ?
VIDEO