बीपी किन नेहरूका प्रिय हुन सकेनन् ?
![बीपी किन नेहरूका प्रिय हुन सकेनन् ?](https://www.himalkhabar.com/uploads/posts/800X600/BP_KoiralaWithJawaharlalNehru_copy_1599665265.jpg)
बीपी सोच्दथे, भारतीय सत्ता कहिल्यै नेपालको लोकतन्त्रको विपक्षमा हुन सक्तैन, जवाहरलाल नेहरू कहिल्यै आफू विरोधी हुन सक्तैनन्। तर, २००७ सालदेखिको उनी जीवित रहुञ्जेलसम्म भारतीय सत्ताले बीपीलाई प्रिय कहिल्यै ठानेन।
डा. विपिन अधिकारीभारतमा बसेर नेपालको २००७ सालको क्रान्तिको तयारी गरेको कारणबाट पनि बीपी कोइरालाले आफ्नो राजनीतिक व्यक्तित्व विकास गर्ने केही अतिरिक्त अवसर पाए। त्यो अवसरले नेपाली कांग्रेसलाई स्थापित हुन प्रशस्त मद्दत गर्यो। तर उदीयमान बीपी भारतीय सत्ताका लागि उत्तिकै प्रिय रहिरहन सकेनन्। क्रान्तिसँगै प्रजातन्त्र र स्वतन्त्रता आउनु अनि स्वतन्त्रताले राष्ट्रवादलाई मलजल गर्नु स्वाभाविक प्रक्रिया थियो। तर भारतीय सत्ताका लागि यो अस्वाभाविक बन्न पुग्यो।
बीपीको व्यक्तित्वका दुई पाटो सँगसँगै विकास भएको देखिन्छ। एउटा पाटोले प्रजातन्त्रीकरणको निरन्तरता चाहन्थ्यो भने अर्कोले राष्ट्रवादको जगेर्ना। भारतमा बसी नेपालमा क्रान्ति गर्दा, पार्टी गठन हुनु पहिलेका कांग्रेस समूहलाई भारतले नराम्रोसँग प्रयोग गर्यो।
भारतको धोका
भारतको सत्तालाई मित्र शक्तिका रूपमा हेर्न चाहने बीपी लगायतलाई भारतले धोका दिन सक्छ भन्ने कहिल्यै लागेन। यसबारे तब मात्र ज्ञात भयो, जब राजा त्रिभुवनलाई काठमाडौंबाट पाल्पा पु-याउने नेपाली कांग्रेसको गोप्य योजना विफल भयो।
पाल्पाबाटै राजा त्रिभुवनले श्री ५ सुरेन्द्रले राणा खानदानलाई दिएको पञ्जापत्र बदर गर्दै राणाशाही अन्त्य र जनताको नयाँ सरकार स्थापनाको घोषणा गराउने कांग्रेसको योजना थियो। गणेशमान सिंहको भनाइमा उनले पाल्पा भाग्न हेलिकोप्टरको माग समेत गरेका थिए। तर, कांग्रेसले त्यसको व्यवस्था गर्न सकिरहेको थिएन ।
सोझा राजा स्वयं भारतीय राजदूतावासको चक्रव्यूहमा परे, र सपरिवार मोटर चढी भारतीय दूतावासमा ‘शरण’ लिन पुगे।
क्रान्तिको तयारी गर्ने कांग्रेससँग न भारत सरकारले न राजा स्वयंले यसबारे कुनै सल्लाह गरे न त्यसपछिको सहकार्यमा साथ लिन नै आवश्यक ठानियो। राजा दिल्लीको हैदरावाद हाउसमा भारतीय सुरक्षाकर्मीको सुरक्षामा पुगे। क्रान्तिको लगाम राजाको फितलोपनले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको हातमा पुग्यो।
कांग्रेससँग क्रान्तिको सिंहनाद गर्नु बाहेक अर्को विकल्प थिएन। तर, यसको अर्थ राणाहरूलाई नेहरूको पोल्टामा पार्नु हुन्थ्यो। कांग्रेस न झगडा गर्न सक्थ्यो न त सहकार्यमार्फत नेतृत्व स्थापना गर्ने।
देशको एक मात्र शक्तिशाली प्रजातान्त्रिक दललाई या पन्छाएर वा पछि लगाएर नेपालको राजनीतिक यात्रा तय गर्ने भारतीय उद्देश्य स्पष्ट भइसकेको थियो। नेहरूले राजा, राणा र कांग्रेसका बीच पटकपटक मध्यस्थता गरे। उनी कहिले कांग्रेसको पक्ष लिएको जस्तो कुरा गर्थे, कहिले रिसाएर तर्साएको जस्तो गर्दथे।
कथित दिल्ली सम्झौता न नेपालको पक्षमा थियो, न त नेपाली कांग्रेसको। जता पनि नेहरू मात्र थिए। क्रान्तिले बाटो बिराएको थियो। राजा सँगसँगै नेपालको राजनीतिमा भारत पनि स्थापित भएको थियो।
दिल्ली सम्झौताले बीपीलाई परिपक्व बनायो। तर राजालाई भने कांग्रेसभन्दा नेहरूपट्टि आसक्त बनायो। दिल्लीको आतिथ्यका लागि उनी आवश्यकताभन्दा बढी अनुग्रही हुन पुगे। यसैको बलमा नेपालको राजनीतिमा नेहरू हावी भइरहेका थिए।
यसो त भारत स्वतन्त्र भएपछि नेपाल आएका राजदूतहरूबाटै भारतले तानाबाना बुन्न शुरू गरिसकेको थियो। नेपाली कांगेस लगायतका प्रतिपक्षको आन्दोलनबाट भित्तोमा पुगिसकेका अन्तिम राणा प्रधानमन्त्रीलाई लोभलालच देखाएर भारतले सन् १९५० को सन्धि समेत गरायो।
प्रधानमन्त्रीकाे शपथ लिंदै बीपी काेइराला ।राजदूतहरूको हैकम
नेपालका लागि स्वतन्त्र भारतका प्रथम राजदूत सरदार सुरजीत सिंह मजिठिया ‘छुच्चो, मूर्ख र कूटनीतिक व्यवहार गर्न नजान्ने मान्छे थिए’ बीपी कोइराला प्रधानमन्त्री हुँदाका निजी सहायक कुमारमणि आचार्य दीक्षितले आफ्नो पुस्तक फाटफुट सम्झना (२०५२) मा लेखेका छन्।
उनीपछि राजदूत बनेर चन्द्रेश्वरप्रसाद नारायण (सीपीएन) सिंह आए। सिंह चाहिं धूर्त, बदमास र पैसाको लोभी थिए - दीक्षितको सार छ। अप्ठेरोमा परेका राणाहरूको निकै पैसा पनि ठगे रे सिंहले।
नेहरू बाँचुञ्जेल सबै भारतीय राजदूतको मुख्य ‘एजेन्डा’ स्वतन्त्र नेपाललाई भारतको शर्तमा अनुकूल बनाउनु थियो। यी राजदूतहरू आफूलाई ‘भाइसराय’ ठान्दथे।
तैपनि बीपी नेहरूलाई असाध्यै इज्जत गर्दथे। नेहरूले नेपाल सम्बन्ध विराएका हुन् भनेर बीपीले कहिल्यै भनेनन्। बरु नेहरू बितेको दिन आफू रोएको बीपी आफैंले लेखेका छन्। भारतीय जनताप्रति पनि बीपीलाई ठूलो विश्वास थियो। तर भारतीय सत्ताले त्यसको अनुभव हुन दिएन।
७ फागुन २००७ पछि गठित अन्तरिम मन्त्रिमण्डलमा गृहमन्त्री भएपछि नै बीपी र भारतीय राजदूत सिंहसँग बीपीको मतभेद शुरू भयो। चन्द्रेश्वरप्रसादको नेहरूसँग व्यक्तिगत सम्पर्क थियो। राजालाई भड्काउने तथा सरकारलाई निर्देशन दिने चाहना उनमा तीव्र थियो।
त्यसबेला जनरल नरशमशेर बलिया थिए। उनको एक पाकिस्तानी साथी थिइन्। तिनलाई नेपालबाट निकाल्ने, नरशमशेरलाई आई.जी.पी.बाट झिक्ने, बीपीलाई गृहमन्त्रीबाट बिदा गर्ने जस्ता कुरामा सिंह त्रिभुवनसँग कचिंगल गरिराख्थे। यति मात्र होइन, राणासँग सत्ता साझेदारीमा गएको कांग्रेसको एउटा समूहलाई सिंहले आफूतिर मिलाई भाँडभैलो मच्चाउन पनि सफल भएका थिए।
नेपालले तेस्रो मुलुकसँग सम्बन्ध नराखोस्, राखिहाले पनि भारतलाई विश्वासमा लिएर काम गरोस्, भौगोलिक सर्वेसँगै प्रशासनिक संरचनाको काम पनि आफूहरूसँग नसोधी नहोस् भन्ने ध्येय सबै भारतीय राजदूतको हुन्थ्यो। उनीहरू आफूले गर्न खोजेको कुरा राजाबाट अनुरोध गराउँथे। नेपालको आधुनिकीकरणको हरेक प्रयासमा उनीहरू संलग्न हुने तथा सरसल्लाह निर्देशन दिने चाहना राख्दथे। यहाँसम्म कि नेपालसँग विज्ञ छैनन् भनी मन्त्रिपरिषद् बैठकमा मिनट लेख्ने मान्छे पनि भारतीय राख्ने प्रचलन शुरू गरिएको थियो।
नेपालको प्रजातन्त्रीकरण तथा कानूनको शासनको पहिलो अवरोध भारतीय इच्छा, आकांक्षा हुन पुग्दथे। भारतलाई चित्त बुझाउनु नै सरकारको एउटा ठूलो चुनौती हुन्थ्यो। लाञ्छना लगाउने बीपीको बानी थिएन। उनी सभ्यतापूर्वक अन्यायको विरोध गर्दथे। बीपीसँग ठूलो र बलियो संगठन थियो, जुन भारतीयका लागि शूल झैं हुन्थ्यो।
प्रधानमन्त्री मोहनशमशेर र गृह मन्त्री बीपी मिलेर काम गर्ने अवस्थामै थिएनन्। एक अन्तर्वार्तामा बीपीले भनेका छन्ः “मैले भन्नैपर्छ, ... सीपीएन सिंह अर्थात् भारतले राणा खेमालाई मजबूत बनाउने भूमिका खेल्यो। हामीलाई दिल्लीमा बैठक गर्नुपर्ने सुझाव दिइएको जवाहरलाल नेहरूको एउटा पत्र पढेर सुनाइयो। तसर्थ, जून महीनामा प्रधानमन्त्री मोहनशमशेर र म दिल्ली गयौं। मैले जवाहरलाल नेहरूसँग तीन दिनमा नौ घण्टा छलफल गरें। तैपनि उहाँले कुनै ठोस धारणा राख्नुभएन। म बिहान आठ बजे नै ‘साउथ ब्लक’ स्थित उहाँको अफिसमा जान्थें र एघार बजे फर्किन्थें। उहाँ प्रायःजसो प्रवचन गरेको पाराले पुनर्गठन गर्नु अत्यन्त महत्वपूर्ण काम हो भनी धारणा राख्नुहुन्थ्यो। मिलेर काम गर्नुपर्छ भन्ने कुरामा उहाँको बल हुन्थ्यो।”
नेहरूको यस्ता कुराबाट बीपी उत्साहित हुन सकेनन्। प्रधानमन्त्री दिल्लीस्थित बाह्रखम्बा रोडस्थित नेपाली राजदूतावासमा बसेका थिए। बीपी नेहरूको चाला देखी दुःखी भई मोहनशमशेरलाई नयाँ प्रस्ताव लिएर गए। मोहनशमशेर भारतका लागि दिल्लीमा रहेका बेलायतका हाइ–कमिश्नरलाई पर्खिबसेका थिए। घरझगडा लिएर दिल्ली आएकोमा अपमानित हुनुपरेको भन्दै बीपीले ‘घरझगडा उतै जाऔं र मिलाऔं’ भनी प्रधानमन्त्री मोहनशमशेर समक्ष धारणा राखे।
मोहनशमशेरको जवाफ अनपेक्षित थियो। ‘पहिले तपाईं आफैं दिल्ली आउने गर्नुहुन्थ्यो र आफ्ना उद्देश्यका लागि पण्डितजी र भारत सरकारको समर्थन प्राप्त गर्ने कोशिश पनि गर्नुभएको थियो, होइन ? अब मेरो पालो आयो। नेपालीमा एउटा उखान छ, कहिले सासूको पालो, कहिले बुहारीको पालो’, उनले भने।
बीपी रिसाएर फर्कंदै थिए। तर मोहनशमशेरका छोरा विजय शमशेरले बीपीलाई बस्न कर गरे। “बुवाज्यूले मलाई भन्नुभएको छ, हाइ कमिस्नर आएर छलफल नसकुन्जेल तपाईं पर्खनुस् रे ! मेरा पिता वृद्ध हुनुहुन्छ, उहाँले पक्कै पनि तीतो बोल्नुभयो होला। म तपाईंको धारणासँग सहमत छु। उहाँले यी नेतालाई भेट्न दिल्ली दौडिन हुँदैनथ्यो। तपाईंले बूढो मानिसको कुरामा रिसाउनुहुँदैन। उहाँलाई दोष लगाउन हुँदैन। यसैले बेलायती हाइ कमिश्नर नफर्किंदासम्म गलत रूपमा कुरा नटुंग्याऔं।”
त्यसपछि भारतीय व्यवहार झनै बदलियो। राजदूत सिंह बीपी विरुद्ध षड्यन्त्र गर्न थाले। उनी विद्यार्थीलाई उचाल्न थाले। “हाम्रो पार्टीभित्र पनि उनका एजेन्टहरू थिए” बीपीले एक अन्तर्वार्तामा भनेका छन् ।
सन् १९५१ मा बीपी काेइराला (दाेस्राे), राजा त्रिभुवन र जवाहरलाल नेहरु (फूलमाला बाेकेका) ।राजालाई भारतको गुन !
कुमारमणि आचार्य दीक्षितले नेपाल र बीपीप्रति भारतीयको त्यो बेलाको दृष्टिकोणलाई एक प्रसंगमार्फत व्याख्या गर्ने प्रयत्न गरेका छन्।
दीक्षितले नेपाल सरकारको प्रतिनिधित्व गरी १९५६ मा कोलम्बो प्लानको बैठकमा भाग लिन न्युजिल्याण्ड जाँदाको एउटा अनुभव उल्लेख गरेका छन्। त्यसबेला गुञ्जमान सिंह योजना मन्त्री थिए, दीक्षित मन्त्रीकै प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका थिए।
बैठकमा भारतका तर्फबाट सहायक अर्थमन्त्री बलीराम भगत आएका थिए। बीपीको कुरा कोट्याउँदै उनले भनेछन्– बीपी भारतसँग मित्रता राख्दैनन्। उसो त उनी भारतमै हुर्के पढेका मान्छे हुन्। प्रतिउत्तरमा दीक्षितले पनि भनेछन्– आफ्नो देशको हित हेर्दैमा भारतको अहित हुन्छ भन्नुहुँदैन। भारतकै प्रधानमन्त्री नेहरू पनि त बेलायतमा बढे, पढेका मान्छे हुन्। तैपनि उनले भारतबाट बेलायतीलाई भगाउन आन्दोलनमा भाग लिए।
न्युजिल्याण्डबाट फर्कंदा अष्ट्रेलियाको सिड्नीस्थित विमानस्थलमा ओर्लंदा दीक्षितलाई ‘रिसिभ’ गर्न भारतीय कूटनैतिक नियोगका फर्स्ट सेक्रेटरी आएका रहेछन्। दीक्षित आश्चर्यमा परे। किन तपाईं आउनुपर्यो भनी सोध्दा उनले भनेछन्– नेपालको प्रतिनिधित्व नभएको स्थानमा भारतले नै नेपालको हित हेर्ने भन्ने दुई सरकारको सम्झौता भएको छ।
नेपाल फर्केपछि दीक्षितले यही प्रसंग बुबा परराष्ट्र सचिव नरेन्द्रमणि आचार्य दीक्षितलाई सुनाए। कुरा प्रधानमन्त्री टंकप्रसाद आचार्य हुँदै राजासम्म पुग्यो। राजाबाट ‘नेपालको प्रतिनिधित्व नभएको ठाउँमा नेपालको हित भारतले हेर्ने भन्ने कुरा उठेको तर यस विषयमा आफूले स्वीकृति दिएको सम्झना नभएको’ जवाफ आयो।
छोरा कुमारमणिसँग कुराकानीका क्रममा नरेन्द्रमणिले ‘२००७ सालको क्रान्तिमा भारतले आफूलाई बचाएकोले गुन लाउन राजा त्रिभुवनले यस्ता धेरै कुरामा भारतलाई छुट दिएका’ भनेका रहेछन्।
जस्तो कि, भारतीय सहयोगमा प्रस्तावित त्रिभुवन राजपथको बाटो धेरै घुमाउरो थियो र सरकार यसको विकल्पको खोजीमा थियो। विकल्पको प्रस्तावमा भारतीय पक्षले प्रष्ट भनेछ- यो विषयमा छलफल गर्नुको कुनै अर्थ छैन किनकि हामी दुई देशको उच्चस्तरबाट यो विषय टुंगो लागिसकेको छ।
परराष्ट्र सचिव नरेन्द्रमणिले यो कुरा राजालाई सुनाएछन्। राजाको जवाफ सुन्दा उनी स्वयं छक्क परे। राजाले नै भारतीय सैनिक दृष्टिकोणबाट उपयुक्त हुने भनेकाले यो राजपथको स्वीकृति दिएका रहेछन्। भारतको मिलिटरी मिशन, नेपाल आउने चीनको सिमानामा भारतीय चेकपोष्ट स्थापना, नेपाल आउने विदेशीहरू (पर्यटक समेत) बारे भारतीय राजदूतावासको अग्रिम स्वीकृति लिएर मात्र भिसा दिनुपर्ने इत्यादि अनेक उदाहरण छन्, जसमा भारतले लामोहात गरेको देखिन्छ।
बीपीको 'लेगेसी'
२० डिसेम्बर १९५१ मा नेहरूले राजा त्रिभुवनलाई लेखेको चिठी छापिएको छ। त्यसमा उनले नेपालको सुरक्षा योजना र वैदेशिक नीतिलाई भारतको सुरक्षा योजना र वैदेशिक नीतिसँग समन्वय गर्ने राजाको प्रस्तावमा खुशी व्यक्त गरेका छन्। यसबाट राजदूत सिंहले कुन हदसम्मको षड्यन्त्रमा राजालाई पारिसकेको रहेछन् भन्ने स्पष्ट हुन्छ।
यो चिठीको करीब चार महीनापछि दाजु मातृकाप्रसादलाई लेखेको चिठीमा नेहरूले सचेत गराएका छन्: “बीपीमा पूर्ण ऊर्जा छ र कहिलेकाहीं बढी चञ्चल हुन्छन्, त्यति मात्र हो । ठीकसँग प्रयोग गर्ने हो भने ती असल गुणहरू हुन्, तपाई र उनीबीच पूर्ण सहयोग भयो भने तपाईंले उनका गतिविधिलाई ठीक दिशामा प्रयोग गर्न सक्नुहुनेछ।”
नेपालको सुरक्षा नेपालीको चुनौती हो, भारतको होइन भन्ने उनको भनाइ र नेहरूलाई दिएको जवाफ नेपालको इतिहासमा सधैं चर्चित छ नै। बीपीको सरलता र निश्चल रूपमा आफ्नो मुलुकका लागि चिताएको सोझो कुरो लेख्ने र बोल्ने बानीले गर्दा उनी भारतीय सत्ताका लागि अपच हुन्थे।
राजा महेन्द्रले २०१७ सालमा प्रधानमन्त्री बीपीलाई विना थुनुवा पुर्जी ८ वर्ष कारागारमा थुन्दा र प्रजातन्त्र मास्दा भारतीय सत्ताले उनको अनुपस्थितिमा आफूलाई बलियो पार्ने मौका पाएको सोच राख्यो। सुन्दरीजल जेल छँदा आफ्नो तथा मुलुकको बारेमा प्रशस्त ‘रिफ्लेक्सन’ गर्न पाएका बीपीले दुःखका साथ लेखेका छन्ः “नेपालमा भारतको प्रतिष्ठा माटोमा मिलेको छ।”
भारत कतैबाट पनि नेपालको प्रजातन्त्र र राष्ट्रियताका लागि सहयोगी हुने अवस्था नदेखिंदा पनि बीपीले हिम्मत हारेनन्। राष्ट्रिय मेलमिलाप नीतिका लागि पृष्ठभूमि तयार हुँदैथियो।
द्विपक्षीय विदेश नीतिमा अहिले पनि कोही कतै ‘म ब्वाँसो बन्छु, तिमी पाठो बन’ भन्न सक्छन्। तर, समानताका आधारमा विकसित आजको विदेश नीतिमा हामीले सहजै ‘अब ती दिन गए’ भन्न सक्नुपर्छ। बेलैमा त्यसो भनिएन भने आजको ब्वाँसो भोलि सिंह पनि बन्न सक्छ।
सत्ताका लागि मात्र राजनीति नगर्ने बीपी स्वयंमा नेपाली स्वतन्त्रता, स्वाभिमान र लोकतान्त्रिक अभियानका एक सार्वजनिक बौद्धिक थिए। पार्टी नेताका साथै एक विचारकका रूपमा जीवन बिताएकाले पनि हुनुपर्छ, उनी रहँदासम्म नेपाली कांग्रेस उनकै सेरोफेरोमा रह्यो। र आजपर्यन्त बीपी कांग्रेसको सिद्धान्तको पर्याय बनेका छन्।
राम्रो औपचारिक अध्ययन, युवाहरूसँगको निकटता तथा उनीहरुको सामथ्र्य चिन्नसक्ने खूबी, नेपाली भाषा, साहित्य, धर्म, रीतिथिति, अर्थशास्त्र, कानून सुधार, महिला अधिकार, विविधता, समावेशीकरण र परराष्ट्र सम्बन्ध जस्ता सबै क्षेत्रमा बीपीसँग फरक देशदृष्टि थियो। पार्टी संगठन विस्तारका लागि बीपी देशको कुनाकाप्चा सबैतिर पुग्दथे। र, अन्य सहकर्मीहरूलाई पनि घरघर पु-याउने दृष्टिकोण उनमा देखिन्थ्यो।
यस्ता धेरै उदाहरण छन्, जसबाट पुष्टि हुन्छ– बीपी कोइरालाले नेपालका लागि ठूलो 'लेगेसी' छोडेर गएका छन्। ती 'लेगेसी'हरूको प्रभाव आजसम्म उत्तिकै छ।
बाँचुञ्जेल आफ्नो सामथ्र्य र क्षमताले देश बनाउने हो, मरेपछि छोडेर जाने 'लेगेसी' नै हो। चरित्रप्रधान मान्छेले मात्र यस्तो गर्न सक्दछ। बीपी त्यही चरित्रप्रधान व्यक्तित्व थिए।
द्विपक्षीय विदेश नीतिमा अहिले पनि कोही कतै ‘म ब्वाँसो बन्छु, तिमी पाठो बन’ भन्न सक्छन्। तर, समानताका आधारमा विकसित आजको विदेश नीतिमा हामीले सहजै ‘अब ती दिन गए’ भन्न सक्नुपर्छ। बेलैमा त्यसो भनिएन भने आजको ब्वाँसो भोलि सिंह पनि बन्न सक्छ।