गान्धी, बीपी र त्यो ऐतिहासिक तस्वीर
![गान्धी, बीपी र त्यो ऐतिहासिक तस्वीर](https://www.himalkhabar.com/uploads/editor/Historical/Gandhi/bp%20and%20ghandhi.jpg)
राणाशासन ढाल्न ग्रिनेड व्यवस्थापनका क्रममा दिल्ली पुगेका बीपी कोइरालाले गान्धीसँग भेटेको र यो तस्वीर खिचाएको तेस्रो दिनमै उनको हत्या भयो।
शंकर तिवारी
महात्मा गान्धीबाट उनको जीवनकालमा र मृत्युपर्यन्त संसारभरका मानिस प्रभावित भए। मार्टिन लुथर किंग, हो ची मिन्हदेखि नेल्शन मण्डेला, बाराक ओबामा– आजपर्यन्तको प्रभावको यो सिलसिला जारी छ। गान्धीबाट उनकै जीवनकालमा प्रभावित व्यक्तिमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला समेत थिए।
बीपीको राजनीतिक विचारधारा, चिन्तन गान्धीबाट प्रभावित हुँदै माक्र्स र गान्धी बीचको द्वन्द्व अनि फेरि अन्ततः गान्धी परम्परामै टुंगिएको देखिन्छ। यो लेख बीपीको गान्धीसँगको भेट, उनीसँग खिचिएको एउटा दुर्लभ तस्वीर, गान्धीप्रति उनको आकर्षण, विकर्षण र पुनाकर्षणको सेरोफेरोमा केन्द्रित रहनेछ।
गान्धीको काखमा बीपी
बीपीले आफ्नो आत्मवृत्तान्त, आत्मकथालगायत अनेकन् अन्तर्वार्तामा घरको वातावरण वर्णन गर्दा कसरी विश्व राजनीति सँगै गान्धी बहसको केन्द्रमा हुने गर्थे भन्ने उल्लेख गरेका छन्।
१९२० मा गान्धी दक्षिण अफ्रिकाबाट फर्केको पाँच वर्ष भइसकेको थियो। गान्धीको भारतमा ख्याति बढ्दै गइरहेको थियो। बीपीको सिंगो परिवार १९२० मा बनारसमा निर्वासित जीवन बिताइरहेको थियो। बीपी त्यतिबेला बनारसमा नगरपालिकाको स्कूलमा पढ्थे।
![](https://www.himalkhabar.com/uploads/editor/Historical/Gandhi/13.jpg)
नेहरुसँग बीपी ।
एकदिन गान्धी बनारसको अस्सी घाटमा आयोजित एउटा सभालाई सम्बोधन गरिरहेका थिए। उनले सम्बोधनमा विद्यार्थीहरूलाई सरकारी स्कूल छोड्न आह्वान गरेका थिए। विद्रोही स्वभावका बीपीले गान्धीको भाषण सुन्दासुन्दै जुरुक्क उठेर– ‘हम नहीं जाएंगे, स्कुल हम भी बहिस्कार करिंगे’ भनेका थिए।
यति भनिसकेपछि आफूलाई मञ्चमा लगेर गान्धीलगायतले फूलमाला लगाइदिएको, काखमा राखेको कुरा बीपीले आफ्नो आत्मवृत्तान्त मा सगर्व उल्लेख गरेका छन्।
गान्धी नेतृत्वको असहयोग आन्दोलनका क्रममा बीपीका परिवारका महिलाहरूले आफूसँगका विदेशी वस्त्र कपडा समेत जलाउनको लागि दिएको पनि बीपीले स्मरण गरेका छन्।
क्याम्पस अध्ययनका दिनहरूमा बीपीले भारतीय स्वतन्त्रता संग्राममा अझ धेरै जानेर–बुझेर सचेततापूर्वक भाग लिन थाले। त्यतिबेला उनी भारतीय कंग्रेस पार्टी अन्तर्गतको समाजवादी कंग्रेस पार्टीको विहार संयोजक समेत भएका थिए। समाजवादीहरूको सम्पर्कमा पुग्नु पहिले उनी आतंकवादीहरूसँग समेत सम्बद्ध हुन पुगेका थिए।
सन् १९४२ को ‘करो या मरो’ आन्दोलनले स्पष्ट संकेत गरेको थियो– दोस्रो विश्वयुद्ध सकिएलगत्तै भारत स्वतन्त्र हुनेछ। यसको सुइँको पाएका बीपीले भारतको स्वतन्त्रतासँगै नेपालमा पनि राणाशाहीको अन्त्य गरेर प्रजातन्त्रका लागि मार्गप्रशस्त गर्न सकिन्छ भन्ने कुरा बुझेका थिए।
परिणामस्वरूप ‘अखिल भारतीय नेपाली कांग्रेस’ देखि ‘नेपाली राष्ट्रिय कांग्रेस’ हुँदै ‘नेपाली कांग्रेस’ को निर्माणमा बीपीले नेतृत्वदायी भूमिका खेलेका थिए।
गान्धीबाट अनुगृहीत
नेपाली राष्ट्रिय कांग्रेस पार्टीले विराटनगरस्थित जुट मिलमा हड्ताल आह्वान गरेको थियो। सत्याग्रहकै स्वरूपमा गरिएको यो हड्ताल राणाशासन विरुद्धको पहिलो सङ्गठित र खुला प्रतिरोध पनि थियो।
हड्तालले गति लिन थालेपछि बीपी पनि जुट मिल पुगे। तर, उनी लगायतलाई गिरफ्तार गरी पैदल मार्ग हुँदै काठमाडौं ल्याइयो। जेलभित्र बीपीको स्वास्थ्य अवस्था निकै खराब भएको थियो।
समाजवादी नेताहरूको सम्पर्क, बीपीको परिवार, नेपाली राष्ट्रिय कांग्रेसका नेताहरू कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्माको पहलमा बीपीलाई छुटाउन महात्मा गान्धीले तत्कालीन राणा प्रधानमन्त्रीलाई चिठी लेखेका थिए। तर त्यो चिठ्ठी टेलिग्राम काठमाडौं आइपुग्नु पहिले नै बीपी रिहा भए।
यसरी बीपी पहिलोपटक गान्धीबाट प्रत्यक्ष रूपमा अनुगृहीत भएका थिए। त्यसैले पनि होला जेलबाट रिहा भएपश्चात् गान्धीसँग भेटेर नेपालको क्रान्तिको लागि नैतिक समर्थन बटुल्न बीपी आतुर देखिन्थे।
तिनताका नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरण भइसकेको थिएन। त्यो समय बारे बीपीले ‘हामीले राणाहरूको खिलाफमा केही उटपट्याङ कामहरू पनि गरिरहेका थियौं’ भनेर आत्मवृत्तान्त मा भनेका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Historical/Gandhi/17.jpg)
बीपी काेइराला ।
तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरका छोरा वसन्तशमशेरले ६ ओटा ह्याण्ड ग्रिनेड प्राप्त गर्नसके प्रभावशाली राणाहरूको एकैचिहान बनाउन सक्छु भन्ने विश्वास बीपीलाई दिलाएकाले बीपीले आफ्ना स्रोतबाट वसन्तशमशेरलाई उक्त ग्रिनेड दिने बन्दोबस्तीका लागि कार्य गर्दै थिए। त्यसका लागि उनले समाजवादी नेता राममनोहर लोहियाको सहयोग लिएका थिए। लोहियाले उनलाई ग्रिनेड कलकत्तामा उपलब्ध गराइने वचन दिएका थिए। संयोगले वसन्तशमशेर पनि कलकत्तामै थिए।
गान्धीसँगको अन्तिम भेट र तस्वीर
यस्तै घटनाक्रमका बीच बीपी गान्धीलाई भेट्न बिड्ला भवन पुगे। त्यो भेट नै यी दुईको अन्तिम भेट बन्यो, किनकि भेटको दुई दिनपछि २८ जनवरी १९४८ मा गान्धीको हत्या भयो। गान्धी बिड्ला भवनमा लोहियाकै साथ गएका थिए।
उक्त भेटको चर्चा गर्दै बीपी आत्मवृत्तान्त मा भन्छन्– ‘म दश बजे पुगें गान्धी कहाँ र त्यहाँबाट चार बजे उठेर आएँ। म त्यस दिनभरि बसेको छु त्यहाँ। मेरो तस्वीर पनि छापिएको छ त्यसदिन अखबारहरूमा। विदेशी संवाददाताहरू त्यसदिन आएका थिए धेरै। त्यही ग्रुपमा छापेको हुनाले मलाई पनि विदेशी संवाददाता भनेर लेखेको छ। मैले शेरवानी लगाएको छु र यस्तै सेतो मफलर छ। जाडोको दिन थियो, बिड्ला हाउसमा। गान्धीसँग मैले कुरा गरें।’ (हेर्नुहोस् तस्वीरमा – गान्धी, लोहिया, बीपी र अन्य)
कुनै विशेष अवस्थाबाहेक गान्धीको आश्रम वा विश्राम स्थलमा आगन्तुकहरूसँगको भेटघाटका लागि कुर्सी टेबुलको आसन प्रयोग भएको पाइँदैन। सावरमतीदेखि सेवाग्राम आश्रमसम्म गान्धी भुइँमै बसेर आगन्तुकसँग वार्तालाप गर्थे। यस तस्वीरमा समेत सबैजना भुइँमै बसेका देखिन्छन्।
बीपीका कुरा सुनेपछि गान्धीले भने– ‘म तिमीलाई कुनै मद्दत गर्न सक्दिनँ, जब मेरा मानिसहरू मेरो कुरा सुन्दैनन् भने राणाले मेरो कुरा सुन्छन् ? म त कुनै मद्दत गर्न सकँुला जस्तो लाग्दैन।’
बीपीको जवाफ भने यस्तो थियो– ‘म तपाईंसँग कुनै भौतिक मद्दत लिन आएको होइन। तपाईंको सहानुभूति र नैतिक समर्थन चाहिएको छ हाम्रो संघर्षका निम्ति। तपाईं त नेता हो, केवल हिन्दुस्तानको मात्र होइन। जहाँ जहाँ अत्याचार छ, र अत्याचारको विरुद्धमा जहाँ लडाइँ हुन्छ त्यहाँ तपाईंले समर्थन प्रदान गर्नुपर्छ।’
गान्धीको प्रतिउत्तर– ‘अन्याय, अत्याचार र दमनको खिलाफ जहाँ आन्दोलन हुन्छ संघर्ष हुन्छ त्यहाँ मेरो समर्थन हुन्छ तर त्यसभन्दा बढ्ता त म केही गर्न सक्दिनँ।’
हातमा ग्रिनेड र गान्धी हत्याको खबर
गान्धीलाई भेटेर उत्साहित बीपीले पर्सिपल्ट दिल्लीबाट कलकत्ता नपुग्दै उनको हत्याको खबर सुने। यसले आफूलाई मर्माहत तुल्याएको बीपीले लेखेका छन्। बीपीले गान्धीको मृत्युको खबर सुनेको समयको भाव, दशा र अवस्थालाई मार्मिक ढङ्गले चित्रण गरेका छन्।
बीपीको आत्मवृत्तान्त को गातामै गान्धी निधनको विषादग्रस्त खबर सुनेर बीपीले बोलेका कुरा राखिएको छ, जुन यस प्रकार छ– ‘... त्यही बखतमा पान सुपारीको दुकानमा रेडियोले प्रसारण गरेको सुनें– गान्धीको मृत्यु भयो म ह्याण्ड ग्रिनेड लिएर बसिरहेको छु, एउटाले दिएर गइसक्यो अर्कोले लिन लागिरहेको थियो। मलाई कत्रो ठूलो अँध्यारो महसूस भइरहेको थियो, गान्धीसित मलाई यत्रो ठूलो लगाव रहेको थियो भन्ने अनुभव मैले त्यसबखत गरें। मलाई त सबैथोक भताभुंग भएजस्तो लाग्यो।’
![](https://www.himalkhabar.com/uploads/editor/Historical/Gandhi/gandhi759.jpg)
गान्धीकाे पार्थिव शरीर ।
अहिंसा र हिंसाबारे बीपीको जीवनको विरोधाभासलाई यी पंक्ति मात्रैले पनि सहजै उजागर गरेका छन्।
बीपीले अत्यन्त भावुक हुँदै त्यस रातको सम्झनामा थप लेखेका छन्– ‘म जहाँ बसेको थिएँ आएर रातभरि रोएँ। गान्धीजी माथि मलाई ठूलो सहारा थियो। म जस्तो मान्छेलाई मात्र उनी सहारा थिएनन् मान्छेले जहाँ जहाँ संघर्ष गरेका थिए त्यसमा उनको नैतिक समर्थन थियो।’
बीपीको जीवनमा अनेक विरोधाभास भेटिन्छन्। त्यस्तै एउटा विरोधाभास उक्त दिन उत्कट रूपमा प्रकट भएको थियो। हातमा ग्रिनेड लिएर शान्तिको पुजारीको हत्यामा उनी विचलित भइरहेका थिए।
कम्युनिष्टहरूका ‘आइकन’ मानिने भियतनामका प्रसिद्ध नेता हो ची मिन्हले प्रतिरोध आन्दोलनका क्रममा गान्धी बारे महत्वपूर्ण कुरा भनेका छन् – ‘गान्धीसँग मेरो जस्तोसुकै मतभेद भए तापनि हामी उनका उत्पत्ति हौं, जहाँ जहाँ पनि संघर्ष छ त्यसलाई गान्धीले नैतिक नेतृत्व प्रदान गरेका छन् र म हिंसा गर्ने मानिस हामीहरू सबै उनैका सन्तान हौं।’
गान्धी हत्याको वर्षौंपछि मिन्हले गान्धीबाट प्रेरित हुँदै यस्तो भनेका थिए। बीपीले घटनाको तीन दशकपछि उक्त दिनको घटना स्मरण गर्दै भनेका छन्– ‘मैले हिंसाको लागि, गान्धीको विचारको ठीक उल्टो ६ ओटा ह्याण्ड ग्रिनेड दिएर पठाएको थिएँ सम्पूर्ण राणा परिवारलाई सिध्याउन भनेर।’
गान्धी विशेषाङ्क
नेपाली राष्ट्रिय कांग्रेसको मुखपत्रका रूपमा बनारसबाट युगवाणी प्रकाशित हुन थालिसकेको थियो। कांग्रेस पार्टीले आफ्नो मुखपत्र युगवाणी मा गान्धीको सम्झना र सम्मानमा ‘गान्धी विशेषाङ्क’ निकाल्यो।
युगवाणी को त्यो अंकमा ‘गान्धी’ शीर्षकमा लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविता पनि छ। देवकोटा युगवाणी को सम्पादक मण्डलका सदस्य समेत थिए।
विशेषाङ्कमा कृष्णप्रसाद भट्टराईले ‘गान्धीसँगको तीन भेट’ शीर्षकमा लेखेको संस्मरण लगायत रचना छापिएको छ। प्रदीप गिरिको संरक्षकत्वमा नानुमैया बास्तोला प्रकाशक र सम्पादक भएको ‘समता नेपाल’ म्यागाजिनमा ती रचना पुनः मुद्रित भएका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Historical/Gandhi/gandhi%20bp%20kumarappa.jpg)
वीपी, गान्धी र कुमारप्पा ।
गान्धीप्रति विकर्षण
दोस्रो विश्वयुद्धलगत्तै अंग्रेजहरूले भारत छाडे। नेपालमा पनि राणाहरूको तानाशाही अन्त्य भयो। बीपी अन्तरिम सरकारका गृहमन्त्री भए। २०१५ सालमा उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बने।
प्रधानमन्त्री हुँदाका बीपीका भाषणहरूमा माक्र्सवादी रुझान बग्रेल्ती भेटिन्छन्। राजा महेन्द्रले २०१७ साल पुस १ गते जनाधिकार र प्रजातन्त्रमाथि धावा बोले। महेन्द्रले आफ्नो गल्ती सच्याउन २०२५ सालमा बीपीलाई जेलबाट रिहा गरे। लगत्तै बीपीले निर्वासन रोजे।
प्रजातान्त्रिक शक्तिलाई समावेश गर्ने गरी केही संविधान संशोधनका प्रयास हुँदै गर्दा राजा महेन्द्रको निधन भयो। वीरेन्द्र राजा भए। महेन्द्रले गरेको भूल सच्याउने आखिरी प्रयासलाई लत्याएर भर्खर राजा भएका वीरेन्द्रलाई गुमराहमा राखेर धुरन्धर पञ्चहरूले व्यक्तिहत्याको राजनीति शुरू गरे। कांग्रेसका प्रखर नेताहरू योगेन्द्रमान शेरचन, दिवान सिंह राई, सरोज कोइराला लगायतको हत्या भयो। प्रजातन्त्र पुनस्र्थापनाका लागि बेचैन बीपीले सशस्त्र क्रान्तिको आवश्यकता महसूस गर्न थाले।
त्यसैको आसपासमा बीपीले बनारसमा जयप्रकाश नारायणद्वारा स्थापित एवं उनैले अध्यक्षता गरेको ‘गान्धियन इन्ष्टिच्युट अफ स्टडिज’ संस्थाको एक कार्यक्रममा गान्धी, उनका विचार र प्रस्तावनामाथि प्रहार गरेका छन्। बीपी त्यहाँ हिंसाको खुला वकालत गर्छन्।
राजनीतिक परिवर्तनका लागि हिंसात्मक उपाय अवलम्बन गर्ने कुरामा ओखलढुंगा विद्रोहको दुखद परिणतिका कारण बीपी हिंसात्मक विद्रोह अवलम्बन गर्ने दिशामा लामो समय अडिन सकेनन्। उनको चिन्तनले पूरै एकफन्को हान्यो।
गान्धीकै शरण
जीवनको उत्तराद्र्धमा बीपी पुनः वैचारिक तवरले गान्धीकै शरणमा आइपुगेका थिए। सशस्त्र संघर्षको स्थगन, स्वदेश आगमनको निर्णय र राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन त्यसैको परिणति थियो।
अर्थशास्त्रमा बीपीलाई ईएफ शुमाकर लिखित ‘स्मल इज ब्युटिफुल’ प्रिय लागेका थिए। जे सी कुमारप्पाको पुस्तक ‘इकोनोमिक्स अफ पर्मनेन्स’ पनि नेपालको दृष्टिमा सान्दर्भिक महसूस गरेका थिए। कुमारप्पा र शुमाकर गान्धीवादी अर्थशास्त्री भनेर कहलिएका थिए। त्यसको स्पष्ट प्रतिध्वनि राजा, राष्ट्रियता र राजनीति संग्रहमा संकलित ‘प्रजातान्त्रिक समाजवाद’ लेखमा सुनिन्छ। प्रजातान्त्रिक समाजवाद सम्बन्धी बीपीको संभवतः त्यो नै अन्तिम लेख हुनुपर्छ।
तस्वीरकै प्रसङ्ग
गान्धीलाई प्रत्यक्ष भेट्ने र सुन्ने अवसर पाउने नेपाली अत्यन्त कम थिए। गान्धीसँग तस्वीर खिचाउने अवसर पाएका नेपाली त झन् थोरै थिए होलान्।
गान्धीको विशेष सेवक बनेर गुजरातको सावरमती आश्रममा केही वर्ष बिताएका तुलसीमेहेर श्रेष्ठको समेत गान्धीसँगको तस्वीर पाउन सकिएको छैन। तुलसीमेहेर र गान्धी बीचका पत्राचार भने गान्धीका संकलित रचनावलीमा समाविष्ट छन्।
आत्मवृत्तान्त मा बीपी स्वयंले गान्धीसँग भेटको तस्वीरको वर्णन गरेकाले यो तस्वीर ठम्याउन र चर्चा गर्न शोधकर्तालाई सहज भएको हो।
(पोस्ट स्क्रिप्ट: बीपीले आत्मवृत्तान्त मा उल्लेख गरेको यो तस्वीरसँग यस स्तम्भकारको साक्षात्कार सन् २०१३ मा भारतको पटना कदमकुवामा अवस्थित जयप्रकाश नारायणले स्थापना गरेको आश्रममा भएको थियो। त्यतिबेला आफूसँग भएको नोकिया २७०० क्लासिक मोबाइल बाट तस्वीर खिचेको थिएँ। तर तस्वीरको रिजोलुसन कम भएकाले कुनै दिन यसबारे लेखुँला भनेर यत्तिकै राखेको थिएँ।
बीपी जयन्तीका अवसरमा हिमालखबर मा प्रकाशित विशेष सामग्रीमा मित्र शोधार्थी दीपक अर्यालको लेखसँगै त्यही तस्वीर प्रकाशित भएको देखेपछि म दंग परें। संयोगले गान्धी जयन्तीको सन्दर्भमा यो तस्वीर कथा लेख्ने अवसर जुर्न पुग्यो।)