किसुनजीलाई बीपीले दिएको संज्ञा ‘इन्करिजिबल अप्टिमिस्ट’
बीपी कोइराला छँदै पनि कांग्रेसबाट ३८ जना छुट्टिएर गए। कतिले भने- अब नेपाली कांग्रेस चोइटियो। बीपीले जवाफ दिनुभयो, “केको चोइटिनु? जहाँ बीपी, गणेशमान, कृष्णप्रसाद छन्, त्यही हो नेपाली कांग्रेस।”
पहिलो जनआन्दोलन सफल भएको पृष्ठभूमिमा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई दिल्ली विश्वविद्यालयले मानार्थ विद्यावाचस्पति (विद्यावारिधि)को उपाधि दिएको थियो। त्यस कार्यक्रममा उहाँले पाठ गर्न लगेको भाषण हराउनुभयो। त्यसपछि तत्काल स्वतस्फूर्त रूपमा मन्तव्य दिनुभयो, जुन निकै राम्रो थियो। यसै क्रममा यताउता छामछुम गर्दैगर्दा कोटको गोजीमा लिखित भाषणको कागज भेट्नुभयो। त्यो कुरा सबैले चाल पाए। त्यसपछि ठट्टा गर्दै उहाँले भन्नुभयो, “अहिलेसम्म जति बोलें, ती सबै अनौपचारिक थिए। अब म औपचारिक भाषण पढ्छु।”
उहाँले आफ्नो संकटको समाधान खोजिसक्नुभएको थियो। सबै अतिथि उहाँको तीक्ष्णता देखेर हाँसे। त्यहाँ बोलाइएका सबै नेपाली विद्यार्थीका लागि त्यो रमाइलो क्षण थियो। कार्यक्रमपछिको चियाखाजामा पनि उपस्थित राजनीतिकर्मी तथा प्राध्यापकहरूसँगको अन्तरक्रियामा देखिएको उहाँको सरलता र स्वाभिमान लोभलाग्दो थियो।
यस लेखकलाई सम्झना छ, शुरूको अनौपचारिक भाषणमा किसुनजीले मानार्थ विद्यावारिधिको उपाधि पाउँदा आफू यसका लागि उचित पात्र नभए पनि हृदय भने गुन्जायमान भएको बताउनुभएको थियो। यसका लागि उहाँले अंग्रेजी शब्द ‘सोनोरस’ को प्रयोग गर्नुभएको थियो। पछि विद्यावाचस्पतिको उपाधि लिइसकेपछिको अन्तरक्रियामा पनि उहाँले भाइसचान्सलर प्रा. उपेन्द्र बक्सीलाई यस्तै केही भन्नुभयो, “यू नो प्रोफेसर बक्सी, आई एम नट एन एकेडेमिक पर्सन। अलदो, द पीएचडी डिग्री मेक्स मी सोनोरस, आई डिप्ली फिल आई डु नट डिजर्भ इट विदाउट वर्किङ फर इट। डु यू सी, ह्वेयर ह्याभ यू ब्राउट दिस स्ट्रीट पर्सन टु?”
किसुनजीमा अंग्रेजी साहित्यको यति प्रभाव थियो, उहाँ सामान्य अंग्रेजी बोलीचालीमा पनि त्यो प्रभावबाट मुक्त हुनहुन्नथ्यो। जोन मिल्टन, लंगफेलो, टेन्निसन, वाल्ट ह्वीटम्यान जस्ता प्रसिद्ध कविहरूले आफ्ना चर्चित कविताहरूमा ‘सोनोरस’ शब्द प्रयोग गरेका छन्।
किसुनजी पाश्चात्य साहित्यमा राम्रो दखल राख्नुहुन्थ्यो। यद्यपि उहाँको वरिपरि र समारोहहरूमा त्यो प्रतिभालाई बुझ्न सक्ने वा कोट्याउन सक्ने मान्छे कमै देखिन्थे। उहाँ साहित्य सिर्जनामा लाग्नु पनि भएन। तर उहाँको साहित्य अनुराग ठाउँ ठाउँमा पढ्न पाइन्छ। डा. राजेश गौतमलाई दिएको एउटा अन्तर्वार्तामा त उहाँले एघारौं शताब्दीका पर्सियन कवि ओमर खय्याम अंग्रेजी साहित्यमा ‘रोमान्टिसिज्म’ (स्वच्छन्दतावाद)को जनक नै भएको दाबी गर्नुभएको छ। सबैले त्यो नमान्न सक्छन्। ओमर खय्यामका रुवाइयातलाई धेरै शताब्दीपछि अंग्रेजी कवि एडवार्ड फिट्जेराल्डले अंग्रेजीमा अनुवाद गरेका थिए। यो अनुवाद यूरोपमा अत्यन्त चर्चित रह्यो। यसैको प्रभावस्वरूप त्यहाँ साहित्यमा ‘रोमान्टिसिज्म’ शुरू भएको किसुनजीको दाबी छ। उहाँको भनाइमा वर्डस्वर्थ, किट्स, शेली, वायरन आदि सबै यसैबाट प्रभावित भएका हुन्।
ओमर खय्यामको एउटा रुवाइयातबारे किसुनजीले चर्चा पनि गर्नुभएको छ। उक्त रुवाइयातको सार यस्तो छ- मैले धेरै परिश्रम गरें, र सात वटै ज्ञानको ढोका पार गरी सूर्य नजीकै पुगें। बाटोमा देखिएका सबै बाधा समाधान गर्दै अगाडि गएँ। यति हुँदा पनि मैले मानिस, नियति र मृत्युबारे केही पनि बुझ्न सकिनँ। भाग्य, आयु वा भविष्यबारे थाहा पाउन गाह्रो छ। कालसँग नडराउने मानिस कोही छैन, तर यसलाई कसैले जित्न सकेको छैन। काललाई जित्ने कोशिशमा मानिसले लेखेका सबै दर्शन प्रयत्नहरू मात्र हुन्। विभिन्न औषधि र व्यायामको विकास भए पनि अहिलेसम्म कसैले काललाई जित्न सकेको छैन। यी मान्यता किसुनजीले ओमर खय्यामसँग सापटी नै लिएको देखिन्छ।
साहित्यमा बीपी कोइराला, गणेशमान सिंह तथा किसुनजी अलग अलग दृष्टिकोण राख्नुहुन्छ। तर उहाँहरू जीवनभर अनन्त मित्रका रूपमा मात्र रहनुभएन, नेपाली कांग्रेसको आदर्श निर्माणमा उहाँहरूबीच सधैं एकता रह्यो। छलफलका क्रममा विभिन्न विचार प्रस्तुत भए पनि बीपीको राजनीतिक-वैचारिक नेतृत्वमा उहाँहरू सबैको कटिबद्धता थियो। उमेरले गणेशमानजी बीपीभन्दा एक वर्ष र किसुनजी १० वर्ष कान्छो हुनुहुन्थ्यो। नेपाली कांग्रेसको कहिले सफल, कहिले असफल र कहिले विषादपूर्ण प्रजातान्त्रिक संघर्षमा उहाँहरूबीच राजनीतिक मनोमालिन्य कतै देखिंदैन। यस अवधिमा पार्टीका कतिपय भरपर्दा साथीहरू पलायन भए, धोका दिए वा अन्य पक्षसँग सहकार्य गर्न पुगे। उहाँहरूलाई आफ्नो राजनीतिक उद्देश्यले जहिल्यै बाँधेर राख्यो।
यति मात्र होइन, किसुनजीलाई बीपीले ‘इन्करिजिबल अप्टिमिस्ट’ भन्नुहुन्थ्यो रे। अर्थात्, कहिल्यै सुधार हुन नसक्ने आशावादी मानिस। कसैलाई शत्रु नदेख्ने। आफ्नै विरुद्ध कसैले काम गरिरहेको छ भने पनि उहाँको सोचाइ त्यस्तै हुन्थ्यो। उहाँ ‘मेरै कुबुद्धिले गर्दा यस्तो भएको हो’ भन्नुहुन्थ्यो। “आफू साधारण मान्छे भए पनि भगवान्को कृपा र जनताको विश्वासले गर्दा यत्रो ख्याति पाएको छु। काम गरेको छु। काम गर्ने सहुलियत पनि छ। मलाई पूरा सन्तोष छ,” उहाँ भन्नुहुन्थ्यो। किसुनजीको दृष्टिमा बीपीले त्यसै कारण ‘इन्करिजिबल अप्टिमिस्ट’ भन्नुभएको होला।
तर गणेशमानजी र बीपी स्वयम् पनि किसुनजीभन्दा कम आशावादी हुनुहुन्नथ्यो। आशा विनाको संघर्षले परिणाम नदिने मात्र होइन, जुझारुपनाका लागि अत्यावश्यक नैतिक बल पनि पाउन सक्दैन। यो संघर्षमा उहाँहरू जीवनभर एकढिक्का देखिनुभयो।
संघर्षमा उहाँहरूबीच पारस्परिक आत्मविश्वास पनि थियो। राष्ट्रियता, प्रजातन्त्र र समाजवादका सिद्धान्तहरूले अन्योन्याश्रित सम्बन्ध राख्थे। राष्ट्रिय मेलमिलापको सिद्धान्तले मुलुकको दीर्घकालीन राजनीतिलाई व्यक्त गर्थ्यो। यो सबैको लगानीमा स्थापित भएको ब्यानर थियो नेपाली कांग्रेसको। सबै राजनीति यिनै स्थापनाकालीन सिद्धान्तको वरिपरि घुम्थे। किसुनजीको भनाइमा “यो राजनीतिमा बीपीको एउटा ठूलो छत्रछाया थियो। ... उहाँलाई हामीले प्रारम्भदेखि नै मानिआएका हौं, शुरूमै जबदेखि यो पार्टीको जन्म भयो... त्यो परम्परा अहिलेसम्म चलेकै थियो। उहाँको कुरा हामी काट्दैनथ्यौं। उहाँ हामीले भनेको काट्नुहुन्नथ्यो। यसरी हामीबीच सौहार्दपूर्ण सम्बन्ध थियो।”
बीपी छँदै पनि कांग्रेसबाट ३८ जना छुट्टिएर गए। कतिले भने- अब नेपाली कांग्रेस चोइटियो। बीपीले जवाफ दिनुभयो, “केको चोइटिनु? जहाँ बीपी, गणेशमान, कृष्णप्रसाद छन्, त्यही हो नेपाली कांग्रेस।” त्यसपछि चोइटिएको प्रसंग इतिहासबाट हराएर गयो। त्यत्रो ‘अथोरिटी’ गणेशमानजी र किसुनजीमा निश्चय पनि थिएन। तर बीपीले सिर्जना गरेको त्यो ‘अथोरिटी’ लाई प्रश्न गर्ने कसैको हिम्मत थिएन। तिन ताका गाउँ गाउँमा ‘प्रजातन्त्रका तीर कमान, बीपी, भट्टराई, गणेशमान’ भनेर नारा लाग्थ्यो। विभाजित पार्टी वा विभाजित नेतृत्वमा यो सम्भव थिएन।
किसुनजी बीपी र गणेशमानजी जस्तै सत्यवादी र निष्ठावान् हुनुहुन्थ्यो। तर उहाँलाई ईश्वरमा विश्वास थियो। ईश्वरप्रतिको असामान्य विश्वासले बीपी र किसुनजीबीचको फरकलाई प्रतिविम्बित गर्थ्यो। किसुनजीको भनाइ थियो, ‘राम्रो काम गर्ने हो, राम्रो-नराम्रो भगवान्ले हेर्नेछन्।’ भगवान्लाई प्राप्त गर्नु आफ्नो जीवनको उद्देश्य हो भन्नुहुन्थ्यो। उहाँका लागि सत्य र भगवान्मा फरक थिएन। “जीवन भगवान्को उपहार हो। आफ्नो योग्यता, बुद्धि र क्षमताले भ्याएसम्म त्यसलाई सदुपयोग गर्नुपर्छ। भगवान्ले पुरस्कार दिन्छन्,” उहाँ भन्नुहुन्थ्यो, “म कहिले पनि जीवनमा असन्तुष्ट छैन। मैले थाहा पाइसकेको छु कि आफ्नो आध्यात्मिक विकासले गर्दा र एउटा व्यावहारिक ज्ञानले गर्दा मलाई कसैसँग पनि ईर्ष्या हुँदैन। फलानो त बडो सुखी छ, म यस्तो भएँ भनेर कहिल्यै सोच्दिनँ। किनकि म आफूलाई दुःखी मान्दै मान्दिनँ।” किसुनजीले बाँचेको जीवन बोलेको जीवनभन्दा फरक देखिंदैन।
किसुनजीलाई धेरैले सन्त नेता त्यसै भनेका थिएनन्। उहाँ भन्नुहुन्थ्यो, “मलाई मेरो आध्यात्मिक ज्ञान र भगवान्को कृपाले यति भइसक्या छ कि यहाँ कोही मानिस जसले जन्म लियो, सुखी मात्र हुन सक्दैन। अभाव मात्र नै पनि दु:खको मूल कारण होइन, त्यो पनि मैले बुझेको छु। सुखको मूल कारण धन र मान पनि होइन। त्यति मैले बुझेको हुनाले मेरा लागि ईर्ष्या र द्वेष केही पनि होइन। वैर पनि छैन। तपाईंले क्रोध सञ्चित गरेर राख्नुभयो र बदला लिने अनेकौं उपाय र त्यसलाई बढीभन्दा बढी दुःख दिने सोचिरहनुभयो भने त्यसलाई नै वैर भन्दछन्। त्यस्तो वैर पनि मलाई कसैसँग छैन। न ईर्ष्या, न द्वेष, न क्रोध। क्रोध नै छैन भन्दा क्षणिक कहिलेकाहीं कसैले केही नहुने काम गर्यो भनेदेखि म त भन्न सक्दिनँ।” जस्तै- बीपीको आत्मवृत्तान्तमा सुन्दरीजल जेलमा किसुनजीले रिसाएर आफूले खाएको जुठो पानी मेजरको मुखमा हुत्याइदिनुभएको प्रसंग छ। त्यहाँ अर्घेलो किसुनजीकै थियो। तर त्यो उहाँको मानक थिएन। किसुनजी भन्नुहुन्छ, “यदि त्यो पनि नहुने हो भने त म महात्मा बुद्ध नै भइसक्थें। तर त्यो क्षणिक मात्रै हो। त्यसमा वैरको लेस मात्र पनि छैन। त्यो रहने चीज पनि होइन।”
एक पटक सुन्दरीजलमा किसुनजीले अनशन गर्नुभएछ, सात दिनसम्म। उहाँको कुनै स्पष्ट माग थिएन। कारागारका अधिकारीहरूको आचरणको विरोध गर्दै अनशन गर्नुभएको थियो। सात दिनपछि कारागारका जर्नेलसँग कुरा भयो र उहाँले अनशन तोड्नुभयो। उहाँलाई सामान्य शिष्टाचारले पुग्थ्यो।
२०२० सालतिर कारागारमा रहँदा किसुनजी उपनिषद्को पाठ गर्नुहुन्थ्यो। हुन त सुन्दरीजलमा बीपीसँग थुना परेका सबैले उपनिषद् पढ्थे। एक वर्षसम्म उपनिषद्को क्लास पनि भयो। एक जनाले पढ्ने, अरू सबैले अर्थ लगाउने। रामनारायण मिश्र, गणेशमानजी, बीपी सबैले आआफ्नो व्याख्या प्रस्तुत गर्नुहुन्थ्यो। किसुनजीमा धार्मिक आस्था भएको हुनाले आलोचनात्मक बन्न सक्नुहुन्नथ्यो। तर बीपीले चाहिं ‘उपनिषद्ले पनि मलाई कुनै आशा जगाएन’ भनी जेल जर्नलमा लेख्नुभएको छ। उपनिषद्को भाषा राम्रो छ। कतिपय ठाउँमा झरना झरे जस्तो उत्कृष्ट वाणी पनि सुनिन्छ। घतलाग्दा वाक्यहरू छन्। तर बीपीको भनाइमा सत्य, अहम् र जीवनको समस्याका लागि उपनिषद् प्रयोजनविहीन छ। यसमा प्रश्नको उत्तर छैन, समस्याको समाधान छैन। जीवनसँग एकदमै असंगत छ। आफूले बौद्धिक अनुशासनका लागि मात्र उपनिषद् पढेको बीपीको भनाइ छ।
किसुनजीलाई योगी श्री अरविन्दको ‘इभनिङ टक्स’ मन पर्थ्यो। तिन ताका उहाँ यो सधैं पढ्नुहुन्थ्यो। बीपीलाई भने अरविन्दप्रति आकर्षण थिएन। उहाँको विचारमा अरविन्दको लेखन अत्यन्त अस्पष्ट र कठिन थियो। विचार अस्पष्ट भएकाले लेखाइ पनि अस्पष्ट हुन गएको हो कि भन्ने उहाँको सोचाइ थियो।
बीपीले एक पटक किसुनजीलाई सोध्नुभयो, “अरविन्दमा के सत्य पाउनुभयो?”
किसुनजीको जवाफ थियो, “मुक्तिको अर्थ इभिल र गुड दुवैबाट मुक्त हुनु हो।” यी दुवै आत्माका कोसा हुन्। आत्माको साक्षात्कारका लागि तिनलाई उघार्नुपर्छ।
बीपीले अर्को प्रश्न गर्नुभयो, “इभिल र गुड भनेको के हो?”
यो प्रश्नले तिनको परिभाषा खोजेको थियो। के यी दुवै शब्द सापेक्ष प्रत्यय होइनन् त? के यिनीहरूको समाजेतर परिकल्पना सम्भव छ? सम्भव छैन भने आत्माको निरपेक्षताको सन्दर्भमा तिनको चिन्तन गर्न सकिन्छ? यस्ता प्रश्न बीपीका लागि महत्त्वपूर्ण थिए। आफ्नो कुरालाई बीपीले एउटा उदाहरण दिएर स्पष्ट गर्नुभएको छ। मानौं, कुनै बालक कुनै सामुद्रिक टापुमा जन्मियो र हुर्कियो। उसले कुन अर्थमा ‘सु’ या ‘कु’ को विचार राख्ने? बीपीले भन्नुभयो, “सत्य र असत्यको अर्थमा, टापुका जुन फल र वनस्पतिले उसको शरीरमा विकार उत्पन्न गराउँछन्, ती कु या असत्य हुन् र जुनले पोषण दिन्छन्, ती सु या सत्य हुन् भन्ने हो भने तर्क त शुद्ध भौतिकवादी तर्क हो। जुन तर्कले आत्मा या परमात्माको अपेक्षा गर्दैन। हाम्रो यो टापुको व्यक्तिले कुन इभिल र गुडको कोसाबाट आफूलाई बाहिर झिक्ने हो?”
यी शंकाको जवाफ किसुनजीसँग थिएन। उहाँको भनाइ थियो, “समाजको प्राणी भएर नै मानिस मुक्तिको साधन उपलब्ध गर्छ। अर्थात्, सामाजिक प्राणीले मात्र मुक्तिको परिकल्पना गर्छ र उसका लागि मात्र मुक्तिद्वार उद्घाटित हुन्छ।”
बीपीको भनाइमा किसुनजीले तर्क त गर्नुभयो, तर त्यसको परिणाम बुझ्नुभएन। “इभिल र गुड सामाजिक संस्कार हुन्; मुक्ति तिनै सामाजिक संस्कारको परतबाट उन्मुक्त हुँदै जानु हो। अर्थात्, प्राणीले समाजभित्र संस्कारको आवरण ओढ्न पस्नुपर्छ, र त्यही आवरणलाई फेरि फ्याँक्न जीवन पर्यन्त प्रयत्नशील हुनुपर्छ,” बीपीको भनाइ थियो, “टापुको व्यक्तिले समाजमा आउनुपर्छ र उसको अध्यवसायी प्रयत्न के हुनुपर्छ भने समाजमा पस्नुभन्दा अगाडि जुन संस्कारहीन अवस्थामा त्यो थियो, त्यही अवस्थामा पुनःप्राप्त हुनु। समाजमा आउनु त उसका लागि निरर्थक भयो। किनभने टापुको अवस्थामा त्यो संस्कारहीन ईश्वर थियो।” यो तर्कले अध्यात्मवादीहरूलाई हो त नि भन्ने लाग्दैन।
बीपीको स्पष्ट दृष्टिकोण छ, “सम्पूर्ण रूपले उनीहरू (अध्यात्मवादीहरू) कोे बुद्धिभ्रम तब हुन्छ, जब उनीहरू मुक्तिलाई केवल संस्कार (सामाजिक अर्थमा)बाट मुक्त हुने अर्थमा नभई जीवन-धर्मको संस्कारबाटै मुक्त हुने अर्थमा प्रयोग गर्छन्। हाम्रो टापुको मानिसलाई नैतिकताको अर्थमा सु र कु तात्पर्यहीनता होस्, तर सत्य तथा असत्यको अर्थमा (हाम्रो उदाहरणमा आएका वनस्पतिहरू जसमा कुनै त स्वास्थ्यको दृष्टिबाट लाभदायक भएकाले सत्य छन् र कुनै अस्वस्थ्यकर भएकाले असत्य) सु र कु तात्पर्यहीन छैनन्।”
बीपीको भाषा क्लिष्ट भए पनि कुरा स्पष्ट छ।
यसलाई अझ व्याख्या गर्दै उहाँ भन्नुहुन्छ, “अध्यात्मवादीहरूको चेष्टा त यस दैहिक सत्यबाट पनि माथि उठ्ने हुन्छ। यस्तो भौतिक सत्य त पशु-सत्य हो। उनीहरूको दृष्टिमा कुनै पनि जैवचेष्टा पशुवृत्ति हो। निष्काम हुने उनीहरूको सल्लाह जैवचेष्टाबाट शून्य हुने हो। भोजनका प्रति आशक्ति, यौनका प्रति वासना, दैहिक सुखका प्रति कामना, आत्मरक्षाको सहजवृत्तिका, विभिन्न अभिव्यक्तिहरू (लोभ, क्रोध) जैवचेष्टाका लक्षण हुन्। जीवगुण हुन्। यी चेष्टाहरू निश्चय नै सामाजिक या अरू कारणले (जस्तो- कुशिक्षा) जीव सत्यको सीमा उल्लंघन गर्छन्- जस्तो अधिक भोजनका लागि, अधिक मिथुनको वासना। त्यसो हुनाले सीमाभित्र यिनीहरूलाई राख्नुपर्छ। यहाँ संयमको व्यावहारिक लाभ स्पष्ट छ। तर के संयम मुक्ति हो? संयमसम्म मात्र अध्यात्मवादीहरूलाई - १२४ संयम रहेको भए - सीमा बन्धनमा उनीहरूले आफूलाई पनि राखेको भए- भौतिकवादी र आत्मवादीमा कुनै फरक रहने थिएन। संयम होइन, मुक्ति पो अध्यात्मवादीहरूको लक्ष्य छ।”
अध्यात्मवादका सम्बन्धमा बीपी र किसुनजीबीचको फरक यही हो।
बीपीको अध्यात्मतर्फका प्रश्नहरू त्यस्ता भए पनि राजनीतिमा नैतिकता उहाँको प्रिय विषय थियो। आफ्नो प्रजातान्त्रिक प्रतिबद्धताका लागि राजासँग न माफी माग्नुभयो न त त्यसबाट भागेर हिंड्नुभयो। दुवै अवस्थामा उहाँले भोग्नुपरेको यातना उहाँका लागि मात्र नभएर संघर्षरत सबैले भोगेकै थिए। बीपीको भनाइ थियो, “राजनीतिक कुरा पन्छाएर राखे पनि यदि हामी यातनालाई खप्न नसकेर माफी माग्न गयौं भने हाम्रो नैतिक भावनालाई यत्रो ठूलो आघात पर्नेछ कि जीवनपर्यन्त हामी आफैंलाई धिक्कारिरहनेछौं। असम्मानको जीवनभन्दा सम्मानयुक्त मृत्यु हामीलाई मन पर्छ। हाम्रो यो यातना सम्मानको रोजाइ हो। र, यदि राजनीतिक दृष्टिबाट विचार गर्ने हो भने पनि हाम्रो यो यातना ‘निष्प्रयोजनीय’ छ भन्न सकिन्न, किनभने लक्ष्य प्राप्तिका लागि खेपेको यातना कहिल्यै पनि विफल भएको छैन। कमसेकम प्रेरणाका रूपमा मानिसको हृदयमा त्यो बलिरहन्छ। भावी सन्तानलाई यदि हामी आफ्नो दुःख भोगाइले केही प्रेरणाको (रिक्थ) उत्तरलब्धि (इन्हेरिट्यान्स) छाड्न सक्यौं भने पनि के यातना सोद्देश्य भएन र?”
यो प्रस्टता गणेशमानजी तथा किसुनजीमा पनि उत्तिकै देखिन्छ।
किसुनजी सफल प्रशासक पनि हुनुहुन्थ्यो। पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको हालै प्रकाशित आत्मकथा सूर्यास्त-विम्बमा नेपालमा संसदीय प्रणाली स्थापनार्थ सभामुखका रूपमा किसुनजीले खेलेको भूमिकाबारे लेखिएको छ। २०१७ पुस १ गते संसद् विघटन हुँदा यो १५ महिना जति मात्र चलेको थियो। तर नेपालको संसदीय प्रणालीको विकासमा यो अवधि कोशेढुंगा नै सावित हुन पुग्यो। सूर्यप्रसाद, जसले तत्कालीन विकास मन्त्रालय तथा संसद् सचिवालयबाट राष्ट्रसेवा शुरू गर्नुभयो, भन्नुहुन्छ “आजपर्यन्त त्यही वेलाका संसदीय कार्यविधिहरू अनुरूप संसद् चलिरहेका छन्। त्यस समय बेलायती र भारतीय संसदीय मोडेल पछ्याइएको थियो र त्यही अनुरूप अध्ययन गरेर कार्यविधिहरू तयार पारिएका थिए। किनभने बेलायतको संसद् संसारकै उदाहरणीय मानिन्थ्यो। भारतसँग चाहिं हाम्रा धेरै कुरा मिल्दाजुल्दा थिए र संसदीय परम्परामा भारत पनि अभ्यस्त मानिन्थ्यो।”
सूर्यप्रसादजीको भनाइमा, सभामुखका रूपमा किसुनजी हास्यचेत भएको जोशिलो युवा हुनुहुन्थ्यो। प्रतिनिधि सभामा कुनै तनावपूर्ण अवस्था देखिंदा उहाँले त्यसको सहज निकास निकाल्नुहुन्थ्यो। “उहाँ जस्तो प्रभावशाली सभामुख मैले त्यसयता देखेकै छैन। उहाँमा संसद् सञ्चालन गर्ने क्षमता र कौशल प्रचुर मात्रामा थियो।”
अन्तरिम प्रधानमन्त्रीका रूपमा पनि २०४७ सालको संविधान जारी गराउन गणेशमानजी र किसुनजीको अग्रणी भूमिका थियो। उहाँको विशिष्ट गुण नभएको भए न राजा प्रजातान्त्रिक शक्ति तथा वामपन्थीबीच राष्ट्रिय एकता सम्भव हुन्थ्यो न त यसपूर्वको जनआन्दोलनको व्यवस्थापन नै।
किसुनजीको दृष्टिमा बीपी संवेदनशील मस्तिष्क भएको मान्छे भएकाले जहिले पनि दुई वटा कुरा विचार गर्नुहुन्थ्यो। राजाप्रति बीपीको ठूलो आदर र स्नेह थियो। राजाले पनि उहाँलाई साँच्चिकै आवश्यक व्यक्ति मान्थे। किसुनजीको स्पष्टोक्ति छ, “राष्ट्रियताको जहाँसम्म सवाल थियो, उहाँले मृत्युशय्याबाटै त इन्डियाले मसँग होशियार हुनुपर्छ, बीपी कोइराला अरू नेपाली जस्तो होइन, म नेपालमाथि थिचोमिचो गरेको सहन र हेर्न सक्दिनँ, ‘इन्डिया बी अवेयर विथ बीपी कोइराला’ भनेर विज्ञप्ति नै निकाल्नुभयो।”
परराष्ट्र नीतिमा उहाँ नेपालको गौरव के गरी बढ्छ, यसको सार्वभौमिकता कसरी अझ चुलिन्छ भन्ने बरोबर सोच्नुहुन्थ्यो। त्यसैले बीपीको अन्तर्राष्ट्रिय सम्पर्क व्यापक थियो। किसुनजीले डा. राजेश गौतमलाई भन्नुभएको रेकर्डमै छ, “मलाई महेन्द्रले एक पटकको भेटमा भन्नुभएको पनि हो, होइन कृष्णप्रसादजी, यतिका राजदूतावास खोलेर, देशहरूसँग सम्पर्क गरेर के फाइदा? जबकि उनीहरूकहाँ हामी खोल्नै सक्दैनौं। हाम्रो पैसाले भ्याउँदैन।” तर बीपी सानो मुलुकका लागि दूतावास किन जरूरी छ भन्नेमा प्रस्ट हुनुहुन्थ्यो। विडम्बना के भने, राजा महेन्द्र र वीरेन्द्रले बीपीलाई बुझ्न सकेनन्।
किसुनजीले आफ्नो राजनीतिको प्रेरणाको स्रोत कसैलाई मान्नुभएन। उहाँ आफ्नो चेतना र सम्पर्कले राजनीतिप्रति आकर्षित भएको मान्नुहुन्थ्यो। केही महात्मा गान्धी, केही नेपोलियन, केही बीपी र केही गणेशमानका विचारबाट आफू प्रभावित भएको उहाँको कथन थियो। उहाँको भनाइ थियो, “यो भन्दा अहिले कतिलाई मन नपर्ला, तर कुरा के भने, मलाई पूर्ण रूपले एक जनाले मात्र प्रेरणा दिने काम भएन। किनभने मलाई यति ज्ञान शुरूदेखि नै रह्यो कि मानिस पूर्ण कहिल्यै पनि हुँदैन, र यदि मानिस पूर्ण भयो भने त्यो भगवान् हुन्छ। दुनियाँमा कोही पनि भगवान् बन्न सक्दैन। ऊ अजन्मा हो र ऊ नै सर्वशक्तिमान् छ। त्यस निम्ति मेरो प्रेरणाको स्रोत म नै हुँ।”
यति भन्दाभन्दै बीपीबारे उहाँ भावमय देखिनुहुन्छ। बीपी उमेर नपुग्दै जानुभयो। किसुनजी प्रारब्धलाई मान्नुहुन्थ्यो। बीपीको व्यक्तित्वबारे उहाँको टिप्पणी थियो, “उहाँ जानुभयो, उहाँले गर्न बाँकी काम हाम्रो बुद्धिले भ्याएसम्म गर्छौं। त्यति हामीले गर्नुपर्छ। तर कुरा के भने, बोकाले दाइँ हुने भए गोरु किन चाहियो?”
नेपाली कांग्रेसका तत्कालीन कार्यकारी सभापति सुवर्णशमशेरको २०३४ कात्तिकमा निधन भएपछि मुलुकमा निरन्तर जारी रहेको प्रजातान्त्रिक आन्दोलनमा किसुनजीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। त्यसपछिको लगातार चौध वर्ष अर्थात् २०४८ सालसम्म उहाँ कांग्रेसको कार्यवाहक सभापति रहनुभयो। झापामा सम्पन्न पार्टीको आठौं महाधिवेशनले उहाँलाई पुनः पार्टीको सभापतिमा छनोट गर्यो।
यति लामो अवधि नेपाली कांग्रेसको सभापति रहेका किसुनजीले आफ्नो जिम्मेवारी बिसाउन बीपी कोइराला, गणेशमान सिंह वा आफ्नै जस्तो काँध भने पाउनुभएन। त्यसवेला विविध स्वार्थका कारण टुक्रिएर रहेका नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकताको भेलाले पहिलो संविधान सभाको पुर्वाङ्गका रुपमा संवैधानिक राजतन्त्र छाड्ने घोषणा गरेपछि २०६४ असोज ९ गते किसुनजीले नेपाली कांग्रेस त्याग गर्नुभयो। २०६७ फागुन २० मा उहाँले देहत्याग गर्नुभयो। त्यससँगै ‘इन्करिजिबल अप्टिमिस्ट’ मानिनुहुने नेपाली कांग्रेसको स्थापनाकालीन आदर्शको अन्तिम संस्थापकको पनि अन्त्य भयो।
(स्व. बीपी कोइरालाको ४२औं स्मृति दिवस तथा नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दीको अवसरमा दुवै पूर्व प्रधानमन्त्रीहरूका बारेमा काठमाडौं विश्वविद्यालय स्कूल अफ लका प्राध्यापक विपिन अधिकारीको आलेख)
यो पनि पढ्नुहोस् :