केही वर्षयता हिन्दू र मुस्लिम समुदायबीच साम्प्रदायिक तनाव बढ्दै गएको वीरगन्जको समाजमा दिगो सद्भाव कायम गर्न प्रशासनसँगै राजनीतिक दलहरूले सुझबुझपूर्ण कदम चालिहाल्नु आवश्यक छ।
“भित्रै लग्नुस् न, म ओर्लिने ठाउँ यहीं नजीकै छ,” गुड्दागुड्दैको रिक्शा उनले घ्याच्च रोकेपछि मैले आग्रह गरें।
“यो गल्लीमा छिर्दैन हामी। तपाईं यहींबाट जानुस् दिदी,” रिक्शा चालक युवकले इन्कार गरे।
बाटो रिक्शा छिर्नै नसक्ने न साँघुरो थियो न त खाल्डाखुल्डी थिए। अर्को पटक पनि आग्रह गरें। उनले आफ्नो अडान छाडेनन्, “बरु मलाई भाडा कम दिनुस्, तर यो गल्लीभित्र हामी जाँदैन के।”
वीरगन्ज महानगरपालिकाको घण्टाघर चोकदेखि झन्डै तीन किलोमिटर दूरीमा छ, छपकैया चोक। महानगरको वडा नम्बर २ मा पर्ने यो ठाउँ मुस्लिम बाहुल्य क्षेत्र हो। चोकबाट १०० मिटरभित्रको सडकमा मुस्लिम बालबालिकाको अनाथालय यतीमखाना दारुल यतामा इस्लामिया र सँगै मक्की जामे मस्जिद छन्। यतीमखानाको दायाँतिरका तीन घर कटेपछि सामाजिक अभियन्ता जफर अन्सारीको घर आउँछ।
उनै अन्सारीलाई भेट्न घण्टाघर चोकबाट रिक्शा चढेर म जाँदै थिएँ। यतीमखाना नजीकै पुगेपछि रिक्शा चालक भित्री गल्लीमा पस्न मानेनन्। उनको बोलीमा डरमिश्रित कम्पन थियो। भाडा दिएर उनलाई बिदा गरी भित्री सडकमा प्रवेश गरें।
वीरगन्ज महानगरपालिका-२, छपकैया चोकस्थित झडप भएको स्थान।
रिक्शा चालक युवक मुस्लिम बाहुल्य गल्लीमा जान नमान्नुको कारण थियो, गत चैत अन्तिम साता हिन्दू र मुस्लिम समुदायबीचको झडपपछि पैदा भएको असहज परिस्थिति र डरको वातावरण। हातमा रातोपहेंलो डोरा, निधारमा रातो टीका लगाएका र रिक्शामा ‘जय श्रीराम’ लेखेको गेरुवा झन्डा फरफराउँदै हिंडेका उनी डरकै कारण मुस्लिम बाहुल्य बस्तीको गल्लीमा छिर्न मानेनन्।
छपकैयाको उक्त क्षेत्रमा गत चैत ३० गते हनुमान् जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको थियो। जसमा ३० जनाभन्दा धेरै घाइते भएका थिए भने पसलहरूमा तोडफोड र आगजनी भएको थियो।
उक्त घटनापछि दुई पक्षको तनाव अन्त्य गर्न सर्वपक्षीय सहमति भएर वीरगन्जको जनजीवन सामान्य बनिसकेको देखिन्छ, तर समाजमा त्रासको वातावरण छँदै छ। हिन्दू र मुस्लिम दुवै समुदायमा एकअर्काप्रति शंका, अविश्वास र असुरक्षाको भावना बढेको स्थानीयहरू बताउँछन्।
चैत ३० गतेको घटनामा छपकैयाका मोहम्मद शमशाद आलमको किराना पसलमा लूटपाट र तोडफोड भयो। उनको मोटरसाइकलमा पनि आगजनी गरियो। छोराको जिम्मामा पसल छाडेर आफन्तको वैवाहिक समारोहमा भारतको रक्सौल गएका उनले लाइभ भिडिओमै पसल तोडफोड भएको देखे।
आगजनीमा परेको आफ्नो मोटरसाइकल अगाडि मोहम्मद शमशाद आलम।
त्यसपछि हतारिएर राति नै त्यहाँबाट हिंडेका आलम १० बजेतिर वीरगन्ज भन्सारछेउ आइपुगे। उनका अनुसार उनलाई भन्सार नजीकै ३० जना जति युवकले बाटो छेकेर जात र धर्म सोधे। उनी मुस्लिम भएकाले ‘जय श्रीराम’ नभनेसम्म नछाड्ने धम्की ती युवाले दिएको उनी सुनाउँछन्।
“म एक्लै थिएँ, उनीहरू धेरै जना थिए। धेरै डर लाग्यो। ‘रामको नाम लिऊ, जय श्रीराम भन’ भनेपछि मैले सरसर्ती भनिदिएँ। त्यसपछि छिटो भाग्न चप्पल हातमा बोकेर दौडिएँ,” उनी भन्छन्।
घर फर्केपछि पनि उनको मनबाट डर हटेको छैन। राति ढुक्कसाथ सुत्न सकेका छैनन्। ठूलो झुन्डमा मानिसहरू देख्दा डर लाग्ने उनको भनाइ छ। उनी भन्छन्, “अब त डरैडर छ। बच्चाहरूलाई पनि एक्लै छाड्न सकेको छैन। हामीलाई सुरक्षा चाहिएको छ।”
वीरगन्ज क्षेत्रमा समुदायबीच एकअर्काप्रति शंका, डर र असुरक्षा सिर्जना हुनुमा चैत ३० गतेको झडप मात्र कारण होइन। केही वर्षयता हरेक वर्षजसो हिन्दू र मुस्लिम समुदायका जुलूस र सभाका क्रममा विवाद वा झडपका घटना हुने गरेका छन्। चाहे त्यो हिन्दूको रामनवमी, हनुमान् जयन्ती, दुर्गापूजा लगायतको र्याली होस् वा मुस्लिमको मोहम्मद डे, मोहर्रम पर्व।
२०८० सालमा पनि हनुमान् जयन्तीको शोभायात्रा गर्दा छपकैयामै दुई समुदायबीच झडप भएको थियो। त्यही वर्षको चैते दशैंताका वीरगन्जको गहवा माई मन्दिरकोे डोली यात्राका क्रममा झडप भयो। यस्तै, मुस्लिमहरूले मोहर्रम पर्व मनाउने क्रममा घण्टाघर चोक अगाडि वर्षैपिच्छे जस्तो वादविवाद हुने गरेको छ।
यस्ता घटनाले दुई समुदायका मानिसबीच मनमुटाव बढाएको मात्र छैन, सामाजिक र साम्प्रदायिक सद्भाव खलबलिंदै गएको छ। कतिसम्म भने, अर्को समुदायलाई निषेध गर्ने तहसम्मका विषाक्त विचार वेलावेला प्रकट हुने गरेका छन्। एउटा दृष्टान्त हेरौं, २०८० फागुनमा हिन्दू युवाको एक समूहले वीरगन्जको माईस्थान मन्दिर अगाडि उभिएर मुस्लिम समुदायको पसलबाट सामान नकिन्ने शपथ खाए, साथै यसलाई देशभर अभियानका रूपमा लैजाने संकल्प समेत गरेका थिए।
विगतका यस्ता घटनाले समाजमा मिलेर बसिरहेका दुई समुदायबीच तुष र वैरभाव सिर्जना गरेर धार्मिक दंगा हुने स्थितिसम्म ल्याइपुर्याएको राजनीतिक विश्लेषक सीके लाल बताउँछन्। “यो हिजोको आज विवाद भएर कर्फ्यूसम्म लगाउनुपर्ने स्थिति आएको होइन। यो त लामो समयदेखिको धार्मिक अतिवादी क्रियाकलापका कारण बिग्रिंदै गएको सद्भावको परिणाम हो,” उनी भन्छन्।
मुस्लिम बाहुल्य रहेको वीरगन्ज-१३ स्थित राधेमाई टोल।
धार्मिक विवादले सामाजिक सद्भाव खलबलिंदै जाँदा वीरगन्ज क्षेत्रको जनजीवन र समाजमा कस्तो प्रभाव परेको छ? सद्भाव खलबलिएको पछिल्लो समयमा आममानिस त्रासको मानसिकतामा बाँचिरहेको वीरगन्जकी पत्रकार बिम्मी कालिन्दी शर्माको भनाइ छ। उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, ‘धर्मान्धताले गर्दा वीरगन्जको माहोल यति विषाक्त भइसक्यो कि हामी जस्तो धर्मको ठेक्का नलिने र कुनै धर्मविशेषको घण्टी नबजाउनेहरू कि त पलायन हुनुपर्यो, हैन भने आत्महत्या गर्नुपर्ने स्थिति आइसक्यो।’
सहमति हुन्छ, पालना हुँदैन
हनुमान् जयन्तीको शोभायात्रालाई शान्त, मर्यादित र व्यवस्थित बनाउने विषयमा चैत २७ गते हिन्दूवादी संगठनहरू र पर्साका प्रमुख जिल्ला अधिकारीको बैठकले पाँचबुँदे निर्णय गरेको थियो। त्यस्तै, मुस्लिम समुदायले पनि शोभायात्रा सम्पन्न गराउन सद्भाव राख्ने प्रतिबद्धता प्रशासनसामु गरेको थियो। तर दुवै पक्षले सहमति र वाचा पालना नगर्दा शोभायात्राका क्रममा झडप भएको स्थानीय प्रशासनको बुझाइ छ। जबकि घटनापछि दुवै पक्ष एकअर्कालाई दोषारोपण गरिरहेका छन्।
हिन्दूवादी संगठनले गरेको सहमतिको एक बुँदामा आयोजकले व्यवस्थापन समिति गठन गर्ने उल्लेख थियो। तर त्यस्तो समिति नै बनाइएन। यस्तै, शोभायात्रा घण्टाघर, आदर्शनगर, बिर्ता रजत ज्योति चोक परिक्रमा गरेर सम्पन्न हुने सहमतिमा भनिएको थियो। तर र्याली बस्तीको भित्रभित्र छिरेको थियो। त्यसलाई नियन्त्रण गरेर अनुशासित बनाउन आयोजकको कुनै कमान्ड थिएन। खासमा कार्यक्रमको आयोजक समिति नै थिएन। जसका कारण भीड अव्यवस्थित र अनियन्त्रित बनेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल बताउँछन्।
अर्कातिर, मुस्लिम समुदायले पनि शोभायात्राका लागि सद्भाव कायम राख्ने वाचा गरे पनि त्यो पूरा नगरेको उनको भनाइ छ। “घटनाको दोषी नै पत्ता लागेको त छैन, तर दुवै समुदायले संयम अपनाएको भए यो घटना हुने थिएन,” उनी भन्छन्।
शोभायात्रामा सहभागीको भीड बढ्दै गएपछि र्याली छपकैया चोक पुगेको थियो। छपकैया ७० प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको ठाउँ हो। चोक नजीकै मस्जिद, यतीमखाना छन्। यस्तै, चोकको वरिपरि मुस्लिम समुदायका बिरयानी रेस्टुरेन्ट, मासु पसलदेखि मोटरसाइकल वर्कशप छन्, जहाँ प्रायः चहलपहल र भीड हुन्छ।
शोभायात्राका क्रममा हिन्दू समाजका विभिन्न संघसंगठन डीजेका चर्का गीत बजाउँदै, नाच्दै जब छपकैया चोक पुगे, छेउछाउका घर माथिबाट ढुंगा बर्सिए। ती ढुंगा कुन समूहले प्रहार गरेको पत्ता लागेको छैन। ढुंगा हानिएपछि शोभायात्राका कतिपय सहभागी भागे, कतिपय चाहिं मुस्लिम समुदायका मानिसले नै ढुंगा हानेको भन्दै उनीहरूका पसल तोडफोड र आगजनी गर्न थाले। पसलहरूमा सामान लूटपाट समेत भयो। कति पसलका पैसा राख्ने गल्ला नै फोडिएका छन्। एक दर्जनभन्दा बढी मोटरसाइकल जलाइए।
तोडफोड गरिएको रेस्टुरेन्ट।
दुई पक्षबीचको झडपले स्थिति तनावग्रस्त भएपछि प्रहरीले १४९ राउन्ड अश्रुग्यास हान्यो। ११ राउन्ड रबरको गोली चलायो। प्रहरी र सर्वसाधारण गरेर ३९ जना घाइते भए। स्थिति तनावग्रस्त बनेपछि थप जटिल हुन नदिन स्थानीय प्रशासनले चैत ३० गते मध्यरातिदेखि भोलिपल्टको मध्यरातिसम्म कर्फ्यू लगायो।
धार्मिक र्याली र यात्रा गर्नुअघि के गर्ने तथा के नगर्ने भनेर सहमति हुने गरे पनि कार्यक्रमका वेला सबैले बेवास्ता गर्दा समस्या हुने गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र बताउँछन्। “आयोजक पनि आधिकारिक को हो भन्ने नहुँदा कसलाई जिम्मेवार बनाउने भन्ने समस्या भएको छ,” उनी भन्छन्, “धार्मिक र्याली, पर्व, जात्रा हिन्दू र मुस्लिम दुवै समुदायले गर्न पाउँछन्, तर त्यसको पनि मर्यादा हुन्छ भनेर बिर्सनु भएन।”
प्रशासनको रोहबरमा भएका सम्झौता विगतदेखि नै दुवै समुदायले पालना गरेको पाइँदैन। २०८० सालमा पनि र्यालीमा झडप भएपछि दुवै पक्ष बसेर सहमति गरेका थिए। सम्झौतामा धार्मिक सभा, जुलूस गर्दा मकालु चोकभन्दा उता नजाने र छपकैया चोक नपुग्दै फर्किने उल्लेख थियो। तर सहमति विपरीत र्याली छपकैयाको ईदगाह चोक पुग्दा झडप भएको प्रहरी उपरीक्षक मिश्र बताउँछन्।
विगतका घटनाबाट पाठ सिकेर स्थानीय प्रशासनले हनुमान् जयन्तीको र्याली छपकैयातर्फ जान नदिने योजना बनाएको थियो। तर हिन्दू समाजका व्यक्तिहरूले ‘छपकैया चाहिं पाकिस्तान हो र जान नपाउने, त्यो हाम्रो पनि ठाउँ हो’ भन्दै विवाद चर्काएपछि प्रशासनले कडा सुरक्षा दिएर र्याली गराउने भएको थियो। तर सुरक्षाका बीच पनि घटना भएको एसपी मिश्र बताउँछन्।
त्यस्तै, यी र्यालीहरूले जिल्ला प्रशासन कार्यालयमा भएका अन्य सहमति पनि उल्लंघन गर्दै आएका छन्। जस्तै- डीजेको साउन्ड धेरै चर्को नबजाउने, उत्तेजक गीतहरू नबजाउने, हातहतियार प्रयोग नगर्ने भने पनि यो रोकिएको छैन। तर सहमतिको पालना नगरेको भन्दै दुवै समुदायले एकअर्कालाई आरोप लगाउँदै आएका छन्।
हिन्दू स्वयंसेवक संघका सदस्य तथा हिन्दू समाज वीरगन्जका प्रवक्ता रञ्जित साह मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदा सहमति विपरीत कार्य गर्दै आएको आरोप लगाउँछन्। उनी भन्छन्, “मोहर्रम मनाउँदा उनीहरूले मन्दिर अगाडि तरबार देखाउने, पेट्रोल मुखमा हालेर आगो निकाल्ने, गाली गर्ने गरेका छन्।”
नेपाल मुस्लिम समाज संघका अध्यक्ष, मोहम्मद महबुब अली (शेरू आलम) भने हिन्दू समाजका व्यक्तिहरूले आफ्नो पर्व तथा र्यालीको वेला मुस्लिमहरू बाटामा नहिंडून् भन्ने असहिष्णुता राख्ने गरेको बताउँछन्। “सहमति गर्दा हतियार नबोक्ने भने पनि र्याली गर्दा तरबार छाडेका हुँदैनन्। उनीहरूका स्वयंसेवकले प्रहरीकै अघि तरबार नचाएका छन्,” उनको आरोप छ।
शंका र त्रासले बढाएको दूरी
वीरगन्जका हिन्दू र मुस्लिम समुदायबीच व्यापारिक, सामाजिक र पारिवारिक सम्बन्ध रहँदै आएको छ। अहिले पनि यस्तो सम्बन्ध धर्मराएको छैन। तर सतहमा हेर्दा समाजको गति र चाल सामान्य जस्तो देखिए पनि दुई समुदायबीच पहिले जस्तो सद्भाव नरहेको स्थानीयवासीको अनुभव छ। पछिल्ला वर्षमा आपसी टकरावले सद्भाव र भ्रातृत्व बिथोलिंदै गएको र दुवै समुदाय त्रासमा रहेको ३० वर्षदेखि छपकैयाका बासिन्दा मदनप्रसाद गुप्ता बताउँछन्।
विगत वर्षमा मुस्लिम समुदायका ईद, मोहम्मद डे, मोहर्रम जस्ता पर्वमा हिन्दूहरू पनि सद्भावपूर्वक सहभागी हुन्थे। हिन्दूका छठ लगायत पर्वमा पनि मुस्लिमहरू सरिक भएर खुशियाली साट्थे। फरक सम्प्रदायका व्यक्तिबीचको आपसी सहिष्णुता, भ्रातृत्वले समाज जीवन्त र सुन्दर थियो। तर केही वर्षयता मुस्लिम समुदायका पर्वमा हिन्दूहरू सहभागी हुन छाडेका छन्। यस्तै, मुस्लिमहरूले पनि हिन्दूका छठ लगायत पर्वमा पहिला जस्तो सघाउने, प्रसाद बाँड्ने काम छाडेका छन्।
छपकैयाका गुप्ता भन्छन्, “पाँच वर्षअघिसम्म पनि कुन समुदायको मेला नभनी सबै जना जान्थे। तर अहिले एउटा समुदायले आयोजना गरेको मेलामा अर्को नजाने प्रवृत्ति विकास हुँदै छ।”
वीरगन्ज महानगरपालिका-२, छपकैयास्थित पोखरी। यही स्थानमा हिन्दूले छठ पर्व मनाउँछन् भने मुस्लिम समुदायले मस्जिदमा भीडभाड हुँदा नमाज पढ्छन्।
राजनीतिक विश्लेषक एवम् वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख ललन द्विवेदी पनि मुख्यगरी छपकैयाको समुदायमा मनोमालिन्य शुरू भएको देख्छन्। उनका अनुसार एकअर्काको पर्वमा साथी जसरी सघाउनेहरू नै अहिले शत्रु भएका छन्। “यो विभाजन पछिल्ला तीन-चार वर्षदेखि देखिएको छ। तर यसका धेरै कारण छन्, जुलूसको झडपले मात्र यो स्थिति निम्त्याएको होइन,” उनी भन्छन्।
दुई समुदायबीच पछिल्ला वर्षका झडपले परस्परमा शंका र डर पैदा गरिदिएको नेपाल मुस्लिम समाज संघका अध्यक्ष अली पनि स्विकार्छन्। उनका अनुसार पहिले एउटै टेबलमा जो हिन्दू साथीहरूसँग उनीहरू खाना खान्थे, अहिले समुदायबीच तिक्तता र अविश्वास मौलाएका कारण त्यसो गर्न सक्दैनन्।
हिन्दू समाज वीरगन्जका प्रवक्ता साह पनि दुई समुदायबीच विश्वास हराएको बताउँछन्।
कसरी फैलिंदै छ साम्प्रदायिकता?
केही वर्षयता वीरगन्जमा हिन्दू र मुस्लिम समुदायका जुलूस र सभा हुने क्रम बढेको छ। जुलूसमा लगाइने चर्का नारा र सभाका आक्रोशित अभिव्यक्तिले अर्को समुदायलाई उत्तेजित बनाउने गरेको छ। अर्कातिर, यी कार्यक्रम र समुदायबारे सामाजिक सञ्जालमा गरिने दुष्प्रचार र मिथ्या सामग्रीको प्रसारले अर्को समुदायप्रति तुष बढाउन र हिंसा भड्काउन मलजल गरिरहेको छ।
दुवै समुदायका धार्मिक गतिविधि र साम्प्रदायिक संगठनको सक्रियता बढेका कारण विवाद र टकराव गहिरिंदै गएको प्राध्यापक द्विवेदीको विश्लेषण छ। उनका अनुसार साम्प्रदायिक संघसंगठनले धार्मिक पर्वमा अर्को पक्षलाई तामझाम देखाउने र र्यालीमा शक्ति प्रदर्शन गर्ने प्रवृत्ति बढेको छ।
वीरगन्जस्थित घण्टाघर चौक।
द्विवेदीको हेराइमा पछिल्लो समय वीरगन्जमा जति मठमन्दिर बनिरहेका छन्, मुस्लिम समुदायका मस्जिद र मदरसाको संख्या पनि बढेको छ। उनी बस्ने वीरगन्ज महानगरपालिका-१३, राधेमाई टोलमा मुस्लिमका चार-पाँच परिवार मात्र बस्छन्, त्यहाँ एक दशकयता दुई मस्जिद र दुई मदरसा खोलिएको बताउँछन्।
हिन्दू समुदायका पनि अनेक नामका संगठन खुलेका छन् र धार्मिक गतिविधि बढाएका छन्। विगत वर्षमा खासै सक्रियता नदेखाएका संगठनहरू पछिल्लो समय तातेका छन्। विभिन्न नामका नयाँ जात्रा र उत्सव हुन थालेका छन्। छपकैयामा गहवा माई रथयात्रा हुन थालेको केही वर्ष मात्र भएको छ।
मुस्लिम समुदायका स्थानीय एक व्यक्ति आफ्नो समुदायले पनि पर्वहरूमा झकिझकाउ गरेर देखावटी शैली शुरू गरेको केही वर्ष मात्र भएको बताउँछन्। वीरगन्जमै जन्मिएर समाजसेवामा क्रियाशील ती व्यक्तिका अनुसार इस्लाम धर्मले फजुल खर्च नगर्नू भने पनि प्रतिस्पर्धाका लागि मुस्लिम समुदायले पर्वहरू खर्चिला बनाउन थालेको छ। नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्, “पहिले पर्वहरूमा सामान्य भोजन र भेटघाट हुन्थे। अहिले घरमा झिलिमिली बत्ती र हरियो झन्डा राखेर झकिझकाउ पार्ने, चर्का गीतहरू बजाउने गरिएको छ।”
वीरगन्जको घण्टाघर चौकस्थित हनुमान मन्दिर।
सामाजिक अभियन्ता जफर अन्सारी भने वीरगन्ज क्षेत्रमा राजनीतिकर्मीले धर्मको राजनीति गरिरहेको र यसले साम्प्रदायिकता फैलाएको टिप्पणी गर्छन्। उनका अनुसार संविधानतः देश धर्मनिरपेक्ष भइसक्दा पनि दलका नेता र जनप्रतिनिधिले निश्चित धार्मिक पन्थलाई प्रधानता दिने गरेका छन्। विविधता नै पहिचान बनेको देशमा एउटा पन्थलाई प्राथमिकता दिंदा एकातिर अराजकताले प्रश्रय पाउन सक्छ, अर्कातिर अन्य समुदायमा असन्तोष बढाउन सक्छ। अहिले त्यही भइरहेको अन्सारीको बुझाइ छ।
अन्सारीका अनुसार वीरगन्जका मेयर राजेशमान सिंहले हिन्दूत्वको राजनीति गरिरहेका छन्। सिंहले सार्वजनिक कार्यक्रममै भारतका सबै तीर्थस्थल वीरगन्जमै बनाउने बताउने गरेको उनको भनाइ छ। तीन वर्षअघि मेयर सिंहले केही वडाध्यक्ष सहितको जम्बो टोली लिएर भारतको महाराष्ट्रमा भाजपाको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का मोहन भागवतसँग भेटेर आएदेखि वीरगन्जमा हिन्दूका धार्मिक सभा बढेको उनी बताउँछन्।
“त्यसपछि समुदायबीच विवाद र टकराव चर्किन थालेको हो। नत्र पहिले यस्तो थिएन। हनुमान् जयन्ती र राम नवमीका वेला हिन्दूहरू छपकैया टोलमा आइपुग्दा हामी सर्बत र फलफूल लिएर बस्थ्यौं,” अन्सारी भन्छन्।
मेयर सिंहले धर्ममा गरेको राजनीतिबारे उनीसँग गुनासो गरे पनि ‘मन्दिरहरू बनाउँछु, कसले रोक्छ’ भनेर हेपाहा जवाफ दिने गरेको उनको भनाइ छ।
दुई समुदायको मनमुटावले वीरगन्ज अहिले निसासिएको छ। कुनै वेला सद्भावमा पग्लिने मन कठोर भएर बदलाको भाव बुनिरहेको पाइन्छ। आफूहरूको र्यालीमा अवरोध गरेको भन्दै मुस्लिमहरूको पर्वमा पनि व्यवधान गर्ने भन्दै केही व्यक्ति उग्र भइरहेका छन्। दुई महीनापछि मोहम्मद डे आउँदै छ। उक्त दिन मुस्लिम समुदायको र्याली घण्टाघर चोक पुगेर छपकैया फर्किने गरेको छ। “उक्त र्यालीमा अवरोध गर्न खोजिएला। तर हामी जिल्ला प्रशासनबाट कडा सुरक्षाको प्रबन्ध गराएर पर्व मनाउनेछौं,” मुस्लिम समाज संघका अध्यक्ष अली भन्छन्।
VIDEO
वीरगन्ज महानगरपालिका-२ का वडाध्यक्ष रियाज अहमद भने विविध धार्मिक आस्था भए पनि स्थानीय समुदाय मिलेर बस्दै आएकामा धार्मिक कार्यक्रममा हुने घूसपैठले विवाद र तनाव बढाउने गरेको आशंका गर्छन्। खुला सीमा भएकाले वीरगन्जको शान्ति खलबल्याउन अरू कसैले खेल खेलिरहेको हुन सक्ने उनको अनुमान छ। अन्यथा स्थानीय स्तरमा दुई समुदायबीच सौहार्द सम्बन्ध नै रहेको उनी बताउँछन्। हुन पनि, छपकैयाको पोखरी किनारमा एकै स्थानमा मुस्लिम समुदायले ईदको वेला नमाज पढ्ने इदगाह र हिन्दूको छठघाट छ। छठघाटमै ईद पर्वमा मुस्लिमहरूले नमाज निर्धक्क पढ्छन्। त्यस वेला विवाद र तनाव नहुने तर जुलुश र सभा भएपछि भने झडप हुने वडाध्यक्ष अहमदको भनाइ छ।
विगतदेखि मिलेर बसेका दुई समुदायबीच विभाजन ल्याउन खोजे पनि त्यसो हुन नदिने उनी बताउँछन्। “झडप हुँदाहुँदा दुई समुदायलाई अलग नै बनाउन लागिसकेका छन्। तर यो हुनु हुँदैन, हामी हुन पनि दिंदैनौं,” उनी भन्छन्। उनका अनुसार चाँडै सद्भाव र्याली गर्ने तयारी छ।
अध्येता भास्कर गौतम वीरगन्जमा पहिले पनि राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिहरूले पहाडे र मधेशीको कार्ड खेलेको र अहिले फेरि हिन्दू र मुस्लिमको कार्ड खेल्न खोजिएको बताउँछन्। धार्मिक विवादले समाजलाई ठूलो क्षति पुर्याउने भएकाले सद्भाव र सहिष्णुता कायम राख्न स्थानीय समुदाय नै गम्भीर बन्नुपर्ने उनको मत छ। उनी भन्छन्, “वीरगन्ज र नेपालगन्ज धर्मको राजनीति हावी हुने ठाउँ हुन्। सद्भावको वातावरण बनाउन सबै समुदाय, राजनीतिकर्मी अग्रसर हुनुपर्छ। अन्यथा धार्मिक विवादले समाजलाई कम समयमा धेरै क्षति पुर्याउँछ।”
‘सामुदायिक सद्भावमा दलहरूको अग्रसरता आवश्यक छ’
रञ्जित साह , सदस्य, हिन्दू स्वयंसेवक संघ तथा प्रवक्ता, हिन्दू समाज, वीरगन्ज।
गत चैत ३० गते तपाईंहरूले आयोजना गरेको शोभायात्रा कार्यक्रममा हिंसा कसरी भड्कियो?
वीरगन्जमा बर्सेनि हनुमान् जयन्तीको दिन शोभायात्रा हुन थालेको १०-१५ वर्ष भइसक्यो। पहिले सधैं शान्तिपूर्ण हुन्थ्यो। तर चार वर्षदेखि शोभायात्रा घण्टाघरबाट छपकैया चोक पुगेपछि केही मानिसले बिथोल्न खोज्ने गरेका छन्। यस वर्ष पनि शोभायात्रामा सहभागीहरूमाथि मस्जिद र यतीमखानाबाट युवाहरूको समूहले ढुंगामुढा बर्सायो, जसबाट १०-१२ जनाको टाउको फुट्यो। त्यहाँ वीरगन्जका विभिन्न टोलबाट मुस्लिम युवा पहिले नै आएर बसेका थिए। किनभने भिडिओमा अरूअरू टोलका युवाहरू पनि देखिन्छन्। उताबाट ढुंगा बर्सिएपछि प्रतिरक्षाका लागि हिन्दू समुदायले पनि ढुंगा हान्यो। त्यसपछि दुई समूहबीच झडप भयो। त्यसपछिको भिडन्तमा प्रहरी पनि घाइते भए। हाम्रो कारणले होइन, प्रहरी र मुस्लिम समुदायका व्यक्तिबीचको झडपपछि राति कर्फ्यू लाग्यो।
विगतका घटनाबाट सिकेर साम्प्रदायिक कलह हुन नदिन, सद्भाव कायम राख्न सजगता अपनाइनुपर्ने हो। तपाईंहरूले कार्यक्रमको उचित व्यवस्थापन गर्न किन सक्नुभएन?
हरेक वर्ष हामी प्रशासनको निगरानीमा रहेर शोभायात्रा निकाल्छौं। तर उहाँहरू (मुस्लिम समुदाय) प्रशासनमा एउटा कुरा गर्ने अनि बाहिर निस्केर वस्तुस्थिति आफ्नो नियन्त्रणमा नभएको बताउनुहुन्छ। गत वर्ष यस्तो घटना हुँदा मस्जिदका मौलानाले ढुंगा हान्ने केटाहरू आफ्नो पकडमा नभएको बताउनुभयो। मुस्लिमहरू दाहा पर्वमा हजारौंको संख्यामा जम्मा हुन्छन्, घण्टाघर नजिकका हिन्दू मन्दिर अगाडि आएर लाठी भाँच्छन्, पेट्रोल मुखमा हालेर आगो उडाउँछन्, हतियार खेलाउँछन्। तर उनीहरूलाई हिन्दूबाट कहिल्यै बाधा हुँदैन। मुस्लिमबाट चाहिं हिन्दू समुदायको पर्वमा किन सधैं अवरोध हुन्छ, थाहा छैन।
हिन्दूहरूले मुस्लिम बाहुल्य ठाउँमा पर्व मनाउँदा झडप हुने, मुस्लिमले हिन्दू मन्दिर अगाडि पर्व मनाउँदा विवाद हुने घटना बारम्बार हुँदै आएका छन्। यस्ता घटनाको दिगो समाधान तपाईंहरू किन खोज्नुहुन्न?
समाधानका लागि हामी सधैं तयार छौं। हिन्दू समाजबाट कहिल्यै बाधा हुँदैन। मुस्लिमहरूको जुलूसमा हिन्दूहरूले फलफूल खुवाउँछन्। तर उनीहरू भन्छन्, हिन्दूदेखि डर लाग्छ। उनीहरूलाई डरै लाग्छ भने आफ्नो पर्व मस्जिदमै मनाऊन्। हिन्दूहरूले पनि मन्दिरमै मनाउँछन्। शान्ति यसरी हुन्छ भने हामी यो पनि गर्न तयार छौं। तर उनीहरू मन्दिरको अगाडि आएर लाठी बजार्छन्। पछिल्लो १०-१५ वर्षयता यस्तो उद्दण्डता देखिएको छ। नेपालमा पहिले यस्तो थिएन।
मुस्लिमहरू आफूलाई अल्पसंख्यक भन्छन्। तर जिल्ला जिल्लामा उनीहरूबाटै प्रहार हुँदै आएका छन्। हनुमान् जयन्तीको शोभायात्रामा प्रहार, बारामा दुई वर्षअघि छठ पूजामा भएको घटना, रौतहटमा सरस्वतीको मूर्ति विसर्जन गर्न जाँदा अवरोध लगायत घटना भएका छन्। धनुषा र महोत्तरीमा पनि छठका घाटमा उनीहरूले आफ्नो झन्डा गाडिदिने गरेका छन्। उनीहरूको जनसंख्या वृद्धि भएसँगै उद्दण्डता बढेको छ।
VIDEO
विवाद र समस्या सुल्झाउन दुवै समुदायका प्रमुख व्यक्तिहरू बसेर कति पटक छलफल गर्नुभयो?
जिल्ला प्रशासन कार्यालय, पर्साको नेतृत्वमा पाँच पटक छलफलमा बसिसकेका छौं। छलफलमा हिन्दू समाजले शोभायात्रा निकाल्ने वेला मुस्लिम समुदायले पनि सघाउने, आफ्ना युवाहरूलाई पनि सम्झाउने सहमति भएको हुन्छ। तर उनीहरू आफ्नो ठाउँमा पुगेपछि सहमति तोड्छन्।
भारतसँगको खुला सीमाका कारण नेपालका हिन्दू पर्वहरू पारिको प्रभावमा परेको भनिन्छ नि!
भारतीयहरू नेपालमा मनाउन आउने कुनै चाडपर्व छैन। उनीहरू उतै अनेक उत्सव गर्छन्, रमाउँछन्। त्यसैले प्रभाव भन्न बन्द गरिनुपर्छ।
वीरगन्जमा अहिले हिन्दू र मुस्लिम समुदायबीचको सम्बन्ध कस्तो छ?
अहिले हामीबीच विश्वास हराएको छ। मुस्लिम समाजको व्यवहारले गर्दा यस्तो भएको हो। उनीहरूले कति वेला के गर्छन् भन्ने विश्वास छैन।
तपाईंहरू एकअर्का समुदायलाई दोषारोपण गरिरहनुभएको छ। यो स्थितिमा समस्या समाधान गर्न प्रशासन र राजनीतिक दलले नै भूमिका खेल्नुपर्ने हो?
त्यो त पर्यो। तर मुस्लिम समुदायले समाज र देशका लागि नसोच्दासम्म प्रशासनले पनि केही गर्न सक्दैन। यहाँ १०० जना हिन्दू भएको ठाउँमा दुई जना मुस्लिम सजिलै बस्न सकेका छन्। तर १०० मुस्लिम बसेको ठाउँमा दुई हिन्दू परिवारको बसोबास छ भने तिनलाई बस्नै मुश्किल बनाइएको छ। प्रशासनले घटनाका दोषीलाई कठोर कारबाही गर्नुपर्छ।
राजनीतिक दलका नेताहरूले बल्ल हाम्रो विवाद बुझ्नुभएको छ। उहाँहरूले पहिलो पटक यस घटनाबारे चिन्ता लिनुभएको छ। यसको समाधान नखोजे समाज विभाजन हुन सक्ने खतरा उहाँहरूले देख्नुभएको छ। यो संवेदनशीलता बुझेर आपसी मेलमिलापमा कायम गर्नेतर्फ लाग्नुपर्छ।
‘सद्भाव बढाउन दुवै समुदाय अग्रसर हुनुपर्छ’
मोहम्मद महबुब अली (शेरू आलम ), अध्यक्ष, नेपाल मुस्लिम समाज संघ।
चैत ३० गते वीरगन्जमा भएको धार्मिक दंगाको दोष एउटा समुदायले अर्कोलाई लगाउँदै आएको छ। घटनाबारे के भन्नुहुन्छ?
त्यो घटना दुःखद र निन्दनीय छ। विगतमा पनि यस्तो घटना भएको रहेछ। त्यसैले यस्तो किन र कसरी हुन्छ भन्नेबारे अनुसन्धान हुनुपर्छ। घटनापछि केही दिनअघि जिल्ला प्रशासन कार्यालय, पर्सामा पाँचबुँदे सहमति भयो। हामी संविधान मान्ने, कानूनको दायरामा बस्ने मानिस हौं। हाम्रो मुस्लिम समुदायबाट कुनै कमजोरी भएको भए अनुसन्धान गरेर कारबाही गरिनुपर्छ। तर अनुसन्धान निष्पक्ष हुनुपर्छ र जस जसको दोष देखिन्छ, उसैलाई कारबाही हुुनुपर्छ। हिन्दू समुदायका प्रतिनिधिले पनि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा यस्तै कुरा राख्नुभयो। तर सहमति भएपछि पनि बेलुका प्रदर्शन गर्नुभयो।
चैत ३० को घटनामा मुस्लिम समुदायलाई धेरै आरोप लगाइएको छ। मुस्लिम युवकहरूले हनुमान् जयन्तीको शोभायात्रामा ढुंगा हाने भनिएको छ। घटना भएको दिन शोभायात्रामा सीडीओ र एसपी दुवै जना झडपस्थलमा हुनुहुन्थ्यो। प्रशासनले ड्रोन क्यामेरा मार्फत पनि निगरानी गरेको थियो। घटनाबारे अनेक कुरा फैलिइरहँदा छिटोभन्दा छिटो अनुसन्धान गरेर दोषीलाई कारबाही गरियोस्। प्रशासनको ड्रोन क्यामेराले रेकर्ड गरेका भिडिओ हेरे झडपको शुरूआत कहाँबाट कसरी भएको थियो भन्ने थाहा भइहाल्छ। त्यो चाँडै हेरियोस्। त्यो भिडिओ हामीले पनि हेर्यौं। त्यस दिन मुस्लिम युवकहरूले ढुंगा हानेकै हुन्, यो कुरा हामी स्विकार्छौं। तर ढुंगा हान्नुको कारण के थियो, किन र कति वेला उनीहरूले ढुंगा हाने, यसबारे छानबिन हुनुपर्छ। त्यसबाट जो दोषी देखिन्छ उसलाई कारबाही हुनुपर्छ।
त्यो दिन छपकैयामा दुई समुदायबीच झडप हुनुको कारण के थियो?
वीरगन्ज महानगरपालिका-२, छपकैयामा हिन्दूभन्दा मुस्लिम समुदाय धेरै छन्। छपकैयामा यसअघि हिन्दू-मुस्लिम समुदायबीच मनमुटावका कुनै पनि घटना भएको थिएन। तर यसपालि यो बाटो भएर हनुमान् जयन्तीको शोभायात्रा हुने क्रममा यस्तो घटना भयो। यसको कारण के हो, हामीलाई पनि थाहा छैन। यदि छपकैयाका मुस्लिमहरूको मानसिकता खराब हुन्थ्यो भने वर्षौंदेखि यही क्षेत्रमा बसिरहेका हिन्दूहरूसँग विवाद, तिक्तता र झैझगडा हुन्थ्यो होला। तर आजसम्म नराम्रो छैन।
यस घटनापछि तपाईंहरूले हिन्दू समुदायलाई हेर्ने नजर परिवर्तन भएको छ?
हिंसा भड्किएपछि जुन ढंगले मुस्लिमहरूको पसल तोडफोड, आगजनी गरियो, त्यसले मनमा डर बढाएको छ। तर बस्तीमा बसोबास गर्ने दुवै समुदायबीच अहिले पनि भ्रातृत्व भाव र मेलमिलाप छ। यहाँ मुस्लिम र हिन्दू सधैं मिलेर बसेका छौं। यो घटनाले माहोल बिग्रिएकाले होला, मनमा डर चाहिं हुँदो रहेछ। यो डर यहाँ बसोबास गर्ने मानिसहरूसँग भने होइन। हामी त देशको अल्पसंख्यक समुदाय हौं। त्यसैले बहुसंख्यक हिन्दूजनले हामीलाई संरक्षण दिनु उहाँहरूको कर्तव्य हो।
हिन्दू र मुस्लिम दुवै समुदायले धार्मिक कार्यक्रम गर्नुअघि अराजक नहुने, अरूलाई दखल वा अवरोध नपुर्याउने, हतियार प्रयोग नगर्ने भनेर सहमति हुने, तर कार्यक्रम गर्दा यी कुराको पालना नगरेको स्थानीय प्रशासनले पाएको छ। सहमतिको पालना किन गरिंदैन?
हामीले यसअघि गीत र डीजेको आवाज सम्बन्धमा सहमति गरेका थियौं। निश्चित आवाजभन्दा चर्को बजाउन नपाइने तोकिएको थियो। तर त्यो सहमति हिन्दू समुदायले पालना गरेन।
मुस्लिम समुदायको मोहर्रम वा दाहा पर्वमा हातहतियारको प्रयोग गरिन्छ। यस पर्वमा ५०औं वर्षदेखि छपकैयाबाट जुलूस निस्किन्थ्यो। जुलूसका क्रममा हामी विभिन्न कला पनि देखाउँछौं। तर हिन्दू समुदायले हतियार देखाएर तर्साएको बताएपछि हामीले जिल्ला प्रशासन कार्यालयमा गएर हतियार नदेखाउने सहमति पनि गर्यौं। त्यसपछि हतियारको संख्या धेरै घटायौं। एक-दुई जनाले मात्र बोकेका हुन्छन्। तर अर्को समुदायले सहमति गरे पनि पालना गरिरहेको छैन। त्यसमा कडाइ हुनुपर्छ।
VIDEO
यस झडपपछिका घटनाले तपाईंहरूको आउँदै गरेको पर्वमा कस्तो असर पार्लान्?
दुई-अढाई महीनामा मोहर्रम पर्व आउँदै छ। त्यो मनाउन हामीले सुरक्षित महसूस गरेका छैनौं। पर्वका लागि हामी जिल्ला प्रशासन कार्यालयमा गएर सुरक्षाको माग गर्नेछौं। अरूको चित्त पनि नदुखोस् र हामीले पनि पर्व मनाउन पाइयोस् भनेर छलफल गरेरै अगाडि बढ्नेछौं।
धार्मिक जुलूस तथा यात्रामा अवरोध र झडपका घटना हुन नदिन दुवै समुदायका अगुवा व्यक्तिहरू छलफलमा बसेर कार्यक्रम अनुशासित बनाउने पहल कत्तिको भएको छ?
पर्सा जिल्लामा कोमल शाह एसपी हुँदा यस्तै घटना भएको थियो। उहाँको पहलमा आपसी सद्भाव साटौं भनेर ईद मिलन समारोह आयोजना गरी सबैलाई बोलाएका थियौं। त्यहाँ राजनीतिक दलका नेता, सुरक्षाकर्मी, सामाजिक व्यक्तिहरू सबै जना आउनुभयो, तर हिन्दू समुदायका अगुवाहरू आउनुभएन। हामीले पहल गरे पनि जोसँग सद्भाव कायम गर्नुपर्ने थियो उहाँहरू नै नआएपछि छलफल हुनै पाएन।
हिन्दूले मन्दिर र मुस्लिमले मस्जिदमा आफ्ना कार्यक्रम सीमित गर्दा पो यस्तो विवाद र तनाव निम्तिने थिएन कि?
हरेक वर्षको बिग्रेको माहोल हेर्दा त धार्मिक कार्यक्रम आफ्नै ठाउँमा गर्न ठीक हुन्छ जस्तो लागेको छ। मोहर्रमको र्याली निकाल्दा ढुंगा हानिने डर छ। तर हामी जिल्ला प्रशासन कार्यालयसँग छलफल नगरी यी निर्णय लिंदैनौं। अर्कातिर, मुस्लिम समुदाय संविधानमा विश्वास गर्छ। लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थायुक्त संविधानले धार्मिक र्याली गर्ने स्वतन्त्रता र अधिकार दिएको छ। तर आफूले गरेको कार्यले अर्को समुदायलाई असर नपरोस् भन्ने ध्यान राख्नेछौं।
धार्मिक दंगा र झडपका घटनाले नयाँ पिंढीलाई त के सिकाइरहेको होला?
अहिलेको खराब माहोलले हाम्रो दुवै समुदायमा भ्रातृत्वलाई धेरै टाढा लगेको छ। सामाजिक सञ्जालमा नकारात्मकता फैलाइरहेको छ। यसले नयाँ पिंढीलाई तनाव दिएको छ। उनीहरूले अर्को समुदायसँगको भ्रातृत्व भावना भुल्दै छन्। यो समाज, स्थानीय सरकार र राज्यका लागि गम्भीर विषय हो।
दुई समुदायबीच सामाजिक सद्भाव कायम गर्न अब तपाईंहरू के गर्नुहुन्छ?
सद्भाव बनाउन खासगरी राजनीतिक दल, सामाजिक अगुवा र दुवै समुदायको धर्मगुरुले पहल गर्नुपर्छ। यस्तो पहल नभए हामो समाज कहाँ जान्छ, थाहा हुँदैन। त्यसैले पहल गर्न ढिलो नगरियोस्। आपसी सद्भाव कायम नभए हामी कोही पनि सुरक्षित छैनौं।
हिजो दुई समुदायबीच कुनै कटुता र दूरी थिएन। साथी र दाजुभाइ जसरी एकै टेबलमा बसेर पनि खाना खाएको हो। तर आज सँगै बस्न डर छ। यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्छ। राजनीतिक दलका अगुवाहरूले दुई कदम अगाडि बढेर यस्ता विवाद मिलाउन र सद्भाव कायम गरी समाज पहिले जस्तै शान्त र जीवन्त बनाउन जुट्नुपर्छ। राजनीतिक र सामाजिक व्यक्तिहरूले यस विषयमा नबोले हामी दुवै समुदायका व्यक्तिहरूले आआफ्नो ठाउँबाट शान्ति र सद्भावना बढाउने काम गर्नुपर्छ।
(सम्पादन : जीवन कार्की , भाषा: प्रद्युम्न खनाल )