वीरगन्जमा हिन्दू र मुस्लिम समुदायको सम्बन्धको विगत हेर्दा एकै स्थानमा छठ मनाइने र नमाज पढिने तहको सद्भाव र भ्रातृत्व देखिन्छ। तर पछिल्ला वर्षहरूमा दुई समुदायबीच बढिरहेको कटुताका कारण साम्प्रदायिक फाटो बढ्दै गएको छ।
वीरगन्ज महानगरपालिका-२, छपकैयाकी रीतादेवी गुप्ता (६५)को स्मृतिमा ती दिनको मिठास ताजै छन्। जति वेला वीरगन्जमा हिन्दू र मुस्लिम समुदायका मानिसबीच एउटै परिवारको जस्तो आत्मीयता र सद्भाव थियो।
दुई समुदाय एकअर्काको चाडपर्व र समारोहमा बडो उत्साहपूर्वक सहभागी हुन्थे। समाजमा ‘तेरो’ र ‘मेरो’ भन्ने भेदको भावना नै थिएन। चाडको तयारी र व्यवस्थापनमा परस्परलाई सघाउँथे। आत्मीयता साट्दै एकसाथ रमाउँथे। अर्को समुदायको र्याली र झाँकीका वेला सडकछेउमा पानी र सर्बत खुवाइन्थ्यो। सर्बतले दिने जस्तै शीतलता आपसमा थियो।
यो धेरै पुरानो कुरा पनि होइन, स्थानीयवासीका अनुसार पाँच वर्षअघिसम्म वीरगन्जको समाजमा यस्तै धार्मिक सहअस्तित्व, सहिष्णुता र भ्रातृत्वको भावना थियो।
पछिल्ला वर्षमा भने दुई समुदायबीच तिक्तता, विवाद झाँगिएको मात्र छैन, वेलाबखत झडपका घटना समेत हुन थालेका छन्। यस्तो घटनाक्रमले परस्परमा शंका र अविश्वास बढाएको छ। जसका कारण दूरी र डर बढेको छ। पहिले हुनेगरेका अन्तरसामुदायिक घुलमिल र उत्सवको सम्मिलन एकादेशको कथा जस्तै भएको छ।
वीरगन्जमै जन्मेहुर्केकी गुप्ता भन्छिन्, “पहिले त हामीलाई ईदको निम्तो आउँथ्यो। छोराहरू पनि मुस्लिम साथीहरूकहाँ खान्थे, बस्थे। तर केही वर्ष भयो, छोराहरू जाँदैनन्। उनीहरू पनि हामीकहाँ आउँदैनन्। अलि डर पनि भयो।”
गुप्ता परिवारको मात्र होइन, वीरगन्जमा हिन्दू-मुस्लिम समुदाय मिसमास भएर बसेका बस्तीका धेरै परिवारको साझा अनुभव र मनोभाव हो यो। दुई समुदायबीच हार्दिकताको अवस्थाबाट एकअर्कालाई शंकाको दृष्टिले हेर्ने, डराउने, तर्किने, तुष पाल्ने, तर्साउने, द्वेष राख्ने, घृणास्पद अभिव्यक्ति दिने तहमा सम्बन्ध तीतो भएको छ। अर्को समुदायको धार्मिक गतिविधि र र्यालीमा व्यवधान पुर्याउने, आफ्नो कार्यक्रमको वेला अर्को समुदायलाई चिढ्याउनेगरी उत्तेजित हुने जस्ता घटनाले दुई समुदायमा तनाव बढाउँदै लगेको पाइन्छ।
पछिल्लो समय २०८१ चैत ३० गते छपकैयामा भएको झडपले दुई समुदायबीच साम्प्रदायिक तनावको गहिरो रूप देखाएको छ। उक्त दिन हनुमान् जयन्तीका अवसरमा हिन्दू समुदायले निकालेको शोभायात्राका क्रममा विवाद भएर दुई पक्षबीच झडप भएको थियो। मुस्लिम बाहुल्य क्षेत्र छपकैया चोक नजीकै मक्की जामे मस्जिद अगाडि चर्को गानाबजाना र हातहतियार सहित शक्ति प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। झडपका क्रममा ३० जनाभन्दा बढी घाइते भए। त्यस क्रममा मुस्लिम समुदायका पसलमा तोडफोड र लूटपाट भयो भने एक दर्जनभन्दा बढी मोटरसाइकलमा आगजनी गरियो।
यस घटनालाई स्थानीयवासीले वीरगन्जमा भएको अहिलेसम्मकै ठूलो धार्मिक हिंसा मानेका छन्। किनभने विगत वर्षहरूमा दुई समुदायबीच तिक्तता देखिए पनि यस्तो भौतिक आक्रमण भएको थिएन।
चैत ३० गते हिन्दू र मुस्लिम समुदायबीच झडप भएको वीरगन्ज महानगरपालिका-२ स्थित छपकैया चोक।
वीरगन्ज शहर, जहाँ मस्जिदको अजान र मन्दिरको घण्टी एउटै समयमा गुन्जिनुलाई धार्मिक सहिष्णुता र सहअस्तित्वको प्रतीक मानिन्थ्यो। अहिले भने त्यही ध्वनिले आपसी प्रतिस्पर्धाको स्वरूप लिन थालेको छ। पछिल्ला वर्षहरूमा त्यहाँ धार्मिक गतिविधिमा चमकधमक बढी देखाउने र चर्को आवाजमा सुनाउने होडबाजी चलेको देखिन्छ। जसले धार्मिक सहअस्तित्व र सहिष्णुताको मधुरतालाई दबाउँदै लगेको छ।
वीरगन्जमा हिन्दू-मुस्लिम सम्बन्ध
वीरगन्जको बहुधार्मिक समाजको नापनक्शा केलाउनुअघि यो नगरको इतिहास र नगर निर्माणको पृष्ठभूमिबारे थोरै चर्चा गरौं।
वीरगन्ज नगरको कल्पना राणा प्रधानमन्त्री वीरशमशेरले गरेको मानिन्छ। जंगलभित्रको निर्जन बस्तीलाई चलायमान बनाएर बजारको स्वरूप दिंदै विसं १९४५/५० तिर वीरशमशेरले यस ठाउँलाई आफ्नो नाम दिए। उनको नामको वीर र गन्ज (व्यापार केन्द्र) जोडेर नाम जुराइयो।
नगरको परिकल्पना गरिनुअघि आजको वीरगन्ज मुडली, गहवा, छपकैया, इनरवा जस्ता ससाना बस्तीमा विभाजित थियो। वीरगन्जवासी लेखक गणेशप्रसाद लाठले हालै प्रकाशित पुस्तक सीमान्त सम्झना मा लेखे अनुसार वीरगन्जलाई पहिले गहवा भनिन्थ्यो। गहवाको अर्थ हो, जंगलको बीचमा भएको पवित्र स्थान। लाठ भन्छन्, “राणा शासनकालभन्दा अघिका शाह राजाहरूले जंगलको बस्ती भनेर त्यसै छाडिदिएका थिए। वीरशमशेरले यो ठाउँलाई चलायमान बनाउँदै लगे, र बिस्तारै व्यापारिक केन्द्र बन्यो।”
त्यसपछि १९औं शताब्दीको अन्त्यदेखि राणा र शाह शासनकालमा वीरगन्जमा हिन्दू संस्कृतिको बलियो प्रभाव पर्यो। राणाहरूले आफ्नो धार्मिक रुझान देखाउँदै मठमन्दिर निर्माण, पुरानाको जीर्णोद्धार गर्न थाले। त्यस क्रममा गहवा माई मन्दिरको जीर्णोद्धार भएको लाठ बताउँछन्। “पछि गहवा माई मन्दिरको स्वरूप बदल्ने हिरण्यशमशेर राणा थिए। उनले आफ्नी पत्नीको नाममा रानीघाटमा मन्दिर बनाए। राणाकालमा मठमन्दिरमा धेरै लगानी भयो,” उनी भन्छन्।
यस्तो धार्मिक प्रवर्द्धन र संरक्षणको क्रमले वीरगन्जका बस्तीमा हिन्दू धर्मसंस्कारको अभ्यास बढाउँदै लग्यो। हिन्दू बाहुल्य समाज बन्यो। समयसँगै सार्वजनिक जीवनमा प्रभाव पार्नेगरी हिन्दू पहिचानको प्रवर्द्धन र प्रदर्शन गरिन थाल्यो। रक्सौलबाट आउने स्थलमार्गको प्रवेशबिन्दुमा आठौं शताब्दीका अद्वैत वेदान्त दर्शनका ऋषिको नाममा ‘शंकराचार्य गेट’ राखिएको सीके लाल लिखित ‘द स्टोरी अफ वीरगन्ज : द इमर्जेन्स, डिसरप्शन एन्ड कन्टिन्यूटी अफ सिटीज् इन द मधेश’ शीर्षकको लेखमा उल्लेख छ (स्टडीज् इन नेपाली हिस्ट्री एन्ड सोसाइटी जर्नल, भोलम २५, नम्बर १, जून २०२०, मार्टिन चौतारी)।
उक्त लेखमा लालले लेखेका छन्, ‘यहाँ मुस्लिम जनसंख्या उल्लेख्य भए पनि यो शहरले आफ्नो हिन्दू पहिचान गर्वका साथ प्रदर्शन गर्छ र सामाजिक तथा सांस्कृतिक रूढिवादलाई कडाइका साथ संरक्षण गर्छ।’
अर्कातिर, वीरगन्जको नामकरण नै नभएको समयदेखि अर्थात् १६औं शताब्दीमा विशेषगरी मुगल काल (सन् १५२६-१८५९) पछि त्यस क्षेत्रमा मुस्लिम समुदायको उपस्थिति हुन थाल्यो। व्यापारको सिलसिलामा पहिला भारतका बिहार र उत्तर प्रदेशबाट मुस्लिम व्यापारी र कालिगडहरू आएका थिए। उनीहरूले हस्तकला, कपडाको व्यापार गर्न थालेको लेखक लाठ बताउँछन्।
उनका अनुसार वीरगन्जमा रेल चल्न थालेपछि बंगाली, मुस्लिम र पन्जाबीहरूलाई सरकारले नै कामदारका रूपमा झिकाएको थियो। त्यसैको परिणाम हुन सक्छ, २०४० सालसम्म वीरगन्जमा शिख समुदायको बाक्लो बसोबास रहेको वीरगन्ज निवासी पत्रकार तथा लेखक गिरीश गिरीले वीरगन्ज : मेरो शहरको कथा पुस्तकमा लेखेका छन्। तर अहिले वीरगन्जमा शिख समुदाय कमै छन् भने बंगाली समुदाय भेटिंदैन। मुस्लिम समुदाय भने वीरगन्जको व्यापार, उद्योग र जीवनसंस्कृतिको हिस्सा बनेर रहिरह्यो।
त्यस क्रममा मुस्लिमहरूले उर्दू साहित्य, विभिन्न परिकार र चाडपर्व मार्फत वीरगन्जको बहुसांस्कृतिक पहिचानमा योगदान पनि गरे। विश्लेषक लाल मुस्लिम समुदायले उक्त शहरलाई बहुसांस्कृतिकसँगै बहुभाषिक शहर बनाएको बताउँछन्।
वीरगन्जमै हुर्केका लेखक लाठ पनि यी दुई समुदायको सौहार्दपूर्ण सम्बन्ध सम्झँदै भन्छन्, “वीरगन्जमा होली, दीपावली मुस्लिमले पनि मनाउँथे। ईद हिन्दूले पनि मनाउँथे। रामायण को नाटकमा मुस्लिमहरू पनि खेल्थे। तर पहिचानको मुद्दा उठ्न थालेपछि अहिले मुस्लिम, हिन्दू, राई, बाहुन भनेर छुट्याउन थालियो। आपसी घुलमिल पनि घट्न थाल्यो। मुस्लिमहरू आफ्नै समुदायमा मात्र बस्न रुचाउन थाले।”
वीरगन्जका समाजसेवी तथा अगुवा जफर अन्सारी पहिले दुई समुदायमा सांस्कृतिक आदानप्रदान हुने गरेको बताउँछन्। हिन्दू पर्वमा मुस्लिमहरूले सहयोग गर्ने र मुस्लिमका पर्वमा हिन्दूहरूले शुभकामना दिने परम्परा सयौं वर्ष पुरानो थियो।
वीरगन्ज महानगरपालिका-२, छपकैयास्थित पोखरी। यही स्थानमा हिन्दूले छठ पर्व मनाउँछन् भने मुस्लिम धर्मावलम्बीले मस्जिदमा भीडभाड हुँदा नमाज पढ्छन्। तस्वीर : अनिता भेटवाल/हिमालखबर
अन्सारीका अनुसार हिन्दू र मुस्लिमबीचको अन्तरधार्मिक सद्भाव मधेश आन्दोलनको वेला पनि अक्षुण्ण थियो। त्यस वेला आन्दोलनको मैदानमा एकसाथ रहेर दुई समुदायले साझा क्षेत्रीय पहिचानको माग राखेको अन्सारी बताउँछन्।
वीरगन्जको सामाजिक र राजनीतिक पक्षको अध्ययन गरेका राजनीतिक विश्लेषक लाल वीरगन्जमा विगतदेखि हिन्दू-मुस्लिम समुदायबीच सद्भावपूर्ण सहअस्तित्व रहे पनि दुई समुदायबीच २००७ सालपछि झमेला बढ्न थालेको बताउँछन्। “२००७ सालअघि त यस्तो केही सुन्नुपरेको थिएन। त्यसपछि अनेक तहका आन्दोलन, लडाइँ, अधिकार र स्वतन्त्रताका कुरा उठे। बिस्तारै समाज भड्किंदै गयो। शक्ति प्रदर्शन बढ्न थाल्यो।”
समुदायमा दूरी पैदा हुनुका अनेक कारणमध्ये सात सालको परिवर्तनले ल्याएको खुलापनलाई एक कारण मान्छन् उनी। अधिनायकवादी शासनमा सबै समुदाय मिलेर बस्नुको विकल्प नहुने तर त्यस्तो शासनको डर हराएपछि एकअर्को समुदायको फरकपन देख्न थालिने उनको विश्लेषण छ। सात सालमा आएको प्रजातन्त्रपछि बहुसंख्यक हिन्दू र अल्पसंख्यक मुस्लिमबीच त्यही फरकपनको खोतलखातलले मतभेद र मनभेद झाँगिएको उनी बताउँछन्।
“२००७ सालअघिसम्म एउटा मात्र धर्म केन्द्रमा थियो, त्यसैले कमजोर बोल्नै सकेनन्। प्रजातन्त्रपछि कमजोरहरूको पनि डर हरायो र एकअर्काको कमजोरी औंल्याउन थाले। खाना नमिल्ने, कुरा नमिल्ने, भाषा नमिल्ने खोतल्न थालियो,” लाल भन्छन्।
उनको भनाइमा २०४६ सालको दशक संक्रमणकालीन समय थियो, दासताबाट मुक्ति हुने त्यो अवस्थामा कतिपय उच्छृंखल घटना हुनु स्वाभाविक थियो। जनआन्दोलनको सफलतापछि मुस्लिमहरूले समाजमा आफ्नो धर्म र अधिकारको कुरा गर्न थाले। त्यही ताका वीरगन्जमा मारवाडी, बनियाँ लगायत जातिले पनि आफ्नो धार्मिकता प्रदर्शन गर्ने लहर चल्यो।
लालका अनुसार त्यस वेला राजसंस्थामा हिन्दूत्वको प्रभाव हावी थियो। जसले निश्चित धार्मिक आस्था र मान्यतालाई प्रश्रय दिन थाल्यो। राजालाई विष्णुको अवतार समेत भनिन्थ्यो। राजपरिवार हिन्दूका धार्मिक थलो, पूजापाठ र जात्रा आदिमा औपचारिक रूपमै सरिक हुन्थे। बहुधार्मिक, बहुसांस्कृतिक समाजमा एउटा धर्म वा जातिलाई बढी प्राथमिकता दिंदा स्वाभाविक रूपमा अर्को धर्मसम्प्रदायका मानिसले पाखा पारिएको महसूस गर्छन्। त्यस विरुद्ध असन्तुष्टि पोख्ने, विद्रोह गर्ने ठाउँ पाउँछन्। उपेक्षित बनेपछिको त्यस्तै प्रतिक्रिया र असन्तोषले त्यस वेलैदेखि हिन्दू-मुस्लिम समुदायमा तिक्तता बढ्दै गएको उनी बताउँछन्।
२०५२ सालमा नेकपा (माओवादी)को सशस्त्र द्वन्द्व शुरू भएपछि राज्यको तहबाटै हिन्दूवादीलाई बढावा दिएको आफ्नो अध्ययनले देखाएको लालको भनाइ छ। माओवादीको प्रभाव कम गर्न तत्कालीन सरकारले हिन्दूवादीलाई बढावा दिएको थियो।
द्वन्द्वकालमा माओवादी विरुद्ध जुध्न सरकारी सहयोगमै गाउँ गाउँमा प्रतिकार समिति/समूह सक्रिय पारिएको थियो। त्यस्तो समूहलाई हतियार बाँडिएको थियो। सरकारले जन्माएको र हुर्काएको यस्तो समूहले कानून नै हातमा लिन थाल्यो। धेरै गाउँघरमा माओवादीलाई सहयोग वा समर्थन गरेको आशंकामा सर्वसाधारणलाई धम्की दिने, कुटपिट गर्नेदेखि अपहरण र हत्या गर्नेसम्मका कार्य भएको एम्नेस्टी इन्टरन्याशनलले सन् २००५ मा प्रकाशन गरेको रिपोर्ट ‘बिटविन द रक एन्ड हार्ड प्लेस ’ मा उल्लेख छ।
द्वन्द्वकालको त्यही आपराधिक र अराजक प्रवृत्तिले पछिसम्म समाजमा दुःख दिन थाल्यो। “एक पटक कानून हातमा लिएकाहरूले त्यो भावना सजिलै त्याग्न सक्दैनन्। त्यही ऊर्जा मधेश आन्दोलनदेखि अहिलेसम्म घृणा र द्वेषका रूपमा मुस्लिम समुदायतर्फ फर्काइँदै छ,” लाल भन्छन्।
अध्येता एवम् राजनीतिशास्त्री भास्कर गौतमको विश्लेषणमा २०६३ सालमा विस्तृत शान्ति सम्झौता मार्फत माओवादी शान्ति प्रक्रियामा आएपछि पनि द्वन्द्वको ऊर्जा सकिएन। केही समूहले त्यो ऊर्जा मुस्लिम समुदायप्रति घृणाको व्यापारमा परिणत गरेको हुन सक्ने उनको अनुमान छ।
विश्लेषक विजयकान्त कर्ण समयसँगै शिक्षामा मुस्लिम समुदायको पहुँच र धार्मिक चेतना बढेपछि बहुसंख्यक हिन्दूका दमनकारी क्रियाकलापको जवाफ फर्काउन थालेको बताउँछन्। वीरगन्जमै जन्मेहुर्केका उनी त्यहाँको समाजमा दुई समुदायबीच विवाद र तनाव बढ्नुका साक्षी हुन्। उनी भन्छन्, “मुस्लिम समुदायका मानिस वैदेशिक रोजगारीमा जान थालेपछि छोराछोरी पढाउन वीरगन्जमा आउन थाले र एकीकृत भएर बसे। त्यस क्रममा आफ्नो धर्मसंस्कारको अभ्यास गर्ने र अस्तित्व देखाउने क्रममा विभिन्न गतिविधि गर्न थाले। हिन्दूहरूले पनि आफू बहुसंख्यक भएको रवाफ देखाउन थाले। गाउँमा भएको भए मुस्लिमहरू सहन्थे होला, तर शहरमा भएकाले सहँदैनन् र झडपका घटना हुन थाले।”
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख ललन द्विवेदी पनि केही वर्षयता दुवै समुदायका धार्मिक गतिविधि प्रतिस्पर्धात्मक हुन थालेको देख्छन्। उनका अनुसार कुन समुदायको चाडपर्वमा बढी मानिस भेला भए भन्ने हिसाब हुने गरेको छ भने मठमन्दिर र मस्जिद बनाउने होडबाजी चलेको छ।
“यस्तै तँछाडमछाडले गएको चार-पाँच वर्षदेखि दुवै धर्मावलम्बीले आफ्नो संगठन विस्तार गरेका छन्, धार्मिक समूह बढाएका छन्,” उनी भन्छन्, “त्यस्ता समूहमा केही अराजक व्यक्ति पनि छन्, जो समुदायमा शान्ति र सद्भाव खलबल्याउन लागिरहेका हुन्छन्।”
छपकैयाका बासिन्दा पनि समाजमा दुई समुदायबीच अहिले पनि सौहार्दपूर्ण सम्बन्ध रहेको तर ‘बाहिर’ बाट आएका मानिसहरूले उत्तेजना सिर्जना गरेर सद्भाव खलबल्याउन खोजिरहेको गुनासो गर्छन्। पछिल्लो समयको विवाद र धार्मिक दंगाका कारण माहोल बिग्रिंदा हिन्दू र मुस्लिम मिलेर बसिरहेका बस्तीमा पनि डरको वातावरण छाएको छ।
दुवै पक्षले आआफ्नो समूहमा रहेका अराजक पात्र र प्रवृत्ति नचिने आगामी दिनमा ठूलो दुर्घटना हुन सक्ने द्विवेदी बताउँछन्।
दुःख साट्नेदेखि दखल दिनेसम्म
वीरगन्जका हिन्दू-मुस्लिम समुदायबीच कुनै वेला एकअर्काको चाडपर्व र संस्कारमा सघाउने, सँगै मिलेर उत्सवमा रमाउने सहृदयता थियो। एकले अर्काको पीर, समस्यामा काँध थाप्ने भ्रातृत्व थियो। तर त्यो हार्दिकताको ठाउँ अहिले तुष र अविश्वासले लिएको छ। कुनै वेला दुःख साट्नेहरू अहिले एकअर्काको धार्मिक कार्यमा समेत दखल दिने तहमा पुगेका छन्। यसकै दृष्टान्त हो, दुवै समुदायबाट आफ्नो धार्मिक र्याली र कार्यक्रममा गरिने भड्किलो प्रदर्शन र अर्को समुदायको कार्यक्रममा हुने गरेको व्यवधान।
पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र पछिल्ला वर्षहरूमा दुई समुदायबीच धार्मिक गीतसंगीत, अजानको ध्वनि, कार्यक्रम गर्ने स्थानको विषयमा विवाद बढेसँगै प्रहरी कार्यालयमा उजुरी पनि बढेको बताउँछन्। उनका अनुसार वीरगन्जमा पछिल्ला चार वर्षयता हनुमान् जयन्तीको शोभायात्राका क्रममा बर्सेनिजसो तनाव हुन्छ। यसको राजनीतिक-सामाजिक बाहेकको एउटा कारण धार्मिक कार्यक्रम र र्यालीमा हुने अराजक क्रियाकलाप नै हो। दुवै धार्मिक समुदायले र्याली र पर्वका आफ्नो मर्यादा भुल्दा विवाद हुने गरेको छ। गत चैत ३० गते पनि हनुमान् जयन्तीको र्यालीका क्रममा छपकैयामा भएको झडप यसकै ठूलो रूप थियो।
दुई समुदायले आफ्ना धार्मिक र्याली आयोजना र पर्व तामझामका साथ मनाउँदै आएका छन्। यस क्रममा आफ्नो शक्ति देखाउन उत्तेजक ढंगले प्रस्तुत हुने, अर्को समुदायलाई चिढ्याउने तथा अरूको कार्यक्रम बिथोल्ने प्रवृत्ति हावी भइरहेको छ। धार्मिक र्यालीमा डीजे साउन्ड सिस्टमको चर्को आवाज, उत्तेजक गीत र हातहतियारको प्रदर्शनले धार्मिक सहिष्णुतामा आघात पुर्याउन थालेको छ। र्यालीका क्रममा सहभागी कतिपय व्यक्तिले अर्को समुदायलाई अपमानजनक शब्द प्रयोग गर्न थालेका छन्। जसले धार्मिक र्यालीमा विवाद र झडप बढाउन आगोमा घ्यू थप्ने गरेको छ।
२०७५ सालको रामनवमीमा हिन्दू समुदायको र्याली छपकैयाको मुस्लिम बस्ती नजीक पुग्दा विवाद उत्पन्न भएको थियो। यस्तै, २०७९ सालको हनुमान् जयन्ती, २०८० को दुर्गापूजा र रमजानको समयमा पनि दुई समुदायबीच विवाद भएको थियो। यस्ता घटना दोहोरिइरहँदा समुदायमा डरको वातावरण सिर्जना भएको छ। वीरगन्ज महानगरपालिका-२, भुसुक्पुरका एक बासिन्दा भन्छन्, “४० वर्षदेखि यहीं बस्दै आएको छु। तर अहिले डर लाग्छ। घरमा पूजा गर्नु कि नगर्नु भन्ने दोधार हुन्छ। किनकि नजीकै मस्जिद भएकाले कुनै सानो कुरामा विवाद होला कि भन्ने डर हुन्छ।”
दुई समुदायबीच धार्मिक द्वेष बढ्दै जाँदा दिक्किएका उनी छपकैयामा गत चैत ३० मा भएको झडपपछि त बसाइँसराइ गर्ने सोचमा पुगेका छन्। “यस्तो भइरह्यो भने छोराछोरीमा पनि असर पर्छ। अर्को ठाउँमा जग्गा छ, उतै घर बनाएर सरौं कि भन्ने लागेको छ,” उनी भन्छन्।
धार्मिक कटुता बढ्दै गए समाजमा सधैंका लागि अशान्ति छाउने भएकाले दुवै सम्प्रदायका स्थानीय समुदाय संवेदनशील र सजग बन्नुपर्ने वीरगन्जको छपकैयास्थित सामुदायिक प्रहरीका उपसचिव मदनप्रसाद गुप्ता सुझाव दिन्छन्। विविध धर्म र जातजातिका मानिस मिलेर बनेको बहुरंगी समाजलाई धर्मान्धताबाट जोगाउनुपर्ने उनको भनाइ छ।
पछिल्लो समय हिन्दूवादी समूहले अनेक उद्दण्डता देखाउन थालेको र यसले सामाजिक एकता संकटमा पार्ने उनको चिन्ता छ। “कतिपय जिल्लामा हिन्दू गाउँ, यादव गाउँ भनेर घोषणा गर्न थालिएको छ, जुन प्रवृत्ति वीरगन्जमा पनि देखिन थालेको छ,” उनी भन्छन्।
‘हिन्दू सम्राट् सेना’ समूहले तराईका विभिन्न जिल्लामा ‘हिन्दू गाउँ’ बनाउने अभियान थालेको छ। महोत्तरीको जलेश्वर नगरपालिका-७, धनुषाको लक्ष्मीनिया गाउँपालिका-६ बगेवा, धनुषाको मिथिला बिहारी नगरपालिका-५, ललिया गाउँ र वडा नम्बर ९ मा ‘हिन्दू राष्ट्र नेपालको हिन्दू गाउँ’ लेखिएको बोर्ड टाँगिएको छ। पर्साको विन्दवासिनी गाउँपालिका-३, इटियाही चोकमा पनि यस्तै बोर्ड राखिएको छ।
देशका विभिन्न ठाउँमा राखिएका हिन्दू गाउँ र चोकका बोर्ड।
मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्रप्रसाद यादव यस्ता बोर्डले अन्य धर्म मान्ने समुदायलाई असर पुर्याउने भएकाले हटाउने प्रयास गरिएको बताउँछन्। “एक पटक त हटायौं, फेरि बोर्ड लगाएका होलान्। यस्तो कार्य गलत हो,” उनी भन्छन्।
आयातीत अभ्यासले निम्त्याएको तनाव
वीरगन्जमा केही वर्षयता हिन्दू र मुस्लिम समुदायले विगतमा मनाउने चलन नै नरहेको कतिपय पर्व मनाउन थालेका छन्। यस्तै विभिन्न नाममा धार्मिक र्याली र सडक परिक्रमा हुन थालेका छन्। पहिले सामान्य ढंगले निकालिने र्यालीमा समयसँगै भड्किलोपन भित्रिएको छ। जसका क्रममा दुवै पक्षका धार्मिक समूहले आआफ्नो शक्ति देखाउने र चिढ्याउने प्रवृत्तिले विवाद र धार्मिक द्वेष बढाइरहेको छ।
पूर्व राज्यमन्त्री मोहम्मद जाकिर हुसेनको भनाइमा मुस्लिमहरूले सामान्य र शालीन ढंगले मनाइने चाडमा पछिल्लो समय तडकभडक गर्न थालेका छन्। उनका अनुसार मोहर्रम, मोहम्मद डे यसका उदाहरण हुन्।
हिजरी संवत्को पहिलो महीनालाई मोहर्रम भनिन्छ। मुसलमानहरू सिया र सुन्नी समूहमा विभाजित भएका यो महीनाको १० तारिखलाई मोहर्रमको नाममा सम्झना गरिन्छ। तर पर्व मनाउने क्रममा धर्मशास्त्रमा उल्लेख भएभन्दा फरक र भड्किलो तरीकाले मनाउने विकृति देखिएको हुसेन बताउँछन्।
इस्लाम धर्मका जानकार मौलाना तालुकदार खानका अनुसार मोहर्रमको दिन व्रत बस्न र अतिरिक्त नमाज पढ्न कुरानमा भनिएको छ। तर अहिले यी गतिविधि बाहेक सिया समुदायले बाजागाजा बजाएर पर्व मनाउँदै आएको छ। पछिल्लो समय सुन्नी समुदायले पनि बाजागाजा बजाउने, लाठी खेल्ने, तरबार खेल्ने गरेको छ। यसलाई विकृति मान्दै तालुकदार भन्छन्, “नेपालका मुस्लिमहरूमा पनि बिस्तारै यो विकृतिले स्थान पाउँदै गएको छ। व्रत बस्ने र नफिल (अतिरिक्त) नमाज पढ्ने, तिलावत गर्ने (कुरान पढ्ने), इमाम हुसेनको जीवनी पढ्नुको सट्टा अहिले धेरै क्रियाकलाप गर्न थालिएको छ।”
मोहर्रमको दिन वीरगन्जमा र्याली निकालेर, बाजा बजाउने, तरबार प्रदर्शन गर्ने गरिएको छ। यस्तै, इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्तीमा मनाइने ‘मोहम्मद डे’ मा डीजे साउन्ड सिस्टम बजाउँदै, नारा लगाउँदै र्याली निकालिन्छ। हुसेन भन्छन्, “इस्लाममा गीत बजाउने, र्याली निकाल्ने कुरा कतै उल्लेख छैन। यस्तो गर्न हुँदैन भनेर हामी पनि विरोध गर्छौं, तर आफैं आलोचनामा परिन्छ।”
‘मोहम्मद डे’ मनाउने क्रममा वीरगन्जको घण्टाघर चोकमा मुस्लिम समुदाय।
वीरगन्जमा हिन्दू समुदायले पनि पहिले कहिल्यै मनाउने नगरेको जात्रा र उत्सव पछिल्ला वर्षहरूमा मनाउन थालेको छ। जसमध्ये छपकैयामा निकालिने गहवा माई रथयात्रा हो। यसबारे प्राध्यापक द्विवेदी भन्छन्, “रामनवमीमा शोभायात्रा हुन्थ्यो। तर यो गहवा माई रथयात्रा हुँदैनथ्यो। केही वर्षदेखि यस्ता र्याली बढेका छन्। देखासिकी भइरहेको छ।”
२०८१ चैत ३० गते हनुमान् जयन्तीका अवसरमा हिन्दू समुदायले वीरगन्जमा निकालेको शोभायात्रा। तस्वीर स्रोत : यात्रा डेली डटकम
खासगरी नेपालको संविधान, २०७२ ले धर्मनिरपेक्ष राज्य बनाएसँगै हिन्दूवादी संघसंगठनले आफ्नो सक्रियता बढाएका छन्। जसले यस्ता र्याली र सभाको आयोजना मार्फत धार्मिक-सांस्कृतिक गतिविधिलाई तीव्रता दिइरहेका छन्। बहुसंख्यक जनता हिन्दू धर्मावलम्बी भएकाले हिन्दू राष्ट्र नेपालको पहिचान भएको भन्दै ती संघसंगठनले धार्मिक गतिविधिबाट शक्ति देखाइरहेछन्। जबकि धर्मनिरपेक्षता भनेको राज्य तथा राज्यसँग सम्बद्ध सबै निकाय धर्मबाट अलग हुनु हो र कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने सुन्दर अवधारणा हो। नेपाल जस्तो बहुधार्मिक र बहुसांस्कृतिक देशमा धर्मनिरपेक्षता झनै सान्दर्भिक छ।
तर कतिपय राजनीतिकर्मी र जनप्रतिनिधिले नै धर्मनिरपेक्षताको मर्म विपरीत निश्चित धर्मसम्प्रदायलाई प्राथमिकता दिने गरेका छन्। राजनीतिक अभीष्ट पूरा गर्न धर्मलाई अस्त्र बनाइरहेका छन्। खासगरी हिन्दूत्वको दक्षिणपन्थी धारको विश्वास जित्न र धार्मिक रुझानको जनमत तान्न हिन्दूत्व अनुकूलको जीवनशैली, व्यवहार र सार्वजनिक भाषणबाजीमा नेताहरू देखिने गरेका छन्। वीरगन्जमा पनि यो प्रवृत्ति देखिन्छ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भारतमा भएका हिन्दूहरूका सबै तीर्थ वीरगन्जमै बनाउने सार्वजनिक भाषणमै बताएका थिए। यस्ता कुराले हिन्दू समुदायलाई पक्षपोषण गरेर गलत कुरामा पनि बढावा दिन सक्ने र अन्य समुदायलाई उपेक्षा गरिएको महसूस हुने द्विवेदी बताउँछन्।
यस्तै प्राथमिकता र आडभरोसा पाएर पनि हुन सक्छ, केही वर्षअघिसम्म निष्क्रिय रहेका हिन्दूवादी संगठन पछिल्लो समय जुर्मुराएका छन्। विश्व हिन्दू परिषद्, हिन्दू स्वयंसेवक संघ नेपाल, राष्ट्र सेवक नेपाल, धर्म जागरण मञ्च, हिन्दू सम्राट् सेना, बजरंग दल, महाकाल सेना केही उदाहरण मात्र हुन्। यिनै संगठनले पछिल्लो समय विभिन्न नाममा नयाँ जात्रा र उत्सव गर्न थालेका छन्।
राजनीतिक विश्लेषक लाल भारतको हिन्दूत्वको राजनीति तराईका सीमावर्ती क्षेत्रमा छिरेकाले हिन्दूवादी संगठनको सक्रियता बढेको विश्लेषण गर्छन्। “जसले धेरै पाप गर्छ, उसैले धेरै धर्म गरेको देखाउनुपरेको छ। भारतमा हिन्दू राष्ट्र बनाउने राजनीतिको बाछिटा वीरगन्जसम्म आइपुगेकै हो,” उनी भन्छन्।
हिन्दूत्वको बाछिटा
भारतमा हिन्दू समुदायका क्रियाकलापले वीरगन्जमा सोझै प्रभाव पार्ने गरेको छ। यसका अनेक दृष्टान्त छन्।
अयोध्यामा रामको जन्मभूमि र बाबरी मस्जिदको जमीन सम्बन्धी पुरानो मुद्दामा २०७७ सालमा भारतीय सर्वोच्च अदालतले मस्जिदको गुम्बज भएको क्षेत्र हिन्दू पक्षलाई दिइने फैसला गर्यो। यसको खुशियाली भारतका हिन्दू समुदायमा मात्र सीमित रहेन, वीरगन्जमा पनि केही हिन्दू समूहले र्याली निकाले।
त्यस्तै, एक वर्षअघि अयोध्यामा राम मन्दिरको उद्घाटन गरिंदा पनि वीरगन्जमा उत्सव जस्तै चलेको थियो। त्यस वेला र्याली निकालियो । घर घरमा दीप प्रज्वलन गरियो। मठमन्दिरमा भजनकीर्तन भयो, भण्डारा चलाइयो।
अझ, भारतमा चुनाव हुने वेला वीरगन्जमा हिन्दूवादी चलचित्र देखाइन्छ। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)ले चुनाव जित्दा उसको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को झन्डा हिन्दूवादीहरूले आफ्नो घरमा टाँग्ने गर्छन्।
यी घटनाको प्रत्यक्षदर्शी रहेका वीरगन्ज निवासी पत्रकार तथा लेखक गिरी भारतमा हुने हिन्दूत्ववादी गतिविधिको सिको गरिए जस्तै धार्मिक विवाद र दंगाको रोग पनि उतैबाट सरेको बताउँछन्।
भारतमा हुने घटनाक्रमको तरंग वीरगन्जमा कति छिटो आइपुग्छ भन्ने प्रसंग गिरीले आफ्नो पुस्तक वीरगन्जः मेरो शहरको कथा मा उल्लेख गरेका छन्। २०२५/२६ सालतिर बिहारमा केही हिन्दूवादी नेताले चुनावको प्रचार गर्न जनताको घरदैलोमा जाँदा धर्मभीरु समाजमा अन्धविश्वास रोपिदिएका थिए। त्यस क्रममा उनीहरूले गोबर लगाएको हातले घरको भित्तामा छाप लगायो भने भूतले सताउँदैन भनेका थिए।
“भित्तामा गोबर दल्ने अभियान बिहारमा कति सफल भयो थाहा भएन, तर वीरगन्जवासीहरूले सफल पारिदिएका थिए,” गिरी भन्छन्।
अहिले त झन् भाजपा र आरएसएसको प्रभावबाट धार्मिक गतिविधि र अभ्यास झनै बढ्न थालेको उनी बताउँछन्। वीरगन्जमा भारतीय महावाणिज्य दूतावास स्थापना (जनवरी २००४) भएपछि शुरूआती समयमा 'घिनलाग्दो' राजनीति गरिएको र अहिले पनि भित्रभित्रै राजनीति चलिरहेको उनको भनाइ छ।
वीरगन्जको घण्टाघर चोक। तस्वीर : सेल्की ली
भारतीय नेताहरूले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने पक्षमा खुलमखुला अभिव्यक्ति दिने मात्र हैन, द्विपक्षीय भेटवार्ता र चिठीपत्रमा समेत दबाब दिने गरेका छन्। नेपालले नयाँ संविधानको खाकालाई अन्तिम रूप दिन लाग्दा २०७२ सालमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई पत्र पठाएका थिए। जसमा संविधानमा नेपाललाई हिन्दू राष्ट्र लेख्नुपर्ने आग्रह गरिएको थियो। त्यस्तै, सन् २०२१ मा भाजपाका प्रवक्ता विजयशंकर शास्त्रीले पनि ‘नेपाल सधैं हिन्दू राष्ट्र नै रहने’ बताएका थिए।
भाजपा र आरएसएसको प्रभावले नेपालमा हिन्दूत्ववादी शक्तिहरूलाई उक्साइरहेको द डिप्लोम्याट डटकम ले उल्लेख गरेको छ।
अमेरिकी संस्था सेन्सर फर द स्टडी अफ अर्गनाइज्ड हेट ले सन् २०२४ नोभेम्बरमा प्रकाशित एक सामग्रीमा भारतका हिन्दू राष्ट्रवादी नेता र समूहहरूको प्रभाव नेपालमा गहिरो रहेको र भारतको आरएसएस सम्बद्ध हिन्दू स्वयंसेवक संघले नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै आएको भनिएको छ। ग्रासरूट आयोजना तथा विभिन्न धार्मिक कार्यक्रम मार्फत स्वयंसेवक संघले हिन्दू राष्ट्रवादी विचारधारालाई प्रवर्द्धन गरेको, भारतमा आरएसएसले प्रयोग गर्ने विधि जस्तै आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएको पनि उक्त रिपोर्टमा उल्लेख छ।
भारतीय दल, नेता र संघसंस्थाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नेपाललाई हिन्दू राष्ट्र बनाउन जोड गरिरहेकै वेला वीरगन्जका नेताहरूले पनि धर्मको राजनीति गरिरहेको सामाजिक अभियन्ता जफर अन्सारी बताउँछन्। “देश धर्मनिरपेक्ष भइसक्दा पनि दलका नेता र जनप्रतिनिधिले निश्चित धार्मिक पन्थलाई महत्त्व दिइरहेका छन्। यसले अन्य समुदायमा असन्तोष बढाइरहेको छ,” उनी भन्छन्।
विश्लेषक विजयकान्त कर्ण धार्मिक विवाद बढिरहे वीरगन्जको सामाजिक संरचना भत्किन सक्ने भएकाले समुदाय स्तरमा गम्भीर सजगता आवश्यक रहेको बताउँछन्। आपसी सद्भावमा जोड दिएर विद्यालय तहदेखि नै नैतिक शिक्षा पढाइदिनुपर्ने उनको सुझाव छ।
“संविधानले धर्मनिरपेक्ष राज्य बनाएकाले सबै धर्मसम्प्रदाय र धर्मावलम्बीलाई सराबरी व्यवहार गर्नु राज्यको दायित्व हो,” उनी भन्छन्, “सद्भाव बिथोल्ने र समाज विभाजन गर्नेगरी उत्तेजना फैलाउने धार्मिक अतिवादी र भोटको राजनीति गर्नेलाई राज्यले गुप्तचर लगाएर अनुसन्धान गरी कारबाही गर्नुपर्छ।”
यी पनि पढ्नुहोस्-